मंकीपक्स रोग विश्वव्यापी रुपमा फैलिन सक्ने डब्ल्यूएचओको चेतावनी
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकीपक्सको विस्तार विश्वव्यापी रुपमा फैलिन सक्ने चेतावनी दिएको छ।
हाल १२ वटा देशमा मंकीपक्सका बिरामी फेला परिसकेकाले अन्य देशमा पनि फैलिन सक्ने चेतावनी डब्ल्यूएचओले दिएको हो ।
अहिलेसम्म विश्वका विभिन्न १२ वटा देशमा ९२ जनामा यो रोग पुष्टि भईसकेको छ भने अन्य २८ जनामा संक्रमण भएको आशंकामा निगरानीमा राखिएको छ । विश्व स्वास्थ्य संगठनले मंकीपक्स रोग ज्यादै घातक नभए पनि विश्वव्यापी संक्रमण भएमा स्वास्थ्य क्षेत्रमा अर्को समस्या ल्याउन सक्ने बताएको छ।
मंकीपक्सको संक्रमणलाई न्यूनीकरण गर्ने विषयमा छिट्टै उपाए सुझाउने पनि डब्ल्युएचओले बताएको छ । स्मलपक्सकै जस्तो लक्षण हुने मंकीपक्सको संक्रमण भए दुईदेखि चार साताभित्रमा अस्पताल भर्ना समेत नभएर पनि बिरामी निको हुन सक्छन् । तर कहिलेकाहीं यो रोग घातक पनि हुनसक्ने पनि डब्ल्युएचको तर्क छ। यौन सम्पर्क जस्ता ज्यादै निकट सम्पर्कबाट यो रोग समुदाय स्तरमा सर्न सक्ने देखिएको छ।
निकट सम्पर्कबाट मात्रै सर्ने भएकाले पनि यसको नियन्त्रण सजिलो हुने विज्ञहरूको भनाइ छ ।
बिआरई परियोजनाको कुरा गर्दा, एमसिसीबारे चिनियाँ विदेशमन्त्रीलाई जवाफ दिन सकेनन् ओलीले
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनिया विदेशमन्त्री वाङ यीबीच भेटवार्ता सम्पन्न भएको छ । आज भएको भेटवार्ताका अवसरमा दुबै नेताबीच बिआरआई परियोजना कार्यान्वयनबारे छलफल भएको थियो । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपालमा चिनियाँ सहयोगका परियोजना अघि बढाउन आफ्नो पार्टीले सहयोग गर्ने बताएका थिए । भेटका अवसरमा ओलीले बिआरई परियोजना कार्यान्वयनको कुरा गर्दा एमसिसीबारे भने एमालेको धारणाबारे कुनै कुरा राख्न नसकेको श्रोतले बतायो । एमसिसी परियोजना लागु गर्न ओलीले नै मुख्य तत्परता देखाएका थिए । चीनले भने एमसिसी परियोजनामार्फत नेपाललाई भूराजनीीतिक खेलमा सहभागी गर्न खोजेको भन्दै बिरोध गर्दै आएको छ । चिनियाँ विदेशमन्त्रीले एमसिसीबारे सोझै जिज्ञासा नराखेपनि अन्य सहयोगको प्रसंग आउँदा ओलीले यसबारेमा कुनै जवाफ दिएनन् । यसअघि विदेशमन्त्री वाङले नेपाललाई भू राजनीतिक खेलमा सहभागी गराउने षडयन्त्र भइरहेको भन्दै नेपालको सार्वभौमसत्तामा आँच पुग्ने कुनै पनि हस्तक्षेप सह्य नहुने बताएका थिए । उनको आशय एमालेले विदेशी शक्तिहरुको यो षडयन्त्रलाई साथ दिएको भन्ने थियो । तत्कािलन प्रधानमन्त्री ओलीले आफ्नो पहलमा सम्झौता संशोधन गर्दै एमसिसीलाई सदनमा पुर्याएका थिए । आजको छलफलमा ओलीले भने द्विपक्षयी सहयोगका विषयमा चर्चा गरेका थिए । उनले कोरोना कहरका समयमा चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको सहयोगप्रति धन्यवाद दिँदै तातोपानी र रसुवागढी नाकाको नियमित सञ्चालनका लागि आग्रह गरेका थिए । यसैगरी उनले चीनमा काेराेनाका कारण फसेका नेपालीहरुलाइ फर्काउने वातावरण मिलाउन समेत आग्रह गरेका थिए ।
म्यादी प्रहरीलाई लट्ठी किन्ने बजेटसमेत काटियो, आयाेगका कर्मचारीलाई भने चार महिनासम्म भत्ता
काठमाडौँ — निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीले स्थानीय तह निर्वाचनमा शतप्रतिशत भत्ता र अतिरिक्त सुविधा पाउँदै छन्, सुरक्षाकर्मीको सुविधामा भने भारी कटौती गरिएको छ । आयोगले पदाधिकारी र कर्मचारीलाई निर्वाचन मिति घोषणा भएदेखि अन्तिम परिणाम आएको थप ३५ दिनसम्म शतप्रतिशत भत्ता र अतिरिक्त सुविधा दिने निर्णय गरेको छ । उनीहरूले दैनिक खाजा/खाना खर्च तथा छुट्टै सञ्चार सुविधाबापतको रकम पाउनेछन् भने कार्यालय सहयोगीले समेत दैनिक एक हजार भत्ता पाउनेछन् । २०७९ वैशाख ३० मा हुने निर्वाचन प्रयोजनका लागि सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागलाई औषधि खरिद, खाना/खाजा, विशेष भत्तालगायत १२ वटा शीर्षकको बजेट शतप्रतिशत कटौती गरिएको छ । विगतका निर्वाचनमा सुरक्षाकर्मीले एक साताका लागि यस्ता भत्ता पाउँथे । निर्वाचन अवधिभर औषधि खरिदका लागि दिइने बजेट पनि यसपालि हटाइएको छ । निर्वाचन भयरहित बनाउन अग्रभागमा खटिने सुरक्षाकर्मीका लागि मागेभन्दा निकै कम बजेट विनियोजन गरेको सरकारले म्यादी प्रहरीलाई लट्ठी किन्ने बजेटसमेत कटौती गरेको छ । यसअघि म्यादीको पोसाक खर्च छुट्टै र लट्ठीबापत छुट्टाछुट्टै बजेट विनियोजन हुने गरेकोमा अहिले लट्ठीको खर्च पोसाककै गाभिएको छ । -कान्तिपुर दैनिकबाट
चितवनको रत्ननगर वडा नं ७ वालमैत्री तथा वालश्रम मुक्त घोषणा
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं ७ लाई वालमैत्री तथा वालश्रम मुक्त घोषणा गरिएको छ । बालमैत्री स्थानीय सासन कार्यान्वयन निर्देशिक २०७८ अनुरुप ५१ वटा सुचक पुरा गरी सो वडालाई शुक्रवार बालमैत्री घोषणा गरिएको हो । वालमैत्री घोषणा हुने सो वडा सातौ हो । यस अघि वडा नं ३,५,१०,१४,१५ र १६ लाई वालमैत्री वडा घोषणा गरिसकिएको छ । १६ वटा वडा मध्ये बाँकी रहेका ९ वटा वडालाई बालमैत्री तथा वालश्रम मुक्त घोषणा गरी चैत महिना भित्र समग्र नगरलाई नै वालमैत्री नगर घोषणा गर्ने तयारी रहेको मेयर नारायण वनले बताए । वडालाई वालमैत्री तथा वालश्रम मुक्त घोषणा गर्नुपूर्व बालश्रम मुक्त,वाल विवाह,बहुविवाह,पूर्ण खोप,जन्मदर्ता लगायतका ५१ वटा सुचक पुरा गरिएको छ । सौराहामा आयोजित एक औपचारिक कार्यक्रमका बीच वागमती प्रदेशका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले वालमैत्री घोषणा गरेका हुन । कार्यक्रममा मन्त्री श्रेष्ठले मेयर नारायण वन र वडाध्यक्ष लालबहादुर भट्टलाई वडा वालमैत्री भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । घोषणा कार्यक्रममा वडा भित्रका वालक्लवलाई खेलकुदका सामाग्री हस्तारण समेत गरिएको छ । वालमैत्री वडा घोषणा गर्नुपूर्ण वडा भित्र रहेका वालश्रमिकको उद्दार गरी उनीहरुलाई शिक्षा,अभिभावकको आयआर्जनको लागि सीपमुलक तालिम तथा सामाग्री सहयोग,पूर्ण खोप,जन्मदर्ता लगायतका कामहरु गरिएको वडाध्यक्ष भट्टले बताए । वालमैत्री वडा कार्यान्यवनको लागि सो वडाले पञ्तबर्षीय रणनीतिक कार्ययोजना बनाएको छ । कार्ययोजनामा वडा भित्र विकास निर्माणका काम गर्दा वालमैत्री बनाउने,वालवालिकाको विकासको लागि प्रयाप्त बजेट विनियोजन गर्ने,वालश्रम भए नभएको विषयमा निरन्तर अनुगमन गर्ने लगायतको विषय समाबेश गरिएको वडाध्यक्ष भट्टले बताए । कार्यक्रममा वडा भित्रको परिचय सहित वालवालिकाको स्थितिपत्र पुस्तकको विमोचन समेत गरिएको थियो । कार्यक्रममा मेयर वनले बालमैत्री नगर घोषणा गर्नुपूर्व वालवालिकालाई लक्षित गरी वडा नं ८ मा वाटर किङडमको प्रक्रिया सुरु भइसकेको बताए । दुई महिना भित्र कुनै पनि हालतमा नगरलाई वालमैत्री घोषणा गर्ने वटमलाईन रहेको भन्दै उनले वाँकी रहेका वडाहरुलाई एकमुष्ट घोषणा गरी नगरलाई वालमैत्री घोषणा गरिने बताए । उपमेयर विमला दुवाडीले अन्य नगरबाट अबलोकन गर्न आउने गरी रत्ननगरलाई नमुना वालमैत्री नगर बनाउने बताइन । मन्त्री श्रेष्ठले विकास निर्माणको लगवा वालवालिकाको बृद्धि विकास,उनीहरुको अधिकार सुनिश्चितताले मात्र समग्र विकासले सार्थकता पाउने बताए । सामाजिक रुपान्तरणको एउटा महत्वपूर्ण अंग वालवालिका रहेको भन्दै उनले बालबालिका माग र उनीहरुको समस्या सामधान गर्न प्रदेश सरकार तयार रहेको बताए । वालमैत्री पूर्वाधार निर्माण गर्न सके नेपाल अन्तराष्टिय मोडलको बन्ने उनको भनाई छ । कार्यक्रममा रत्ननगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्मा,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ,संघका पूर्व अध्यक्ष तथा बाल संरक्षण तथा वालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक ज्ञानबहादुर विसुराल, नेकपा एमाले जिल्ला कमिटी सदस्य विन्दा कार्की, महिला विकास अधिकृत दीपा घिमिरे,नगर स्तरीय वाल क्लवकी अध्यक्ष रोनिसा घिमिरे,बाघमारा वनका अध्यक्ष जित बहादुर तामाङ,रेवान सौराहाका महासचिव सुर्यबहादुर रिमाल,वडा सदस्य सोमबहादुर तामाङ लगायतले मन्तव्य राखेका थिए । वडाध्यक्ष भट्टको अध्यक्षतामा भएको कार्यक्रममा वडा स्तरीय वालक्लवकी अध्यक्ष अस्मिता भट्टले स्वागत मन्तव्य तथा वडा सचिव पदम सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम उद्घाटन हुनुपूर्व सौराहामा सचेतनामुलक शोभायात्रा समेत निकालिएको िथयो ।
बसको ठक्करबाट मोटरसाईकल सवार १ को मृत्यु, १४ जना घाइते
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँके स्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ७५३ नं को रात्रिबसले विपरित दिशाबाट जादै गरेको ना २९ प ४४९८ नं को मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि रात्रिबस राजमार्ग बायाँ साइडमा पल्टिदा बसमा सवार ४० जनामध्ये १२ यात्रु घाइते भएको सर्लाही प्रहरीले जनाएको छ । बसको ठक्करबाट मोटरसाइकल पछाडि सवार ईश्वरपुर–१२, घारीबथानका २७ वर्षीय भक्तबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ भने सोही ठाउँ निवासी मोटरसाइकल चालक २६ वर्षीय अरुण खड्का गम्भीर घाइते भएका छन् । उनीलाई लालबन्दीस्थित गढीमाई अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
आबुधाबी विमानस्थालमा भएको विष्फोटमा २ भारतीयको मृत्यु भएको पुष्टि
नयाँ दिल्ली । आबुधाबी विमानस्थलमा आज भएको ड्रोन आक्रमणमा दुई जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको छ । संयुक्त अरब अमिरातमा भारतीय दूतावासले मुसाफाहमा रहेको तेल भण्डारमा भएको विष्फोटमा दुई जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको हो । आज दिउँसो आबुधाबीको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुईवटा विष्फोट भएको थियो । घटनामा तीन जनाको मृत्यु भएको र ६ जना घाइते भएको पछिल्लो समाचार छ । अमिरातको सरकारले मृतक तेश्रो नागरिक पाकिस्तानको भएको पुष्टि गरेको छ । घटनाको यमनका हुति विद्रोही समूहले जिम्मा लिएको छ ।
अमेरिकी चिकित्सकले रचे इतिहासः पहिलोपटक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण
आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति एक अमेरिकी पुरुष भएका छन्। चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ। यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट छैन। “प्रत्यारोपण गर वा मरको अवस्था थियो,” ५७ वर्षीय बेनेटले शल्यक्रियाको एक दिनअघि भनेका थिए। “मलाई थाहा छ यो अँध्यारोमा हानिएको गोली हो तर यो नै मेरो अन्तिम विकल्प हो।” युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न एउटा विशेष खालको छुट दिएको थियो। प्रत्यारोपण गर्ने चिकित्सा टोलीलाई यसले वर्षौँको अनुसन्धानको परिणाम दिएको छ र यसले विश्वभरि मानिसको जीवनलाई परिवर्तन गर्नसक्छ। शल्यचिकित्सक बार्ट्ली पी. ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई “अङ्ग अभाव सङ्कटको समस्या समाधानका लागि एक कदम नजिक ल्याउने” बताएको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कूल अफ मेडिसिनको विज्ञप्तिमा उल्लेख छ। OrganDonor.gov का अनुसार सङ्कटको अर्थ अहिले अमेरिकामा दैनिक अङ्ग प्रत्यारोपणको पर्खाइमा रहेका १७ जना मानिसको ज्यान गइरहेको छ। त्यसमा एक लाखभन्दा बढी मानिसहरू पर्खाइको सूचीमा रहेको बताइएको छ। अनुहार र दुइटै हातको सफल प्रत्यारोपण गराएका विश्वकै पहिलो व्यक्ति के भन्छन् माग पूरा गर्न जनावरको अङ्ग प्रयोगको सम्भावनाबारे लामो समयदेखि विचार गरिँदै आएको हो र सुँगुरको मुटुको भल्भ प्रयोग गर्ने विषय सामान्य भइसकेको छ। सन् २०२१ को अक्टोबरमा न्यू योर्कस्थित शल्यचिकित्सकहरूले मानव शरीरमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको घोषणा गरेका थिए। त्यतिबेला उक्त शल्यक्रिया सबैभन्दा विकसित प्रयोग थियो। यद्यपि, त्यसबेला प्रत्यारोपण गरिएका व्यक्तिको मस्तिष्क मृत थियो र निको हुने कुनै आशा थिएन। अहिले मुटु प्रत्यारोपण गरिएका बेनेट भने आफू बाँचिरहन सक्ने आशा व्यक्त गर्छन्। शल्यक्रियाअघि उनी ६ साता ओछ्यानमै उपकरणजडित भएर बसेका थिए। मुटुमा समस्या देखिएपछि उनलाई जीवित राख्न त्यसो गरिएको थियो। “निको भएपछि ओछ्यानबाट बाहिरिने अपेक्षामा म छु,” उनले गत बिहीवार भनेका थिए। अब के हुनेछ भन्ने ठ्याक्कै स्पष्ट छैन। प्रत्यारोपणमा प्रयोग गरिएको सुँगुरलाई आनुवंशिक रूपमा परिवर्तन गरिएको थियो। ग्रिफिथले उनहरूले “सावधानीपूर्वक उक्त प्रक्रिया” चालेको र बेनेटलाई पनि अनुगमन गरिरहेको बताए। -bbc बाट
आंशिक प्राध्यापकहरूले दिए ४८ घण्टे अल्टिमेटम
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सहमति कार्यान्वयन गर्न आलटाल गरेपछि आंशिक प्राध्यापकहरू पठनपाठन ठप्प पारेर पदाधिकारीको कार्यालय धाउन थालेका छन् । मंगलबार हुने उपकुलपतिको वार्ता अन्तिम भएको भन्दै माग सम्बोधनका लागि उनीहरूले ४८ घण्टे अल्टिमेटम दिएका छन् । भर्चुअल कक्षा बहिस्कार गरेका आंशिक प्राध्यापकहरू अचेल पठनपाठनमा होइन विश्वविद्यालयका पदाधिकारीका कार्यकक्ष वरिपरि भेटिन्छन् । पटक पटक आन्दोलन र वार्ताको श्रृङ्खला चल्दै आए पनि यसपटक भने माग सम्बोधनका लागि अन्तिम वार्तामा बस्ने उनीहरूको भनाइ छ । आंशिक प्राध्यापकहरू करार नियुक्ति र समान कामको समान ज्याला माग गर्दै आन्दोलनमा छन् । विश्वविद्यालयले शोषण गरेको आंशिक प्राध्यापकहरूको ठहर छ । गत पुस २३ गते माग सम्बोधनका लागि भएको सहमति कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ । सहमतिमा विश्वविद्यालयले आंगिक क्याम्पसहरूलाई शिक्षक दरबन्दीको अवस्था जानकारी गराउन ताकेता गरेको थियो । ६२ मध्ये १८ वटा आंगिक क्याम्पसल् मात्र विवरण पठाएको अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णु खनाल बताउनुहुन्छ । विवरण प्राप्त क्याम्पसमा छानविनका लागि त्रिविबाट पदाधिकारी गइसकेको र अन्य क्याम्पसका हकमा विवरण प्राप्त भएपछि मात्र जाने उहाँको भनाइ छ । ठूला भनिएका र नाम चलेका क्याम्पसहरूले समेत आफ्नो स्रोतले धान्ने र आवश्यक प्राध्यापकहरूको विवरण पठाउन आलटाल गरिरहेका छन् । विवरण पठाउन विश्वविद्यालयले पुनः ताकेता गरेको छैन । आफ्ना माग सम्बोधन गर्न नसके पदाधिकारीले राजीनामा दिनुपर्ने माग आंशिक प्राध्यापक संघका उपाध्यक्ष नवीन खनाल बताउनुहुन्छ । ‘अहिलेको आन्दोलन निर्णायक भएकाले करार भन्दा अन्य सहमति जाँदैनौं,’ उहाँले भन्नुभयो, ‘नसक्ने हो भने पदाधिकारीले राजीनामा दिनुपर्छ, मंगलबारको वार्ता सफल नभएको खण्डमा ४८ घण्टाभित्र आन्दोलनको मोर्चामा जानेछौँ ।’ यता, विश्वविद्यालय भने माग सम्बोधनको प्रक्रियामा रहेको तयारी जवाफ दिइरहेको छ । आंशिक प्राध्यापकले पनि सहमति कार्यान्वयनका लागि क्याम्पस तहमा विवरण पठाउन दवाव दिन सकेका छैनन् । विश्वविद्यालयको कार्यशैली र आंशिक प्राध्यापकको आन्दोलनको मारमा भने विद्यार्थी छन् । -Imagekhabar
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा ओर्लियो
काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर २ हजार ८ सय २२ दशमलव ७३ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै सोमबार कारोबार रकममा समेत गिरावट आएको छ । आइतबार ५ अर्ब माथिको काराबोर भएकोमा सोमबार कुल २ सय २४ कम्पनीका एक करोड ६३ हजार ६ सय ३६ कित्ता सेयर ५२ हजार ८४६ पटक किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५ सय ७९ रुपैयाँको कारोबार भएको छ । यसदिन व्यापार, म्यानु एण्ड प्रो, म्युचुअल फण्ड, लगानी लगायत अन्य समूह धनात्मक (पोजेटिभ) हुँदा अन्य सबै समूहहरु ऋणात्मक भएका छन् । गत आइतबार नेप्से परिसूचक ८.४८ अंकले घटेर २ हजार ८३४.५१ विन्दुमा झरेको थियो भने बजारमा ५ अर्ब ५ करोड ३५ लाखको सेयर कारोबार भएको थियो ।
पञ्जाबविरुद्ध टस जितेर बलिङ गर्दै आरसीबी
काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरू हुँदैछ । आरसीबीले प्लेइङ-११ मा आज एक खेलाडी परिवर्तन गरेको छ । उसले वासिङ्टन सुन्दरको स्थानमा साहबाज अहमदलाई मौका दिएको छ । पञ्जाबले भने प्लेइङ-११ मा तीन खेलाडी परिवर्तन गरेको छ । उसले मोइसेस हेनरिक्स, मयंक अग्रवाल र अर्शदीप सिंहलाई आराम दिँदै रीलि मेरिडिथ, हरप्रीत ब्रार र प्रभुसिमरन सिंहलाई मौका दिएको छ । जारी संस्करणमा आरसीबीले ६ म्याच खेल्दा पाँचमा जित र एक खेलमा मात्र हार ब्यहोरेको छ । पञ्जाबले भने ६ खेलमा दुई जित र चार खेलमा हारको सामना गरेको छ । पछिल्ला पाँच खेलमा आरसीबीले पञ्जाबलाई तीन खेलमा पराजित गरेको छ । गत सिजनका दुवै खेलमा भने पञ्जाबले आरसीबीलाई हराएको थियो । पञ्जाबको प्लेइङ-११ : केएल राहुल (कप्तानरविकेटकीपर), क्रिस गेल, प्रभुसिमरन सिंह, दीपक हूडा, निकोलस पूरन, रिले मेरीडिथ, शाहरुख खान, क्रिस जोर्डन, रवि विश्नोई, मोहम्मद शामी र हरप्रीत ब्रार । आरसीबी प्लेइङ-११ : विराट कोहली (कप्तान), देववदत्त पाडिक्कल, रजत पाटीदार, ग्लेन मैक्सवेल, एबी डिभिलियर्स, सहबाज अहमद, काइल जेमिसन, डानियल साम्स, हर्षल पटेल, मोहम्मद सिराज र युजवेन्द्र चहल ।
विश्वकप छनोट खेल कुवेतमा हुने
काठमाडौं । विश्वकप फुटबल २०२२ तथा एएफसी एशिया कप चीन २०२३ को छनोट खेल कुवेतमा हुने भएको छ । एशियाली फुटबल संघले एशिया छनोट खेल हुने स्थल शुक्रबार तय गरेको छ । गत साता एशियाली फुटबल संघ(एएफसी)ले नेपालले आयोजना गर्ने दोस्रो चरणको अष्ट्रेलिया विरुद्धको छनोट खेल स्थगित भएको जनाएको थियो । एएफसीले एशियाली सदस्य राष्ट्रहरुसँग नजिकको छलफलपछि छनोट खेल हुने स्थलको टुंगो लगाएको जनाएको छ । दोस्रो चरणको सबै खेल ३१ मई देखि १५ जुनसम्म खेलाइनेछ । तालिका बमोजिम चीनले समूह ए को सिरीया, फिलिपिन्स, माल्दिभ्स र गुआमबीचको खेलको आयोजना गर्नेछ । कुवेतलाई समूह बी अन्तगर्तको सबै खेल आयोजना गर्ने जिम्मेवारी दिइएको एएफसीले उल्लेख गरेको छ । नेपाल, अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइ समूह बी मा छन् । नेपालले चैत्त १७ गते दशरथ रङशालामा अष्ट्रेलियाको सामना गर्ने तय भएको थियो । दोस्रो चरणको छनोट अन्तगर्त नेपालले चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डन विरुद्ध खेल्न बाँकी छ । नेपालले छनोट चरणमा पाँच खेलमध्ये एकमा जित र चारमा हार बेहोरेर अङ्कतालिकाको चौथो स्थानमा छ । नेपालको तीन अङ्क छ । शीर्ष स्थानमा रहेको अष्ट्रेलियाले चारमध्ये चारै खेलमा जित हात पार्दै १६ अङ्क बटुलेको छ । कुवेतले पाँच खेलबाट १४ अङ्कसहित दोस्रो र जोर्डन पाँच खेलबाट दश अङ्कसहित तेस्रो स्थानमा छ । कुवेतले पाँचमध्ये तीनमा जित र एउटा बराबरी खेलेको छ भने एउटामा हार बेहोरेको छ । जोर्डनले पाँचमध्ये तीनमा जित र एउटा बराबरी तथा अर्कोमा हार बेहोरेको छ । चाइनिज ताइपेईले भने पाँच खेलमध्ये पाँच वटैमा हार बेहोरेर अङ्कविहीन हुँदै पूछारमा छ । नेपालले छनोट अन्तगर्तको पहिलो खेलमा कुवेतसँग ७–० ले हार बेहोरेको थियो । दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको नेपालले तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० को हार बेहोरेको थियो । जोर्डनसँग ३–० को हार बेहोरेको नेपालले आफ्नो पछिल्लो खेलमा कुवेत विरुद्ध भुटानको थिम्पुमा ०–१ को हार बेहोरेको थियो ।
गृहजिल्ला झापा जाँदै प्रधानमन्त्री ओली
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा जाने कार्यक्रम छ । प्रधानमन्त्री ओली १० बजे भद्रपुर विमानस्थल पुग्ने कार्यक्रम छ। विकास निर्माणका बिभिन्न कार्यको शिलान्यास तथा उदघाटन गर्न उनी झापा जान लागेका हुन । आज झापा क्षेत्र नम्बर ५ मा पुगेर पार्कको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीले रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने पनि कार्यक्रम छ। प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्कनेछन्।
संसद् पुनर्स्थापनाको पहिलो ‘ब्याटल’ जित्यौं, अझै युद्ध बाँकी छः प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जालझेल, छलकपटमात्रै बढि रहेको टिप्पणी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध शिक्षकहरूको शनिबार ललितपुरको जावलाखेलमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीसँग फुटाउ र शासन गर भन्ने मात्रै नीति रहेको टिप्पणी गरे । उनले भने, ‘ओलीले जेलमा बस्दा चाणक्य नीतिमात्रै पढे क्यारे, महाभारत र चाणक्य नीति पढ्या छ, अनि सकुनीको भूमिका खुब मन पर्दो रहेछ उनलाई, सकुनी सबभन्दा राम्रो पात्र उनको लागि, अहिले उनी सकुनीको भूमिकामा छन् हेर्नुहोस् ।’ प्रचण्डले विचारमा एकता भएपछि मात्र पार्टी एकता सम्भव हुने बताए । उनले भने, ‘फेरि केपी ओलीसँग समहति हुन सक्छ सक्दैन भन्ने सन्दर्भमा सहमति कोसँग हुन्छ कोसँग हुँदैन, व्यक्तिगत रुपले को कसलाई मन पर्छ वा मन पर्दैन भन्ने विषय यो होइन । यो विधि, पद्धतिको विषय हो । विचारमा एकता भयो भने एकता हुन्छ, नभए हुँदैन ।’ ओलीले सहमति लागू नगर्ने, राजनीतिक प्रतिवेदनको कुरा लागू नगर्ने गरेको आरोप प्रचण्डले लगाए । उनले अगाडि भने, ‘उहाँ त एक्लै आइ एम द स्टेट, श्री ३ महाराजजस्तै ।’ ‘हिजोको एमाले कहाँ छ, माओवादी कहाँ छ भन्दा अहिले नेकपामा,’ प्रचण्डले भने, ‘यदि हिजोको एमालेलाई ओलीले सोधेको हो भने माधवकुमार नेपाल यहीँ हुनुहुन्छ।’ उनले जनताको बहुदलीय जनवाद छोड्ने तत्कालीन एमालेबाट पहिलो नेता केपी भएको दाबी समेत गरे । ‘आजभोेलि केपी ओलीले ‘जबज हामी, एमाले हामी अर्को त माओवादी हो’ भनेर जो भ्रम दिन खोजिरहेका छन् योभन्दा ठूलो झुट, योभन्दा ठूलो बेइमानी, योभन्दा ठूलो अनैतिकता केही पनि हुन सक्दैन,’ प्रचण्डले भने, ‘जनताको बहुदलीय जनवाद ‘ड्रप’ गर्ने पहिलो एमालेको कोही नेता छ भने त्यो खड्ग प्रसाद ओली अर्थात केपी ओली नै हो । त्यसको प्रमाण छ, राजनीतिक प्रतिवेदन, सबै जनसमितिका दस्तावेजमा केपी ओली र प्रचण्डका जेठ ३ गते भएका हस्ताक्षर छन् । यो चाहिँ सत्य हो ।’ प्रचण्डले संसद् पुनर्स्थापनाको पहिलो ‘ब्याटल’ जितेको भन्दै अझै युद्ध बाँकी नै रहेको बताए । अनेक खालका षड्यन्त्रहरू भइरहेको उनको भनाइ छ ।
मनोरम चित्लाङ
मकवानपुर: ‘कुन मन्दिरमा जान्छौ यात्री ? कुन मन्दिरमा जाने हो ? कुन सामग्री पूजा गर्ने ? साथ कसोरी लाने हो…?’ महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित तथा रञ्जित गजमेरद्वारा सङ्गीतबद्ध र रविन शर्माको आवाजमा स्वराङ्कन भएर आजभन्दा ३६ वर्ष अगाडिको चर्चित चलचित्र ‘वासुदेव’ मा समावेश गरिएको यो मिठो सङ्गीतमा पशुपति बहुमुखी क्याम्पस मित्रपार्क चाबहिलमा स्नातक तहमा अध्ययनरत सर्लाहीकी स्मीता थापा ‘टिकटक भिडियो’ छायाङ्कन गर्दै थिइन्। त्यहाँ उनी जस्तै भिडियो बनाउने अरु धेरै थिए तर सबैले यही एउटा मात्र गीतमा भिडियो बनाइरहेका थिए। एउटा ढुङ्गेधारा उनीहरुको एकमात्र ‘सुटिङ स्पट’ थियो। धाराको डिलमा बसेर कापी कलम बोकेर केही लेखेजस्तो गरेर फोटो खिच्नेहरु पनि प्रशस्त थिए। केहीबेर त्यहाँ बसेर त्यो गतिविधि नियाल्ने जो कोहीलाई पनि त्यो धारा र त्यो गीतसँग पक्कै पनि केही न केही अन्तरसम्बन्ध छ भन्ने कुराको भान परिहाल्छ। मनमा पलाएको कौतुहलता मेट्न धारा नजिकै भएको बोर्ड अध्ययन गर्न पनि सकिने रहेछ। बोर्डमा लेखिएको छ, ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘यात्री’ कविताको रचनास्थल ‘गुर्जुधारा’।’ मकवानपुरको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र चित्लाङस्थित ‘गुर्जुधारा’ चन्द्रागिरिको फेदीमा मकवानपुरपट्टि पर्छ। यातायातको विकास हुनुअघि भारत तथा नेपालका विभिन्न क्षेत्रबाट काठमाडौँ प्रवेश गर्ने एक मात्र नाका चित्लाङ भएकोले यही मार्ग भएर आउजाउ गर्नु थुप्रै नेपाली र विदेशीको एकमात्र विकल्प थियो। महाकवि लक्ष्मीप्रसाद देवकोटा त्यही मार्ग हुँदै कयौँ पटक आवतजावत गर्थे। कुनै कवि सम्मेलनमा सहभागी हुन भारत जान लाग्नुभएका महाकवि देवकोटा एकदिन गुर्जुधारा नजिकै धर्मशालामा बास बस्नुभएको थियो। बास बस्ने क्रममा उनले पशुपति दर्शनका लागि भारतदेखि आएका तीर्थयात्रु पहाडी बाटोमा हिँड्न नसकेर भरियामार्फत बोकिएर हिँडेको, उनीहरुसँग अशक्त, अपाङ्ग तथा माग्नेले भिखको लागि हारगुहार गरेको तर उनीहरुले बेवास्ता गरेको देखे। हेर्दा निकै नै धनाढ्य देखिने ती यात्रीहरुले धर्मशाला वरिपरि बसेका भिखारीको भिख र सहयोगको अनुरोध भने नसुनेझैँ गरी बेवास्ता गरेकोप्रति भावुक भएर महाकविले ‘यात्री’ कविता लेखेको अग्रजहरुबाट सुनेको बताउँछन् स्थानीय स्वछन्द्र भैरव माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक तथा होमस्टे सङ्घका केन्द्रीय सल्लाहकार बुद्धरत्न मानन्धर। स्थानीय होमस्टे सञ्चालकसमेत रहनुभएका मानन्धरका अनुसार ऐतिहासिक व्यापारिक बाटो (सिल्क रोड) मा रहेको गुर्जुधारा चन्द्रागिरि पर्वतको फेदीमा अवस्थित छ। यहाँ महाकवि देवकोटाले रचना गरेका अनेकौँ रचनामध्ये ‘यात्री’ कविता सुप्रसिद्ध भएको छ र यसै प्रसिद्धिको नाताले मानन्धरले यहाँ एउटा होमस्टे सुरु गरे। जसको नाम ‘गुर्जुधारा होमस्टे’ राखिएको छ। चित्लाङमा गुर्जुधारा मात्रै हैन थुप्रै पौराणिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा छन् जसले यहाँ थुप्रै आन्तरिक तथा बाह्य पर्यटकलाई आफूतर्फ आकर्षित गरिरहेका छन्। मानन्धरका अनुसार चित्लाङ नेपालको पुराना शहरमध्ये एक हो। लिच्छवीकालीन राजा अंशुवर्माले सातौँ शताब्दीमा यो शहर बसालेको इतिहासकारलाई उद्धृत गर्दै मानन्धर बताउँछन्। चन्द्रगिरिबाट एक घण्टाको पैदल दूरीमा पर्ने चित्लाङ प्राचीन बस्तीको झल्को दिनेखालका घरले मनमोहक देखिन्छ। सम्राट अशोकको प्रतिबद्धताअनुसार उनकी छोरी चारुमतीले बनाएको अशोक चैत्य अर्थात चारुमती बिहार यहाँको प्रमुख पर्यटकीय गन्तव्यअन्तर्गत पर्दछ। तीनवटा गजुर भएको ढुङ्गैैढुङ्गाले बनेको पौराणिक शिव मन्दिर पनि यहाँको अर्को आकर्षक गन्तव्य हो। मानन्धरका अनुसार चित्लाङको प्राचीन नाम चित्रापुर हो। उसबेला थानकोटको नाम शोणितपुर थियो। त्यहाँका राजा बाणासुरको पुत्री राजकुमारी उषामैयाको सहेली ‘चित्रा’ ले यहाँको प्राकृतिक सुन्दरतालाइ मन पराएर दैनिक आउने गरेकीले यो ठाउँको नाम चित्रापुर रहन गयो। पछि भारतका सम्राट अशोकपुत्री चारुमती स्वयम्भूको दर्शनार्थ आउँदा चित्रापुरको बाटो हुँदै स्वयम्भूको दर्शन गरिन् र काष्ठमण्डपको उत्तरको विशाल मैदानबीचमा एउटा बौद्ध बिहार बनाइन् जसको नाम क्रमशः चाबहीर चाबहिल र चाबेल रहन गयो। यो घटनाक्रम २२ सय वर्ष अघिको थियो र सोही बखत चारुमतीको सहयोगमा यता चित्रापुरमा पनि एउटा ‘चैत्य’ निर्माण भयो जसलाई अशोक चैत्य भनिन थालियो। चारैतिरका मान्छेहरुले चैत्य दर्शन गर्न आउन थाले। नेवारहरुले चैत्य आउँदा प्रयोग गरेको यहाँको बाटोलाई चैत्य लँ भन्न थाले। लँ को अर्थ बाटो हो। चैत्यलँ भनिँदै जाँदा यो चित्रापुर भन्ने ठाउँको नाम नै चैत्यलँ बाट चैत्यलङ चेतलङ हुँदै चित्लाङ हुन गएको बताइन्छ। यस ठाउँको नाम चित्लाङ नामकरण भएको करिब दुई हजार दुई सय वर्ष जति भएको मानन्धर बताउँछन्। समुन्द्री सतहबाट दुई ५०० मिटरको उचाइमा रहेको चन्द्रागिरि पर्वतको दक्षिणी पानीढलोपट्टिको भाग चित्लाङमा पर्छ। ऐतिहासिक भालेश्वर महादेवको प्राचीन मन्दिर चित्लाङतिर पर्छ तर हाल नयाँ विशाल मन्दिर बनेपछि पुरानो मन्दिरको भने बेवास्ता भएको पाइन्छ। चित्लाङको मुख्यबस्ती समुन्द्री सतहबाट एक हजार ७५० मिटरको उचाइमा पर्दछ। दक्षिणमा देशकै ठूलो मानव निर्मित ताल इन्द्रसरोवर, पूर्वमा दामन, पालुङ र उत्तरमा काठमाडौँसँग जोडिएको यस क्षेत्र सुन्दरताले भरिपूर्ण छ। देशकै सबैभन्दा ठूलो चरनक्षेत्र भएको पहाडी चउर चित्लाङमै पर्दछ। यहाँ सरकारले विगतमा सञ्चालन गरेको भेडा फार्म र प्रदेश सरकारले बाख्रा विकास फार्मको रुपमा सञ्चालन गरिरहेको छ। बाख्राको दूध र त्यसबाट बनेको ‘चिज’ का लागि पनि चित्लाङ प्रसिद्ध छ। विगतमा मुलाको लागि प्रसिद्ध चित्लाङ खुर्सानीका लागि पनि उत्तिकै परिचित छ। यहाँ दुईवटा सुविधा सम्पन्न रिसोर्ट र २० वटा होमस्टे सञ्चालित रहेको र हप्तामा ७०० देखि एक हजारसम्मले बास बस्ने गरेको बताउनुहुन्छ चित्लाङ रिसोर्ट प्रालिका सञ्चालक रामशरण नेपाल। नेपालका अनुसार यहाँ दैनिक मोटरसाइकल वा गाडीमा घुम्न आउने र फर्कनेको सङ्ख्या सयौँ छ। केही विदेशी तथा अधिकांश नेपाली पर्यटकले भरिभराउ रहने चित्लाङमा एकरात बस्नेगरी जानेको सङ्ख्या बढी हुने होटल व्यवसायी बताउँछन्। शुक्रबार यहाँका अधिकांश होमस्टे र रिसोर्ट भरिभराउ हुन्छन्। एशियामा नेपालमा मात्रै पाइने उँटे भेडा (अल्पाका) पनि चित्लाङमा पालिएको छ। रिस उठ्यो भने थुकेर रिस मार्ने यो प्रजातिको ऊन संसारमा सबैभन्दा महङ्गोे ऊन हो। यही जनावरलाई हेर्नका लागि मात्रै बर्सेनि यहाँ हजारौँ मानिस आउँछन्। यहाँको अर्को आकर्षण हो, जैतुन खेती। जैतुन स्वास्थ्यवद्र्धक तेलका लागि विश्व प्रसिद्ध छ। अत्यन्तै महङ्गाे मूल्यमा बिक्री हुने तेल उत्पादन हुने जैतुन वातावरणमा सबैभन्दा अक्सिजन फाल्ने वनस्पती मध्ये पर्दछ। चित्लाङमा विदेशको मरुभूमिमा मात्र देख्न पाइने क्वाड बाइक भनिने चारपाङ्ग्रे मोटरसाइकलको मज्जा पनि लिन सकिन्छ। यहाँ आउने पर्यटकले भरपुर आनन्द लिएको पाइन्छ। काठमाडौँको थानकोटबाट एक दिनका लागि यहाँ आएकी सम्झना कोइराला चित्लाङको चित्ताकर्षणले लोभ्याएको बताउँछिन्। ग्रामीण स्वच्छ वातावरण, पौराणिक चिजबिज, बगान ऐतिहासिकस्थल आदिले उनलाई आनन्दित पारेको छ। ‘यो पटक साथीसँग आएँ अब परिवारसँग चाँडै आउँछु’, उनले बताइन्। हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयकी शिक्षिका कुशुम थापालाई पनि चित्लाङ साह्रै मन पर्यो। सहकर्मीहरुसँग घुम्न आउनुभएकी उनलाई जैविक खेती, ऐतिहासिक सातधारा, गुर्जुधारा, चन्द्र दरबार, पौराणिक वस्तुहरु आदिको भ्रमणले आनन्दित बनाएको बताउनुहुन्छ। चित्लाङको विकास र पर्यटकीय प्रवद्र्धनमा स्थानीय तथा प्रदेश सरकार लागि परेको थाहानगरका प्रमुख लवशेर विष्ट बताउँछन्। ‘हामीले सङ्घीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गरेर चित्लाङको विकासका लागि थुप्रै योजना बनाएका छौँ, कतिपय काम भइरहेका छन् कतिपय हुँदैछन्’, उनले बताए।
प्रदेश १ को प्रदेश सभा बैठक बस्दै, मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ताव टेबल हुने
विराटनगर । माघ ७ गते शुरु भएर दुई पटक स्थगित गरिएको प्रदेश नं १ को सातौं तथा हिउँदे अधिवेशनको बैठक आज २ बजे बस्ने भएको छ । पहिलो पटक माघ ७ गते प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सभा अधिवेशन बोलाइएको पत्र पढेर अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो । दोश्रो पटकको बैठकमा सत्तापक्षका सांसदहरुले उभिएर अवरोध गरेपछि प्रदेश सभा बैठक स्थगित भएको थियो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजको संसद् बैठक रोक्न पनि सभामखु प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए । तर, आज बिहान भएको छलफलमा सभामुखले मुख्यमन्त्री राईको उक्त प्रस्ताव अस्वीकार गरेका छन् । आजको बैठकमा नेकपाको प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री राईविरुद्ध दर्ता गराएको अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची छ । तर, नेकपा ओली पक्ष भने उक्त प्रस्तावमा छलफल नै हुन नदिने गरी सदन अवरुद्ध गर्र्न तयारी छ । नेकपाका प्रचण्ड–नेपाल समुहका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । ९३ सदस्यीय प्रदेशसभामा नेकपाको दुवै समुह गरि ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक एक जना सांसद छन् ।
नारायणकाजीको चिन्ताः देश गम्भीर संकटबाट गुज्रिँदैछ, वैदेशिक हस्तक्षेप बढ्दैछ
काठमाडौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले देश गम्भीर संकटबाट गुज्रिरहेको बताएका छन् । सामाजिक सञ्जालमा उनले देश गम्भीर संकटबाट गुज्रिरहेको र पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरुबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको श्रेष्ठको आरोप छ । विदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ भनेर सुक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेको श्रेष्ठको भनाइ छ । प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गर्न सम्पुर्ण देशभक्त शक्तिहरु एक हुनुपर्ने, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न श्रेष्ठले सबैलाई आग्रह गरेका छन् । देश गँभीर संकटबाट गुज्रदैछ। सम्पुर्ण देशभक्त शक्तिहरु एक होऔं ।प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं । राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गरौं । https://t.co/xWyXyHSYt3 — NKShresthaPrakash (@nksthaprakash) February 17, 2021