चन्द्रागिरीका माओवादी केन्द्रका उम्मेदवारको अग्रता
काठमाडौं, जेठ १ । काठमाडौंको चन्द्रागिरी नगरपालिकाको मतगणना जारी छ। आइतबार रातिबाट सुरु भएको मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्।
सोमबार बिहानसम्म भएको मत गणनामा माओवादी केन्द्रका उम्मेदवारले ३३१ मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले २९३ मत पाएका छन्। तेस्रो स्थानमा रहेका एमाले उम्मेदवारले १०६ मत पाएका छन्। मत गणना जारी छ।
सेनाद्वारा सकेट बम नष्ट
उदयपुर, वैशाख २० । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–२ स्थित सिरबानी गाउँको एक कृषकको घरनजिकै भेटिएका ६ थान सकेट बमलाई मङ्गलबार नेपाली सेनाको भवानी दल गुल्म, ताराघारी, कटारीको टोलीले नष्ट गरेको छ । नेपाली सेना भवानी दल गण, उदयपुर बोक्सेका अनुसार स्थानीय एक कृषकको घरनजिकै बमजस्तो वस्तु देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए भने प्रहरीले तत्काल सेनालाई खबर गरेको थियो । भवानी दल गुल्म ताराघारी कटारीका क्याप्टेन भरत गिरीको नेतृत्वमा गएको ६ जनाको बम डिस्पोजल टोलीले घटनास्थलमा गएर बम नष्ट गरेको भवानी दल गण उदयपुर बोक्सेका प्रमुख सेनानी सुमन खड्काले बताउनुभएको छ । बम विगतमा माओबादी द्वन्द्वकालमा छाडिएको वा कसैले लुकाएको हो यस विषयमा भने अध्ययन भइरहेको पनि सेनाले बताएको छ ।
हिमपातः धोदेखि साल्दाङ जान हेलिकप्टर
डोल्पा, वैशाख १९ । स्थानीय तहको चुनाव गराउनका लागि उपल्लो डोल्पा हिँडेको निर्वाचन अधिकृत, सुरक्षाकर्मी तथा अन्य कर्मचारीसहितको टोलीलाई विकट क्षेत्र धोबाट साल्दाङ जानका लागि हेलिकप्टर प्रयोग गरिएको छ । मौसम खराबीसँगै भएको भारी हिमपातले धो–साल्दाङ जाने बाटो अवरुद्ध भई धो पुगिसकेको उक्त कर्मचारीको टोली जान नसकेपछि सेनाको हेलिकप्टर व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय, डोल्पाले जनाएको छ । उक्त टोलीलाई आज सेनाको हेलिकप्टरबाट धोबाट साल्दाङ पु¥याइएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले जानकारी दिनुभयो । थुप्रै भौगोलिक कठिनाइबीच पनि उपल्लो डोल्पामा निर्वाचन गराउन कर्मचारी हिँड्ने क्रम जारी रहेकाले यही वैशाख २१ गतेसम्म सबै कर्मचारी हिँडिसक्ने र वैशाख २७ गतेभित्र पुगिसक्ने समेत निर्वाचन अधिकारी बुढाले जानकारी दिनुभयो । उपल्लो डोल्पाका २२ वटै मतदान केन्द्रमा निर्वाचन अधिकृत पुगेर पनि आज धमाधम उम्मेदवार मनोनयन दर्ता कार्य भइरहेको समेत बुढाले जानकारी दिनुभयो ।
विद्यार्थीको विरोध प्रदर्शनका क्रममा झडप, केही घाइते
काठमाडौं, वैशाख १५ । निजी विद्यालयले सरकारले निर्दिष्ट गरेका मापदन्डभन्दा बढी शुल्क लिएकोविरुद्ध कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी संगठनले जिल्ला शिक्षा कार्यालयअगाडि गरेको विरोध प्रदर्शनका क्रममा शुक्रबार झडप भएको छ । विद्यार्थी भर्ना गर्दा निजी विद्यालयले मापदन्डभन्दा बढी लिइएको शुल्क सम्बन्धित अभिभावकलाई बोलाएर अविलम्ब फिर्ता गर्नुपर्ने भन्दै ताहचलमा गरिएको प्रदर्शनमा झडप हुँदा केही विद्यार्थी नेता सामान्य घाइते भएका छन् । ललितपुर र भक्तपुरका शिक्षा कार्यालयमा तालाबन्दीसमेत गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । उनले निजी शैक्षिक संस्थाले सरकारको मार्गनिर्देशनको उल्लंघन गरी जथाभावी शुल्क निर्धारण गर्नु कानुनविपरीत रहेको भन्दै यसविरुद्ध सशक्त आन्दोलनका कार्यक्रम गरिने जानकारी दिए । सरकारले वार्ताका लागि बोलाएको भएपनि शुल्क फिर्ताको क्रम सुरु नहुँदासम्म वार्तामा नबस्ने विद्यार्थी संगठनले जनाएको छ । ती संगठनको अघिल्लो दिन बसेको बैठकले माग पूरा गर्न दबाब दिने उद्देश्यले देशभर विरोध प्रदर्शन तथा शुल्क लिने विद्यालय सन्चालकलगायतलाई बहिस्कार गर्नेजस्ता निर्णय पनि गरेको थियो । निजी विद्यालय सन्चालकले शुल्क फिर्ता नगर्दासम्म उनीहरूलाई सामाजिक बहिस्कार गर्ने संगठनले जनाएको छ । संयुक्त विद्यार्थी संगठनमा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, राप्रविसंलगायत आठ संगठन आवद्ध छन् । तस्वीर ः अारसी लामीछानेकाे फेसबुकबाट
उपराष्ट्रपतिसँग ईयू र ईजरायलका राजदूतको शिष्टाचार भेट
काठमाडौं, वैशाख १४ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सँग नेपालका लागि युरोपियन यूनियन (ईयू) का राजदूत र इजरायलका राजदूतले शिष्टाचार भेट गरेका छन् । बिहीबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय कान्तिपथ बहादुर भवन पुगेर ईयूका राजदूत रिन्छे टेरेन्क र इजरायलका राजदूत यारोन मेयरले छुट्टाछुट्टै शिष्टाचार भेट गरेको हो । उपराष्ट्रपतिले यूरोपियन यूनियनका राजदूतसँगको भेटमा नेपाल र ईयूको सम्बन्ध घनिष्ट रहेको बताए । उनले नेपाल र ईयूबीचको सम्बन्धलाई जनस्तरसम्म प्रगाढ बनाउनुपर्नेमा जोड दिए । भेटमा उपराष्ट्रपतिले नेपाली जनताको लामो संघर्षपछि प्राप्त अधिकारको संस्थागत गर्नका लागि नेपाल निर्वाचनतर्फ अग्रसर रहेको बताए । उनले आसन्न स्थानीय तहको निर्वाचनले सिंहदरबारमा केन्द्रित जनताको अधिकार जनताको घर आगनमा पु¥याउने बताए । उपराष्ट्रपतिसँगको भेटमा ईयूका राजदूतले ईयू र नेपालको सम्बन्ध प्रगाढ रहेको बताए । उनले निर्वाचन नेपालको आन्तरिक मामिला भएको बताउँदै स्थानीय तहको निर्वाचन सफलताको लागि शुभकामना दिए । उनले नेपालले अपनाएको लोकतान्त्रिकरण, समावेशीता र विकेन्द्रकरण उच्च प्रशंनीय भएको बताए । उपराष्ट्रपतिले आजै ईजरालयका राजदूतसँगको भेटमा नेपाल र ईजरायलबीचको सम्बन्धलाई जनस्तरसम्म प्रगाढ बनाउनुपर्नेमा जोड दिए । उनले ईजरायलले कृषि क्षेत्रमा हासिल गरेको उपलब्धिबाट नेपालले सिक्न चाहेको बताए । उपराष्ट्रपतिसँगको भेटमा ईजरायलका राजदूतले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताए । उनले ईजरायल सरकारले नेपाल घुम्नका लागि उत्कृष्ट गन्तव्य भएको र राजनीतिक स्थायित्व हासिल गरिरहेकोले आफ्ना नागरिकलाई नेपाल घुम्न प्रोत्साहित गरिरहेको बताए।
देशको लागि एमाले जिम्मेवार बन्न जरुरी
वैशाख १२ । कुनै बेला एमालेका अध्यक्ष ओलीले नेपालमा गणतन्त्र स्थापना सम्भव देखेकै थिएनन् । गणतन्त्र स्थापना गर्नु, अमेरिका बयलगाडामा चढेर जानुजस्तै सोच्थे । किनकि त्यतिबेला उनी शक्तिमा थिए । आफुलाई भएपछि अरुको किन मत्लव राख्नुपर्यो ? फेरि शक्तिविहिन जनता शक्तिमा आएमा खाइरहेको भाग पनि आधा हुन्थ्यो । अधिकार नपाएकाहरुले अधिकार माग्थे । सत्तामा आफ्नो पनि हक दाबि गर्थे । त्यतिसम्म गर्न नसकेपनि अधिकारको लागि आवाज उठाउने थिए । त्यसपछि आफुले गरिरहेको कर्मकाण्डी राजनीतिको अवशान हुन्थ्यो । सायद त्यस्तै सोचेर होला उनले नेपालमा गणतन्त्र स्थापना सम्भव छैन भनिदिए । तर, परिस्थिति बद्लियो । आज नेपालमा गणतन्त्र स्थापना भएको एघार बर्ष बितिसकेको छ । स्वयम् गणतन्त्र स्थापना सम्भव नदेख्नेहरु गणतन्त्र स्थापनाका निम्ति लड्नेहरुकै काँधमा टेकेर गणतान्त्रिक नेपालको प्रधानमन्त्री पनि बनिसकेका छन् । तैपनि उनिहरुलाई गणतन्त्र आएको पचेको छैन । सभा समारोहमा गणतन्त्र शब्द उच्चारण गर्नपनि हिच्किचाउँछन् । बरु कसैलाई माध्यम बनाएर पुर्वराजा ज्ञानेन्द्र शाहसँग आफ्नो सम्पर्क जारी राखेका छन् । र, घुमाउरो शैलीमा बोल्दैछन् गणतन्त्रको लागि लड्नेहरु जङ्गली हुन्, आतङ्ककारी हुन् तिनीहरुलाई जेल हाल्नुपर्छ । अहिले राष्ट्रपतिमा एमाले कि विद्यादेवी भण्डारी छिन् । उनको राजनीतिक धरातल एमाले हो । चाहेर या नचाहेर जे भएपनि उनि एमालेकै ईन्ट्रेष्टमा चल्छिन् । पङ्तिकार एकपटक एमाले र राजशंस्था सम्बन्धको बारेमा केहि कुरा सरसर्ती सम्झन चाहान्छ । २०७३ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीको छोरी निशाकुसुमको बिहे पूर्वराष्ट्रपति रामवरण यादवका नातिसँग भयो । विहेमा राष्ट्रपति भण्डारीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आमन्त्रण गरेकी थिइन् । निम्तोलाई स्वीकार गर्दै, ज्ञानेन्द्र शीतल निवास पुगेर त्यहाँ उपस्थित राज्यका उच्च पदस्थ व्यक्तिहरु सँगसँगै बसेर भलाकुसारी समेत गर्न भ्याए । यो घटनाबाट पुष्टि हुन्छ राजाप्रति एमालेको निकटता पछिल्लो समय बढेको छ । र, अहिले एमाले राजाप्रति झनै सकारात्मक देखिएको बिभिन्न तवरबाट बिष्लेशण पनि भईरहेको छ । कुनै पनि सभाहरुमा बोल्दा शब्द चिप्लिएर हो या, ध्यान तेतै भएर घुमाउरो शैलिमा राजतन्त्रको पक्षमा बोलिरहेकै हुन्छन् उनीहरु । यो त प्रतिनिधि घटना मात्रहो एमाले र राजाको सम्बन्धको बारेमा अन्य थुप्रै दृश्यहरु होलान् जुन सतहमा नदेखिएको होला । यदि, अबको केहि समयपछि एमालेले खुलेरै राजतन्त्रको पक्षमा वकालत गर्यो भने त्यसलाई हामिले अनौठो मान्नुपर्दैन । ओली सत्ताच्युत भएपछि उनले आफ्नो रिस सतहमै देखाए । ओलीले आफु अल्पमतमा परेर सरकार छाड्नुपर्दाको पिडा बानेश्वरमा आफ्नै कार्यकर्तालाई सडकमा उतारेर स्वतन्त्र युवाहरुको जुलुश भनि प्रचार गर्न लगाएर देखाए । तिनै ओली हुन् हिजो गणतन्त्रलाई ठेलागाडामा भन्ने अनि आज तिनैलाई अल्पमतमा पर्दा पनि आफुनै सत्तामा रहिरहनुपर्ने ? अर्कोतर्फ आफ्नै नेतृत्वको सरकार रहँदा आफैले प्रस्ताव गरेको संम्बिधान संसोधनको प्रकृयालाई समेत उनले सरकारबाट बाहिरिएपछि राष्ट्रघाती भनिदिए । त्यसको विरुद्वमा एमाले निकट कार्यकर्ता र तिनका पत्रिकाहरुले एकोहोरो प्रचण्ड सरकार र संम्विधान संसोधनको विरोध गरिरहे । अझ त्यतिले रिस नमरेर सडकमा टायर बालेर सेल्फि खिच्ने कामदेखि लिएर बानेश्वरमा सरकारी गाडी जलाएर आगो ताप्ने काम समेत तिनै एमालेजनले गरे । केही समय अघिबाट एमालेभित्र केपी ओलीका समर्थकहरुले उनलाई राष्ट्रवादी भनी प्रचार गरे । पार्टीका दुई चार जना कार्यकर्ताले राष्ट्रवादी भनेर प्रचार गर्दैमा उनी राष्ट्रवादी नै भएका हुन् ? कुनै समय भारतकै नजिक भएर, उसैका संरक्षणमा हुर्किएका हुन् उनि, त्यो कुरा कसैबाट छिपेको छैन । त्यो देख्दा देख्दै अहिले तिनै ओलीलाई राष्ट्रवादी भनेर कसरी मान्ने ? महाकाली सन्धि गर्दा पर्दा अगाडि काङ्ग्र्रेसलाई राखेर पछाडि बसेर महत्वपूर्ण भूमिका निर्वाह गरेर इतिहासमै ठूलो राष्ट्रघात गरेको कुरा कसैबाट छिपेको छैन । आज उनलाई केका आधारमा राष्ट्रवादी भन्ने ? त्यही सन्धिका कारण एमाले पार्टी विभाजित भएको इतिहास हाम्रासामु छ ताजै छ । सत्ताको लागि कुनैपनि सम्झौता गर्न पछि नपर्ने एमालेको नियत नै हो । ओली एमाले अध्यक्ष भएपछि र प्रचण्डसँग सम्झौता गरेर सरकारको नेतृत्व गरेपश्चात् त्यो कुरा स्पस्ट देखियो । अझ दिनहरु बित्दै जाँदा ओलीले आफु सत्ताबाट बाहिरिनुपर्दाको बर्बरता देखाउँदै छन् । अफवाहलाई कलात्मक ढङ्गले प्रस्तुत गर्न सक्ने मिडियामा जागिरे उनको कार्यकर्ता, एनजीओ आईएनजीओबाट पोषित बुद्धिजीवी र अन्धभक्त कार्यकर्तालाई प्रयोग गरेर सत्तामा जाने चाल रच्नमै ब्यस्त छन् उनि । अहिले फेरी संम्बिधान संसोधनको बिषयलाई लिएर ओलीले (एमाले) देशलाई बन्धक बनाउन खोज्दैछन् । ओली नेतृत्वको सरकारले गर्न नसकेको काम प्रचण्ड सरकारले गरेपछि एमालेका नेताहरुको निद हराम भएको कुरा उनिहरुको ब्यबाहारले प्रस्ट देखाइरहेको छ । प्रचण्ड सरकारले देशमा संम्बिधान जारी भएदेखी नै असन्तुष्ट रहेको मधेशी मोर्चा भित्र रहेका दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराएर संम्बिधान कार्यन्वयनको बाटोमा अघि बढाउने उदेश्य अनुरुप दुई चरणमा निर्वाचन सम्पन्न गर्ने सहमति गरिरहँदा एमालेलाई किन आपत्ति ? इतिहास साक्षी छ, एमालेले यो कुरा बुझे हुन्छ २०३९ सालदेखि भएको कुनैपनि स्थानीय निर्वाचन एकै चरणमा सम्पन्न भएको छैन । अहिलेको निर्वाचन पनि एकै चरणमा सम्पन्न हुनुपर्छ भन्ने एमालेको भित्री मनसाय के हो ? कि त्यसभित्र सत्ताको गन्ध मिसिएको छ ? यदि एमालेलाई सत्ता नै चाहिएको हो भने उनिहरुको सत्ता स्वार्थले देशलाई कतिदिन बन्धक बनाउने ? एमालेहरुको दिमागमा यो कुरा पनि घुसोस् कुनैपनि शक्तिलाई बाहिर राखेर निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक प्रकृया होईन । एक्लै दौडिदा आफैले जितिन्छ । आफैले जित्नुपर्छ भन्दै केहि दललाई बाहिर राखेर निर्वाचनमा जानुको कुनै अर्थ रहदैन । त्यसले निर्वाचनको बैधानिकता माथी नै प्रश्न उठ्छ । त्यसैले एमाले साँच्चै जिम्मेवार प्रतिपक्षी दल हो भने कि सरकारले दुईचरणमा निर्वाचन सम्पन्न गर्ने भनि गरेको सहमतिलाई स्वीकार गर्न सक्नुपर्छ नत्र, मधेशबादी दललाई समेत निर्वाचनमा सहभागी गराउन सक्ने अर्को सर्व स्वीकार्य प्रस्ताब ल्याएर जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्नुपर्छ ।
चर्काे शुल्क असुलेको भन्दै मुलुकभरका जिशिका घेराउ
काठमाडौं, वैशाख १२ । संयुक्त विद्यार्थी संगठनले मंगलबार मुलुकभरका जिल्ला शिक्षा कार्यलय घेराउ गरेका छन् । निजी शैक्षिक संस्थाले मापदण्डविपरित चर्को शुल्क असुलेको भन्दै विभिन्न ९ वटा विद्यार्थी संगठनले मंगलबार बिहान ११ बजेदेखि एक घण्टा शिक्षा कार्यालय घेराउ गरेका हुन् । सो विषयमा सरकारको ध्यानाकर्षण गराए पनि बेवास्ता गरेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए । यस्तै, उनीहरुले भोलि मापदण्ड मिचेर बढी शुल्क लिने नीजि शैक्षिक संस्थाहरुको लेखा र प्रशासनमा तालाबन्दी गर्ने र पर्सी १४ गते प्याब्सन र एन प्याब्सनको जिल्ला तथा केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने लगायतको कार्यक्रम पनि सार्वजनिक गरेका छन् । यसअघि मापदण्ड विपरित संस्थागत विद्यालयले बढाएको शुल्क तीन दिन भित्र फिर्ता गर्न शिक्षामन्त्रालयले पहल गर्ने प्रतिबद्धता जनाएपनि कार्यान्वयन गर्न नसकेको उनीहरुले आरोप लगाएका छन् ।
एएफसी यु–१६ मा नेपाल र भारत सँगै
काठमाडौँ, वैशाख ८ । सोह्र वर्षमुनिको एएफसी च्याम्पियनसिपको छनोट खेलमा नेपाल र भारत एउटै समूहमा परेका छन् । मलेसियाको राजधानी क्वालालम्पुरमा आज सार्वजनिक गरिएको ड्रमा नेपाल कठिन समूहमा परेको छ । ४५ राष्ट्र सम्मिलित उक्त च्याम्पियनसिपमा सहभागी टोलीलाई विभिन्न १० वटा समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा डिफेन्डिङ च्याम्पियन इराक र प्यालेष्टाइन रहेका छन् । त्यस्तै समूह ‘ए’मा उज्वेकिस्तान, साउदी अरब, जोर्डन, बहराइन र श्रीलङ्का छन् भने समूह ‘बी’मा ओमन, ताजकिस्तान, सिरिया, तुर्कमिनिस्तान र माल्दिभ्स छन् । त्यसैगरी समूह ‘सि’मा इरान, अफगानिस्तान, लेबनान, किर्गिस्तान र भुटान रहेका छन् । यस्तै समूह ‘इ’मा संयुक्त अरब इमिरेट्स (युएई), यमन, कतार र बङ्गलादेश छन् भने समूह ‘एफ’मा उत्तर कोरिया, हङ्कङ, चाइनिज ताइपे, मकाउ र ब्रुनाई छन् । समूह ‘जि’ मा थाइल्यान्ड, लाओस, टिमोर लिस्टे, मारियाना आइल्यान्ड र इन्डोनेसिया छन् । यस्तै समूह ‘एच’मा दक्षिण कोरिया, चीन, म्यानमार र फिलिपिन्स छन् भने समूह ‘आई’मा भियतनाम, अष्ट्रेलिया, मङ्गोलिया र कम्बोडिया छन् । समूह ‘जे’ मा जापान, मलेसिया, गाम र सिङ्गापुर रहेका छन् । प्रत्येक समूहका विजेता र उपविजेता टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् । छनोट खेल आगामी सेप्टेम्बर १६ तारिखदेखि २४ तारिखसम्म हुनेछ ।
काठमाडौंमा फेरि रात्री बस
काठमाडौं, बैसाख ८ । काठमाडौं महानगरपालिकाले दुई महिनाभित्र फेरि रात्री बस सञ्चालनमा ल्याउने भएको छ । तीन बषैदेखि सञ्चालनमा आउन नसकेको रात्रीबस पुन सञ्चालन गर्न महानगरले गृहकार्य गरेको छ । तत्कालिन उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठले २०६९ भदौ १ गते तामझामसहित रत्नपार्कमा रात्रिबस उद्घाटन गरेका थिए । २०७० जेठबाट रात्रिबस काठमाडौंमका देखिएनन् । यो खबर आजको अन्नपूर्ण पेस्टमा छ ।
माओवादी केन्द्र र नेकपा (क्रान्तिकारी) माओवादी बैद्य विच धादिङमा पार्टी एकता
धादिङ, चैत १६ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै देशका विभिन्न स्थान तथा पार्टी कमिटीमा पार्टी प्रवेशको लहर चलेको वेला धादिङमा भने दुई पार्टीबीच एकता भएको छ । मोहन वैद्य ‘किरण’ निकटको (क्रान्तिकारी) माओवादी जिल्ला समिती धादिङ र प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र धादिङबीच एकता भएको छ । बुधबार जिल्लामा एक कार्यक्रमको आयोजना गरी पार्टी एकता गरिएको माओवादी केन्द्र धादिङका सह–सचिव मनराज भण्डारी शैलेशले जानकारी दिए । लामो समयदेखि दुई पार्टीको जिल्ला एकता गर्ने विषयमा छलफल चलेको र त्यही छलफलको परिणामस्वरुप पार्टी एकता गरिएको भण्डारीले बताए । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा धादिङमा अन्य पार्टीबाट माओवादी केन्द्रमा पार्टी प्रवेश गर्नेहरुको भीड रहेको पाईन्छ । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउन दुई पार्टी विच एकताको आवश्यकता रहेको र सोहीअनुरुप हामी पार्टी एकता गर्न तयार भएको निवर्तमान क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी हरि अधिकारीले बताए । जिल्लामा यथास्थितिवादी र जडसुत्रवादीको हाबी हुन नदिन दुई पार्टीबीच एकता भएको कार्यकताहरुको बुझाई रहेको पाइन्छ । नेकपा (क्रान्तिकारी) माओवादी जिल्ला सेक्रेटर हरि अधिकारीको नेतृत्वमा रहेको सिङ्गो जिल्ला कमिटी र माओवादी केन्द्रबीच एकता भएको छ । एकता भएसँगै क्रान्तिकारी माओवादीका हरि अधिकारी, मंगबहादुर तामाङ, रामकृष्ण धरेल, केदार थापा, सुवास विक (विद्यार्थी अध्यक्ष) ज्ञानबहादुर घले, मानबहादुर तामाङ, गणेश घले, मदन तामाङ, चन्द्रबहादुर घले, पदम तामाङ, गोपाल रिजाल, सुर्यमान तामाङ, राजन श्रेष्ठ, स्याम तामाङ सहित १९ सदस्यीय कमिटीमध्ये १६ सदस्य माओवादी केन्द्रसँग एकता भएको छ । एकता कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो भने अर्काे पोलिटव्युरो सदस्य शालिकराम जम्कटेलको विशेष आतिथ्यता रहेको थियो । दुई पार्टीको पदाधिकारी तथा कार्य समितिबीच एकता पश्चात अब धादिङको माओवादी आन्दोलनले नयाँ उचाई लिने माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जम्कटेलले बताए ।
नयाँ शक्तिमा औपचारिक विभाजन, विद्रोही समूहको आज समानान्तर राष्ट्रिय भेला
काठमाडौं, चैत १६ । नयाँ शक्ति नेपालबाट विभाजन भएको समूहले आज राष्ट्रिय भेलाको आयोजना गर्दै छ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रिय हितलाई तिलाञ्जली दिएको, पार्टीभित्र चरम गुटबन्दी र स्वेच्छारिता देखाएको आरोपसहित सय बढी केन्द्रीय सदस्यहरुले पार्टी परित्याग गरेका हुन । नयाँ शक्ति नेपालले भने चार जना केन्द्रीय सदस्यहरुलाई निष्काशन गरेको घोषणा यसअघि गरेको थियो । मंगलबार पत्रकार सम्मेलनमार्फत विद्रोही समूहले समानान्तर राष्ट्रिय भेलाको आयोजना गर्ने बताएको थियो । समान्नतर राष्ट्रिय भेला आयोजक समितिका संयोजक निर्मल भटट्राईले डा। बाबुरामले भारतसँग नझुकी नेपालमा केही गर्न नसक्ने आरोप लगाउँदै आएका छन् । बाबुरामको कार्यशैलीको विरोध गरेकै कारण कारबाही गरिएको भट्टराईले बताए । बुधबार आयोजना हुने राष्ट्रिय भेलामा ५२ जिल्लाबाट करिब १ हजार प्रतिनिधि सहभागी हुने भट्टराईले बताए । समानान्तर नयाँ शक्तिले स्थानीय चुनावमा सहभागी हुने नीति लिएको छ । मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नयाँ शक्ति केन्द्रीय परिषद्का सदस्यहरु सहदेव न्यौपाने, अशोक ढुंगेल, मुनिन्द्र बस्नेत र रामराज मंगरातीले पार्टीको सामान्य सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका थिए । नयाँ शक्ति नेपालबाट यसअभि केन्द्रीय पदाधिकारी, संस्थापक सदस्य, केन्द्रीय सदस्य,लगायत बिभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरुले राजीनामा दिइसकेका छन् । पार्टीका संस्थापक नेता रामेश्वर खनालले पार्टीभित्र चन्दा, गुटबन्दी, निर्णय प्रक्रियामा अलोकतान्त्रिक पद्धती मौलिएको र राजनीतिक चिन्तन नै नभएको आरोप लगाउँदै आफू निष्क्रिय बस्ने घोषणा गरेका थिए ।
बोल्दाबोल्दै फोन काटियो ? नआत्तिनुस् अब क्षतिपूर्ति पाइन्छ
काठमाडौं, फागुन १० । बोल्दाबोल्दै फोन काटियो ? नआत्तिनुस् अब क्षतिपूर्ति पाइने भएको छ । बोल्दाबोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउनेजाने भइरहनेजस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वर्षौंदेखिका गुनासा अझै छन् । नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या आए दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट सेवाग्राहीलाई क्षतिपूर्ति दिलाउने गरी कानुनी व्यवस्था गर्न लागेको छ । पहिलो चरणमा बीचमै बोल्दाबोल्दै फोन काटिए सो कल बापतको पैसा फिर्ता गर्ने नियमावली र प्रविधि लागू गर्न गृहकार्य थालिएको, दूरसञ्चार प्राधिकरणले दिएको छ । “पैसा घट्दै जाने तर कुरा गर्न नपाउने समस्यामा अझै सुधार हुन सकेको छैन । अहिलेको दूरसञ्चार नियमावलीमा क्षतिपूर्तिसम्बन्धी प्रावधान छैन, त्यसैले अब हामी नयाँ नियमावली बनाउँदैछौँ । त्यसमा ‘कल ड्रप’ भएको समयको पैसा फिर्ता गर्नुपर्ने प्रावधान राख्दैछौँ”, प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले जानकारी दिए । उनले तोकिएको मापदण्ड पूरा नभएको बारेमा प्राधिकरणलाई वेबसाइट र मोबाइल एप (एनटीए) बाट गुनासो र उजुरी गर्न सकिने बताए । “पहिला सेवाग्राहीले हामीलाई तथ्यपरक गुनासो गर्नुपर्छ, त्यसपछि हामी एक÷एक गरी कारबाही गर्छौं, कसैलाई छाड्दैनौँ”, उनले भने । सूचना तथा सञ्चार मन्त्रालयले एक महिनाअघि दूरसञ्चार नीतिको समीक्षा गर्दा प्राधिकरणलाई दूरसञ्चारको गुणस्तर सुधार गर्न यससम्बन्धी मापदण्ड र कार्यविधि बनाउन निर्देशन दिएपछि प्राधिकरणले नयाँ गुणस्तर नियमावली बनाउन थालेको हो । सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले उपभोक्ताको गुनासो सम्बोधन गर्ने उद्देश्यका साथ क्षतिपूर्तिको व्यवस्था गर्न लागिएको बताए । उनले सेवाग्राहीलाई दूरसञ्चार सेवाको गुणस्तर प्रत्याभूत गराउने उद्देश्यका साथ क्षतिपूर्तिसहितको नयाँ व्यवस्था गर्न नयाँ नियमावली बनाउन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको उल्लेख गरे । प्राधिकरणले कानुनी रूपमा सेवा प्रदायकसँग क्षतिपूर्ति लिने अधिकार अहिलेको विनियमावलीमा नभएकाले परिवर्तन गरी नयाँ नियमावलीको तयारी प्राधिकरणले गरेको छ । नियमावलीमा भ्वाइस तथा डाटाको गुणस्तर कायम गर्नुपर्ने तथा नभएको अवस्थामा सेवाग्राहीलाई क्षतिपूर्तिको व्यवस्थालगायत विषय उल्लेख गरिनेछ । दूरसञ्चार सेवा प्रदायकले आफ्नो प्रतिबद्धता अनुसार सेवा नदिएको गुनासो उपभोक्ताबाट धेरै आएपछि नियमावली तयार गर्न लागिएको हो । नियमावलीको मस्यौदा तयार भएपछि प्राधिकरणको बोर्डले अनुमोदन गरेर मन्त्रालयमा पठाउने र त्यसपछि मन्त्रीस्तरीय बैठकले मस्यौदा स्वीकृत गरेपछि नियमावली लागू हुनेछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आर्थिक विकास तथा प्रशासनिक केन्द्र (सेडा)ले करिब पाँच वर्षअघि काठमाडौँ, पोखरा, विराटनगर र नेपालगन्जमा गरेको अध्ययनमा सेवा प्रदायकको गुणस्तर ‘सामान्य र कामचलाउ’ मात्र देखिएको जनाएको थियो । सेडाको प्रतिवेदनअनुसार सेवाको गुणस्तर तुलनात्मक रूपमा सुधार नभएको, अधिकांश स्थानमा सेवा नराम्रो देखिएको र तोकिएको मापदण्ड पूरा नभएको पाइएको छ । तर, सेडाले गरेको अध्ययनपश्चात् कुन सेवा प्रदायकको कस्तो गुणस्तर छ भन्ने कुराको स्वतन्त्र सर्वेक्षण हालसम्म हुन सकेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ९० प्रतिशत फोन डायल गर्नासाथ लाग्नुपर्ने र एउटा निकायबाट अर्कोमा फोन गर्दा हुने जाम (प्वाइन्ट अफ इन्टरकनेक्सन कन्जेक्सन) एक प्रतिशत मात्रै हुनुपर्ने सर्त प्राधिकरणले तोकिदिएको छ । यस्तै ‘सर्भिस एक्सेस डिले रेट’ १५ सेकेन्डभन्दा कममा हुनुपर्ने, ‘कल कम्प्लिसन रेट’ ४५ प्रतिशतभन्दा धेरै हुनुपर्ने, ‘कल क्वालिटी रेट’ ९० प्रतिशतभन्दा धेरै हुनुपर्ने र ‘कल ड्रप रेट’ तीन प्रतिशतभन्दा कम हुनुपर्ने ‘बेन्चमार्क’ कायम गरे पनि यो सीमा नाघेर कम्पनीले सेवा दिइरहेको सेवाग्राहीको गुनासो छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।
कार्यालयमा कर्मचारी अभाव, सेवा प्रवाहमा कठिनार्इ
म्याग्दी, चैत ७ । म्याग्दीमा करिब ३३ प्रतिशत कर्मचारीको अभाव छन् । म्याग्दीका सरकारी कार्यालयमा विभिन्न तहका आठ सय नौ कर्मचारीको दरबन्दी रहेकोमा हाल पाँच सय ४६ जना कर्मचारी मात्र दरबन्दीमा कार्यरत रहेको देखिन्छ । जिल्ला निर्वाचन कार्यालयले सङ्कलन गरेको कर्मचारी विवरणअनुसार म्याग्दीमा विभिन्न तहका दुई सय ६३ पद रिक्त रहेका छन् । स्थानीय तह निर्वाचन प्रयोजनका लागि कार्यालयले हालै मात्र जिल्लास्थित सरकारी कार्यालयमा कार्यरत कर्मचारी विवरण सङ्कलन गरेको थियो । निर्वाचन कार्यालयका सूचना अधिकारी बलबहादुर खत्रीकाअनुसार रिक्त दरबन्दीमा खरिदार १००, कार्यालय सहयोगी ७८ र नायब सुब्बा ६२ छन् । १३ शाखा अधिकृत र १० उपसचिवस्तरको पदपूर्तिसमेत हुुन सकेको छैन् । जिल्लाभर उपसचिव, शाखा अधिकृत, नायब सुब्बा, खरिदार, मुखिया र कार्यालय सहयोगी पदमा क्रमश २७, ५४, २१३, २८३, १ र २३१ दरबन्दी रहेका छन् । हाल उपसचिवको १७, शाखा अधिकृतको ४१, नायब सुब्बाको एक सय ५१, खरिदारको एक सय ८३, मुखिया एक सय र कार्यालय सहयोगीको एक सय ५३ पद मात्रै पूर्ति भएको सूचना अधिकारी खत्रीले बताउनुभयो । स्वास्थ्य, शिक्षा, वन, कृषि विकास, पशुसेवा, सिँचाइ, मालपोत लगायतका कार्यालयमा प्राविधिक कर्मचारीको अभाव रहेका छन् । प्राविधिक र लेखा सम्बन्धी पदमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समेत कठिनाइ भइरहेको जिल्ला स्थित विभिन्न कार्यालयका कार्यालय प्रमुखले बताएका छन् । कर्मचारीले म्याग्दी आउन नचाहने र यहाँ दरबन्दी भएका कर्मचारी अन्यत्र काजमा रहने समस्या देखिएको छ । बेनीमा संस्थान बाहेक ३० वटा सरकारी कार्यालय रहेका छन् । कर्मचारी अभाव हुँदा पूर्वाधार योजनाको बजेट कार्यान्वयन र अनुगमन प्रभावित भएको सिँचाइ विकास सव डिभिजन कार्यालयका प्रमुख इन्जिनियर रमेशराज शर्माले बताउनुभयो । विभिन्न तहका ११ जनाको दरबन्दी रहेको सो कार्यालयमा हाल पाँच जनामात्र कार्यरत छन् । त्यस्तै २१ जनाको दरबन्दी भएको मालपोत कार्यालयमा दश जना, ४५ जनाको दरबन्दी भएको पशु सेवामा २८, ४२ जनाको दरबन्दी भएको कृषि विकासमा २५ र ६१ जनाको दरबन्दी भएको वन कार्यालयमा ४८ जना कर्मचारीमात्र कार्यरत छन् । म्याग्दीलाई दुर्गम क्षेत्रको रुपमा बुझ्ने परिपाटीले गर्दा जिल्लास्थित कार्यालयमा कर्मचारी अभाव भएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका जिल्ला उपाध्यक्ष डिल्लीराम रेग्मीले बताउनुभयो । “अन्यत्र भन्दा यहाँ काम गर्ने वातावरण छ तर कर्मचारीमा दुर्गम भएको भ्रम पर्दा म्याग्दीलाई रोज्दैनन्” रेग्मीले भन्नुभयो “यहाँ सरुवा भएर आउन नमान्ने र आएपछि अन्यत्रै काजमा बस्ने अर्को समस्या हो ।” प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले दरबन्दी अनुसार कर्मचारीको पदपूर्तिका लागि सम्बन्धीत कार्यालयमार्फत माथिल्लो निकाय र लोकसेवा आयोगमा पहल गर्ने बताउनुभयो । नजिकिँदो निर्वाचनलाई लक्षित गरेर काज र बिदामा बसेका कर्मचारीलाई सम्बन्धित दरबन्दी भएकै कार्यालयमै फर्काउन पहल भइरहेको प्रजिअ पौडेलले बताउनुभयो ।
उदयपुर गोल्डकपको उधारो रकम
बिदुर कटुवाल उदयपुर, चैत ६ । भव्य र सभ्य रुपमा सम्पन्न भएको चौथो उदयपुर गोल्डकपको रकममा उठ्न बाँकी रहेका कारण खातामा पाँच हजर एक सय ८१ मात्रै रहेको बताइएको छ । गोलपकमा २ लाख खुद नाफा भएपनि हालसम्म ती रकम उठ्न बाँकी भएका कारण खातामा नगद मौज्दात ५ हजार १ सय ८१ मात्र रहेको गोल्डकप मुल आयोजक समितिले आईतबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको आय–व्याय प्रतिवेदनमा आयोजकले बताएको छ । सार्वजानिक गरेको आय–व्ययमा गोल्डपकले खुद नाफा २ लाख ७३ हजार ५ सय ११ रुपैँया गरेपनि हाल गोल्डकपको खातामा ५ हजार १ सय ८१ रुपैयाँ मात्र रहेको मुल आयोजक समितिका संयोजक किरण राईले बताए । ‘उठ्नबाँकी ४ लाख ४० हजार ५ सय छ,’ पत्रकार सम्मेलनमा हाँस्दै भने, ‘पैसा उठेको छैन, हाल गोल्डको खातामा ५ हजार १ सय ८१ मात्र छ ।’ पत्रकार सम्मेलनमा राईले सार्वजानिक गरेको प्रतिवेदनमा खुद आम्दामी ३४ लाख ४४ हजार ५ सय गरेको छ । ‘गोल्डकपमा खर्च जम्मा ३१ लाख ७० हजार ९ सय ८९ भएको छ’ राईले पत्रकार सम्मेलनमा प्रष्ट्उँदै भने, त्यही खर्च अझै १ लाख ७२ हजार १ सय ७० तिर्न नै बाँकी छ । राईका अनुसार प्रायोजकहरुले अझै पनि गोल्डपकलाई दिन्छौ भनेको पैसा दिएका छैन्न । यस्तो खर्चको बिबरण पत्रकार सम्मेलनमा सार्वजानिक गरिएको आय व्यय प्रतिवेदन अनुसार फिल्ड तयार तथा मर्मत गर्न ३ लाख ९८ हजार ७ सय ८६ रुपैँया, सम्मान तथा पुरस्कारको लागी ४ लखा २७ हजार ६ सय, मञ्च व्यवस्थापनमा २ लाख २ हजार ५ सय ३५ रुपैँया, सहभागी खेलाडी टिमलाई जम्मा एकमुष्ट ८ लाख ९० हजार खर्च भएको संयोजक राईले पत्रकार सम्मेलनमा बताए । पुरस्कार, अतिथि सत्कार तथा सम्मानमा मोटो रकम खर्च गरिएको बताइएको छ । यसैगरी राईका अनुसार प्रचार प्रसारको लागी १ लाख २९ हजार २ सय ५०, यातयातमा १ लाख २७ हजार ६ सय ९०, औषधी खर्चमा १५ हजार १ सय ९७, अतिथि सत्कारमा १ लाख ७२ हजार ८ सय २३, खाना बासमा गाईघाटमा रहेको होटल आशा, कन्चनजंघा होटल, होटल यलाखोममा जम्मा १ लाख ६८ हजार ६ सय ७, ज्याला भत्तामा १ लाख ४२ हजार ४ सय १५, मसलन्द शिर्षकमा खर्चमा ७० हजार ७ सय ५ रुपैँया खर्च भएको संयोजक राईले बताए । यसैगरी विधि शिर्षकमा समेत खर्च भएको छ । यसरी भयो आम्दानी गोल्डकप आयोजना गर्नको लागी रमाईलो मेला समेत आयोजना गरिएको थियो । जसबाट ३ लाख आम्दामी भएको देखाइएको छ । रमाईलो मेलाबाट आम्दानी भएको रकम प्रष्ट छैन । ‘गोल्डकपमा धेरैले होटबाट बिल मिलाएर पैसा असुलेको हो ।’ मुल आयोजक समितिका सदस्य एकले भने मैले नाम खुलाउन मिल्दैन, ‘नभए कसरी हाल गोल्डकप समितिसँग ५ हजार मात्र रह¥यो त ?’ पत्रकार सम्मेलनपछि आयोजककै आय व्यय प्रति असन्तुष रहेको पाइएको छ । फेरि रमपम तयारी चाउचाउ मूख्य प्रयोजकले गोल्डकपमा ३ लाख ९४ हजार दिएको छ । त्रियुगा नगरपालिकाकाले ४ लाख, जिल्ला बिकास समितिले २ लाख ९५ हजार ५ सय, संसद भेषकुमार राउतको संसदीय कोषबाट ९८ हजार, राष्ट्रिय खेलकुद परिषदबाट २ लाख, गेट टिकट ४ लाख १६ हजार २ सय मूख्या रहेको सहयोग प्रप्त भएको मुल आयोजकका संयोजक राईले बताए । यसरीनै ५ हजारदेखि ३० हजार सहयोग गर्ने कन्ट्रकसनदेखि विभिन्न व्यक्तित्वहरु रहेका छन् । गएको माघ २७ गतेदेखि सञ्चालन भएको चौथो उदयपुर गोल्ड फागुन ५ गतेसम्म सञ्चालन भएको थियो । टिकटदेखि अन्य आयका विवरण प्रष्ट रुपमा राखिएको छैन । विभिन्न ८ क्लवले भाग लिएको गोल्डकपमा गोल्डकपको उपाधि रुपन्देही ११ ले हात पारेको थियो ।
साहसी बालिकालार्इ सलाम
खोटाङ, चैत ५ । दुवै हात नभएकी खोटेहाङ गाउँपालिका–२ की सम्झना राई खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी छिन् । भगवती दिनानाथ मावि खोटाङ बजारमा कक्षा–१० सम्म अध्ययन गरेकी सम्झनाले सिम्पानी मावि केन्द्रबाट परीक्षा दिइरहेकी छिन् । शारीरिक रुपमा अशक्त सम्झनाले खुट्टाले लेखेरै भएपनि समयमै सबै प्रश्नको उत्तर लेख्ने गरेको केन्द्राध्यक्ष राजन ढकालले बताउनुभयो । १७ वर्षीया सम्झना इन्द्रेणी पोखरीस्थित मावली बसेर भगवती दिनानाथ माविमा अध्ययन गरेकी हुन् । भगवती दिनानाथ माविका प्रधानाध्यापक कुमार पराजुलीका अनुसार उनी विद्यालयको जेहेन्दार र अनुशासित विद्यार्थीमा पर्छिन् । परीक्षा केन्द्र नजिकै सिम्पानी बजारमा कोठा भाडा लिएर परीक्षा दिइरहेकी सम्झनालाई सघाउन उनकी आमा सुमित्राले साथ दिइरहनुभएको छ । “आर्थिक अवस्था कमजोर भएकाले मावली बसाएर पढाइयौं ” आमा सावित्राले भन्नुभयो । सम्झनालाई अहिलेसम्म अध्ययनमा लागेको सबै खर्च विद्यालयको तर्फबाट व्यहोरिएको प्रअ पराजुलीले जानकारी दिनुभयो । जन्मजात दुबै हात नभएकी सम्झनालाई अध्ययन तथा सहज जीवनयापनका लागि यसअघि खोटाङ सेवा समाज बेलायतबाट रु चार लाख ६९ हजार ७६० आर्थिक सहयोग प्राप्त भएको थियो । समाजले उपलब्ध गराएको रकम उच्च शिक्षा अध्ययनमा खर्च गरिने आमा सुमित्राले बताउनुभयो । गरिब परिवारमा जन्मिएकी सम्झनाले आफू अशक्त भए पनि पढेर समाजको सेवा गर्नमा आफ्नो जीवन बेतित गर्ने बताउनुभयो ।
भिमफेदीका युवाहरुको सपनीमा अशिष्माले डेरा जमाएपछि (हेर्नुस भिडियो)
काठमाडौं, चैत ५ । मोफसलमा रहेर पनि नृत्यमार्फत चर्चा र लोकप्रियता कमाइरहेको भिमफेदी गाइजको सपनीमा अशिष्माले डेरा जमाएकी छिन् । हेटौँडा भिमफेदीका युवाहरुको सपनीमा अशिष्मा छाएकी हुन् । केहि फिल्म र थुप्रै म्युजिक भिडियोमा देखिएकी अशिष्मा नकर्मी पहिलोपटक भिमफेदी गाइजसँग देखिएकी हुन् । राजु बरालको स्वर रहेको गीतको म्युजिक भिडियोमा अशिष्माले भिमफेदी गाइजसँग नृत्य गरेकी हुन् । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा राजु बराल आफैँ पनि मोडलको रुपमा अभिनय गरेका छन् । निर्मल लामाको कोरियोग्राफीमा निर्माण भएको भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् । हेर्नुस भिडियो