भारतले ५० विगाहा भन्दा बढि जमिन मिचेको छ : विद्यार्थी संगठन
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरुले वीरगंजको छपकैयामा भारतले ५० विगाहा भन्दा बढि जमिन मिचेको दावी गरेका छन् ।
दुई दल निकट विद्यार्थी संगठन अनेरास्ववियू र अखिल क्रान्तिकारीले बुधबार सार्वजनिक गरेको स्थलगत अध्ययन प्रतिवेदनमा वीरगंजको छपकैयामा भारतले ५० विगाहाभन्दा बढि जमिन मिचेको उल्लेख गरिएको हो ।
सीमा विवादको समाचार सार्वजनिक भएपछि स्थलगत अध्ययनका लागि अनेस्ववियूका अध्यक्ष नविना लामा र अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोली वीरगंज गएको थियो ।
तथ्यहरुले भारतले वीरगंजको छपकैयामा जमिन मिचेको पुष्टि भएको अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष तामाङले दावी गरे ।
यता सरकारले भने वीरगंजमा भारतले नेपालको जमिन नमिचेको दावी गर्दै आएको छ ।
काठमाडौं क्षेत्र नम्बर तीन बाट एमाले उम्मेद्वार कृष्णबहादुर राई बिजयी
काठमाडौं, मंसिर २३ । नेकपा एमालेका उम्मेद्वार कृष्णबहादुर राई काठमाडौं क्षेत्र नंबर तीन बाट बिजयी भएका छन्। उनले नेपाली कांग्रेसकी अम्बिका बस्नेतलाई पराजित गरेका हुन्। एमालेका राईले १९ हजार १ सय ६९ मत प्राप्त गरि बिजय भएका हुन्। बस्नेतले १४ हजार ८ सय ८४ मत प्राप्त गरेकी हुन्।
सगरमाथाको काखमा उपराष्ट्रपति पुनका १५ तस्वीर
सोलुखुम्बु, मंसिर १५ । उपराष्ट्रपति नन्दबहादुर पुनले हिमालयन ट्रष्टले पुनःनिर्माण गरेको १५ वटा विद्यालय भवन हस्तान्तरण गर्ने क्रममा सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । सोलुखुम्बुमा भूकम्पले भत्काएका मध्ये १५ वटा विद्यालयको पुनःनिर्मित भवनको खुम्जुङमा हस्तान्तरण गर्नुअघि उपराष्ट्रपतिले लुक्ला र त्याङबोचेको अवलोकन भ्रमण गरे । त्याङबोचेबाट विश्वको अग्लो शिखर सगरमाथा र अर्को अग्लो हिमाल आमाडब्लमको काखमा पर्दछ । सगरमाथाको काखको भ्रमणका क्रमका उपराष्ट्रतिका तस्वीरहरुः
प्रधानमन्त्री देउवा चुनावी दौडाहामा
पाँचथर, कात्तिक २५ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज पाँचथर, ताप्लेजुङ र सोलुखुम्बुको चुनावी आमसभालाई सम्बोधन गर्दै छन । प्रधानमन्त्री देउवाले पाँचथरको फिदिम नगरपालिकामा रहेको लब्रेकुटीमा फाल्गुनन्दको १३३ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै छन । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी आमसभालाई सम्बोधन गर्न पूर्व क्षेत्रमा निस्किने क्रममा प्रधानमन्त्री देउवाले आमसभालाई सम्बोधन गर्नु अघि ताप्लेजुङमा रहेको पाथीभरा देवीको दर्शन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस ताप्लेजुङले जनाएको छ । पाथीभरा दर्शनपछि ताप्लेजुङको तोक्मेडाँडामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । तोक्मेको आमसभापछि प्रधानमन्त्री देउवाले पाँचथर र सोलुखुम्बुको चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङले जानकारी दिए । सभापति देउवासँगै काँग्रेस नेता बालकृष्ण खाँण पनि सभामा आउने कार्यक्रम छ । प्रधानमन्त्री देउवा ताप्लेजुङ आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए । जिल्लास्तरीय कार्यक्रमलाई ताप्लेजुङमा प्रधानमन्त्री देउवा, नेता खाँण, पाँचथर प्रतिनिधिसभाका उम्मेदवार भीष्मराज आङदेम्बे, प्रदेशसभा उम्मेदवार नरेन्द्रकुमार केरुङ, सुरेन्द्रकुमार दाहाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उपराष्ट्रपति पुन स्वागत समारोहमा
काठमाडौं, कात्तिक २३ । उपराष्ट्रपति नन्दबहादुर पुन संघीय गणतन्त्र जर्मनीको एकीकरण दिवसका अवसरमा बिहीबार साँझ राजधानीमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन । नेपालका लागि जर्मनीका राजदूत रोलान्ड सेफरले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, पूर्वसांसद, विभिन्न राजनीतिक पार्टीका नेता, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, उद्योगपति, व्यापारी र वरिष्ठ पत्रकारको सहभागिता थियो । त्यसअवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत सेफरले शान्तिप्रक्रियाको अन्तिम चरणमा पुगेको नेपालको राजनीतिक प्रक्रियामा सघाउन जर्मनी प्रतिबद्ध रहेको बताए । आगामी महिना हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनले नेपाललाई राजनीतिक स्थायित्व उन्मुख गराउनेमा आफ्नो मुलुक विश्वस्त रहेको धारणा व्यक्त गरे ।
१० वर्षभित्र विकसित र समृध्द नेपाल निर्माण गर्ने वाम लक्ष्य : भुसाल
ललितपुर, कात्तिक २१ । चुनाबी गतिविधिले व्यापकता पाइरहेको समयमा प्रचार अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले ललितपुरको क्षेत्र ३ को प्रतिनिधिसभा र प्रदेश सभा ३ (ख) मा बाम गठबन्धनले मंगलबार अगुवा कार्यकर्ता भेला सम्पन्न गरेका छन । नेकपा माओवादी केन्द्र सम्मेलन आयोजक समिति सदस्य तथा प्रदेश ३ (ख) संयोजक क. मन्जली शाक्य (आस्था) को सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्र ललितपुर जिल्ला ईन्चार्ज क. हरि दाहाल ‘ललित’, एमाले जिल्ला अध्यक्ष हरिकृष्ण ब्याञ्जनकारले सम्बोधन गरेको थिए । भेलालाई सम्बोधन गर्दै ब्याञ्जनकारले बामगठबन्धनको पक्षमा एकमत पनि बदर नहुने गरि निर्वाचनलाई पर्वको रुपमा लिन अनुरोध गरे । उक्त कार्यक्रममा प्रमुख अतिथि एवम् ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार पम्फा भुसालले समाबेसी लोकतन्त्र बामपन्थीहरुको मुद्धा भएको र नेपालका हरेक परिबर्तनहरुमा बामपन्थीहरुले नै नेतृत्वदायी भूमिमा निर्बाह गरेको बताइन । वाम तालमेल केवल चुनाबसम्म मात्र नभएर बृहत कम्युनिष्ठ पार्टी निर्माणमा नेता र कार्यकर्ताहरुलाई तयार बनाउने अभियान रहेको बताइन । उनले भनिन्, ‘ आगामी चुनाबबाट बामपन्थीहरुको सहज दुई तिहाई आउने र यसले वैदेशिक हस्तक्षेपको अन्त्य गर्दै स्वाधिन राष्ट्र र मजबुत राष्ट्रिय एकता पैदा गर्ने छ।’ च्याउ जस्तै उम्रने पार्टीहरु अब २ वा ३ वटा मात्र रहन ब्याध्य हुने र बामगठबन्धन यसैका लागि भएको भुसालले बताइन । ललितपुर जिल्ला सधैको बामपन्थी लालकिल्ला रहेको र ईतिहासले आज हामीलाई त्यो साबित गर्ने मौका दिएको बताउदै दुईतिहाई मतका साथ सबै उम्मेदवारहरुलाई बिजयी गराउन अपिल गरिन । निर्वाचनले पार्टी एकताको बलियो आधार निर्माण गर्ने र निर्वाचनमार्फत बाम्पन्थीहरुको स्थिर र बलियो सरकार बन्ने र १० वर्षभित्र बिकसित र समृध्द नेपाल निर्माण गर्ने लक्ष्य लिएको माओवादी प्रबक्ता भुसालले बताइन । भेलाले नेकपा माओवादी केन्द्रका प्रदेश समानुपातिक उम्मेदवार मन्जली शाक्य संयोजक र एमालेका राजेन्द्र श्रेष्ठ सहसंयोजक रहेको ११११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।।
कुनै पनि शर्तमा वाम गठबन्धन विजयी हुनुपर्छ : न्यौपाने
काठमाडौं, कात्तिक २० । नेकपा माओवादी केन्द्रले वाम गठबन्धनको भावना र मर्मअनुसार चुनावी प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ । माओवादी केन्द्रको जिल्ला संगठन समिति काठमाडौंको मंगलबार बसेको बैठकले राष्ट्रिय आवश्यकताअनुसार वाम तालमेल र पार्टी एकताको समेत निर्णय भएकाले पार्टीको सम्पूर्ण शक्ति निर्वाचनलाई सफल बनाउन र वामगठबन्धनलाई जिताउन लागिपर्ने निर्णय गरेको हो । सो पार्टीका काठमाडौं जिल्ला इन्चार्ज लेखनाथ न्यौपानेले कुनै पनि शर्तमा वाम गठबन्धन विजयी हुनुपर्छ भन्ने मान्यतालाई प्रत्येक नेता तथा कार्यकर्ताले आत्मसात् गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए । गठबन्धनमा सहभागी नेकपा एमालेसँगको छलफलपछि एकीकृत र केन्द्रीतकृत चुनाव परिचालन समिति गठन गर्ने निर्णय समेत गरिएको उनले जानकारी दिए । काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये तीन वटामा माओवादी केन्द्र र सात वटामा एमालेले उम्मेदवारी दिएका छन् । बैठकमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार अनिल शर्मा, क्षेत्र नं ६ का उम्मेदवार झक्कुप्रसाद सुवेदी र क्षेत्र नं १० का उम्मेदवार हितमान शाक्यले चुनावी योजना पेश गर्दै पार्टी र गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।
‘बामपन्थी गठबन्धनबाट अातङ्कित नहुनु, बिपीकाे अादर्शतिर फर्कनु’
भरतपुर,कार्तिक १९ । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष एव पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नं.-३ का उम्मेदवार प्रचण्डले नेपाली कांग्रेस अाफ्नै कारण कमजाेर हुँदै गएकाे बताएका छन् । चितवनकाे चनाैलीमा पार्टी कार्यालय उद्घाटन गर्दै माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, “इतिहासमा नेपाली कांग्रेसले पटकपटक देशकाे नेतृत्व गर्ने अवसर पाएकाे छ। तर, पछिल्लाेपटक कांग्रेसमा देखिएकाे नेतृत्व संकटले कांग्रेस कमजाेर बन्दैछ। अब तपाईहरु बामपन्थी गठबन्धनबाट अातङ्कित नहुनुस्। तपाईहरु पनि मिल्नुस्। बिपीकाे अादर्शतिर फर्कनुस्, त्याे नै देश र कांग्रेसकाे पनि हितमा हुन्छ।” “स्थीर सरकारले मात्र दीगाे विकास र समृद्धि हासिल गर्न सकिन्छ। हामीले राजनीतिक स्थीरता खाेजेका छौं, विकास खाेजेका छौं” प्रचण्डले भने “हामी स्थीर सरकार बनाएर देशलाई विकास र समृद्धिकाे नयाँ चरणमा लैजान चाहन्छौं। चितवनकाे अभिमत लिएर देशकाे नेतृत्व गर्ने अठाेटका साथ अगाडि अाएकाे छ। अब विकास र समृद्धिकाे कुनै विकल्प छैन।” प्रचार अभियानमा प्रचण्ड जुटेपछि चितवनमा चुनावी माहोल ह्वात्तै बढेकाे छ । राजनीतिक दलका नेता अहिले गाउँगाउँ गएर चुनावी प्रचारप्रसार अभियान शुरु गरेका छन् । मुख्य गरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा आवद्ध राजनीतिक दलको सक्रियता भने बढी देखिएको छ । अन्य साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको उपस्थिति भने न्यून देखिन्छ । वाम गठबन्धनबाट चितवन क्षेत्र नं ३ का उम्मेदवार माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत जिल्लामा तीन दिनदेखि चुनावी प्रचार अभियानमा हुनुहुन्छ । प्रचारप्रसारका क्रममा उहाँले स्थायी शान्ति र देशको समृद्धिका लागि यो पटकको चुनाव महत्वपूर्ण भएको भन्दै त्यसलाई पूरा गर्न चितवनका जनतामा आइपुगेको उल्लेख गर्नुभयो । उहाँका प्रतिष्पर्धी भएर लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएका राप्रपा प्रजातान्त्रिक का उपाध्यक्ष विक्रम पाण्डेसमेत चुनावी प्रचारप्रसार अभियानमा हुनुहुन्छ । केन्द्रीय नेता उठेकाले चिनवन क्षेत्र नं ३ मा धेरै चासो र चर्चाको विषय बनेको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा वाम गठबन्धनबाट क्षेत्र नं १ मा एमाले नेता सुरेन्द्र पाण्डे र क्षेत्र नं २ मा कृष्णभक्त पोखरेल उम्मेदवार हुनुहुन्छ । यता लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं १ मा राजेन्द्र बुर्लाकोटी र क्षेत्र नं २ मा शेषनाथ अधिकारीको उम्मेदवारी छ । सबै नेता अहिले चुनावी प्रचार अभियानमा गाउँगाउँमा छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र चितवनले आगामी मंसिर २१ गतेको निर्वाचनका लागि माओवादी केन्द्रका नेता अमिक शेरचनको नेतृत्वमा संयुक्त निर्वाचन परिचालन कमिटी बनाएर प्रचार अभियान थालेको छ । समितिको उपसंयोजकमा एमालेका नेता कृष्णप्रसाद खनाल र देवी ज्ञवाली तथा माओवादी केन्द्रका नेता नारायण दाहाल र सूर्य सुवेदी हुनुहुन्छ । समितिमा दुई पार्टीका २५० जना रहने र ३५ सदस्यीय सचिवालय समिति बनाइएको छ । पार्टीको संयुक्त भेलाले दुवै पार्टीका जिल्ला इञ्चार्ज संयोजक रहने गरी पार्टी एकिकरण संयोजक समिति समेत गठन गरेको जनाएको छ । समितिको संयोजकमा एमालेका जिल्ला इञ्चार्ज कृष्ण खनाल र माओवादी केन्द्रका इञ्चार्ज ईश्वरी भट्टराईलाई तोकिएको छ ।
‘साउथ एशियन फिल्म फेस्टिभल २०१७’ हेर्न शुक्रबार युवा जमातको भीड
कात्तिक १८ । साउथ एसियन फिल्म फेस्टिभल २०१७ को दोस्रो दिन शुक्रबार ‘अ गर्ल इन् रिभरः अ प्राइस अफ फरगिभनेस’ हेर्न युवा जमातको भीड लागेको थियो । फेमिनिजम, जेन्डर तथा सेक्सुवालिटी विधाअन्तर्गत सबा नामकी पाकिस्तानी युवतीको कथा निर्देशक सरमिन बबिद सिनोएले पस्किएका थिए । यस फिल्ममा सबा आफूले रोजेको क्यासर नामक युवकसँग विवाह गर्न खोज्छिन् तर उसको परिवार उनीसँग सहमत हुँदैन । उनले मन पराएको युवक आर्थिक स्तरमा कमजोर पनि हुन्छ । सबाको अर्कै केटासँग विवाहका लागि घरमा कुरा चलाउँछन् । तर सबाले आफूले मन पराइसकेको क्यासरसँग विवाह गर्ने आँट गर्छिन् । त्यही दिन उनलाई उनका बुवा र काका मिलेर गोली हान्न खोज्छन् । सबाले प्रतिकार गर्छिन् । प्रतिकार गर्दा त्यो गोली उनको टाउको गाला हुँदै हातसम्म पुग्यो । गोली हानिसकेपछि एउटा झोलामा हालेर उनलाई नजिकैको नदीमा फालिदिन्छन् । तर, भाग्यवश उनी नदीबाट बाहिरिन पुग्छिन् । उनी घस्रिँदै बत्ती बलेको स्थानतिर पुग्छिन् र उनको उद्धार हुन्छ । लामो अस्पताल बसाइपछि बुवा र काकाविरुद्ध मुद्दा हाल्छिन् । उनका बुवा सबाले इज्जत फालिदिएको भन्दै आफैंले मार्न चाहेको बताउँछन् । उनीहरू जेलमा जान्छन् तर विभिन्न दबाबका कारण उनीहरूलाई माफी दिन बाध्य हुन्छिन् । यो मर्मस्पर्शी सबाको कथाले दर्शकका आँखा रसाए । ट्रान्सजेन्डरहरूको कथा समेटेर बनाइएको अर्को फिल्म थियो, ‘इट इज टु मच टु आस्क’ । यस फिल्ममा ग्लान्डी र स्माइली नामका दुई ट्रान्सजेन्डर महिलाले कस्ता सामाजिक लाञ्छना भोगिरहेका छन् भन्ने विषयलाई निर्देशक लिना मनिमेकालाईले समावेश गरेका छन् । चेन्नाईमा बस्ने यी दुई ट्रान्सजेन्डर महिलाले भाडाको घर खोज्न निकै संघर्ष गर्छन्। उनीहरू भाडामा घर खोज्ने क्रममा आफ्नो असली परिचय बताइसकेपछि घरबेटीले विभिन्न बहानामा उनीहरूलाई बस्न अनुमति दिँदैनन् । यस कथाले समाजमा तेस्रो लिंगीहरूको वास्तविक अवस्था र समाजले हेर्ने दृष्टिकोण चित्रण गरेको छ । उनीहरू किन आफ्नो परिचय लुकाउन बाध्य छन् भन्ने स्पष्ट पारेको छ । फिल्म स्क्रिनिङका क्रममा दुवै फिल्मका निर्देशक भने अनुपस्थित थिए । दुई–दुई वर्षको अन्तरालमा हुँदै आएको यस फिल्म फेस्टिभलमा दक्षिण एसियाका यस्तै खालका जल्दाबल्दा मुद्दा समेटिँदै आएको आयोजकले बताए । ‘डकुमेन्ट्री बियर्स विटनेस’ भन्ने मुख्य उद्देश्यका साथ बुधबार सुरु भएको फिल्म फेस्टिभल चार दिनसम्म चल्नेछ ।
माओवादी केन्द्रको समानुपातिक सूचीको १ नं.मा रेखा शर्मा, सूचीसहित
काठमाडौं, कात्तिक १७ । निर्वाचन आयोगले दलहरुले निर्वाचन आयोगमा पेश गरेका समानुपातिकको बन्दसूची शुक्रबार सार्वजनिक गरेको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट आयोगमा पेश गरेको समानुपातिकको सूचीको पहिलो नम्बरमा नेतृ रेखा शर्माको नाम रहेको छ । ल्ह्यारक्याल लामा पनि माओवादीको समानुपातिक सूचीमा परेका छन् । निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको सूची अनुसार रेखा पहिलो नम्बरमा छिन् भने दोस्रो नम्बरमा पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी, तेस्रो नम्बरमा धर्मशिला चापागाईँ र चौथो नम्बरमा सत्या पहाडी छिन् । हेर्नुहोस् माओवादीको सूची १ .रेखा शर्मा २. पूर्णाकुमारी कुमारी सुवेदी ३. धर्मशिला चापागाई ४. सत्या पहाडी ५. सीता पोखरेल ६. देवी खड्का ७. समिता कार्की ८. सुनिता रेग्मी ९. सुशीला सिंगडा १०. ज्ञानु बस्नेत सुवेदी ११. रुकु चौलागाई १२. रेणु चन्द १३. ओमकुमारी पौडेल १४. यशोदा न्यौपाने १५. टीकादेवी घिमिरे १६. सावित्रीकुमारी कार्की १७. बाबा बस्नेत १८.ल्ह्यारक्याल लामा
धादिङको गजुरी स्थित त्रिशुली नदीमा बस डुब्याे , १५ जनाकाे उद्धार
धादिङ, कात्तिक ११ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा रात्री बस दुर्घटना भएको छ । बस त्रिशुली नदीमा डुबेको छ । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको बस आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो । बस नम्बर नखुलेको र कति यात्रु थिए भनेर एकीन पनि गर्न नसकिएको गजुरी प्रहरीले जनाएको छ । दुर्घटना स्थलबाट १५ जना घाइतेलाई उद्धार गरिएको गजुरी प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पतालमा राखिएको छ । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा परिचालित छन् ।
जनयुद्धकाे विषयलार्इ लिएर वैद्य माअाेवादी दुर्इ धार,
काठमाडौं, असोज २० । राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा नेकपा (क्रान्तिकारी माओवादी) भित्र दुई धार देखिएको छ । तत्कालीन जनयुद्धमा सहभागी र एकता प्रक्रियाबाट आएको समूहबीच जनयुद्ध र माओवादलाई लिएर मत बाझिएको हो । राष्ट्रिय सम्मेलनमा छलफलका लागि पार्टी केन्द्रीय कमिटीले पारित गरेको राजनीतिक दस्तावेज र आन्तरिक बहसमा एकता प्रक्रियाबाट आएका तत्कालीन नेकपा एकीकृतका नेताहरूले जनयुद्धको विषयमा फरक मत राखेका छन् । नेता रामसिंह श्रीषले छलफलका लागि तयार पारिएको दस्तावेजमा ‘जनयुद्धको सिंहावलोकनमा फरक मत’ भन्दै एक पृष्ठ फरक मत राखेका हुन् । नेता श्रीषले जनयुद्ध सही समयमा नभएको भन्दै फरक मत राखेका छन् । उनले जनयुद्धलाई सही भए पनि जनयुद्धको थालनीको अवस्थाबारे प्रश्न उठाएका छन् । ‘जनयुद्धको थालनी जुन अवस्था र जुन प्रकारले भयो, त्यो थालनी सशस्त्र संघर्षसम्बन्धी मालेमावादी दृष्टिकोणबाट भन्दा पनि ब्लांकी र चेग्वेभराको दृष्टिकोणबाट भयो भन्ने कुरा प्रतिवेदनमा उल्लेख गर्नुपर्छ,’ उनले राखेको फरक मतमा भनिएको छ । सशस्त्र संघर्षको विषयमा माक्र्सका पालादेखि नै दुई दृष्टिकोण रहेको भन्दै उनले माक्र्स, एंगेल्स, स्टालिन र माओले अपनाएको दृष्टिकोण र चे ग्वेभराहरूको दृष्टिकोण रहेको भन्दै नेपालमा चे ग्वेभराहरूको जस्तो सशस्त्र संघर्ष भएको उनले बताएका छन् । राजधानी दैनिकमा खबर छ ।
यी हुन् चितवनमा काँग्रेस र एमालेले सिफारिस गरेका उम्मेदवारहरु
काठमाडौं, असोज २० । मंसीर महिनामा हुने प्रतिनिधासभा र प्रदेशसभाका लागि चितवनबाट राजनीतिक दलहरुले धमाधम उम्मेदवारको नाम सिफारिस गरेका छन् । नेपाली काँग्रेस, एमालेले नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले भने केन्द्रमा केही दिनमा वस्ने पोलिटव्यूरो वैठकपछि मात्र नाम सार्वजनिक गर्ने जनाएको छ । ‘हाइ प्रोफाइल’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनको ३ नम्बर क्षेत्रबाट उठ्ने चर्चा र एमालेसँगको राष्ट्रिय समीकरणले चितवनको चुनावी सरगर्मी निकै तातेको छ । एमालेबाट को को शिफारिस ? एमाले चितवनको विहीबार वसेको जिल्ला कमिटिको वैठकले प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवारहरुको नाम प्रदेश कमिटिमा सिफारिस गरेको छ । आगामी प्रदेश सभाको निर्वाचनका लागि चितवनमा ६ वटा क्षेत्र र प्रतिनिधि सभाका लागि भने ३ वटा क्षेत्र निर्धारण गरिएको छ । जस अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट पूर्व अर्थमन्त्री एवंम एमालेका नेता सुरेन्द्र पाण्डे सर्वसम्मत रुपमा सिफारिस भएका छन् । यसै क्षेत्र अन्तर्गत प्रदेश सभा क्षेत्र (क) बाट दावा दोर्जे लामा र डा. कृष्ण पन्तको नाम सिफारिस भएको छ । प्र्रदेश सभा क्षेत्र (ख) बाट भने पार्टीका वैकल्पिक केन्द्रीय सदस्य कृष्ण खनाल सर्वसम्मत सिफारिस भएका छन् । हालै सम्पन्न स्थानीय निकायको चुनावमा आफ्नो क्षेत्रका स्थानीय तहहरुमा प्रमुख र उपप्रमुख पदहरुमा सवै उम्मेदवार विजयी गराउन नेता पाण्डे र खनाल सफल भएका थिए । क्षेत्र १ लाई एमालेको बलियो क्षेत्रको रुपमा लिइन्छ । दोस्रो संविधानसभा निर्वाचनमा पनि यसै क्षेत्रबाट नेता पाण्डे विजयी भएका थिए । त्यस्तै प्रतिनिधिसभा २ नम्बरबाट पार्टी अध्यक्ष एवम् साँसद कृष्णभक्त पोखरेलको नाम सर्वसम्मत भएको छ । यस क्षेत्रको प्रदेश सभा (क)बाट पार्टीका पूर्व सचिव समेत रहेका विजय सुवेदी र (ख) बाट हालका पार्टी उपाध्यक्ष तेजेन्द्र खड्का सर्वसम्मत सिफारिसमा परेका छन् । प्रदेश २ मा यस अघिको संविधान सभा क्षेत्र नम्बर ३ को अधिकाश भाग पर्छ । जहाँबाट अध्यक्ष पोखरेल भारी मतका साथ विजयी भएका थिए । प्रतिनिधिसभा ३ नम्बर क्षेत्रबाट भने सर्वसम्मत हुन नसकेको पार्टीका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले बताए । यस क्षेत्रमा युवा नेता घनश्याम भट्टराई, शंकर थपलिया, सूर्यप्रसाद जमरकट्टेल, रविकिरण पौडेल र विना तिमिल्सीनाको नाम सिफारिस भएको छ । यस क्षेत्रको प्रदेश चुनाव (क) बाट भने जिल्ला नेता कृष्ण भूर्तेलको नाम सर्वसम्मत भएको प्रचार विभाग प्रमुख रेग्मीले बताए । (ख)बाट रामप्रसाद न्यौपाने, श्रीमान थिङ, श्याम विष्ट, लिलाधर आचार्य, प्रकाश ढुंगाना, सुदिप रेग्मी, विजय घले, प्रेमराज तिमिल्सीना, शान्तराज आचार्य र कल्पना सापकोटाको नाम सिफारिस भएको छ । त्यस्तै पार्टीले केशवलाल श्रेष्ठ, जेएन थपलियालगायतका नेताहरुको नाम भने समानुपातिकतर्फ सिफारिस गरेको छ । कांग्रेसबाट को को ? प्रदेश र संघको निर्वाचनका लागि काग्रेस चितवनले प्रत्यक्ष र समानुपातिक गरि २७७ जनाको नाम काग्रेस चितवनले केन्द्रीय समितिलाई सिफारिस गरेको हो । नगर र क्षेत्रवाट आएका सिफारिसलाई आफ्नो राय सहित काग्रेसले केन्द्रमा सिफारिस गरेको काग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए । उनी प्रतिनिधिसभा २ को प्रदेश सभा (क) बाट सफारिसमा परेका छन् । काँग्रेस केन्द्रीय समितिले भने जिल्लाबाट ५४ जनाको नाम मात्रै सिफारिस गर्न निर्देशन दिएको थियो । प्रतिनिधिसभा क्षेत्र २ मा क्षेत्रमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी प्रत्यक्ष तर्फ सिफारिसमा परेका छन् । अधिकारीसगै काग्रेसले अन्य ७ जनाको प्रत्यक्ष तर्फ र १० जनाको समानुपातिक तर्फ उमेदवारका लागि सिफारिस गरेको छ । यो क्षेत्रवाट प्रदेश सभाका लागि १७ जना प्रत्यक्ष र ५० जना समानुपातिक तर्फका उमेदवारको नाम सिफारिस भएको हो । क्षेत्र नम्वर ३ मा हालका संसद रामकृष्ण घिमिरे, अन्जनी श्रेष्ठ र उमेश श्रेष्ठ यो क्षेत्रमा टिकटका लागि सिफारिसमा परेका छन् । सगै अन्य २१ जनाको नाम पनि यो क्षेत्रवाट सिफारिसमा परेको छ । यो क्षेत्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्ने घोषणाले पनि काग्रेसका लागि अलिवढी पेचिलो वनेको छ । यो क्षेत्रको प्रदेश तर्फ भने क मा १३ जना प्रत्यक्षमा र ३५ जना समानुपातिकमा, ख बाट प्रत्यक्षमा ७ जना र समानुपातिकमा २८ जनाको नाम सिफारिसमा परेको छ । एमालेको पकट क्षेत्रका रुपमा रहेको चितवन क्षेत्र नम्मर १ मा कांग्रेसले ५ जना प्रत्यक्ष र ८ जना समानुपातिक उमेदवारको नाम सिफारिस गरेको छ । यो क्षेत्रको प्रदेश सभा तर्फ क बाट प्रत्यक्षमा ७ जना, समानुपातिकमा ११ जना, ख बाट ३१ जना प्रत्यक्ष र २८ जनाको नाम समानुपातिकमा काग्रेसले सिफारिस गरेको छ । प्रचण्डकै कारण चितवन ‘हट’ माओवादी केन्द्रबाट पार्टीका अध्यक्ष चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा चुनाव लड्ने विषयले निकै चर्चा पाएको छ । अध्यक्ष प्रचण्डले चितवनको ३ नम्बर क्षेत्रबाटै आफ्नो उम्मेदवारी रहने बताइसकेका छन् । यसबीचमा प्रचण्ड बारम्बार चितवन आएका छन् । संघ र प्रदेशको चुनाव तयारी अनुसार भरतपुर महानगरपालिकाको मेयरमा छोरी रेणुलाई उनले अघि सारेका थिए । संविधानसभाको निर्वाचन क्षेत्र ४ मा पर्ने यस भूगोलमा दोस्रो संविधानसभामा तत्कालिन काँग्रेस सभापति सुशिल कोइराला चुनावमा उठेका थिए । दुइ क्षेत्र जितेका कोइरालाले चितवन छाडेका थिए । यसअघिका दुइ चुनवामा कहिलो रोल्पा, काठमाडौं त कहिले सिरहाबाट उठेका प्रचण्ड यसपटक गृह जिल्ला चितवनबाट उठ्ने पक्का भएको छ । उनको क्षेत्रमा माडी नगरपालिका पनि पर्छ । सशस्त्र युद्धको समयमा भएको बाँदरमुढे घटना यसै क्षेत्रमा पर्छ । माडी नगरमा स्थानीय चुनावमा प्रमुखमा माओवादीका उम्मेदवार विजयी भएका थिए । एमालेसँग मिलेर चुनाव लड्ने भएकाले उम्मेदवारको विषयमा नाम सर्वसम्मत भएपनि हाल सार्वजनिक गर्न नमिल्ने माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराइले बताए । कुन क्षेत्र कहाँ पर्छ ? प्रतिनिधि सभाको निर्वाचनका लागि चितवनमा क्षेत्र नम्बर १ अन्तरगत हालको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका तोकिएको छ । प्रदेश सभामा भने क्षेत्र नम्बर (क) मा राप्ती नपा र खैरहनी नपाको वडा नम्बर ३, ६, ७, ८, ९, १० र ११ तोकिएको छ । प्रदेश सभा अन्तरर्गत क्षेत्र ख) मा खैरहनी नपाको वडा नम्बर १, २, ४, ५, १२ र १३ तथा सिंगो रत्ननगर नगरपालिका तोकिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत कालिका नपा, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरको वडा नम्बर १ , २, ३, ५, ७, १०, ११, १२ र २९ तोकिएको छ । यस क्षेत्र अन्तर्गत प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर (क) मा कालिका नपा, इच्छाकामना गापा र भरतपुर महानगरको वडा नम्बर १, ३ र २९ रहेका छन् । यस क्षेत्रको प्रदेश क्षेत्र नम्बर (ख) मा भरतपुर महानगरपालिकाको २, ४, ५, ७, १०, ११ र १२ वडा रहेका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ अन्तरगत भरतपुर महानगरपालिका वडा नम्बर ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३ , २४, २५, २६, २७, २८ वडा र माडी नगरपालिका सिंगो रहेको छ । यस निर्वाचन क्षेत्रको प्रदेश सभा क्षेत्र (क) मा भरतपुर महानगरपालिका वडा नम्बर ६, ८, ९, १५, १६, १७, १८, १९, २०, २६, २७ र २८ नम्बर वडा रहेका छन् । क्षेत्र (ख) मा भरतपुर महानगरको १३, १४, २१, २२, २३, २४ र २५ वडा तथा सिंगो माडी नगरपालिका रहेका छन् । -नयाँ पत्रिकाबाट
सातौं विरेन्द्रनगर कपमा इटहरी क्रिकेट एकेडेमी विजयी
मोरङ, असोज १९ । पूर्वाञ्चलस्तरीय सातौं वीरेन्द्रनगर कप क्रिकेट प्रतियोगितामा इटहरी क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेको छ । मोरङको आइतबारेमा बिहीबारदेखि सुरु भएको पूर्वाञ्चालस्तरी सातौं वीरेन्द्रनगर कप क्रिकेटमा इटहरीले दिएको ६१ रनको लक्ष्य पछ्याएको विसिसी दमक १० ओभर ३ बलमा १४ रनमा अलआउट भएपछि इटहरी ४६ रनले विजयी भएको हो । इटहरीको जितमा विधान गोश्वामीले ५ विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको इटहरीले २० ओभरमा ६० रन बनाएको थियो । असोज ३१ गतेसम्म चल्ने प्रतियोगितामा १४ टोली सहभागी छन् ।
बाघको आनीबानी पत्ता लगाउन सिसी क्यामेरा जडान
चितवन, असोज १९ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा मान्छे खाने बाघको आनीबानी पत्ता लगाउन दुई वटा उच्चप्रविधिको सिसी क्यामेरा जडान गरिएको छ । बाघको आक्रमणबाट यही असोज १६ गते यहाँ निउरो टिप्न गएकी कुमरोजकी एलिना चौधरीको मृत्यु भएको थियो । मान्छेलाई आक्रमण गर्ने बाघ घाइते, रोगी हो या बच्चासँगै छ भन्नेबारेमा जानकारी लिन यहाँ क्यामेरा ट्र्यापिङ विधिको प्रयोग गरेर सिसी क्यामेरा जडान गरिएको चितवन निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो । अवस्था पत्ता लगाएपछि नियन्त्रणमा लिनुपर्ने देखिएमा बाघलाई डाट गरेर नियन्त्रणमा लिइने पाठकको भनाइ छ । स्थानीय समुदायको सहभागितामा चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिकको टोलीले कुमरोज वनमा दुई वटा सिसी क्यामेरा जडान गरेको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले जानकारी दिनुभयो । पछिल्लो समयमा गरिएको अध्ययनले पश्चिम चितवनमा एउटै बाघले २० जनालाई आक्रमण गरेको पाइएको छ । सो बाघलाई पनि सिसी क्यामेरा राखेर आनीबानी पत्ता लगाउने प्रयास गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा रहेका १२० बाघमध्ये पाँच प्रतिशत बाघ मात्रै समस्याग्रस्त रहेको अध्ययनमा पाइएको छ । चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकमा गएको आवमा वन्यजन्तुको आक्रमणबाट १३ जनाले ज्यान गुमाएका छन् ।
छुरा र खुकुरी प्रहारबाट दुई घाइते
मोरङ, असोज १७ । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मा गएराति छुरा प्रहारबाट एक युवक घाइते भएका छन् । लिंगे पिङ खेल्नेक्रममा विवाद हँुदा पिङ खेल्न आएका अपरिचित ३०/३५ जनाको समूहले सोही स्थान बस्ने भोला थापाका २० वर्षीय छोरा मदन थापामगरलाई राति १२ः१५ बजे छुरा प्रहार गरेको स्थानीयवासीले बताएका छन् । छुरा प्रहारबाट घाइते मगरलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । यस्तै, मोरङकै बूढीगंगा गाउँपालिका–२ गंगाचोक बस्ने १९ वर्षीय राकेशकुमार झा खुकुरी प्रहारबाट घाइते भएका छन् । उनलाई सोही ठाउँका १८ वर्षीय सुमितकुमार झाले सामान्य विवाद हुँदा साँझ ७ बजेतिर खुकुरी प्रहार गरेका थिए । घाइते राकेशको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने सुमितलाई इलाका प्रहरी कार्यालय, निमुवाले नियन्त्रणमा लिएको छ ।