नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार बलिङ, १ सय २१ रनको लक्ष्य प्राप्त
काठमाडौँ । जारी टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरतको खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले शानदार बलिङ गरेको छ । नेपालले जीतका लागि १ सय २१ रनको लक्ष्य प्राप्त गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएको हो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रनको योगदान गरे । उनले २४ बलमा ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, टिम भान डर गगटेनले २६ बलमा दुई चौका प्रहार गर्दै २४ रनको योगदान दिए । कप्तान स्कट एडवर्डस्ले २१ बलमा १८ रन बनाए ।
नेपालका लागि प्रतिश जिसीले घातक बलिङ गर्दै ३ विकेट लिए । आफ्ना तीन शिकारलाई बोल्ड गरेका उनले ४ ओभरमा एक मेडन ओभर राख्दै मात्र १३ रन खर्चेर ती विकेट लिए । त्यस्तै, कुशल मल्ले ४ ओभरमा किफायती बलिङ गर्दै १८ रन खर्चेर २ विकेट लिए ।
यसअघि ३ ओभर बलिङ गरेका करन केसीले १८ रन खर्चेर २ विकेट लिएका थिए । दीपेन्द्र सिंह ऐरीले एक विकेट हात पारे ।
टी–२० सिरिज : आज नेपाल र नेदरल्याण्ड्स खेल्ने, फाइनलमा पुग्न नेपालले जित्नैपर्ने
काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले शुक्रबार नामिबियालाई ३ रनले पराजित गरेको थियो । त्यस्तै यस अघि सम्पन्न खेलमा नेदरल्याण्ड्ससँग २ रनले र नामिबियासँग २० रनले पराजित भएको थियो । यता, नेदरल्याण्ड्सले २ खेलमा एक जित हासिल गरेको छ । नेपालका लागि फाइनलमा पुग्न आजको खेलमा जित हासिल गर्न आवश्यक रहेको छ । नेपालको अन्तिम खेल भएकाले यस खेलमा पराजित भए सिरिजबाट बाहिरिने छ । नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ । आईसीसीको टी–२० वरियतामा यी तीन देश मध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ । नामिबिया ११औँ स्थानमा रहँदा नेदरल्याण्ड्स १५औँ र नेपाल १६औँ स्थानमा रहेको छ । सिरिजमा भोलि नामिबिया र नेदरल्याण्ड्स खेल्नेछन् भने फाइनल खेल फागुन २२ गतेलाई तय भएको छ । यस्तो छ नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।
नामिबियामाथि नेपालको ३ रनको रोमाञ्चक जित
काठमाडौं, १८ फागुन । त्रिकोणात्मक टी २० आई सिरिजमा नेपालले नामिबियामाथि रोमाञ्चक जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले नामिबियालाई ३ रनले हराउँदै फाइनल पुग्ने संभावना कायम राखेको छ । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए । त्यसअघि तीन ओभर बलिङ गर्दा ४१ रन दिएका करणले अन्तिम ओभर भने किफायती बलिङ गर्दै नेपाललाई जित दिलाए । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे । ७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरे । आरिफ ३१ रनमा आउट भए । सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भए । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।
जित्नैपर्ने खेलमा नेपाल दबाबमाः गुम्यो दुई विकेट
१८ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियासँगविरुद्ध सुरुमै दबाब झेलेको छ । दोस्रो ओभरमै आशिफ सेखको विकेट गएको नेपालका लागि चौथो ओभरमा कम्तान रोहित पौडेल पनि पेभिलियन फर्किएका छन् । १.१ ओभरमा ओपनर आसिफ शेख बेन शिकोंगोको बलमा बोल्ड भएका छन् । दोस्रो बल फेस गरेका उनी व्यक्तिगत १ रनमा आउट भएका हुन् । कप्तान रोहित पौडेल दुई चौका सहित दश रन जोड्दा ३.४ ओभरमा ज्याक ब्रासेलको बलमा जेजे स्मिथबाट क्याच आउट हुन पुगे । नेपालको टिममा आज ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् । उनीहरुको स्थानमा आरिफ शेख, अभिनाश बोहरा र अनिल साह टोलीमा छन् ।
नेपालसामु नामिबियालाई हराउनै पर्ने दबाब
काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने आवश्यकता छ । आजको खेलमा पराजित भए नेपाल औपचारिक रुपमै फाइनल प्रतिस्पर्धाबाट बाहिरिनेछ । नेदरल्यान्ड्सले नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै शीर्षस्थानमा छ । नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो । नेपाललाई पहिलो खेलमा हराउन नामिबियाका जान निकोल लोफ्टी एटनले ३६ बलमा ८ छक्का र ११ चौकासहित १०१ रनको शतकीय इनिङ खेलेका थिए । बिहीबार माइकल लेभिटले १३५ रनको शतकीय इनिङ खेलेपछि नेदरल्यान्ड्सले नामिवियाविरुद्ध २४७ रन बनाएको थियो । रुबेन ट्रम्पलम्यान नामिवियाका प्रमुख बलर हुन् । पावर प्लेमा उनको बलमा बच्न सके नेपालले राम्रो योगफल बनाउन सक्छ । नेपालका भरपर्दा ब्याट्समेन कुशल भुर्तेल दुवै खेलमा शून्यमा आउट भएका छन् । नेपाल दुवै खेलमा फिनिसिङमा कमजोर देखिएको छ । नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् । नेपाल फाइनलमा पुग्न दुवै खेलमा जित आवश्यक छ ।
किर्तिमानी खेलमा नेदरल्यान्ड्ससँग नामिबिया पराजित
काठमाडौं, १७ फागुन । छक्का र चौकाको वर्षा भएको त्रिकोणात्मक टी २० आई सिरिजमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हराएको छ । पहिलो खेलमा नेपाललाई २ रनले हराएको नेदरल्यान्ड्सले माइकल लेभिटको शतकमा लगातार दोस्रो जितका साथ फाइनल सम्भावना बलियो बनाएको छ । त्रिवि क्रिकेट मैदानमा जितको लागि २४८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो । नामिबियाका जान फ्रेलिंकले २७ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए । विकेटकिपर जेन ग्रीनले २० बलमा ४ चौका र ३ छक्कासहित ४२ रनको अविजित इनिङ खेल्दै हारको अन्तर घटाए । जेपी कोट्जी १५ बलमा ३ चौका र २ छक्कासहित २६, कप्तान जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले १९–१९ रन बनाए । नेदरल्यान्ड्सका भान डर गुग्टेनले २, भिभियन किंग्मा, फर्द क्लासेन, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट र रोलेफ भान डर मर्वे १–१ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको थियो । यो नेदरल्यान्ड्सको टी(२० आईको उच्च योगफल हो । नेदरल्यान्ड्सको यसअघि टी–२० आईमा उच्च योगफल २०२१ मा नेपालविरुद्ध २०९ रन थियो । नेदरल्यान्ड्सको जितमा ओपनर माइकल लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १३५ रनको शतकीय इनिङ खेले । नेपालविरुद्ध डेब्यू गरेका लेभिटले आफ्नो दोस्रो खेलमै नेदरल्यान्ड्सबाट टी(२० आईमा एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाए । २०२१ मा म्याक्स ओडाउडले मलेसियाविरुद्ध टीयूमा नै १३३ रनको शतकीय इनिङ खेलेका थिए । साइब्रान्ड एंगेलब्रेक्ट ४० बलमा ७ चौका र ५ छक्कासहित ७५ रनमा आउट भए । दोस्रो विकेटका लागि लेभिट र एंगेलब्रेक्टले १९३ रनको विश्व कीर्तिमानी साझेदारी गरेका थिए । यो टी–२० आईमा दोस्रो विकेटका लागि भएको उच्च साझेदारी हो । स्कटल्यान्डका हरिस र ब्रेन्डन म्याकुलेनले २०२३ मा इटालीविरुद्ध दोस्रो विकेटका लागि गरेको १८३ रनको साझेदारी तोडेका थिए । तेजा निणामानिरु ३ बलमा ३ छक्कासहित १८ रनमा नट आउट रहे । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । बेन सिकोंगो र जान फ्रेलिंकले १–१ विकेट लिए । दुवै इनिङ्ग्समा गरी कुल ४३५ रन बनेको खेलमा कुल ३० छक्का प्रहार भएका थिए। जसमा नेदरल्यान्ड्सले १८ छक्का हिर्काएको थियो। यस्तै खेलमा ३३ चौका समेत प्रहार भयो। जसमा नेदरल्यान्ड्सले मात्र २० चौका प्रहार गरेको थियो। खेलमा चौका र छक्काबाट मात्र कुल ३१२ रन बन्यो। नामिबियाले नेपाललाई २० रनले हराएको थियो । नेदरल्यान्ड्सले नेपाललाई २ रनले हराएको थियो । नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल्न नेपाललाई दुबै खेल जित्नुपर्ने दबाब छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान
काठमाडौं, फागुन १७ । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न टेण्डर आह्वान गरेको छ। महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माणका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो। भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा छ। रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो । महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गरेर इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेश गर्न आह्वान गरेको छ। भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आचार्यका अनुसार टेण्डरको प्रस्ताव ३१ औं दिनमा खोलिनेछ र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरूको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ। रंगशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथामिकता दिइने महानगरपालिकाका वरिष्ठ ईन्जिनियर आचार्यले जानकारी दिए। टेण्डर सम्बन्धी गुनासो भए २० दिनभित्र महानगरपालिकामा सम्पर्क गर्न प्रकाशित सूचनामा भनिएको छ । रंगशालाको पहिलो चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण हुनेछ । यो काम पुरा हुँदा रंगशालाको क्षमता १५ हजार जनाको पुग्नेछ । महानगरपालिकाले विगत पाँच वर्षमा सरदर ५८ करोडको वार्षिक निर्माण कारोबार गरेको राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरी रंगशाला निर्माणको प्रक्रिया सुरु गरेको हो। यसअघि, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको पहलमा वागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो । गत माघ २३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । बाँकी रकम भरतपुर महानगरपालिकाले खर्च गर्ने छ । महानगरपालिका प्रमुख दाहालले रंगशालाको निर्माण महानगरको गौरवको परियोजना भएको बताइन् । उनले ठेक्का आह्वानसँगै रंगशाला निर्माण सम्पन्न गर्ने आफ्नो संकल्प अब पूरा हुने विश्वास व्यक्त गरिन् । संघीय सरकारसँग पनि रंगशाला निर्माणका लागि रकम माग गरिएको महानगरपालिकाले जनाएको छ । संघीय मन्त्रिपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजनाभित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरु मिलेर पूरा गर्ने निर्णय गरेको थियो । सो निर्णयमा रंगशालाको निर्माणको मुख्य पहलकदमी र समन्वय भने महानगरपालिकाले गर्ने उल्लेख छ ।
वाफ वुमन्स च्याम्पियनसिपको उपाधि लागि नेपाल र जोर्डन खेल्दै
काठमाडौं, १७ फागुन । साउदी अरेबियामा आज नेपाली महिला फुटवल टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली राष्ट्रिय महिला फुटबल टोली ऐतिहासिक उपलब्धि नजिक पुगेको हो । खेल नेपाली समय अनुसार राति पौने १० बजे जेद्दाहमा रहेको प्रिन्स अब्दुल्लाह अल(फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ । नेपाल पहिलोपटक वाफको प्रतियोगितामा सहभागी भएको छ भने जोर्डनले अहिलेसम्म भएका ७ मध्ये ५ संस्करणको उपाधि जितेको छ । जोर्डन डिफेण्डिङ च्याम्पियन समेत हो । प्रतियोगिता खेलेका ८ टिम मध्ये नेपाल भने १०५ औं स्थानमा रहँदा जोर्डन सबैभन्दा माथि ७३ औं स्थानमा छ । सन् २००५ मा सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपको सुरुका दुई संस्करण जितेको जोर्डनले २०१४ देखि पछिल्ला तीन संस्करणको उपाधि पनि जितेको छ । जोर्डनले २०१४ र २०१८ मा एएफसी वुमन्स एसिया कप पनि खेलेको थियो । यस्तै तीनपटक एसियन गेम्स समेत खेलेको छ । जोर्डनलाई पराजित गर्दै नेपाल पहिलो पटक महिला फुटबलको अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यमा रहेको छ । यद्यपि जारी प्रतियोगितामा एक ह्याट्रिकसहित सर्वाधिक ९ गोल गरिसकेकी टोलीकी मुख्य सदस्य सावित्रा भण्डारी फ्रेन्च क्लब इए गुइगाम्पको खेलका कारण फ्रान्स फर्कनु परेपछि नेपालको फाइनल खेल गुमाउने भएकी छन् ।
नेदरल्याण्डस् सँग नेपाल २ रनले पराजित
काठमाडौं, १६ फागुन । त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराएको छ । टीयु क्रिकेट मैदानमा भएको खेलमा निर्धारित २० ओभरमा नेदरल्याण्डस्ले चार विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । नेपाल भने २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८२ रनमा समेटियो । रोमाञ्चक खेलमा नेपालले अन्तिममा खेल गुमाउन पुगेको हो । नेपालको स्कोर १२६ रन हुँदा सोमपाल कामी छैटौं विकेटका रुपमा डक आउट भएका थिए । त्यसपछि क्रिजमा रहेका दिपेन्द्रसिंह ऐरी र करण केसीले जित तर्फ अग्रसर गराएका थिए । तर अन्तिम ओभरमा दुबै जना आउट भएसँगै नेपाल एक सय ८२ रनमा सीमित भयो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले पारी सम्हाल्दै ३४ बलमा ६३ रन ल्याएपनि पर्याप्त भएन । उनलाई साथ दिइरहेका करण केसी पनि ११ रन बनाउँदै रनआउट भएका थिए । त्यसअघि सन्दीप जोरा व्यक्तिगत ८ रनमा आउट भए । रोहित पौडेल अर्धशतक पूरा गर्दै आउट भएका थिए । कुशल मल्ल ११ र आशिफ शेख ३४ रनमा आउट भए कुशल भुर्तेल खाता नै नखोली पभेलियन फर्किएका थिए । त्यसअघि नेदरल्याण्डस्का लागि मिचेल लेभिटले ५४, स्याब्रान्ड एंगेलब्रेक्टले ४९, स्कट इडवार्डस्ले ३३, तेजा निडामानिरुले ३१ र म्याक्स ओडोउडले चार रनको योगदान गरे । नेपालका करण केसी र कुशल मल्लले समान एक एक विकेट लिए भने अन्य दुई खेलाडी रन आउट भएका थिए । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब थियो । अब अन्तिम दुई जितसँगै नेटरनरेटमा भर पर्नुपर्ने भएको छ ।
खाता नखोल्दै भुर्तेल आउट
काठमाडौं, १६ फागुन । त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाल सामु दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । टीयु क्रिकेट मैदानमा जारी खेलमा नेपालका भरपर्दा ब्याट्स्म्यान कुशल भुर्तेल नेपालले खाता नै नखोल्दै आउट भए । लगातार दोस्रो खेलमा कुशल भुर्तेल डक आउट भएका हुन् । उनी पहिलो खेलमा नामिवियाविरुद्ध पहिलो बलमै एलबीडब्लू आउट भएका थिए । नेदरल्यान्ड्सका तीव्र गतिका बलर किंग्माको एन्थ बलमा एज लागेर विकेटकिपर स्कर्टबाट भुर्तेल सहज क्याच आउट भए । क्रिजमा आशिफ सेख र कप्तान रोहित पौडेलले रनका लागि संघर्ष गरिरहेका छन् । यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेदरल्याण्डस्ले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । नेदरल्याण्डस्का लागि मिचेल लेभिटले ५४, स्याब्रान्ड एंगेलब्रेक्टले ४९, स्कट इडवार्डस्ले ३३, तेजा निडामानिरुले ३१ र म्याक्स ओडोउडले चार रनको योगदान गरे । नेपालका करण केसी र कुशल मल्लले समान एक एक विकेट लिए भने अन्य दुई खेलाडी रन आउट भएका थिए । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ ।
नेदरल्याण्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य
काठमाडौं, १६ फागुन । त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाल सामु एक सय ८५ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा जारी खेलमा निर्धारित २० ओभरमा नेदरल्याण्डस्ले चार विकेट गुमाएर एक सय ८४ रन बनाउन सक्यो । नेदरल्याण्डस्का लागि मिचेल लेभिटले ५४, स्याब्रान्ड एंगेलब्रेक्टले ४९, स्कट इडवार्डस्ले ३३, तेजा निडामानिरुले ३१ र म्याक्स ओडोउडले चार रनको योगदान गरे । नेपालका करण केसी र कुशल मल्लले समान एक एक विकेट लिए भने अन्य दुई खेलाडी रन आउट भएका थिए । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ ।
नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै
काठमाडौं, १६ फागुन । नेपालले त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत आज दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ । पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ रोज्दै ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो । जान निकोल लोफ्टी एटनले ३६ बलमा १०१ रनको कीर्तिमानी शतकीय इनिङ खेलेका थिए । उनले ३३ बलमै शतक हान्दै टी–२० आई इतिहासकै छिटो १ सय रन पूरा गरेका थिए । कुशल मल्ललको ३४ बलको कीर्तिमान तोडेका थिए । सुरुआत कमजोर गरेपनि अन्तिम ९ ओभरमा नामिबियाले १४० रन बनाउँदै विशाल योगफल बनाएको थियो । नेपालले यस कमजोरीलाई ध्यान दिनुपर्छ । डेथ ओभरमा उत्कृष्ट बलिङ आवश्यक देखिन्छ । नेपालको डेथ ओभर स्पेलिष्ट अभिनाश बोहरा चोटबाट फर्किएका छन् । पहिलो खेलमा अभिनाशले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिएका थिए । कुशल भुर्तेल नामिबियाविरुद्ध पहिलो बलमै आउट भएका थिए । भूर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उता नामिबियाका ओपनर म्याक्स ओडाउड र माइकल लेभिट दुई प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरको विकेट समयमै लिन सके नेपालले खेलमा दबाब बढाउन सक्छ । अन्यथा लेभिट र ओडाउडले आफ्नो आक्रामक क्रिकेटमा विशाल योगफलको आधार तय पार्न सक्छन् । लगातार विश्वकप खेल्दै आएको डच टोली दबाबमा खेल्न जानेको छ । टी–२० को लागि मात्रै दुई तीव्र गतिका बलर फर्द क्लासेन र टिम भान डर गुग्टेन टोलीमा जोडिएका छन् । नेदरल्यान्ड्समा तेजा निडाामानिरु, बास डि लिडे र स्कट एडवार्ड्सले मध्यक्रम ब्याटिङ सम्हाल्ने छन् । बास डि लिडे, म्याक्स ओडाउड र फर्द क्लासेन प्रमुख हतियार हुन् । नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी–२० आई खेलमा ९ खेल भएका छन् । समान ४ खेलमा जित र हार नेपालले व्यहोरेको छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । पछिल्लो पटक नेदरल्यान्ड्स र नेपालबीच टीयुमा त्रिकोणात्मक सिरिजमा २०२१ मा तीन खेल भएका थिए । नेपाल फाइनलसहित दुई खेलमा विजयी भएको थियो । बास डि लिडेले ८१ रनको अविजित इनिङ खेलेपछि २०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।
नामिबियासँग नेपाल २० रनले पराजित
काठमाडौं । नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो । नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुँदै १८६ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए भने कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३२, सोमपाल कामीले ११ बलमा २६ रन तथा गुलशन झाले १२ रन बनाएका थिए । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले सर्वाधिक ४ विकेट लिए भने बेर्नार्ड स्कोल्ज, जान फ्राईलिंक र जान निकोलले २/२ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो । नामिबियाका लागि जान निकोलले १०१ रनको शतकीय पारी खेलेका थिए । उनले ३३ बलमा शतक बनाउँदै टी-२० मा कम बलमा शतक बनाउने नयाँ रेकर्ड बनाएका छन् । यसअघि नेपालका कुशल मल्लले ३४ बलमा बनाएको शतक टी-२० को रेकर्ड थियो । त्यस्तैमलान क्रुगेरले ५९ ,माइकल भान लिंगेनले २० रन बनाएका थिए । नेपाली बलर रोहित पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए । अब सिरिजको अर्को खेल बुधबार नेपाल र नेदरल्याण्डसबीच हुनेछ ।
नेपालविरुद्ध इटोनको कीर्तिमानी शतक, नामिबियाबाट २०७ रनको लक्ष्य प्राप्त
काठमाडौं । जान निकोल लोफ्टी–इटोनको कीर्तिमानी ब्याटिङ गरेसँगै नामिबियाले त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इटोन विस्फोटक रूपमा प्रस्तुत भएपछि टस जितेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनायो । नामिबियाका ब्याटर जान निकोल लोफ्टी इटनले कुशल मल्लको कीर्तिमान तोडे । मंगलबार नेपालविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा इटनले कुशल मल्लको सबैभन्दा छिटो शतकको कीर्तिमान तोडेका हुन् । इटनले ३३ बलमा ११ चौका र ८ छक्कासहित १०० रन बनाए ।
नामिबियाविरुद्ध नेपाल फिल्डिङमा
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपाल आज नामिबियाविरुद्ध पहिले फिल्डिङमा उत्रिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नामिबियाका कप्तान जेजे स्मिथले ब्याटिङको निर्णय गरे । नेपाललाई फिल्डिङको निम्तो दिए । जारी खेलको पहिलो ओभर सकिँदा नामिबियाले विकेट नगुमाई नौ रन बनाएको छ । त्रिदेशीय शृंखलामा नेपाल र नामिबियासँगै नेदरल्यान्ड्स सहभागी छन् ।
ट्वान्टी–२० शृंखला सुरु हुँदै, पहिलो खेल नामिबियाविरुद्ध खेल्दै नेपाल
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखला आजदेखि सुरु हुँदै छ । आज पहिलो खेल नेपालले नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्न लागेको छ । शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । नेपालले यसै वर्षको जुनमा हुने ट्वान्टी–२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलका लागि सहभागी टिमसँग शृंखला आयोजना गरेको हो । शृंखलाका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिसकेका छन् । आजको खेलपछि नेपालले फागुन १६ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । यस्तै, नेपालले फागुन १८ गते पुनः नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ । नेपाली टिम रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भन्डारी, विवेक यादव, अनिल साह, राशिद खान, सागर ढकाल, आरिफ सेख, अभिनाश बोहरा ।

