खाद्यान्नमा परनिर्भरता बढ्दो, वार्षिक ३९ अर्बको खाद्यान्न आयात
काठमाडौँ, वैशाख १६ । आवश्यकताअनुसार खाद्यान्न आपूर्ति हुन नसक्दा वार्षिक रु ३९ अर्ब भन्दा बढीको खाद्यान्न विभिन्न मुलुकबाट आयात हुँदै आएको छ।
सरकारले कृषिमा बर्सेनि लगानी बढाउँदै नयाँ कार्यक्रम लागू गरेपनि उत्पादनमा अपेक्षाकृत प्रतिफल देखिन सकेको छैन् । खाद्यान्न उपयोग र व्यवस्थापनको कमी तथा परिवर्तन हुँदै गएको मानिसको खाने शैलीले चामल, मकै, गहुँ, कोदो, फापरलगायत खाद्यान्नमा परनिर्भरता बढेको हो ।
आर्थिक वर्ष २०७२÷७३ मा रु ३९ अर्ब दुई करोड मूल्य बराबरको खाद्यान्न आयात भएको छ । जसमध्ये रु १९ अर्ब ९० करोड मूल्य बराबरकोे चामल, रु नौ अर्ब ८८ करोडको मकै, रु. पाँच अर्ब ८० करोडको गहुँ र रु दुई अर्ब ९१ करोडको धान आयात भएको भन्सार विभाग तथ्याङ्क शाखाका निर्देशक विनोदशरण आचार्यले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७२÷७३ मा खाद्यान्न निर्यात भने रु एक करोड ६३ लाख मूल्य बराबर भएको छ ।
यस आवको चैत मसान्तसम्ममा मुलुकमा कुल रु २९ अर्ब ३८ करोडको खाद्यान्न आयात भइसकेको छ । जसमा १४ अर्बको चामल, सात अर्बको मकै, तीन अर्बको धान, एक अर्ब २७ करोडको गहुँआयात भएको भन्सार विभागको तथ्याङ्क छ । यस अवधिमा खाद्यान्न निर्यात भने करिब रु दुई करोड मूल्य बराबरको भएको छ । अधिकांश खाद्यान्न आयात छिमेकीमूलुक भारतबाट हुनेगरेको तथ्याङ्क छ ।
कृषि विकास मन्त्राकालयकाअनुसार हाल नेपालमा धान, गहुँ, मकै, कोदो, फापरलगायत खाद्यान्नको वार्षिक जम्मा उत्पादन झन्डै एक करोड पाँच लाख मेट्रिक टन हाराहारीमा हुन्छ । यसबाट कुटनीपिसानी गर्दा तयारी खाद्यान्न (जस्तैः चामल, पिठो) करिब ५५ लाख मेट्रिक टन जति निस्कने मन्त्रालयका सह प्रवक्ता शङ्कर सापकोटाले बताउनुभयो ।
मुलुकको हालको जनसङ्ख्यालाई वार्षिक करिब ५४ लाख मेट्रिक टन तयारी खाद्यान्न आवश्यकता पर्ने मन्त्रालयको अनुमान छ । “मुलुकको जनसङ्ख्या र उत्पादनको दर हेर्दा मुलुकभित्रको खाद्य उत्पादन मिलाएर खाँदा सबैलाई पुग्नुपर्ने हो । तर भातै खानुपर्ने र त्यो पनि विदेशमा उत्पादित मिठो मसिनो चामल खाने बानीले ठूलो परिमाणमा चामल आयात हुँदै आएको छ” उहाँले भन्नुभयो ।
मुलुकभित्र व्यावसायिक रुपमा सुरु भएको कुखुरापालन र पशुपालनका लागि आहाराको रुपमा आवश्यकपर्ने मकैको पनि आपूर्ति हुननसक्दा बर्सेनि मकैको आयात पनि बढ्दो छ ।
कृर्षिमा मुलुक आत्मनिर्भर बनाउन मन्त्रालयले विभिन्न कार्यक्रम अघि सारेको छ । यस आवमा मन्त्रालयले अघि बढाएको ‘प्रधानमन्त्री कृषि आधुनिकरण परिआयोजना’ले कृषिको उत्पादनमा व्यापक सुधार ल्याउने मन्त्रालयको दाबी छ । सम्पूर्ण स्रोत व्यवस्थापन स्वदेशी रहेको यस परियोजनाको मुख्य उद्देश्य कृषिलाई व्यवसायीकरण, यान्त्रिकरण र औद्योगिकिरण गर्नु हो ।
कुल रु पाँच अर्ब ७८ करोड बजेट छुट्याएको यस परियोजनाको कार्यान्वयनबाट सरकारले आगामी वर्षमा गहुँ र तरकारी, दुई वर्षमा धान र आलु, तीन वर्षमा मकै र माछा, चार वर्षमा केरा, मेवा र लिची, १० वर्षमा किबी, स्याउ, सुन्तला, जुनार र आँपमा आत्मनिर्भर हुने विश्वास लिएको छ । यस बाहेक मन्त्रालयले स्थानीयस्तरका मिठो चामलका ख्याती पाएका तथा मसिनो चामलको उत्पादन प्रोत्साहनको विभिन्न नीति अवलम्बन गरेको जनाएको छ ।
मुलुकको कूल ग्राहस्थ्य उत्पादनमा ३३ प्रतिशत योगदान रहेको कृषि क्षेत्रको लागि कुल बजेटको तीन प्रतिशतमात्र बजेट विनियोजन ज्यादै कम भएको खाद्य अधिकार सञ्जाल नेपालका संयोजक प्राडा केशव खड्काले बताउनुभयो । नेपालमा कूल ६५ दशमलव ७ प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित छन् । कृषि क्षेत्रमा आवश्यकताअनुसार पर्याप्त बजेट विनियोजनको कमी, सहुलियतपूर्ण ऋण लगानी, कृषि सामग्रीको यथोचित उपलब्धता र आवश्यक अनुदान तथा कृषि बिमा प्रभावकारी नहुँदा अपेक्षित उत्पादन हुन नसकेको उहाँको भनाइ छ ।
“मकै, कोदो, आलु र फापरलाई खाना तथा खानाका परिकारका रुपमा कम खाने शैलीले चामलको आयात सबैभन्दा धेरै बढेको हो” प्राडा खड्काले भन्नुभयो, “बढ्दो वैदेशिक रोजगारीका कारण गाउँमा खेती गर्ने युवा जनशक्तिको कमी हुनु र ज्येष्ठ नागरिक तथा महिलाको भरमा गरिने जीवन निर्वाहमुखी खेतीबाट आत्मनिर्भर बन्न कठिन छ ।” रासायनिक मलको जथाभावी प्रयोगले उत्पादनशील जमिन मरुभूमिकरण हुँदै गएकोप्रति उहाँले चिन्ता व्यक्तगर्नुभयो ।
मुलुकमा गत वर्ष झन्डै ३० लाख ९१ हजार हेक्टर जमिनमा कृषि उत्पादन हुने गरेको छ । आर्थिक वर्ष २०७२-७३ मा धान ४२ लाख ९९ हजार मेट्रिक टन, मकै २२ लाख ३१ हजार मेट्रिक टन, गहुँ १५ लाख ७० हजार मेट्रिक टन, दलहन तीन लाख ६० हजार मेट्रिक टन, तरकारी ३५ लाख ८० हजार मेट्रिक टन, फलफूल १० लाख ९६ हजार मेट्रिक टन, आलु २८ लाख ५० हजार मेट्रिक टन र माछा ७८ हजार मेट्रिक टन उत्पादन भएको थियो ।
‘ठूलो धाबके हावा चिल’ नामको चरा फेला
चितवन, वैशाख ८ । चितवनको रत्ननगरस्थित कुमाल तालमा नयाँ चरा फेला परेको छ । बर्ड एजुकेसन सोसाइटी, चितवनका अनुसार ‘ठूलो धाबके हावा चिल’ (Great White Pelican) नामको नयाँ चरा पहिलोपटक जिल्लामा अभिलेख गरिएको चरा विज्ञ वासु बिँडारीले जानकारी दिनुभयो । मुख्यगरी यो चराले भारतको गुजरातमा बच्चा कोरल्ने गर्छ । यो बाटो बिराएर आउने आगन्तुक चरा भएको सोसाइटीका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिनुभयो । यो चरा नेपालको पूर्वी भाग कोसी क्षेत्रमा १५ वर्षअघि देखिएको थियो । त्यसपछि देखिएको थिएन । यो चरा चितवनको कुमाल तालमा आइतराम दराईले पहिलोपटक देखेका थिए । त्यसको पुष्टि गर्न सो क्षेत्रमा जिल्लाका चरा विज्ञहरु टीका गिरी, बासु बिँडारी, टेकबहादुर गुरुङलगायतको टोली बिहीबार सो क्षेत्रमा गएका थिए । उक्त टोलीले ‘ठूलो धाबके हावा चिल’ चितवनका लागि नयाँ भएको पुष्टि गरेको हो । जिल्लामा योसहित कुल ६३५ प्रजातिका चरा अभिलेख गरिएको छ । नेपालमा अहिलेसम्म ८८७ प्रजातिका चरा भेटिएका छन् । नेपालमा पाइनेमध्ये अधिकांश चरा चितवनमा पाइन्छन् । त्यसकारण चितवन चरा पर्यटनमा अब्बल छ । चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा पहाडी क्षेत्रमा चराको राम्रो वासस्थान रहेको चरा विज्ञ टीका गिरी बताउनुहुन्छ । पाँच वर्षको अन्तरालमा चितवनमा आधादर्जनभन्दा बढी नयाँ चरा फेला पारिएको जनाइएको छ । यस जिल्लामा साइबेरियालगायत क्षेत्रबाट बसाइँ सरेर र बच्चा कोरल्नका लागि पनि चरा आउँछन् ।
लोकतान्त्रिक व्यवस्थालाई पारदर्शि र जनउत्तरदायी बनाउन सूचनाको हकको प्रयोग आवश्यकः सभामुख
काठमाडौं, बैशाख ८ । लोकतान्त्रिक अभ्यास सँगै देश संघियतामा गईरहेको अवस्थामा लोकतान्त्रिक व्यवस्थालाई पारदर्शि र जनउत्तरदायी बनाउन गाउँ स्तर सम्म सूचनाको हकको प्रयोग अतिआवश्यक रहेको सभामुख ओनसरी घर्तीले बताउनुभएको छ । ‘लोकतन्त्रको आधारः सूचनाको अधिकार’ भन्ने मूल नाराका साथ बिहीबारबाट सुरु भएको सूचनाको हकको प्रभावकारी प्रचलनका लागि आयोजित तेस्रो राष्ट्रिय सम्मेलनको उद्घघाट्न गर्दै सभामुख घर्तीले सो धारणा व्यक्त गर्नुभयो । उहाँले १९ वर्षपछि आएको स्थानीय तहको निर्वाचनमा सबै नागरिकलाई सहभागिता गराउन निर्वाचनसम्बन्धी सूचनालाई सञ्चार माध्यमबाट अत्यधिक रुपमा प्रवाह गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले केन्द्रिय तहमा रहेका मन्त्रीपरिषद्, मन्त्रालय, विभाग, आयोग लगायतका निकायहरु महत्वपूर्ण निर्णयहरु पत्रकार सम्मेलन मार्फत तत्कालै दिने गरेको भएतापनि जिल्ला तहमा गरिने महत्वपूर्ण निर्णयहरु तत्कालै सार्वजनिक नगर्नु विडम्बना रहेको औल्याउनुभयो । उहाँले जिल्ला स्थित प्रमुख जिल्ला अधिकारीहरुले जिल्ला तहमा भए गरेका महत्वपूर्ण सार्वजनिक हितका निर्णय र काम कार्यवाहीहरु तत्काल सार्वजनिक गर्न अग्रसर हुनुपर्ने कुरामा जोड दिनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले नागरिकलाई सार्वजनिक निकाय सम्म जानलाई छेक्ने अनि सूचना लिन सर्वसाधारण नागरिक नआएको बहाना सार्वजनिक निकायले गर्न नसुहाउने भएकोले जनताको पहुँच अभिबृद्धिमा जोड दिनुपर्ने बताउनुभयो । राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त विनयकुमार कसँजुले विकास भईरहेको नयाँ प्रबिधिहरुको प्रयोगबाट जनतासम्म सूचनाको पहुँचमा अभिबृद्धि गर्न सकिने अवस्था रहेकोले राज्य संयन्त्रले सोको प्रयोगमा व्यापकता ल्याउनुपर्ने कुरा बताउनुभयो । सूचनाको हकका अभियन्ता तारानाथ दाहालले ऐन कानुन बनाएर सूचनाको हकको प्रचलनमा ल्याएको १० बर्ष वितिसकेको अवस्थामा उपलब्धी सन्तोषजनक नरहेको बताउनुभयो । उहाँँले सूचना आपूर्तिकर्ता र सूचना मागकर्ता विचको समानजस्यता मिलाउन अतिआवश्यक रहेको बताउनुभयो । सम्मेलनमा जिल्लाबाट सहभागी भएका अभियन्ता, पत्रकार, सूचना अधिकारीहरुको सहभागितामा ७ बुँदे काठमाडौं घोषणापत्र समेत जारी गरेको छ । त्यस्तै सातवटै प्रदेशबाट प्रतिनिधित्व हुने गरि सूचनाको हकका अभियन्ता एवं विविसीका संवाददाता उम्मीद वागचन्दको संयोजकत्वमा २९ सदस्यीय आरटिआई राष्ट्रिय संजाल समेत गठन गरिएको छ । संजालको सहसंयोजकमा विश्वजित तिवारी, रामप्रसाद दाहाल रहनुभएको छ भने सदस्य सचिवमा अजयकुमार साह र सात वटै प्रदेशबाट समेटिने गरि हाल लाई २९ सदस्यीय संजालको गठन गरिएको संयोजक वागचन्दले जानकारी गराउनुभएको छ । संजालको प्रमुख सल्लाहकारमा सूचनाको हकका अभियन्ता तथा पत्रकार विपुल पोखरेल रहनुभएको छ ।
प्रधानमन्त्रीले भने– अल्पसङ्ख्यक समुदायलाई स्थानीय चुनावमा प्रतिनिधित्व गराइन्छ
काठमाडौँ, वैशाख २ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा अनिवार्य रुपमा दलित समुदायका उम्मेदवार उठाउन आफूले प्रमुख दलका नेतालाई आग्रह गरेको जानकारी दिँदै आफ्नो दलका तर्फबाट पनि प्रतिनिधित्व गराइने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दलित मुक्ति मोर्चा नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अल्पसङ्ख्यक समुदायको माग सम्बोधन गर्न उनीहरुलाई राजनीतिक रुपमा नै अधिकारसम्पन्न बनाउनुपर्ने पक्षमा आफू रहेको बताउनुभयो । स्थानीय तहमा अल्पसङ्ख्यक समुदाय, दलित, महिलालाई सम्भव भएका स्थानमा उम्मेदवार बनाइने र विजयी गराउन पनि पहल गरिने बताउँदै प्रधानमन्त्रीले ठूला दलले मात्रै यो भावनालाई बुझिदिए उत्तम हुने छ भन्नुभयो । यस्तै नेपाल आंशिक प्राध्यापक सङ्घले पनि आफ्ना माग पूरा गरिदिन आग्रह गर्दै प्रधानमन्त्रीलाई आजै ज्ञापनपत्र बुझाएको छ । आंशिक प्राध्यापकले आफूहरुलाई त्रिविले प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने माग राखेका थिए । प्रधानमन्त्रीले प्राध्यापकका मागका सम्बन्धमा सम्बन्धित मन्त्रालय र त्रिविका पदाधिकारीसँग छलफल गरी आवश्यक निर्णय लिने बताउनुभएको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । रासस
प्रधानमन्त्री प्रचण्डलाई दलित र प्राध्यापकहरुको छुटाछुटै माग प्रस्तुत
काठमाडौं, बैशाख १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष दलित मुक्ति मोर्चा नेपाल र नेपाल आंशिक प्राध्यापक संघका छुट्टा छुट्टै टोलीले ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आज दिउँसो दलित मोर्चाले बुझाएको ज्ञापनमा आगामी स्थानीय तहको निर्वाचनमा दलितलाई नेतृत्वमा अनिवार्य रुपमा उम्मेदवार बनाउन माग गरिएको छ । त्यस्तै आंशिक प्राध्यापकहरुले आफूहरुलाई त्रिभुवन विश्व विद्यालयले स्थायी गर्नुपर्ने माग राखेका छन् । प्रधानमन्त्रीले दलितलाई आफ्नो पार्टी माओवादी केन्द्रले सबै तहमा अनिवार्य उम्मेदवार बनाउने र बहुसंख्यक दलित रहेको तहमा दलितकै नेतृत्वमा उम्मेदवार उठाउने निर्णय गरिसकेको जानकारी गराए । त्यसैगरी आंशिक प्राध्यापकका मागका सम्वन्धमा सम्बन्धित मन्त्रालय र त्रिविका पदाधिकारीसँग छलफल गरी आवश्यक निर्णय लिने बताए ।
एकैसाथ पाँचवटा गैँडा शुक्लाफाँटामा स्थानान्तरण
चितवन, चैत १४ । चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिङ्गे गैँडा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लैजाने र शुक्लाफाँटाबाट बाह्रसिङ्गे चितवन राष्ट्रिय निकुञ्जमा ल्याउने कार्य एकैसाथ गरिने भएको छ । यही चैत २१ गतेबाट गैँडा स्थानान्तरण थालिने छ । एक भाले र चारवटा पोथी गरी पाँचवटा गैँडा शुक्लाफाँटामा स्थानान्तरण गर्न लागिएको हो । त्यस सँगसँगै सोही प्राविधिक टोलीले पाँचवटाकै हाराहारीमा शुक्लाफाँटाबाट बाह्रसिङ्गे यहाँ ल्याउन लागिएको छ । चितवनबाट शुक्लाफाँटामा गैँडा स्थानान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गैँडा लिएर जाने टोलीले बाह्रसिङ्गे लिएर फर्कने तयारी गरिएको छ । गैँडालाई शुक्लाफाँटा पु¥याउन प्राविधिक, सेनालगायतको एक सयजनाको टास्क फोर्स टिम बनाइएको छ । गैँडाको राम्रो वासस्थान रहेको सुकिभार, बुढी राप्ती र नमुना सामुदायिक वन क्षेत्रबाट शुक्लाफाँटाका लागि गैँडा लगिने प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिनुभयो । शुक्लाफाँटामा हाल नौवटा गैँडा रहेका छन् । यसअघि सन् २००० मा चारवटा गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा लगिएको थियो । चितवनबाट लगिएपछि शुक्लाफाँटामा गैँडाको सङ्ख्या १४ पुग्नेछ । शुक्लाफाँटामा गैँडाका लागि चाहिने वासस्थान राम्रो रहेकाले स्थानान्तरण गर्न लागिएको निकुञ्जले जनाएको छ । सरकारले शुक्लाफाँटामा पाँच र बर्दिया राष्ट्रिय निकुञ्जमा २५ गरी ३० वटा गैँडा चितवनबाट स्थानान्तरण गर्ने निर्णय गरेको थियो । यही निर्णयअनुरुप गतवर्षको फागुन १८ गते चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा लगिएको थियो । बाह्रसिङ्गे हाल शुक्लाफाँटा र बर्दियामा मात्र रहेका छन् । केही वर्षअघि शुक्लाफाँटाबाटै बर्दियामा बाह्रसिङ्गे लगिएको थियो । संरक्षणकर्मीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा स्थानान्तरण गर्न नहुने जनाइरहँदा निकुञ्जले बाह्रसिङ्गे पनि ल्याइने भन्दै विरोधलाई साम्य पार्दै आएको छ । दुई महिनाअघि मात्र चितवन राष्ट्रिय निकुञ्जमा कोसीटप्पुबाट १२ वटा र सदरचिडियाखानाबाट तीनवटा अर्ना ल्याइएको थियो ।
इमर्जिङ कप क्रिकेटमा भोलि नेपालले पाकिस्तानसँग भिड्ने
चैत १३ । बङ्गलादेशको शेखकमल स्टेडियममा हुने एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगितामा नेपाल र पाकिस्तानको भिडन्त हुनेछ । सोमबार उद्घाटन हुने सो प्रतियोगितमा नेपालले पाकिस्तानका तेइस वर्षमुनि (यु–२३) उमेर समूहको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । टोलीमा कप्तानको जिम्मेवारी नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले पाएका छन् । नेपालको प्रतिनिधित्व गर्दै मल्लले पहिलो पटक नियमित कप्तानको भूमिका निर्वाह गर्न लागेका हुन् । उनले यसअघि घरेलु मैदानमा गत फागुन महिनामा भएको आइसिसी विश्व लिग क्रिकेट प्रतियोगताअन्तर्गत केन्याविरुद्धको खेलमा कप्तानको भूमिका निर्वाह गरेका थिए । नेपालका कप्तान पारस खड्का स्वास्थ्यमा समस्या आएका कारण टोलीमा समावेश छैनन् । त्यसैगरी शक्ति गौचन, वसन्त रेग्मी र सोमपाल कामी प्रतियोगितामा सहभागी छैनन् भने फास्ट बलर करण केसी पनि स्वास्थ्य समस्याका कारण आराम लिएका छन् । वरिष्ठ खेलाडीलाई आराम दिएका कारण यस पटक तीन नयाँ खेलाडी आशिफ शेख, दिलीप नाथ र दीपेश श्रेष्ठले पहिलो पटक खेल्न लागेका हुन् । खेल तालिकानुसार नेपाल, आयोजक बङ्गलादेश, पाकिस्तान र हङकङ समूह ‘बि’ मा रहेका छन् भने समूह ‘ए’ मा भारत, श्रीलङ्का, अफगानिस्तान र मलेसिया छन् । यसअघि सन् २०१३ मा सिङ्गापुरमा भएको सो प्रतियोगिता यसपटक भने चैत १२ गतेदेखि बंगलादेशमा सुरु भएको हो । प्रतियोगिता चैत २२ सम्म चल्नेछ ।
महोत्तरी पुगेर डा.भट्टराइले भने, ‘मलाई राष्ट्रघाती भन्नेहरुको डिएनए टेष्ट गर’
बर्दिवास, चैत १०। नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफू राष्ट्रवादी भएको भन्दै उनलाई राष्ट्रघाती भन्नेहरुको डिएनए टेष्ट गर भन्दै ‘तिमीहरुको राष्ट्रियता के हो ? भन्ने प्रश्न गरेका छन् । राष्ट्रिय एकताको लागि भन्दै नयाँ शक्तिले सुरू गरेको हिमाल, पहाड, तराई र मधेस राष्ट्रिय अभियान लिएर बिहीबार महोत्तरीको बर्दिवास पुगेका डा.भट्टराईले भने ‘कुनै एउटा जाति मात्र नेपाली अरु चाँही नेपाली होइन भन्ने अहंकारवादी सोचले देशमा विखण्डनको बिउ रोपेको छ ।’ ‘यो देश मेरा बाउबाजेले बनाएको हो, म राष्ट्रवादी हुँ, मेरो रगतमा राष्ट्रियता छ, म यो देशलाई बचाएर एकताबद्ध बनाएर राख्छु’ डा.भट्टराईले भने । उनले सीता, गौतमबुद्ध सबैलाई नेपाली भनेर गर्व गर्ने समुदायले मधेसमा बस्ने मधेसीलाई गैरनेपाली देख्नु नै गलत भएको बताए । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लोकतन्त्र सबैलाई विदेशीले ल्याइदिएको भन्नेहरुप्रति प्रतिप्रश्न गर्दै उनले अग्रगामी कुराजति विदेशीको र पछाडि परेका कुराहरु चाहिं स्वदेशी भनेर दिल दिमाग भुट्ने गरेको धारणा राखे । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘संघीयता भनेको एउटै घरमा दाजुभाइहरुलाई फरकफरक कोठा दिनुजस्तो मात्र हो, के यसो गर्दा घर टुक्रिन्छ रुघरमा अशान्ति हुन्छ ? केही बेइमान र ठगहरुले इतिहासलाई बंग्याएर उपलब्धिलाई न्यूनीकरण गरेर भ्रम सिर्जना उनको आरोप थियो । आधा गिलास खाली र आधा गिलास भरी छ भनेर आफूले संविधानमा भएको अपूर्णतालाई औंल्याएको भन्दै उनले संविधानलाई पूर्णता दिन आफू निरन्तर संघर्षरत रहेको बताए । संविधान संशोधनलाई त्यत्तिकै छाडेर चुनावतिर लैजान सरकारले योजना बनाइरहेको उनले भने । नयाँ शक्तिका सहसंयोजक रामचन्द्र झाले एमालेले गलत सन्देश फैलाइरहेको बताउँदै लगाउँदै जनताको भावनाको विपरित कार्यक्रमहरु गरेर जनताले बलिदान दिनुपर्ने अवस्था आएको बताए ।
पाठेघरको मुखको क्यान्सर नेपाल अधिराज्यभरी निःशुल्क परीक्षण
काठमाडौं, चैत ९ । नेपालका धेरै महिलाको मृत्युको कारणका रुपमा रहेको पाठेघरको मुखमा हुने क्यान्सर न्यूनीकरणका लागि अब नेपाल अधिराज्यभरी नै पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परिक्षण गरिने भएको छ । स्वास्थ्य मन्त्रालयले यसै आर्थिक वर्षभित्रमा देशभरका सबै जिल्लामा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परीक्षण (भिआइए टेस्ट स्क्रिनिङ) सेवा सुरु गर्ने बताएको छ । नुवाकोटको बिदुरमा भएको प्रजनन् स्वास्थ्य मेलालाई पठाएको शुभकामना सन्देशमा मन्त्री गगन थापाले महिला सम्बन्धी रोगहरुको उपचार सेवा र चेतना बृद्धिका कार्यक्रमहरु तीव्ररुपमा विस्तार गरिने उल्लेख गरेका थिए । नुवाकोटमा भएको जस्तो प्रजनन् स्वास्थ्य मेला देशका २० ठाउँमा सञ्चालन गरिने मन्त्री थापाको भनाइ छ। त्यस्तै, पाठेघरको मुखमा क्यान्सर हुन रोक्ने एचपिभी भ्याक्सिन दिने कार्यक्रम अहिले चितवन र कास्कीमा सञ्चालन भइरहेको मन्त्री थापाले सन्देशमा उल्लेख गरेका छन्। आगामी वर्षदेखि यस्ता कार्यक्रम क्रमशः सबै गाँउपालिका, नगरपालिका र स्थानीय स्वास्थ्य संस्थासम्म पुर्याउने मन्त्रालयको लक्ष्य रहेको मन्त्री थापाको भनाइ छ। मन्त्री थापाको सन्देशमा भनिएको छ, ‘महिलाको पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगिन जति सजिलो छ, क्यान्सर भइसकेपछि जोगाउन त्यति नै गाह्रो छ। रोकथाम निकै सजिलो र सस्तो भएकाले त्यसलाई उपयोग गर्न सबै महिलालाई आग्रह गर्दछु।’ मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाले आयोजना गरेको मेलामा मिनिल्याब, परिवार नियोजन, यौनरोग, आङ खस्ने, पोषण लगायतका विषयमा परामर्श तथा उपचार सेवा दिइएको छ। महाशाखाका प्रमुख डा. नरेशप्रताप केसीले दुई सय ७१ जनाको परीक्षण गरिएको जानकारी दिए।
बैंकबाट अरुको रकम चोर्ने दुई बुल्गेरियन पक्राउ
पोखरा, चैत्र ५ । एटिएम कार्डको प्रयोग गरी बैंकमा भएको अरुको खाताबाट रकम झिकेको आशंकामा दुई बुल्गेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार पर्यटकीय केन्द्र लेकसाइडबाट लुसिनोभ र्यामन डिमोभ र मार्टिन रिस्टोभ पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट विभिन्न विदेशी बैंकका ८ एटिएम कार्ड ३ ल्यापटपसहित सामान पनि बरामद भएको छ । केही बैंकको सिसी क्यामेराले उनीहरुलाई शंकास्पद हिसावले एटिएम मेसिन वरपर घुमिरहेको देखिएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले बताए । उनीहरुले कुन बैंकबाट रकम निकाले÷निकालेनन् भन्नेबारे अनुसन्धान भइरहेको रउनीहरुकाबिरुद्ध जाहेरी नपरेको पनि तर शंका लागेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंबाट कास्की प्रहरीलाई दिएको हुलिया पनि केही हदसम्म मिलेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पाँच करोडको खानेपानी आयोजना सुरु
म्याग्दी, चैत ५ । म्याग्दीको मालीका गाउँपालिका– ४ देवीस्थानमा रु पाँच करोड लागतको खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । रु पाँच करोड ६० लाख लागत अनुमान गरिएको आयोजनाबाट साविकको देवीस्थान गाविसको २, ३, ४, ५, ६ र ७ नम्बर वडाका चार सय ७३ घरधुरी लाभान्वित हुने खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयले जनाएको छ । सरकारको रु चार करोड ४८ लाख र उपभोक्ताको रु एक करोड १२ लाख लगानीमा आयोजना निर्माण हुने सव डिभिजन प्रमुख इञ्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार आयोजनाको हालसम्म पूर्वाधार निर्माणको ५० प्रतिशत काम पूरा भएको छ । मुहानको संरचना, ७.२ किलोमिटर ट्रान्समिसन र २१.२७ किलोमिटर वितरण पाइपलाइन, बीस हजार र पचास हजार लिटर क्षमत्ताको दुई वटा रिजर्भ टङ््याकी निर्माण कार्य सकिएको इन्जिनियर केसीले बताउनुभयो । मरुखोला, लेखानी खोला र दोभानको मुहानबाट चार इन्चको पाइप मार्फत प्रतिसेकेन्ड चार लिटरका दरले आपूर्ति हुने पानी चार वटा टङ््याकीबाट वितरण गरिने छ । ८५ वटा ‘भल्ब च्याम्बर’ निर्माण गरी सबै घरमा मिटरसहितको निजी धाराबाट खानेपानी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष अमलाल फगामीले बताउनुभयो । सार्वजनिक धाराको तुलनामा सजिलो, सुविधायुक्त, समयको बचत, पानीको मितव्ययी प्रयोग, आयोजनाको दिगो सञ्चालन, व्यवस्थापनमा सहजलगायतका फाइदाका कारण निजी धारा जडान गर्न लागेको अध्यक्ष फगामीले बताउनुभयो । यस आर्थिक वर्षमा रु ६० लाख बजेट विनियोजन भएको यो आयोजनामा गत वर्षसहित हालसम्म रु ६९ लाख ९० हजार खर्च भइसकेको छ । उपभोक्ता समितिबाट निर्माणकार्य गर्ने भएकाले कम लागत र लक्ष्य अघिनै काम सकिने कार्यालयले जनाएको छ । पहिलो चरणमा एक सय ४३ घरमा यसैवर्ष खानेपानी सुविधा पु¥याउने लक्ष्य छ । भौतिक पूर्वाधारको काम लक्ष्य अनुसार तीव्रताका साथ भइरहेकाले थप बजेट माग गरिएको इन्जिनियर केसीले बताउनुभयो । आगामी वर्ष योजना सम्पन्न गर्ने लक्ष्य छ । विसं २०४९ मा निर्माण भएको खानेपानी आयोजनाको संरचना र क्षमत्ताले माग धान्न नसक्नु, व्यवस्थापन र मर्मत सम्भार नहुँदा देवीस्थानमा खानेपानीको समस्या उत्पन्न भएको थियो ।
‘विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा जोड्न आवश्यक’
काठमाडौँ, चैत ३ । वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा जोड्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । सेन्टर फर माइक्रोफाइनान्स (सिएमएफ)ले राजधानीमा आयोजना गरेको राष्ट्रिय लघुवित्त सम्मेलनको ‘आप्रवास : उत्पादन र विप्रेषणको उपयोग’ विषयक छलफलमा कार्यपत्र प्रस्तोता र टिप्पणीकर्ताले विपे्रषणको सही ठाउँमा प्रयोगका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । वैदेशिक रोजगारीबाट प्राप्त भएको विप्रेषणसँगै समाजमा भित्रिएका विकृतिको समेत ख्याल गर्नुपर्ने उनीहरुको भनाइ छ । विपे्रषणमा आधारित अर्थतन्त्र दिगो हुन नसक्ने भएकाले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा सहभागिले जोड दिए । नेपाल राष्ट्र बैंकका निर्देशक डा गुणाखर भट्टले ‘आप्रवास : उत्पादन र विप्रेषणको उपयोग’ विषयक कार्यपत्र प्रस्तुत गर्दै गत आवमा नेपालमा रु ६ खर्ब ६५ अर्ब बराबरको विपे्रषण भित्रिएको र सो मुलुकको कूल गार्हस्थ्य उत्पादनमा २९ दशमलव ६ प्रतिशत हुनसक्ने बताए । विप्रेषणबाट आउने रकममध्ये ७० प्रतिशत रकम उपभोगमा खर्च हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उनले त्यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नीति आवश्यक रहेको बताए । मुलुकको अर्थतन्त्रको आधारमा नेपाल बढी विपे्रषण भित्रिने मुलकमा विश्वकै तेस्रो स्थानमा रहेको तथा रकमको आधारमा विश्वको २९औंँ नम्बरमा रहेको भट्टले बताए । फिलिपिन्सका माइक्रोफाइनान्स परामर्शदाता कोन्नी जि हिनाले ‘सन्तुलित अर्थतन्त्र, सामाजिक, आर्थिक मूल्य र विप्रेषण’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपालजस्ता मुलुकले विप्रषणको समुचित प्रयोगका लागि आर्थिक साक्षरता बढाउनुपर्ने सझुाव दिएका छन् । कार्यक्रममा वैदेशिक रोजगार विज्ञ डा गणेश गुरुङले नेपाल जस्तो गरिब मुलुकमा विप्रेषणबाट आउने रकम आधारभूत उपभोगमा खर्च हुनु स्वभाविक भएको बताए । नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष विमला योगी, छिमेक लघुवित्त विकास बैंकका शोभा जोशी, महिला उद्यमी सहकारी संस्थाका अध्यक्ष शान्ति गुरुङलगायतले सरकारले वैदेशिक रोजगारीको विकल्पमा स्वदशमै रोजगारीको वातावरण बनाउनुपर्नेमा जोड दिए ।
धुर्मुस सुन्तलीको प्रेरणाबाट बालबालिका विद्यालय जान थाले
गौशाला, चैत २ । हाँस्य कालाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को उच्च जनचेतना र प्रेरणाले महोत्तरीको बर्दिवासका ६० मुसहर परिवारका बालबालिका विद्यालय जान थालेका छन् । जिल्लाको रातो खोलाका बगरमा बालुवा चाल्ने, ढुङ्गा सङ्कलन गर्ने र जङ्गलबाट दाउरा बोक्ने काममा व्यस्त रहने बर्दिवास नगरपालिका–२ स्थित मुसहरबस्तीका बालबालिका धुर्मुस सुन्तलीको प्रेरणाले स्कुल जान थालेका छन् । धुर्मुस सुन्तलीले सो बस्तीमा सामूहिक आवास बनाउनुका साथै ढिलै भए पनि शिक्षित भए बालबालिकाको भविष्य उज्ज्वल हुने मुसहर बस्तीका अभिभावकलाई बुझाएपछि अभिभावकले आ–आफ्ना बालबालिकालाई स्कुल पठाउन थालेका हुन् । धुर्मुस र सुन्तली फाउन्डेसनले मुसहर बस्तीमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि मुसहर समुदायका अभिभावकले छोराछोरीलाई स्कुल पढाउन उत्साहित भएका छन् । ६० घरपरिवारका ३७५ जना बसोबास रहेको सो बस्तीका ६४ जना बालबालिका जनता उच्च माध्यमिक विधालय बर्दिवासमा पढ्न जान थालेका छन् । विद्यालयका तथ्याङ्कअनुसार, शिशु कक्षामा २४ जना, कक्षा १ मा १७ जना, कक्षा २ मा १६ जना, कक्षा ३ मा छ जना गरी जम्मा ६४ जना बच्चा धुर्मुस र सुन्तलीको प्रेरणाले स्कुल पुगेका हुन् । सो बस्तीमा शिक्षाप्रतिको चेतना बढेका कारण बालबालिकाले नवयुग बाल क्लब गठन गरेर आफू बस्ने मुसहरबस्तीको सरसफाइ अभियानमा जुटेका छन् । कालाकारद्वय धुर्मुस र सुन्तलीको जोडीले मुसहरबस्तीका दयनीय अवस्था हेरेपछि उत्थानका लागि जनचेतना जगाउन विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । फाउन्डेसनले जनचेतनामूलक कार्यक्रम गरेर यहाँका बालबालिकालाई शिक्षित तुल्याउन विद्यालय पठाउनुपर्ने सन्देश प्रवाह गरेका थिए । बर्दिवास नगरपालिका, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, बर्दिवास उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्थाले पनि मुसहरबस्तीको विकासका लागि सहयोगी हात बनेर बालबालिकालाई पठनपाठनमा सहयोग गरिरहेका छन् । बर्दिवास नगरपालिकाले मुसहरबस्तीका बालबालिकाको अध्ययन अध्यापनमा सहजताका लागि रु सात लाखमा सामुदायिक भवनसमेत निर्माण गरिदिएका छन् । जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले सरकार र स्थानीय सामाजिक परिवर्तनमा योगदान पुर्याउने सामाजिक सङ्घसंस्थाले मुसहर बस्तीको शिक्षा स्तर बढाउन थप गम्भीर बने यहाँका बालबालिकाको उपस्थिति यस विद्यालयका कक्षा कोठामा उल्लेख्य देखिने आफूलाई विश्वास भएको बताउनुभयो । दुई लाख ३४ हजार ४९० जनसङ्ख्या रहेको मुसहर समुदायमा सात प्रतिशत मात्र साक्षर रहेको छ भने शिक्षाको हिसाबले महिलाको अवस्था निकै दयनीय रहेको छ ।
होलीको बेला स्मार्टफोन जोगाऔं
काठमाडौं, फाल्गुन २८ । होली खेल्दा आफ्नो स्मार्टफोनलाई खल्तीमा राख्नुहुँदैन । यसका लागि बजारमा प्रचलित विभिन्न सुरक्षित सामग्रीहरू प्रयोग गर्न सकिन्छ । जिपलक स्मल पकेट क्यारी ब्याग आफ्नो स्मार्टफोन सुरक्षित राख्न जिपलक भएको सानो क्यारी ब्याग प्रयोग गर्न सकिन्छ । यसले आफ्नो स्मार्टफोनलाई भिज्नबाट जोगाउँछ । धेरै हार्ड वा सफ्ट ब्याग प्रयोग गर्नुहुँदैन । रबर कभर होली खेल्न प्रयोग गरिने बेलुनलाई नै स्मार्टफोन कभरका रूपमा प्रयोग गर्न सकिन्छ । आफ्नो स्मार्टफोनलाई त्यही बेलुनमा राखेर माथितिर बलियो धागोले बन्द गरे यसले स्मार्टफोनलाई पानीबाट जोगाउनुका साथै स्मार्टफोन स्क्र्याच हुने वा बिग्रिने सम्भावनाबाट मुक्ति मिल्छ । वाटरप्रुफ केस मोबाइल केस वा कभर खरिद गर्दा जहिले पनि वाटरप्रुफ खरिद गर्नुपर्छ । यसलाई होलीमा मात्र नभै पानी परेको वा अन्य अवस्थामा समेत प्रयोग गर्न सकिन्छ । पुरानो फोनको प्रयोगः होलीमा अलि कम मूल्यको पुरानो फोन पनि प्रयोग गर्न सकिन्छ । त्यसो भए कदाचित् फोन बिग्रिहाले पनि ठूलो नोक्सान हुँदैन भने फोन गर्न र फोटो खिच्न समेत सकिन्छ । मल्टिपल डिभाइस प्रयोग नगरौं होलीमा सकेसम्म बढी डिभाइस प्रयोग गर्नुपर्छ । जति सकिन्छ, कममात्र डिभाइस प्रयोग गर्ने हो भने ती डिभाइस बिग्रने सम्भावना पनि कम हुन्छ । यसैगरी होली खेल्दा विभिन्न सावधानी अपनाउनु आवश्यक छ । डिभाइसलाई सुरक्षित राख्न निम्न उपाय अपनाउन सकिन्छ – होली खेल्न जाँदा टाइट कपडा लगाउनु हुँदैन । यदि टाइट कपडा लगाइयो र आफ्नो स्मार्टफोन खल्तीमा छ भने भिज्ने सम्भावना धेरै हुन्छ । – स्मार्टफोनलाई कुनै प्लास्टिकको कभरमा राखिएको छ भने पनि बीच–बीचमा चेक गरिरहनुपर्छ । कभर लिक भएर वा स्क्र्याच भएर फोन भिज्न सक्छ । – यदि कुनै कारणवश स्मार्टफोन भिजिहाल्यो भने पनि त्यसलाई तुरुन्तै घाममा सुकाउनु हुँदैन । यसो गर्दा स्मार्टफोनको बडी र अन्य कम्पोनेन्ट सूर्यको प्रकाशबाट प्रभावित हुनसक्छ । – धेरै मानिसले आफ्नो भिजेको स्मार्टफोनलाई हेयर ड्रायरले सुकाउने प्रयास गरेको पाइन्छ तर त्यसो गर्नु अर्को मूर्खता हुन्छ । कुन पार्ट्सलाई कति सुख्खापनको आवश्यकता हुन्छ भन्ने कुरा हामीलाई जानकारी हुँदैन। त्यसैले हेयर ड्रायर प्रयोग गर्नु पनि हानिकारक मानिन्छ । – स्मार्टफोन भिज्यो भने त्यसको ब्याट्री निकालेर घाममा सुकाउनु हुँदैन । यसका कारण ब्याट्री थप खराव हुन सक्छ । – आफ्नो हात चिसो छ भने स्मार्टफोन चलाउने प्रयास नगर्नु नै उपयुक्त हुन्छ । – हातमा कुनै रङ वा अबिर छ भने स्मार्टफोन छुनु हुँदैन । त्यसबाट स्मार्टफोनको टच सेन्सरमा खराबी उत्पन्न हुन सक्छ । – होली खेल्ने क्रममा स्मार्टफोन चार्ज गर्ने प्रयास पनि नगरौ । त्यसो गर्दा चिसोका कारण करेन्ट लाग्न सक्छ । त्यसका लागि अन्य सुरक्षित व्यक्तिलाई अनुरोध गर्न सकिन्छ । – यदि होली खेल्दा खेल्दै स्मार्टफोन भिज्यो भने पनि चिन्ता लिनु हुँदैन । त्यस्तो अवस्थामा ब्याट्री, सिम एवं मेमोरी कार्ड निकालेर कुनै पेपरमा राख्नुपर्छ । केही समयमै फोन उपयुक्त कन्डिसनमा आउन सक्छ ।
फिलिपिन्सविरुद्व खेल्न एन्फाले छान्यो फुटबल खेलाडी
काठमाडौँ, फागुन २७ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्वको खेलका लागि आज २७ खेलाडी छनोट गरेको छ । राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले पहिलो चरणमा रहेका ३६ खेलाडीमध्येबाट उनीहरु छनोट गरेको एन्फाद्वारा जारी विज्ञप्तिमा जनाएको छ । त्यस्तै चोटका कारण राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ टोलीमा परेनन् । गत वर्ष बङ्गलादेशमा भएको बङ्गबन्धु कप र भारतमा भएको बाह्रौँ दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गरेका श्रेष्ठको अहिले खुट्टामा चोट लागेको छ । त्यतिबेला नेपालले दुवै खेलमा स्वर्ण पदक हात पारेको थियो । छनोट हुनेमा विकेश कुथु, किरण लिम्बू, विशाल श्रेष्ठ, एलन न्यौपाने, रवीन श्रेष्ठ, विराज मर्हजन, अनन्त तामाङ, अद्वितीय चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, रञ्जित धिमाल, जितेन्द्र कार्की, विमल बस्नेत तथा मानबाहदुर तामाङ छन् । त्यसैगरी विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अञ्जन विष्ट, सुजल श्रेष्ठ, सुमन लामा, राजेन्द्र रावल, विमल घर्ती मगर, रञ्जन विष्ट, भरत खवास र करण लिम्बू छनोटमा परेका छन् । एसियन कप छनोटको आफ्नो पहिलो लेगमा नेपालले फिलिपिन्ससँग आगामी चैत १५ मनिलाको रिजाल मेमोरियल स्टेडियममा खेल्नेछ ।
सप्तरी घटनाका मृतकलाई दश लाख, घाइतेको खर्च सरकारले व्यहोर्ने
फागुन २५, काठमाडौं । सप्तरी घटनामा परी मृत्यु हुनेका परिवारलाई दश लाख रुपैयाँ राहत दिने र सम्पूर्ण घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । बुधबार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा सम्पन्न भएको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले फागुन २३ गते सप्तरीमा भएको दुखद् घटनाको समीक्षा गरेको छ । घटनामा मृत्यु हुने नेपालीहरुप्रति दुख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने मृतकका परिवारजन र आफन्तहरुमा समवेदना प्रकट गरेको छ । बैठकले घटनामा परी घाइते हुने सम्पूर्ण नागरिकको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । बैठकले घटनाको सत्य तथ्य जाँचबुझ गर्न प्रधानमन्त्रीको सहमतिमा गृह मन्त्रालयले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । आयोगलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको छ । बैठकले शान्तिपूर्ण रुपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारलाई कुण्ठित नगर्न र संयमतापूर्वक राजनीतिक गतिविधि गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई अपील गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए ।