बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने
सरकारले स्थानिय सरकारसंगको समन्वयमा बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउने भएको छ ।
आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने जनाएका छन् ।
काठमांडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउन संघिय सरकारले सहयोग नगरेको आरोप लगाँउदै आएका थिए ।
प्रधानमन्त्री प्रचण्डद्धारा चुम श्याग्या महोत्सव उद्घाटन (तस्बिरहरू)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुम श्याग्या शताब्दी महोत्सव उद्घाटन गरेका छन्। गोरखाको चुमनुब्री गाउँपालिका छेकम्पार पुगेर बुधबार प्रधानमन्त्री प्रचण्डले महोत्सव उद्घाटन गरेका हुन्। अहिंसा क्षेत्र घोषणा गरेको १०० वर्ष पुगेको अवसरमा चुमनुब्री छेकम्पारमा महोत्सव आयोजना गरिएको छ। आजदेखि वैशाख ९ गतेसम्म महोत्सव चल्ने आयोजकले बताएको छ। आयोजक चुम श्याग्या शताब्दी मुल समारोह समितिका संयोजकसमेत रहेका चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले अहिंसा क्षेत्रको विश्वमाझ चिनारी गर्ने उद्देश्यले महोत्सव गरिएको बताए। महोत्सवको सहआयोजकमा चुमनुब्री गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, चुम कल्याण समिति, चुम श्याग्या संरक्षण समिति, राजेन गुम्बा, सिप्रेड, डब्लुडब्लुएफ नेपाल, नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश रहेको छ। करिब एक करोड खर्च गरेर महोत्सव आयोजना गरिएको हो। चुम उपत्यका कारमार नहुने अहिंसा क्षेत्रका रूपमा परिचित छ।
रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा
काठमाडौं । साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दुवै लेगमा इंग्लिस क्लब चेल्सीलाई पराजित गर्दै रियलले च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । क्वाटरफाइनलको दोस्रो लेगमा मंगलबार राति इंग्लिस क्लब चेल्सीलाई २–० गोल अन्तरले पराजित गर्दै रियल समग्रमा ४–० को जितसहित अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा समेत रियलले चेल्सीलाई २–० ले नै हराएको थियो । चेल्सीको मैदानमा भएको दोस्रो लेगमा रियललाई जित दिलाउन रोड्रिगोले दुबै गोल गरे । खेलको ५८ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ८० औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–० को जित दिलाए । रियल ११ औं सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो समानुपातिक सासंद (सूचीसहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सासंदको सूची टुंगो लगाएको छ। समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको हो। यस अनुसार शनिबार बसेको बैठकले १३ जना समानुपातिक सासंदको सूची तयार गरी आयोगमा बुझाउन लागेको छ। पार्टीले प्रत्यक्षतर्फ सात सिट जितेको छ। १.डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष) २.डोल प्रसाद अर्याल (खस आर्य पुरूष) ३. असिम साह (मुस्लिम पुरुष) ४.मनिष झा (मधेसी पुरूष) ५. इन्दिरा राना मगर (आदिवासी महिला) ६. सुमना श्रेष्ठ (आदिवासी महिला) ७. अशोक चौधरी (थारु पुरुष) ८.तपेश्वर यादव (मधेशी पुरुष) ९. डा चन्दा कार्की (खस आर्य महिला) १०. निशा डांगी (खस आर्य महिला) ११. सन्तोष परियार (दलित पुरुष) १२. कल्पना रोक्का (दलित महिला) १३ . विनिता कठायत (पिछडिएको क्षेत्रको महिला)
ओलीलाई बालेनको जवाफ–सुकुम्बासीहरू तपाईंको भोट बैंक मात्र रहे
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुकुम्बासीहरू नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भोट बैंक मात्र रहेको बताएका छन्। मंगलबार फेसबुकमा स्टाटस राख्दै बालेनले केपी शर्मा ओलीको लागि सुकुम्बासीहरू केबल भोट बैंक मात्र रहेको बताएका हुन्। अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरपालिकाले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति ओलीको उक्त धारणा आउनु सामान्य विषय भएको बालेनले स्टाटसमा लेखेका छन्। मंगलबार दिउँसो च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर सत्ताको उन्माद प्रदर्शन गरिएको बताएका थिए। ‘फुसका छाप्रा भत्काउन डोजर प्रयोग गरिएको छ। पक्की भवन भत्काउन हो र ? त्यहाँ अशक्त होलान्, बालबच्चा होलान्। सुकुम्बासी हाम्रा शत्रु होइनन्। डोजर लगाएर त्यहाँ सत्ताको उन्माद देखाइयो’, ओलीले भनेका थिए। सोही वक्तव्यको जवाफ दिँदै बालेनले २०४७ सालयता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न नसकेको तर्क गरेका छन्। ‘दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन?,’ उनले लेखेका छन्,‘सुकुम्बासीहरू तपाईंका लागि भोट बैंक मात्रै रहे। बरू तिनलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गर्नुभयो।’
सनकी पूर्व प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा २४ बालबालिकासहित ३६ को मृत्यु
बैंकक, थाइल्याण्डमा एकजना पूर्व प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा छत्तीस जनाको ज्यान गएको छ । थाई मिडियाले उल्लेख गरे अनुसार बिहिबारका दिन ती पूर्व प्रहरीले एउटा चाइल्ड केयर सेन्टरमा अन्धाधुन्ध गोली चलाएका थिए । घटनामा २४ बच्चाहरुसहित ३६ जनाको मृत्यु भएको छ । मृतकहरुमा गर्भवती महिलादेखि दुई वर्षका बच्चा समेत रहो छन् । थाइल्याण्डको उत्तरी प्रान्त नान्गबुआ लम्फूमा रहेको एउटा बालबालिका स्याहार केन्द्रमा ती व्यक्तिले गोली चलाएका थिए । प्रहरीले जनाए अनुसार, उच्च शिक्षा लिएका ती व्यक्ति केही समयअघि प्रहरीमा भर्ना भएका थिए । तर उनी सेवामा रहेकै बेला लागु औषध ओसारपसारमा संलग्न देखिएपछि उनीमाथि कार्वाही गरिएको थियो । प्रहरीबाट निकाला गरिएपछि उनी पूर्णकालिनरुपमा लागु औषधको कारोबारमा लागेको बताइन्छ । यही आरोपमा उनीविरुद्ध अदालतमा मुद्दा समेत चलिरहेको प्रहरीले जनाएको छ । मानसिकरुपमा तनावमा रहेको बताइएका ती व्यक्तिले बिहिबारका दिन शिशु स्याहार केन्द्रमा गोली चलाएका थिए । लगत्तै उनले श्रीमती र आफ्नै छोरालाई समेत गोली हानेर मारेपछि आफूले पनि आत्महत्या गरेका छन् । उनी मोष्ट वान्टेड सूचिमा रहेको बताइन्छ । गोली चलेको बेला स्थानीय प्रहरी अधिकारी नजिकै काममा थिए । उनका अनुसार, गोली चलेको बेला कतै पटाका पडकिरहेको जस्तो आवाज सुनिएको थियो । दिउँसो दुईबजे शिशु स्याहार केन्द्रमा पुगेका ती व्यक्तिले सबै बच्चामाथि गोली चलाएका थिए । घटनामा केही बालबालिका भने सुतिरहेकोले बाँचको बताइन्छ । गोली चलाउँदा उक्त केन्द्रमा लन्चको समय रहेका थियो । ती व्यक्तिले स्टाफमाथि गोली चलाएपछि शिशुहरु आराम गरिरहेको कोठामा पसेर गोली चलाएको प्रहरीले जनाएको छ ।
मेक्सिकोमा ७.६ रेक्टर स्केलको भूकम्प
काठमाडौं । मेक्सिकोमा ७.६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण एक जनाको मृत्यु भएको हाे । मेक्सिकोको दक्षिणी क्षेत्र केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण केही घरहरु समेत चर्केका छन् । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेजले भूकम्प लगतै भिडियो सन्देश जारी गर्दै म्यानजानिलोमा रहेको स्टोर भत्किदा एक जनाको मृत्यु भएको बताउनुभएकाे हाे । भूकम्प जाँदा अधिकांश मानिस घरबाहिर निस्केका थिए । मेक्सिकोमा सन् २०१७ मा आएको भूकम्पका कारण ३ सय ५० जनाको मृत्यु भएको थियो । भूकम्पले पुर्याएको क्षतिकाे विषयमा थप विवरण आउन भने बाँकी रहेकाे जनाइएकाे छ ।
सत्तारुढ गठबन्धन दलको कार्यदलको बैठक जारी
काठमाडौँ । आगामी निर्वाचनका लागि सिट बाँडफाँडको टुङ्गो लगाउन सत्तारुढ गठबन्धन दलको कार्यदलको बैठक अहिले बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन दलहरुबीच सिट सङ्ख्याको टुङ्गो लगाउन र सिट बाँडफाँडको आधारलाई अन्तिम रूप दिने गरी छलफल जारी रहेको नेताहरूले बताएका छन् । यस अघि सत्ता गठबन्धन दलका शीर्ष नेताको आज बसेको बैठकले आसन्न निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन गठित कार्यदललाई सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।
खेलकुद मन्त्री अथक र नेपालका लागि इजरायलका राजदुत हनानबीच भेटवार्ता
काठमाडौं । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ र नेपालका लागि इजरायलका राजदुत हनान गोडर गोल्डबर्गरबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहिबार युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा भेट भएको खेलकुद मन्त्रीका स्वकिय सचिव दिलिप सोनीले जानकारी दिए । भेटका क्रममा समग्र नेपाली युवा र खेलकुदको क्षेत्रका विषयमा कुराकानी भएको थियो । नेपालको खेल क्षेत्रको विकासमा दुई राष्ट्रबीच हुनसक्ने सहकार्यको सम्भावनाको विषयमा छलफल भएको थियो ।
प्रतिनिधिसभा बैठक : सांसदद्धारा फोहोर देखि निहारिकाको विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसदहरुले काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न संसदीय समिति गठन गरी सिडोलबासीको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । त्यसैगरी बैठकमा बलात्कार पीडित निहारिकालाई तत्काल न्याय दिनुपर्ने, आगामी मंसिर ४ मा हुने निर्वाचनमा ५० प्रतिशत महिलाको उम्मेदवारी सुनिश्चित गरिनुपर्ने, नुवाकोटका विभिन्न स्थानमा बाढीपहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गरिनुपर्नेमा जोड दिए । बैठकमा सांसदहरुले रेडियो नेपालले मैथिली भोजपुरीलगायतका भाषामा केन्द्रीय प्रसारणबाटै समाचार तथा कार्यक्रम प्रसारण गर्नुपर्नेमा जोड पनि दिए।
रसुवागढी–केरुङ नाकामा दुईतर्फी ब्यापार सञ्चालन गर्ने सहमति
काठमाडौं । नेपाल र चीन रसुवागढी–केरुङ नाकामा दुईतर्फी ब्यापार सञ्चालन गर्न सहमत भएका छन् । नेपाल–चीनबीच बिहिबार भएको सीमा परामर्श बैठकमा उक्त सहमति भएको हो । भर्चुअल रुपमा बैठकमा चीनले स्वास्थ्य मापदण्ड पालना गर्दै रसुवागढी नाकाबाट दुवै मुलुकमा सामान आयात निर्यात सुचारु गर्न सहमति जनाएको हो । रसुवागढी नाका कोभिड–१९ महामारी सुरु भएदेखि आंशिक मात्रै संचालनमा रहेको छ । परामर्श बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखा प्रमुख लोकबहादुर थापा र चिनियाँ टोलीको नेतृत्व विदेश मन्त्रालयको सीमा तथा समुन्द्री मामिला विभागका महानिर्देशक होङ लियाङले गरेका थिए । त्यस्तै दुई देशबीच हुम्लाको हिल्सा–पुराङ सीमा बन्दरगाह खोल्ने निर्णय पनि भएको छ । परराष्ट्र मन्त्रालयले दुई देशबीच आयात निर्यात ब्यापारका लागि महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गर्ने समेत सहमति भएको जनाएको छ ।
अभिनेता राजपाल यादवविरुद्ध नोटिस जारी, २० लाख ठगेको आरोप
मुम्बई, वलिउडका चर्चित अभिनेता राजपाल यादवविरुद्ध प्रहरीले नोटिस जारी गरेको छ । भूल भुलैया २ को अभियनमा व्यस्त रहेका राजपाल यादवले एकजना ठेकेदारलाई धोका दिएर २० लाख लिएको आरोप छ । उनीविरुद्ध मुद्दा दर्ता भएपछि इन्दौर प्रहरीले सोधपुछका लागि बोलाएको हो । समाचार अनुसार, राजपालाई १५ दिन भित्र प्रहरीसामु उपस्थित हुन भनिएको छ । सुरिन्दर सिंह नाम गरेका ठेकेदारले उनको छोरालाई चलचित्र उद्योगमा सहयोग गर्ने र अगाडि बढाउने आश्वासन दिएर २० लाख रुपैयाँ लिएको तर कुनै सहयोग नगरेको आरोप लगाएका छन् । ठेकेदारका अनुसार, पैसा माग्न जाँदा यादव वेपत्ता भएको र फोन समेत उठाउन छोडेको थिए । त्यसपछि प्रहरीमा रिपोर्ट गरेको उनले बताएका छन् । यसअघि पनि राजपालविरुद्ध ५ करोडको ठगी आरोप लागेको थियो । अता पता लापता नामक चलचित्र निर्देशनको बेला चलचित्र निर्माणका लागि एकजनासँग ५ करोड लिएका राजपालले ऋण चुक्ता नगरेको भन्दै मुद्दा दर्ता भएको थियो । अदालतको आदेश हुँदा समेत राजपालले पैसा नदिएपछि उनलाई जेल सजाय भएको थियो । यद्यपी उनले पछि जमानत पाएका थिए ।
तत्कालका घटनाबाट प्रभावित भएर कानुनमा प्रभाव पार्ने प्रयास नगर्न कानुन मन्त्रीको आग्रह
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले तत्कालको घटनाबाट प्रभावित भएर कानुनमा प्रभाव पार्ने प्रयास नगर्न सांसदहरूलाई आग्रह गरेका छन् । तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधन गर्नु नेपालको सबैभन्दा ठूलो कमजोरी रहेको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसो नगर्न सांसद र संसदीय समितिहरूलाई आग्रह गरे । शुक्रबार प्रतिनिधिसभा अन्तरगतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कानुन निर्माणमा गलत खालको प्रभाव पर्न नदिन लिगल थिङ्क टयाङ्क नै बनाएको उल्लेख गर्दै उसैले दिएको सुझावको आधारमा सरकार अघि बढ्ने पनि स्पष्ट पारे। संसदले मात्रै कानुन निर्माणमा प्रभाव पार्ने भए त्यो थिङ्क टयाङ्कको आवश्यक्ता नै नहुने उनको भनाइ थियो । ‘नेपालको कानुन निर्माणको सबैभन्दा कमजोर पक्ष भनेको हामी तत्काल घटेको घटनाबाट प्रभावित भएर कानुनमा ठूलो प्रभावपार्ने कुरामा विचार गर्नुपर्छ,’ मन्त्री शर्माले भने, ‘सबै विषयमा यही हिसावले कुरा गरौं, संसद ठूलो कुरा हो, तर लिगल थिङ्क टयाङ्क बनाएको छ, त्यसैको आधारमा सरकार अगाडि बढ्छ ।’ मन्त्री कोइरालाले महिला हिंसाका घटनाका पीडितलाई पीडकबाट असुल गरिएको जरिवाना सोझै उपलब्ध गराउने कानुनी व्यवस्था गर्न सकिने बताए। हाल पीडकबाट असुल गरिएको रकम हिंसा पीडित कोषमा जम्मा भएर पीडितले पाउने कानुनी व्यवस्था रहेकाले त्यसलाई परिवर्तन गरेर सोझै पीडितको हातमा दिन सकिने कानुनी व्यवस्था गर्न सकिने उनको भनाई थियो । त्यस अवसरमा मन्त्री कोइरालाले अपराध कर्म अनुसार दण्ड जरिवानाको व्यवस्था हुने प्रचलन रहिआएको पनि बताए ।
बंगलादेश र पाकिस्तानमा पसल खोल्ने समय सीमा तोकियो
ढाका । इन्धनमा भएको अस्वाभाविक मूल्य वृद्धिले दक्षिण एसियाका एकपछि अर्को देश प्रभावित बनेका छन् । श्रीलंका लामो समयदेखि गहिरो आर्थिक सङ्कटमा फसेको छ । पछिल्लो समयमा पाकिस्तान र बंगलादेशमा उर्जा संकट देखिएको छ । विश्वव्यापी रूपमा ऊर्जाको बढ्दो मूल्यबिच ऊर्जा र इन्धन बचत गर्ने प्रयास स्वरूप बंगलादेश र पाकिस्तानले राति पसल खोल्ने समय सीमा तोकेका छन् । जसअनुसार बंगलादेश सरकारले सपिङ मल, पसल, भान्सा बजार र व्यापारका अन्य स्थानहरू हरेक दिन बेलुका ८ बजेपछि बन्द राख्न अधिकारीहरूलाई आदेश दिएको छ । प्रधानमन्त्री शेख हसिनाको निर्देशनमा मन्त्रालय, विभाग र स्थानीय अधिकारीहरूलाई पत्र पठाएर तोकिएको समयभित्र पसल बन्द गर्न निर्देशन दिएको हो । बंगलादेश श्रम ऐनले बेलुका ८ बजे पसलहरू बन्द गर्ने व्यवस्था गरेको पनि पत्रमा स्मरण गराइएको छ । पाकिस्तानका सिन्ध र पन्जाब प्रान्तका सरकारले राति ९ बजेभित्र सबै व्यावसायिक बजार, सपिङ मल र स्टोर बन्द गर्न निर्देशन दिएको छ । पाकिस्तान सरकारले तोकेको सीमा लामो समयसम्म विद्युत् कटौतीबिच ऊर्जा संरक्षण गर्न सरकारले घोषणा गरेका उपायहरूको एउटा हिस्सा हो । ताप लहरका कारण पछिल्लो समय पाकिस्तानमा ऊर्जा अभाव बढेको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेको छ । गत वर्ष डिसेम्बरमा प्रति ब्यारेल ६५ डलरमा बिक्री भएको कच्चा तेल मार्चमा मूल्य १२४ डलरमा उक्लिएको थियो । अहिले प्रति ब्यारेल करिब १२० डलरमा बिक्री भइरहेको छ ।
मंकीपक्स रोग विश्वव्यापी रुपमा फैलिन सक्ने डब्ल्यूएचओको चेतावनी
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकीपक्सको विस्तार विश्वव्यापी रुपमा फैलिन सक्ने चेतावनी दिएको छ। हाल १२ वटा देशमा मंकीपक्सका बिरामी फेला परिसकेकाले अन्य देशमा पनि फैलिन सक्ने चेतावनी डब्ल्यूएचओले दिएको हो । अहिलेसम्म विश्वका विभिन्न १२ वटा देशमा ९२ जनामा यो रोग पुष्टि भईसकेको छ भने अन्य २८ जनामा संक्रमण भएको आशंकामा निगरानीमा राखिएको छ । विश्व स्वास्थ्य संगठनले मंकीपक्स रोग ज्यादै घातक नभए पनि विश्वव्यापी संक्रमण भएमा स्वास्थ्य क्षेत्रमा अर्को समस्या ल्याउन सक्ने बताएको छ। मंकीपक्सको संक्रमणलाई न्यूनीकरण गर्ने विषयमा छिट्टै उपाए सुझाउने पनि डब्ल्युएचओले बताएको छ । स्मलपक्सकै जस्तो लक्षण हुने मंकीपक्सको संक्रमण भए दुईदेखि चार साताभित्रमा अस्पताल भर्ना समेत नभएर पनि बिरामी निको हुन सक्छन् । तर कहिलेकाहीं यो रोग घातक पनि हुनसक्ने पनि डब्ल्युएचको तर्क छ। यौन सम्पर्क जस्ता ज्यादै निकट सम्पर्कबाट यो रोग समुदाय स्तरमा सर्न सक्ने देखिएको छ। निकट सम्पर्कबाट मात्रै सर्ने भएकाले पनि यसको नियन्त्रण सजिलो हुने विज्ञहरूको भनाइ छ ।
आईपीएल टी–ट्वान्टीमा आज मुम्बई र दिल्लीबीच प्रतिस्पर्धा हुने
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज शनिबार एक खेल हुँदैछ । मुम्बईमा हुने खेलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७ः४५ बजे सुरु हुनेछ। मुम्बई आज आफ्नो अन्तिम लिग खेलमा जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ । मुम्बई यस सिजन १३ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ । दिल्ली भने मुम्बईलाई हराएर प्ले अफमा स्थान बनाउन चाहन्छ । दिल्ली १३ खेलमा १४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । मुम्बईलाई हराएको खण्डमा दिल्ली चौंथो स्थानमा उक्लदै प्ले अफमा पुग्नेछ । त्यसैले यस खेल दिल्लीका लागि निकै महत्वपूर्ण रहेको छ । दिल्ली पराजित भएको खण्डमा बैंगलोर प्ले अफमा पुग्नेछ । यस अघिको भेटमा दिल्लीले मुम्बईलाई हराएको थियो । दिल्ली ४ विकेटले विजयी भएको थियो ।