एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनलमा नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य
काठमाडौं, ४ फागुन । । नेपालले एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ११६ रनको बलियो लक्ष्य दिएको छ ।
बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनायो ।
नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाइन् । डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको आक्रामक इनिङ खेलिन् ।
नेपालले ओपनर सीता रानामगरलाई ६ रनमा गुमाएको थियो । महिराह इजाती इस्लामीको बलमा सीता एलबीडब्लू आउट हुँदा नेपाल ४ ओभरमा १०–१ को अवस्थामा थियो ।
दोस्रो विकेटका लागि इन्दु र कविताले ३५ रनको साझेदारी गरे । इन्दु एक रनको लागि नदौडिएपछि कविता रन आउट भएकी थिइन् । कविता ३१ बलमा २ चौकासहित २३ रन आउट भइन् ।
रुविना १८ बलमा २ चौकासहित २० रनमा आउट भइन् ।
मलेसियाकी महिराह इजाती इस्मालीले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन् ।
यस खेलको विजेता टोलीले यसैवर्ष हुने महिला टी २० एसिया कप खेल्न पाउनेछ ।
पहिलो सेमिफाइनमा थाइल्यान्डलाई ४ रनले हराउँदै युएई फाइनलमा पुग्नुको साथै एसिया कपमा पनि छनोट भइसकेको छ ।
प्रधानमन्त्री कप : आज दुई खेल हुँदै
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । जस अन्तर्गत एपीएफ क्लब र कर्णाली प्रदेश तथा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र कर्णालीबीचको खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।जारी प्रतियोगितामा एपीएफ क्लब ८ खेलबाट १० अंकसहित पाँचौं स्थानमा रहेको छ भने कर्णाली प्रदेश ८ खेलबाट ६ अंकसहित सातौँ स्थानमा रहेको छ । यस्तै आजै नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीचको खेल मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।अहिलेसम्मका खेलमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्ना ७ खेलमा सबै खेल जितेर १४ अंकसहित शीर्षस्थानमा रहेको छ । पुलिसले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरिसकेको छ । यस्तै, लुम्बिनी प्रदेश आफ्ना ८ खेलमा एक जित र ७ हार बेहोरेर २ अंकका साथ नवौँ स्थानमा छ ।
व्यास अल्ट्रा म्यारथनको उपाधि आर्मीका खड्कालाई
दमौली, १६ माघ । व्यास नगरपालिकाले मंगलबार आयोजना गरेको सातौं अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका जुनेश खड्काले जितेका छन् । व्यास नगरपालिका - ५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित ४४ किलोमिटर दुरी तीन घण्टा १८ सेकेन्डमा पार गर्दै खड्का प्रथम भए। म्याराथनमा बैतडीका मोहनदेव जोशीले ३ घण्टा दुई मिनेटमा ३३ सेकेन्डमा पुरा गरी द्धितीय भए । काठमाडौं निवासी निवासी करण रावल तृतीय भए। रावलले सो दूरी तीन घण्टा १० मिनेट १० सेकेन्डमा पार गरे। प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका राजन मेयोङ्वाले तीन घण्टा १७ मिनेट २४ सेकेन्डमा पुरा गरी चौंथो र त्रिभुवन आर्मीकै प्रताव खड्काले तीन घण्टा १९ मिनेटमा पार गरी पाँचौ भए। म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैँचे - चापाघाट - अनशन चौतारी - सफासडक-भोर्लेटार चोक - बैरेनी - दुम्सी - कलेस्ती - पाथ्रा - सत्रसय - बानियाँ डिही - बर्लाची - सोतीवेशी - बगुवा रिस्ती - बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिएको थियो। दुई विदेशी सहित एक सय १७ जना धावकको सहभागिता रहेको थियो । धावकले नियम पालना गरे नगरेको जाँच गर्नका लागि आठ ठाउँमा चेकविन्दु स्थापना गरिएको थियो । व्यास नगरपालिका ४ व्यास रेन्ज पोष्ट, व्यास नगरपालिका १० पिजनहिल खहरे, व्यास नगरपालिका ७ पाथ्रा मन्दिर, व्यास नगरपालिका ७ पातल सत्रसय, व्यास नगरपालिका ८ रिस्ती सोतीवेशी, व्यास नगरपालिका ८ सुनपोखरी, व्यास नगरपालिका ८ गाडापानी र व्यास नगरपालिका ८ पुलिमराङमा चेकविन्दु स्थापना गरिएको थियो। प्रथम पुरस्कार नगद रु.८५ हजार ८०, द्वितीय पुरस्कार रु. ६४ हजार ८०, तृतीय पुरस्कार रु. ५५ हजार ८० र ५ जनालाई सान्त्वना पुरस्कार पाँच जनालाई रु. १६ हजार ८० प्रदान गरिने नगर खेलुकुद विकास समितिका सदस्य सचिव नविन पराजुलीले जानकारी दिए। ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान व्यास नगरपालिकाको अभियान’ भन्ने नाराका साथ गरिएको प्रतियोगिताको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्रीले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको स्थानको पर्यटन बढवा दिनको लागि यस्तो प्रतियोगिताले टेवा पुग्ने बताए । पहिलो पटक यस ठाउँमा आउँदा यहाँको दृश्यले मन्त्रमुग्ध बनाएको भन्दै मन्त्री आचार्यले आगामी दिनमा यस ठाउँले थप प्रगती गर्ने बताए। व्यास नगरपालिकाको पर्यटकीय क्षेत्र, विभिन्न जातका होमस्टे, जातीय संस्कृति तथा परम्परागत स्वागत सत्कारको लगायत प्रचार प्रसार र प्रवद्र्धनका लागि प्रतियोगिता गरिएको नगर प्रमुख न्यौपानेले बताए। एक वर्ष बिराएर प्रतियोगिता गरिने उनले जानकारी दिए।
यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ
काठमाडौं । बंगलादेशमा हुने यू–१९ साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकगविक्रम नेम्बाङसहितले एन्फा कम्लेक्समा भएको कार्यक्रममा खेलाडीको बिदाइ गरेका हुन् । उमेर समूह खेलेका खेलाडीको बाहुल्यता रहेको टोलीले उपाधि जित्ते लक्ष्य राखेको छ । २ फेब्रुअरीदेखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । नेपालले २ फेब्रुअरीमा घरेलु टोली बंगलादेशसँगको खेलबाट प्रतियोगिता सुरु गर्ने छ ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज तीन खेल हुने
काठमाडौं । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछन् । आज भैरहवामा गण्डकी र सुदूरपश्चिम प्रदेश आमने सामने हुँदैछन् । अहिलेसम्म गण्डकी प्रदेशले खेलेका दुबै खेलमा हार ब्यहोरेको छ र टोली प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ । त्यस्तै सुदूरपश्चिमले भने आफ्ना दुबै खेल जितेर प्रतियोगितामा शानदार सुरुवात गरेको छ । त्यस्तै, कीर्तिपुरमा आज हुने अर्को खेलमा एपीएफ क्लब र मधेश प्रदेश प्रतिस्पर्धा गर्दैछन् । एपीएफले आफ्ना दुवै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा छ भने मधेश प्रदेशले आफ्ना ३ खेलमध्ये एकमा जित र २ मा हार ब्यहोरेको छ । त्यसैगरी, आज हुने तेस्रो खेलमा मूलपानी क्रिकेट मैदानमा कोशी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । कोशी प्रदेशले आफ्ना तिन वटै खेलमा हार ब्यहोरेर जारी प्रतियोगितामा खराब सुरुवात गरेको छ भने आर्मीले आफ्ना २ खेलमा एक जित एक हार ब्यहोरेको छ ।
खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी : उपप्रधानमन्त्री खड्का
काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले खेलकुदको भौतिक पूर्वाधारहरू तीव्र गतिमा अघि बढाउन नसकेको बताएका छन् । बुधबार ललितपुरमा आयोजित १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले यस्तो बताएका हुन् । विगतका कमी, कमजोरीबाट पाठ सिकेर खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको बताए । उपप्रधानमन्त्री खड्काले नेपालको खेलकुद विकास, खेलाडीको उन्नतिका लागि प्रोत्साहित गर्न जरुरी रहेको जानकारी दिए । उनले सङ्घ, प्रदेश र स्थानीय तहले आफ्ना स्रोतलाई खेलकुद विकास र खेलाडीको संरक्षणमा प्रयोग गर्नुपर्ने बताए । उनले सरकारले खेलाडीमा थप लगानी गर्ने प्रतिबद्धता जनाए । ‘‘विशेष गरी नेपालको खेलकुद विकास, खेलाडीको उन्नति प्रगति हामी सबैको प्रयास, खेलाडीहरूको समर्पण, निष्ठा, पूर्णरुपमा आफ्नो जीवनलाई खेलमा समर्पण गरेका खेलाडीहरूलाई जसरी हामीले उत्साहित, प्रोत्साहित गर्न जरुरी छ ।,’’ उपप्रधानमन्त्री खड्काले भने, ‘‘त्यसका लागि सबैको सहयोगको आवश्यकता छ । सङ्घीय, प्रदेश, स्थानीय तहको सरकार सबैले आफ्नो तहको श्रोतलाई खेलकुद विकास र खेलाडीको संरक्षण, उन्नति र प्रगतिका लागि त्यसतर्फ केन्द्रित गर्नुपर्ने जरुरी छ । खेलाडीहरूको उन्नति प्रगतिमा थप लगानी गर्नेछौँ ।’’ उपप्रधानमन्त्री खड्काले खेलाडीहरूको सेवा सुविधा बढाउन एकताबद्ध भएर लाग्नुपर्ने बताए । ‘‘नेपालको खेलकुदको सन्दर्भमा भौतिक पूर्वाधारहरू जुन गतिमा तीव्र गतिमा अघि बढाउनुपर्ने हो त्यो गतिमा बढाउन सकेका छैनौँ । त्यसैले विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै आज र भोलिका दिनमा हामीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी छ ।,’’ उपप्रधानमन्त्री खड्काले भने, ‘‘खेलाडीहरूमा जुन ऊर्जा र उत्साह छ, जुन समर्पण छ, विशेष गरी खेलका पूर्वाधारहरू नहुँदा आवश्यक आर्थिक उपलब्धताको कमीका कारणले जति प्रगति गर्नसक्ने क्षमता हो त्यसमा अघि बढ्न सकेको छैन । हामी सबै समर्पित भएर अघि बढ्न जरुरी छ । सङ्घ, प्रदेश र स्थानीय सरकार एकताबद्ध भएर खेलकुदको विकास र उन्नतिका लागि, भौतिक पूर्वाधार विकासका लागि, खेलाडीहरूको उन्नति प्रगतिका लागि प्रोत्साहित गर्न र सेवा सुविधा बढाउन एकताबद्ध भएर अघि जानु छ ।’’
प्रधानमन्त्री कप : क्रिकेट आज तीन खेल हुने
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । कोसी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान ९ः१५ बजे सुरु हुनेछ । अर्को खेल काठमाडौंको मुलपानी क्रिकेट मैदानमा वाग्मती प्रदेश र मधेस प्रदेशबीच बिहान ९ः१५ बजे सुरु हुनेछ । तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच आजै बिहान ९ बजे सुरु हुनेछ । हालसम्म सम्पन्न खेलको नतिजाअनुसार एपीएफ क्लब अंक तालिकाको शीर्ष स्थानमा छ । एपीएफले आफ्ना दुवै खेल जितेर चार अंक जोडेको छ । त्रिभुवन आर्मी क्लब अंक तालिकाको दोस्रो स्थानमा, सुदूरपश्चिम प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौं, मधेस प्रदेस छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा छन् । दुईदुईवटा खेल खेलेका गण्डकी, वाग्मती र कोसी प्रदेश हालसम्म जितविहीन छन् । रासस
चितवनमा २७ पुषदेखि राष्ट्रपति रनिङ शिल्ड हुँदै
चितवन । चितवनमा १६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता पुष २७ गतेदेखि हुने भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा हुने प्रतियोगिता दुई दिनसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन २७ गते बिहान ११ बजे भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले गर्ने संघका अध्यक्ष उत्तम गुरुङले जानकारी दिए । गुरुङका अनुसार प्रतियोगिताको खेलहरु भरतपुर ५ स्थित खेल मैदानमा हुनेछ । २७ र २८ गते दुई दिन चल्ने प्रतियोगितामा ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चितवनका सातै पालिकाबाट सात सय १४ छात्र र समान संख्यामा छात्रा गरी एक हजार ४२८ खेलाडीहरु सहभागी हुनेछन् । सहभागी खेलाडीहरुले एथ्लेटिक्स, भलिवल, कबड्डी, कराते र तेक्वान्दोमा प्रतिस्पर्धा गर्नेछन् । एथ्लेटिक्समा छात्र छात्रा एक सय मिटर, दुई सय, चार सय, आठ सय, एक हजार ५०० र तीन किलोमिटर दौड हुनेछ । यस्तै चार गुणा सय र चार गुणा चार सय मिटर रिले पनि हुनेछ । छात्र छात्रा हाइजम्प, लङजम्प, ज्याभलिङ थ्रो, र सटफुट हुनेछ । कराँतेमा छात्र ४०, ४७, ५२, ५७ र ६२ केजी मुनी तथा काता हुनेछ । छात्रातर्फ ४०, ४५, ५०, ५५ र ६० केजी मुनी तथा काता हुनेछ । तेक्वान्दोमा छात्रतर्फ ४५, ४८, ५१ ५५ र ५९ केजी मुनी तौल समूह र एकल पुम्से तथा छात्रातर्फ ४२, ४४, ४६, ४९ र ५२ केजी मुनी तौल समूह र एकल पुम्से हुनेछ । यस्तै उसु तर्फ छात्र छात्राको थाओलु तथा सान्सौ पनि हुनेछ ।
शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा : राष्ट्रपति
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताएका छन् । काठमाडौँ महानगरपालिकाद्वारा मङ्गलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताएका हुन् । उनले भने, ‘‘अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने र विद्यार्थीमा अभिवृत्ति, सिप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन् ।’’ शिक्षण सिकाइ विद्यार्थीका लागि शरीरमा मुटुजस्तै र शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको बताए । उनले भने, ‘‘खेलकुदकै माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वास, सकारात्मक अनुभूति र अन्तर्निहित प्रतिभाको विकास गर्न सक्छन् । खेलकुद क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तीन तहबाट यसमा यथेष्ट प्रयत्नहरू होउन् भनेर म सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।’’ राष्ट्रपति पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने भन्दै यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, खुला गरेर सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा आवश्यक रहेको बताए। उनले युवा विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार भएको बताउँदै युवा विद्यार्थीहरू शिक्षामा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुने स्पष्ट पारे । खेलकुद जस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूलाई भविष्यमा जीवनयापनका लागि सक्षम बनाई मुलुकलाई प्रगतिशील बनाउन सहयोग गर्ने राष्ट्रपति पौडेलको धारणा थियो । उनले भने, ‘‘खेलकुदले युवालाई शारीरिक रूपमा स्वस्थ र कामका लागि तयार बनाउँछ । यो उनीहरूलाई ऊर्जा, सजीवता र सामर्थ्य दिने माध्यम तथा स्वास्थ्य ठिक राखी शिक्षामा अग्रसर हुने र आफ्नो जीवनमार्गमा सफल बनाउने कारक पनि हो ।’’ राष्ट्रपति पौडेलले खेलकुदले सामाजिक जीवनलाई समृद्धिपूर्ण बनाई सांस्कृतिक अनुभूति प्रदान गर्ने उल्लेख गर्दै खेलकुदमा भाग लिने विद्यार्थी एकअर्काप्रति सहयोगी भई सामूहिक प्रयत्न र सामाजिक भावनातर्फ अग्रसर हुन सक्ने बताए । उनले भने, ‘‘यो परिवार, समाज र राष्ट्रलाई समृद्ध बनाउने असल मार्ग हो भन्ने पनि मलाई लाग्छ । खेलकुदले युवामा नेतृत्वको विकास गराई जटिल परिस्थितिमा सहजता साथ प्रतिस्पर्धा गर्ने क्षमता प्रदान गर्ने भएकाले यसमा सहभागी हुनेले धैर्य र समर्थनको भावना विकास गर्न सक्नुपर्छ जुन हाम्रो राष्ट्रका लागि आजको आवश्यकता हो ।’’ उनले राष्ट्रपति रनिङ सिल्ड नाममा काठमाडौँ महानगरपालिकाभित्रका विद्यार्थीबिच भएको यस खेलकुद प्रतियोगिताले विद्यार्थीमा उत्साह र प्रेरणा प्रदान गर्नेछ भन्ने आफूले विश्वास लिएको बताए। उनले भने, ‘‘स्कुल कलेजजस्ता सार्वजनिक स्थानमा आयोजना हुने खेलकुद प्रतियोगिता विद्यार्थीबिचमा सामूहिकता, सहभागिता र उत्साह जगाउने र शिक्षाको मनोक्रियात्मक क्षेत्रलाई सफल बनाउने साध्य भएकाले शिक्षा र खेलकुदबिच अद्भुत सम्बन्ध हुन्छ जसले जीवनभर सफलताको खोजी गर्न बाटो देखाउँछ । यस्ता प्रतियोगिता शिक्षण सिकाइका अङ्गकै रूपमा सबै विद्यालयमा सञ्चालन हुनुपर्छ भन्ने म ठान्दछु ।’’
नेपाल सुपर लिगकाे च्याम्पियन बन्यो ललितपुर
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा ललितपुर च्याम्पियन बनेको छ । आज भएको रोमाञ्चक फाइनलमा धनगढी एफसीलाई ३–२ ले हराउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको उपाधि जितेको हो । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरले १–० ले पछि परेको अवस्था उल्ट्याउँदै जित निकाल्न सफल बन्यो । ३७औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । तर, धनगढीको यो अग्रता लामो समय टिक्न सकेन । पहिलो हाफको इन्ज्युरी समयमा इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई खेलमा फर्काए । दोस्रो हाफमा ललितपुरले दुई गोल थप्यो । ५०औँ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै ललितपुरलाई २–१ को अग्रतामा राखे । त्यसको आठ मिनेटपछि इजेकेलले गोल गर्दै ललितपुरलाई ३–१ को अग्रतामा पुर्याए । इन्ज्युरी समयमा अहमद हिजाजीले गोल गर्दै धनगढीलाई ३–२ को अवस्थामा ल्याए पनि टिमको हार टार्न सकेनन् । त्यसअघि, ८०औँ मिनेटमा आगेमाङले रातो कार्ड पाएपछि धनगढी १० खेलाडीमा समेटिएको थियो । धनगढी लगातार दोस्रोपटक उपविजेतामा सीमित बन्यो । पहिलो संस्करणको फाइनलमा पनि काठमाडौं रेजर्ससँग हार हारेपछि धनगढीले उपविजेतामा चित्त बुझाएको थियो ।
प्रधानमन्त्री कप टी–२० : आज चार खेल हुँदै
काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज चार खेल हुँदैछन् । आज एपीएफ र कर्णाली, गण्डकी र कोशी, बागमती र लुम्बिनी तथा मधेश र सुदूरपश्चिम प्रदेश खेल्दैछन् । आज बिहान दुईवटा र दिउँसो दुई खेल हुँदैछन् । बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफ र कर्णाली प्रदेश खेल्ने छन् । जारी प्रतियोगितामा ४ खेल खेलेको एपीएफ अपराजित रहँदै ६ अंक जोडेर शीर्षस्थानमा रहँदा कर्णाली प्रदेश अंकबिहीन छ । यस्तै, सोही समयमा मूलपानी मैदानमा गण्डकी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । समान ४ खेल खेलेको कोशी प्रदेश ६ अंकसहित दोस्रो स्थानमा रहँदा ३ अंक जोडेको गण्डकी छैटौँ स्थानमा छ । यसैगरी, दिउँसो सवा १ बजे कीर्तिपुरमा बागमती र लुम्बिनी तथा मुलपानीमा मधेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ४–४ अंक जोडेका बागमती र लुम्बिनी क्रमशः चौथो र पाँचौ स्थानमा छन् । यस्तै, मधेशले २ अंक जोड्दा तेस्रो स्थानमा रहेको सुदूरपश्चिमको ६ अंक छ ।
नवलपुरको खहरे जंगलमा सासू–बुहारी मृत फेला
काठमाडौं । नवलपरासी पूर्व (नवलपुर)को विनयी त्रिवेणी गाउँपालिका १ मा सासु–बुहारीको शव फेला परेको छ । खहरे जंगलमा ओम शान्ती टोलका ६० वर्षीया मनादेवी पौडेल र उनकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व (नवलपुर)का डीएसपी बेदबहादुर पौडेलले जानकारी दिए । आइतबार दिउँसो घाँस काट्न जंगलमा गएका उनीहरू अबेरसम्म नफर्किएपछि प्रहरीले खोजी गरेको थियो ।
प्रधानमन्त्री कप : एपीएफ र कोशी विजयी
काठमाडौं। विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सफलता हात पारेका छन् । मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एप्एिफले लुम्बिनी प्रदेशलाई ९० रनले हरायो । लगातार तेस्रो जितसँगै एपीएफ शीर्षस्थानमा उक्लिएको छ । जितको लागि एक सय ५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी २० ओभरमा नौ विकेटको क्षतिमा ६१ रनमा समेटियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २८ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा एपीएफकी इन्दु बर्माले तीन विकेट लिइन् । बिनु बुढाले दुई तथा रेखा रावल, करुणा भण्डारी र सीता रानामगरले एक एक विकेट लिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ५१ रन बनाएको थियो । एपीएफका लागि इन्दु बर्माले सर्वाधिक ७० रन बनाइन् ।ममता चौधरीले ५९ र कप्तान सीता रानामगरले नौ रन बनाइन्। बलिङमा लुम्बिनीको सरस्वती पुन र शर्मिला रोकाले एक एक विकेट लिनुभयो । जितसँगै एपीएफले तीन खेलबाट ६ अङ्क बनाएको छ । यस्तै त्रिवि मैदान कीर्तिपुरमा भएको अर्को खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले हरायो । कोशीको पनि यो लगातार तेस्रो जित हो । जितको लागि एक सय ३० रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा नौ विकेटको क्षतिमा ६९ रन बनायो । मधेशका लागि साना प्रविनले २७ रन बनाइन् । आरती महतोले १८ रन रन जोडिन् । बलिङमा कोशीका सबनम राई र एलिसा खडियाले दुई दुई विकेट लिइन् । रुबिना क्षेत्री र सङ्गीता राईले एक एक विकेट लिइन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय २९ रन बनाएको थियो । कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ५४ रन बनाइन् । अप्सरी बेगमले ३९ र सबनम राईले १६ रन बनाइन् । बलिङमा मधेशकी मिना महतोले दुई तथा पूजा महतो र सरस्वती चौधरीले एक एक विकेट लिइन्। तेस्रो जितसँगै कोशीले पनि ६ अङ्क बनाएको छ ।
नेपाल सुपर लिग : आज दुई खेल हुँदै
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । आज स्पोर्टिङ इलाम र ललितपुर सिटी तथा बुटवल लुम्बिनी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ । आज हुने पहिलो खेलमा इलाम र ललितपुरले खेल्ने छन् । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो १ बजे सुरु हुनेछ ।जारी लिगमा आज इलामले आठौँ तथा ललितपुरले सातौँ खेल खेल्दैछन् । आजको खेलमा इलाम दोस्रो जितको खोजीमा रहँदा ललितपुर तेस्रो जित सहित तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ । यसअघिका खेलमा इलाम एकमा जित दुईमा बराबरी र चारमा हार बेहोर्दै ५ अंकका साथ तालिकाको पुछारमा छ । यस्तै, ललितपुर भने अपराजित छ । दुईमा जित, चारमा बराबरी गर्दै १० अंक जोडेको ललितपुर तेस्रो स्थानमा छ ।यस्तै, आजै साँझ ५ बजे हुने अर्को खेलमा बुटवल लुम्बिनी र पोखरा थन्डर्स भिड्ने छन् । दुवै टोलीले आज सातौँ खेल खेल्दै छन् । यसअघिका खेलमा बुटवल दुईमा जित, एकमा बराबरी र तीनमा हार बेहोर्दै ७ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ भने पोखरा तीनमा जित, दुईमा बराबरी र एकमा हारसहित ११ अंकका साथ दोस्रो स्थानमा छ । आजको खेलमा पोखरा चौथो जित निकाल्दै तालिकाको शीर्षस्थानमा उक्लने प्रयासमा हुनेछ भने ७ अंक भएको बुटवल तेस्रो स्थानको ललितपुरसँग १० अंकको बराबरी गर्ने लक्ष्यमा छ । मंसिर ८ गतेदेखि सुरु लिगमा ९ टोली सहभागी छन् ।
एनएसएल लिग : आज धनगढी र काठमाडौं भिड्ने
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौं भिड्ने भएका छन् । खेल साँझ ६ बजे सुरु हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा हुनेछ । काठमाडौं पनि शीर्षस्थानको धनगढीसँग अंक बराबरी गर्ने योजनामा मैदान प्रवेश गर्नेछ । जारी प्रतियोगितामा धनगढी अपराजित टिम हो । धनगढीले खेलेका पाँच खेलमा तीनमा जित र दुईमा बराबरी खेलेको छ । काठमाडौंले दुईमा जित, दुईमा बराबरी र एक खेलमा हारको स्वाद चाखिसकेको छ ।
नेपाल सुपर लिग फुटबलमा आज धनगढी र चितवन भिड्दै
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बिहीबार धनगढी एफ।सीले चितवन एफ।सीसँग सामना गर्नेछ । लिगमा धनगढीको यो पाँचौ खेल हो भने चितवनको छैटौं खेल हो । आजको खेल जितेको खण्डमा धनगढी तालिकाको शीर्ष स्थानमा उक्लिनेछ । चार खेलबाट ८ अंक जोडेको धनगढी तेस्रो स्थानमा छ । एक खेल बढी खेलेको पोखरा थन्डर्सको समान ८ अंक भएपनि गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ । ९ अंकसहित ललितपुर सिटी तालिकाको शीर्ष स्थानमा रहेको छ । एनएसएल फुटबलमा हिजो स्पोर्टीङ इलामलाई २–१ ले हराउँदै वीरगञ्ज युनाइटेडले पहिलो जित निकालेको छ । यो जितपछि वीरगञ्जले ५ खेलबाट ५ अंक बनाएको छ भने ६ खेल खेलेको इलामको ४ अंक छ । तालिकामा इलाम पुछारमा रहँदा वीरगञ्ज पुछारबाट दोस्रो स्थानमा छ ।

