निर्धारित शुल्क कार्यान्वयन गर्न निर्देश
काठमाडौँ, चैत १० । चिकित्सा विज्ञानका स्नातक तह (एमबिबिएस र बिडिएस)का कार्यक्रमका निर्धारित शुल्क कार्यान्वयन गर्न प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देश गरेको छ ।
वि.सं २०७५ असोज २८ गतेको मन्त्रिपरिषद्को बैठकले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तहका कार्यक्रमका लागि काठमाडौँ उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार तथा बिडिएसतर्फ रु १९ लाख ३२ हजार ६१२ निर्धारण गरेको थियो ।
सो निर्णय कार्यान्वयनमा ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालय एवम् शैक्षिक प्रतिष्ठानलाई निर्देशन दिएको थियो । निर्णय कार्यान्वनमा नआएको भन्दै समितिको आइतबार बसेको बैठकले ती तहका निर्धारित शुल्क कार्यान्वयन गर्न मन्त्रालयलाई निर्देश गरेको हो ।
वि.सं २०७५ फागुन ८ गतेको शिक्षा मन्त्रालयस्तरीय बैठकले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई शुल्कका विषयमा छानबिन गरी आवश्यक कारवाहीका लागि निर्देशन दिएको थियो । यसैगरी विसं २०७५ चैत ४ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले समेत शुल्क निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयलाई निर्देशन दिएको थियो ।
बैठकमा समितिका सभापति जयपुरी घर्तीले सो निर्देश गर्दै मेडिकल कलेजले अभिभावकसित निर्धारित शुल्कभन्दा बढी उठाउने गरेको गुनासो आएको भन्दै यसलाई छिटो सम्बोधन गर्नुपर्छ भने । शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले मेडिकल कलेजले उठाउने शुल्कको यकिन विवरण पाउन मन्त्रालयलाई प्राविधिक समस्या परेको जानकारी दिए ।
समितिका सदस्य खगराज अधिकारीले मेडिकल कलेजले विद्यार्थीसित उठाउने शुल्क मनपरी भएको बताउँदै यस विषयमा संसदीय छानबिन समिति बनाई अध्ययन हुनुपर्छ भने । समितिका सदस्य गगनकुमार थापाले चिकित्सा शिक्षाअन्तर्गतका कार्यक्रमका शुल्क सरकारले तोक्छ तर मेडिकल कलेजले किन अवज्ञा गर्दछन् भन्ने प्रश्न गर्दै यसलाई समयमै सम्बोधन गर्न आग्रह गरे ।
समितिका अर्का सदस्य उमेश श्रेष्ठले विश्वविद्यालयले चिकित्सा शिक्षा प्रदान गर्न नयाँ मेडिकल कलेज नखोल्ने तर सम्बन्धन दिने तिथा सम्बन्धन दिने तर अनुगमन नगर्ने प्रवृत्तिले चिकित्सा शिक्षामा विङ्सगति देखिएको हो भने । सांसद हितबहादुर तमाङ, मनकुमारी जिसी र सन्तबहादुर थारूले चिकित्सा शिक्षा गरीब र जेहेन्दार छात्रछात्राको पहुँचमा ल्याउन सरकारले विशेष ध्यान दिनुपर्छ भने । रासस
कसरी बनाउने नानीबाबुलाई प्रतिभावान? जान्नुहोस् ५ टिप्स
काठमाडौं, चैत ४ । प्रायजसो सबै अभिभावक आफ्ना नानीबाबुहरुको भविष्यबारे चिन्तित हुन्छन्। आफ्ना नानीबाबुहरुलाई सही बाटो देखाउन उनीहरु हर प्रयासमा तल्लिन हुन्छन्। नानीबाबुहरुलाई पढाइमा सबल बनाउन वा चनाखो बनाउन अनावश्य दबाब दिनेगर्छन्। तर यसो गर्नु राम्रो होइन। इच्छाविरुद्ध दबाब दिँदा उनीहरुमा पढाइप्रति अरुचि बढेर आउँछ। उनीहरुलाई चनाखो वा जिम्मेवारी बनाउन सानै उमेरदेखि कोशिश गर्नुपर्छ। किनकी सानो उमेरका नानीबाबुहरुको दिमाग छिटो विकसित हुन्छ। सम्झाएको छिटो बुझ्ने गर्छन्। अभिभावकले नानीबाबुहरुसँग बस्दा होस् वा कुरा गर्दा उनीहरुजस्तै बनिदिनुपर्छ। उनीहरुसँग रमाउने, उनीहरुले सोधेको प्रश्नको जवाफ झर्को नमानी बताइ दिनुपर्छ। यसो गर्दा छिटो बुझ्ने र आमाबाबुप्रति सकारात्मक हुन्छन्। र कामप्रति जिम्मेवार बन्ने बानीको विकास हुँदै जान्छ। तल पाँच टिप्स दिइएका छन् जुन तपाईका नानीबाबुहरुलाई प्रतिभावान बनाउनमा केही सहयोग पुग्नेछ। १- नानीबाबुहरुसँग नियमित कुराकानी गर्नुहोस् : नानीबाबुहरुलाई प्रतिभावान बनाउनमा कुराकानीले विशेष भूमिका खेलेको हुन्छ। नियमित कुराकानीले नानीबाबुहरुसँग नजिक बनाउनुका साथै नानीबाबुहरुमा आत्मविश्वास बढ्छ। नानीबाबुहरु बोल्न थालेदेखि उनीहरुसँग रमाइला कुराकानी गर्ने बानीको विकास गर्नुपर्छ। उनीहरुसँग अंग्रेजी हिन्दी,नेपालीलगायत भाषामा कुराकानी गर्नेहोस्। ताकी उनीहरु बढ्दै गएपछि कुनै पनि भाषाको समस्या नआओस्। २- घरमा खुशियाली वातावरण बनाउनुहोस : घरमा नानीबाबुहरुलाई राम्रो वातावरणा दिनुपर्छ। सुन्दर वातावरणमा हुर्केका नानीबाबुहरु पछि गएर एक जिम्मेवार मात्र नभइ बुद्धिमानी हुन्छन्। नानीबाबुहरुलाई सानैदेखि जिम्मेवारी बन्न दिनुपर्छ। अभिभावकले नियमित उनीहरुसँग खेल्ने, रमाउने गर्नुपर्छ।उनीहरुमा परेको समस्या बुझ्ने कोशिस गर्नुपर्छ। यसो गर्दा उनीहरुमा कामप्रति जिम्मेवारी हुन्छन्। ३- नानीबाबुहरुको उमेरअनुसार खेलौना किन्नुहोस- : नानीबाबुहरुका खेलौना किन्दा उनीहरुको उमेरमा ध्यान दिनु आवश्यक हुन्छ। किनकी उमेर अनुसारका खेलौना भएनन् भने यसले नानीबाबुहरुको मानसिक विकासमा असर गर्छ। खेलौनाले बच्चालाई खुसी र दु:खी बनाउने भएकाले उमेरअनुसारका खेलौना दिनुहोस्।यस्तो खेलौना दिनुहोस्, जसले बच्चालाई ज्ञानसम्बन्धि जानकारी देओस्। ४- नानीबाबुलाई नियमित पढाउने गर्नुहोस् : जब नानीबाबुहरु स्कुल जान थाल्छन् उनीहरुलाई किताब पढ,लेख भनेर मात्र दबाब दिनुहुँदैन। उनीहरुसँग बसेर किताब ओल्टाइ पल्ट्याइ गर्ने। उनीहरुलाई नै यो केहो भनेर सोध्ने गर्नुपर्छ। यसो गर्दा उनीहरु हाँसेर उत्तर दिने गर्छन् र पछि प्रश्न सोध्ने गर्छन्। आफूले उत्तर दिँदा कहिले काहीँ गलत भनि दिनुपर्छ। यादहोस् त्यो उक्त प्रश्नको उत्तर नानीहरुलाई थाहा होस्। उनीहरुले त्यसो होइन, यसको उत्तर त यस्तो पो हो भन्दै जिस्काउने गर्छन्। आफूलाई बढी जान्ने भन्ठान्छन्। यसो गर्दा नानीबाबुहरुको नजादिँदो तरिकाले पठाइ अगाडि बढ्छ। कापी किताबका साथसाथै उनीहरुलाई अंग्रजी/नेपाली वर्णमाला पढ्न लगाउने,औंला भाँचेर गन्ती गर्न सिकाउने,फलफूल दिँदा सम्बन्धित फलफूलको नाम बताइ दिने, चराचुरुंगी देखाउँदा नाम भनिदिने, घरमा आएका पाहुनाको नाम/नाता बताइने दिने, घुम्न जाँदा जाँदै गरेको स्थानको नाम र पुगिसकेपछि पुगेको स्थानको नाम बताइदिनुपर्छ। यसो गर्दा नानीबाबुहरुले सबै कुराको जानकारी पाउनुका साथै नयाँ-नयाँ कुरा सिक्ने मौका पाउँछन्। ५- नकारात्मक सन्देश दिने उपहार नदिनुहोस्: नानीबाबुहरुको जन्मदिनमा हतियार बुझाउने खालका खेलौना भुलेर पनि दिनुहुँदैन। यसले नानीबाबुहरुमा क्रोधको भावना पैदा गर्छ। हतियार बुझाउने खेलौनामा रमाउने बालबालिकापछि गएर रिसाहाखालका हुनेगर्छ। यस्ता नानीहरुमा सकारात्मकभन्दा पनि नकारात्मक सोचाइ बढ्नेगर्छ। नानीबाबुहरुमा नकारात्मक सोचको विकास हुनेगर्छ। त्यसैले बालबालिकालाई उपहार दिँदा उमेरमा ध्यान दिनुपर्छ। भर्खर स्कुल जान थालेका नानीबाबुहरुलाई ठूला अक्षर भएका किताब,कलम,पेन्सिल,इरेजर,कटर,झोला,कुनै पर्यटकीयस्थल बुझाउने फोटो, कुनै विशेष जनावरको फोटो आदि उपहारको रुपमा दिँदा राम्रो हुन्छ। सम्बन्धित नानीबाबुहरुको फोटो फ्रेममा राखेर उपहारका रुपमा दिँदा उनीहरु धेरै खुसी हुन्छन्। यो सामग्री अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।
प्रधानाध्यापक घरमै लगाउँछन् विद्युतीय हाजिर !
कालिकोट, फागुन १७ । कालिकोटको पचालझरना गाँउपालिका तिखाती-९ को कर्णाली आधारभूत विद्यालयका प्रधानाध्यापक बिरेन्द्रबहादुर शाहीले घरमै ल्याएर हाजिर गर्ने गरेको खुलासा भएको छ । सोमबार सोही विद्यालयका शिक्षक अमर तिरुवाले प्रधानाध्यापक शाहीको हाजिर लगाउन उनको घरतिर लाँदै गरेको बायोमेट्कि हाजिर बाटोमा स्थानीय युवाहरुले फेला पारेपछि घरमै विद्युतीय हाजिर लगाउने गरेको खुलासा भएको हो। स्थानीय देवेन्द्र शाही र पवित्र शाहीले विद्युतीय हाजिर बाटोबाटै जफत गरेर वडा अध्यक्ष जोरे तिरुवालाई बुझाएका छन्। शिक्षकलाई विद्यालयमा नियमित बनाउन गाँउपालिकाले हरेक विद्यालयमा अनिवार्य विद्युतीय हाजिर प्रणाली लागु गरे पनि शिक्षकहरुले यसमा अनियमितता गर्ने गरेको स्थानीय देवेन्द्र शाहीले बताए। उनले घरमै हाजिर लगाउने प्रधानाध्यापकलाई कारबाहीको माग गर्दै वडा अध्यक्ष जोरे तिरुवालई हाजिरी मेसिन बुझाएको बताए। प्रधानाध्यापक शाहीले सोमबार आफ्नो घरमा शिक्षकहरुको भोज भएकाले घरमै हाजिरी लगाउने मेसिन ल्याउन लगाएको स्वीकारेका छन्।
चावहिल साँखु सडकखण्डः ३ दिनदेखिको झरीको कारण शालीनदी मेलामा आउने दर्शनार्थीहरुलाई सास्ती
साँखु, माघ २७ । अहिले बन्दै गरेको चाबहिल–साँखु सडकखण्डमा लगातार तीन दिनकोे झरीले साँखुसम्म सडक हिलाम्मे र चिप्लो हुँदा सर्वसाधारण तथा तीर्थयात्रीलाई समस्या भएको छ । काठमाडौंको शङ्खरापुर नगरपालिकास्थित साँखुमा माघ ७ गतेबाट लागेको माधवनारायण शालीनदी मेला भर्न विभिन्न जिल्लाबाट आउने भक्तजनले सडकका कारण निकै सास्ती भोग्नुपरेको दुःखेसो पोखेका छन् । सडकमा भएका ठूला खाल्डो र सडक दायाँबायाँ बढाउने कार्य भइरहेकाले चाबहिलबाट साँखु जाने सवारी साधन ठाँउ–ठाँउमा फस्ने गरेका छन् भने मोटरसाइकललाई गन्तव्यसम्म पुग्न निकै मुस्किल पर्ने गरेको छ । तीन दिनको झरीले यो सडकमा यात्रा गर्न निकै सास्ती छ । तीर्थयात्री प्रकाश कुँवर भन्छन्, ‘मोटरसाइकल चिप्लिएर सडकमै पल्टिने गरेको छ, स्कुटर लैजान त झन निकै समस्या छ । मोटरसाइकलको आधा भाग हिलोमै गाडिन्छ ।’ लामो सवारी जाम पर्ने तथा हिलोले दुर्घटनाको जोखिम पनि बढेको छ । मेला हेर्न आउने भक्तजन धेरै हुने गरेकाले सो सडकमा यातायातको निकै चाप हुने गरेको छ । गन्तव्यसम्म सवारीसाधन पुग्न नसक्दा तीर्थयात्री तथा सर्वसाधारण हिलाम्मे सडकमा पैदलकै भरमा मन्दिर जान बाध्य छन् । चाबहिल हुँदै साँखुसम्म पुग्ने सरल तथा वैकल्पिकमार्ग छैन । सोही एउटै सडकको प्रयोगमार्फत मात्रै साँखु पुग्न सकिन्छ । सोही कारणले पनि सवारी जामको समस्या खेप्न बाध्य हुनुपरेको रामप्रसाद दुलाल बताउँछन् । सरकारले गत वि.सं २०७२ मा चावहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि टेण्डर आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । रासस
नगरकोट, चन्द्रागिरि लगायत डाँडामा हिमपात, काठमाडौंमा सामान्य वर्षा
काठमाडौँ — काठमाडौं उपत्यकालाई घेरेका अग्ला डाँडासहित मुलुकका उच्च पहाडी र हिमाली भेगका धेरैजसो स्थानमा हिमपात भएको छ । काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरी, भक्तपुरको नगरकोट, मकवानपुरको दामन, दोलखाको कालिन्चोकलगायतका स्थानमा पनि सोमबार बिहानदेखि हिमपात भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले पश्चिम वायुको प्रभावका कारण देशैभर वर्षा र उच्च पहाडी तथा हिमाली भागमा हिमपात भएको बताइन्। वर्षा र हिमपातसँगै जनजीवन प्रभावित बनेको छ। पश्चिमको डडेलधुरा र दिपायल हुँदै आइतबार प्रवेश भएको पश्चिम वायुका कारण पश्चिम क्षेत्रका उच्च हिमाली भागमा आइतबार दिउसोदेखि नै भारी हिमपात भएको थियो। पश्चिमको अपी, सैपाल, बझांग, खप्तड, रारा, जुम्ला, शेफोक्सुन्डो, मुस्तांग, मनांग, गोरखालगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ। पश्चिमी वायुको प्रभाव पूर्वतिर सर्दै गएपछि काठमाडौंसहितका पूर्वी भागमासमेत वर्षासहित हिमपात भएको हो। सोमबार दिनभरी नै काठमाडांैसहित देशका धेरैजसो भागमा वर्षा हुने मौसमविद कँडेलले बताइन्। मंगलवारदेखि भने पश्चिमी क्षेत्रको मौसममा केही सुधार आउने महाशाखाले अनुमान गरेको छ। बुधबारदेखि भने पूर्णरुपमा सुधार आउने महाशाखाले सूचना जारी गरेको छ।
जापानका नाममा ठगी व्यापक, सरकारले भन्यो– राहदानी र पैसा कतै नबुझाउनु
काठमाडौं, पौष १८ । जापानले नेपाललाई श्रमिकको स्रोत मुलुकका रुपमा राख्ने बित्तिकै बजारमा त्यसकै नामा ठगी सुरु भएको छ । विभिन्न म्यानपावर कम्पनी, कन्सल्टेन्सी, तिनका एजेन्ट र भाषा सेन्टररुले आफैंले जापान पठाइदिने भन्दै विज्ञापनसम्म प्रकाशित गर्न भ्याइसकेका छन् । सरकारले भने कामदारहरुलाई जापान पठाउने नाममा देखाइने कुनै पनि किसिमका प्रलोभनमा नपर्न आग्रह गरेको छ । वैदेशिक रोजगार विभागले सूचना नै प्रकाशित गरेर त्यस्तो भ्रममा नपर्न सचेत गराएको छ । विभागका निर्देशक भोलानाथ गुरागाईंले जारी गरेको सूचनामा जापानमा रोजगारी पाइने हल्लाको पछि नलाग्न अनुरोध गरिएको छ । विभागले यस्तो प्रलोभनमा परेर राहदानी तथा पैसा नबुझाउने आग्रह गरेको हो । विभागले जापानसँग श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने विषयमा छलफल भएर टुंगो लगाउन बाँकी रहेको जनाएको छ । त्यसैले म्यानपावर कम्पनी, कन्सल्टेन्सी तथा व्यक्तिलाई पैसा तथा राहदानी नदिन अपील गरेको हो । अहिले हल्लाकै भरमा ठगहरुले जापानको नाममा पैसा उठाउन सुरु गरिसकेको सूचना सरकार समक्ष पुगेको छ । कसैले राहदानी लिएर पैसा उठाए उने मन्त्रालय, विभाग वा प्रहरीलाई सूचना दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ । जापान पठाउने काम सरकारी संयन्त्रमार्फत पारदर्शी रुपमा गरिने भएकाले कसैको आश्वासनका भरमा रकम नबुझाउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ । विभागले यसरी विज्ञापन निकालेर कामदार ठग्ने काममा संलग्न नहुन त्यस्ता म्यानपावर र कन्सल्टेन्सीहरुलाई सचेत गरएको छ । अटेर गरे कारवाही गरिने निर्देशक गुरागाईंले बताए । अनलाइनखबरबाट
त्रिभुवन विश्वविद्यालयले दिएको प्रमाणपत्रमै यस्तो त्रुटि
काठमाडौं, पुष १६ । स्नातक र स्नातकोत्तर तह उत्तीर्ण तथा विद्यावारिधि उपाधिप्राप्त विद्यार्थीहरूलाई त्रिभुवन विश्वविद्यालयले सोमवार विशेष समारोह आयोजना गरी दीक्षित गर्यो । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसको मैदानमा आयोजित दीक्षान्त समारोहमा त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ९ हजार ५ सय ४ जना विद्यार्थीलाई दीक्षित गरे । देशकै सर्वोच्च प्राज्ञिक निकाय त्रिविले विद्यार्थीलाई दीक्षित गर्दै वितरण गरेको प्रमाणपत्रमा भने गम्भीर त्रुटि गरेको भेटिएको छ । त्रिविले दिएको प्रमाणपत्रको तीनवटा पंक्तिभित्र ४ वटा त्रुटि भेटिन्छ । विद्यार्थीको नाममा ‘बहादुर’ हुनुपर्नेमा ‘वहादुर’ लेखिएको छ । यस्तै ‘संवत्’लाई ‘सम्वत्’ र ‘उत्तीर्ण’लाई ‘उतिर्ण’ लेखिएको छ । अर्को पंक्तिमा स्नातक र उपाधिलाई जोडेर स्नातकोपाधि बनाइए पनि ‘का’ लाई त्यसबाट अलग राखिएको छ । नेपाली व्याकरणमा विभक्ति अगाडिको शब्दसँग जोडिनुपर्छ । यतिमात्र होइन, प्रमाणपत्रको साजसज्जामा पनि त्रुटि छ । माथिल्ला दुई पंक्तिलाई अनावश्यक रूपमा बीचतिर पुर्याइएको छ भने अन्तिम पंक्तिलाई अगाडिबाटै शुरू गरिएको छ । लोकान्तरबाट
निर्देशक विश्व बस्नेतकी छोरी निरिशा पनि फिल्म ईण्डष्ट्रीमा
काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रमा कलाकारका सन्तान प्रवेशको लहर चलेको छ । कोही स्थापित भइसकेका छन् भने कोही स्थापितका लागि संघर्षको चरणमा छन् । यिनैमध्येकी एक हुन् निरिशा बस्नेत । उनी पुराना अभिनेता एवं निर्देशक विश्व बस्नेतकी छोरी हुन् । उनै निरीशाको पहिलो चलचित्र ‘जानी नजानी’ आगामी चैत १ गते रिलिज हुने भएको छ । निरिशा अहिले हिन्दी टेलिफिल्ममा अभिनय गरिरहेकी छन् । रोशनी केसीको निर्माण रहेको निरिशा अभिनित ‘जानी नजानी’ चलचीत्रको पहिलो गीत सार्वजनिक गरिएको छ । ‘एउटीलाई मुटुमा घर’ बोलको गीतलाई राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्ज‘न पोखरेलको रहेको छ । गीतमा स्वर अर्ज‘न र दुर्गा खरेलको रहेको छ । मनिष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् । गीतलाई चार रात छायाँकन गरिएको हो भने यसमा ५५ बढी कोरस प्रयोग गरिएको छ । गीतमा मनिष र सुमी मोक्तानसँगै डेब्यु गर्ल निरिशा बस्नेत पनि फिचर्ड छिन् । ‘मैले डेब्युमा राम्रो टिम पाएँ निकै उत्साहित छु,’ उनले भनिन्, ‘मैले यसमा पानीमा भिजेकी छु, नाचेकी छु रोमान्टिक केटीले गर्ने सबै क्रियाकलाप गरेकी छु । मलाई यो फिल्ममार्फत फिल्मनगरीमा स्वीकार्न‘ हुन्छ भन्ने आश छ ।’ फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीलगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । बसन्त अधिकारीले ‘जानी नजानी’ मार्फत निर्देशनमा डेब्यु गर्दैछन् ।
दाङको ‘राम्री दुर्घटना’ मा गुमेका ‘राम्रा शिक्षक’
दाङ, पुष १३ । दिदी लक्ष्मीको जन्मदिन। गत शुक्रबार बिहान साढे तीन बजे घोराही उपमहानगरपालिका–२ का प्रदीप घिमिरेले दिदीलाई फेसबुकमार्फत जन्मदिनको शुभकामना दिएका थिए। दिदीसँगै आफ्नो तस्बिर पोस्ट गरेर प्रदीप बिहान ६ बजेतिर विद्यार्थी लिएर सल्यान उक्लिए। सहिद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयमा अध्ययनरत आफ्ना विद्यार्थीलाई सल्यानस्थित वनस्पति उद्यान अवलोकन गराएर फर्कने क्रममा राम्री भन्ने ठाउँमा बस दुर्घटनामा परी प्रदीपको निधन भयो। ‘तिहारयता भाइसँग भेट हुन पाएको थिएन’, लक्ष्मीले भनिन्, ‘जीवनभर हामीलाई शोकमा डुबाएर आफैँ अस्तायो। मैरै जन्मदिनमा उसलाई गुमाउनुपर्दाको पीडा म भुल्न सक्दिनँ।’ आफ्ना गुरु तेज कुँवरसँग प्रदीपले बाचा गरेका थिए, ‘सल्यानबाट फर्कनासाथ सरसँग रमाइलो भेटघाट गर्छु।’ ३१ वर्षीय प्रदीप गुरुसँग कहिल्यै भेट नहुने गरी अस्ताए। ‘सल्यान विद्यार्थी लिएर जाँदैछु, फर्किएपछि गुरुसँग रमाइलो भेटघाट हुनुपर्छ भनेर बाचा गरेका थिए’, कुँवर भन्छन्, ‘तर उनी सल्यानबाट फर्कनै पाएनन्।’ गुरुचेला दुवैजनाले घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन गर्दै आएका थिए। ‘हामी एउटै कलेजमा अध्यापन गराउँदै आएको भए पनि प्रदीपले मलाई कहिल्यै सर भनेर बोलाएनन्, गुरु भनेरै सम्बोधन गर्थे’, कुँवर भन्छन्, ‘उनी मेरो मनमष्तिष्कबाट कहिल्यै नमर्ने एक कुशल चेला हुन्।’ अध्यापन कौशलकै कारण पछिल्लो समय प्रदीप महेन्द्र बहुमुखी क्याम्पसलगायत अन्य थुप्रै कलेजमा पढाउँथे। ‘उहाँ हाम्रो सर मात्रै हुनुहुन्नथ्यो’, महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत श्रीयम्सी सुवेदीले भनिन्, ‘सर साथीजस्तो व्यवहार गरेर पढाउनुहुन्थ्यो।’ विद्यार्थीका अनुसार उनी चर्को स्वरले कहिल्यै बोलेनन्। प्रदीपले आफ्नो पुरानो घटना सुनाउँदै आयु लम्बिएको सुनाइरहन्थे। ‘म एकपटक कालको मुखबाट फर्केर आइसकेको छु, अब म कम्तीमा ९० वर्ष बाँच्छु भन्नुहुन्थ्यो,’ दीपशिखा माविमा अध्ययरत छात्रा संहिता अधिकारीले भनिन्, ‘हाम्रा प्रेरणाका स्रोत अकालमै जानुभयो। उहाँ जस्तो सहयोगी शिक्षक कमै हुन्छन्’। आठ वर्षअघि मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रदीपको लामो समयसम्म आइसियूमा उपचार भएको थियो। प्रदीपले महेन्द्र बहुमुखी, दीपशिखा, कृष्णसेन प्राविधिक शिक्षालय, मदन भण्डारी, सिद्धार्थ, सञ्जीवनी, रझेना, विद्यानीलकण्ठ, चौघेरा, पद्मोदयलगायतका शिक्षण संस्थामा वनस्पतिशास्त्र पढाउँथे। तंग्रिदै थियो नरेशको जीवन रुकुम पूर्वका नरेश ओलीले घरबाट पत्नी र दुई वर्षीया छोरीलाई दाङ बोलाएका थिए। बिहीबार साँझ आमाछोरी घोराही आइपुगे। घोराहीमै डेरा गरेर सपरिवार बस्ने योजनाका साथ पत्नी र छोरीलाई बोलाएका नरेशले आफ्नो परिवार दाङ बोलाएको भोलिपल्टै प्राण त्यागे। ‘अब परिवार सबै घोराहीमा बस्ने भनेर बुहारी र छोरीलाई बोलाएको थियो,’ नरेशका दाजु सर्कबहादुर ओलीले भने, ‘भोलिपल्ट आफैं बित्यो।’ नरेशको पनि प्रदीपसँगै दुर्घटनामा परी निधन भएको हो। लामो समयदेखि आर्थिक अभावमा बाँचिरहेका नरेश भर्खर तंग्रिन थालेका थिए। पूर्वी रुकुमको सामान्य परिवार। सानै छँदा बाबुको निधन भयो। आर्थिक जोहो गर्ने उपाय नचलेपछि दाजु सर्कबहादुरले नै उनलाई पढाएका थिए। ‘घरको आर्थिक अवस्थाले नभ्याउने भए पनि म विदेश गएर पैसा पठाएर पढाउन थालेको थिएँ’, सर्कबहादुरले भने, ‘जेनतेन गरेर पढाइरहेको थिएँ।’ नरेश पढाइमा अब्बल थिए। उनी झन्डै एक वर्षदेखि महेन्द्र बहुमुखी क्याम्पससहित अन्य कलेजमा अध्यापन गर्दै आएका थिए। राम्री बस दुर्घटनामा गुमेका दुई शिक्षक प्रदीप र नरेशको निधनले दाङको शैक्षिक क्षेत्रमा ठूलो नोक्सान भएको महेन्द्र बहुमुखी क्याम्सका प्रमुख सुदर्शन रिजाल बताउँछन्। अध्यापन शैलीमा अब्बल तथा शालीन स्वभावका दुई शिक्षकको निधन आफ्ना लागि निकै पीडादायी बनेको उनले बताए। ‘अध्यापन र व्यक्तिगत स्वभावका कारण दुवैजना सबैका प्रिय हुनुहुन्थ्यो’, उनले भने, ‘क्याम्पसले मात्र होइन जिल्ला नै राम्रा शिक्षक गुमाएको छ।’ गत शुक्रबार राम्रीमा भएको बस दुर्घटनामा प्रदीप र नरेशसँगै २३ जनाको मृत्यु भएको थियो। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।
कस्तो अनौठो जागिर, अब चोरका लागि पनि यस्तो अवसर !
काठमाडौँ, पुस १३ । सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो । बेलायतमा चोरका लागि जागिर खुलेको छ । बेलायतमा कपडाको शोरूम चलाउने एक महिलाले चोरहरूलाई घन्टाको ६५ सय रुपैयाँको हिसाबमा तलब दिइने गरी जागिर खुलेको हो । उनले बार्क डट्कममा यो जागिरको अफर पोस्ट गरेकी हुन् । पसलबाट धेरै चोरी भएपछि हैरान परेकी उनले खुलाएको जागिरको शर्तमा हरेक घन्टा उनको पसलबाट चोरी गर्नुपर्ने रहेको छ । उनी भन्छिन्, ‘यो अलि फरक किसिमको जागिर हो । बिदाको सीजन चल्दै गर्दा मेरो पसलमा असाध्यै चोरी हुन्छ । धेरै वर्षदेखि यसो भइरहेको छ । यो समस्यालाई मैले जसरी भएपनि समाधान गर्नुपर्छ । त्यसैले मैले चोरलाई जागिर दिएकी हुँ ।’ महिलाले आफ्नो नाम खुलाएकी छैनन् । पसलमा सीसीटीभी क्यामरा लगायत अनेकौं सुरक्षा व्यवस्था भएपनि चोरी भइरहँदा महिला हैरान छिन् । यसरी जागिर दिँदा कसरी चोरी हुने रहेछ भनेर जान्न सकिने ति महिलाको अपेक्षाको छ । एजेन्सीको सहयोगबाट
बस स्टप परिवर्तन : कुन रुटको गाडी कहाँ रोक्ने ? (सूचीसहित)
काठमाडौं, पुस १२ । उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुको बस स्टप परिवर्तन भएको छ । राजधानीको रत्नपार्क क्षेत्रमा सवारीसाधन रोक्न नदिएको विरोधमा यात्रुहरु उत्रिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बस स्टप परिवर्तन गरेको हो । राष्ट्रपत्रकारबाट
प्रकाश र ज्ञानु दाहालको स्मृतिमा प्रतिष्ठान स्थापना गरिने
ललितपुर, मंसिर ३ । नेपाल कम्युनिस्ट पाटी (नेकपा) का लोकप्रिय युवा नेता एवं अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको स्मृतिमा प्रतिष्ठान स्थापना गरिने भएको छ । सोमबार प्रकाशको निधन भएको एक वर्ष पुगेको अवसरमा दाहाल निवास खुमलटरमा आयोजित स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिष्ठान स्थापनाको तयारी भइरहेको जानकारी दिएका हुन्। उनले छोरा प्रकाश र छोरी ज्ञानुको स्मृतिमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताए। प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, अनुसन्धान लगायतका क्षेत्रहरुमा काम गर्ने बताए। स्मृतिसभामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रकाश दाहाल मिलनसार र व्यवहारिक युवा भएको बताएका थिए । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा प्रकाश दाहालको स्मारिका विमोचन गरेका थिए । स्मृति सभामा कांग्रेस सभापति शेरबहादुर देउवा,नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई,राजपा अध्यक्ष मण्डल महन्थ ठाकूर,राप्रपाका अध्यक्ष कमल थापा लगायतले श्रदाञ्जली अर्पण गरेका थिए। प्रकाश दाहालको गत वर्ष मंसिर ३ गते हृदयघातबाट नर्भिक अस्पतालमा निधन भएको थियो ।
विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता
काठमाडौं, कात्तिक २८ । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बैङ्कका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा आज अर्थमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थ सचिव राजन खनाल र नेपाल, बङ्गलादेश र भूटानका लागि बैङ्कका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गरे । दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्ने सिलसिलामा यातायात क्षेत्र सुधारका निम्ति निर्माण गरिने पुलमा लगानी गर्न बैङ्कले रु १३ अर्ब ३० करोडभन्दा बढी रकम ऋणस्वरुप उपलब्ध गराउनेछ । उक्त रकमबाट ४७७ बढी पुल निर्माण गरिनेछ । नेपालको रणनीतिक सडक सञ्जालका ४३३ पुलका निम्ति प्रदान गरिने उक्त ऋणबाट ९० वटा पुलको मर्मतसम्भार, दुर्घटनाका जोखिम कम गर्न १८० वटाको स्तरोन्नतिका साथै ८० वटा दुईलेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मतसम्भार एवं पुनःस्थापनामा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । त्यसैगरी समावेशी विकास तथा महिलालाई केन्द्रमा राखेर खाद्य तथा पोषण सुदृढीकरणका लागि बैङ्कले रु चार अर्ब ७० करोड अनुदान प्रदान गर्ने भएको छ । उक्त परियोजनाबाट ६५ हजार घरपरिवार प्रत्यक्षरूपमा लाभान्वित हुनेछन् । त्यस अवसरमा मन्त्री खतिवडाले सडक र पुल भौतिक पूर्वाधार विकासका पूर्वशर्त भएका बताउँदै नेपालको सामाजिक–आर्थिक विकासमा बैङ्कले निरन्तर सहयोग गरेकामा हार्दिक आभार प्रकट गरे । हरितगृह ग्यास उत्सर्जनमा नेपालको कुनै भूमिका नभए पनि जलवायु परिवर्तनका कारण नेपालको खाद्य सुरक्षाको क्षेत्र चुनौतीपूर्ण बन्दै गएकामा उनले चिन्ता व्यक्त गरे । अर्थमन्त्रीले त्यस्ता चुनौतीलाई परास्त गर्न बैङ्कबाट थप सहायताको अपेक्षा नेपालले गरेको बताए । उपाध्यक्ष साफेरले नेपाल सरकार र बैंकका पदाधिकारीको अथक प्रयासबाट एउटा परियोजनामा ऋण लगानी र अर्कोलाई अनुदान प्रदान गर्न सम्भव भएको भन्दै सडक र पुल विकासका मेरुदण्ड भएकाले त्यसमा लगानी गर्नु अपरिहार्य भएको बताए । गरीबी घटाउन र समावेशी विकासको बाटोमा नेपाललाई अग्रसर तुल्याउन दुवै परियोजना प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे । (रासस)
नेपाल पाँचौ खेलमा पनि विजयी, चीन १० विकेटले पराजित !
काठमाडौं, असोज २४ । मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को पाँचौ खेलमा नेपालले चीनलाई फराकिलो अन्तरले हराएको छ। चीनले दिएको २७ रनको लक्ष्य पछ्याएको नेपालले बिना कुनै विकेट क्षति १.५ ओभरमा पुरा गरेको हो । नेपालका लागि बिनोद भण्डारीले ८ बल खेल्दै १ छक्का र ३ चौकासहित २४ रन बनाए भने प्रदीप ऐरीले ३ बल खेल्दै ४ रन बनाएका थिए। यसअघि बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको चीनले निर्धारित २० ओभरमध्ये १३ ओभरमा अलआउट हुँदै २६ रनमा समेटियो। चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछाने, ललित राजबंशी र बसन्त रेग्मीले समान ३-३ विकेट लिए। एक विकेट रन आउटबाट लिएको थियो। चीनका लागि हङ जियान याङले सर्वाधिक ११ रन बनाए।यस्तै डेन्जी मा ले ५ तथा चेन जिनफिङले १ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्समेनले रन लिन सकेनन्। जारी प्रतियोगिताकै सबैभन्दा बलियो टिम रहेको नेपाल २ खेल अगाडिनै छनोट भइसकेको छ। यस्तै दुई खेल अगाडिनै छनोटबाट बाहिरिसकेको चीन प्रतियोगिताकै सबैभन्दा कमजोर टोली हो।
‘ब्लड फर रोल्पा’ मोबाइल अप्लिकेशनको सुरुवात
रोल्पा, असोज २१ । समयमा रगत नपाउँदा मृत्युवरण गर्न बाध्य रोल्पाका बिरामीका लागि तत्काल रक्त सेवा उपलब्ध गराउने उद्देश्यका साथ जिल्लामा “ब्लड फर रोल्पा” मोवाइल अप्लीकेशनको सुरुवात गरिएको छ । रोल्पाका युवाको सक्रियतामा ‘ब्लड फर मोबाइल एप’ शुरु गरिएको हो । जिल्लामा ब्लड बैंक नहँुदा अप्रेशनको समयमा चाहिने रगत खोज्न निकै सकस हुने देखेर आफूहरूले युवाको सामाजिक दायित्व सम्झेर अभियान थालनी गरेको अभियन्ताले बताएका छन् । रोल्पाका आठ युवाको सहभागितामा सो अवधारणा ल्याइएको हो । आकस्मिक रूपमा रगतको आवश्यक परेको खण्डमा यो मोबाइल एपमा रहेका व्यक्तिको सम्पर्क नम्बरबाट थप जानकारी लिन सकिन्छ । हालसम्म आकस्मिक रक्तदान गर्न इच्छुक ५० जनाको विवरण एप्समा राखिएको अभियन्ता विनोद डाँगीले बताउनुभयो । एन्ड्रोइड मोबाइलमा यो एप्स डाउनलोड गरी आफूलाई आवश्यक परेको खण्डमा रगत भएको व्यक्तिलाई आफँैले फोन गरी तुरुन्त बोलाउन सकिने जनाइएको छ । हालसम्म उक्त एप्समा रहेका छ जनाले रक्तदान गरिसकेको बताइएको छ । रगत नपाएर मर्नुपर्ने अवस्था भोग्दै आएका रोल्पालीका लागि अब त्यस्तो समस्या भोग्नु नपर्ने रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीले बताए । जिल्लामा तत्काल ब्लड बैंक स्थापना हुनसक्ने अवस्था नभएकाले युवाको यो कदमले जिल्लावासीलाई ठूलो राहत पुग्ने छ । महिला स्वास्थ्य कार्यक्रमअन्तर्गत डेलीभरी पूर्व रगत व्यवस्थापन गर्नुपर्ने भएकाले आफूहरूले सधैँ यसको सकस भोग्दै आएकामा मोबाइल एप्लिकेशनपछि आफूहरूलाई पनि राहत भएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश बुढाले बताए । आफ्नै कर्मचारी, नेपाली सेना आदिको सहयोगबाट रगत संकलन गर्नुपर्ने बाध्यता रहेकामा अब भने केही सहजता हुने बुढाले प्रतिक्रिया दिए । मोबाइल एप्सलाई धेरैभन्दा धेरै नागरिकको पहुँचमा पु¥याए मात्र अभियानले सार्थकता पाउने डाँगीले बताए । रासस
मसल्स बनाउन कस्ता खानेकुरा खाने ? थाह पाउनुहोस्
काठमाडौं । धेरै मानिस मसल्स बनाउन फिटनेस र जिम धाउने गर्छन् । तर, खानेकुरामा भने अनभिज्ञ हुन्छन् । मसल्स निर्माणका लागि व्यायाम गरेर मात्र पुग्दैन, खानामा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । उसो भए के खाने त ? एजेन्सीको सहयोगमा तयार पारिएको सामग्रीः अन्डामा प्रोटिन, भिटामिन र खनिजको मात्रा हुन्छ । विभिन्न अध्ययनले अन्डामा एन्टिअक्सिडेन्ट, एमिनो एसिड, फाइदाजनक फ्याट र अन्य महत्वपूर्ण पौष्टिक तत्व प्राप्त हुने बताएको छ, जुन स्वास्थ्य र मसल्स बनाउन निकै महत्वपूर्ण मानिन्छ । तर, ध्यान दिनुपर्ने कुरा के भने सधैँ उमालेको अन्डा मात्र प्रयोग गर्नुपर्छ । हरियो तरकारी अधिकांश तरकारीमा क्यालोरीको मात्रा कम हुन्छ । तर, यसबाट फाइबर, फोलिक एसिड, भिटामिन ए, ई र सीसहितको पौष्टिक तत्व प्राप्त हुन्छ । यस्ता तत्वले रक्तचाप सन्तुलित राख्नुका साथै मसल्स निर्माणमा पनि सहयोग गर्छ । तरकारीमा एन्टिअक्सिडेन्ट बढी मात्रामा हुने भएकाले मसल्स बनाउन राम्रो विकल्प हुन्छ । काजु, बदाम यदि तपाईं मसल्स बनाउन खोजिरहनुभएको छ भने नियमित रूपमा बदाम, काजु, ओखर आदिको प्रयोग गर्न सक्नुहुन्छ । यसका साथै ड्राइफुडको पनि सहारा लिन सक्नुहुन्छ । किनकि, यसबाट पौष्टिक तत्व, भिटामिन बी, ई, आइरन, पोटासियम, म्याग्नेसियम, खनिजलगायतका तत्व प्राप्त गर्न सकिन्छ । जसले मसल्स निर्माणका लागि मद्दत गर्छ । अन्न मसल्स बनाउन जिम गइरहनुभएको छ भने फास्टफुड, जंकफुड र प्रोसेस्ड खानेकुराको सेवन अत्यधिक कम गर्न जरुरी छ । यस्तो खाद्यपदार्थको प्रयोग नगर्दा स्वास्थ्यलाई फाइदा गर्छ । बरु सट्टामा अन्नको प्रयोग गर्न सक्नुहुन्छ, जस्तै– चामल, गहुँ, दाल आदिबाट बनेका खानेकुरा । यस्ता खाद्यपदार्थले तपाईंलाई कार्बोहाइड्रेटका साथै ऊर्जा पनि प्रदान गर्छ । तपाईंमा ऊर्जा बढी भएमा आवश्यकताअनुसार व्यायाम गर्न सक्नुहुन्छ । फलफूल मसल्स बनाउन फलफूलको प्रयोग पनि आवश्यक छ, जुन स्वस्थ्यकर पनि मानिन्छ । फलफूलबाट भिटामिन, खनिज तथा कैयौँ प्रकारका पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ । यसले मसल्स निर्माणमा सहयोग गर्छ ।