मापदण्ड पुरा गरी घर बनाइएका घरहरुलाई एकमुष्ट ३ लाख अनुदान
काठमाडौं, फाल्गुन ६ । भूकम्प प्रतिरोधी मापदण्ड पुरा गरी बनाइएका घरहरुलाई सरकारले एकमुस्टै तीन लाख अनुदान दिने भएको छ । सरकारको मुख नताकी घर बनाइसकेकाहरुले सो रकम पाउने भएका हुन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डाक्टर गोविन्द पोखरेलको संयोजकत्वमा शुक्रबार बसेको कार्यकारी समितिको बैठकले सो निर्णय रहेको हो ।
भूकम्प प्रभावित जिल्लामा आवश्यक मापदण्ड र प्रक्रिया पुरा गरी निजी आवास पुनर्निर्माण सम्पन्न गरिसकेका लाभग्राहीहरुलाई अनुदान वापत पाउने सबै रकम एकमुष्ट दिने निर्णय गरिएको प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रसुवागढी भन्सारको राजस्व संकलन १२३ प्रतिशतले बढ्यो
रसुवा, फागुन ३ । चीनसँग सीमा जोडिएको एकमात्र नाका रसुवागढीले लक्ष्यभन्दा १२३ प्रतिशत बढी राजस्व संकलन गरेको छ । वार्षिक २ अर्ब ४२ करोड राजस्व संकलनको लक्ष्य राखेको रसुवागढी भन्सारले माघ महिनासम्ममा १ अर्ब ६० करोड ७६ लाख ३४ हजार राजस्व संकलन गरिसकेको भन्सार कार्यालयले जनाएको छ । लक्ष्य भन्दा बढी राजस्व संकलन हुने यो नाका व्यवस्थित गर्न नसके राजस्व ‘डाइभर्ट’ हुन सक्ने तर्फ सबै सचेत हुनुपर्ने प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले सचेत गराए । नाका व्यवस्थित गर्न सक्ने हो भने राजस्व संकलन अझै बढ्ने उनको दावी छ । आर्थिक अनियमितता आरोप मात्रै प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले भन्सार कार्यालयमा आर्थिक अनियमितता भएको भन्ने कुराको खण्डन गरे । व्यावसायीसँग मिलेर सामानको गुणस्तर र मात्रा नक्कली बनार्इ भन्सार कार्यालयले आर्थिक अनियमितताको कारण पनि भन्सार कार्यमा ढिलासुस्ती हुने गरेको आरोप लाग्दै आएको थियो । तर, प्रमुख भन्सार अधिकृत कोइरालाले कार्यालयले सिसी क्यामेराबाट निगरानी गरिरहेको र कार्यालयले अनुगमन गरेका कारण आर्थिक अनियमितता हुन नसक्ने दावी गरे । उनले भने–‘ हाम्रो कार्यालयको कन्टेनर राखिएको यार्डमै सिसि क्यामेराहरु जडान गरिएको छ, त्यसैबाट भन्सार महानिर्देशनालयले निरन्तर अनुगमन भइरहेको हुन्छ कसरी आर्थिक अनियमितता हुनसक्छ र ?’ आफु भर्खरै भन्सार प्रमुख भएर आएको र आफ्नो कार्यकालमा यस्ता कुनै पनि आर्थिक अपारदर्शी काम नभएको दाबी गर्दै भने–‘आफु प्रमुख भएर भन्सारमा रहुन्जेल त्यस्ता गतिविधि हुन नदिने उनले स्पष्ट पारे । कोइराललाले कन्टेनर व्यावसायीहरुको अस्वस्थ प्रतिस्पर्धाले समस्या उत्पन्न गरेको बताए । ‘कन्टेनर व्यावसायीहरु आपसमा तछाँड मछाँड गरिरहेका छन्, यसले नाकालाई समस्यामा पार्ने देखिन्छ, सरोकारवालाहरु सचेत नहुने हो भने नाका कमजोर हुने र राजस्व संकलनमा पनि असर पर्ने देखिन्छ,’ उनले भने । कोइरालाले भन्सार कार्यालयमा केही कठिनाई रहेको स्वकारे । भन्सार कार्यालयको काम छिटो, सरल र पारदर्शी बनाउन आफु प्रयत्नशील रहको उनले जानकारी दिए ।
अनेरास्ववियु केन्द्रीय सदस्य राईको निधन
काठमाडौँ, माघ २८ । नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको बिहीबार निधन भएको छ । यही माघ २५ गते भक्तपुरमा सडक दुर्घटनामा पर्नुभएका २७ वर्षीय राईको उपचारका क्रममा बिहीबार वीर अस्पतालस्थित ट्रमा सेन्टरमा निधन भएको हो । खोटाङ स्थायी घर भएका राई सङ्गठनको खोटाङ जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य हुनुभएको थियो । उहाँको पार्थिव शरीरलाई आज पार्टी केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने युवा सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो । रासस
मुुलुककाे आर्थिक अवस्थाबारे महराको चासो
काठमाडौ, माघ २७। मुलुकको वर्तमान आर्थिक अवस्थाबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले चासो देखाएका छन् । अर्थमन्त्री महराले आज अर्थ र राजस्व सचिवका साथै केन्द्रीय बैंकका गभर्नरलाई बोलाई सामूहिक छलफल गरेका छन् । अर्थ मन्त्रालयमा भएको सो छलफलमा पुँजीगत खर्च वृद्धि, राष्ट्रिय गौरवका आयोजनालाई रकमको अभाव हुन नदिने, वित्तबजारमा देखिएको तरलता अभाव, राजस्व सङ्कलनको लक्ष्य प्राप्ति, राजस्व चुहावट नियन्त्रणलगायत विषयमा छलफल भएको थियो । उपप्रधानमन्त्री महरालाई देशको पछिल्लो आर्थिक अवस्थाबारे अर्थ सचिव शान्तराज सुवेदी, राजस्व सचिव राजन खनाल र नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले आफूमातहतका निकायबाट बजेट कार्यान्वयन, मौद्रिक नीतिको प्रभावकारिता, राजस्वका लक्ष्य र चुनौतीका साथै हालसम्मका प्रगतिबारे जानकारी गराएका थिए ।
क्रान्तिकारीले भन्यो– ‘सरकार विद्यार्थीलाई शैक्षिक लोन र पार्टटाइम जब देऊ’
काठमाडौं, माघ २६। माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले आफ्नो स्ववियु निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै विद्यार्थीलाई अविलम्ब शैक्षिक ऋण र पार्टटाइम रोजगार दिन माग गरेको छ। आज वागवजारमा आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले ‘स्ववियु निर्वाचन प्रतिवद्धता पत्र-२०७३’ नाम दिइएको सो घोषणापत्र सार्वजनिक गरेका हुन्। क्रान्तिकारीले शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टीका लागि संविधान कार्यान्वयनको अभियान ,समाजवाद उन्मुख विश्वविद्यालय शिक्षाको पक्षमा अखिल (क्रान्तिकारी) लाई मतदान’ भन्ने मुलनारा अघि सारेको छ। प्रतिवद्धता पत्रमा क्रान्तिकारीले भनेको छ– ‘सरकार विद्यार्थीको सर्टिफिकेट लेऊ,विद्यार्थीलाई शैक्षिक ऋण र पार्ट टाइम जब देऊ।’ त्यसैगरी शैक्षिक वेरोजगार युवालाई कि रोजगार नत्र वेरोजगार भत्ता दिन समेत क्रान्तिकारीले सरकार समक्ष माग गरेको छ। स्ववियुमा २८ वर्षे उमेरहद सहित मिश्रित निर्वाचन प्रणालीको जननी अखिल (क्रान्तिकारी) भएको दावी गर्दै जसको नीति हो त्यसलाई कार्यान्वयन गर्ने उसकै नेतृत्व आवश्यक हुने जिकिर गरिएको छ। पत्रकार सम्मेलनमा अखिल९क्रान्तिकारी०का अध्यक्ष नरेन्द्र न्यौपानेले अब स्ववियु निर्वाचन कसैले चांहदैमा नरोकिने वताए।न्यौपानेले आउंदो स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) पहिलो संगठन वन्ने दावी गरे।
प्रेमीको एसिड आक्रमणबाट घाइते युवतीको उपचारको क्रममा मृत्यु
बुटवल, माघ २४ । आफ्नै प्रेमीले मध्यरातमा शरीरभरी एसिड खन्याइदिएपछि गम्भीर घाइते एक युवतीको उपचारका क्रममा ज्यान गएको छ । नवलपरासी गैंडाकोट नगरपालिका–५ की २७ वर्षीया तुलसी सापकोटालाई उनकै प्रेमी सुनिल कोइरालाले मध्यरातमा शरीरभरी एसिड खन्याइदिएका थिए, सापकोटाको उपचारको क्रममा सोमबार अपरान्ह भैरहवामा मृत्यु भएको हो । प्रहरीका अनुसार, बुटवल उपमहानगरपालिका–६ स्थित मेरी डियन होटेलको कोठा नम्बर १०३ सापकोटासँगै बसेका धादिङ नौबिसेका २८ वर्षीय सुनिल कोइरालाले विहे गर्न नमानेपछि एसिड प्रहार गरेको प्रहरीलाई जानकारी दिएका छन् । शरीरमा एसिड प्रहार गरिएपछि तुलसा छट्पटाउँदै चिच्याउन थालेपछि होटेलका कर्मचारीले उद्धार गरेर प्रहरीलाई घटनाको जानकारी गराएका थिए । तत्काल प्रहरीले उपचारकालागि बुटवलस्थित अञ्चल अस्पताल लगेको थियो त्यहाँ उपचार गर्न नसक्ने डाक्टरहरुले जानकारी दिए । ८० प्रतिशत बढी शरीर जलेकी उनको त्यहाँ उपचार नहुने बताएपछि प्रहरीले नै युनिभर्सल मेडिकल कलेज भैरहवामा लगेको थियो । भैरहवाको अस्पतालले पनि उपचार हुन नसक्ने भन्दै सामान्य मलमपट्टी गरेर काठमाडौं बर्नीड सेन्टरमा रिफर गरेको थियो । आज दिउँसो १ बजेतिर तुलसाको मृत्यु भएको हो । कोइरालाले उनलाई राति करिब साढे १२ बजे एसिड प्रहार गरेका थिए । बिहे गर्ने प्रस्ताव राख्दा नमानेपछि प्रेमिकालाई एसिड प्रहार गरेको कोइरालाले प्रहरीलाई बयान दिएका छन् । उनको शव अहिले भैरहवाको भीम अस्पतालमा राखिएको जिप्रका रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए । प्रहरीले होटलमासँगै आएकी काठमाडौं चाबहीलकी मृतककी सानीमा देवी खरेल र युवक कोइराला दुवैलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालयमा राखिएको छ । तस्वीर स्रोत : नेपाल प्रहरी
चिनियाँ ग्रीन कार्ड लिने विदेशीहरुको संख्या डेढ गुणाले बढ्यो
बेइजिङ, चीनको ग्रीनकार्ड लिने विदेशीहरुको संख्या गत वर्षको तुलनामा बढेको छ । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार, गत वर्षभन्दा यसवर्ष चीनको स्थायी बसोबासको अनुमति (ग्रीन कार्ड) पाउनेहरुको संख्या १ सय ६३ प्रतिशते बढेको हो । प्रायजसो अमेरिका, क्यानाडा या यूरोपेली देशहरुमा स्थायी बसोबासका लागि जाने क्रम देखिएकोमा चीनमा समते स्थायी बसोबासका लागि विदेशीहरु आकर्षित भएको देखिएको छ । चीनमा स्थायी बसोबासको अनुमति लिनेहरुले अन्य नागरिक जस्तै अधिकार पाउने गर्दछन् । उनीहरुले चीनमा लगानी गर्न, घर खरी दगर्न, स्कूल पढ्नलगायतका अन्य अधिकार चिनियाँ नागरिक जस्तै पाउने गर्दछन् । यसरी स्थायी बसोबासको अनुमतिका गत वर्ष संघाईमा ६ गुणा बढीको निवेदन परेको थियो । बेइजिङमा भने यो ४ सय २६ प्रतिशतले बढेको थियो । सन् २०१५ मा मात्रै ५ करोड ६० लाख मानिसहरुले चीन भ्रमण गरेका थिए ।
सगरमाथा क्षेत्रमा समस्या बन्दै मानिसको मलमूत्र
सोलुखुम्बु, माघ २२ । धेरैजसो समय माइनसभन्दा तल तापक्रम रहने सगरमाथा क्षेत्रमा घुम्न जाने पर्यटकको दिसापिसाब त्यस क्षेत्रको लागि समस्या बन्दै गएको छ । हिमाल आरोहणका याममा बर्सेनि तीन हजारभन्दा बढी पर्वतारोही तथा भरिया सगरमाथा आधार शिविर आवत–जावत गर्छन् । उनीहरुले आधार शिविर तथा त्यसभन्दा माथि गर्ने दिसापिसाब हिमाली क्षेत्रको सरसफाइका लागि ठूलो समस्या बनिरहेको छ । त्यहाँको फोहर व्यवस्थापन गरिरहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अध्यक्ष आङदोर्जी शेर्पा पनि सगरमाथाको आधार शिविर र त्यसभन्दा माथिल्ला शिविरमा हुने दिसापिसाबको समस्या बन्दै गएको बताउँछन् । पाँच हजार ३०० मिटर उचाइमा रहेको आधार शिविरबाट एसपीसीसीले मानिसको मलमूत्र संकलन गरी पाँच हजार १६४ मिटरको उचाइमा रहेको गोरपशेपमा ल्याएर गाड्ने गरेको छ । तर, त्यहाँ पनि फोहरको मात्रा बढेपछि अहिले डम्पिङ साइट लोबुचे छेउमा सारिएको छ । सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न आधार शिविर पुग्ने आरोही र उनीहरूका सहयोगीले कम्तीमा आठ किलोग्राम फोहर फिर्ता ल्याउनुपर्ने नियम छ । उनीहरूले काँच, धातु र प्लास्टिकजन्य फोहर फर्काउने गरेका छन् । आधार शिविरको मानव मलमूत्र भने एसपीसीसीको व्यवस्थापनमा भरियालाई बोकाएर गोरकशेप झार्ने गरिएको छ । गोरकशेपको तापक्रममा पनि मानव मलमूत्र नसड्ने हुँदा प्रदूषण यथावत् रहन्छ । मलमूत्र पानीका मुहानमा पुगेर इकोलाईलगायतका जीवाणु फैलने खतरा पनि उत्तिकै छ । ती मलमूत्र गाड्न धेरै खाल्डा बनाइएको र वर्षायाममा तिनमा चौंरी पर्ने गरेको गोरपशेपका मिङमार शेर्पा बताउँछन् । सगरमाथाको आधार शिविरमा सन् २०१४ मा आठ हजार ९९८, सन् २०१५ मा पाँच हजार ९ सय र सन् २०१६ मा १० हजार ४२५ किलो मानव मलमूत्र संकलन गरेको एसपीसीसीको कार्यालय नाम्चेले जनाएको छ । योभन्दाअघिदेखिको मलमूत्र पनि गोरपशेप तथा लुबुचेमा थुपारिएको छ । चिसोका कारण वर्षौंसम्म नसड्ने, त्यहाँबाट आउने पानीका स्रोत तल्लो क्षेत्रका बस्तीसम्म पुग्ने तथा मलमूत्र थुर्पादा फोहरको मात्रा बढी देखिनेलगायतका समस्या अहिले देखिएका छन् । यस्तो फोहरलाई अझ तलको न्यानो क्षेत्रमा ल्याएर ग्यास प्लान्ट बनाउने तथा अरु विधिबाट सुरक्षित व्यवस्थापन गर्नुपर्ने स्थानीयवासीले माग गर्न थालेका छन् ।
सरकार ! खडेरीले गाउँ खायो, हामी भोकै छौं
मुगु, माघ २० । मुगु हयाङलुकी चिनकला रोकायाको तीन रोपनी खेत छ । पाँच जनाको परिवार, बिहान बेलुकाको छाक टार्न त्यही खेतको भर हो । उनको खेतमा वर्षमा झन्डै छ क्वीन्टल धान फल्थ्यो । तर यो बर्ष खडेरीका कारण धान पसाउनै पाएन । चिनकलाको खेतमा धानका बालामा एक दाना पनि लागेनन् । भन्छिन, ‘धान भएन, कोदो भएन । अहिले रुन परिरहेको छ । सरकारले दया गर्यो भने खाने हो नत्र के गर्नु ? मर्ने त होला ।’ चिनकलाकै जस्तो अवस्था अहिले हयाङलुका सबै परिवारको छ । हयाङलु सँगै मुगु श्रीकोट भेगका सात वटा गाविसका बासिन्दालाई खडेरीले पिरोलेको छ । सीमाना जोडिएको हुम्लाको समस्या पनि उही हो । हुम्लाको श्रीनगरका किसानले बाली भित्र्याउन नपाएको तीन वर्ष भयो । डिपोमा चामल छैन । हुम्ला मैला गाबिसकी धनरुपा जोशी भन्छिन, ‘पहिले पहिले अैंचो पैँचो नि गरेर खायौं । तर अहिले त सबैको अन्न सकिइसक्यो । नेताले दिन्छौं दिन्छौं भन्छ तर दिन्नन् । अब सुविस्ता हुन्छ कि भन्यो । केही भएको छैन । भोकले मर्ने भयौं ।’ सरकारले खडेरी पिडीतलाई राहत स्वरुप गएको जेठमा चामल दियो । तर त्यति चामलले के पुग्थ्यो ! त्यो त समस्याको क्षणिक समाधानको रुपमा मात्र देखियो । यही खडेरीको समस्यासँग जुधिरहेको बाजुराको उत्तरी क्षेत्रका ११ गाविसमा यो वर्ष ४० बर्ष यताकै लामो खडेरी पर्यो । त्यहाँ मकै कोदो तथा धान भएन । बिउहरु पाइएन । पानीका भएका मुलहरु सुके । मान्छेहरु तीनवटा रोटी खाने ठाउँमा दुईवटा र दुईवटा खाने ठाउँमा एउटा खाएर जीवीकोपार्जन गरिरहेका छन् । तीन साल देखि लगातार खडेरीले थिलाथिलो पारेको ठाउँमा अहिले खुर्सानी पनि नहुने स्थीती छ । खडेरीले गर्दा खाद्यान्न संकट पर्दै गएको छ । समस्या दिनानुदिन बढिरहेको छ । तर जिल्ला कृषि विकास कार्यलय बाजुराका प्रमुख डा. रामकृष्ण श्रेष्ठ भन्छन्, ‘खाद्यान्न अभाव चाहिँ भएको हैन । मान्छेहरुमा क्रय शक्तिको अभाव चाहिँ पक्कै हो । यो एक प्रकारको समस्या हो । त्यसलाइ सम्बोधन गर्न राज्य क्रियाशिल छ । त्यसैले १३ गाविसका दश हजार परिवारलाइ पोहोर एक किलोको दरले गहुँको बिउ बाँड्यौं । यो बर्ष पनि २३५ क्वीन्टल गहुँको बिउ बाँडयौ । यसले सुख्खा खडेरीसँग जुध्न निकै सहयोग गर्ला भन्ने अपेक्षा राखेका छौं । यसका साथै परम्परागत बालीहरु फापर, कागुनो लगाउने र पानीका श्रोतहरु बचाउने अभिनायमा हामी लागेका छौं ।’ तीन बर्ष भयो, हुम्ला मुगु र बाजुराका उत्तरी क्षेत्रका बासिन्दाहरु खडेरी र खडेरीले खाद्यान्न उत्पादनमा भएको ह्राससँग पौंठेजोरी खेलिरहेका छन् । विगत तीन बर्षदेखि त्यहाँका बासिन्दाहरु खडेरीको मारमा छन् । लगाए पनि बाली हुँदैन । कुनै कुनै बाली त नपसाइकन नै सुक्छन् । त्यसै त उत्पादन कम हुने ठाउँ, त्यसमाथि खडेरी, गाउँलेका घरमा अन्नको एक गेडा पनि नभएको अवस्थामा उनीहरु रोजगारीको लागि भारततिर छिर्न बाध्य भएका छन् ।
थर्मामीटर पनि छैन स्वास्थ्य संस्थामा
काठमाडौं, १८ माघ । पत्याउनुहुन्छ ? नेपालका दुई प्रतिशत स्वास्थ्य संस्थामा बिरामीको मुटुको चाल र श्वासका गतिजस्ता आधारभूत जाँच गर्ने उपकरण स्टेथेस्कोप नै छैन । छ प्रतिशत स्वास्थ्य संस्थामा रक्तचाप जाँच्ने मेसिन र सात प्रतिशतमा थर्मोमिटरसमेत नरहेको हालै गरिएको सरकारी अध्ययनले देखाएको हो । आजको नागरिक दैनिकमा खबर छ– स्वास्थ्य मन्त्रालयले गरेको ‘नेपाल स्वास्थ्य संस्था सर्वेक्षण’ ले कतिपय स्वास्थ्य संस्थामा ठूला उपकरण मात्र होइन, आधारभूत र अत्यावश्यक सामान्य उपकरणसमेत भेटिएन । विभिन्न दातृ निकायको सहयोगमा सन् २०१५ अप्रिलदेखि नोभेम्बरसम्म देशभरका ९ सय ६३ निजी तथा सरकारी स्वास्थ्य संस्था पुगेर मन्त्रालयले सर्वेक्षण प्रतिवेदन तयार गरेको थियो । सोमबार सार्वजनिक उक्त अध्ययनको अन्तिम प्रतिवेदनमा ११ प्रतिशत स्वास्थ्य संस्थामा तौल नाप्ने मेसिन नभएको र ६१ प्रतिशतमा बच्चाको तौल नाप्ने मेसिनसमेत नरहेको उल्लेख छ । सर्वेक्षणका क्रममा एक प्रतिशत स्वास्थ्य संस्थामा सरकारले उपलब्ध गराउने सबै प्रकारका औषधि उपलब्ध भएको समेत औंल्याएको थियो ।
फागुन ७ गते, प्रजातन्त्र होइन ‘निर्वाचन दिवस’!
काठमाडौँ, १६ माघ । निर्वाचन आयोगले अव प्रत्येक वर्ष फागुन ७ गतेलाई ‘निर्वाचन दिवस’को रुपमा मनाउने भएको छ । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रुपमा मनाउन लागेको हो । २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत अर्थात ७४ सिट प्राप्त गरेका थिए । उक्त निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएका थिए । उक्त दिवसमा अवसरमा आयोजना हुने मूल समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले मुख्य अतिथिका रुपमा भाग लिनुहुने छ । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन प्रारम्भ भएको ५८ वर्षपछि आयोगले पहिलो पटक भव्यताका साथ दिवस मनाउने तयारी गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । मुलुकमा २०५४ सालपछि स्थानीय निकायको चुनाव हुन सकेको छैन । जसका कारण ३५ वर्ष उमेर समूहका ८० लाख नागरिकले स्थानीय तहको निर्वाचनको मतदानमा भाग लिन पाउने नागरिक अधिकारबाट वञ्चित हुँदै आएका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानअनुसार आगामी २०७४ साल माघ ७ गतेभित्र सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने पूर्वसन्ध्यामा आयोगले निर्वाचन दिवसको समेत किटानी गरेको छ । दिवसका अवसरमा आयोगले प्रभातफेरी, अन्तरसंवाद, आयोगका पूर्व पदाधिकारीको सम्मानका साथै नेपालमा निर्वाचनको इतिहास सम्बन्धी पुस्तकको विमोचन गर्ने जस्ता कार्यक्रम तय गरेको सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए । निर्वाचन दिवसलाई कसरी भव्य र सभ्य तुल्याउने भन्नेबारेमा आयोग विभिन्न तयारीमा जुटिरहेको बताइएको छ ।
रहेनन् ‘तिरिरि मुरली बज्यो बनैमा’ गीतका गायक
काठमाडौं, माघ १२ । ‘तिरिरि मुरली बज्यो बनैमा’ बोलको गीतबाट ख्याती कमाएका बरिष्ठ गायक तथा संगीतकार पन्नाकाजी शाक्य आज विहान निधन भएको छ । लामो समयदेखि विरामी रहेका ८४ बर्षिय शाक्यको उच्च रक्तचापका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । ४०० वढी गीत गाएका उनका २०० गीत मात्रै हाल उपलब्ध छन् । उनको ‘किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ’ बोलको गीत पनि अत्याधिक चर्चित गीत हो । वि. सं.१९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका शाक्यले २००४ सालदेख गीत गाउन सुरु गरेका थिए । उनले २००८ सालमा रेडियो नेपालमा पहिलो पटक गीत गएका थिए । २०१६ सालमा पहिलो गीत रेकर्ड गराएका उनले २०२२ सालमा गायनमा उत्कृष्ट बन्दै स्वर्ण पदक जित्न सफल भएका थिए । उनको आजै टेकु दोभानमा अन्तेष्टी गरिने छ । उनका चार छोरा र एक छोरी छन् । उनका दुई छोरा गीत संगीतकै क्षेत्रमा सक्रिय छन् ।
ट्रम्पद्वारा गर्भपतनका क्षेत्रमा दिइएको अमेरिकी सहयोग खारेज
काठमाडौं, १२ । राष्ट्रपति बनेलगत्तै एकपछि अर्को विवादास्पद निर्णय गर्न पुगेका डोनाल्ड ट्रम्पको पछिल्लो निर्णयले संसारभरी बहस चुलिएको छ । ओबामाले गर्भपतनका क्षेत्रमा अमेरिकी सहायता नियोगका तर्फ दिईंदै आएको सहयोग खारेज गर्ने निर्णयमा हस्ताक्षर गरेपछि संसारभरी नै यसको समर्थन र बिरोधमा जनमत देखिएको छ । ट्रम्पको पार्टीले गर्भपतनलाई कानुनी मान्यता दिन हुँदैन भन्ने मान्यता राख्दै आएको छ । यही मान्यताका आधारमा ट्रम्पले विश्वका विकासोन्मुख देशहरुमा सुरक्षित गर्भपतनका क्षेत्रमा अमेरिकी सहायता नियोग “युएसएआइडी” र अन्य निकायबाट गरिँदै आएको सहयोग खारेज गर्ने निर्णय गरे । “अमेरिकी जनताको करबाट उठेको पैसा गर्भपतनका लागि खर्च गर्न सकिन्न” कार्यकारी निर्णयमा हस्ताक्षर गर्दै ट्रम्पले घोषणा गरेको सिएनएनले जनाएको छ । यो निर्णयले संसारभरी नै प्रजनन स्वास्थ्य र खासगरी सुरक्षित गर्भपतनका क्षेत्रमा कार्यरत हजारौं कार्यक्रम सोझै प्रभावित हुनेछन् । यो निर्णयको असर परिवार नियोजनका क्षेत्रमा समेत पर्ने छ । विश्वका अधिकांश देशहरु अहिले परिवार नियोजन–२०२० कार्यक्रम अन्तर्गत परिवार नियोजनका साधन र सुरक्षित मातृत्व (गर्भपतनको कार्यक्रम सहित) अभियान सञ्चालित गरिरहेका छन् । ट्रम्पले सन् २००९ मा ओबामा प्रशासनले खारेज गरेको नीतिलाई फेरी लागु गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन । यो नीतिमा यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा अमेरिकाले कुनै संघसंस्था या देशलाई सहयोग नगर्ने उल्लेख छ । यो नीतिलाई रोनाल्ड रेगनले अघि सारेका थिए । ओबामाले भने संसारमा लाखौं महिलाहरुको जीवनसँग प्रत्यक्षरुपमा जोडिएको गर्भपतनको विषयमा अमेरिकाले सहयोग गर्नुपर्ने भन्दै यसलाई निष्क्रिय बनाएका थिए । ओबामा प्रशासनको नीतिमा रहेर अमेरिकी सहायता नियोगहरुले विश्वभरी नै प्रजनन स्वास्थ्यका क्षेत्रमा ठूलो रकम खर्च गरेका थिए । निर्णयबारे जानकारी दिँदै व्हाइट हाउसका प्रेस सचिव सिएन स्पाइसरले यो नीति अमेरिकी जनता, जन्मिँदै नजन्मेका अमेरिकी जनता र राज्यलाई कर तिरिरहेका अमेरिकी जनताको पक्षमा रहेको जिकिर गरे । भयानक दुर्घटना निम्त्याउने परिवार नियोजन र सुरक्षित मातृत्वको क्षेत्रमा काम गरिरहेका संघसंस्थाहरुले ट्रम्पको निर्णयलाई आपदाको संकेत बताएका छन् । मेरी स्टोप्सले यो निर्णय खतरनाक रहेको र यसको दूरगामी असर पर्ने जनाएको छ । यो निर्णयबाट मेरि स्टोप्सको कार्यक्षेत्रमा मात्रै ६५ लाख गर्भवती महिलाले सुरक्षित सेवा लिन नपाउने, २२ लाख गर्भपतन प्रभावित हुने, २१ लाख असुरक्षित गर्भपतन हुने र २१ हजार ७ सय नवजात शिशुको मृत्यु हुने संस्थाले जनाएको छ । परिवार नियोजनको बारेमा यथेष्ट कार्यक्रम र सचेतनाको अभावमा कानुनको आडमा गर्भपतनलाई निषेध गर्नु गलत रहेको मेरी स्टोप्सको भनाई छ । यो संस्थाले नेपालमा आएको भूकम्पपछि २ हजार ८ सय ४३ गर्भवती महिलाको परीक्षण र ५ सय ८६ परिवार नियोजनका साधनको प्रत्यारोपण गरेको थियो । “यो निर्णयले संसारमा रेखदेखबिना सुत्केरी हुनुपर्ने, असुरक्षित गर्भपतन र नवजात आमा र शिशुको मृत्यु बढाउने काम मात्रै गर्ने छ ।” प्रजनन अधिकार केन्द्रकी कार्यकारी अधिकृत न्यान्सी नोर्थअपको भनाई सिएनएनले उल्लेख गरेको छ ।
किन भेटे प्रधानमन्त्रीले राष्ट्रपतिलाई ?
काठमाडौं, माघ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शनिबार बिहान भएको भेटवार्तामा समसामयीक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए । भेटमा प्रधानमन्त्रीले राष्ट्रपति भण्डारीलाई स्थानीय तहको चुनावको मिति घोषणा गर्ने विषयमा दलहरुबीच छलफल भइरहेको र छिट्टै मिति घोषणा गर्ने तयारी भएको जानकारी गराएको अाचार्यले बताए । दलहरुबीच सहमतिमा चुनावको मिति घोषणा, संसदमा पेश गरिएको संविधान संशाेधन विधेयक पास गराउन अाजै साँझ प्रधानमन्त्रीले प्रमुख चार दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका नेताहरुसँग छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले जानकारी दिएका छन् ।
डोनाल्ड ट्रम्पले आज शपथ लिँदै, यस्तो छ उनको नयाँ टिम (कार्यक्रमसहित)
वाशिङ्गटन डिसी, माघ ७ । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज शपथ ग्रहण गर्दैछन् । ट्रम्पको शपथ ग्रहण समारोहको भव्य तयारी गरिएको छ । ट्रम्पले आफ्नो शपथ ग्रहणसँगै क्याबिनेटको समेत घोषणा गर्नेछन् । उनको क्याबिनेटमा ज्वाईँ कशनेरदेखि रेक्स टिलरसन सम्म रहेका छन् । डोनाल्ड ट्रम्पले आफ्नो पहिलो दिन केही महत्वपूर्ण निर्णयमा हस्ताक्षर गर्ने आँकलन गरिएको छ । शपथ ग्रहणसँगै मन्तव्य र त्यसपछि यस्ता निर्णयमा हस्ताक्षर हुने छन् । यस्ता निर्णयमा ओबामाले स्वास्थ्य र रोजगारका क्षेत्रमा अघि सारेका योजना, अप्रवासी नीति र अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएका विषय रहेको बताइन्छ । ट्रम्पको शपथ ग्रहण समारोहलाई भव्यतापूर्वक सम्पन्न गर्न विशेष तयारी गरिएको छ । प्रख्यात म्यूजिक ब्याण्डको उपस्थिति रहने छ । शपथ ग्रहण पूर्व ट्रम्पले हरेक अमेरिकीको सपना पुरा गर्ने र देशवासीलाई एकतामा बाँध्ने बताएका छन् । अमेरिकाको इतिहासमा ४५ औं राष्ट्रपति ७० वर्षीय ट्रम्पको आगमनलाई आशंकासाथ हेरिएको छ । अनुदारवादी ट्रम्पको कार्यकाल कस्तो हुने हो, त्यो भने हेर्न बाँकी छ । यस्तो छ कार्यक्रम आज राती नेपाली समय अनुसार ९ बजेर २० मिनेटमा लिंकन मेमोरियल नजिक पब्लिक कन्सर्टको आयोजना हुने छ । यसमा डिसी फायर डिपार्टमेट, एमरल्ड सोसाइटी र द रिपब्लिकन हिन्दू कोलिएसनसँगै हाइस्कूल मार्चिङ ब्याण्डको कार्यक्रम प्रस्तुत हुने छ । ट्रम्पले यो कन्सर्टलाई सम्बोधन गर्ने छन् । त्यसअघि ट्रम्प र निर्वाचित उपराष्ट्रपति माइक पेन्सले आलिंगटन नेशनल सिमेट्रीमा महत्वपूर्ण अमेरिकी हस्तीहरुलाई श्रद्वान्जली दिनेछन् । अमेरिकी समय अनुसार ट्रम्प शुक्रबार बिहान ब्लेयर हाउस र सेन्ट जोन्स एपिस्कोपल चर्च जाने कार्यक्रम छ । त्यसपछि राष्ट्रपति ओबामासँग ह्वाइट हाउसमा कफि पिउने कार्यक्रम छ । यसपछि उनी शपथका लागि प्रस्थान गर्ने छन् । र नेशनल मल परेड हेर्नेछन् । संगीत समारोहसँगै शपथ ग्रहणको कार्यक्रम हुनेछ । अमेरिकी समय राती साढे ११ बजे कार्यक्रमको शुरुआती औपचारिकतासँगै सुप्रिम कोर्टका मुख्य न्यायाधिश माइक पेन्सले उपराष्ट्रपतिलाई शपथ खुवाउनेछन् भने । १२ बजे ट्रम्पले सपथ लिनेछन् । शपथपछि उनले भाषण गर्नेछन । ट्रम्पको सपथ ग्रहण समारोहमा लाखौं मानिस आउने बताइन्छ । ओबामाको शपथ ग्रहणको बेला १८ लाख भन्दा बढी मानिसको उपस्थिति रहेको थियो । को को छन् त ट्रम्पको टीममा ? 1। विदेश मंत्री, रेक्स टिलरसन, एक्सनमोबिल कॉरपोरेशन के सीईओ 2। रक्षा मंत्री, जनरल ९रिटायर्ड० जेम्स मैटिस, अमेरिकी मरीन कॉर्प्समा द्धज्ञ सालपछि रिटायर भएका जनरल 3। वाणिज्य मंत्री, विल्बर रॉस, अरबपति निवेशक डब्ल्यू एल रॉस ऐंड सीओ रॉसका संस्थापक 4। वित्त मंत्री, स्टीवन म्नुचिन , गोल्डमैन स्याक्सका पूर्व कार्यकारी 5। संयुक्त राष्ट्र में राजदूत, निक्की हेली, क्यारोलिनाकी पूर्व गभर्नर। 6। राष्ट्रपति के मुख्य सलाहकार, जैरेड कुशनेर, न्यूयॉर्कका रियल इस्टेट कारोबारी र ट्रम्पका ज्वाँइ 7। गृहमंत्री, जनरल जोन केली, रिटायर्ड जनरल तथा अमेरिकी साउदर्न कमांडका पूर्व कमांडर 8। सीआईए डायरेक्टर, माइक पोम्पेओ, पूर्व सैन्य अधिकारी 9। एनएसए, माइकल टी फ्लिन, रिटायर्ड जनरल 10। चीफ ऑफ स्टाफ, रेइंस प्रिएबस, रिपब्लिकन नेशनल कमिटीका पूर्व अध्यक्ष
पाँच सहसचिवको बढुवा, टेलिकमको वोर्ड सदस्य नियुक्त गर्न समिति गठन
काठमाडौँ, ६ माघ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पाँच सहसचिवलाई सचिवमा बढुवा गरेको छ । रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा सुरेशकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त दुई सदस्य पदमा नियुक्तिका लागि सरकारले सञ्चार सचिवको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिको सदस्यमा मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव र विज्ञ डा भेषराज कँडेल रहेका छन् । त्यस्तै, बैठकले प्राविधिक प्रमुख सेनानी खुमबहादुर कुँवरलाई प्राविधिक महासेनानीमा पदोन्नति गर्नुका साथै सचिवमा पदोन्नति भएका सहन्यायाधिवक्ता किरण पौडेललाई नायब महान्यायाधिवक्तामा नियुक्त गरेको छ । सरकारले सहरजिस्ट्रार नकुल सुवेदीलाई न्यायपरिषद्को सचिवमा नियुक्त गरेको छ भने सहरजिस्ट्रार नृपध्वज निरौलालाई सर्वोच्च अदालतको रजिस्ट्रारमा नियुक्त गरेको छ । सहरजिस्ट्रार राजीव गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा पदोन्नति गरिएको छ । त्यस्तै, सहन्यायाधिवक्ता राजनप्रसाद भट्टराईलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदोन्नति गरिएको सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।