दिपक दीपाको अफरलाई लत्याउँदै साम्राज्ञी लागिन इन्टु मिन्टुतिर
चेत ४ । बहुचर्चित फिलिम ‘छक्का पञ्जा’को सिक्वेल बनाउन दिपक–दीपाको अफरलाई ड्रिम गर्ल साम्राज्ञीले अस्वीकार गरेकी छिन् ।
निर्माता/निर्देशक/कलाकार दिपक–दिपाले २०७३ को सर्वाधिक कलेक्सनको रेकर्ड राखेको फिल्म ‘छक्का पञ्जा’को सिक्वेल बनाउने घोषणा यसअघि नै गरिसकेका छन् ।
केहि दिनअघि मात्रै दिपकले ‘छक्का पञ्जा–२’ मा अन्य कलाकारहरु पुरानै हुने र दुइजना नयाँ नायक र नायिकालाई मात्रै समावेश गर्ने भनि चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले एक संचारमाध्यमसँग भनेका थिए ।
यसै सिलसिलामा अहिलेकी चर्चित नायिका ‘ड्रिम्स’ डेब्यू गर्ल साम्राज्ञ राज्यलक्ष्मी शाहलाई लिनको लागी अफर गरेको थियो । सँगै पछिल्लो पुस्ताका चल्तिका कलाकार प्रदिप खड्का र साम्राज्ञीलाई समेत फिल्ममा जोड्ने तयारी गरेका थिए ।
तर साम्राज्ञीले भने उक्त अफरमा आनाकानी गरेको कुरा सार्वजनिक भएको छ । बैशाखबाट फ्लोरमा जाने भनिएको प्रोजेक्टमा साम्राज्ञी राख्ने चर्चा हुँदै गर्दा उनले भने सोहि समयमा कोरियोग्राफर रेनशा वान्तवा राइले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘इन्टु मिन्टु’मा काम गर्ने निश्चित भएको र सुटिङ अबधि एकै समय पर्ने भएकोले ‘छक्का पञ्जा-२’लाई उनले समय दिन नभ्याउने बताइएको छ । प्रदिपका तर्फबाट भने केही प्रतिक्रिया आएको छैन ।
पारसले बंगलादेशमा हुने इमर्जिङ टिम्स कप नखेल्ने
काठमाडौ, फाल्गुन ३० । नेपालका कप्तान पारस खड्काले मार्च २५ देखि अप्रिल ४ मा बंगलादेशमा हुने इमर्जिङ टिम्स कप नखेल्ने बताएका छन् । केही साता अघि मात्र एपेन्डिक्सको शल्यक्रिया गरेका खड्काले गत सोमबारमात्र अभ्यासमा फर्किएका थिए । प्रशिक्षक जगत टमाटा र पारसले सञ्चारमाध्यमसँग शुक्रबार साँझ वा खेल हुने दिन बिहान मात्र खेल्ने र नखेल्ने निर्णय हुने बताए पनि हाल भने पारसले खेल्ने सम्भावना नरहेको बताएका छन् । पारसले आफ्नो स्थिति निश्चित नभएको धेरै सुधार भएकाे बताएका छन्र । पारसले खेलाडीको मनोबल बढाउनका लागि मात्रै आफू ड्रेसिङरुममा बसेको बताउँदै अप्रेसनबाट पूर्ण रुपमा ठिक हुन केही समय लाग्ने र त्यसका लागि हतार नगर्ने बताएका छन् । उनले आफूले आइसीसी क्रिकेट लिग च्याम्पियनसिप र मार्चमा हुने इमर्जिङ टिम्स कप नखेल्ने बताइसकेको जानकारी दिएका छन् । नेपाली राष्ट्रिय टोलीले आइसीसी क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको केन्यासँग हुने दुई खेलका लागि दिल्लीमा अभ्यास खेल खेले पनि पारस भारत गएका थिएनन् । इमर्जिङ टिम्स कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका अन्डर २३ टीमसहित नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाले प्रतिष्पर्दा गर्ने छन् ।
राखी सावन्तको अस्लील भिडियो लिक
फागुन २८ । बारम्बार चर्चामा आईरहने बलिउड आइटम गर्ल राखी सावन्त फेरि चर्चामा आएकी छिन् । हुनतः उनको सकारात्मक भन्दा बढी नकारात्मक चर्चा नै हुने गर्छ । त्यस्तै अहिले पनि उनी चर्चामा आएकी छिन् । उनी चर्चामा आउनुको कारण भने एउटा एमएमएस भिडियो इन्टरनेटमा लिक हुनु हो । उक्त भिडियो इन्टरनेटमा लिक भएपछि उनी विवादमा फसेकी छिन् । एमएमएस कहाँबाट कसरी लिक भयो, त्यो हालसम्म खुलेको छैन । एमएमएस भिडियोमा राखी कपडा फेरिरहेकी छिन् । उनको सो एमएमएस अश्लील भएको भारतीय अनलाइनहरूले उल्लेख गरेका छन् । कतिपयले राखीले चर्चामा आउनका लागि आफैँले एमएमएस लिक गरेको दाबी गरेका छन् । बिग बोस १ की प्रतियोगीसमेत रहेकी राखी पछिल्लो समय एक कहानी जुलीकी फिल्ममा देखिएकी थिइन् ।
लोकसेवाद्वारा खरिदार पदको लागि १०८२ आवेदन खुला
काठमाडौं, फागुन २५ । लोकसेवा आयोगद्वारा आज गोरखापत्रमा प्रकाशित खुला तथा समावेशीबाट राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदमा निम्न सेवा, समूहका पद संख्याको लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा निम्न पदहरुमा देहाय बमोजिमकका योग्यता पुगेका उम्मेदवारहरुबाट आयोगको अनलाइन माध्यमद्वारा आवेदन खुला गरेको छ । यस अावेदन भर्ने म्याद २०७३/११/२५ गतेदेखि २०७३/१२/१५ सम्म र दोब्बर दस्तुर २०७३/१२/२२ सम्म रहेकाे छ । खुला तथा समावेशीबाट अावेदन फर्नका लागि रु. ३००।– र समावेशी समूहको लागि रु. १५०।– थप दस्तुर बुझाउनुपर्ने छ । काठमाडौं उपत्यकाको हकमा मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, नयाँ बानेश्वर, दरखास्त व्यवस्थापन केन्द्र, अनामनगर र गोश्वारा हुलाक कार्यालय, सुन्धारा तथा काठमाडौं उपत्यका बाहिरको हकमा आयोगका क्षेत्रीय निर्देशनालयहरु, अञ्चल कार्यालयहरु तथा आयोगका कार्यालय नभएका जिल्लाहरुको हकमा सम्बन्धित जिल्लास्थित क्षेत्रीय हुलाकद्वारा बुझाउन सकिन्छ ।
चैत्रमा महिला अन्तर्राष्ट्रिय तेक्वान्दो हुने
काठमाडौं, फागुन २२ । नेपाल तेक्वान्दो संघअन्तर्गतको महिला सशक्तिकरण समितिको आयोजनामा यही चैत्र २३ गते प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भनिएको उक्त प्रतियोगितामा दक्षिण एसियाली राष्ट्र नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान लगायतको सहभागिता हुने भएको छ । आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक नन्दा बस्याले दिएको जानकारी अनुसार ६ वटा राष्ट्रका करिब १ सय ६९ खेलाडीको सहभागिता रहने भएको छ । हरेक दुई वर्षमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यसहित सुरु गरिएको प्रतियोगिता पहिलो पटक २०७१ को फागुनमा आयोजना गरिएको थियो । जुन राष्ट्रियस्तरको थियो । प्रतियोगितालाई अझ व्यापक बनाउने उद्देश्यसाथ योपटक अन्तर्राष्ट्रिय प्रतियोगता गर्न लागिएको संयोजक बस्यालले बताए । तेह्र स्पर्धामा समावेश दुईदिने प्रतियोगितामा गेरोगीमा सिनियर र जुनियर गरी विभिन्न ९ तौलसमूह तथा पुम्सेमा ४ विधामा खेल हुनेछ । जुनियरमा ४०, ४२ र ४४ तथा सिनियरमा ४६, ४९, ५३, ५७, ६२ र ६७ केजी वजनसमूहमा प्रतिस्पर्धा गराइने छ । पुम्सेमा यु–१५, यु–१९ र प्लस १९ र समूहगततर्फ खेलाडीले आ–आफ्नौ कौशल प्रदर्शन गर्नेछन् । गत पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेताले प्रतियोगितामा भाग लिन पाउने छैनन् । पाँच क्षेत्र, विभागीय टोली नेपाल प्रहरी क्लब, त्रिभूवन आर्मी क्लब र नेपाल एपीएफ क्लब गरी ८ टिमका ९६ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । २० महिला निर्णायक परिचालन गरिने छ । ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिएको जानकारी दिइयो ।
मुस्लिम समुदायको हक अधिकारका लागि आन्दोलन गर्ने चेतावनी
काठमाडौं, फागुन २१ । सरकारले मुस्लिम समुदायका हक, अधिकार सुरक्षित नगरेको भन्दै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले आन्दोलन गर्ने चेतावनी दिएको छ । आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी गठबन्धनले संवैधानिक रुपमा मुस्लिम समुदायका हक, अधिकार सुनिश्चित नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । राष्ट्रिय गठबन्धनका अध्यक्ष समिममिया अन्सारीले मुस्लिम समुदायका मागको बारेमा सरकार गम्भिर नभएको भन्दै संविधान संशोधनमार्फत माग सम्बोधन गर्न आग्रह गरे । स्थानीय तहमा मुस्लिम समुदायको प्रतिनिधित्व सन्तोषजनक नभएको भन्दै उनले निर्वाचनमा मुस्लिमहरुको प्रतिनिधित्व बढाउन माग गरे । गठबन्धनका महासचिव जाकीर हुसैनले संविधान संशोधन प्रस्तावमा मुस्लिमका मुद्दा समावेश नगरिएको गुनासो गरे ।
पच्चीस वर्षपछि लगानी सम्मेलन, खर्ब लगानी प्रतिवद्धताको अपेक्षा
काठमाडौं, फागुन १९। पञ्चायती शासनको अन्तपछि पहिलो निर्वाचित सरकारले आर्थिक उदारीकरणलाई आक्रामक रुपमा अघि बढाउन लागेको थियो । उदारीकरणमैत्री कानुन बन्दै थिए । उदारीकरणको प्रतिफल पाउन निजी क्षेत्रका साथै प्रत्यक्ष विदेशी लगानी (एफडिआई) नभई हुन्थेन । विदेशी लगानी आकर्षित गर्न तत्कालिन सरकारले २५ वर्षअघि (२०४९ साल) पहिलो लगानी सम्मेलन आयोजना गर्यो । उद्योग मन्त्रालयले निजी क्षेत्रसँग सहकार्यमा आयोजना गरेको सम्मेलन फलदायी बनेको बताउँछन्, उद्योग मन्त्रालयका तत्कालिन सहसचिव (मुख्यसचिवबाट सेवा निवृत्त) बिमल कोइराला । ‘नेपालमा विदेशी लगानी भन्ने सुनिएकै थिएन, सम्मेलनले विदेशी लगानीको चर्चा सुरु गरायो’ कोइराला भन्छन, ‘लगानीको महौल बनाउन सफल भयो ।’ झण्डै एक वर्ष गृहकार्य गरेर सम्मेलन आयोजना गरेको उनी सम्झन्छन् । विभिन्न मुलुकमा पुगेर त्यहाँका लगानीकर्ता तथा चेम्बर प्रतिनिधि भेटेर सम्मेलनको जानकारी गराइयो । उनका अनुसार सम्मेलनमा चार सय लगानीकर्ता सहभागी थिए । बानेश्वरको एभरेष्ट होटलमा भएको सम्मेलनमा प्रारम्भिक अध्ययन भएका लगानीयोग्य तीन सय परियोजना प्रस्तुत गरिएको थियो । हङकङ, जापान, कोरिया, सिंगापुर, अमेरिका लगायतका मुलुकबाट लगानीकर्ता आएका थिए । ‘सम्मेलनमा धेरै विदेशी सहभागीले लगानीको प्रतिवद्धता गरेका थिए, तर उद्योग मन्त्रालयले नियमित फ्लोअप नगर्दा सबै लगानी आउन सकेन’ उनी भन्छन् । सम्मेलनले बढायो लगानी सम्मेलनअघि आर्थिक वर्ष २०४८/४९ मा ५९ करोड ७८ लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको थियो । सम्मेलनपछि २०४९/५० मा लगानीको प्रतिवद्धता बढेर ३ अर्ब ८ करोड पुगेको उद्योग विभाग बताउँछ । दोस्रो जनआन्दोलन ०६२/६३ पछि विदेशी लगानी बढ्दै गएपनि उल्लेख्य छैन । वर्ष २०७२/७३ मा उद्योग विभागमा ८ अर्ब ३८ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । सरकारले २५ वर्षपछि लगानी सम्मेलन आयोजना गर्दैछ । यसबीचमा निजी क्षेत्रबाट भने सम्मेलन भए । यस्तो सम्मेलनले लगानीको माहोल बनाइदिने विज्ञ बताउँछन् । सोल्टी होटलमा बिहीबार र शुक्रबार दुई दिनसम्म सम्मेलन चल्नेछ । धेरै समयपछि आयोजना गर्न लागिएको सम्मेलनको उद्देश्य नेपालमा लगानीको प्रचुर सम्भवना र उपयुक्त वातावरण रहेको जानकारी गराउनु हो । लगानी सम्मेलनमा दुई दर्जन मुलुकका झण्डै साढे २ सय लगानीकर्ता आइसकेका छन् । विस्तृत सम्भाव्यता अध्ययन भइसकेका २१ खर्ब रुपैयाँ लगानीका आठवटा परियोजना सम्मेलनमा प्रस्तुत गरिँदैछ । यसको अलवा लगानी सम्भवना रहेका आठवटा क्षेत्रमा लगानी गर्न आह्वान गरिने छ । लगानी सम्मेलन महाउत्सवको रुपमा मनाउन लागेको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए । सरकारले सम्मेलनमार्फत विदेशी लगानीकर्तामाझ लगानीको सकरात्मक सन्देश फिँजाउनुपर्ने अन्नपूर्ण पोस्ट राउन्ड टेबलमा सहभागीले बताए । ‘राजनीतिक अस्थिरता, भूकम्प, बन्द हडताल र नाकाबन्दीले मुलुकको छबी बिग्रिएको छ’ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले भने, ‘सम्मेलन तब सफल हुनेछ, जब धमिलिएको छबी सुधार हुनेछ ।’ लगानीको सम्भावित क्षेत्र कृषि, पर्यटन, पूर्वाधार, जलविद्युत, सूचना प्रविधि, उत्पादनमुलक लगायतका क्षेत्रमा लगानी गर्न सम्भाव्य मानिदै आएको छ । तर, विदेशी लगानीकर्ता ढुक्क हुन सकेका छैनन । नेपाल उद्योग परिसंघका अध्यक्ष हरीभक्त शर्माका अनुसार विदेशी लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन् । विदेशी लगानीकर्तालाई आश्वस्त पार्न सक्नुपर्ने उनी बताउछन् । निर्धक्क लगानी गर्न विदेशी लगानीकर्तामाझ आह्वान गर्नुपर्ने महासंघ उपाध्यक्ष गोल्छा बताउछन । पछिल्लो समय सरकार नीतिगत सुधारमा जुटेको छ । राजनीतिक दलहरु पनि आर्थिक मुद्दामा साझा एजेन्डा बनाएर अगाडि बढ्ने बताइरहेका छन् । मुलुकले नयाँ संविधान पाइसकेको छ । अबको यात्रा आर्थिक समृद्धिको भएकोले विदेशी लगानीकर्ता आश्वस्त पार्नुपर्ने निजी क्षेत्रको धारणा छ । नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनमार्फत लगानीको माहौल बनाउन खोजेको बताए । ‘लगानी सम्मेलन गर्दैमा तत्कालै लगानी प्रतिवद्धता आउने होइन, यसले लगानीको वातावरण तयार पारिदिने हो’ उनले भने, ‘लगानी सम्मेलनमा सोँचेभन्दा बढी विदेशी लगानीकर्ता सहभागी हुन आउनुभएको छ, उहाँहरु नेपालमा लगानी गर्ने विषयमा पक्कै केही त सोँचेर आउनुभएको होला ।’ नेपालमा वाह्य लगानीमा सञ्चालित उद्योग तथा कम्पनीले प्रतिकुल अवस्थामा पनि राम्रो मुनाफा गरिरहेका छन् । एनसेल, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसबीआई बैंक, युनिलिभर, बोटलर्स नेपाल सफलताको उदाहरण हुन् । सम्मेलनमा युनिलिभरका प्रबन्ध निर्देशक सुयस चौहान, बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित खबचकजलभथ, एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सफलताको अनुभव शेयर गर्नेछन् । यसले विदेशी लगानीकर्तालाई थप आस्वस्त बनाउने लगानी बोर्डका सिइओ अधिकारी बताउँछन् । भारतीय अर्थमन्त्री अरुण जेट्ली र एशियाली पूर्वाधार विकास लगानी बैंकका प्रमुख जीन लिक्वीनले सम्मेलनमा सम्बोधन गर्दैछन् । खर्ब लगानी प्रतिवद्धताको अपेक्षा छोटो तयारीमा आयोजना गर्न लागिएको सम्मेलनमा न्यूनतम एक खर्बको लगानीको प्रतिवद्धता आउने अनुमान गरिएको छ । लगानी बोर्डले बनाएको ‘प्रोजेक्ट बैंक’मा ठूला परियोजनाको रुपमा रसायनिक मल कारखान (६० देखि १३० अर्बसम्म), पूर्व-पश्चिम विद्युतीय रेलमार्ग (तीन खर्ब), पूर्व-पश्चिम रेलमार्गमा भारतीय लिंक (२२ अर्ब ७० करोड), काठमाडौं उपत्यका मेट्रो परियोजना (साढे पाँच खर्ब), काठमाडौं-हेटौंडा सुरुङमार्ग (३५ अर्ब), काठमाडौं-पोखरा रेलमार्ग (२ खर्ब ८० खर्ब), निजगढ अन्तर्राष्ट्रिय विमानस्थल (६ खर्ब ५८ अर्ब) र तामाकोशी तेस्रो (१ खर्ब) रहेका छन् । यसैगरी, सम्मेलनमा कृषि, बैंक तथा फाइनान्स, उर्जा, सूचना तथा सञ्चार प्रविधि, उत्पादनमुलक क्षेत्र, खनिज तथा खानी, पर्यटन, यातायतका थुप्रै परियोजनाको बारेमा ‘प्यानल डिस्कसन’ हुनेछ । सरकारले ‘कन्सेप्टेवल प्रोजेक्ट’ पनि सम्मेलनमा प्रस्तुत गर्दैछ । यसअघिको लगानी सम्मेलनमा देखिएको कमजोरी नदोहोरियोस भनेर उद्योग मन्त्रालयले एक वर्ष निरन्तर ‘फलो अप’ गर्न लागेको मन्त्री जोशीले बताए । निजी क्षेत्रले लगानीसँग जोडेर सम्मेलन आयोजना गरे पनि निरन्तर ‘फ्लो अप’ गरेको पाइँदैन । यसले लगानी सम्मेलनको उद्देश्य पुरा हुन पाउँदैन । सम्मेलनमा प्रस्तुत गरेका परियोजनामा लगानी जुटाउन निरन्तर प्रयास गरिरहने उनको भनाई छ । ‘लगानी सम्मेलन गरेपछि पनि निरन्तर फलोअप गरिरहनुपर्छ, लगानी आह्वान गरिरहनु पर्छ, अनिमात्र विदेशी लगानी भित्राउन सकिन्छ, एक पटक लगानी सम्मेलन गरेर सुस्तायो भने लगानी आउँदैन’ पूर्व मुख्यसचिव कोइरालाले भने, ‘२०४९ सालको सम्मेलनमा त्यही कमजोरी भयो ।’ उनका अनुसार सम्मेलनको उद्देश्य विदेशी लगानीकर्तालाई नेपाली लगानीकर्तासँग भेट गराउने, नेपालको नीतिबारे जानकारी गराउने, नेपालमा लगानीका सम्भवना उजागर गर्ने र लगानीका लागि आह्वान गर्ने हो । यो खबर अाजको अन्नपूर्ण पोस्टमा छ ।
तरकारी खेती गरेर सुकुम्बासीबाट मालिक
मोरङ, फागुन १६ । व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा–१ का यामलाल दासको परिवार सुकुम्बासीबाट मालिक बनेकोे छ । आजभन्दा करिब १० वर्षअघि रतुवा खोला छेउको ऐलानी जग्गामा सुकुम्बासीका रुपमा बस्नुभएका यामलाल परिवार पाल्न दास सात वर्षअघिसम्म रोजगारीका लागि भारतको पञ्जावमा मजदुरी गर्नुहुन्थ्यो । अर्काको देशमा मजदुरी गर्दा पनि परिवारको छाक टार्न कठिन भएकाले छ वर्षअघि सुरु गरेको व्यावसायिक तरकारी खेतीले दास परिवारलाई अहिले मालिक मात्र होइन जिल्लामा सबै सामु परिचित समेत गरायो । दास परिवारले अहिले जिल्लामै धेरै तरकारी उत्पादन गर्ने कृषकका रुपमा पहिचान बनाउन सफल भएको छ । खेती सुरु गरेको पहिलो वर्ष यामलालले रु दुई लाख नाफा कमाउनुभयो । छ कट्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्नुभएका उहाँले भन्नुभयो – “सुरुदेखि अहिलेसम्म मैले घाटा व्यहोरेको छैन ।” अहिले पाँच बिगाहा जमिनमा तरकारी खेती विस्तार भएको छ । मेहनत ग¥यो भने तरकारी खेतीबाटै अहिले वार्षिक रु पाँच लाख आम्दानी गर्न सकिने यामलालको तर्क छ । तरकारी खेतीमा उहाँको परिवारको उत्तिकै साथ छ । परिवारको अवस्था एकदमै कमजोर हुँदा गाउँका सबैले हेप्थे । त्यसपछि तरकारी खेती सुरु गरेका उहाँ अहिले तरकारी खेतीकै कारण समाजमा आफ्नो ठूलो इज्जत बढेको बताउनुभयो । यामलाले भन्नुभयो – “तरकारी खेतीले मलाई नमुना कृषकका रुपमा परिचित गरायो ।” तरकारी खेतीको आम्दानीबाट दुई बिगाहा खेती र १० कट्ठा घडेरी जोड्नुभएको छ । दास परिवारले सो खेतमा धान, गहुँ, मुसुरो, आलु, पाटा, सुठुनी तथा मौसमअनुसारका सबै तरकारी लगाउने गर्नुहुन्छ । जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत काशीकुमार चौधरीले भन्नुभयो – “दासजस्तै १० जना कृषक महादेवा गाविसमा हुने हो भने तरकारी उत्पादनमा मोरङ जिल्लालाई धान्ने छ । ” सो कार्यालयले दास परिवारलाई युवा स्वरोजगार कार्यक्रमबाट ६० हजार अनुदान, सिँचाइ कार्यक्रमबाट पम्पसेट, बोरिङ र तरकारी खेती तालिम दिएपछि उहाँ थप हौसिनुभएको छ ।
मातृभाषाको पढाइले बीचमै विद्यालय छाड्ने विद्यार्थी घटे
कञ्चनपुर, फागुन १४ । राना थारु मातृ भाषामा पढाइ हुन थालेपछि कञ्चनपुरको देखतभूलीमा रहेको राष्ट्रिय बहुभाषिक विद्यालयमा बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्यामा कमी आएको छ । घरमै बोलिने मातृ भाषामा विद्यार्थीलाई पढाउन थालिएपछि बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या शून्य प्रतिशतमा झरेको छ । विगतमा बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या पाँच प्रतिशतभन्दा बढी हुने गरेको थियो । विद्यालयका प्रधानाध्यापक छविलाल जोशीले भने, “विद्यालयमा पढाइने पाठ्यपुस्तकलाई शिक्षकले राना थारु भाषामा अनुवाद गरी पढाउन थालेपछि बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या शून्यमा झरेको छ ।” विद्यालय नआउने विद्यार्थीको घरमै गएर शिक्षकले विद्यालय आउन प्रेरित गर्ने कार्यले समेत विद्यार्थीले बीचमै विद्यालय छाड्ने क्रम हट्दै गएको उनले बताए । भाषाको कठिनाइले विद्यालय आए पनि बीचमै कक्षा छाडेर भागेर जाने विद्यार्थी समेत हाल कक्षामा सहभागी भई पढ्दै आएका छन् । विद्यालयमा पढाउने नौ जना शिक्षकमध्ये छ जना राना समुदायकै भएकाले पनि विद्यार्थी विद्यालयमा नियमित हाजिर हुन थालेका हुन् । विद्यार्थी समयमै विद्यालय पुग्ने र पढाइप्रतिको लगाब बढ्न थालेपछि नतिजामा समेत सुधार देखिएको विद्यालयका शिक्षकको भनाइ रहेको छ । “आधारभूत तहका बालबालिकालाई घरायसीमैत्री वातावरणमा मातृभाषामै पठनपाठनको कार्य हुँदै आएकाले निजी विद्यालयमा पठनपाठन गर्दै आएका बालबालिका समेत यस विद्यालयमा भर्ना गराएका छौँ” स्थानीय अभिभावक भीम रानाले भने । बचपनदेखि बालबालिकाले बोल्दै आएको भाषामै पढ्न पाएपछि चाँडै कक्षामा पढाएको कुरा सिक्ने र पढ्नका लागि अभिरुची देखाउने गरेको उनले बताए । पाँच वर्षअघि पाठ्यक्रम विकास केन्द्रले विद्यालयलाई राना थारु भाषामा छापिएका पाठ्यपुस्तक उपलब्ध गराए पनि त्यसपछिका वर्षमा पाठ्यपुस्तक उपलब्ध नहुँदा विद्यालयका शिक्षकले आफैँ पाठ्यपुस्तक अनुवाद गरी पढाउँदै आएका छन् । विसं २०१४ मा स्थापना भएको यस विद्यालयमा अध्ययनरत ३७६ विद्यार्थीमध्ये ९७ प्रतिशत विद्यार्थी राना समुदायका रहेका छन् ।
अस्पतालले स्तरीय सेवा दिनुपर्छ : मन्त्री थापा
काठमाडौं, फागुन १३ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले अस्पतालको लगानीमामात्र ध्यान नदिइ अस्पतालले दिने सेवा र सुविधासमेत गुणस्तरीय र भरपर्दो हुनुपर्ने बताएका छन् । शुक्रबार राजधानीको सोह्रखुट्टेस्थित पर्यटक लक्षित २५ शैय्याको ‘एरा हेल्थ सेन्टर’को उद्घाटन गर्दै स्वास्थ्यमन्त्री थापाले सरकारले तोकेको मापदन्ड पुर्याएर सन्चालनमा आएको सो अस्पतालले स्वदेशी तथा विदेशी पर्यटकको गुणस्तरीय स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । अस्पतालका अध्यक्ष डा. गिर्वाणराज तिमिल्सिनाले कुनैपनि विदेशी नेपाल आउँदाको समय बिरामी परे उपचार गर्न पाएनौं भन्ने गुनासो नहोस् भन्ने उद्देश्यले सो अस्पताल सन्चालनमा ल्याएको बताए । मुलुकमा विदेशी नागरिकका लागिमात्र भनेर खोलिएका अस्पताल नगन्य भएका अवस्थामा यस अस्पतालले पर्यटकको स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सो अस्पतालका निर्देशक भानु ढकालले बताए ।
गरिबी निवारणका नवनियुक्त अध्यक्ष थापाले दिए यस्तो अभिव्यक्ति
काठमाडौँ, १३ फागुन । गरिबी निवारण कोषको नवनियुक्त उपाध्यक्ष डा यमबहादुर थापाले राजनीतिक दलको विचारधारा फरक भएतापनि गरिबी निवारणजस्तो संवेदनशील विषयमा भने एकमत र ऐक्यबद्धता हुनुपर्ने बताउनुभएको छ । उहाँको स्वागतका लागि कोषमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले कोषलाई स्वाबलम्बी संस्थाको रुपमा विकास गर्न प्रयास गर्ने बताउनुभयो । डा थापाले आगामी दिनमा अनुसन्धान, सिर्जनशील परियोजना, घुम्ती कोषको व्यवस्थापनमा जोड दिने र नेपाल सरकारको गरिबी निवारणको लक्ष्य प्राप्तिमा कोषलाई उन्मुख गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सरकारले गरिबी निवारण कोषमा गत सोमबार डा थापालाई उपाध्यक्ष नियुक्त गरेको हो । डा थापाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गर्नुभएको छ । यसअघि उहाँले राष्ट्रिय योजना आयोगको सदस्यको रुपमा काम गरिसक्नुभएको छ । यस्तै उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा गरिबी निवारण विशेषज्ञको रुपमा समेत काम गरिसक्नुभएको छ । बाह्र वर्षदेखि संञ्चालित गरीवी निवारण कोषका कार्यक्रमले ५५ जिल्लामा ३० हजार सामुदायिक संस्था गठन गरेर ८ लाख गरीव घरधुरीलाई समेटेको छ । रासस
पशुपतिनाथमा शिवरात्री पूजा ४५ मिनेटमै हुने, विशेष पासको व्यवस्था कटौति
काठमाडौं, फागुन १३ । शिवरात्रीको अवसरमा पशुपति दर्शन गर्न ४५ मिनेटभन्दा बढी कुर्नु नपर्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको शिवरात्रिमा पशुपति दर्शन गर्न आउने भक्तजनलाई मन्दिर परिसरमा प्रवेश गरेको आधा घन्टादेखि ४५ मिनेटसम्ममा दर्शन गर्न पाउने गरी व्यवस्था मिलाएको बताएको हो । कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले गत वर्षको भन्दा छिटो दर्शन गर्न पाउने व्यवस्था गरेको र ४५ मिनेटसम्ममा दर्शनको व्यवस्था मिलाएको बताए । सर्वसाधारणलाई सुविधा होस् भनेर यसपटकदेखि कोषले विशेष पास र मूल समारोह समिति पनि हटाएको छ । ‘एक हजार रुपैयाँ तिरेर पाउने विशेष पासको व्यवस्था हटाएका छौं,’ कोषका सदस्यसचिव टण्डनले भने, ‘मूल समारोह समितिका सदस्यले आफन्त तथा चिनजानकालाई पास वितरण गर्ने र मान्छे लाने ल्याउने गर्दा दर्शनार्थीलाई असहज भएको महसुस भएर समिति नै कटौती गरिएको हो ।’ कोषले महाशिवरात्रि पर्व सञ्चालनका लागि यस वर्ष ४० लाख र गुठी संस्थानले करिब २४ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । शिवरात्रि पर्वलाई सहज तथा सुरक्षित बनाउन ४ हजार नेपाल प्रहरी, २ हजार ५ सय सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सिभिल सुरक्षाकर्मी खटाइएको छ । शिवरात्रिको अवसरमा शुक्रबार १३ लाख भक्तजनले पशुपति मन्दिर दर्शन तथा पूजाआजा गर्ने अपेक्षा गरेको कोषले जनाएको छ । कोषका अनुसार शिवरात्रिका लागि ५ हजार साधुसन्त आइपुगेका छन । संस्थानको तर्फबाट पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर, मृगृस्थली गोरखनाथ, भष्मेश्वर र निर्मल अखडा लगायतका क्षेत्रमा आवश्यक सामग्रीको व्यवस्था गरिएको छ । मन्दिरमा सहभागी साधुसन्त, महात्मा, सन्यासीका लागि संस्थानले फाल्गुन कृष्ण एकादशीको दिन विभिन्न सामग्रीहरू (राडी, च्यादर, बख्खु, कमण्डलु, शंखघण्ट, पीताम्बरी, लोटा, सिदा) राष्ट्रपति विद्यादेवी भण्डारीबाट संकल्प गराएर ल्याएको र बिदाइको दिन वितरण गरिने जनाएको छ । शुक्रबार महाशिवरात्रिका दिन बिहान गुठी संस्थानले पशुपतिनाथमा पञ्चामृत स्नानसहित पूजा गरेको छ । महाशिवरात्रि अवधिभर साधुसन्त, महात्मा, सन्यासीहरूले धुनी बाल्न ३८ हजार किलो दाउरा गुठी संस्थानले व्यवस्था गरेको छ । मित्रपार्क–उमाकुण्ड–दक्षिणमूर्ति–रुद्रगाडेश्वर–बासुकी हुँदै उत्तर ढोकाको सिंढीबाट एक लाइन, गौशाला–वनकाली–चार शिवालय–पञ्चदेवल–बज्र घर हुँदै दक्षिण ढोका चौसट्ठी लिङ्गबाट अर्को लाइन र पूर्व ढोकाबाट अर्को लाइन मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ ।
व्यस्त बजारमा भएको कार बम विस्फोट ३९ जनाको मृत्यु
फागुन ९ । सोमालियाको राजधानी मोगादिशुमा आत्मघाती कार बम विस्फोट हुँदा ३९ जनाको ज्यान गएको छ । मोगादिशुको दक्षिणी क्षेत्रको एक व्यस्त बजारमा भएको सो कार बम विष्फोटमा अन्य ५० जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । खाद्यान्न तथा तरकारीको उक्त बजारमा भएको विष्फोटको कारण बजार ध्वस्त भएको छ । फेब्रुअरीको सुरुमा भएको राष्ट्रपतीय चुनावमा मोहम्मद हब्दुल्लाही मोहम्मद विजयी भएपछि राजधानी मोगादिशुमा भएको यो ठूलो आक्रमण हो । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।
अमेरिकामा प्रियंका चोपडा र दीपिकाको प्रतिपर्धा
फागुन ८ । बलिउड होस या हलिउड कलकारहरुको प्रतिष्पर्धा हुनु स्वभाविकै मानिन्छ । तर बलिउडसँग सँगै हलिउडमा समेत प्रतिष्पर्धामा रहेका नायिका प्रिंयंका चोपडा र दीपिका पादुकोण न्यूयोर्कको एक फेसन सोमा देखिए । उनीहरु उक्त फोसनसोमा पनि प्रतिष्पर्धा नै गरिरहेका थिए । ‘न्यूयोक फेसन वीक’ मा उनीहरु सहभागी भएका थिए । अन्तर्राष्ट्रिय फेसन सो तथा टीभि सिरियलहरुलाई आफ्नो प्रभावमा पार्न सफल यि नायिकाहरु अब ‘न्यूयोक फेसन वीक’मा पनि देखिएका हुन् । प्रियंका चोपडा नेपाली डिजाइनर प्रवल गौरगसँगको फेसन सोमा पहिलो लाइनमा बसेकी थिइन् । यो लाइन महिला सशक्तिकरणबाट प्रभावित भएकाहरुका लागि हो । अर्काेतिर दीपिका पादुकोण पनि न्युयोर्कमै छिन् । आइतबार राल्फ लारेलसँग शोमा हिस्सा लिएकी पादुकोण यो फेसन शो हेर्नेको पहिलो लाइनमा थिइन् । चोपडा लामो समयदेखि नै न्यूयोकमै छिन् । आफ्नो अमेरिकन टिभी सिरिज ‘क्वाटिको’ को सुटिङका क्रममा उनी त्यही छिन् । गौरांगको यस शोमा सहभागी भएकी प्रियंकाले २०१७ डिजाइनर कलेक्सबाट फरक ड्रेस लगाएकी थिइन् । प्रियंका एक टैक्स्ड टप र हेम स्कर्टमा देखिएकी थिइन् । उनले त्यससँगै बुट र एक ज्याकेट लगाएकी थिइन् । शोका लागि प्रियंका पहिलो लाइनमा बसेकी थिइन् । एकताका हिलेरी क्लिंटनको सलाहकार समेत बनेकी हुमा आब्दिनसँगै प्रियंका बसेकी थिइन् । त्यस्तै एकदिन अगाडि दीपिका पादुकोण डिजाइनर मिशेल कोर्सको शोमा पुगेकी थिइन् । दीपिकाले नेवी ब्लू करलको ट्रेच डे«स लगाएकी थिइन् । मिशेलको स्प्रिंग २०१७ कलेक्सनमा पुगेकी दीपिकाले हाईनेक टपसँगै पहिरिएकी थिइन् । उक्त ड्रेसमा निकै खुलेकी दीपिकाले निकै सामान्य मेकअप गरेकी थिइन् । त्यही आइतबार नै दीपिका राल्फ लारेलको शोमा पनि पुगिन । त्यहाँ दीपिका सबैभन्दा अगाडि बसेकी थिइन् । उनीसँगै खिचिएको सेल्फी अमेरिकन कलाकार कामिला बेलेले पोष्ट गरेका छन् । दीपिका त्यहाँ ह्वाईट कलरको वन पिस ड्रेसमा देखिएकी थिइन् । खासमा दीपिका अचेल सञ्जय लीला भन्सालीको नयाँ फिलिम ‘पद्मावती’को सुटिङको सिलसिलामा न्युयोर्कमा छिन् ।
व्यवसायीका कारण पेट्रोल अभाव
काठमाडौं, फागुन ८ । नयाँ बजार बस्ने शिव जीसीले शनिबार मोटरसाइकलमा पेट्रोल भर्न चारवटा पम्प चहारे । त्रिपुरेश्वरको जयन्ती आयल स्टोरमा पेट्रोल भर्न लाइन बसेका जीसीले नयाँ बजार, भद्रकाली, सुन्धाराको पम्पमा तेल नपाएपछि त्यहाँ पुगेको बताए । ‘घुम्दा घुम्दा यहाँ आइपुगेको छु,’ शनिबार साँझ जीसीले भने, ‘पैसा तिरेर पेट्रोल हाल्न पनि यस्तो सास्ती ।’ शनिबार पेट्रोल भर्न भौतारिने जीसी एक्ला होइनन् । उपत्यकाका अधिकांश पेट्रोल पम्पमा तेल नपाएपछि सार्वसाधारणले दुःख पाएका छन् । शुक्रबार ट्याङकर चालक आन्दोलनले पेट्रोलियम पदार्थ ढुवानी भएन । शनिबार नेपाल आयल निगमले तेल उपलब्ध नगराउँदा उपत्यकामा डिजेल र पेट्रोल अभाव भएको पम्प सञ्चालकहरु बताउँछन् । निजीमात्र नभएर सरकारी पम्पलेसमेत तेल नदिएपछि उपभोक्तालाई सास्ती भयो । एक दिन अवरोध हुनासाथ बजारमा पेट्रोलियम अभाव हुने अवस्थामा निगमको व्यवस्थापन कमजोर हुँदा पटक पटक यस्तो हुने गरेको छ । ट्यांकर चालकको आन्दोलन र बिदाको कारण अभाव भए पनि आइतबार पर्याप्त पेट्रोल बजारमा पठाउने निगमले जनाएको छ । –नागरिक दैनिकबाट
बिहानै धादिङमा परकम्प
काठमाडौँ, फागुन ७ । आज बिहान ६ बजे धादिङ बेनीघाट केन्द्रविन्दु भएको ४.४ रिक्टर स्केलको परकम्प गएको छ । गत वर्ष वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ वा त्यसमाथिका रिक्टर स्केलका हालसम्म चार सय ७७ परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । रासस