चीनमा हट्दा नेपालमा पनि रहेन
मणि दाहाल
काठमाडौं। नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस गर्ने नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीले एकीकृत पार्टीको विधानबाट राजनीतिक सक्रियताको उमेर र कार्यकालको समयसीमा हटाउने भएका छन्।
नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले तयार पारेको विधानको मस्यौदामा सक्रिय राजनीतिको उमेर ७० वर्ष र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था थियो । अहिले यी दुवै विषय हटाइएको छ।
पार्टी राजनीतिमा नयाँ मानिसको प्रवेश कम र नेतृत्वको सहज बहिर्गमन नभएका कारण एमाले र माओवादी दुवैको संगठन मादलजस्तो बनेको टिप्पणी हुँदै आएको छ ।एमालेले आठौं महाधिवेशनबाट कार्यकारी पदमा दुई कार्यकाल र नवौं महाधिवेशनबाट सत्तरी वर्ष उमेरहदको विषयलाई लागू गरेको थियो । सत्तरी वर्षको व्यवस्था तीन वर्षभन्दा बढी टिक्न सकेन।
संसारभरका कम्युनिस्ट पार्टीमा मूल नेतृत्वले आजीवन पद नछाड्ने परम्परा छ । नेपालमा कम्युनिस्ट पार्टीले पनि यो परम्परालाई निरन्तरता दिएका छन् ।वैशाख पहिलो साता ८४ वर्ष लाग्ने नेकपा मसाल महामन्त्री मोहनविक्रम सिंह २०३१ सालदेखि निरन्तर नेतृत्वमा छन् । त्यसैगरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल २०४६ सालदेखि नेतृत्वमा छन्।
एमाले नेतृत्व पहिलो पुस्तामा केन्द्रित छ । झापा विद्रोह, केन्द्रीय कोअर्डिनेसन केन्द्र, नेकपा माले, नेकपा एमालेसम्म आइपुग्दासम्म जम्मा पाँचजना नेताले नेतृत्व गरेका छन् । झलनाथ खनाल, सिपी मैनाली, मदन भण्डारी, माधवकुमार नेपाल हुँदै अहिले एमाले नेतृत्व केपी शर्मा ओलीमा छ।
पद नछाड्ने समस्या समाधान गर्न चिनियाँ कम्युनिस्ट पार्टीले कार्यकारी पदमा दुई कार्यकाल र उमेर तोक्ने व्यवस्था गरेको थियो । माओपछि कम्युनिस्ट पार्टीको नेतृत्वमा पुगेका देङ स्याओ पिङले आर्थिक खुलापनको कार्यक्रममात्रै नभएर पार्टी संरचना र सञ्चालनमा समेत व्यापक परिवर्तन गरेका थिए । कार्यकारीको दुई कार्यकाल र सक्रिय राजनीतिक नेतृत्वका लागि सत्तरी वर्षको व्यवस्था उनकै प्रयास हो । यो व्यवस्था कम्युनिस्ट पार्टीभित्र चिनियाँ मोडलका रुपमा चिनिन्छ।
‘चिनियाँ कम्युनिस्ट पार्टीभित्र लगातार दुई कार्यकालभन्दा बढी पदमा नरहने लिखित प्रावधान नै हो । सत्तरी वर्षचाहिँ समझदारीको विषय थियो,’ राजनीतिक विश्लेषक झलक सुवेदीले भने, ‘निरन्तर एकै व्यक्ति पदमा रहँदा मतभेद हुन्थ्यो । त्यसलाई निकास दिने काम भएको हो ।’ यसै कारण चीनमा धेरै नेताहरुले नेतृत्व गर्ने अवसर पाएको उनले बताए।
सन् १९४९ मा सत्तामा पुगेको चिनियाँ कम्युनिस्ट पार्टीमा त्यसपछि करिब तीस वर्ष माओको नेतृत्व रह्यो । यस अवधिमा चीनले खासै प्रगति गर्न सकेन, उसले ‘एसियाको रोगी’ को नाम पायो।
सन् १९७८ मा देङको उदयपछि उनले आर्थिक खुलापन र राजनीतिक सुधारका कार्यक्रम सुरु गरे । सन् १९८२ मा चिनियाँ कम्युनिस्ट पार्टीको पाँचौं महाधिवेशनले संविधान संशोधन गरी दुई कार्यकालको व्यवस्था लागू गर्यो।
एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नयाँ चरणमा प्रवेश गरेको चीनलाई नयाँ नेतृत्व खाँचो हुँदा सत्तरी वर्षको समय सीमा तोकिएको बताए । ‘सन् १९८२ मा एकैपटक चिनियाँ क्रान्तिमा संलग्न १ सय ८२ जना केन्द्रीय सदस्य बिदा भए,’ पाण्डेले भने, ‘केन्द्रमा आउनेका लागि पनि नयाँ मापदण्ड बन्यो ।’ देङले सो काम सम्पन्न गर्नुअघि ठूलो कसरत गर्नुपरेको थियो।
चिनियाँ क्रान्तिको समयमा छलफल गर्दा नयाँ व्यक्ति आउनुपर्छ भन्नेमा सबै तयार हुने तर महाधिवेशनमा पद नछाड्ने भएपछि देङले तीन विषय अघि सारे । ‘केन्द्रीय सदस्यले खाइपाई आएको तलब, बस्दै आएको फ्ल्याट र सुरक्षाकर्मी नखोस्ने भनेपछि चिनियाँ क्रान्तिका नेता पद छाड्न तयार भएका हुन्,’ पाण्डेले भने।
अहिले विधानबाट कम्युनिस्ट पार्टीले राष्ट्रपति पदमा दुई कार्यकालको व्यवस्था हटाएको दुई साताभित्रै एमाले र माओवादी केन्द्रको एकीकृत विधान मस्यौदाबाट पनि उमेर हद र कार्यकारीको कार्यकाल सीमा हटेको छ।
लामो समय संगठन विभागको जिम्मेवारी समालेका एमाले उपाध्यक्ष युवराज ज्ञवालीले सहज नेतृत्व हस्तान्तरण र नयाँ पुस्तालाई अघि बढाउन उमेर हद र दुई कार्यकालको नीति ल्याएको बताए । ‘विचारमा ठीक भएर मात्रै हुँदैन । मानिसको जीवनमा सक्रिय रहने एउटा समय हुन्छ,’ उनले भने, ‘युरोप–अमेरिकातिर नेतृत्वमा युवा पुस्ता आउँदा हामी त्यसबाट आकर्षित हुन्छौं । यहाँ पनि नयाँ पुस्ताका मानिस आउने बाटो खोल्नुपर्छ।
’ ज्ञवालीले आठौं र नवौं महाधिवेशनका समयमा निकै ठूलो छलफलपछि पार्टी संगठनको व्यवस्थापनका लागि यो नीति लिएको बताए । एमालेमा नवौं महाधिवेशनका समयमा अध्यक्ष केपी शर्मा ओलीले नै नेतृत्व व्यवस्थापनको विषयलाई प्रमुखताका साथ उठाएका थिए।
माओवादी केन्द्रमा समेत नेतृत्व व्यवस्थापनका बारेमा छलफल भए पनि ठोस निर्णय भने भएको थिएन । कार्यदलमा रहेका माओवादीका सदस्य गिरिराजमणि पोखरेलले भने, ‘माओवादीभित्र सत्तरी वर्ष र दुई कार्यकालका विषयमा छलफल भए पनि ठोस निर्णय भइसकेको थिएन । यो विषयलाई अब महाधिवेशनबाट अन्तिम रुप दिइनेछ ।’ उनले त्यसका लागि छलफल अघि बढाउने बताए।
नागरिकबाट
मापदण्ड मिचेर निर्माण गरिएका संरचना भत्काइयो
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले मापदण्ड मिचेर बनाएको संचरना भत्काउन शुरु गरेको छ । शंखधरशाख्वा चोकदेखि सूर्यविनायक नगरपालिका दधिकोट जोड्ने हुनमन्ते पुलसम्मको सडक दायाँबायाँका संरचना भत्काएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । दैनिक सडक जाम हुने र पैदलयात्रीलाई समेत आवतजावतमा कठिनाइ भएपछि नगरपालिकाले सडक मापदण्ड मिचेर बनाइएका टहरा, पसल, घरको भ¥याङ भत्काइएको हो । सडक जाम भएपछि प्रहरीले यो सडकमा कार्यालय समयमा एकतर्फी सडक सञ्चालन गरे पनि सडक जाम नघटेको र सूचना जारी गर्दा पनि भत्काउन अटेर गरेपछि डोजर लगाएर नगरपालिकाले मापदण्ड विपरीतका संरचना भत्काएको श्रेष्ठले जानकारी दिनुभयो । संरचना भत्काएकाले अब त्यस क्षेत्रमा सडक विस्तार र फुटपाथ निर्माण गरिने भएको छ । रासस
ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री शाक्यको मृत्यु
ललितपुर, चैत ७ । ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालको गेट नजिकै मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ भने मोटरसाइकल चालकसहित दुईजना घाइते भएका छन् । मंगलबार बेलुकी सवा ७ बजे बा८५प ९२७ नम्बरको पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिंदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री सातदोबाटो बस्ने ६० बर्षीय चैतमान शाक्य रहेका छन् । गम्भिर घाइते भएका शाक्यको उपचारको क्रममा बिएण्डबी अस्पतालमा गएराति पौने १० बजे मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ललितपुर झम्सीखेल बस्ने सप्तरी राजविराजका १९ बर्षीय सन्तोष सिंहको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमा पछाडी सवार उनका १८ बर्षीय भाई सुभाष सिंहको भने बिएण्डबी अस्पतालमै उपचार भइरहेको छ ।
नयाँदिल्लीबाट काठमाडौं गइरहेको बसको ठक्करबाट महेन्द्रनगरमा १ जनाको मृत्यु
महेन्द्रनगर। भारतको नयाँदिल्लीबाट काठमाडौंतिर गइरहेको बसको ठक्करबाट महेन्द्रनगरमा १ जनाको मृत्यु भएको छ । काठमाडौंतिर गइरहेको मञ्जुश्री यातायातको बा४ख २३८९ नम्बर बसको ठक्करबाट दार्चुलाको महाकाली नगपालिका–३ घर भई हाल भीमदत्त नगरपालिका–५ वनखेत बस्ने वीरसिंह महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । उनका अनुसार मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । बस र बस चालक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेका छन् ।
प्रज्ञा-प्रतिष्ठान सातै प्रदेशमा हुनुपर्छः श्रवण मुकारुङ
काठमाडौं, फागुन २६ । कला, भाषा, साहित्य र दर्शनको उत्थानका लागि छ दशकअघि स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा साहित्यकासाथै देशका अन्य मातृभाषाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । भाषा, साहित्य, संस्कृति, अनुवाद, दर्शनशास्त्रजस्ता ११ विभाग रहेको प्रज्ञा–प्रतिष्ठानले विशेष गरी भाषा र साहित्यसम्बन्धी अनुसन्धान तथा शोधलाई प्राथमिकतामा राखी काम गर्दै आएको छ । प्रज्ञाप्रतिष्ठान मातृभाषा विभागका प्रमुख श्रवण मुकारुङले विविध संस्कृतिको धनी मुलुक नेपालको विकासका लागि सात वटै प्रदेशमा प्रज्ञा–प्रतिष्ठानको स्थापना हुनुपर्ने धारणा व्यक्त गरे । उनले भने “नेपाल भाषा, तामाङ, लिम्बू, मैथली, भोजपुरी, अवधी, गुरुङजस्ता थुप्रै भाषाको विकासका लागि प्रतिष्ठानले पुस्तक, पत्रिका, साहित्यिक पत्रिका नियमित रुपमा प्रकाशन गर्दै आएको छ । ” प्रतिष्ठानबाट नेपाल भाषामा ‘थाय्भु’, लिम्बू भाषामा ‘थप्लङ’, मैथली भाषामा ‘आगन’ आदि पत्रिका प्रकाशन हुँदैआएको छ । प्राज्ञ मुकारुङले हाम्रो मातृभाषा र संस्कृतिको संरक्षण गर्न सरकारले विशेष नीति निर्माण गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने औँल्याउँदै मातृभाषाको भण्डारलाई थप विकास गर्न सरकार, साहित्यप्रेमी तथा सम्बद्ध सरोकारवाला लाग्नुपर्ने बताए । “नेपालमा भएका मातृभाषाको विकास र विस्तार गर्ने वातावरण तयार गर्न सकेमा विभिन्न भाषाभाषीबीच थप सहयोग, सद्भावना र समन्वय अभिवृद्धि हुनेछ”, उनले भने । नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृतिसम्बन्धी अध्ययन, अन्वेषण गर्न, मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्न विसं २०१४ मा रोयल नेपाल एकेडेमी स्थापना भएको थियो । ‘नेपाल एकेडेमी ऐन २०१४’ पारित गरी लागू गरिएकामा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै हाल नेपाल प्रज्ञा–प्रतिष्ठानका नामले सञ्चालित छ । राष्ट्रका विद्वान् एवं प्रतिभाको सम्मान गर्न तथा सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सहभागिता जुटाउन गठित प्रतिष्ठानले अन्तर्राष्ट्रियस्तरमा पनि प्राज्ञिक गतिविधि सञ्चालन गर्दै आएको छ । नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनसम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गर्ने तथा अनुसन्धानात्मक तथा मौलिक कृतिको सिर्जना एवं प्रकाशन गर्ने उद्देश्य प्रतिष्ठानको रहेको छ । आवश्यकतानुसार विदेशी भाषाबाट नेपाली भाषा र नेपालका भाषाबाट विदेशी भाषामा कृतिको अनुवाद एवं प्रकाशन गर्ने काम पनि हुुँदै आएको छ । यसका लागि हाल उषा ठाकुर प्रमुख रहेको भाषा अनुवाद विभागको छुट्टै व्यवस्था छ ।
ललितपुरमा ‘नक्सा पास’को पिरलो
ललितपुर, फागुन २५ । महालक्ष्मी नगरपालिकाको सानागाउँ देवननी टोलमा तीन पैसा क्षेत्रफलमा बनेको संगीतमान नेमकुलको घर ०७२ सालको भूकम्पले जीर्ण बनेको छ । उनी चर्किएको घरमा बस्नुभन्दा नयाँ घर बनाउन चाहन्छन् । तर, थोरै जग्गा भएका कारण क्षेत्रफल नपुगेर नक्सा पास नहुने चिन्ता छ उनलाई । ‘भूकम्पपछि नयाँ घर बनाऊँ भनेको नक्सा पासले निकै अप्ठ्यारो पारेको छ,’ नेमकुल भन्छन्। सानागाउँमा मात्रै भूकम्पबाट पीडित बनेका आठ सय घरधुरी नक्सा पासका कारण मर्कामा परेका छन् । सानागाउँस्थित ६ नम्बर वडाका अध्यक्ष बाबुदेव महर्जनले थौरै जग्गामा घर रहेका आठ सयभन्दा बढी घरधुरी समस्यामा रहेको बताए। उनले भने, ‘नक्सा पास गर्नु टाउको दुखाइ बनेको छ।’ पुरानो बस्ती भए पनि नगरपालिकाको मापदण्डअनुसार नपरिने डरले स्थानीय नक्सा पास गराउन चाहँदैनन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । वडा ६ मा अहिलेसम्म ८४ वटा घर निर्माण भइसके पनि नक्सा पास नभएको वडाध्यक्ष महर्जनले स्विकारे। जनप्रतिनिधि भएका कारण आफूले नक्सा पासका लागि प्रयास जारी राखेको भनाइ महर्जनको छ।
होली खेलेको पैसाबाट बिरामीलाई फलफूल
दार्चुला । दुहु गाउँपालिकाका युवाले होली खेलेको पैसाबाट जिल्ला अस्पताल दार्चुलामा बिरामी भई भर्ना भएका केही बिरामीलाई फलफूल वितरण गरेका छन् । होली खेलेर उठेको पैसाले भोजभतेर नगरी सामाजिक कार्यमा लगाउनुपर्छ भन्ने सोच आएपछि उनीहरुलाई फलफूल वितरण गरिएको होली कमिटीका अध्यक्ष विक्रम बडालले जानकारी दिनुभयो । दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले युवामा पलाएको नयाँ सोचले अन्य युवालाई समेत प्रेरणा मिल्ने बताउनुभयो । होली खेलेर रु ४५ हजार जम्मा गरेको दुहु गाउँपालिका होली कमिटीले सामाजिक कार्यका लागि चाहिने भाँडाकुँडा खरिद गर्नाका साथै बचेको रकमबाट बिरामीलाई फलफूल वितरण गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष हरकसिंह विष्टले आगामी दिनमा पनि यस किसिमका सामाजिक कार्य गर्न सुझाव दिनुभयो । रासस
सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय बृद्ध पक्राउ
काठमाडौं, फागुन १८ । सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धरान उपमहानगर–६ का ६५ वर्षीय बृद्ध पक्राउ परेका छन् । पानबारीको रायचौरीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका रत्नबहादुर परियारले छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आरोपित परियारले गत बुधबार साढे १२ बजे दिउँसो घरमा कोही नभएको मौका पारेर बलात्कार गरेको उजुरी परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेललले बताए । –कान्तिपुर दैनिकबाट
पपुवा न्यूगिनीमा ७.५ म्याग्निच्यूड शक्तिशाली भूकम्प, ३१ जनाको मृत्यु
काठमाडौं, फागुन १५ । पपुवा न्यूगिनीमा सोमबार गएको ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा ३१ जनाको मृत्यु भएको छ । भूकम्प स्थानीय समयानुसार सोमबार बिहान १ः४४ बजे गएको थियो । भूकम्पको केन्द्रविन्दु पपुवा न्यूगिनीको दक्षिणी उच्च भूमिमा पर्ने प्रान्त मेन्दीबाट ९६ किलोमिटर दक्षिणमा रहेको जनाइएको छ । भूकम्प शक्तिशाली रहेकाले ठूलो क्षति भएको अनुमान सोमबारै नै गरिएको थियो । सो भूकम्पबाट मंगलबार बिहानसम्म कम्तीमा पनि ३१ जनाको शव भेटिएको उद्धार अधिकारीहरुले जनाएका छन् । सो भूकम्पको विस्तृत् विवरण भने अझै प्राप्त भएको छैन । भूकम्पबाट ३१ भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी स्थानीय अधिकारीहरुले दिएका छन् । तर, त्यसमा भौतिक सम्पत्तिमा भएको क्षतिको विस्तृत् विवरण भने प्राप्त नभएको जनाइएको छ । भूकम्पबाट मेन्दी सहरका १३ तथा कुटुबु र बोसेभ सरहमा १८ जना बढीको मृत्यु भएको जनाइएको छ । उद्धारकर्मीहरुले योभन्दा बढी व्यक्ति मारिएको अनुमान गरेका छन् । रासस/सिन्ह्वा
७ नं प्रदेश सरकारको पहिलो बैठक: भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने निर्णय
धनगढी, । ७ नम्बर प्रदेश सरकारको पहिलो बैठकले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको मन्त्रीपरिषद् बैठकले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै सुशासनमा जोड दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले बताए । सरकारले ७ नम्बर प्रदेशमा सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनालाई समयमै र गुणस्तरीय रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसका लागि केन्द्र सरकारलाई आग्रह गर्ने र प्रदेश स्तरीय अनुगमन समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शाहले बताए । कृषिको उत्पादकत्व बढाउन माटो परीक्षणका लागि स्थानीय तहसँग समन्वय गर्ने निर्णय पनि भएको छ । ७ नम्बर प्रदेशमा रहेका पर्यटकीय स्थलको पहिचान गर्दै त्यसको संरक्षण र सम्बद्र्धन गर्ने निर्णय पनि गरिएको छ । सूचना प्रविधि र विद्युतीय सुशासनमा जोड दिने निर्णय गरेको मन्त्रीपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्रस्ताव गरिएका प्रदेश सरकार कार्यविभाजन नियमावली, प्रदेश सरकारको कार्यसम्पादन नियमावली र केही सार्वजनिक लिखत प्रमाणीकरण नियमावली स्वीकृत गरेको छ । बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
तामाकोशीले स्थानीय र सर्वसाधारणका लागि शेयर जारी गर्ने
चरिकोट । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रु दुई अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ । दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म शेयर जारी गर्ने तयारी गरेको हो । धितोपत्र बोर्डको स्वीकृति आइसकेपछि फागुन अन्तिमदेखि चैतको पहिलो हप्ताभित्र शेयर संकलन गर्ने आन्तरिक तयारी रहेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपाने बताउनुहुन्छ । आयोजनाले दुई करोड ६४ लाख कित्ता शेयर जारी गर्ने तयारी गरेकामा स्थानीयवासीलाई रु एक अर्ब पाँच करोड र अन्य सर्वसाधारणलाई रु एक अर्ब ५८ करोडको शेयर दिने कम्पनीले जनाएको छ । धितोपत्र बोर्डको स्वीकृति प्राप्त हुनासाथ शेयर निष्कासनको आवश्यक प्रक्रिया अघि बढ्नेछ । प्रभावित क्षेत्रले बढी शेयर पाउने सहमति यसअघि नै भइसकेको उल्लेख गर्दै प्रवक्ता डा न्यौपाने भन्नहुन्छ, “आयोजना निर्माणका क्रममा भएको असरका दृष्टिले दोलखावासीलाई तीन वर्गमा बाँडेर सोहीअनुसार शेयर लगानीको अवसर दिइने छ ।” पूर्व सहमतिअनुसार आयोजनाका मुख्य संरचना रहेको साविकका गाविस लामाबगर र गौरीशंकरका बासिन्दालाई ‘क’ वर्ग, सडक मार्ग र प्रसारण लाइनले छुने क्षेत्रका बासिन्दा ‘ख’ वर्ग र अन्य जिल्लावासीलाई ‘ग’ वर्गमा वर्गीकरण गरिएको छ । ‘ग’ वर्गमा परेका नागरिकले न्यूनतम ५० कित्ता र ‘क’ वर्गकाले १५० कित्तासम्म शेयर खरिद गर्नसक्ने आयोजनाले जनाएको छ । आयोजनाले यसअघि नै दुई अर्ब ५४ करोड बराबरको शेयर कर्मचारीलाई लक्षित गरी जारी गरिसकेको छ । दोलखावासीमध्ये शेयर लगानीका लागि तोकिएको अन्तिम मितिसम्म जन्म दर्ता भएका बालबालिका र विर्वाह भई आएका महिलाले विवाह दर्ता प्रमाणपत्रका आधारमा शेयर खरिद गर्न पाउने भएका छन् । त्यसका लागि दोलखा जिल्लावासीले नागरिकताको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने छ । शेयरका लागि जिविसले तीन वर्षअघि संकलन गरेको तथ्यांकअनुसार दोलखाको जनसंख्या दुई लाख ८० हजार ५८४ छ । तामाकोशीको लगानी सम्झौता भएको मिति २०६४ माघ १५ गतेभित्र बसाइँ सरी दोलखा आएकाले पनि शेयर खरिद गर्न पाउने व्यवस्था छ । स्थानीयवासीले न्यूनतम् ३० कित्ता र अधिकतम् ३०० कित्तासम्म लगानी गर्न पाउने व्यवस्था गर्न लागेको छ । धितोपत्र ऐन २०७३ अनुसार शेयर खरिद बिक्री गर्नका लागि डिम्याट खाता अनिवार्य भएपनि सबैलाई डिम्याट खाताको जानकारी नभएको र खाता खोल्न समय लाग्ने हुँदा त्यहाँका बासिन्दाका लागि बैंक खाता मात्र अनिवार्य गरेर डिम्याट खाता ऐच्छिक गराउन अनुरोध गरेको प्रवक्ता न्यौपानेले बताउनुभएको छ । उहाँले जिल्लावासीलाई आफ्नो पायकपर्ने बैंकमा पुगेर बैंक खाता खोल्न समेत सबैलाई आग्रह गर्नुभएको छ । माथिल्लो तामाकोशीको शेयर २०७१ को चैतमा खुलेर पछि विभिन्न कारणले रोकिएको थियो । भारतीय ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण आयोजना अझ केही समय पर धकेलिने समेत बताइएको छ ।
पहिलो दिनमै प्रदेश समृद्धिको खाका सार्वजनिक
बुटवल । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताउनुभएको छ । पदभार सम्हालेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक पछि उहाँले उक्त प्रदेशलाई समृद्ध बनाउने बृहत् खाकासहित महत्वकांक्षी योजना सार्वजनिक गर्नुभएको हो । मुख्यमन्त्री पोख्रेलले प्रदेश नं ५ का जिल्लाको विकासमा समान हिसाबले अघि बढ्ने सरकारको योजनासमेत रहेको र जनचाहनालाई सम्बोधन गर्ने ऐतिहासिक चरणमा प्रवेश गरेको बताउनुभयो । प्रदेशको विकास र समृद्धिको मुख्य आधार प्रदेश नं ५ मा महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय क्षेत्र प्रसस्तै रहेको उल्लेख गर्दै उहाँले यो प्रदेशमा पर्यटनसँगै औद्योगिक र कृषिमा आधुनिकीकरण गरेर समृद्धि ल्याउन सकिने योजना रहेको बताउनुभयो । केही दिनमै यस प्रदेशको स्वयत चित्र सार्वजनिक गर्ने तयारीमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोख्रेलले यसबाट पाँच वर्षअघि के प्राप्त गरेका थियाँै र के छाडेर जाँदै छौँ भन्ने तुलना गर्न सकिन्छ भन्नुभयो । उहाँले सिस्ने हिमालदेखि मर्चवारसम्म र त्रिवेणी सुस्तादेखि बर्दियाको राजापुरसम्म फैलिएको, एशियाकै सबैभन्दा ठूलो उपत्यकाका रुपमा रहेको दाङ उपत्यका यसै प्रदेशमा रहेको र शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी र बुद्धको जीवनीसँग जोडिएका तिलौराकोट, रामग्राम, देवदह, कुदान, निग्लिहवाजस्ता बुद्धकालीन सभ्यताका जीवन्त भग्नावशेषहरु यसै प्रदेशका माटोमुनि रहेका र यिनलाई अन्वेषण गरेर महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना औँल्याउनुभयो । मुख्यमन्त्री पोख्ररेलले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मथलो लुम्बिनीसँगै जनयुद्धको आधार क्षेत्र यही प्रदेशमा रहेको बताउँदै यी क्षेत्रको योजनाबद्ध विकास र प्रवद्र्धन गरेर पर्यटन गन्तव्य बनाउने मुख्य योजनामा प्रदेश सरकार रहेको जानकारी गराउनुभयो । उहाँले स्वर्गद्वारी प्यूठान, पाणिनी तपोभूमि, सुपादेउराली, रेसुंगा गुल्मी, धारापानी, पाण्डवेश्वर, चौघेरा रतननाथलगायतका ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्यलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास र विस्तार गर्नु प्रदेशको समृद्धिका लागि प्रमुख आधार बन्ने स्पष्ट पार्नुभयो । लुम्बिनी गुरुयोजना सम्पन्न गर्दै लुम्बिनी बृहत्तर गुरुयोजना कार्यान्वयन गरी विकास अगाडि बढाउने, पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा शैक्षिक पार्क निर्माण गरी प्राकृतिक अध्ययनको थलो बनाउने, जगदीशपुर तालको संरक्षण गर्दै चरा अध्ययनको केन्द्र बनाउने, स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न सीमावर्ती क्षेत्रको नजिक हिल स्टेशनहरू निर्माण गर्ने, जातीय, भाषिक विविधतालाई समेट्दै विभिन्न स्थानमा होमस्टे निर्माण गर्ने, प्रदेशको कला, संस्कृतिको संरक्षण गर्दै प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिने, प्रदेशभित्रका ऐतिहासिक स्थानको घटना झल्काउने गरी अनुसन्धानमा सघाउ पु¥याउनेमा उहाँले जोड दिनुभयो । प्रदेशको स्थायी राजधानी तोक्ने प्रदेशसभाको अधिकारको प्रसङ्ग उठाउँदै प्रदेशको राजधानी हेर्नलायक बनाउनेमा जोड दिंदै मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, “२०–२५ वर्षपछि पनि हेर्नलायक स्थानलाई राजधानी बनाउने हो, सबैलाई चित्त बुझ्ने गरी नै राजधानी बन्छ ।” उहाँले प्रदेशका तीन ठूला शहर नेपालगञ्ज–कोहलपुर, घोराही–तुल्सीपुर र बुटवल–भैरहवाजस्ता शहरलाई जोडेर महानगरका रुपमा विकास गरिने योजना पनि सार्वजनिक गर्नुभयो । प्रदेशभित्रको सडक सञ्जाल पर्याप्त नभएको बताउँदै पूर्व–पश्चिम राजमार्गलाई छ लेन बनाउने र हुलाकी राजमार्गलाई चार लेन बनाउने पोखरा–लुम्बिनी र परासी–बर्दिया रेलमार्ग निर्माण गरी रेल सञ्चालन गर्ने, लुम्बिनीबाट अरू बुद्धस्थलसम्म मोनोरेल सञ्चालन गर्ने, पाल्पादेखि रोल्पासम्म प्रदेशस्तरीय मध्य पहाडी राजमार्गको विकास गरिनेसमेत मुख्य मन्त्री पोख्रेलले स्पष्ट पार्नुभयो । भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सम्पन्न गरी नेपालगञ्ज विमानस्थलको स्तरोन्नति गर्ने, दाङको विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्ने र विकट पहाडी क्षेत्रमा हेलिप्याड निर्माण गरिनेमा उहाँले जोड दिनुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेशमा आधुनिक प्राविधिक विश्वविद्यालय स्थापना गर्नेजस्ता विषयमा पनि मन्त्री पोख्रेलले चर्चा गर्नुभयो । यसैबीच रुपन्देही उद्योग संघको एक प्रतिनिधि मण्डलले प्रदेश नंं ५ का नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेल र आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई आज छुट्टाछुट्टै भेट गरेको छ । संघका अध्यक्ष गणेशप्रसाद अधिकारीको नेतृत्वमा गएको प्रतिनिधि मण्डललाई उहाँहरूले समृद्ध प्रदेश निमार्णका लागि साझा आर्थिक तथा औद्योगिक एजेण्डा तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । भेटमा यस प्रदेशलाई समृद्ध बनाउन प्रदेश सरकार र व्यावसायिक संघ संस्थाबीच खाका तयार गर्न गर्नुपर्नेमा जोड दिइएको थियो । मुख्यमन्त्री पोखरेलले ५ नं प्रदेशलाई समृद्ध प्रदेशसँगै नमूनाको रुपमा विकास गर्नका लागि आर्थिक क्षेत्रको विकास गर्नु जरुरी रहेको बताउँदै त्यसका लागि उद्योगी तथा व्यापारीसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अाेली प्रधानमन्त्री बने लगत्तै महान्यायाधिवक्ता भण्डारीले राजीनामा दिए
काठमाडौं, फागुन ४ । महान्यायाधिवक्ता वसन्तराम भण्डारीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ अधिवक्ता भण्डारीलाई गत भदौ २ गते महान्यायाधिवक्ता नियुक्त गरेका थिए । प्रधानमन्त्रीलाई राजीनामा दिएको छु, भण्डारीले भने । भण्डारीले सहयोगका लागि सबैलाई धन्यवाद दिए । अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रदेश नं ६ मा वामगठबन्धनको क्लिनस्वीप,कुन दलबाट कसले र कति जितें
काठमाडौं । बुधबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नम्बर ६ मा वामगठबन्धनले क्लिनस्वीप गरेको छ । भने अन्य प्रदेशमा उपस्थिति जनाएको नेपाली कांग्रेस शुन्य भएको छ । राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई सिट जितेको छ । कूल ५९ सदस्यमध्ये ३२ सदस्यका लागि बुधबार निर्वाचन भएको हो । ५६ मध्ये २४ सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । निर्वाचनमा प्रदेश नम्मर ६ मा नेपाली कांग्रेस शुन्य भएको छ । कांग्रेसले निर्विरोध र एकल संक्रमणीय मतका आधारमा भएको निर्वाचनमा सबै प्रदेशमा आफ्ना सदस्य जिताउन सफल भए पनि प्रदेश नम्बर ६ मा भने कुनै सदस्य जिताउन सफल भएन । राष्ट्रियसभाका लागि प्रदेश नम्बर ६ मा कूल ८ सदस्यका लागि निर्वाचन भएकोमा एमाले ५ र माओवादी केन्द्र ३ सिट जितेका छन् । विजयी उम्मेद्वारमामहिला तर्फ एमालेबाट कविता बोगटी, नन्दा शर्मा र माओवादीबाट युटुल लामा रहेका छन् । यसैगरी एमाले तर्फ दलितमा नरपति लुवार, अपाङ्गता र अल्पसङ्ख्यक जीवनबहादुर बुढा माओवादी केन्द्रबाट रहेका छन् । अन्यमा कालीबहादुर मल्ल माओवादी केन्द्र, भैरवसुन्दर श्रेष्ठ एमाले र ठगेन्द्र प्रकाश पुरी एमालेबाट निर्वाचित भएका छन् ।
चौथो संस्करणको माइभ्याली गोल्डकप बैशाख ६ गतेबाट
इलाम । पुर्वी पहाडको सर्वाधिक पुरस्कार राशीको माइभ्याली गोल्डकपको चौथो संस्करणा अागामी बैशाख ६ गतेबाट हुने भएको छ । आयोजक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघ इलामले चैत्र १४ गतेबाट प्रतियोगिता आयोजनाको तयारी गरेका थिए । तर चैत्र १४ गतेबाटै अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम तय भएकाले २०७५ बैशाख ६ गतेबाट १५ गतेसम्म संचालन गर्नका निम्ती एन्फाले माघ १५ गते पत्र पठाएपछि प्रतियोगिता सार्नु परेको माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए । उनले भने ‘चैत्र १४ गतेबाट प्रतियोगिताको सबै कार्यक्रम तयार गरी माघ १२ गते एन्फामा बुझाएका थियौ तर एन्फाको निर्वाचन कार्यक्रममा खेलाडी, क्लब, अफिसियल लगायत सबै सहभागी हुने भएकाले बाध्य भएका खेलको मिती सार्नु परेको हो’ । यस अघि पहिलो संस्करण र दोश्रो संस्करण माघमा संचालन भएकोमा तेश्रो संस्करण खेलमैदान स्तरोन्नती र मौसमका कारण चैत्र १७ गतेबाट संचालनमा आएको थियो । चौथो संस्करणको लागी पुरस्कार राशी बढाउदै बिजेतालाई ५ लाख र उपबिजेतालाई ३ लाख रूपैया दिने लक्ष्य राखिएको चेम्जोङले बताए । तेश्रो संस्करणा बिजेताले नगद ४ लाख र उपबिजेताले नगद २ लाख ५० हजार प्राप्त गरेको थियो । गोल्डकपको पाँचौ संस्करण भने २०७५ चैत्रमा नै संचालन गर्ने आयोजक समितिले बताएको छ ।
‘बलात्कार’को मिलापत्रः प्रहरीकै रोहवरमा ३० लाख लेनदेन !
काठमाडौं, माघ २१ । दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको भनिएको सामूहिक ‘बलात्कार’को घटना थामथुम पार्न प्रहरीकै उपस्थितिमा पीडित युवतीको परिवारलाई ३० लाख रुपैयाँ बुझाइएको खुलेको छ । लेनदेनको सहमतिसँगै पीडित युवतीले साथी शैलेश कार्कीसँग सहमतिमै शारीरिक सम्वन्ध राखेको तर, सामान्य विवादपछि आफूलाई होटलमै छाडेर गएपछि रीसको झोंकमा सामूहिक बलात्कारको मौखिक उजुरी दिएको मिलापत्र कागजमा उल्लेख छ । तर, मिलापत्रमा लेनदेनबारे उल्लेख गरिएको छैन । सामूहिक बलात्कारको घटना मिलाउन दरबारमार्ग वृत्तका प्रहरीले भूमिका खेलेको पाइएको छ । कतिसम्म भने केटाकेटीले बिहे गर्ने सहमति भएको भन्दै प्रहरीले दुबैको सामूहिक तस्वीरसमेत खिचेर राखेको खुलेको छ । तर, मिलापत्र भइरहेको ठाउँमा पनि युवती भने रोइरहेको आफूले देखेको प्रत्यक्षदर्शीको भनाइ छ । के छ मिलापत्रमा ? केटाकेटी दुबैको परिवारका साथै केही साक्षीसमेत राखेर दरबारमार्ग प्रहरीले मिलापत्र गराएको थियो । मिलापत्रमा पीडित युवती र शैलेशबीच करिव ६ महिनाअघि चिनजान भएको र करिब दुई महिना पहिले एक रातसँगै बिताएको ब्यहोरा लेखिएको छ । उनीहरु ७ माघको राति दरबारमार्गको होटल ल्याण्डमार्कमा बसेका थिए । उक्त दिन दुबैको सहमतिमा एकपटक शारीरिक सम्वन्ध राखेको भन्दै मिलापत्रमा लेखिएको छ, ‘शैलेश कार्कीसँग नसाको सुरमा वादविवाद भएको र मलाई होटलमा नै छाडी गएका कारण रीसको आवेगमा भोलिपल्ट बिहान ८ बजे कमलपोखरी प्रहरी कार्यालयमा गई शैलेश कार्कीसमेत साथीले जबरजस्ती करणी गरेको भनी मौखिक जानकारी गरेको हुँ ।’ आफूले रीसको झोकमा जबरजस्ती करणी गरेको भन्नु गल्ती भएको भन्दै मिलापत्रपत्रमा युवती भनाइ उधृत गरिएको छ– ‘मलाई कोही कसैले अनुचित यौन सम्पर्क, शारीरिक सम्पर्क गर्ने जस्ता अनैतिक कार्यहरु गरेको छैन ।’ पीडित युवती र परिवारले यस विषयमा कहीँकतै उजुरी नगर्ने बाचा समेत मिलापत्रमा गराइएको छ । पीडित परिवारले ३० लाख नगद बुझे पीडित युवती सामूहिक बलात्कार भएको भन्दै आएपछि कमलपोखरी प्रहरीले दरबारमार्ग बृत्तमा पठाएको थियो । उनले उजुरी दिएपछि प्रहरीले घटना भएको होटलमा पुगेर स्थलगत अवलोकन गर्नुका साथै बयानसमेत लिएको थियो । त्यसपछि प्रहरीकै उपस्थितिमा दुबै परिवारवीच आर्थिक लेनदेनमा मिलापत्रको प्रयास सुरु भएको थियो । यसमा संलग्नहरुले बताए अनुसार अपराह्न करिव ४ बजेतिर त पीडित परिवारले नगद बुझेका थिए । संयोगबस पीडित युवतीका नातेदार र शैलेशका साथी एक समयका सहकर्मी रहेछन्, जो यही मुद्दाका सिलसिलामा दरबारमार्ग प्रहरी वृत्तमा आमुन्ने सामुन्ने भए । उनीहरुकै पहलमा मिलापत्र भएको पाइएको छ । अपराह्न प्रहरी बृत्तमा पुगेका एक व्यक्तिका अनुसार त्यहाँ मिलापत्र भइरहँदा पीडित युवती रोइरहेकी थिइन् । उनलाई फकाउन शैलेशकी आमाले ‘मेरी छोरी पनि छैन, तिमीलाई अहिल्यै बुहारी बनाउन तयार छु’ भनेकी थिइन् । मिलापत्र गर्ने क्रममा पीडित परिवारले प्रहरी परिसरमै ३० लाख रुपैयाँ बुझेका थिए । मिलापत्र गर्ने सहमति भएलगत्तै शैलेशका साथीहरुले एक–डेढ घन्टामै रकम जम्मा पारेको सुनाउँदै स्रोतले भन्यो, ‘त्यहाँ केटापक्षका मानिसहरु भन्दै थिए १/२ करोडको कुनै चिन्ता छैन ।’ मिलापत्र गर्ने क्रममा पीडित परिवारले प्रहरी वृत, दरबारमार्ग परिसरमै ३० लाख रुपैयाँ बुझेका थिए । मिलापत्र गर्ने सहमति भएलगत्तै शैलेशका साथीहरुले एक–डेढ घन्टामै रकम जम्मा पारेको सुनाउँदै स्रोतले भन्यो, ‘त्यहाँ केटापक्षका मानिसहरु भन्दै थिए १/२ करोडको कुनै चिन्ता छैन ।’ स्रोतका अनुसार पीडित परिवारले त्यहीँ ३० लाख नगद बुझेका थिए, जुन नजिकैको बैंक अफ काठमाडौंमा रहेको आफ्नो खातामा जम्मा गरेका थिए । तर, पीडितका बाबुले सबै रकम जम्मा गरे वा गरेनन् खुलेन । तर, प्रहरी स्रोतले भने खातामा २७ लाख आकस्मिकरुपमा आएको देखिएको बताएको छ । शैलेश र पीडित युवतीको परिवारबीच प्रहरीकै उपस्थितिमा मुद्दा मामिला नगर्ने सहमति भयो । एक पन्ने सहमतिपत्रमा पीडितका बाबु, आमा, शैलेसका आमा, शैलेश र केही साक्षीले हस्ताक्षर गरेका छन् । यो मिलापत्र प्रहरीले नै तयार पारेको थियो, त्यसैले त्यहाँ लेनदेन उल्लेख गरिएको छैन । स्रोतले भन्यो, ‘पीडितले बुझेको रकमबाट प्रहरीले पाएका छैनन्, केटा पक्षले नै दिएको होला । तर, लेनदेनमै मिलापत्र भएको हो ।’ मिलापत्र गरेर आफ्नो नियन्त्रणमा रहेका शैलेशलाई छाड्नुअघि प्रहरीले ‘विवाह गर्ने’ भन्दै शैलेश र पीडित युवतीको संयुक्त तस्वीर समेत खिचेको थियो । सहमति गर्दैगर्दा आफूले पनि पीडित युवतीको उद्दार भयो भन्ने ठानेको तर, सामूहिक बलात्कार भनेर खबर बाहिर आएपछि छाँगाबाट खसेजस्तै भएको मिलापत्रमा हस्ताक्षर गरेका एक साक्षीले बताए । –अनलाइनखबरबाट