ग्रीन लाइफकाे आइपीओमा आइतबारसम्म साढे ४ गुणा बढी आवेदन, २७ गते अन्तिम म्याद

ग्रीन लाइफ हाइड्रोपावरले बिक्रीमा ल्याएको आइपीओमा आइतबार साँझसम्ममा साढे ४ गुणा बढी आवेदन परेको छ।

बिक्री प्रबन्धक बिओके क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा आइतबार साँझ ४ः४० बजेसम्ममा ८ लाख ९ हजार ५६३ जना आवेदकबाट १ करोड ४७ लाख ६८ हजार ५९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

यो कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओको ४.५४ गुणा धेरै हो।

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत माघ २७ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।

इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिम घोषणा

काठमाडौं  : इंग्ल्याण्डसँगको पहिलो दुई टेष्टका लागि भारतीय टिम घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आज विराट कोहलीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो । टिममा लामो समयपछि अलराउन्डर अक्क्षर पटेललले स्थान बनाएका छन् । साथै, इशान्त शर्मा, हार्दिक पाण्ड्या पनि टिममा फर्किएका छन् । ओपनर पृथ्वी शा भने टिमबाट ‘आउट’ भएका छन् । पूर्णरूपमा फिट भए पनि भुवनेश्वर कुमारले भने इंग्ल्याण्डसँगको सुरुवात २ टेष्टमा मौका पाएका छैनन् । भारत र इंग्ल्याण्डबीचको पहिलो टेष्ट ५ फेब्रुअरी र दोस्रो टेष्ट १३ फेब्रुअरीमा सुरु हुनेछ । यी दुवै म्याच चेन्नईमा खेलिने छ । इंग्ल्याण्डसँग पहिलो २ टेष्ट खेल्ने भारतीय टिम : रोहित शर्मा, शुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिंक्य रहाणे (उपकप्तान), ऋषभ पन्त (विकेटकीपर), ऋद्धिमान साह (विकेटकीपर), हार्दिक पाण्ड्या, केएल राहुल, जसप्रीत बुमराह, इशान्त शर्मा, मोहम्मद सिराज, शार्दुल ठाकुर, रविचन्द्रन अश्विन, कुलदीप यादव, वाशिङ्टटन सुन्दर र अक्क्षर पटेल । वैकल्पिक खेलाडी : के एस भरत (विकेटकीपर), अभिमन्य ईश्वरन, शाहबाज नदीम र राहुल चहर । नेट बलर : अंकित राजपूत, आवेश खान, सन्दीप वारियर, कृष्णप्पा गौतम र सौरभ कुमार ।

अन्तिम टेष्टको अन्तिम क्षणमा भारतको अष्ट्रेलियामाथि जित

काठमाडौंः भारतले अष्ट्रेलियाविरुद्धको चौथो, अन्तिम तथा निर्णायक टेष्ट खेल तीन विकेटले जितेको छ । चौथो टेष्टमा जितसँगै भारतले चार म्याचको टेष्ट श्रृखंला २–१ ले जितेको छ । अष्ट्रेलियाले प्रस्तुत गरेको ३२८ रनको लक्ष्य भारतले सात विकेटको क्षतिमा ३२९ रन बनाएर पुरा गर्यो । भारतको जितमा ऋषभ पन्त, शुभमन गिल र चेतेश्वर पूजाराको अद्र्धशतकीय पारी महत्वपूर्ण रह्यो । १८ रनमै रोहित शर्मालाई गुमाएर कमजोर सुरुवात गरेको भारतलाई शुभमन गिलले ९१ रनको उत्कृष्ट पारी खेलेर स्थिरता प्रदान गरे । उनले चेतेश्वर पूजारासँग ११४ रनको साझेदारी गरे । पूजाराले पाँचौं विकेटका लागि ऋषभ पन्तसँग ६१ रनको साझेदारी गरी ५६ रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किए । भारतलाई जितका लागि एक सय रन आवश्यक छँदा पन्तले मयन्क अग्रवाल र वाशिंगटन सुन्दरसँग साझेदारी गरेर जित नजिक पुर्याए । सुन्दर २२ रनमा पेभेलियन फर्किदा पन्त अत्तालिएन । उनले १३८ बलमा नौ चौका र एक छक्का लगाएर भारतको जित सुनिश्चित गरे । अष्ट्रेलियाका लागि प्याट्ट क्युमिन्सले सर्वाधिक चार तथा नाथन लियोनले दुई र जोश हयाज्लऊडले एक विकेट लिए । त्यसअघि ब्रिसबेनमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा ३६९ रनको औसत योगफल तयार गरेको थियो । मार्नस लबुस्नेले शतकीय पारी खेल्दै १०८ रन बनाएपछि अष्ट्रेलियाले औसत योगफल तयार गर्न सफल भयो । उसको पारीमा म्याथ्यु वाडेले ४५ तथा टिम पैनले ५० रनको पारी खेले । भारतका लागि टी नटराजन, श्रद्धुल ठाकुर र वाशिंगटन सुन्दरले सामान तीन तीन तथा मोहम्मद सिराजले एक विकेट लिए । पहिलो पारीमा १८६ रनमै छ विकेट गुमाएर कमजोर प्रदर्शन गरेको भारतका लागि पुछारका ब्याट्सम्यानहरुले उत्कृष्ट पारी खेलेपछि उसले तीन सयको योगफल कटाउन सफल भयो । भारतले दोस्रो पारीमा ३३६ रनको योगफल तयार गर्यो । वाशिंगटन सुन्दरले आफ्नो डेब्यु टेष्टमै अद्र्धशतकीय पारी खेलेर भारतको योगफल तीन सयमाथि पुर्याए । श्रद्धुल ठाकुरले समेत अद्र्धशतक लगाए । उनले ६७ रनको योगदान दिए । दुबैजनाले सातौं विकेटका लागि १२३ रनको साझेदारी गरे । उक्त साझेदारी भारतीय पारीको सबैभन्दा ठूलो साझेदारी हुनपुग्यो । ओपनर रोहित शर्माले ४४ तथा चेतेश्वर पूजाराले २५, अजिन्क्यै रहानले ३७ तथा मयन्क अग्रवालले ३८ रनको पारी खेले । अष्ट्रेलियाका लागि जोश हयाजलऊडले सर्वाधिक पाँच, मिसेल स्टार्क र प्याट्ट क्युमिन्सले सामान दुई तथा नाथन लियोनले एक विकेट लिए । जवाबमा अष्ट्रेलियाले आफ्नो दोस्रो पारीमा २९४ रनको औसत योगफल तयार गर्दा भारतले ३२८ रनको लक्ष्य पाएको थियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ५५, देविड वार्नरले ४८ तथा अर्का ओपनर मार्कस हयारिसले ३८ रनको योगदान दिए । भारतका लागि मोहम्मद सिराजले सर्वाधिक पाँच तथा श्रद्धुल ठाकुरले चार र वाशिंगटन सुन्दरले एक विकेट लिए ।

बहिर्गमित बहिर्गमित जनमुक्ति सेनाको माग सम्बोधन गर्न कार्यदल गठन गरिने

सरकारले तत्कालिन माओवादी जनयुद्द लडेका तर अनमिनको प्रमाणिकरणमा नपरेका लडाकुहरुको समस्या हल गर्न कार्यदल गठन गर्ने भएको छ । बहिर्गमित जनमुक्ति सेनाले लामो समयदेखि संघर्षका कार्यक्रम गर्दै आएको छ । यसै सन्दर्भममा उनीहरुले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका हुन । गृह मन्त्रालयमा बहिर्गमित जनमुक्ति सेना नेपाल सङ्घर्ष समितिको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले समितिले राखेको मागको अध्ययन गरी त्यसलाई कार्यदल बनाएर सम्बोधन गरिने आश्वासन दिए। उनले राज्यले परिचयपत्र उपलब्ध गराउने, अयोग्य भन्ने शब्द हटाउनेलगायत मागलाई पनि सम्बोधन गर्ने आश्वासन दिए। यसअघि राज्यले दुई लाख रुपैयाँ दिने निर्णय गरे पनि अदालतमा मुद्दा पर्दा रोकिएको स्मरण गर्दै मन्त्री थापाले मुद्दा छिटो टुङ्ग्याउने विषयमा पहल गर्ने जानकारी दिए। मन्त्री थापाले जनयुद्धका घाइतेलाई निःशुल्क उपचार, उनीहरुका लागि जीवन निर्वाह भत्तालगायत मागलाई सरकारले सम्बोधन गरिसकेको र थप विशेष राहत कार्यक्रम ल्याउन लागिएको जानकारी दिए। सरकारी तथ्याङ्कमा दर्ता हुन छुटेका घाइतेले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पुनः निवेदन दिन पाउने व्यवस्था गरिएको पनि उनले बताए। तत्कालीन समयमा अनमिनको प्रमाणीकरणमा नपरी बाहिरिएका चार हजार आठ माओवादी लडाकु सङ्गठित भई सरकारसँग विभिन्न माग राख्दै आएका छन्। उनीहरुले सरकारसँग यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने, जनयुद्ध, जनआन्दोलन तथा विभिन्न चरणका राजनीतिक आन्दोलनका घाइते, अपाङ्गको औषधोपचारसहित दीर्घकालीन व्यवस्थापन हुनुपर्ने, शान्तिपूर्ण आन्दोलनका क्रममा पक्राउ परेका बहिर्गमित लडाकुको रिहाइ हुनुपर्ने, अयोग्य भन्ने शब्द हटाउनुपर्ने, परिचयपत्र उपलब्ध गराउनुपर्ने, राहत प्याकेज घोषणा गर्नुपर्नेलगायत माग राखेका छन्। सबै माग सम्बोधनका लागि कार्यदल गठन गर्नसमेत समितिले माग गर्दै आएको छ।

फेसबुक ह्याक गरी ३० हजार रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

सप्तरी : फेसबुक अकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सितापुर गाउँपालिका-३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने २३ वर्षीया मनिषा गिरी रहेका छन् । उनीहरुले फेसबुक अकाउन्ट ह्याक गरी नगद ३० हजार रुपैयाँ पठाउ नत्र अश्लील तस्बिरहरू सामाजिक संजालमा राखीदिन्छु भनी विभिन्न डरत्रास देखाउने गरेका थिए । उक्त रकम माग गरेको भन्ने जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने एक महिलाले दिएको सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले अनुसन्धान गर्दै जाँदा सुनसरी ईटहरी उपमहानगरपालिका-६ ईटहरी बजार अन्तर्गत रहेको आइएमईबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा रकम सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रवक्ता शर्माको जवाफः सरकारमा जाँदैनौं, कांग्रेसका सांसदको टाउको गन्ने धृष्टता नहोस्

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस पाँच वर्ष प्रतिपक्षमा बस्ने स्पष्ट पारेका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबीच आइतबार भएको भेटबारे बिभिन्न कोणबाट आशंका चलिरहेको बेला प्रवक्ता शर्माले कांग्रेस पाँच वर्ष सरकारमा नजाने बताएका हुन । कोही कसैलाई भ्रम छ भने त्यसमा स्पष्ट हुन अनुरोध गर्दै शर्माले ट्विटमार्फत नेकपाको आन्तरिक विवादमा कांग्रेसको भूमिका निरपेक्ष हुने समेत स्पष्ट पारेका छन् । “५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई” उनले लेखेका छन्, “अत कुनैपनि भड्कावबाट टाढा छौं, रहनेछौं । नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं ।” प्रवक्ता शर्माले नेकपाभित्र विवाद चलिरहेको बेला संसदमा बहुमत पुर्याउन कांग्रेसका सांसदको समेत जोड घटाउन हुन थालेकातर्फ संकेत गर्दै अगाडि भनेका छन्, “ अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं । जय नेपाल” आइतबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच भएको भेटबारे दुबैपक्षबाट आधिकारिक धारणा बाहिर आएको छैन । समसामयिक राजनीतिक भेट भनिएपनि कतिपयले नेकपाभित्रको विवादका सन्दर्भमा अध्यक्ष ओलीले देउवालाई भेटेको अडकलबाजी गरेका छन् । पार्टी विभाजनको भएको अवस्थामा सदनमा बहुमत पुर्याउन नेपाली कांग्रेसको साथ खोजेको अर्थमा कतिपयले यो भेटलाई लिएका छन् । <blockquote class=”twitter-tweet”><p lang=”ne” dir=”ltr”>भ्रम ; कोहि कसैलाई केही छ भने !<br><br>५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई l<br>अत कुनैपनि भड्कावबाट टाढा छौं,रहनेछौं l<br>नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं l अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं l जय नेपाल ! <a href=”https://t.co/g4GBq1hRdn”>pic.twitter.com/g4GBq1hRdn</a></p>&mdash; Bishwa Prakash शर्मा (@bishwaprakash77) <a href=”https://twitter.com/bishwaprakash77/status/1330466886660874240?ref_src=twsrc%5Etfw”>November 22, 2020</a></blockquote> <script async src=”https://platform.twitter.com/widgets.js” charset=”utf-8″></script>

विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुनेछ– भीम रावल

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले स्थायी कमिटीको बैठक तुरुन्त बोलाउन माग गरेका छन् । नेकपा विभाजनकाे स‌घारमा रहेकाे चर्चा चलिरहेकाे बेला नेता रावलले याे माग गरेका हुन । आइतबार महासचिव विष्णु पाैडेलले एक स्टाटस लेख्दै पार्टी गम्भीर स‌कटमा परेकाे बताएका थिए । यसैबीच आइतबार खुमलटारमा भएकाे एक छलफलमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले मिलेर जान नसक्ने भए पार्टी अलग–अलग चलाउने प्रस्ताव आफूलाई गरेको प्रचण्डले बताएका थिए । नेता रावलले ट्वीट गर्दै लेखेका छन्,’विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हो । स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् । यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुनेछ।’ साथै उनले समझदारी,एकता र देशको हित मनमा राखी समस्या समाधान गर्न आग्रह गरेका छन् ।

उपचारको क्रममा वडाध्यक्षको निधन

कपिलवस्तुः कपिलवस्तुको बुद्धभूमि नगरपालिका-१० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको निधन भएको छ । उनी तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा आज बिहान निधन भएको परिवारले जनाएका छन् । वडाध्यक्षको निधनप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । यसअघि गत भदौ १४ गते यसै नगरपालिका–७ का वडाध्यक्ष रामेश्वर सिंहको पनि उपचारकै क्रममा निधन भएको थियो ।

चम्बल नदीमा डुंगा पल्टिंदा ११ को मृत्यु, ४ युवाले जोगाए २५ जनाको ज्यान

इटावाः भारतको राजस्थान राज्यको कोटा–इटावामा डुंगा पल्टिंदा ११ जनाको मृत्यु भएको छ । आज बिहान नौ बजे चम्बल नदीमा यात्रु बोकेर गइरहेको डुंगा पल्टिंदा दुर्घटना भएको हो । दुर्घटनामा ३ जना वेपत्ता रहेका छन् । मृतक सबै ११ जनाको शव निकालिएको छ । डुंगा पल्टिएपछि स्थानीय युवाहरुले २५ जनाको भने सकुशल उद्वार गर्न सफल भएका छन् । भास्कर दैनिकका अनुसार, २५ जनाको सीट क्षमता भएको डुंगामा ४० जना यात्रु रहेका थिए । यतिमात्रै नभएर यात्रुहरुले मोटरसाइकललगायतका सामान पनि डुंगामा राखेका कारण भार सहन नसकी डुंगा पल्टिएको प्रहरीले जनाएको छ । डुंगा पल्टिएको स्थानमा नदीको गहिराई ४०, ५० फीट रहेको बताइन्छ । मृतकहरुमा ६ पुरुष, ४ महिला र एक बच्चा रहेका छन् । चार जना स्थानीय युवाहरुले २५ जनाको ज्यान जोगाएको समाचारमा उल्लेख छ । घटना चाणदा र गोठडा गाउँबीचमा भएको हो ।

भारतमा ९ देखि १२ कक्षाका स्कूल खुले, अभिभावकको अनुमतिले विद्यालय जान पाइने

नयाँ दिल्ली । कोरोना महामारीले उच्चरुप लिइरहेकै बेला भारत सरकारले स्कूल खोल्ने निर्णय गरेको छ । भारतको केन्द्र सरकारले एक निर्देशिका जारी गर्दै २१ सेप्टेम्बरदेखि स्कूल खोल्ने निर्णयगरेको हो । आशिंकरुपमा विद्यालय खोल्ने सम्बन्धमा जारी गरिएको स्टेण्डर्ड प्रोटोकलका अनुसार कक्षा नौ देखि १२ सम्मका विद्यार्थीका लागि मात्रै स्ूल खुल्ने भएको हो । तर स्कूल जान चाहने या नचाहने कुरा भने विद्यार्थी र अभिभावको स्वेच्छामा भर पर्ने छ । स्कूलमा कम्तिमा ६ फिटको दूरी कायम राख्नुपर्ने छ । यसैगरी सरकारले घोषणा गरेका अति उच्च जोखिम क्षेत्र (कन्टेनमेन्ट जोन)का स्कूल भने बन्द नै रहने छन् । योसँगै अनलाईन र दूरशिक्षा भने जारी नै रहनेछ । तर विद्यार्थीहरुलाई जम्मा हुने, एसेम्बली या खेलकुदसँग जोडिएका गतिविधि भने गर्न पाइने छैन ।

कञ्चनपुरमा २ महिनामै भाँसियो ४९ लाखको सडक

कञ्चनपुर : दैजी छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्ग निर्माण गरिएको २ महिनामै भत्किएको छ । बेदकोट नगरपालिकाले बसन्तथालामा ४९ लाख खर्च गरी निर्माण गरेको बाटो निर्माण गरिएको दैजी छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्ग २ महिनामै भासिएको हो । निर्माण कम्पनीले मापदण्ड विपरीत पहुँच मार्ग निर्माण गरेकाले सडक भासिएको स्थानीय पारस जोशीले बताए । उनका अनुसार दैजी छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्ग जेठमा निर्माण गरिएको थियो । ‘निर्माण कम्पनीको कारण सडक भासिएको हो,’ उनले भने, ‘उक्त सडक ठाउँठाउँमा भासिएको छ ।’ बेदकोट निर्माण सेवाले निर्माण गरेको पहुँच मार्ग २/३ ठाउँमा भासिएको उनी बताउँछन् । ‘केही दिनअघि परेको वर्षाले पहुँच मार्ग भासिएको थियो,’ उनले भने, ‘ठेकेदार, जनप्रतिनिधि र प्राविधिकको मिलेमतोमा सडक तथा पहुँच मार्ग स्टिमेट विपरीत निर्माण गरिएको छ ।’ भासिएको ठाउँमा तटबन्ध नगरिए पानी परेपछि थप सडक भासिने उनी बताउँछन् । ‘भासिएको सडक छेउमा तटबन्ध गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘समयमै तटबन्ध नगरे सरकारको लाखौं लगानी खेर जान्छ ।’ बेदकोट नगरपालिकाका-२ का वडाध्यक्ष नरेश सिंह पनि दैजी छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्गको पथरिया खोला नजिक सडक भासिएको बताउँछन् । ‘त्यो ठाउँमा खेतहरुबाट आएको पानी खोला जान्थ्यो, त्यहाँ ठूलो खाल्डो थियो,’ उनले भने, ‘त्यो स्थानमा सडक निर्माण गर्दा तटबन्ध गरिनु पथ्र्यो, तर राखिएन त्यसैले सडक भासिएको हो ।’ इन्जिनियरले सडकको इस्मेट बनाउँदा तटबन्ध राख्नुपर्ने भएपनि छुटाएकाले सडक भासिएको सिंहको भनाई छ । ‘इन्जिनियरले स्टिमेट बनाउँदा तटबन्ध राख्न छुटाएछ, त्यसैले भासियो,’ उनले भने, ‘निर्माण व्यवसायीले त स्टिमेट अनुसार नै काम गरेको छ ।’ निर्माण सम्पन्न भएको १ वर्षसम्म सडक भासिएमा मर्मत गर्ने जिम्मेवारी ठेकेदारको हुने बताउँदै वडाध्यक्ष सिंहले ठेकेदारलाई सडक मर्मत गर्न लगाइने बताए । ‘निर्माण व्यवसायीलाई भासिएको सडक मर्मत गर्न भनेका छौं,’ उनले भने, ‘निर्माण व्यवसायीले केही दिनमै भासिएको ठाउँमा सडक मर्मत गर्ने बताएको छ ।’ इन्जिनियरले पहुँच मार्गको स्टिमेट बनाउँदा छुटाएको गरेको बेदकोट नगरपालिकाका सवइन्जिनियर नरेन्द्र बोहराले बताए । पहुँच मार्गको पथरिया खोला नजिकको खाल्डोमा नयाँ भरान भएकोले सडक भासिएको उनी बताउँछन् । नगरपालिकाले २ किलोमिटर सडक कालापेत्र गर्नका लागि १ करोड रुपैयाँको लागत अनुमान गरेको दैजी-छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्ग निर्माण गर्न बेदकोट निर्माण सेवाले घटाघटीमा ४९ लाख रुपैयाँमा ठेक्का लिएको थियो । बेदकोट निर्माण सेवाले दैजी-छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्गको काम गत जेठ महिनाको अन्तिम साता सम्पन्न गरेको थियो । बेदकोट निर्माण सेवाका सञ्चालक देब चन्दले दैजी छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्गको एक ठाउँमा मात्रै भासिएको बताए ।

आज काठमाडौंका यी स्थानमा बत्ती जाने (सूचीसहित)

काठमाडौंः अजा काठमाडौंका विभिन्न ठाउँमा बत्ती जाने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार चक्रपथ विस्तारको काम गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुन लागेको हो । बुधबार चक्रपथ क्षेत्र वरिपरि विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले बताएको छ । कुलेश्वर वितरण केन्द्रअन्तर्गतको कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ विस्तार कार्यको लागि सडकको दायाँ बायाँको विद्युतीय संरचना स्थानान्तरण हुनेछ । जसका कारण स्वीचाटार पुलबाट सितापाइला चोकसम्मको ११ केभी लाइन चार्ज गर्नु पर्ने भएकोले बुधवार विहान ११ बजेबाट साँझ ५ बजेसम्म लाइन सट डाउन गरिने प्राधिकरणले जनाएको छ । उक्त फिडरअन्तर्गत सितापाइला, बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फेक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउरालीलगायतका क्षेत्रमा बत्ति जाने छ । मर्मतको काम निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्नेछ । साथै नयाँ लाइन चालु गरीने स्थान स्वीचाटार पुलदेखि सितापाइला चोकसम्मा सडकका दायाँ बायाँ निर्माण भएका विदुतिय सरचनाहरुको नजिक नजान तथा नछुन समेत प्राधिकरणले आग्रह गरेको छ ।

ललितपुरको नख्खीपोटका १ युवकमा कोरोना पुष्टि

काठमाडौं : ललितपुरको ललितपुर महानगरपालिका-१४ नख्खिपोटका २८ वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार ती पुरुष असार ११ गते कतारबाट नेपाल आएका थिए । उनी सिनामंगलको एक होटलमा बसेका थिए । असार १४ गते ती पुरुषमा ज्वरोपाएपछि पाटन हस्पिटलमा कोरोना चेकजाँच गर्न आएका थिए । आज उनका कोरोना पुष्टि भएको गेलाले बताए । उनले भने, ‘ती पुरुष कतै पनि गएका दैखिँदैनन् ।’ कन्ट्रयाक्ट ट्रेसिङ गर्नु नपर्ने गेलालले बताए । ती पुरुषको स्वास्थ्य अवस्था समान्य रहेको छ । संक्रमित ति युवक सशस्त्र प्रहरीको हस्पिटल बलम्बुको आइसोलेसनमा भर्ना भएको डा. गेलालले बताए ।

सांसदको कोरोना परीक्षण (तस्बिरसहित)

काठमाडौंः संघीय संसदका सदस्यको कोरोना भाइरस परीक्षण थालिएको छ । संसद भवन बानेश्वरमा प्रतिनिधि र राष्ट्रिय सभा सदस्यको पीसीआरबाट कोरोना परीक्षण भइरहेको छ । संसदको बजेट अधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर भौतिक दूरी कायम गरी संसद बैठक चलाउने तयारी भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित हुँदा उनको वरपरका १२ सिट खाली राखिने भएको छ । तस्बिरः रासस        

कोरोना भाइरस: एक लाख ३५ हजार संक्रमित, करिब ५ हजारको मृत्यु

पेरिस :  विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमणको कारण शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा सङ्क्रमण भएको छ । यसबाट ४ हजार ९८४ जनाको मृत्यु भएको छ । कुल  सङ्क्रमितमध्ये ७० हजार ३९४ जनाको सफल उपचारपछि घर फर्किएका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरस सक्रमणबाट चीनमा सब भन्दा बढी मृतक र सङ्क्रमितको सङ्ख्या रहेको छ । यद्यपी चीनमा हाल यस भाइरसको सङ्क्रमण कम भएको समाचारमा जनाइएको छ । गत डिसेम्बरको अन्त्यबाट शुरु भएको यस भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार १२७ मृत्यु भएको छ भने ८१ हजारमा सङ्क्रमण भएको छ । रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ । हालसमम १२० भन्दा बढी देशमा यस भाइरसको सङ्क्रमण फैलिएको बताइएको छ । अमेरिकामा यस भाइरसको सङ्क्रमणबाट ४१ को मृत्यु भएको छ । फ्रान्समा ६१ को मृत्यु भएको छ । जापानमा १९ को मृत्यु भएको छ । पछिल्लो समय सङ्क्रमण धेरै फैलिएको इटालीमा सङ्क्रमितको सङ्ख्या १५ हजार ११३ पुगेको छ । इटालीमा हालसम्म १ हजार १६ जनाको मृत्यु भएको छ । इरानमा सङ्क्रमितको सङ्ख्या १० हजार ७५ पुगेको छ । हालसम्म ४२९ जनाको मृत्यु भएको छ भने तीन हजार २७६ जना उपचार गराएर घर फर्किएका छन् । यसैगरी स्पेनमा सङ्क्रमित हुनेको सङ्ख्या झण्डै तीन हजार पुगेको छ भने ८६ जनाको मृत्यु भएको छ । पोल्याण्ड र अल्जेरियामा पहिलो एक–एकजनाको मृत्यु भएको छ । पोल्याडमा ५७ वर्षीया शिक्षिकाको मृत्यु भएको जनाइएको छ । पोल्याडका स्वास्थ्य अधिकारीकाहरुका अनुसार देशभरमा कूल सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । अल्जेरियामा भने दुई दर्जन बिरामी भएका छन् । पाकिस्तानमा कोरोना भाइसबाट सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । कूल १९ बाट बढेर बिहीबार २१ पुगेको हो । त्यहाँ इरानबाट आएका करिब चार हजारजनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोनाकै कारण भारतको जम्मु र काश्मिर क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ । यही मार्च ३१ सम्मका लागि विद्यालय बन्दको घोषणा गरिएको हो । भारतका अन्य केही प्रदेशमा पनि विद्यालय बन्द गरिएको छ । सिङ्गापुर र मलेसियामा बिहीबार थप नौ नौै व्यक्तिमा सङ्क्रमण पुष्टि भएसँगै यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट विरामी हुनेको सङ्ख्या क्रमशः १८७ र १५८ पुगेको दुबै देशका अधिकारीहरूले बताएका छन् । एजेन्सी

त्यो पोखरी, जहाँ चौपाया जंगल जानुअघि नुन चाट्न पुग्छन्

देउखुरीः दाङको लमही नगरपालिका वडा नम्बर ९ का खिमबहादुर केसीले पशुचौपाया चराउन लग्दा दौडेर पहिले रिहारमा पाइने नुनिलो पदार्थ (रेडा) चाट्न पुग्छन् । त्यहाँको रेडा नचाटी पशु चौपाया जंगल जाँदैनन् जब पशु चौपाया रेडामा भुल्छन्, अनी गोठालाहरु फुर्सदिला हुन्छन् । पूर्वपश्चिम राजमार्गको लमही ९ रिहारको बगारबाबा धार्मिकस्थल आसपासमा सेताम्मे नुन फलेजस्तो देखिने यो दृश्यले पशुचौपायालाई मात्र होइन, मानवलाई नै केही भुलाउँछ । धेरैले नुनिलो भएकोले रिहारमा नुन वा कुनै खनिज पदार्थ भएको अड्कल काट्छन् । स्थानीयबासी रिहारमा पाइने सेतो नुनजस्तो पदाथलाई रेडा भन्ने गर्दछन् । यही रेडाबाटै रिहार नाम रहन गएको स्थानीय जेष्ठ नागरिक लालबहादुर पछाईले जानकारी दिए । बाक्लो थारु समुदायको बस्ती रहेको रेडालाई भन्न थालियो र पछि रेडाबाट रिहार भयो भन्ने गरिन्छ, पछाई बताउँछन् । । ८७ वर्षीय पछाईले आफूले जानेदेखि नै रिहारमा यस्तो पदार्थ पाइने गरेको बताए । राजमार्गबाट देखिने हुनाले पुर्वपश्चिम राजमार्गमा यात्रा गर्ने धेरैको ध्यान रेडामा केन्द्रित हुने गर्दछ । राजमार्गको दुवैतर्फ जमिनमा सेताम्मे हिउँ जस्तै सेतो पदार्थ पाइन्छ । जाडो दिनमा बढी मात्रामा देखिने र गर्मी मौसममा रेडा पग्लेर पानी बन्ने हुनाले पानी पनि नुनिलो हुने गर्दछ । जाडोमा ढुङ्गासंगै जमेको रेडा चाट्ने गर्मीमा नुनिलो पानी पिउनकै लागि पशु रिहार ताक्छन् । भूगोलविदुहरु रिहार क्षेत्रमा पाइने नुनिलो पदार्थ र त्यहाँको भूगोलको विषयमा अनुसन्धान हुन आवश्यक रहेको बताउँछन् । भूगोलविद् तथा लेखक महेश चौधरीले पहिले ठूलो पोखरी भएको र पोखरीको पानी सुकेपछि अम्लिए पदार्थका कारण त्यस क्षेत्रको पानी नुनिलो भएको विश्वास गर्छन् । रिहार क्षेत्रको बारेमा लामो अध्यन गर्नुभएका अनुसन्धानकर्ता उदयराज आलेले रिहारको रेडाको विषयमा जर्मन नागरिक कोरमिल गुड्सले अध्ययन गरे पनि त्यसको पूर्ण रिपोर्ट पाउन सकेको छैन । महेन्द्र बहुमुखी क्याम्पस दाङका भूगोलशास्त्रका प्रा‍.डा धरणीधर शर्माले त्यस क्षेत्रमा पाइने नुनिलो पानी र रेडाको विषयमा राम्रोसँगै अनुसन्धान हुन आवश्यक रहेको बताउँछन्। उनी भन्छन्, ‘नुन खानीमा पानी पाइन्छ तर त्यहाँ पाइने नुनको मात्रा सेतो भएकाले खानी भन्दा पनि पानीकै कारण भएको हुन सक्छ । यस विषयमा अनुसन्धान भए धेरै राम्रो हुने थियो ।’ रिहारमा पाइने सेतो पदार्थ (रेडा) यदुवंशी समुदाय हरुले कपडा धुनको लागि पनि प्रयोग गर्ने गर्दछन् । माघमा लाग्ने मेलामा आउने अधिकांश भारतीय नागरिकहरुले कपडा धुनको लागि रेडा लग्ने गरेको स्थानीय नवीन कुवंरले जानकारी दिए । लमही नगरपालिकाका प्रवक्ता बिमवहादुर केसीले रिहार क्षेत्रको समग्र अनुसन्धान आवश्यक रहेको जानकारी दिँदै अहिले धार्मिकस्थल रिहार बगारबाबा धामको गुरुयोजना बनाइएको बताए । गोरखापत्र दैनिकबाट