प्रधानमन्त्री प्रचण्डले भने- लालसलाम कमरेड माओ !
काठमाडौं, पुस ११ । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले संसारभरीका राष्ट्रिय मुक्ति आन्दोलनका विश्वकै महान् पुरुष भन्दै उनको प्रशंसा गरेका छन् । १२३ औं माओ दिवसको अवसरमा आज विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वलाई राष्ट्रिय मुक्ति आन्दोलन गरेर समाज रुपान्तरण गर्ने उनलाई अभिवादन सहित लालसलाम गरेका छन् ।
‘आज २६ डिसेम्बर, २०१६ का दिन अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान् नेता एवम् विचारक क. माओत्से तुङको १२३औं जन्म दिन हो । उहाँको जन्म दिनलाई उत्सवका रुपमा मनाइरहेका संसारभरका श्रमजीवी जनसमुदायमा नेकपा माओवादी केन्द्र न्यानो अभिवादन गर्दछ । साथै कमरेड माओप्रति लाल सलाम व्यक्त गर्दछ ।’
माओले देखाएको बाटो आजसम्म पनि समाज विकासका लागि लागू भएको विज्ञप्तीमा जनाइएको छ ।
माओले दर्शनको क्षेत्रमा विकास गर्नुभएको एकता, संघर्ष र रुपान्तरणको नियम, दुईको एकमा समायोजन होइन, एकको दुईमा विभाजनको नियमको विस्तार, अर्थशास्त्रको क्षेत्रमा क्रान्तिलाई पक्र, उत्पादन बढाऊ भन्ने मान्यता, वैज्ञानिक समाजवादको क्षेत्रमा दिर्घकालीन जनयुद्धको रणनीति, नयाँजनवादी राज्य व्यवस्थाको मोडेल र सर्वहारा अधिनायकत्व अन्तरगत निरन्तर क्रान्तिको सिद्धान्त आदि माक्र्सवाद–लेनिनवादको विकासमा सार्वभौम योगदान थिए ।
प्रधानमन्त्रीले संविधान संशोधन मार्फत देशलाई एकतावद्ध गर्न आफू लागि परेको उल्लेख गरेका छन् ।
‘वर्तमान अवस्थामा संविधान संशोधनमार्फत् सम्पूर्ण देशलाई एकताबद्ध गर्नु, संविधान कार्यान्वयनको चुनौतिको सामना गर्दै अगाडि बढ्नु र प्राप्त उपलब्धीहरुको जगमा क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्न सम्पूर्ण नेता, कार्यकर्ता र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।’
बलात्कार र बेचबिखन आरोपमा दुई पक्राउ
इलाम, मङ्सिर २८ । दुई महिलालाई जबर्जस्ती करणीपछि बेचबिखन गर्न खोजेको आरोपमा इलामका तीनमध्ये दुईजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँखेजुङ–९ का ३५ वर्षीय निमतेन्जी शेर्पा र साँखेजुङ–४ की ३६ वर्षीया कमला राईलाई प्रहरीले पक्राउ गरेको छ । २० वर्षीया र २४ वर्षीया दुई महिलालाई जबर्जस्तीकरणी गरी मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा शेर्पा र राईलाई पक्राउ गरेको हो । जबर्जस्तीकरणी गरेको भन्दै मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । घटनामा संलग्न भनिएका अर्का व्यक्ति साँखेजुङका २५ वर्षीय चेवन दाहाल भने फरार रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुँडालले जानकारी दिए। रासस
लागुऔषधसहित पाँच पक्राउ
काठमाडौँ, मङ्सिर २८ । प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले सोमबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउपर्नेमा काठमाडौँका ४१ वर्षीया सुनिता परियार, झापा तोपगाछी घर भई हाल काठमाडौँ चाबहिल बस्ने २३ वर्षीय अनुप बराइली, काठमाडौँ महाङ्कालका २६ वर्षीय आर्दश तामाङ, काठमाडौँ घर भई ललितपुर गाबहाल बस्ने ३२ वर्षीय विष्णु रणपहेली र सिन्धुली घर भई हाल काठमाडौँ नारायणटार बस्ने ३० वर्षीय विजय तामाङ रहेका छन् । उनीहरुमध्ये सुनिता परियारको साथबाट प्रहरीले नाइट्रोभेट डाइजेपाम १०७ एम्पुल, ब्रप्रेनर्फिन १०७ एम्पुल र फेनागेन १०७ एम्पुलसमेत गरी जम्मा ३२१ एम्पुल लागुऔषधसहित नगद रु ४५ हजार बरामद गरिएको छ । त्यस्तै अनुप बराइलीको साथबाट डाइजेपाम ८६० एम्पुल, ब्रप्रेनर्फिन ८६० एम्पुल र फेनार्गन ८६० एम्पुलसमेत गरी जम्मा दुई हजार ५८० एम्पुल र खैरो हेरोइन एक ग्राम तथा विष्णु रणपहेली र आदर्श तामाङको साथबाट डाइजेपाम ८८ एम्पुल, ब्रप्रेनर्फिन ८८ एम्पुल र फेनार्गन ८८ एम्पुलसमेत गरी कुल १६४ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । विजय तामाङको साथबाट डाइजेपाम पाँच एम्पुल, बुप्रेनिर्फन पाँच एम्पुल र फेनार्गन पाँच एम्पुलसमेत जम्मा १५ एम्पुल बरामद गरिएको छ । अनुप बराइलीले उक्त लागु पदार्थ भारतबाट विराटनगर, वीरगन्ज तथा भैरहवा नाका हुँदै ओसारपसार तथा बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र उनलाई लागुऔषध (नियन्त्रण) ऐनबमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विभिन्न मितिमा पक्राउ गरिएका उनीहरुलाई आज ब्युरोले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । रासस
पूर्वमन्त्री पण्डित भन्छन्- दुई नम्बर प्रदेशको बारेमा पनि पुनर्विचार गर्नुपर्छ
नेपालगन्ज, मंसिर २६ । एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डितले दुई प्रदेश बनाउँदा विभेद गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । शनिवार नेपालगन्जमा प्रेस चौतारी बाँकेको पत्रकार भेटघाटमा उनले नेपालको राष्ट्रियता, सद्भाव, विकास र समृद्धिका लागि पहाड र तराई जोडिएका प्रदेश बनाउनुपर्ने बेलामा पहाडबाट तराई छुट्याए ‘राष्ट्रघात’ हुने बताए । ‘किस्ताबन्दी रुपमा एक मधेस एक प्रदेश बनाउन खोजिएको छ, त्यसका लागि छिमेकीका दुतावासभित्र छलफल भएका छन्,’ उनले दाबी गरे । तराई–मधेसलाई पहाडसँग जोड्नै हुन्न भन्नेहरु अतिवादी भएको उनको भनाइ थियो । उनले भने–‘छिमेकी मुलुक भारतमै पनि अधिकांश प्रदेशहरु पहाड र समतल भूभाग जोडिएरै बनेका छन् ।’ २ नम्बर प्रदेशमा पनि पहाडमा नजोडे समस्या आउने उनको भनाई थियो । दुई नम्बर प्रदेशमा उदयपुर, सिन्धुली र मकवानपुरका सके पुरै नभए पनि केही भाग जोड्न उनले माग गरे । संविधान कार्यान्वयन हुन नदिन केही स्वदेशी र केही विदेशी मित्रको दबाब थेग्न नसकेर सरकारले संशोधन प्रस्ताव ल्याएको उनले आरोप लगाए । ‘एमालेले यही रुपमा संशोधन स्वीकार्दैन’ पण्डितले भने, ुगैरसंवैधानिक प्रस्तावलाई संसदमा प्रवेश दिनु संविधानको खुट्टा भाँच्नु हो । त्यो संविधान असफल पार्ने खेल भएकैले एमालेले रोकेको छ ।’ वैवाहिक अंगीकृत नागरिकतामा नेपालजति उदार कुनै देश नभएको उनको भनाइ थियो । पण्डितले हिन्दी भाषालाई घुसाउने षड्यन्त्रलाई भने कुनै हालतमा सफल हुन नदिने बताए । भारतीय दुतावासभित्र मधेसी मोर्चाका नेताहरुको भेलाबारे असन्तुष्ट रहेका उनले भने–,‘हामीले कस्मिर समस्या, गोरखाल्याण्डबारे बोल्या छौं र ? हाम्रो आन्तरिक मामलामा छिमेकीले किन दबाब दिने ?’
कर्मकाण्ड गराउन समेत पाइन छाडे पुरोहित, स्थानीयवासी चिन्तित
म्याग्दी, मङ्सिर २६ । पाश्चात्य संस्कृतिसँगै आधुनिकतातर्फ सबैको आकर्षण बढ्दै जान थालेपछि संस्कृत शिक्षातर्फ उदासीनता बढ्नुका साथै म्याग्दीमा धार्मिक कर्मकाण्डका लागि पुरोहितको अभाव हुन थालेको छ । पुरोहितको अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेपछि स्थानीयवासी चिन्तित हुन थालेका छन् । संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचाइका साथ ब्राह्मणले पनि संस्कृत पढ्न छोडेपछि जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि ९पुरेत० ब्राह्मणको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन् । वेद, उपनिषद्, पुराण, रुद्रीलगायतका ग्रन्थलाई आधार मानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्यु पर्यन्त आवश्यक भए पनि पुरोहितको अभावमा समस्या उत्पन्न हुन थालेको बेनी नगरपालिका–४ का भीमबहादुर कार्कीले बताउनुभयो । “हिजोआज संस्कृत पढ्ने चलन नै हराउन थालिसक्यो”, कार्कीले भन्नुभयो – “संस्कृतको ज्ञान नभएका व्यक्तिले कर्मकाण्ड गराउन नसक्ने हुँदा न्वारन, विवाह र मृत्यु संस्कारजस्ता नगरिनहुने कर्म गर्न पनि समस्या हुन थालेको छ ।” संस्कृत शिक्षा हिन्दूहरुको जीवन पद्दद्धिसँग जोडिएको शिक्षा भए तापनि हिजोआज संस्कृतप्रति सबैको मोह घट्दै गएको पाइएको छ । संस्कृत पढेर सुनिश्चित भविष्य नहुने र कर्मकाण्ड व्यावसायिक पेसा अझै हुन नसकेकाले संस्कृतप्रति मानिसको उदासीनता बढेको हुन सक्ने म्याग्दी बहुमुखी क्याम्पसका नेपाली विषयका उपप्रध्यापक नारायणदत्त सुवेदीले बताउनुभयो । कर्मकाण्ड गर्ने बूढापाका ब्राह्मणको शेषपछि पुरोहितको अभाव सुरु हुन थालेको हो । अहिले म्याग्दीमा पुराणवाचन गर्ने पण्डितको सङ्ख्या दुई तीनभन्दा बढी नरहेको र कर्मकाण्ड गर्नेहरु पनि घट्दै गएको ब्राह्मण समाज म्याग्दीले जनाएको छ । रासस
चुनाव घोषणाको तयारीमा सरकार
काठमाडौं, मंसिर १९ । सरकारले संविधान संशोधन प्रक्रियाका लागि लामो समय नपर्खने भएको छ । प्रस्ताव पारित नभए पनि एक दुई दिनभित्रै चुनाव घोषणा गर्ने सरकारको तयारी छ । सदनमा पेश भएको संशोधन प्रस्ताव पारित हुने या नहुने अनिश्चिता बढिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘अब केही दिनभित्रै यो प्रक्रिया टुङ्ग्याउने’ निष्कर्षमा पुगेका हुन् । माओवादी उच्च तहका नेताका अनुसार सहमति भए नयाँ संरचना अनुसार स्थानीय तहको नभए पुरानै व्यवस्था अनुसार स्थानीय निकायको घोषणा हुनेछ । सदन र सडकमा प्रतिपक्षी नेकपा एमाले सहितका दलले विरोध गरिरहेको बेला संशोधनको पक्षमा रहने अपेक्षा गरिएको मधेसी दलले पनि प्रस्तावको पक्षमा खुलेर समर्थन नगरेपछि प्रधानमन्त्री प्रचण्डले ‘एक दुई दिनभित्रै यसलाई टुङ्गोमा पुर्याउने’ पहल गरिरहेका छन् । नेकपा माआवादीं केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले शनिबार पार्टी कार्यालय तथा पोलिटब्युरोको बैठकमा यही आशयको कुरा राखेकाे बैठकमा सहभागी एक पोलिट्ब्युरो सदस्यले जानकारी दिए । उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार पार्टी कार्यालय बैठकले प्रस्ताव पारित हुने या नहुने दुवै अवस्थामा चुनाव घोषणा गरेर नयाँ प्रक्रियामा जाने निर्णय गरेको बताए। ‘प्रस्ताव पारित गर्नका लागि मधेसी मोर्चाका नेतादलहरुसंग छलफल भइरहेको छ । प्रस्ताव पारित गरेर चुनावमा जानु नै अहिलेको उत्तम विकल्प हो,’श्रेष्ठले भने, ‘तर उहाँहरुले समर्थन गर्नुभएन भने यो प्रक्रिया अगाडि बढ्दैन । यदि त्यसो भयो भने पनि चुनावको घोषणा हुन्छ । ’ पोलिटब्युरो बैठकमा प्रचण्डले संविधान संशोधनमा सबैको सहमति जुटाउन सरकार प्रयत्नशील रहेको बताएका थिए । उनले प्रमुख प्रतिपक्षी र मधेसी मोर्चासँग सरकार निरन्तर संवादमा रहेको जानकारी दिँदै संविधान संशोधनमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेको बताएका थिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।
राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्दै
काठमाडौं । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेबाट सिंहदरबारमा बस्नेछ । संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्न लागेको हो । पहिलो बैठकले ६ महिनाभित्र संघीयता कार्यान्वयनमा तीन तहबीच देखिएका अस्पष्टता अन्त्य गर्नेलगायत ६ वटा निर्णय गरेको थियो ।
स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म विस्तार गरौं : प्रधानमन्त्री प्रचण्ड (सम्बोधनसहित)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम नागरिक स्वस्थ नभइकन विकास र समृद्धि सम्भव नहुने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सबै नेपाली नागरिकमा गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा आवश्यकता भएको बताएका हुन् । उनले भने , “स्वस्थ र निरोगी नागरिकहरूबाट नै मुलुकको आर्थिक र सामाजिक रूपान्तरण सम्भव हुन्छ ।” समुदायमा आधारित सेवा प्रवाह गर्नु प्रतिष्ठानको उत्तम पहल भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता कार्यक्रमलाई अन्य मिल्दोजुल्दो कार्यक्रमहरूलाई समेटेर अझ बढी सशक्त बनाएर अगाडि बढ्न निर्देशन दिए । उनले भने, “अन्य प्रतिष्ठान एवं शैक्षिक संस्थाहरूबाट पनि यस प्रकारको कार्यक्रम अगाडि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराउँछु ।” स्वास्थ्य क्षेत्रमा दिन प्रतिदिन नयाँ–नयाँ चुनौतीहरू देखा परिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भविष्यमा देखापर्ने स्वास्थ्यका चुनौतीहरूको व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्न र अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिनुपर्ने बताए। नेपाल अधिकांश भू–भाग ग्रामीण क्षेत्रले ओगटेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारको व्यवस्था मिलाउन दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित डाक्टर लगायतका स्वास्थ्यकर्मीहरू उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औंल्याए । उनले भने, “मानव विकास परिसूचकाङ्कमा पछि परेका तथा गुणस्तरीय स्वास्थ्य सेवामा कम पहुँच भएका नागरिकहरूलाई बढी लाभान्वित तुल्याउने गरी आफ्नो सेवामा सुधार ल्याउन प्रतिष्ठानलाई निर्देशित गर्दछु ।” यस्तो छ प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ) सबैभन्दा पहिला पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाह्रौं सभामा उपस्थित भई प्रतिष्ठानबारे जानकारी लिने एवं प्रतिष्ठानको नीति र निर्णयमा दिशानिर्देश गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गर्दछु । पाटन अस्पतालको सुदृढ जगमा स्थापित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा यससँग सम्बन्धित वैज्ञानिक अनुसन्धानहरू गरी समस्त स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान सह्रानीय छ । प्रतिष्ठानलाई आजको अवस्थासम्म ल्याउन सहयोग पु¥याउने सबै संघसंस्था, पदाधिकारी, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा धन्यवाद व्यक्त गर्दछु । आम नागरिक स्वस्थ नभइकन नेपालको विकास र समृद्धि सम्भव छैन । यसका लागि सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको पहुँच पुग्ने गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा आजको आवश्यकता हो । स्वस्थ र निरोगी नागरिकहरूबाट नै मुलुकको आर्थिक र सामाजिक रूपान्तरण सम्भव हुन्छ । प्रतिष्ठानका उपकुलपतिले आज पेश गर्नुभएको प्रतिष्ठानको वार्षिक विवरण सुन्दा प्रतिष्ठानले आफ्नो क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको प्रतीत हुन्छ । आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गई समुदायमा आधारित सेवा प्रवाह गर्नु अनुकरणीय पहल हो । प्रतिष्ठानलाई यस कार्यक्रममा अन्य मिल्दोजुल्दो कार्यक्रमहरूलाई समेटेर अझ बढी सशक्त बनाएर अगाडि बढ्न आग्रह गर्दछु । साथै अन्य प्रतिष्ठान एवं शैक्षिक संस्थाहरूबाट पनि यस प्रकारको कार्यक्रम अगाडि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराउँछु । यस प्रतिष्ठानले आम जनसमुदायलाई पुर्याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्दै लाने कुरामा म विश्वस्त छु । राष्ट्रिय स्वास्थ्य विमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवाप्रवाह गर्न भएको सम्झौता देशकै लागि नमुना कार्यक्रम बन्ने मैले विश्वास लिएको छु । यस कार्यका लागि यहाँ उपस्थित ललितपुर महानगरपालिका प्रमुख तथा प्रतिष्ठान परिवारमा बधाइ तथा शुभकामना व्यक्त गर्दछु । अस्पतालले समयानुकूल विभिन्न सेवा र प्रविधिहरू थप गरी आफ्नो सेवालाई नागरिकको आवश्यकताअनुसार विस्तार गर्दै लगेकोमा मलाई खुसी लागेको छ । विश्वव्यापी महामारीको रूपमा पैmलिएको कोभिड १९ बाट संक्रमितहरूको परीक्षण र उपचारमा उल्लेख्य योगदान पु¥याएको यस प्रतिष्ठानले डेंगुको प्रकोप पैmलिएको बेला छुट्टै आकस्मिक सेवा सञ्चालन गरी सेवा दिएको अत्यन्त प्रशंसनीय छ । साथै, स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकको लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन पनि त्यत्तिकै आवश्यक छ । स्वास्थ्य क्षेत्रमा दिन प्रतिदिन नयाँ–नयाँ चुनौतीहरू देखा परिरहेका छन् । भविष्यमा देखापर्ने त्यस्ता चुनौतीहरूको व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्न र अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिने विश्वास लिएको छु । सुलभ र गुणस्तरयुक्त शिक्षा तथा स्वास्थ्य सेवा प्रवाह गरी आर्जित आयबाट आत्मनिर्भर संस्थाको रूपमा सञ्चालनमा रहेको यस प्रतिष्ठानको भौतिक पूर्वाधार विकासका लागि प्रतिष्ठानले तयार गरेको गुरूयोजना अनुरूप आवश्यक भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्न नेपाल सरकारका सम्बन्धित सबै निकायहरुलाई निर्देशित गर्दछु । विश्वास छ– सम्बन्धित सबैबाट पनि आवश्यक सहयोग हुने नै छ । नेपालको अधिकांश भू–भाग ग्रामीण क्षेत्रले ओगटेको सन्दर्भमा ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारको व्यवस्था मिलाउन दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित डाक्टर लगायतका स्वास्थ्यकर्मीहरू उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो छ । यस तथ्यलाई मध्यनजर गरी मानव विकास परिसूचकाङ्कमा पछि परेका तथा गुणस्तरीय स्वास्थ्य सेवामा कम पहुँच भएका नागरिकहरूलाई बढी लाभान्वित तुल्याउने गरी आफ्नो सेवामा सुधार ल्याउन प्रतिष्ठानलाई निर्देशित गर्दछु । सार्वजनिक स्वास्थ्य संस्थाहरू सवल र सुदृढ भए मात्र सर्वसाधारण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड १९ महामारीले स्पष्ट पारिसकेको छ । यस कुरालाई हृदयङ्गम गरी नेपाल सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको छ । दुर्गममा रहेका सार्वजनिक स्वास्थ्य संस्थाहरूको गुणस्तर र क्षमता विकास गर्न प्रतिष्ठानले गम्भीर पहल लिने विश्वास लिएको छु । अन्तमा, प्रतिष्ठानको बाह्रौँ बैठकले तर्जुमा गरेका महत्वपूर्ण नीति र लिइएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनको निर्देशनसहित यो बैठक यहीँ समापन भएको घोषणा गर्दछु । धन्यवाद ।
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं ।आज २०८० साल माघ १३ गते शनिबार तदनुसार सन् २०२४ जनवरी २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २९ पैसा र बिक्री दर १४४ रुपैयाँ ९४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०९ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य : अर्थमन्त्री डा. महत
बारा । अर्थमन्त्री डा.प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका छन् । सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा.महतले भने, ‘स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउँछौं, आवश्यक पूर्वाधार तयार पार्छौ ।’ उनले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने बताए । मन्त्री डा.महतले भने, ‘दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको छ । यसका लागि भारत पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ । दोहोरो भयो भने यसले आकार र स्वरुप लिन्छ, विस्तार हुन्छ ।’ खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्वपूर्ण रहेको मन्त्री डा. महतले बताए। उनले भने, ‘बारा जिल्लाको औद्योगिक करिडोर अझ बढाउन सरकारले निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेको छ ।’ एयरपोर्ट बन्यो भने बाराको महत्व अझ विस्तार हुने अर्थमन्त्री डा। महतको भनाइ थियो । उनले भने, ‘बारामा अधिकांश सडक बनिसकेको छ, मरिन सुनकोशी डाइर्भसन निर्माण भएपछि बारामा सिँचाइका लागि दुःख हुँदैन । त्यसपछि बाराको कृषि उत्पादन बढ्ने, उद्योग, व्यापार र व्यवसाय बढ्छ ।
सुशासनलगायत तीन संसदीय समितिका बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत आज बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको १५औँ बैठक बस्दैछ । बैठकमा सहकारीका विविध समस्या सम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ । बैठकमा छलफलका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री र सचिव तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहाललाई आमन्त्रण गरिएको छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अपराह्न सवा १२ बजे बस्दैछ । बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । बैठकमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगहरूसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुनेछ ।
दुई वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुको हालसम्मको भौतिक–वित्तीय प्रगति, समस्या र चुनौती, समस्याका कारण र भावी कार्ययोजना बारे छलफल हुनेछ । त्यस्तै मध्यान्ह १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा समितिगत विषयमा छलफल हुने जनाइएको छ ।
माघे सङ्क्रान्तिलाई कुमाल जातिको राष्ट्रिय पर्व बनाउँन पहल लिन्छु : प्रमुख दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले माघे सङ्क्रान्तिलाई कुमाल जातिको राष्ट्रिय पर्व भनि राजपत्रमा अंकित हुनुपर्ने बताएकी छिन्। कुमाल समाज नेपालले माघे सङ्क्रान्तिको अवसरमा भरतपुर–२८ गोलाघाटमा गरेको माघे सङ्क्रान्ति बृहत राष्ट्रिय कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वमा प्रकाशित गर्न सक्दो पहल गर्ने उल्लेख गरेकी हुन् । कुमाल समुदायले उठाएको मागमा एकेवद्धता र समर्थन रहेको प्रमुख दाहालले प्रष्ट पारिन। प्रकृतिपूजाक कुमाल जातिले माघे संक्रान्तिलाई सबैभन्दा ठुलो पर्वका रुपमा मनाउदै आएकाले यसका लागि जोडदार आवाज उठाउन आवश्यक रहेको प्रमुख दाहालको भनाई छ । उनले कुनै पनि अधिकार स्थापित गर्न आ–आफ्नो ठाँउबाट जागरुक हुनुपर्ने र आवाजलाई बुलन्द पार्न आह्वानसमेत गरिन् । संघीय गणतन्त्रको स्थापनापछि राज्यको हरेक तह र निकायमा कुमाल समुदायको उपस्थिति रहेपनि यो प्रयाप्त नभएकाले पूर्ण अधिकार थप संघर्ष गर्न जरुरी रहेको उनले बताइन् । हिजोको दिनमा कुमालको छोरा छोरी राष्ट्रिय तहमा सांसद हुने कुरा दुरदराजको कुरा थियो, राष्ट्रको केन्द्रीय तहमा प्रतिनिधित्व गर्नुभएको छ, तर यो पुरा भएको छैन–उनले भनिन् । माघे संक्रान्ति पर्वलाई मगर, थारु, छन्त्याललगायतलाई समुदायको राष्ट्रिय पर्वका रुपमा नेपाल सरकारले घोषणा गरी राजपत्रमा प्रकाशित ग¥यो, तर, कुमाललाई त्यहाँ पनि कुमाल समुदायलाई ईङगित गर्न हुने थियो भनेर विगतदेखि कुमाल समुदाय माग गर्दै आएकी प्रमुख दाहालले बताइन्। माघे संक्रान्ति पर्वलाई राष्ट्रिय पर्वमा लाने विषयमा मन्त्रिपरिषद बैठकमा निर्णय गराएर राजपत्रमा प्रकाशित गराउने कुरामा जिम्मेवार र जोडदार ढङगबाट अघि बढ्ने उनको भनाई थियो । कार्यक्रममा नेपालका ७० जिल्लाबाट २० हजार जना कुमाल समुदायको उपस्थिति रहेको थियो ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विधान मस्यौदामाथि छलफल हुनुका साथै पार्टीको चार महिने अभियानको समीक्षा हुने महासचिव देव गुरुङले जानकारी दिए । माओवादीले आगामी फागुनको पहिलो साता विधान अधिवेशन गर्ने घोषणा गरिसकेको छ । जसका लागि उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय मस्यौदा समिति समेत गठन गरेको थियो। सो समितिले शुक्रबार मात्रै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा बुझाएको छ । त्यस्तै चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को समीक्षा र कार्यविभाजनको विषयमा समेत छलफल हुनेछ । माओवादीले गत भदौ १६ देखि पुस १६ सम्म चार महिने रूपान्तरण अभियान चलाएको थियो। स्थायी कमिटी बैठकमा अभियानका क्रममा सात वटै प्रदेशबाट प्राप्त रिपोर्टबारे छलफल हुनेछ ।
प्रधानमन्त्रीले भने -‘पञ्चेश्वर केही दिनमा ब्रेक थ्रु हुन्छ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु हुने बताएका छन् । बुधवार संसद्को कानुन समितिमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो विश्वास व्यक्त गरेका हुन् । ‘मलाई विश्वास छ आउने केही दिनमा पञ्चेश्वरको ब्रेक थ्रू हुन्छ । त्यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पर्छ’, प्रधानमन्त्रीको दाबी छ । पञ्चेश्वर परियोजना ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ । समितिमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण र विदेश मन्त्री जयशंकरको नेपाल भ्रमणले नेपाल भारत सम्बन्ध थप बलियो बनाउने आधार प्रस्तुत भएको बताए । त्यसक्रममा उनले १० हजार मेगावाट बिजुली निर्यात गर्न सफल भएको बताए ।
जनताको अवस्थामा सुधार्दै व्यवस्थाको रक्षा गर्न प्रतिबद्ध छौं : नेता पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्न आफ्नो दल प्रतिबद्ध रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा सम्बोधन गर्दै पुनले परिवर्तनको नेतृत्वकर्ता शक्तिका हैसियतले निरंकुशतावादीहरूको चुनौती स्वीकार गर्न तयार रहेको बताए । उनले भने, ‘हामी कोसिस गर्दा गर्दै असफल भए पनि अर्को क्रान्तिकारी शक्तिको जन्म भएर परिवर्तनको रक्षा गर्छन् ।’ गणतन्त्रसहित उपलब्धीहरुमाथि निरंकुशतावादीहरूका तर्फबाट प्रश्न उठाउन थालिएको उल्लेख गर्दै उनले भने, ‘यो व्यवस्थामाथिको मात्र प्रश्न होइन, हामी माओवादीहरुमाथिको पनि प्रश्न हो ।’ पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले जनता र कार्यकर्ता तहबाट उठेका प्रश्न र असन्तुष्टिको सम्मान गर्दै सबै प्रश्नको जवाफ आफूहरूले दिने पनि बताए । उनले आसन्न विधान सम्मेलनबाट कार्यकर्ता जनताबाट र नेता कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने प्रणाली विकास गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिए । ‘अब हामी जनताको मन जितेर कार्यकर्ता र कार्यकर्ताको मन जितेर नेता हुने प्रणाली संस्थागत गर्न खोज्दैछौं’, पुनले भने, ‘यसले नेतृत्वमा युवाहरु आउनुपर्ने भन्ने भन्ने आवाजको पनि सम्बोधन गर्नेछ ।’