जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास विश्वलाई जानकारी गराउँछौं : प्रम प्रचण्ड
युएई। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन्।
कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशहरूले भोग्नु परेको असरका बारेमा पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउने जानकारी दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा माग्नेका रूपमा नभएर अधिकारका रूपमा आफ्ना एजेण्डा राख्न् तयारीका साथ आफू सम्मेलनमा आएको बताए
संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कोप-२८ मा जलवायु परिवर्तनबाट नेपाललाई असर परेको असरको क्षतिपूर्तिको रूपमा वित्तीय र प्राविधिक सहयोगको अधिकारलाई बलियो ढङ्गबाट उठाउने बताए ।
दुबईस्थित नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अब हुने निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था भइरहेको जानकारी दिए। विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने भन्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको बताए।
सो कार्यक्रममा युएईका लागि नेपाली राजदूत क्षेत्रीले युएई र नेपालबिच व्यापार, पर्यटन र प्रविधिमा सहकार्य गर्न सकेमा नेपालको आर्थिक विकासमा ठुलो योगदान पुग्ने विश्वास व्यक्त गरे।
अमेरिका घुमेर स्वदेश फर्किए राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको १२ दिन घुमघाम गरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) को निमन्त्रणामा अमेरिकाको विभिन्न राज्यमा भएका विविध कार्यक्रममा सहभागी भएका थिए । भ्रमणको क्रममा अध्यक्ष लिङ्देनद्वारा टेक्ससको ड्यालसमा पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन र सम्बोधन गरेका थिए ।
राष्ट्रपतिको युरोप भ्रमण स्थगित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण स्थगित गरेका छन् । परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर राष्ट्रपति पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गरेको जानकारी गराएका हुन् । जाजरकोट भूकम्पका कारण देशमा धेरै जनधनको क्षति भएको भन्दै यस्तो दुःखका समयमा आफूले विदेश भ्रमण नगर्ने जानकारी दिएको राष्ट्रपतिको सचिवालयले जनाएको हाे ।
भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपिल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् । उनले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।
ढिलो नगरी जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न राष्ट्रसंघका महासचिवको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले ढिलाइ नगरी जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न आग्रह गरेका छन् । आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न सबै देशहरूले आफूले प्रस्ताव गरेको ‘एक्सलरेसन एजेन्डा’लाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले भने,“ सबैभन्दा ठूला उत्सर्जनकर्ताहरूले नेतृत्व लिनुपर्दछ । विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न सबै देशहरूले मैले प्रस्ताव गरेको एक्सलरेसन एजेन्डालाई प्रभावकारी बनाउनु पर्छ ।” उनले जलवायु न्याय प्रदान गर्न पनि आवश्यक रहेको बताए । महासचिव गुटरेसले भने,“ विकसित देशहरूले वार्षिक १ खर्ब डलर दिने वाचा पूरा गर्नुपर्छ ।” महासचिव गुटरेसले जलवायु सङ्कटको क्रूर प्रभावको सामना गरिरहेका नेपालका ती समुदायहरूप्रति आफू चिन्तित रहेको बताए । उनले संयुक्त राष्ट्रसंघ उनीहरूको साथमा रहेको उल्लेख गरे । नेपाल र अन्य विकासोन्मुख देशहरूको विकासमा सहयोग गर्न, जलवायु सम्बन्धी कार्यलाई तीव्रता दिन र हालको वैश्विक संकटको सामना गर्न धेरै ठूलो अन्तर्राष्ट्रिय सहयोग चाहिने महासचिव गुटरेसको भनाई थियो ।
एनआरएनएको निर्वाचन विद्युतीय त्रुटी भएको स्वीकार, वर्तमान तीन अध्यक्षद्धारा सर्कुलर जारी
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन प्रक्रिया थप अघि नबढाउन वर्तमान अध्यक्षहरू कूल आचार्य, रविना थापा र बद्री केसीले सर्कुलर जारी गरेका हुन् । बिहीबार सम्पन्न निर्वाचनपछि मतपरिणाम सार्वजनिक भएसँगै त्यहाँ धाँधलीको आरोप लागेको थियो । अध्यक्षका उम्मेदवारहरु आरके शर्मा र महेश श्रेष्ठले शुक्रबार नै सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरी पुनः चुनाव गराउन माग गर्दै प्रमुख निर्वाचन अधिकृत समक्ष निवेदन दिएका थिए । विद्युतीय प्रणालीबाट भएको निर्वाचनमा गम्भीर त्रुटि हुनुका साथै मतदाताको मत जस्ताको तस्तै प्रतिविम्बित नभई वाह्य हस्तक्षेपबाट मतदाताको अभिमत मत फरक पारिएको पाइएकोले गैरकानुनी निर्वाचन प्रक्रियालाई रद्द गरेर पुनः निर्वाचन गर्न माग गरिएको थियो । यसको बोधार्थ संघको सचिवालय र परराष्ट्र मन्त्रालय समेतलाई दिइएको छ । एनआरएनएको गएराति सार्वजनिक नतिजाअनुसार अध्यक्षमा बद्री केसी निर्वाचित भएको घोषणा गरिए पनि दुई उम्मेदवारले धाँधलीको आरोप लगाउँदै मत परिणाम अस्वीकार गरेका हुन् ।
पाँच महिनामा ११ अर्ब ८० करोडको विद्युत भारत निर्यात
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपियाँको विद्युत भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले चालू आर्थिक वर्ष २०८० ८१ को साउन, भदौ र असोज ३ महिनामा नौ अर्ब ६४ करोड ५४ लाख रुपियाँको विद्युत भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र चार अर्ब दुई करोड ३५ लाख रुपियाँको विद्युत निर्यात गरिएको छ । तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट १० रुपियाँ २७ पैसा रहेको छ । गत जेठ महिनाका पाँच दिनमा ४० करोड पाँच लाख र असारमा एक अर्ब ७५ करोड ७० लाख रुपियाँको विद्युत भारतर्फ निर्यात भएको थियो । जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट नौ रुपियाँ ६७ पैसा थियो । साउनमा दुई अर्ब १४ करोड ३३ लाख, भदौमा तीन अर्ब ४७ करोड ८५ लाख र असोजमा चार अर्ब दुई करोड ३५ लाख रुपियाँको विद्युत भारतीय बजारमा निर्यात भएको छ । तीन महिनामा नौ अर्ब ६४ करोड ५४ लाख रुपियाँको विद्युत निर्यात भएको हो । साउन, भदौ र असोजमा भारतर्फ निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रति युनिट क्रमशः ८ रुपियाँ ४३ पैसा, ११ रुपियाँ ९७ पैसा र १० रुपियाँ २० पैसा रहेको छ । तीन महिनाको विद्युत समग्र औसत बिक्री दर प्रति युनिट १० रुपियाँ २७ पैसा छ । विद्युत निर्यातबाट नेपाल र भारतबिचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थालाई हेर्दा यस वर्ष करिब १६ अर्ब रुपियाँको विद्युत निर्यात हुन सक्ने देखिएको बताए । ‘‘करिब १ सय मेगावाट थप विद्युत् निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणसँग प्रस्ताव गरेका थियौँ, तर अहिलेसम्म स्वीकृति नपाएपछि केहीअघि पुनः प्रस्ताव पठाएका छौँ,’’ कार्यकारी निर्देशक घिसिङले भने, ‘‘चाडपर्व सुरु भइसकेको छ, यसअवधिमा कलकारखाना बन्द हुँदा र काठमाडौँमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युतको माग घट्छ, भारतबाट थप विद्युत निर्यात स्वीकृति नपाउने हो भने विद्युत गृहहरू बन्द गर्नु पर्ने अवस्था आउन सक्ने छ, यस्तो अवस्थामा छिट्टै थप विद्युत निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौँ ।’’गोरखापत्रबाट
त्रिदेशीय टि-२० सिरिजका लागि नेपाली टोलीको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिदेशीय टि-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। नेपाल, युएई र हङकङबीच हुने त्रिदेशीय टि-२० सिरिजका लागि क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। त्रिदेशीय टि-२० सिरिज खेल्ने टोलीमा सन्दीप लामिछानेको नाम उल्लेख छैन। उनले यसअघि नै राष्ट्रिय टिमबाट नाम आफ्नो नाम फिर्ता लिएका थिए। त्रिदेशीय टि-२० खेल्ने टोलीमा रोहित शर्मा, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल छन्। कात्तिक १ गतेदेखि सुरू हुने सिरिजको पहिलो खेल कात्तिक १ गते युएईसँग र दोस्रो खेल कात्तिक ३ गते हङकङसँग खेल्नेछ। सिरिजको लिग चरणका सबै खेल मुलपानी क्रिकेट ग्राउन्ड र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।
वर्तमान सरकार देशमा आशाको नयाँ रक्तसञ्चार भर्न क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार वर्तमान सरकार देशमा आशाको नयाँ रक्तसञ्चार भर्न क्रियाशील रहेको बताएका छन् । सिजन मिडिया प्रालिद्वारा आयोजित ‘एसियन प्रोफेशनल अचिभ्मेन्ट अवार्ड २०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने -‘सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकताका रूपमा सूचिकृत गर्दै चुनौतीपूर्ण परिस्थितिमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन, देशमा आशाको नयाँ रक्तसञ्चार भर्न, राजनीतिक स्थायित्व र सुशासन कायम गर्न निरन्तर क्रियाशील छ ।’ खेलकुद, साहित्य कला र सामाजिक क्षेत्रका माध्यमबाट सिंगो देशलाई एकतावद्ध गर्न सकिने बताउँदै उनले सिजन मिडिया प्रा.लिले यस क्षेत्रमा योगदान गर्नेहरूलाई सम्मान गरेर राष्ट्रिय एकताका महत्वपूर्ण योगदान पुर्याएको बताए । प्रधानमन्त्रीले भने -‘मैले पटकपटक भन्दै आएको छु– खेलकुद, साहित्य कला र सामाजिक क्षेत्र राष्ट्रिय एकताका सबैभन्दा महत्वपूर्ण आयामहरू हुन्, यिनीहरूको माध्यमबाट सिंगो देशलाई एकतावद्ध गर्न सकिन्छ ।’ कार्यक्रममा डा.भगवान कोइराला, निर शाह, डा. राजेन्द्र केसी, सन्तोष शाह, किरणकुमार श्रेष्ठ, शम्भु श्रेष्ठ, राजेन्द्र कुमार शर्मा लगायतका व्यक्तित्वहरूलाई सम्मान गरीएको थियो । यस्तो छ प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ सबैभन्दा पहिला सिजन मिडिया प्रालिले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सवको अवसरमा दक्षिण एसियाली देशका सफल व्यावसायिक व्यक्तित्वहरूलाई ‘‘एसियन प्रोफेसनल अभिच्मेन्ट अवार्ड २०२३’’ बाट सम्मानित हुनुहुने सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक बधाइसहित निरन्तर सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु । सिजन मिडियाले व्यवसायिक, शैक्षिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्व र संस्थालाई सम्मान एवं अवार्ड वितरण गर्दै आएको जानकारी पाउँदा मलाई खुसी लागेको छ । यस्ता कार्यक्रमहरूले सामाजिक जीवनका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई उत्प्रेरणा पैदा गर्न, देशभित्र व्यावसायिक वातावरण निर्माण गर्न, देशको पर्यटन प्रवद्र्धन गर्न तथा सामाजिक स्वार्थ र हितका पक्षमा अग्रसर हुन महत्वपूर्ण योगदान गर्ने मैले विश्वास लिएको छु । यस अवसरमा मिडियाले विगत ४ वर्षदेखि दुबई, मलेसिया र नेपालमा आयोजना गरेको अवार्ड आगामी दिनमा समेत थप उचाइका साथ निरन्तरता पाउनेछ भन्ने विश्वास लिएको छु । सिजन मिडियाको तर्फबाट डा.भगवान कोइरालालाई सम्मान वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकताका रूपमा सूचिकृत गर्दै चुनौतीपूर्ण परिस्थितिमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन, देशमा आशाको नयाँ रक्तसञ्चार भर्न, राजनीतिक स्थायित्व र सुशासन कायम गर्न निरन्तर क्रियाशील छ । मैले पटकपटक भन्दै आएको छु– खेलकुद, साहित्य कला र सामाजिक क्षेत्र राष्ट्रिय एकताका सबैभन्दा महत्वपूर्ण आयामहरू हुन्, यिनीहरूको माध्यमबाट सिंगो देशलाई एकतावद्ध गर्न सकिन्छ । सामाजिक जीवनमा सक्रिय रहने व्यक्तित्वहरूले आफ्नो व्यावसायिक जीवनमा मात्र नभएर राष्ट्रको एकता, समृद्धि र बहुआयमिक विकासमा समेत महत्वपूर्ण योगदान गर्दछन् । तसर्थ, देश र जनताको हित एवं सामाजिक जीवनका विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूको सकारात्मक योगदानलाई प्रोत्साहन र आम नागरिकसम्म सम्प्रेषण गरेर मात्र देशमा आशा र विश्वासको नयाँ वातावरण सिर्जना गर्न सकिन्छ भन्नेमा सरकार प्रष्ट छ । नेपाल सरकारले समेत सामाजिक जीवनमा महत्वपूर्ण योगदान पुर्याउने संस्था, प्रवृत्ति र व्यक्तित्वहरूलाई प्रोत्साहित गर्दै आएको कुरा यहाँहरूलाई अवगत नै छ । यस कार्यक्रममा विभिन्न विधामा देश विदेशमा ख्याती कमाउनुभएका महानुभावहरू सम्मानित हुनुभएको छ । डा. सिजन मिडियाको तर्फबाट कलाकार निर शाहलाई सम्मान भगवान कोइराला, निर शाह, डा। राजेन्द्र केसी, सन्तोष शाह, किरणकुमार श्रेष्ठ, शम्भु श्रेष्ठ, राजेन्द्र कुमार शर्मा लगायतका व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा मैले पनि गौरवको महशुस गरेको छ । उहाँहरू लगायत आज सम्मानित हुनुहुने समस्त महानुभावहरूमा नेपाल सरकारको तर्फबाट हार्दिक बधाइ ज्ञापन गर्दै सामाजिक र व्यावसायिक जीवनमा थप योगदान र प्रगतिका लागि शुभेच्छा व्यक्त गर्दछु । अन्त्यमा १५ औं वार्षिकोत्सवको अवसरमा प्रकाशित पत्रिका ‘‘यस नेपाली’’को पूर्ण सफलताको कामना गर्दै फेरि एकपटक हार्दिक बधाइ ज्ञापनका साथ विदा हुन्छु, धन्यवाद ।
इजरायलमा ज्यान गुमाउने विद्यार्थीको सम्झनामा अखिल क्रान्तिकारीले दीप प्रज्वलन गर्दै
काठमाडौँ । अखिल क्रान्तिकारीले इजरायलमा ज्यान गुमाउने संगठनको सचिव गणेश कुमार नेपालीसहित मृत्युवरण गर्ने विद्यार्थीको सम्झानामा मंगलबार साँझ दीप प्रज्वलन गर्दै छ । बिएस्सी एग्रिकल्चरमा अध्ययनरत बझाङ जयपृथ्वी नगरपालिका ६ गणेश अखिल क्रान्तिकारीको सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय समितिका सचिव हुन् । संगठनका अध्यक्ष पञ्चा सिंह र महासचिव दिपेश पुनले गणेशसहित ज्यान गुमाउने सम्पूर्ण विद्यार्थीको सम्झनामा सम्पूर्ण शैक्षिक संस्थाहरुमा दीप प्रज्वलन गर्न परिपत्र जारी गरेका छन् । त्यस्तै, काठमाडौँ उपत्यकामा भने विशेष प्रदेशको आयोजनामा आज साँझ माइतीघर मण्डला, विश्वविद्यालय समितिहरुले केन्द्रीय क्याम्पसहरु र जिल्ला समितिले सदरमुकाममा दीप प्रज्वलन गर्न परिपत्रमा भनिएको छ । विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत एक महिना इजराजय पुगेका ४९ जना विद्यार्थीमध्ये महासको हमलामा परी १० जनाको मृत्यु भएको छ । उनीहरुको शव ल्याउने सरकारले तयारी गरिरहेको छ । अखिल क्रान्तिकारीका अध्यक्ष सिंहले ज्यान गुमाउने सम्पूर्ण विद्यार्थीप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदन व्यक्त गरेकी छन् । सरकारले इजरायलमा रहेका नेपाली नागरिक जो नेपाल आउँन चाहेका छन् उनीहरूको विवरण दुतावासमार्फत संकलन गरिरहेको छ । युद्ध प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै इजरायलको अनुमति पाउँनासाथ नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्न जहाज त्यस तर्फ पठाउने बताएको छ ।
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको विशेष बैठक आब्हान
काठमाडौं। इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका छन् । सोमबार अपरान्ह ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि सरकारले चाल्नुपर्ने कुटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ। मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्रीले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक बोलाउनुभएको छ। बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुनेछ। नेपाली समयअनुसार शनिबार बिहान इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्रीले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले इजरायल हमास युद्धले निम्त्याएको संकट र नेपाली नागरिकहरूमा देखिएको त्रास तथा उनीहरूको उद्दार र नेपाल फिर्तिका लागि कुटनीतिक पहल गरेका हुन् । सो सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले असोज २० गते घटनाको भर्त्सना गर्दै नेपाली नागरिकका परिवारमा सहानुभूति प्रकट गरेका थिए । प्रधानमन्त्रीले इजरायलस्थित नेपाली दुतावासमा घाइते नेपाली नागरिकको अवस्था बुझी उद्दारका लागि पहल लिन परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिनुभएको थियो। इजरायल–हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे एकीन गर्न र उनीहरूको उद्दार गर्नका लागि आइतबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा उपप्रधानमन्त्री रक्षा, उपप्रधानमन्त्री गृह, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र सचिव र सुरक्षा अङ्गका प्रमुखहरूको आकस्मिक बैठक बोलाए । सो बैठकले माननीय परराष्ट्रमन्त्री एनपी साउदको संयोजनमा परराष्ट्र, शिक्षा लगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अङ्गका प्रतिनिधि, विदेशस्थित दूतावास, नियोग सहभागी एक र्यापिड एक्सन टिम गठन गर्यो। उक्त टीमको बैठकले उद्दार र नेपाली फीर्तिसम्बन्धी आवश्यक गृहकार्य गरिरहेको छ। सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत संकलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ।
कोसीमा नयाँ सरकार गठन आह्वान
विराटनगर । कोसी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान गरिएको छ । शनिबार प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गर्दै उनले ६ दिनको समय दिएका छन् । विश्वासको मत पाउने अवस्था नदेखेपछि शनिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । लगत्तै प्रदेश प्रमुखसमक्ष राजीनामापत्र बुझाएका थिए । सर्वोच्च अदालतको परमादेशबाट कार्की गएको भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ९३ सदस्यीय प्रदेशसभामा बहुमत (४७) सांसदको समर्थनप्राप्त प्रदेशसभा सदस्य मुख्यमन्त्री बन्न सक्ने उपधारा ५ मा व्यवस्था छ ।
प्रधानमन्त्रीद्धारा जितिया पर्वको शुभकामना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसका थारू लगायतका समुदायले पारिवारिक समृद्वि र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाउँने मौलिक एवं सांस्कृतिक पर्व जितियाको शुभकामना व्यक्त गरेका छन् । नेपाली समाजका संस्कृति र संस्कारहरूका आ–आफ्नै विशिष्ट मौलिक पहिचान र विशेषता रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस्ता ऐतिहासिक दिनहरूले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरी सामाजिक सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । यस्तो छ प्रधानमन्त्रीद्धारा व्यक्त शुभकामना
गाईजात्रा पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ । रासस
३० अर्बले घट्यो भौतिक पूर्वाधारको बजेट, खुद्रे आयोजना हटाइयो
सम्पन्न हुने आयोजनामा मात्रै बजेट विनियोजन काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेपछि भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३० अर्बले घटेको हो । चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।
राष्ट्रपति पौडेलले गरे ४८२ कैदीको बाँकी कैद मिनाहा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ४८२ जना कैदीबन्दीको बाँकी कैद सजाय माफी मिनाह गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र दिवस २०८० को अवसरमा ७ जना ज्येष्ठ नागरिक र अन्य ४७५ गरी कूल ४८२ जना कैदीको बाँकी कैद सजाय मिनाह गरेका हुन् । सजाय मिनाह पाउनेहरूमा डाका चोरी, ठगी बहुविवाह कर्तव्य ज्यान वैदेशिक रोजगार कसुरलगायतमा जेल जीवन बिताइरहेकाहरू छन् । कैद कट्टा गर्ने प्रयोजनका लागि कैदको न्यूनतम ५० प्रतिशत कैद भुक्तान गरेकाहरूलाई कैदी मिनाह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । गृह मन्त्रालयले कैद भुक्तान गरेकामध्ये कागजपत्र छानबिन गरी उपयुक्त देखिएकाको कैद कट्टाका लागि सिफारिस गरेको थियो ।