सेनाकाे रगत पसिनाले जोगिएको देश हाे : प्रधानसेनापति
काठमाडौं, माघ २१ । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनाले रगत–पसिना बगाएका कारण अहिलेसम्म देशको राष्ट्रिय अखन्डता बचिरहेको बताएका छन् ।
शुक्रबार कैलालीको धनगढीस्थित तेघरी व्यारेकमा सुदूरपश्चिम भेगीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति क्षत्रीले राज्य संकटमा पर्दा सेनाले रगत–पसिना बगाएकोले देशको अखण्डतामा आँच नआएको बताए ।
देश संकटमा पर्दा रगत–पसिना बगाएका भूतपूर्व सैनिकहरु आवश्यक परे फेरि पनि राष्ट्रसेवाका लागि तयार रहने उनले विश्वास व्यक्त गरे ।
धनकुटामा भ्यान दुर्घटना, तीन जनाको मुत्यु
धनकुटा, माघ ३ । फाक्सिव गाविस– ८ मा भएको सवारी दुर्घटनामा आज तीन जनाको मृत्यु भएको छ । विवाहको जन्ती लिएर फाक्सिव गाविसबाट भेडेटारतर्फ आउँदै गरेको को १ च ८१८ नंको भ्यान सडकमा पल्टँदा भेडेटार गाविसका सुनील मगर, विक्रम मगर र मिलन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीपराज राजभण्डारीले जानकारी दिनुभयो । तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको स्थिति गम्भीर छ । घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ । रासस
कांग्रेसका भण्डारी र अमरसिंह पुनले पार्टीको निर्देशन नमान्ने
रुपन्देही, माघ १ । नेपाली कांग्रेसका दुई जना सांसदले संविधान संशोधनको प्रस्ताव विरुद्ध मतदान गर्ने घोषणा गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा गुल्मी क्षेत्र नम्बर २ का सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी र रोल्पाका सांसद रोल्पाका पार्टी सभापति अमरसिंह पुनले संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने बताएका हुन् । राष्ट्रियता जोगाउन र नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफ्नै पार्टी सहभागी सरकारले दर्ता गरेको प्रस्तावको विपक्षमा मतदान गर्ने उनीहरुले बताए । कार्यक्रममा नेता भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई देखाउनका लागि भएपनि संविधान संशोधन प्रस्ताव असफल हुनुपर्ने बताए । उनले अहिले कै रफ्तारमा अंगिकृतलाई नागरिकता दिने हो भने पाँच वर्षपछि नेपालको भविष्य नै संकटमा पर्ने बताए । सांसद पुनले राष्ट्रिय अखण्डताका लागि संशोधन प्रस्ताव असफल पार्नुपर्ने बताए । उनी कांग्रेस रोल्पा जिल्ला सभापति हुन् ।
ठेकेदार बेपत्तापछि भवन निर्माण अलपत्र
सोलुखुम्बु, माघ १ । ठेकेदारको बेवास्ताका कारण सोलुखुम्बुको स्वास्थ्य र वन कार्यालयको भवन निर्माण कार्य नौ महिनादेखि अलपत्र परेको छ । जिल्ला स्वास्थ्य कार्यलयको फाप्लुमा निर्माण हुँदै गरेको भवन र जिल्ला वन कार्यलयको भवन गत वैशाख महिनादेखि नै निर्माण कार्य रोकिएको हो । निलगिरि निर्माण सेवा प्रालिले ठेक्कामा लिएको भवन आगामी महिना हस्तान्तरण गरिनुपर्ने भए पनि दुवै भवन आधा निर्माण गरी अलपत्र छाडिएको छ । सहरी विकास तथा भवन निर्माण कार्यालय ओखलढुङ्गाको बजेटमा निर्माण भइरहेको ती भवनको ठेकेदारका बारेमा सहरी विकास कार्यालयलाई समेत जानकारी छैन । वैशाख १८ गतेदेखि सम्पर्कविहीन भएको ठेक्केदार कम्पनीका मानिस अहिलेसम्म सम्पर्कमा नआएको सहरी विकास तथा भवन निर्माण कार्यलयका प्रमुख सुवास बस्नेतले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयको भवन रु दुई करोड ३८ लाखमा ठेक्का सम्झौता भएको हो भने जिल्ला वन कार्यलयको भवन रु.एक करोड २९ लाखमा सम्झौता भएको थियो । दुवै भवनको आधा काममात्रै सकिएको छ । दुवै कार्यालयको भवन निर्माण अवधि दुई वर्ष तोकिएको थियो । ठेक्केदार बेपत्ता भएपछि स्थलगत रुपमा खटिने कामदारले समेत पारिश्रमिक पाएका छैनन् । सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख बस्नेतले भने ठेकेदार बेपत्ता भएपछि खोजीका लागि ठेक्का कम्पनीले कारोबार गर्ने नेपाल बङ्गलादेश बैंकमा खाता रोक्का गर्न निवेदनसमेत पठाइसकेको बताए । भवन निर्माण नहुँदा जिल्ला स्वास्थ्य कार्यालय भाडाको भवनमा छ भने वन कार्यालयले इलाका रेन्जपोस्टको साँघुरो भवनमा काम गरिरहनुपरेको जिल्ला वन कार्यलयका प्रमुख मेघराज रायले बताए ।
शिक्षा मन्त्रीद्वारा पुन निर्माण गरिएको विद्यालय भवनको उद्घाटन
काठमाडौ, माघ १ । भूकम्पले क्षतिग्रस्त कालीका ६ सिन्धुपाल्चोकमा रहेको महेन्द्र कान्ति माध्यमिक विद्यालयमा निर्माण गरिएको ट्रस भवनको शिक्षा मन्त्री धनिराम पौडेलले उद्घाटन गरेका छन् । शुक्रवार विद्यालयको ५५ औं वार्षिकोत्सव तथा ५२ औं अभिभावक भेलाको अवसरमा शिक्षा मन्त्री पौडेलले ६ कोठे ट्रस भवनसँगै विद्यालयमा स्थापना गरिएको कम्प्युटर प्रयोगशालाको पनि उद्घाटन गरे । विभिन्न संघसस्थाको ३५ लाख १० हजार ४ सय ९८ रुपैयाँको लागतमा ६ कोठे ट्रस भवन निर्माण गरिएको हो । ट्रस भवन वनेपछि विद्यालयमा पठनपाठन केही सहज भएको प्रधानाध्यापक केदारप्रसाद भण्डारीले जानकारी दिए। विहेल्फ नेपालले प्रदान गरेको १० वटा कम्प्युटर तथा शिक्षा मन्त्रालको ५ लाख रुपैयाँ आर्थिक सहयोगमा विद्यालयमा कम्प्युटर प्रयोगशाला निर्माण गरिएको हो । २०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्पले महेन्द्र कान्ति माविको २९ कोठे विद्यालय भवन पूरै क्षतिग्रस्त भएको थियो । विद्यालयमा अध्ययनरत ५ जना बालबालिका, १ जना शिक्षिका र १६ जना अभिभावकले पनि भुकम्पमा परी ज्यान गुमाएका थिए । कार्यक्रममा शिक्षा मन्त्री धनिराम पौडेलले भूकम्पले तहसनहस भएर पनि सिन्धुपाल्चोक जिल्लाले शैक्षिक क्षेत्रमा गरेको प्रगति प्रशंसनिय भएको बताउनुभयो । दुर्गम र भूकम्प अति प्रभावित जिल्ला भएर पनि सिन्धुपाल्चोक मध्यमाञ्चाल क्षेत्रका १९ जिल्लाको शैक्षिक मूल्यांङ्कनमा पहिलो हुनु गौरवको विषय भएको मन्त्री पौडेलको भनाई थियो । विगतमा निर्माण भएका विद्यालयको भौतिक संरचना कमजोर हुँदा भूकम्पले बढी क्षति पु¥याएको भन्दै उहाँले सरकारले अब बनाउने शैक्षिक संरचना भूकम्प प्रतिरोधी हुने बताउनुभयो । उहाँले भूकम्प अति प्रभावित १४ जिल्लामा विद्यालय भवन निर्माणको लागि सरकारले यस बर्ष ४ अर्ब रुपैयाँ छुट्याइएको जानकारी दिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केदारप्रसाद भण्डारीले विभिन्न दाताहरुको सहयोगमा विद्यालयमा ट्रस भवन बनेपछि पठनपाठन केही सहज भएको बताए । भवन अभावले विद्यालयका ७ वटा कक्षा अहिले पनि अस्थायी टहरामा संचालन भैरहेका भन्दै उहाँले त्यसप्रति ध्यानदिन शिक्षा मन्त्रीलाई आग्रह गरे । कार्यक्रममा केद्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख इमनारायण श्रेष्ठ, अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष गंगा बेल्बासे, विहेल्फ नेपालका सन्देश पौडेल, टुकी संघ सुनकोशीका अध्यक्ष कृष्ण थापा, चाइल्ड फण्ड जापानकी कोअर्डिनेटर आइलिन शान्तिआवो लगायतले बोलेका थिए । कार्यक्रममा विद्यालयका संस्थापक, विद्यालयलाई विभिन्न ढंगले सहयोग गर्ने संघसंस्थाका प्रतिनिधी र विभिन्न खेलकूद प्रतियोगितामा बिजयी हुने विद्यार्थीहरुलाई शिक्षा मन्त्री पौडेलले नगद र प्रमाण पत्र सहित सम्मान गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले देशभक्तिपूर्ण गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
जेठमा स्थानीय, मंसिरमा प्रदेश र केन्द्रीय चुनाव गर्ने सरकारको तयारी
काठमाडौं, पुस २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल ‘बलदेब’ले जेठको दोस्रो हप्ताभित्रै चुनाव गर्नेगरि सरकारले दश दिनभित्र चुनावको मिति घोषणा गर्ने खुलासा गरेका छन्। बिहीबार रिपोट्र्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले चुनावको मिति घोषणा गरेर संशोधन प्रस्ताव पारित गराउने बताए । उनले भने–‘आजको दश दिनभित्र हामी चुनावको मिति घोषणा गर्छौं, त्यसपछि संशोधन विद्येयकलाई पारित गरेर अघि बढ्छौं, राजनीतिक जटिलता संसदमा टेबुल भएको विद्येयक पारित भएपछिमात्रै हल हुन्छ।’ सकेसम्म जेठको पहिलो हप्ताभित्रै चुनाव गर्ने सरकारको तयारी रहेको जानकारी दिए । खनालले जेठसम्म स्थानीय तहको चुनाव गर्ने र मंसिरसम्म दुई वटा निकायको चुनाव एकचौटि गर्ने गरी सरकारले तयारी गरेको बताए । उनले भने–‘सरकारले संशोधन विद्येयक पारित गराएर मात्रै चुनावी प्रक्रियामा जान्छौं, सरकार अब छिट्टै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा छ, अब सबै चुनावमा केन्द्रित हुनुपर्छ।’ उनले स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन सरकारले बुझिसकेको उल्लेख गर्दै प्रतिवेदनलाई लिएर केही झिनामसिना मतभेद भएपनि त्यसलाई दलीय सहमतिमा टुँगो लगाएर नयाँ पूर्नसंरचनासहित चुनावमा जानुपर्नेमा जोड दिए। संविधान कार्यान्वयन गर्ने सरकारको प्रमुख दायित्व रहेकोले त्यसको लागिपनि निर्धारित मितिभित्रै तीन वटै निकायको चुनाव गर्ने कुरामा सरकार लागिपरिरहेको उनले बताए। उनले भने-‘आगामी ०७४ माघ ७ गतेभित्रै तीनवटै निकायको चुनाव गरेर मुलुकलाई अब आर्थिक समृद्धिको बाटोमा लैजानुपर्छ, सरकार अहिले त्यतातिर गम्भिर भएर लागिपरिरहेको छ।’
राष्ट्रहित विरुद्धका प्रस्ताव पारित हुन दिइने छैन–ओली
काठमाडौं, पुस २२ । एमालेको अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रहीत विरुद्धका कुनैपनि प्रस्ताव पारित हुन नदिने बताएका छन् । संसदमा पेश भएको संविधान संशोधनको विरोधमा सत्ता विपक्षी नौ दलले राजधानीमा आयोजना गरेको बृहत आमसभामा बोल्दै विपक्षी गठबन्धनका नेता समेत रहेका ओलीले काठमाडौका जनता जागिसकेको भन्दै कुनै हालतमा पनि राष्ट्रहीतको प्रस्तावमा एमालेले सहयोग नगर्ने बताएका हुन् । ‘काठमाडौं उपत्यका र राजधानीमा जागेको यो जागरणलाई देशव्यापी बनाउँछौं । राष्ट्रहितलाई तलमाथि हुन दिँदेनौं । संसदमा यो हैसियतसहित एमाले छ’ उनले भने, ‘हामी राष्ट्रियहितविपरीतको संशोधन प्रस्ताव पारित हुन दिँदैनौं ।’ ओलीले वर्तमान सरकाले संवैधानिक संकट ल्याउन चाहेको आरोप लगाए । शक्ति प्रदर्शन कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अनुचित उद्देश्यले निर्माण भएको सरकार अनुचित कार्यतिर नै लाग्दैछ । अहिलेको अवस्था भनेको निर्वाचनमा लागेर देशलाई निकास दिनुपर्ने हो, तर सरकार संवैधानिक संकट ल्याउन चाहन्छ ।’ मधेसी मोर्चाप्रति अाक्रामक देखिएका अोलीले संविधान जलाउनेको लागि कुनैपनि हालतमा सहमति जनाउन नसकिने स्पष्ट पारे । हिजो संविधान जलाउने च्यात्नेहरुले नै आज संशोधन नगरी निर्वाचन हुन नदिने भन्दै देशमा संकट पैदा गर्न गम्भीर षडयन्त्र गरेको आरोप लगाए । उनले जुवाडेले पत्ता खेलेर सम्पत्ति जिते जस्तै संविधान संशोधनलाई अघि सारेर राष्ट्रिय आघात पार्ने काम भएको पनि बताए । ‘जुवाडेले कौडी फाल्छ, तासका पत्ती फाल्छ जित्यो भने कौडी र पत्ति बोकेर जाँदैन, सम्पत्ति बोकेर जान्छ,’ ओलीले भने, ‘अहिले सरकारले त्यस्तै संशोधनमार्फत् त्यस्तै पत्ति फालेको हो त्यसमा नेपालमा अस्थीरता सिलसिला चलाउने आशय रहेको छ।’ अहिले निर्वाचन गराएर देशलाई निकास दिनुपर्नेमा उनले जोड दिए । अोलीले निर्वाचन गराउने बेलामा सरकार चुनाव गराउन पछि हटेको बताए । उनले २०७४ माघ भित्रमा तीनवटा चुनाव नभए देश संवैधानिक संकटमा फस्न लागेकोमा सरकार संशोधनतिर लागेको भनेर असन्तुष्टी जनाए । अोलीले संविधान कार्यान्वयन नगरेर सरकार किन संशोधनतिर लागेको बुझ्न नसकेको बताए । मधेसमा एकलौटी नतिजा ओलीले मधेशमा अर्को चुनावमा एकलौटी नतिजा ल्याउने दावी गरेका छन् । आगामी फागुन दोस्रो सातादेखि मेची–काली अभियानमा नेकपा एमाले जाने घोषणा गरेका छन् । उनले तराईवासीलाई कमजोर नसोच्न चेतावनी दिँदै अब आफ्नो पार्टीले तराईका जनताको बोली बोल्ने उद्घोष गरेका छन् । ‘त्यतिबेला आम सभाको फोटो ड्रोनबाट होइन हेलिकोप्टरबाट खिच्नुपर्छ,’ उनले भने। ओलीले भने- उपत्यका जागेको छ देश जागेको छ तसर्थ राष्टघातीहरु पराजित हुने निश्चित छ । संविधान संशोधन प्रस्ताव संसदमा गएमा तासका पत्ति खेल्दा हार जित हुंदा तासका पत्ति कसैले पनि लैजादैन तर सम्पत्तिको हार जित हुन्छ । त्यस्तै संविधान संशोधन प्रस्ताव पास भएमा देश विखण्डन हुने ओलीको चेतावनी थियो । संविधान संशोधन विहान आएको ज्वाईले बेलुकी झण्डा हल्लाउदै फर्कने जस्तो राष्ट्रघाती परिस्थिति निर्माणका लागि गर्न लागेको उहाँको आरोप छ । संविधान जारी भएपनि कार्यान्वयन नभएके र अहिले संविधानले तय गरेका संरचना र निकाय गठन गर्न आवश्यक भएपनि सरकार उदासिन भएको उहाँको भनाई छ । त्यसको लागि निर्वाचन आवश्यक भएपनि सरकारको ध्यान त्यता जान नसकेको उहाँको आरोप छ । २०७४ माघ ७ सम्म निर्वाचन नभए प्रधानमन्त्री पद जाने पनि उहाँको भनाई छ । मधेसको कुरालाई अघि सार्दै राष्ट्रिय भाषा मैथली, भोजपुरीको ठाउँमा हिन्दी भाषा ल्याउन खोजेको आरोपसमेत उनले लगाए ।
सन् २०१६ मा मन्त्रीस्तरीय पदाधिकारी सहित चार लाख भन्दाबढी चिनियाँमाथि कारवाही
बेइजिङ् (चीन),पुस २२। विभिन्न पदमा रहेर अनुशासनबिहीन तथा पार्टीको आचारसंहिताअनुसार काम नगर्ने र अन्य अनियमिता गरेबापत चार लाख १५ हजार चिनियाँ विरुद्ध अनुशासनको कारवाही चलाएको चिनियाँ कम्युनिष्ट पार्टीको उच्च अनुशासन समितिले बिहीबार जनाएको छ । यसरी कारवाही हुनेमा विभिन्न तहमा कार्यरत चिनियाँ कर्मचारी र ७६ जना प्रान्तीय तथा मन्त्रीस्तरीय पदाधिकारी समेत रहेका छन् भने दुई लाख ५६ हजार ग्रामिण तथा विभिन्न सङ्घसंस्थासँग आवद्धता रहेका पदाधिकारी तथा सदस्य रहेको पार्टीको केन्द्रीय अनुशासन छानविन आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चिनियाँ समाजमा भ्रष्टाचार र अनियमिताले व्यापकता पाएको भन्ने गुनासो राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरबाट व्यक्त भएपछि पार्टीले सन् २०१२ देखि भ्रष्टाचार, फजुलखर्च, नकारात्मक गतिविधि र अनुशासन उल्लङ्घनका गतिविधिलाई अभियानकै रुपमा छानविन सुरु गरेको जनाएको छ । रासस
दृष्टिविहीन भएर पनि बाख्रापालन व्यवसाय !
भीमदत्तनगर, पुस १९ । कञ्चनपुरको बेलौरी नगरपालिका–७ रामनगरका अति विपन्न परिवारका ५१ वर्षीय जीतबहादुर चौधरी जन्मदेखि नै दृष्टिविहीन हुन् । संसार देख्न नपाएका चौधरीले यतिबेला बेलौरी नगरपालिकामा बाख्रापालन व्यवसाय गर्दै आएको छ । जीतबहादुरले रामनगरस्थित हिमचुली बाख्रापालन समूहमा आबद्ध भएर बाख्रापालन गर्दै आएका छन् । ‘दिनभर बाख्राखोरमै काम गर्छु,’ उनले भने– “बाख्राका लागि डोरी बनाउनेदेखि घाँसपातको व्यवस्थापनमा समय खर्चिन्छु ।’ गाउँमा रहेको सामुदायिक वनले चौधरीलाई बासका लागि टहरा बनाउन जग्गा उपलब्ध गराएको छ । ‘सम्पत्तिका नाउँमा सामुदायिक वनले टहरा बनाउन दिएको जग्गा मात्रै हो,’ चौधरीले भने– ‘बाख्रापालनबाट आम्दानी गर्न सकिन्छ कि भनेर समूहमा आवद्ध भएको छु ।’ चोधरी दम्पती शारिरीक रुपले अशक्त भएका कारण विगतमा गाउँमा मजदुरी गरेरै परिवारको लालनपालन गर्दै आएका छन् । उक्त समुहले १७५ वटा बाख्राबाट बाख्रापालन सुरु गरेको हो । समुहमा आवद्ध प्रायः आदिवासी र विपन्न परिवारका छन् । हिमचुली बाख्रापालन समुहका अध्यक्ष हरिदास चौधरीका अनुसार दृष्टिविहीन जीतबहादुर निकै सक्रिय रुपमा बाख्रापालनमा संलग्न रहेको बताए । उनका दुई छोरी र एक छोरा छन् । जेठी छोरीले गाउँमै सामान्य किराना पसल सञ्चालन गरेको छ । दुई छोरा छोरी गाउँकै सरकारी स्कूलमा पढ्दै आएका छन्। शुक्लाफाँटा आरक्षबाट विस्थापित भएर उनीहरु रामनगर पुगेका हुन् । आरक्षका कारण विस्थापित भएपछि सरकारले दिएको दश कठ्ठा जग्गामा चौधरीका पाँच दाजुभाई बस्दै आएको छ । लामो समयसम्म गाउँलेले चौधरीलाई खाद्यान्न उपलब्ध गराएका थिए । ‘खान लगाउनै समस्या छ, छोरीले पसल संञ्चालन गरेपछि सामान्य घरखर्च जुटेको छ,’ उनले भने । दुवैजना अपाङ्ग भएकै कारण सरकारले मासिक रु तीन–तीन सय भत्ता उपलब्ध गराउँदै आएको छ ।
मौसमविद् भन्छन्- आज दिनभर पानी पर्न सक्छ
काठमाडौं, पुस १७ । विहानैदेखि धुम्मिएको काठमाडौंमा आज दिनभर पानी पर्नसक्ने मौसमविद्ले जनाएका छन् । काठमाडौं उपत्यकालगायत आसपासका पहाडी जिल्लाहरुमा अहिले मध्यान्हदेखि फाट्फुट्ट पानी परिहरहेको छ । हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । शनिबारदेखि हिमाली जिल्ला ताप्लेजुङ, जुम्ला, रसुवा, दोलखालगायत उच्च पहाडी र हिमाली भेगमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । दोलखाको च्योर्दुङ डाँडामा हिउँ पर्दा पटासे, ठूलोढुङ्गा, काप्ती, हुनुमान्तेलगायत क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
ओलीलाई देउवाको कडा प्रश्न–‘हिजो सहमति गाँजा, रक्सी खाएर गरेको हो ?’
बागलुङ, पुस १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग पहिले नै सहमति गरेर संविधान संशोधन प्रस्ताव ल्याएकोले विरोध गर्नुको कुनै कारण नभएको बताएका छन् । शनिबार नेपाली कांग्रेस क्षत्रीय समिति बागलुङले ४१ औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको आमसभामा बोल्दै उनले प्रतिपक्षी दलले लगातार संसद अवरुद्ध गर्दै आइरहेकोमा आपत्ति जनाए । एमालेले झुटा कुरा गरेर देश विभाजन गर्ने षड्यन्त्र गरिरहेको देउवाले आरोप लगाए । एमाले अध्यक्ष केपी ओलीलाई उनले हिजो सम्झौता के खाएर गरेको भनेर प्रश्न गरे । ‘कि गाँजा, रक्सी खाएर सहिछाप गरेको हुँ भन्नुपर्यो, होइन भने आफैले सहमति गरेको प्रस्ताव मान्नुपर्यो ।’ संविधान संशोधनमाथिको छलफल गर्न संसद रोक्नु संसदीय मर्यादा विपरित भएको उल्लेख गर्दै देउवाले पूर्व पार्टी सभापति सुशिल कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच पहिले भएको सहमतिकै बिषय संशोधन प्रस्तावमा ल्याइएकोले विरोध गर्नुको तुक नभएको बताए । बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति ४१ वर्षपछि पनि उत्तिकै सान्दर्भिक र जरुरी भएको देउवाले बताए । कांग्रेसले सदैव मेलमिलापको नीतिमा देशको महत्वपूर्ण परिवर्तनमा नेतृत्व गरिरहेको स्मरण गर्दै मेलमिलाप नीति छोडे कि देश एक्लिने कि कांग्रेस एक्लिने भएकाले बिपिकै मेलमिलापको नीतिमा देश र कांग्रेस अघि बढ्ने उनले बताए । अबको १३ महिना भित्रमा तिनै तहको निर्वाचन गर्नुपर्ने बाध्यता रहेको भन्दै अब प्रतिपक्षलाई बखेडा झिक्न बन्द गरेर संसद खुल्ला गर्न आग्रहसमेत गरे । पाँच नम्बर प्रदेश टुक्राउने, चार नम्बर प्रदेश मिलाउने लगायतका बिषयमा समझदारी गरिएको आधारमा संशोधन प्रस्ताव ल्याइएकाले यसलाई पारित गर्न एमालेले समर्थन गर्नुपर्ने उनको भनाई थियो । एमालेकै सहयोगमा संविधान संशोधन प्रस्ताव पास भएरै छाड्ने उनको दावी थियो । देउवाले एमालेलगायतको केही दल संशोधन प्रस्तावको विपक्षमा देखिए पनि पास गरेर छाड्ने बताए ।
लोकमानलाई कालोमोसो दल्ने सर्वोच्चको फन्दामा, अदालतको अपहेलना गरेकोमा बयान लिइने
काठमाडौं, पौष १३ । सर्वोच्च अदालतमा बयानका लागि उपस्थित हुने क्रममा गत पुस ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने विप्लव कार्यकर्तालाई अदालतले बोलाएको छ । विप्लव कार्यकर्ताहरुले इजलासमा बयानका लागि जाने क्रममा पछाडिबाट लोकमानसिंह कार्कीलाई कालो मोसो दलेका थिए । प्रहरीले विप्लव माओवादीका दुई जनालाई तत्काल नियन्त्रणमा लिएको थियो । लोकमान सिंह कार्कीले भने घटनाको भोलीपल्ट कालोमोसो दल्ने दुबै जना कसैबाट परिचालित भएकोले छोडिदिन भनेका थिए । सर्वोच्च अदालतले भने अदालत परिसरमा अदालती कारवाहीको क्रममा भएको व्यवहार अदालतको अपहेलना भएको भन्दै दुबैलाई बयानका लागि अदालतमा उपस्थित गराउन आदेश दिएको छ । लोकमानले आफूमाथि कालोमोसोको घटनाबारे कार्वाहीको माग नगरेपनि अदालतको अवहेलनाको मुद्दामा दुबै जनामाथि कानुनी कारवाही हुनसक्ने देखिएको छ ।
घुस खाएको आरोपमा प्रहरी जवान निलम्बित
बनेपा, पुस १३। काभ्रेपलाञ्चोकमा एक प्रहरी जवान निलम्बनमा परेका छन् । केही दिनअघि काममा खटिएका बेला एक प्रहरीले बिपी राजमार्ग हुँदै चल्ने टाटासुमोसँग दुई हजार रुपैयाँ घुस खाएको आरोपमा उनलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार घुस नदिएका कारण ती प्रहरी जवानले सुमोलाई अघि बढ्न नदिएपछि रु दुई हजार घुस दिएका थिए । तर पुनः फर्केर सुमोका चालकले आफूले दिएको दुई हजार रुपैयाँ फिर्ता मागेपछि किन दिने रु भनेर जवाफ फर्काएपछि प्रहरी उपरीक्षक सहकुल थापाले उनलाई पक्राउ गर्न निर्देशन दिएका थिए । सो घटनामा काभ्रेभञ्ज्याङ प्रहरी चौकीमा कार्यरत ऋषिदेव कुशहवालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । रामेछापको मन्थली जान हिँडेको सो सुमोमा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुल थापा अनुगमनका लागि सवार थिए। प्रहरी उपरीक्षक थापाले सो घटना भएको स्वीकार गर्दैै विभागीय कारबाही हुने बताए । रासस
‘माले, मसाले र मण्डले एकै ठाउँमा– मन्त्री बुढाथोकी
भक्तपुर, १२ पुस । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले सत्ता पक्ष र प्रतिपक्षबीचको द्वन्द्वले देश गम्भीर सङ्कटमा परेको बताउनुभएको छ । आज राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ भक्तपुरको प्रथम साधारण सभामा उहाँले भन्नुभयो– “अहिलेको अवस्थामा सत्ता पक्ष र प्रतिपक्ष मिलेर संविधान कार्यान्वयनमा नगए देशले अनिष्ट भोग्नुपर्दछ ।” मन्त्री बुढाथोकीले “यतिखेर माले, मसाले र मण्डले एकै ठाउँमा उभिएका छन्, यो निकै चिन्ता मान्ने बेला हो, यसवाट हामी सचेत हुनुपर्दछ” भन्दै जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत हुन नदिन र संविधान कार्यान्वयन हुन नदिन अहिले विभिन्न शक्ति केन्द्र सक्रिय रहेको बताउनुभयो । अहिले ‘माओवादी केन्द्र’ बाहेकका सबै कम्युनिस्ट एमालेको नेतृत्वमा एकै ठाउँमा आएर संसद् रोकी संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र गरिहेको आरोप लगाउँदै उहाँले एमाले विधिको शासनबाट भाग्न खोजेको टिप्पणी गर्नुभयो । मन्त्री बुढाथोकीले “संविधान संशोधन प्रस्ताव मतदानमै जान नदिने, यो विधिको शासनबाट एमाले भाग्दैछ, मतदानमै गएर यसलाई टुङ्गोमा पु¥याउनुपर्छ” भन्दै एमालेकै कारण संविधान कार्यान्वयन र निर्वाचन हुन नदिन एमालेले षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो । कार्यक्रममा सांसदद्धय शिवबहादुर खड्का र रामेश्वर ढुङ्गेल, काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले संसद् खुलाएर देशलाई अगाडी बढाउन ठूला दल मिल्नुपर्नेमा जोड दिनुभयो । सङ्घका भक्तपुर अध्यक्ष सुरेश राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष विनोद कायस्थ, नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष खिलनाथ दाहाल, काँग्रेसका नेता गणेशमान चक्रधर, मदनकृष्ण श्रेष्ठ, विकास थापालगायतले अपाङ्लाई शिक्षा, रोजगारीलगायत हरेक क्षेत्रमा समान अवसरको व्यवस्था गर्नुपर्ने र अपाङ्ग मैत्री भवन निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
सातौं राष्ट्रिय खेलकुदः नेपाली सेना १२१ पदकसहित अग्रस्थानमा
सुनसरी, पुस १२ । पूर्वाञ्चलमा जारी सातौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबारसम्म सम्पन्न खेलमा एक सय ३४ स्वर्ण, एक सय ३४ रजत तथा एक सय ९७ कास्यसहित कुल चार सय ६४५ पदकको छिनोफानो भइसकेको छ । हालसम्म नेपाली सेनाले ६५ स्वर्ण, ३५ रजत तथा २१ कास्य पदकसहित एक सय २१ पदक प्राप्त गर्दै अग्रस्थानमा रहेको छ । यस्तै नेपाल प्रहरी २४ स्वर्ण, २२ रजत र २५ कास्यसहित ७१ पदकका साथ दोस्रो तथा सशस्त्र प्रहरी १८–८ स्वर्ण र रजत तथा २९ कास्यसहित ६५ पदकले तेस्रो स्थानमा छ । बास्केटबल बास्केट बल महिलातर्फका प्रतिस्पर्धामा मध्यमाञ्चल विजेता बनेको छ । धरानमा सोमबार सम्पन्न फाइनलमा मध्यमाञ्चलले विभागीय टोल नेपाली सेनालाई ४०–२७ अङ्कले पराजित ग¥यो । मध्यमाञ्चलका लागि एलिना गुरुङले १३ अङ्क जोडिन् । यस्तै मध्यपिश्चमाञ्चलले पूर्वाञ्चललाई ३४–७ अङ्कले हराउँदै कास्य पदक पायो । पुरुषतर्फ मध्यमाञ्चल पूर्वाञ्चललाई ६२–५८ तथा पश्चिमाञ्चल मध्यपश्चिमाञ्चललाई १०६–५४ अङ्कले हराउँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । कराँतेमा मुकुन्द्रद्वारा ह्याट्रिक सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले राष्ट्रिय खेलकुद प्रतियोगितामा लगातार तीन स्वर्ण जित्दै सोमबार ह्याट्रिक गर्नुभएको छ । उहाँले सोमबार कराँतेको ६७ किलो तौलमा स्वर्ण पदक जित्नुभएको हो । मुकुन्द्रले यसअघि पाँचौँ र छैटाैँ राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको थियो । सो प्रतिस्पर्धामा सुदूरपश्चिमका मोहमद शेखु आलमले रजत तथा नेपाल प्रहरीका भूपेन्द्र खड्का र मध्यमाञ्चलका विशाल पौडेलले कास्य पदक जिते । कराँतेकै पुरुष ६० किलो तौलमा नेपाल प्रहरीका रवीन्द्र कार्कीले स्वर्ण, एपिएफका मोहन कार्कीले रजत तथा मध्यमाञ्चलका राजकुमार रसैली र मध्यपश्चिमका प्रकाश घर्ती मगरले कास्य पदक पाए । पचहत्तर किलोमा सेनाका सुभाष घतानेले स्वर्ण, प्रहरीका गङ्गाराम कसुवारले रजत तथा एपिएफका वीरबहादुर रनेली र पूर्वाञ्चलका सन्त राईले कास्य पदक जिते । यस्तै पुरुष ८४ किलोमुनिको तौलमा प्रहरीका दिवस श्रेष्ठले स्वर्ण, पश्चिमाञ्चलका सुनित घर्ती मगरले रजत तथा पूर्वाञ्चलका ईश्वर माझी र सशस्त्रका भीमबहादुर तामाङले कास्य पदक पाएका छन् । यसैगरी महिलातर्फ ५० किलो तौलमा सशस्त्रका अनु अधिकारीले स्वर्ण, सेनाका मिस्ली श्रेष्ठले रजत तथा पूर्वाञ्चलका जीना सुब्बा र मध्यपश्चिमका मुस्कान शाहीले कास्य पदक जित्नुभयो । पचपन्न किलो तौलमा सशस्त्रका मनिषा चौधरीले स्वर्ण, पूर्वाञ्चलका रमिता थापाले रजत तथा पश्चिमाञ्चलका पूजा दर्नाल र प्रहरीका मलिका थापाले कास्य पदकमा चित्त बुझाए । यस्तै ६१ किलोमा सशस्त्रका सपना लामालाई स्वर्ण, प्रहरीका सुनिता महर्जनलाई रजत तथा पश्चिमाञ्चलका अनु गुरुङ र मध्यपश्चिमका प्रतीक्षा बिसीलाई कास्य पदक प्राप्त भयो । अठ्सठ्ठी किलोमुनिको तौलमा प्रहरीका विभूषा थापाले स्वर्ण, प्रहरीकै अनुपमा थापाले रजत तथा पूर्वाञ्चलका मिसदोना राई र मध्यमाञ्चलका पूजा खनालले कास्य जिते । अठसठ्ठी किलोमा सशस्त्र प्रहरीका कल्पना बस्नेतले स्वर्ण, सेनाका रीता कार्कीले रजत तथा मध्यमाञ्चलका रोजिता रञ्जित र प्रहरीका मनिता मोक्तानले कास्य पदक जिते । कराँतेतर्फ १७ स्वर्ण पदकका लागि भएको खेलमा सशस्त्र प्रहरीले आठ, नेपाली सेनाले पाँच तथा नेपाल प्रहरीले चारस्वर्ण पदक प्राप्त गरेका छन् । सेपाकताक्रोे सेपाकताक्रो खेलमा सोमबार महिला डबल्सतर्फ पश्चिमाञ्चले स्वर्ण जितेको छ । धरानमा सम्पन्न फाइनलमा उसले सेनालाई २१– १२ र २१–१२ ले लगातार पराजित गरेको हो । मध्यमाञ्चलले कास्य पदक लियो । पुरुष टिम इभेन्टस्मा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चलसँग तथा सेनाले सुदूरपश्चिमाञ्चलसंँग फाइनल प्रवेशका लागि आज प्रतिस्पर्धा गर्नेछन् । फुटबल पुरुष फुटबलमा नेपाल प्रहरी र मध्यमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ख’ बाट प्रहरी विजेता तथा मध्यमाञ्चल उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् । धरानमा सोमबार पूर्वाञ्चलले पश्चिमाञ्चललाई ३– १ गोलले हराएपछि प्रहरी हेड ‘टु’ हेडका आधारमा समूह विजेता हुँदै सेमिफाइनल पुग्न सफल भएको हो । आज सशस्त्र प्रहरी र नेपाली सेनाबीच तथा सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलकाबीच खेल हुनेछ । बुद्धिचाल धनकुटामा जारी बुद्धिचाल प्रतियोगितामा नेपाली सेनाका भूपेन्द्र निरौला र मध्यमाञ्चलका मदनकृष्ण कायस्थले अग्रता बनाएका छन् । प्रतियोगिताअन्तर्गत सोमबार चौथो तथा पाँचौँ चरणका खेल सम्पन्न भएका छन् । भूपेन्द्रले चौथो चरणमा मध्यमाञ्चलका आशिष फुयाँललाई तथा पाँचौँंमा पूर्वाञ्चलका परशुराम राईलाई पराजित गर्नुभयो । यस्तै चौथो चरणमा मध्माञ्चलका रिजेन्द्र राजभण्डारीलाई पराजित गर्नुभएका मदनले पाँचौँं चरणमा सेनाका केशव श्रेष्ठमाथि जित हासिल गर्नुभयो । पाँचौँ चरणको खेल सकिँदासम्म भूपेन्द्र र मदनको समान ४ दशमलब ५ अङ्क छ । यस्तै सेनाका हिमाल लामाको चार अङ्क भएको छ । हिमालले चौथो चरणमा पूर्वाञ्चलका प्रकाश नेपाल तथा पाँचौँ चरणमा पूर्वाञ्चलकै सिङ्गेश्वर दासलाई पराजित गरे । सेनाका केशव श्रेष्ठ तथा सजिन महर्जन, मध्यमाञ्चलका क्षितिज भण्डारी, रिजेन्द्र राजभण्डारी र नवीन तण्डुकार तथा पूर्वाञ्चलका परशुराम राईको समान ३ दशमलब ५ अङ्क छ । यस्तै सशस्त्रका सुमित पन्त, मध्यमाञ्चलका आशिष फुयाँल, सुरज पण्डित र राजीव कार्की, पूर्वाञ्चलका प्रकाश नेपाल, सिङ्गेश्वर दास र सुमन श्रेष्ठ तथा सुदूरपश्चिमाञ्चलका प्रकाश ओझा र मोहनप्रसाद भट्टको समान तीन तीन अङ्क रहेको छ । महिलातर्फ सेनाका सिन्दिरा जोशी र मोनालिसा खम्बुको समान ४ दशमलव ५ अङ्क छ । सिन्दिरा र मोनालिसाबीच पाचौँं चरणको खेल बराबरीमा टुङ्गिएको छ । सशस्त्र प्रहरीका शान्ता थापा, मध्यमाञ्चलका पूर्णिमा जयसवाल र पूर्वाञ्चलका खुस्बु थापाका समान चार अङ्क छ । सेनाका सुजना लोहनी र सुरुचि थिङ, मध्यमाञ्चलका सविना श्रेष्ठ र बिना जयसवाल, पूर्वाञ्चलका कृपा अधिकारी र आश्मा थापा तथा पश्चिमाञ्चलका अञ्जु शर्माका समान तीन अङ्क रहेको छ । यस्तै पूर्वाञ्चलका सुशीला गुरुङ र पश्चिमाञ्चलका नमन सेढाईंको समान २ दशमलव ५ अङ्क छ । प्रतियोगिताअन्तर्गत आज छैटौँ र सातौं चरणका खेल हुनेछन् । एथलेटिक्स एथलेटिक्सको दुई सय मि दौडको पुरुषतर्फ मध्यपश्चिमाञ्चलका यामसाजन सुनार र महिलातर्फ नेपाली सेनाका कृष्णा चौधरीले सोमबार स्वर्ण जितेका छन् । यसअघि दुवैले एक सय मि दौडमा समेत स्वर्ण पदक जितेका थिए । सुनसरीको इटहरी रङ्गशालामा सम्पन्न खेलमा सुनारले निर्धारित दूरी २१.७० सेकेन्ड तथा कृष्णाले २६.९० सेकेन्डमा पूरा गरे । यस्तै महिला आठ सय मि दौडमा सेनाका सरस्वती भट्टराईले दुई मिनेट १९.४२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण जित्नुभयो । महिला ४०० मि हर्डल्समा सेनाका दुर्गा देवकोटाले एक मिनेट १०.०२ सेकेन्ड समय खर्चेर स्वर्ण जिते । महिला ट्रिपल जम्पमा प्रहरीका केशरी चौधरीले ११.६७ मिटर जम्प गर्दै स्वर्ण पदक हात पार्नुभयो भने पुरुषतर्फ सेनाका डिल्ली खत्रीले १४.०४ मि जम्प गर्दै स्वर्ण जित्नुभयो । डिस्कस थ्रोको पुरुषतर्फ सेनाका विनोद राई तथा महिलातर्फ सेनाका अमृता महतोले स्वर्ण जितिन । टेबल टेनिस टेबल टेनिसतर्फ मिक्स डबल्समा नेपाल प्रहरीका दीप साउन र नवीता श्रेष्ठको जोडीले आफ्नै टोलीका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीलाई ११–८, ११–५ र ११–४ अङ्कले पराजित गर्दै स्वर्ण पदक जित्यो । यस्तै सशस्त्रका पुरुषोत्तम वज्राचार्य र सोनु थापा मगर तथा सेनाका कृष्ण थापा मगर र रोविना महर्जनको जोडीले कास्यमा चित्त बुझायो । भारोत्तोलनमा कमला र कमल राजविराजमा जारी भारोत्तोलनको महिला ५८ किलोमा सेनाका कमला श्रेष्ठ र पुरुषको ८५ किलोमा कमलबहादुर अधिकारीले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । कमलाले स्न्याचमा ६६ किलो र क्लिन एन्ड जर्कमा ७९ किलो भार उठाउँदै तीनै स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गर्नुभयो । स्न्याचमा कमलाले झन्ट कटवालले २०६२ सालमा बनाएको ६५ किलोको कीर्तिमान भङ्ग गर्नुभयो । त्यस्तै कुलमा पनि कमलाले झन्टले नै बनाएको १४२ किलोको कीर्तिमान तोडे । क्लिन एन्ड जर्कमा उहाँले २०६८ सालमा उत्तम खत्रीले वीरगन्जमा बनाएको ७८ किलोको कीर्तिमान तोडेका हुन् । १० अौं सागका स्वर्णधारी कमलले क्लिन एन्ड जर्कमा १५५ किलो भार उठाउँदै श्रीलङ्कामा भएको १० आैँ सागमा ज्ञानबहादुर श्रेष्ठले स्थापित गरेको १५४ किलोको कीर्तिमान तोडे । उहाँले स्न्याचमा १०५ किलोसहित २६० किलो भार उचाले। पुरुषतर्फ ६९ किलोमा मध्यपश्चिमाञ्चलका प्रकाश केसीले स्न्याचमा ९६ र क्लिन एन्ड जर्कमा १२५ किलो भार उचाले । यस्तै पुरुष ७७ किलोको स्न्याचमा ८५ किलो र क्लिन एन्ड जर्कमा १२० किलो तौल उठाउँदै सेनाका सुरेन्द्र श्रेष्ठले स्वर्ण जिते । कबड्डी कबड्डी महिलातर्फ नेपाल प्रहरी, सेना, मध्यमाञ्चल र पश्चिमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरुषतर्फ सेना र सशस्त्रबीच तथा पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलबीच सेमिफाइनलमा आज भिडन्त हुनेछ । अहिलेसम्मको खेलको पदक तालिकाः टोली स्वर्ण रजत कास्य जम्मा नेपाली सेना ६५ -३५- २१ -१२१ नेपाल प्रहरी २४ -२२- २५ -७१ सशस्त्र प्रहरी १८ -१८ -२९ -६५ मध्यमाञ्चल १२- २४- ३०- ६६ पूर्वाञ्चल ४- ८- २४- ३६ पश्चिमाञ्चल ४- १६- १६- ३६ सुदूरपश्चिमाञ्चल २- ५- ३०- ३७ मध्यपश्चिमाञ्चल ५ -६ -२२- ३३ जम्मा – १३४- १३४- १९७- ४६५ रासस
जित्नेलाई दोहोरो पुरस्कार
धनगढी, पुस ११ । विराटनगरमा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमका तर्फबाट विजयी खेलाडीलाई दोहोरो पुरस्कार मिल्ने भएको छ । सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीलाई व्यक्तिगत रुपमा पनि नगद पुरस्कार प्रदान गर्ने राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्य एकिन्द्र कुँवरले घोषणा गरेका छन् । स्वर्ण पदक जित्नेलाई नगद रु १० हजार, रजत पदक जित्नेलाई नगद रु पाँच हजार र काँस्य पदक जित्नेलाई नगद रु तीन हजार पुरस्कार दिने केन्द्रीय सदस्य कुँवरले जानकारी दिए । खेलाडीको हौसला बढाउन र उत्प्रेरणा दिनका लागि आफूले व्यक्तिगत रुपमा नगद पुरस्कार दिने घोषणा गरेको कुँवरको भनाइ छ ।