नेपालगन्जमा ‘ए डिभिजन’ फुटबल प्रतियोगिता सुरु
नेपालगन्ज, फागुन २५ । अखिल नेपाल फुटबल सङ्घ, बाँकेको आयोजनामा दोस्रो टुवोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुन लगेको छ ।
भोलिदेखि संचालन हुने उक्त प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुने छ । स्थानीय रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा नेपालको मनाङ मस्र्याङ्गदी, सङ्कटा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय समूह, रुपन्देही— ११, सुदूरपश्चिम— ११ र नेपालगन्ज—११ गरी ‘ए’ डिभिजनका आठ समूहको सहभागिता रहने आयोजकले जनाएको छ ।
नकआउटका आधारमा खेलाइने सो प्रतियोगितामा प्रथम हुने टिमलाई रु पाँच लाख र दोस्रो हुनेलाई रु दुई लाख ५१ हजार पुरस्कार उपलब्ध गराइने सङ्घका जिल्ला अध्यक्ष भोजराज शाहीले बताएका छन् ।
क्याम्पस प्रशासनकै मिलेमतोमा धाँधली भएको भन्दै तेजगंगा क्याम्पसमा तालाबन्दी
काभ्रे,फागुन २० । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा धाँधली भएको आरोप लगाउँर्दै नेविसंघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तेजगंगा बहुमुखी क्याम्पस पनौतीमा तालाबन्दी गरेका छन् । उनीहरुले क्याम्पस प्रमुख र प्रशासनको मिलेमतोमा धाँधली गरेको आरोप लगाएका छन् । खसेको मतभन्दा धेरै मतगणना गरेर एमालेको विद्यार्थी संगठन अनेरास्वियुको प्यानललाई विजयी गराएको भन्दै दुई विद्यार्थी संगठनले पुन मतगणनाको माग गर्दै क्याम्पस प्रमुख अम्वुभवानी कार्कीको कार्यकक्षमा शुक्रबार बिहान तालाबन्दी गरेका हुन् । बुधबार भएको स्ववियु चुनावमा खसेको मतभन्दा बढी मत भेटिएको थियो । खसेको मत परिणामबारे पनि निर्वाचन समितिले यकिन गर्न नसकेको विद्यार्थी संगठनले आरोप लगाएका छन् । १ सय २४ मत प्राप्त गरेका राजेश थापाको प्यानललाई निर्वाचन समितिले विजयी भएको घोषणा गरेको थियो । पराजित संयुक्त प्यानलका उम्मेदवार सुवास बस्नेतले १ सय १४ मत प्राप्त गरेका थिए । संयुक्त प्यानलबाट सचिव पदकी उम्मेदवार रिता लामाले मत परिणामबारे जानकारी माग्दा समेत निर्वाचन समितिले जानकारी नदिइ एकलौटी परिणाम घोषणा गरेको संयुक्त रुपमा जारी विज्ञप्तिमा जनाइएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष सुन्दर खड्काले निष्पक्ष छानबिनको माग गर्दै तालाबन्दी गरेको बताए । खसेको मत संख्याका बारेमा निर्वाचन समिति र विद्यार्थी संगठनकाबीच विवाद छ । पटक पटक बदर मतबारे जानकारी माग्दा बेवास्ता गरेर एकपक्षीय रुपमा नतिजा सार्वजनिक गरेको भन्दै जिल्ला प्रशासन कार्यलयमा पुनः मतगणना गर्न उनीहरुले माग गरेका छन् ।
‘पत्रकारिताको भाषामा सरलताको अभाव’
ललितपुर, फागुन १९ । पत्रकारिताको भाषामा सरलताको अभाव हुन थालेको बताइएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ललितपुर उपमहानगरपालिकाको संयुक्त सहयोगमा बुधवार आयोजित पत्रकारिता तालिममा पत्रकारहरुले भाषालाई पनि महत्व दिनुपर्ने बताइएको छ । तालिममा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्माले समाचार मात्र कमी नभई भाषा पनि कमी हुन थाललेको चर्चा गरे । श्रोत नै उल्लेख नगरी लाजमर्दो तरिकाले समाचारहरु कपी भइरहेको उनको भनाई छ । उनले अहिले पत्रकारहरुले मिहिनेत गर्न छोडेको भन्दै दुःख ब्यक्त गरे । ‘अनलाइनमा हालेको समाचार श्रोत नै नखुलाई हुबहु पत्रिकामा आउछ’ शर्माले भने ‘यो भन्दा लाजमर्दो अरु के हुन्छ ।’ अहिले समाचार लेख्ने पत्रकारहरुको कमी भएको चर्चा गर्दै पत्रकार महासंघले पनि दक्ष पत्रकार उत्पादन गर्नुपर्ने बताए । ललितपुर उपमहानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत भरतमणी पाण्डेले स्थानीय निकायले जनस्तरमा गरिरहेका कामहरुको प्रभावका बारेमा खवरदारी गर्ने कामम मिडियाको प्रभावकारी भूमिका जुरुरी रहेको चर्चा गरे । ‘हामीले गरिरहेका काम कहाँ के नपुग छन् तपाइहरुले आलोचनात्मक कुराहरु जनतामा ल्याइदिनुहोस’ उनले भने ‘यसले गर्दा हामीलाई प्रभावकारी ढंगले काम गर्न अझ सहज हुनेछ ।’ उनले मिडिया र पत्रकारहरुको लागि उप–महानगरपालिकाले सस्थागत रुपमा पत्रकार महासंघबाटै काम अगाडी बढाउने बताए । ‘हामी मिडिया र पत्रकारको लागि पनि सहयोग गर्न चाहन्छौं, त्यो हाम्रो योजनामै रहेको छ’ उनले भने ‘त्यो सवै काम हामी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघबाटै गर्न चाहन्छौं ।’ नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष लेखनाथ न्यौपानेले आफुहरुको पहिलो जोड आफ्ना सदस्य पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नु रहेको बताए । ‘हामी निर्वाचित भएर आएदेखी नै हामीले पत्रकारको क्षमता अभिबृद्धिलाई पहिलो एजेन्डा बनाएको थियौं’ उनले भने ‘पत्रकार आफनो पेशमा दक्ष हुने हो भने पत्रकारमाथीका आक्रमण कम गर्न सकिन्छ ।’ तालिममा भाषा विज्ञ शरदचन्द्र वस्ती, त्रिभुुवन विश्वविद्यालय पत्रकारिता विभागका उपप्राध्यापक श्रीराम पौडेल लगायतले प्रशिक्षण दिएका थिए । एकदिने सो तालिममा ललितपुरमा क्रियाशील ५५ जना पत्रकारहरु सहभागी थिए ।
प्रिमियर इन्स्योरेन्सले २० प्रतिशत बोनस शेयर वितरण गर्ने
काठमाडौं, फागुन १७ । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको २०७२–०७३ को मुनाफाबाट दिएको २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बोनस शेयर वितरणका लागि हितग्राही खाता खोली शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुलाई शेयर सूचिकरण भएपश्चात हितग्राही खातामा जम्मा गरिने भएको छ । डिम्याट खाता नभएका शेयरधनीहरुको बोनस शेयरको प्रमाणपत्र कम्पनीको केन्द्रीय कार्यालयबाट वितरण गर्ने भएको छ ।
जाने हाेइन त काेरिया ! यस वर्ष १० हजार २ सय नेपालीकाे माग
काठमाडौं, फागुन १६ । कोरियाले आगामी वर्षका लागि दशहजार दुई सय नेपाली कामदारको माग गरेको छ । यो अन्य वर्षको तुलनामा बढी हो । आगामी वर्षहरुमा कोरियाले नेपालबाट इपीएसमार्फत बढी मात्रामा नेपाली कामदार लैजाने बताइएको छ । कोरियाको मानव संशोधन विभाग (एचआरडी) ले १० हजार २ सय कामदारको कोटा छुट्याइएको इपिएस कोरिया शाखाले जानकारी दिएको छ । यस वर्ष ३ हजार १ सय कामदार लिएको कोरियाले सन् २०१८ मा १० हजार २ सय नेपाली लाने भएको छ । त्यस मध्ये ६ हजार २ सय कृषि क्षेत्रमा र ४ हजार औद्योगिक क्षेत्रमा लाने भएको हो । नेपाली कामदार इमान्दार र मेहनती भएका कारण कोरियन साहुको रोजाइमा परेका हुन् । आगामी वर्षका लागि भाषा परिक्षाको फारम आगामी चैत ९ गते देखि १८ गते सम्म खुल्ला हुने छ । फारम अनलाइनबाटै भर्न सकिने छ । परिक्षा जेठ २८ र २९ गते गर्ने तयारी भएको निर्देशक खतिवडाले जानकारी दिए ।
त्रिवि केन्द्रीय क्याम्पसमा क्रान्तिकारीको जित घोषणा हुनमात्र बाँकी: अध्यक्ष न्यौपाने
काठमाडौं, फागुन १२ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको जीत घोषणा हुन मात्र बाँकी रहेको अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले वताएका छन् । न्तिकारीले धेरै अगाडि स्थापित र लोकप्रिय उम्मेदवार अघि सारेको चर्चा गर्दै न्यौपानेले भने– ‘ चुनावी रेसमा अरु संगठन धेरै पछि परिसकेका छन्।’ न्यौपानेले थपे– ‘हाम्रो उम्मेदवार तिलक उपाध्यायले विद्यार्थीको मन जितिसकेका छन्,अब जितको घोषणा हुनमात्र बाँकी छ।’ अहिले सम्म त्रिविमा अनेरास्ववियु र नेविसंघले उम्मेदवार चयन गर्न सकेका छैनन् । आज त्रिवि परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष न्यौपानेले भने– ‘विगतमा हामीले टियु जितेर सेमेस्टर प्रणाली लागु गरायौं। अब यसलाई गुणस्तरीय वनाउंदै टियुलाई सेन्टर फर एक्सिलेन्स् बनाउने छौं ।’ गत निर्वाचनमा हिमाल शर्माको नेतृत्वमा क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा पुरै प्यानल जितेको थियो । अस्कल क्याम्पसवाट विएस्सी ।गरेर त्रिवि आएका कालिकोटका तिलक उपाध्यायको निकै राम्रो माहौल रहेकोले जीत सुनिश्चित रहेका क्रान्तिकारीका त्रिवि समिति इन्चार्ज गेहेन्द्र ढकालले बताए ।
बैंकबाट ओडी लिएर जग्गाको वैना कारोबार गर्नेहरू बेघर हुँदै
काठमाडौं । पोखराकी अन्जु लामगाडेले दुई महिना अघि बैंकसँग ऋणको कुरा गरेर ८० लाख रुपैयाँ पर्ने घर किन्न २४ लाख रुपैयाँ वैना दिइन्। पोखरामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल छेउको घर किन्न लाग्नुको कारण थियो- केहि समय पछि बेचेर राम्रो नाफा कमाउने। तर, उनले सोचेजस्तो भइ दिएन। बैंकिङ क्षेत्रमा ‘क्रेडिट क्रन्च’ चर्किएपछि कबुले बमोजिम कर्जा दिन नसक्ने भन्दै बैंक टक्टकिए। ‘बैंकले ऋण दिन्छु भनेकैले ४५ दिनको भाका राखेर घरको वैना दिएँ, लामगाडेले बिजमाण्डू सँग भनिन्- पछि बैंकले ऋण दिन नसक्ने जवाफ दिए पछि घर नकिन्ने मनसाय बनाएकी थिएँ।’ उनले वैना दिएको २४ लाख रुपैयाँ फिर्ता गरिदिन घरधनी सँग आग्रह गरिन्। तर, घरधनिले ‘बरु केही समय पर्खिने तर पैसा फिर्ता दिन नसक्ने’ जवाफ दिए। ‘घरधनीले जहिले हुन्छ बेचेर बाँकी पैसा देउ तर वैना फिर्ता गर्न सक्दिन भनेपछि घर बेच्ने निर्णयमा पुगेकी हुँ’ उनले भनिन्। घर बिक्रीका लागि लामगाडेले मंगलबार फेसबुकमा सूचना नै पोष्ट गरिन्। अहिले तत्काल ५० लाख रुपैयाँ दिनेलाई घर पास गरिदने र बाँकी पैसा बिस्तारै दिँदा हुने उनको भनाइ छ। ‘अव मलाई दुई/चार लाख घाटा त हुने नै भयो’ उनले सुनाइन्- ७०/७५ लाख आए पनि बेचिदिन्छु।’ बैना दिएको २४ लाख रुपैयाँ पनि ऋण सापटी खोजेको हुँदा जसरी पनि घर बेच्ने बाध्यता आएको उनले बताइन्। पर्वतका रामचन्द्र पौडेलले पनि केहि समय अघि थानकोटमा प्लटिङ गरेका तीन वटा घडेरी किने। उनको उद्येश्य पनि दुई तीन महिनामा राम्रो नाफा खाएर बेच्ने नै थियो। तर, बैंकले ऋण लगानी नगरे पछि घरजग्गाको कारोबार सुस्त भयो। अहिले उनी घरजग्गा हैन शेयर बजारमा लगानी गर्ने भन्दै जग्गा बिक्रिको प्रयासमा छन्। बानियाटार काठमाडौंकी लक्ष्मी उपाध्यायले ८ कोठाको दुई तले घर बिक्रीका लागि सूचना नै प्रकाशित गरेकी छिन्। चार आनामा बनेको घर एक करोड १५ लाख रुपैयाँमा बेच्न तयार भएको उनले उल्लेख गरेकी छिन्। बैंकबाट लिएको ४० लाख रुपैयाँ ऋण चुक्ता गर्न समस्या भएपछि घर बेच्ने निर्णयमा पुगेको उनले बताईन्। उनी किन्न आउने ग्राहकलाई ‘मिलाएर’ घर दिन तयार छिन्। सिन्धुपाल्चोकका लक्ष्मण श्रेष्ठले पनि डेढ महिना अघि काठमाडौं थलीमा १५ कोठाको घर किने। तर, ‘फाइनान्सिङ’कै समस्या आएपछि मासिक ४०/५० हजार रुपैयाँ भाडा आउँदा आउँदै पनि घर बेच्ने निर्णयमा पुगेको उनको भनाइ छ। जति सक्दो चाँडो बैंकको लफडा सल्ट्याउन श्रेष्ठ दौडधुपमा लागेका छन्। एक करोड २० लाख मूल्य तोकेको घर मिलाएर दिन उनी पनि तयार छन्। ‘नाफाको त कुरै भएन सावाँ आउने बित्तीकै बेचिदिने हो’ उनले भने। ईमाडोलका विवेश श्रेष्ठ भने जग्गा बेच्न आतुर छन्। उनीसँगै सिमा जोडिएको जग्गा दुई महिना अघि आनाको ४५ लाख रुपैयाँ दरले बिक्री भयो। अहिले उनले आनाको २९ लाखमा बेच्ने भनेर सूचना निकालेका छन्। ‘आनाको २७ लाख रुपैयाँ आए पनि बेच्ने हो, ल आउनुस, ग्राहकको रुपमा बिजमाण्डूले कुरा गर्दा उनले भने- मेरो धेरै ठाउँमा जग्गा छ दाई विदेश जान लागेकोले बेच्नु पर्ने बाध्यता छ, आउनुस अझै मिलाउनु पर्छ भने पनि मिलाउँला’। बैंक तथा वित्तिय संस्थाले लगानी रोकेसँगै घर/घडेरी मूल्य घटाएर बेच्ने सूचना दिनहुँ प्रकाशित हुन थालेका छन्। जसले आफ्नै प्रयोजनका लागि घर जग्गा किनेका थिए उनीहरुलाई समस्या नभए पनि कमाउने उध्येश्यले लगानी गर्नेहरु भने समस्या पर्न थालेको व्यवसायीले बताएका छन्। ‘जसले आफ्नै गोजीको रुपैयाँ हालेर घरै बनाउने उद्येश्यले किनेका थिए उनिहरुलाई समस्या छैन, अनलाईनको माध्यमबाट घरजग्गा किनबेचको मध्यस्थता गरिरहेका अर्जुन छत्कुली भन्छन्- तर जसले बैंकबाट ओभरड्राफ्ट ऋण निकालेर नाफाका लागि जग्गा कारोबार गरिरहेका थिए उनिहरुलाई समस्या भैसकेको छ।’ अचेल विगत भन्दा दोब्बर संख्यामा घरजग्गा बेच्नेहरुले सम्पर्क गरि रहेको उनी सुनाउँछन्। पत्रिका देखि डीजिटल मिडिया घरजग्गा बिक्रिका विज्ञापनले भरिन थालेका उनको अनुभव छ। बैंकमा क्रेडिट क्रन्चसँगै राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जामा गरेको कडाइले घरजग्गा कारोवार ८ वर्ष अघिकै दृश्य देखिन थालेका छन्। त्यसबेला पनि बित्तिय क्षेत्र तरलता संकटमा परेपछि धेरै घरजग्गा ब्यवसायी डुबेका थिए। सर्वसाधारणको पैसा डुबाएपछि सुधिर बस्नेत लगायत ‘ठूला’ रियलस्टेट ब्यवसायी अझै पनि जेलमा छन्। बिजमाण्डूबाट साभार
अस्ताएको प्रेम
दुइवटा खाटको आमनेसामने गरि बस्दा उसले मेरा, मैले उसको हात समातेको थिँए । उसका मोटा , घामले डढेका हात मेरो हातमा पर्दा मैले काठको ठुटोले छोएको महसुस मात्र गरें । मेरो अपेक्षा, त्यो स्पर्शमा हल्का करेन्ट बगेको होस, सिधै मेरो मुटुमा कम्पन होस वा यस्तै केही नौलो महसुस गरुँ । तर , एउटै हात, एउटै स्पर्शले म सायद बोर भएको थिँए । खोजीमा थिँए सायद, कम्पन भएको हातको स्पर्शको । जुन मैले उ बाट पाउन सकिन । मैले केही मिनेट अझै प्रतिक्षा गरें, उसको हातमा केही कम्पन हुन्छ की भनेर । मैले अतृप्त शैलीमा हातलाई हटाएर आफनै साइडमा ल्याउन मन पराएँ । उ मलाई अंगाल्न चाहन्थ्यो । तर म उसको आलिंगनबाट उम्किन चाहन्थ्यें । कुरा टारेर म अलग्गै बसें ।सोचें– ‘पुरानो प्रेम भनेको रस नभएको फुल नै रहेछ । जसको मुल्य न भेटीमा हुन्छ न भमरको नजरले नै खोज्छ । ’ बन्द कोठा, उ र म मात्र । उसको नजरले मेरा छातीलाई घुरिरहेको थिए । म भने झ्यालबाट बाहिर केही अनौठो अनुभवको सोचाइमा केही खोज्दै थिँए । अठोट नै गरें । कम्पन भएका हातले नै आफुँलाई स्पर्श गराउँछु । स्पर्शको मोहमा मैले धेरैको मनलाई आफ्नो बनाउन कोशिस गरें । २३ वर्ष हुँदाको अनुभव र अहिले ३३ वर्षको हुँदाको अनुभवमा मायामा आकाश जमिनको फरक औंलाए । अपरिपक्क चाहनाले परिपक्वतातिर ढल्कायो । अटोमेटिक ग्याँसको दाहिने चुलोमा आगो सल्काएँ । चिया बनाउँन भाँडो र २ कप चिया ननापिकन बसालें । कालो रंगको चियापतिले चिया पुरै कालो भकलकभकलक उम्लिरहेको थियो । म पनि त्यसरी नै उम्लिेरहेको थिंए । अतृप्त स्पर्शले । केही वर्ष अघिका दृश्यहरुलाई मनको एउटा एंगलबाट हेरें । कति कम्पनयुक्त थिए ती स्पर्शहरु । हरीयाली अनि उमंगले भरिएका । चियाको रंग जति गाढा हुँदै जान्छ म उती नैै गाढिँदै गएको महसुस गरें । तर फर्रकिए आफ्नै रुखका ठुटाको दुनियाँमा जहाँ प्रेमको नाममा एउटा स्पर्श पनि नसिब छैन । फोनको घण्टीले मेरो सोचाइको गहिराईलाई भंग गरिदियो । हेरें एउटी मिल्ने साथीको फोन आएको रहेछ । अगुल्टोको ठुटो झैं उसका हातबाट मैले मुक्ति जो पाएकी थिएं । फोन गर्नेलाई मनमनैं धन्यबाद दिएं । निलो ठुलो कपमा भरि र सानो कपमा गरेर कालो चिया खन्याएँ । के मिठो होला जस्तो लाग्यो चिया पनि । रुममा पसें । कालो मन अनि कालै चिया लिएर । उ मलाई मायाले हेरिरहेको थियो । उसको आँखामा मप्रति प्रेम, प्यास छताछुल्ल भरिएको थियो । सम्झना आयो, कुनै दिन घण्टौं त्यही आँखामा हेरेर दिन रात विताएका पलहरु । अहिले मेरा नजरले उसको माया त देख्न सकेन सकेन, उसका व्यवहारले मनमा भएका केही भावहरु पनि मरेर गएका थिए । म निर्जीव जस्तो व्यवहार गर्दै थिएँ । आफुँलाई बाँचेको जस्तो भान पनि थिएन । म अन्धकारमय दुनियामा थिँए । माया नभएको दुनियामा । फोनको घण्टीले मेरो सोचाइको गहिराईलाई भंग गरिदियो । हेरें एउटी मिल्ने साथीको फोन आएको रहेछ । अगुल्टोको ठुटो झैं उसका हातबाट मैले मुक्ति जो पाएकी थिएं । फोन गर्नेलाई मनमनैं धन्यबाद दिएं । केही दिनको स्पर्शले म आनन्दित भएँ । तर मिछिए पनि । अब मलाई उसको स्पर्समा पनि करेन्ट बग्न छोड्यो । त्यो प्रेम थिएन, माया थिएन । त्यो केवल थियो तनको चाह । मैले उसको स्पर्शलाई अब मन पराइन । उसको आँखाले मलाई लोभ्याउन छाड्यो । फुलेको फुल अब सुक्यो । यही रहेछ माया । फुल्ने अनि झर्ने । अनि बाहिर जाने बहानामा मैले उसका भुत्ते स्पर्शबाट छुट्कारा पाएँ । माया । मेरो नाम नै माया । १३ औं बसन्त काटेदेखि नै मनमा मायाको अंकुर पलाएको थियो । माया, एउटा मनको माया अनि अर्को तनको माया । दुवै मायाको लागि भौतारिएकी म । २३ औं बसन्त पार गर्दै गर्दा औंलाले भाँच्ने हो भने पाँच औंलामा एक औंलाको माया पनि पाउन सकेन यो मनले । समयसंगै आवश्यकता र चाहनाले मायाको भावना पनि परिवर्तन हुँदो रहेछ । कहिले मनको माया प्रवल भएर आउँदो रहेछ कहिले तनको माया । मायामा ताजकी र नयाँपन खोज्ने यो मनले एकदिन एउटा नयाँ मनलाई भेट्टायो । त्यही मनको पछि लाग्दै गर्दा ‘स्पर्श’ मैले खोजेको जस्तै करेन्ट लाग्ने खालको पाएँ । म दंग थिएँ । हरेक स्पर्समा म तरंगित हुँदै जान्थें । वर्षको अन्तर सायद १० थियो । म २३ को उ ३३ को । तर मनले वर्षको ख्याल गरेन । महसुस गर्यो त करेन्ट जस्तै बग्ने उसको स्पर्शको । केही दिनको स्पर्शले म आनन्दित भएँ । तर मिछिए पनि । अब मलाई उसको स्पर्समा पनि करेन्ट बग्न छोड्यो । त्यो प्रेम थिएन, माया थिएन । त्यो केवल थियो तनको चाह । मैले उसको स्पर्शलाई अब मन पराइन । उसको आँखाले मलाई लोभ्याउन छाड्यो । फुलेको फुल अब सुक्यो । यही रहेछ माया । फुल्ने अनि झर्ने । सयौं अनुभपछि म बैरागीएँ । स्पर्शको मोहमा मैले धेरैको मनलाई आफ्नो बनाउन कोशिस गरें । २३ वर्ष हुँदाको अनुभव र अहिले ३३ वर्षको हुँदाको अनुभवमा मायामा आकाश जमिनको फरक औंलाए । अपरिपक्क चाहनाले परिपक्वतातिर ढल्कायो । स्पर्श गर्न चाहने मन अहिले मरिसकेको छ । थाहा छैन मेरा स्पर्शले कतिको मन चिसो बनायो । तर म अहिले ती अनुभवलाई मेटाउने प्रयत्नमा छु । हो मैले सांसरिक दुनियाको प्रेम, त्यसलाई वासना भन्छन् क्या हो , त्यसबाट टाढा छु । म अब हरेक साँझ आँफैले बाल्ने बत्तिलाई प्रेम गर्न थालेकी छु । मेरा तनले अहिले करेन्ट बग्ने स्पर्श खोज्दैन । खोज्छ त मनको शान्ति मात्र । बुद्धको शरणमा परेपछि म अर्कै भएकी छु । सांसरिक मोहलाई त्याग्ने प्रयत्नमा छु । हो, मेरो नाम अहिले माया होइन, आङि माया भएको छ ।
साझाले उपत्यकामा रात्रीकालीन बस चलाउने, यस्तो छ समय र रुट
ललितपुर, फागुन ४ । साझा यातायातले राति काम गर्ने र अस्पताल जानेलाई लक्षित गरी उपत्यकाका पाँच रुटमा परीक्षणका रुपमा रात्रिकालीन बस सेवा सञ्चालन गरेको छ। मङ्गलबार रातिदेखि अस्पताल क्षेत्रलाई मध्यनजर गर्दै लगनखेल पाटन अस्पताल–त्रिपुरेश्वर आँखा अस्पताल–वीर अस्पताल–त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज–गङ्गालाल अस्पताल–बाँसबारी न्यूरो अस्पताल पुगेर सोही मार्गबाट लगनखेल फर्कने छ। दोस्रो रुट न्यूरोडस्थित नेपाल वायुसेवा निगम अघिबाट बानेश्वर–कोटेश्वरसम्म, तेस्रो रुट नेपाल वायुसेवा निगमबाटै कालीमाटी हुँदै कलङ्की, चौथो रुट न्यूरोडबाट ठमेल–सोह्रखुट्टे हुँदै नयाँबसपार्कसम्म र पाँचौँ रुट न्यूरोड गेटबाटै नयाँबानेश्वर–एयरपोर्ट–गौशाला हुँदै चाबहिलसम्म सञ्चालन सुरु भएको छ। रात्रिकालीन बस सेवा सञ्चालनका लागि जहाँबाट चढेर जहाँ झरे पनि रु २५ भाडा कायम गरिएको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए। सेवा राति साढे आठ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। बसमा सिसीटिभी र टेलिभिजनको पनि व्यवस्था गरिएको साझा यातायातले जनाएको छ।
चौध करोडको सुन्तला बिक्री
पोखरा, फागुन ३ । कास्कीमा यसवर्ष रु.१४ करोडको सुन्तला बिक्री भएको छ । जिल्लामा यसवर्ष ६ हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गतवर्ष ६ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी नारायणजङ्ग खत्रीले जानकारी दिए । विभिन्न रोगको प्रकोप, बोट सुक्दै जानु र प्रतिकूल मौसमका कारण गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा ह्रास आएको खत्रीको भनाइ छ । यसवर्ष जिल्लामा ७८० हेक्टरमा सुन्तला लगाइएको छ। जिल्लाका कृस्तीनाच्नेचौर, खाल्टे, थुम्की, भरतपोखरी, निर्मलपोखरी र सल्यान सुन्तला उत्पादनका पकेट क्षेत्र मानिन्छन् ।
अमेरिकी धम्कीको जवाफमा उत्तर कोरियाले गर्यो मिसाईल परिक्षण
सियोल । राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सहयोगीहरुले उत्तर कोरियाविरुद्ध कडा प्रतिक्रिया दिईरहेको बेला त्यसको जवाफमा उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार, यो मिसाइल परीक्षण अमेरिकालाई चिढाउन र उक्साउन गरिएको हो । यद्यपी उत्तर कोरियाले भने आफ्नो स्वतन्त्रता र सार्वभौमताको रक्षा गर्न यो आवश्यक भएको बताएको छ । दक्षिण कोरियाले दावी गरे अनुसार, यो प्रक्षेपण उत्तर कोरियाको उत्तरी क्षेत्रको राज्य बैंग्योन एयरबेसबाट बेलेष्टिक मिसाइलको परीक्षण गरिएको हो । परीक्षणले जापानी समुद्र क्षेत्रतर्फ ५ सय किलोमिटरको उडान लिएको थियो । दक्षिण कोरियाले आफूविरुद्ध आक्रमण भएमा अमेरिका र उसका सहयोगीहरुलाई समाप्त पार्ने चेतावनी दिँदै आएको छ । यस्तै प्रतिक्रिया हामलै मात्रै अमेरिकी विदेश मन्त्रीले दिएका थिए ।
लोकसेवाको प्रश्नपत्रले रुवायो धेरैलाई
काठमाडौं, माघ २९ । लोकसेवा आयोगले आज संचालन गरेको राज पत्रांकित शाखा अधिकृतको परीक्षा सम्पन्न भएको छ । आज सोधिएका प्रश्नपत्रका प्रश्नहरु अधिकांश प्रशिक्षार्थीहरुको अनुमानभन्दा फरक भएपछि परीक्षा हलमै केहीबेर रुवाबासी चलेको थियो । आज सोधिएको प्रश्नपत्रमा अंग्रेजी र आईक्यू (I.Q.) का प्रश्नहरु तुलनात्मक रुपमा केही सजिलो भएपनि सामान्य ज्ञानका प्रश्नहरु भने अत्यन्तै कठिन सोधिएका थिए । आजको प्रश्नपत्रका लागि प्रशिक्षार्थीहरुले समसामयिक सामान्यज्ञान अन्तर्गत नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, संविधान, सन्धी सम्झौता, खेलकुदमा अध्ययन गरिएको भएतापनि प्रश्नपत्रमा भने ती आएनन् । परिक्षाका लागि लामो समय कठिन तयारी गरेकाहरुका लागि आजको प्रश्नपत्रबाट उनीहरु निराश देखिन्थे । ‘तेत्रो संविधान पढियो, आर्थिक सर्वेण, योजना, जातजाती, भाषा, भुगोल सबै पढियो तर परीक्षामा एउटा पनि आएन’ मदन भण्डारी मेडिकल कलेजमा केन्द्र परेका एक परीक्षार्थीले भने । उनले थपे, ‘दर्जानौ पुस्तक घोकियो ट्युसन क्लासमा सयौं हल गरियो वर्षाैको मेहनत खेर गयो ।’ मेहनत र अपेक्षा गरिएअनुसारको प्रश्न नआएपछि धेरै परीक्षाकेन्द्रमा परीक्षार्थीहरु अंगालो मारेर रुँदै गरेका देखिन्थे । कतिपय परीक्षार्थी भने परीक्षा समयको बीचमै छोडेर गएका पनि भेटिए ।
प्रधानाध्यापकले रकम हिनामिना गरेको रहस्य खुल्यो
कालीकोट, माघ २७ । जिल्लाको पञ्चकोट आधारभूत विद्यालय फुकोटका प्रधानाध्यापकले छ वर्षको रु.२१ लाख ४१ हजार ६१४ हिनामिना गरेको रहस्य खुलेको छ । स्थानीय अभिभावकले विद्यालयका बारेमा पटकपटक हिसाब किताब माग गरेपछि अटेर गरेका निवर्तमान प्रधानाध्यापक चन्दाखर सञ्ज्यालले विगत २०६६ सालदेखि ०७२ सम्मको विद्यालयको छात्रवृत्ति, दिवा खाजा, निजी स्रोतका शिक्षकको तलब, महिला तथा दलित छात्रवृत्तिलगायतको रकम हिनामिना गरेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जसी रोकायाले बताउनुभयो । स्थानीय अभिभावकले विद्यालयका तत्कालीन प्रअ चन्दाखर सञ्ज्यालको छ महिनासम्मको तलब रोक्का गरेपछि जिल्ला शिक्षा कार्यालय कालीकोटमा दिएको निवेदनअनुसार जिल्ला शिक्षा कार्यालय कालीकोटका स्रोत व्यक्ति इन्द्रप्रसाद न्यौपाने संयोजक रहेको छानबिन समितिको टोलीले गरेको लेखा परीक्षणबाट सो रकम हिनामिना भएको पुष्टि गरेको हो । लामो प्रयासपछि विद्यालयका बारेमा चासो राख्ने अभिभावकको पहलमा हिसाब किताब गरिएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष कालीबहादुर महताराले बताउनुभयो । सञ्ज्यालले बेरुजु आएको रकम आफूले तलबबाट क्रमशः तिर्दै जाने सहमति भएको विद्यालयका प्रधानाध्यापक जयराज न्यौपानेले बताउनुभयो। सो विद्यालयका निजी स्रोतका तीन जना शिक्षकले चार वर्षसम्म पाउनु पर्ने तलब नपाए र चाहिएको बेला समस्या टार्नका लागि मात्र रकम पाउने गरेको बताएका छन् । यसअघि अख्तिायार अनुसन्धान आयोगले जिल्लाका सामुदायिक विद्यालयको आम्दानी र खर्चको विवरण जिल्ला प्रहरी कार्यालयबाट सङ्कलन गरेको भए पनि हालसम्म सो नतिजा आउन नसकेको बताइएको छ । कालीकोट जिल्लामा शिक्षा क्षेत्रमा व्यापक लापर्बाही बढेकोप्रति अभिभावक जुर्मुराउन थालेको अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष देवराज चौलागाईंले बताउनुभयो ।
मार्छन कि क्या हो !
हुल तथा दङ्गा व्यवस्थापन तालिमपछि मङ्गलबार कञ्चनपुरको वनसमितिस्थित सशस्त्र प्रहरी शैलेश्वरी गणमा अभ्यास प्रदर्शनी गर्दै सशस्त्र प्रहरी । तस्बिरः शेरबहादुर सिंह, रासस
दुर्जकुमार राईका कारण माली मिशन जान पाएनन १८० प्रहरी
काठमाडौं, २३ माघ । अवकाशको मुखमा पुगेका सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईको अक्षमता र हेलचेक्र्याइँका कारण संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ माली जान तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बलको एफपीयू मिसन रोकिएको छ । आजको राजधानी दैनिकमा खबर छ– मिसन जानका लागि तयारी अवस्थामा रहेका १ सय ८० जना सशस्त्र प्रहरी अधिकृत तथा जवानलाई शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले युनिट फर्कन निर्देशन दिएको छ । सशस्त्र मुख्यालयको यो निर्देशनले मिसन जान तयारी अवस्थामा रहेका अधिकृत र जवान निराश बनेका छन् । एफपीयू मिसनका लागि आवश्यक सवारीसाधनलगायत कम्तीमा एक तिहाइ बन्दोबस्तीका सामग्री तयार नभएको कारण देखाउँदै राष्ट्रसंघले सशस्त्रको माली मिसन खारेज गरेको हो । स्रोतका अनुसार, सशस्त्र प्रहरी महानिरीक्षक राईले समयमै बुलेटप्रुफ बख्तरबन्द गाडी (एपीसी) खरिदका लागि प्रक्रिया अघि नबढाएकाले माली मिसन खारेज भएको हो । ‘सशस्त्र प्रहरी मुख्यालयले समयमै खरिद प्रक्रियाको फाइल गृह मन्त्रालयमा सहमति लिन नपठाएकाले मिसन रोकिएको हो,’ स्रोतले भन्यो । सेना, प्रहरी र सशस्त्र प्रहरीले कल्याण कोषको रकमबाट मिसनका लागि आवश्यक सामान खरिद गर्ने गर्छ । राष्ट्रसंघले पछि त्यसको शोधभर्ना दिने गर्दछ । तर, सशस्त्र महानिरीक्षक राईले भने विवादमा परिने र अवकाशपछि पनि अप्ठेरो पर्ने डरले कुनै पनि ठूला ‘प्रोजेक्ट’ मा हस्ताक्षर गरेका छैनन् । ‘माली मिसन खारेज हुनुमा पनि महानिरीक्षक राईको यही डरले काम गरेको हो,’ स्रोतको दाबी छ । जवानदेखि माथिल्लो तहका अधिकृतहरूको मनोबल गिरेका बेला उनी जिल्ला जिल्लामा निर्मित सशस्त्र प्रहरी भवनको उद्घाटनमै व्यस्त छन् । काठमाडौंमा भएका बेला पनि उनलाई सशस्त्र मुख्यालयमा भेट्न गाह्रो भएको सशस्त्रका अधिकृत बताउँछन् । उनको १४ महिने कार्यकालमा संगठन झन ओरालो लागेको सशस्त्र प्रहरी अधिकृतहरुको बुझाइ छ । उनले आफ्नो कार्यकालमा केही कामै नगरेको र गफै दिएर कार्यकाल पूरा गर्न लागेको पनि उनीहरुको भनाइ छ । अघिल्ला सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तको कार्यकालमा आएको सशस्त्र प्रहरी नियमावलीमा भएका त्रुटीलाई सच्याउन उनले कुनै पहल नगरेको र कुरा उठ्दा सच्याउने आश्वासन मात्रै दिएको पनि सशस्त्र मुख्यालयमा चर्चा छ । सो नियमावलीका कारण नेपाली सेनाबाट आएकाहरु बढी पीडित बनेका छन् । स्रोतका अनुसार, माली मिसनका लागि प्रत्येक दर्जाका सिनियर प्रहरी अधिकृतहरूलाई समावेश गरिएको थियो । सशस्त्र मुख्यालयले ती सिनियर अधिकृतदेखि जवानसम्मलाई आ–आफ्नो युनिट फर्कन निर्देशन दिए पनि अर्को मिसन पठाउने वा नपठाउनेबारे केही बताएको छैन । स्रोतका अनुसार, मंसिरमा निरीक्षण गर्दासम्म राष्ट्रसंघका प्रतिनिधि माली मिसनलाई एक युनिट थप्न सकारात्मक रहेको थियो । संयुक्त राष्ट्रसंघको शान्ति मिसनसम्बन्धी हेर्ने ‘डिपार्टमेन्ट अफ पिस किपिङ अप्रेसन’का अधिकारीले गत मंसिरमा नेपाल भ्रमणका बेला प्रहरी र सशस्त्रलाई एक एक युनिट थप गर्ने जनाएका थिए । सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिवाकर केसीले माली र सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार) मध्ये एउटाको माग आउने सम्भावना भएकाले तालिम गराइएको र तत्कालका लागि नआउने निश्चित भएकाले आ–आफ्नो युनिट पठाइएको बताए । उनले राष्ट्रसंघले माली वा अन्य मुलुक भनेर नतोकेको र तोकिएर पनि नआउने भएकाले उनीहरूलाई युनिट फिर्ता गरिएको बताए । ‘सुरुमै कुन देश पठाउने भन्ने हुँदैन, जहाँबाट माग भएर आयो त्यहीँ पठाइने गरिन्छ, अहिले ककनीमा तालिम गरिरहेकाहरूलाई कार वा मालीमध्ये एक ठाउँमा माग आउने सम्भावना थियो, आएन । त्यसकारण युनिट फिर्ता गरिएको हो,’ प्रवक्ता केसीले भने । स्रोतका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अफ्रिकन मुलुक माली तथा सशस्त्रलाई सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)मा एफपीयू मिसन थप्नेबारे प्रक्रिया अघि बढाइएको थियो । सशस्त्र प्रहरीका प्रवक्ता केसीले भने एफपीयू मिसन थप्ने प्रक्रिया अघि बढे पनि कुन देशमा थप्ने भन्ने तय भइनसकेको बताए । ‘माग भएअनुसार थप गर्ने हो तर अहिले माग भएको छैन । तालिम लिएकाहरूलाई जतिबेला पनि पठाउन सकिन्छ,’ उनले भने । माली र कारमा नेपाली सेनाले पहिलेदेखि नै शान्ति मिसनमा काम गर्दै आएको थियो । सशस्त्र प्रहरीले पहिलो पटक सहभागिता जनाउने अवसर पाएको भए पनि गुमाएको छ । दक्षिण अफ्रिकालगायत द्वन्द्वग्रस्त मुलुकहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको दुई–दुईवटा एफपीयू मिसन क्रियाशील छन् । नेपाल प्रहरीको हाइटी र सुडान तथा सशस्त्र प्रहरीको दक्षिण सुडानमा दुई एफपीयू मिसन रहेका छन् । एक एफपीयू मिसनमा करिब १ सय ४० प्रहरी हुन्छन् । एकवर्षे सो मिसनमा काम गर्दा १५ देखि २० लाख रुपैयाँसम्म पाउने गर्छन् । अनपोल मिसनअन्तर्गत सुडान, दक्षिण सुडान र हाइटीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरू कार्यरत छन् । लाइबेरिया मिसन भने बन्द भइसकेको छ । हाइटी मिसनबाट सेनालाई हटाइएको छ भने प्रहरीको मिसन पनि कटौती भइरहेको छ । शान्ति मिसनका लागि सुरक्षाकर्मी पठाउने विश्वमा नेपाल छैटौं स्थानमा छ । विभिन्न १६ वटा देशमा ४ हजार ५ सय ४६ सुरक्षा अधिकारी राष्ट्रसंघीय शान्ति मिसनमा काम गर्दै आएका छन् । सेना र प्रहरी गरेर शान्ति मिसनमा करिब ५ हजार कार्यरत छन् ।
सेनाकाे रगत पसिनाले जोगिएको देश हाे : प्रधानसेनापति
काठमाडौं, माघ २१ । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनाले रगत–पसिना बगाएका कारण अहिलेसम्म देशको राष्ट्रिय अखन्डता बचिरहेको बताएका छन् । शुक्रबार कैलालीको धनगढीस्थित तेघरी व्यारेकमा सुदूरपश्चिम भेगीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति क्षत्रीले राज्य संकटमा पर्दा सेनाले रगत–पसिना बगाएकोले देशको अखण्डतामा आँच नआएको बताए । देश संकटमा पर्दा रगत–पसिना बगाएका भूतपूर्व सैनिकहरु आवश्यक परे फेरि पनि राष्ट्रसेवाका लागि तयार रहने उनले विश्वास व्यक्त गरे ।