चर्चित फुटबल खेलाडी रोनाल्डिनो पक्राउ
एजेन्सी: ब्राजिलको राष्ट्रिय टिमका पूर्वफुटबल खेलाडी रोनाल्डिनो पक्राउ परेका छन्। बुधबार राति पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिनो र उनका भाइ रोबेर्टोलाई पक्राउ परेको गोल डटकमले जनाएको छ।
नक्कली कागजात बनाई दक्षिण अमेरिका छिरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको पाराग्वेको गृह मन्त्रालयले बताएको छ। प्रहरीले होटलबाट रोनाल्डिनो र रोबेर्टोको नाममा पाराग्वेको पासपोर्ट भेटाएको थियो।
एक क्यासिनोका मालिक नेल्सन बिलोटीको निमन्त्रणामा रोनाल्डिनो र रोबेर्टो पाराग्वे पुगेका थिए। रोनाल्डिनोसँग गत २०१८ देखि ब्राजिलको पासपोर्ट थिएन।
सन्२०१८मा वातावरणीय क्षतिको जरिवाना तिर्न नसक्दा उनको पासपोर्ट कब्जा गरिएको थियो। सन् २०१५मा लाइसेन्सबिना नै पोखरीमा माछाको जाल बनाएपछि उनलाई ८.५ मिलियन डलर तिर्न लगाएको थियो।
लोकेश बमको विस्फोटक ब्याटिङ, ३७ बलमा ९० रन!
काठमाडौंः रुपन्देहीको भैरहवामा जारी अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी (क्लब) क्रिकेट प्रतियोगिताको उपाधिका लागि राइनो क्रिकेट क्लब र शंकरनगर क्रीकेट क्लब नेपाल खेल्ने भएका छन् । आज भएको पहिलो सेमिफाइनल खेलमा विजयी भएसँगै उपाधिका लागि राइनो र शंकरनगर क्रिकेट क्लब बुधबार उपाधिका लागि खेल्ने भएका हुन् । असरक क्रिकेट क्लब बंगलादेशविद्ध राइनो क्रिकेट क्लब नेपाल ९ विकेटले तथा दोस्रो सेमिफाइनलमा वेस्टर्न क्रिकेट क्लब नेपालविरुद्ध शंकरनगर क्रिकेट क्लब ४४ रनले विजयी हुँदै फाइनलमा स्थान बनाउन सफल भए । पहिलो सेमिफाइनल असरक स्पोर्ट्स क्लब बंगलादेशविरुद्ध राइनो क्रिकेट क्लब नेपाल टस जितेर पहिला ब्याटिङ गर्दै असरक क्रिकेट क्लबले २० ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनायो । उसका लागि दान रोबर्टले २४, अलि सामाद र ओस्कर कोलकले समान ३०–३० र एम्बिए चौधरीले १४ रन बनाए । बलिङमा राइनो क्रिकेट क्लब नेपालका कमलसिंह ऐरि, सूर्य तामाङ र गजेन्द्र बोहराले ३–३ विकेट लिए । एक सय १८ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको राइनो क्रिकेट क्लब नेपालले १० ओभरमा १ विकेट गुमाउँदै भेट्टायो । राइनो क्रिकेट क्लबका अनुसार लोकेश बमले विस्फोटक ब्याटिङ गरे । उनले ३७ बलमा १२ छक्का र ३ चौका हिर्काउँदै नटआउट ९० रन बनाए । यस्तै राइनोको जितमा रोहितकुमार पौडेल र गजेन्द्र बोहराले ११–११ रनको योगदान दिए । दोस्रो सेमिफाइनलः वेस्टर्न क्रिकेट क्लब नेपालविरुद्ध शंकरनगर क्रिकेट क्लब टस जिते पहिला ब्याटिङ गरेको शंकरनगर क्लबले २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनायो । उसका लागि सौरभ खनालले सर्बाधिक ५९ रन बनाए । बलिङमा वेस्टर्न क्रिकेट क्लबका बिक्रम सोबले सर्बाधिक ३ विकेट लिए । एक सय ३६ रनको विजय लक्ष्यका साथ मैदान उत्रिएको वेस्टर्न क्रिकेट क्लबले १९ ओभरमा सबै विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । उसका लागि कुसल भूर्तेलले सर्बाधिक २३ रन बनाए । बलिङमा शंकरनगर क्रिकेट क्लबका साहब आलमले सर्बाधिक ४ विकेट हात पारे । (फाइल फोटो)
पोलार्डले बनाए विश्व कीर्तिमान
काठमाडौंः वेष्ट इन्डिज क्रिकेट टीमका कप्तान किरण पोलार्ड नयाँ विश्व कीर्तिमान बनाएका छन् । स्टार अलराउन्डर पोलार्डले आज श्रीलंकासँगको टी–२० सिरिजको पहिलो म्याच खेलेसँगै नयाँ विश्व कीर्तिमान बनाएका हुन् । उनले टी–२० क्रिकेटमा ५०० म्याच खेल्ने कीर्तिमान बनाएका हुन् । पोलार्डले अन्तर्राष्ट्रिय र लिग खेल गरी ४ सय ९९ टी–२० म्याच खेलिसकेका छन् । आजको म्याचसँगै उनी टी–२० क्रिकेटमा ५०० सय खेल खेल्ने पहिलो क्रिकेटर बनेका छन् । श्रीलंकासँगको टी–२० सिरिजको पहिलो खेलमा वेष्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेको छ । पोलार्डको टी–२० करियर पोलार्डले हालसम्म ४९९ टी–२० म्याचमा ६५० छक्का र ६४४ चौका हिर्काउँदै ९ हजार ९ सय ६६ रन बनाइसकेका छन् । जसमा उनको एक शतक र ४० अर्धशतक सामेल छ । टी–२० मा पोलार्डको उच्च स्कोर १०४ रन हो । यस्तै उनले टी–२० मा १७९ विकेट पनि लिइसकेका छन् । बलिङमा पोलार्डको उच्च प्रदर्शन १५ रन दिएर ४ विकेट लिनु हो । उनले ७१ अन्तर्राष्ट्रिय टी–२० म्याचमा एक हजार ८९ रन बनाएका छन् । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा पोलार्डको उच्च स्कोर ६८ रन हो । ७१ म्याचमा उनले ३५ विकेट लिएका छन् । अन्तर्राष्ट्रिय टी–२० मा पोलार्डको उच्च बलिङ प्रदर्शन २५ रन दिएर ४ विकेट लिनु हो ।
प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपणका लागि शल्यक्रिया शुरू
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गाैला प्रत्यारोपण शुरू भएको छ । प्रधानमन्त्री ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा. प्रेमराज ज्ञवाली, युरोलोजिष्ट डा. उत्तम शर्मा, डा.पवन चालिसे, मिर्गौला प्रत्यारोपणविद् तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायतको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा भारतको म्याक्स अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन डा.अनन्तकुमार पनि सहभागी छन् । भारतीय चिकित्सक डा. अनन्तकुमारले नेपाल मेडिकल काउन्सिलबाट मङ्गलबार एक साताका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वकृति लिएका छन् । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । उनको प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु गरिएको थियो । सामान्य अवस्था रहेमा प्रधानमन्त्री ओली एक साताभित्र अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ । प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा कोइरालाले मिर्गाैला दान गर्नेछन् । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
थाइल्याण्डमाथि नेपालको फराकिलो जित, पवन–कुसलको विस्फोटक ब्याटिङ
काठमाडौंः एसिसी टी-२० पूर्व क्षेत्र क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो जित हात पारेको छ। बुधबार भएको खेलमा नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो। ६७ रनको सामान्य लक्ष्य नेपालले १ विकेटको क्षतिमा ५.३ ओभरमा ७२ रन बनाउँदै पूरा गर्यो। यो नेपालले टी-२० क्रिकेटमा सबैभन्दा कम बलमा हात पारेको जित हो। नेपालका लागि कुशल मल्लले ३६ रन र पवन सराफले अविजित २७ रन जोडे। ओपनिङमा आएका पारसले ९ रन बनाए। पहिले ब्याटिङ गरेको थाइल्याण्डले जम्मा ६६ रन बनायो। नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए। अविनाश बोहराले २ विकेट हात पार्दा सन्दीप लामिछाने र भुवन कार्कीले समान एक/एक विकेट हात पारे। यसअघि भएको दुबै खेलमा नेपाल पराजित भएको थियो। नेपाल पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो। प्रतियोगितामा नेपाल, मलेसिया, हङकङ, थाइल्यान्ड र सिंगापुरबीच प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिताका शीर्ष २ टिम एसिया कप छनोटमा पुग्नेछन्।
सन्दीपले बनाए नयाँ कीर्तिमान, तोडियो पाकिस्तानी क्रिकेटरको रेकर्ड
काठमाडौंः नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० क्रिकेटमा नयाँ कीर्तिमान हासिल गरेका छन् । एसीसी इस्टर्न रिजन टी–२० प्रतियोगिता अन्तर्गत थाइल्याण्डविरुद्ध लगातार २२ डट बल फाल्दै सन्दीपले नयाँ कीर्तिमान बनाएका हुन् । यसअघि यो कीर्तिमान पाकिस्तानी तिव्र गतिका बलर मोहम्मद आमिरको नाममा थियो । उनले लगातार २१ डट बल फालेका थिए । उनले उक्त कीर्तिमान यूएईविरुद्ध बनाएका थिए । सन्दीपले आज थाइल्याण्डविरुद्ध आफ्नो ४ ओभरमा ३ मेडनसहित ९ रन दिएर एक विकेट लिए । थाइल्याण्डले दियो नेपाललाई ६७ रनको लक्ष्य एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाललाई थाइल्याण्डले ६७ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ६६ रन बनायो । उसका लागि हेन्जो जोर्डन र फिरीपपोरङ सियानचुईले १३१३ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा नेपाली टीमका करण केसीले ३, अविनाश बोहराले २, सन्दीप लामिछाने र भुवन कार्कीले एक–एक विकेट लिए । लगातार दुई खेलमा पराजित भएका नेपाल र थाइल्याण्ड पहिलो जीतको खोजीमा छन् । नेपाल थाइल्याण्डविरुद्ध फराकिलो जीतका साथ २ अंक जोड्ने प्रयासमा हुँदा थाइल्याण्ड पनि सोही नतिजाको खोजीमा छ । सुवातका दुवै खेलमा हार बेहोरेको नेपालले फाइनलमा स्थान बनाउन थाइल्याण्डलाई फराकिलो अन्तरले हराउनुपर्ने हुन्छ । थाइल्याण्डलाई फराकिलो अन्तरले हराएर अन्तिम खेलमा सिंगापुरबिरुद्ध ठूलो अन्तरले जित निकाले नेपालको फाइनल पुग्ने गणीतिय सम्भावना कायमै रहने छ । तर, त्यसका लागि हङकङले बाँकी दुवै म्याचमा जित हासिल गर्न अनिवार्य छ । हङकङले आफ्नो तेस्रो खेलमा आजै सिंगापुरको सामना गर्दैछ । यदि हङकङले सिंगापुरलाई हराउन सके नेपाललाई केही राहत हुनेछ । यदि सिंगापुरले जिते नेपालको सम्भावना पूर्णरुपमा समाप्त हुनेछ ।
थाइल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल, प्लेइङ ११ मा को–कोले पाए मौका?
काठमाडौंः एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालसँगको खेलमा थाइल्याण्डले टस जितेर ब्याटिङ रोजेको छ । नेपाल र थाइल्याण्डबीचको खेल बिहान ८ः१५ बजेदेखि सुरु हुँदैछ । नेपालको प्लेइङ ११ मा आज एक खेलाडी परिवर्तन गरिएको छ । सुशन भारीलाई विश्राम दिँदै थाइल्याण्डविरुद्ध भुवन कार्कीलाई प्लेइङ ११ मा मौका दिइएको छ । लगातार दुई खेलमा पराजित भएका नेपाल र थाइल्याण्ड पहिलो जीतको खोजीमा छन् । नेपाल थाइल्याण्डविरुद्ध फराकिलो जीतका साथ २ अंक जोड्ने प्रयासमा हुँदा थाइल्याण्ड पनि सोही नतिजाको खोजीमा छ । सुवातका दुवै खेलमा हार बेहोरेको नेपालले फाइनलमा स्थान बनाउन थाइल्याण्डलाई फराकिलो अन्तरले हराउनुपर्ने हुन्छ । थाइल्याण्डलाई फराकिलो अन्तरले हराएर अन्तिम खेलमा सिंगापुरबिरुद्ध ठूलो अन्तरले जित निकाले नेपालको फाइनल पुग्ने गणीतिय सम्भावना कायमै रहने छ । तर, त्यसका लागि हङकङले बाँकी दुवै म्याचमा जित हासिल गर्न अनिवार्य छ । हङकङले आफ्नो तेस्रो खेलमा आजै सिंगापुरको सामना गर्दैछ । यदि हङकङले सिंगापुरलाई हराउन सके नेपाललाई केही राहत हुनेछ । यदि सिंगापुरले जिते नेपालको सम्भावना पूर्णरुपमा समाप्त हुनेछ । थाइल्याण्डविरुद्ध नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुसल मल्ल, विनोद भण्डारी, पवन सरार्फ, सन्दीप लामिछाने, करण केसी, अविनाश बोहरा र भुवन कार्की । बेन्चः सन्दीप जोरा, सुशन भारी र किशोर महतो ।
टी–२० सिरिजः दक्षिण अफ्रिकाद्वारा इंग्ल्याण्डलाई २२३ रनको लक्ष्य
काठमाडौंः टी–२० क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई २ सय २३ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २२ रन बनायो । उसका लागि हेनरिक क्लासेनले शानदार ब्याटिङ गरे । सिरिजको पहिलो र दोस्रो खेलको विश्रामपछि प्लेइङ ११ मा फर्किएका उनले ‘निर्णायक’ म्याचमा ३३ बलमा ४ छक्का र ४ चौकासहित ६६ रनको योगदान दिए । यस्तै टेम्बा बवुमाले ४९, कप्तान क्विन्टन डीककले ३५, रस्सी भ्यान डर दुसेन, ड्वाइन प्रेटोरियसले ११–११, डेविड मिलरले अविजित ३५ रन बनाए । पहिलो इनिङ्समा दक्षिण अफ्रिकाका ब्याट्सम्यानले १३ छक्का र १५ चौका प्रहार गर्दै रन बनाएका हुन् । बलिङमा इंग्ल्याण्ड टीमका बेन स्टोक्स, टम करनले २–२, आदिल रशिद र मार्क उडले एक–एक विकेट लिए । सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिका १ रनले विजयी हुँदा दोस्रो म्याचमा २ रनले पराजित भएको थियो । दक्षिण अफ्रिकाले अन्तिम खेलमा २ र इंग्ल्याण्डले एक खेलाडी परिवर्तन गरेको छ । दक्षिण अफ्रिकाले जोन–जोन स्मुट्स र ब्यूरन हेन्ड्रिक्सलाई विश्राम दिँदै हेनरिक क्लासेन र डेल स्टेनलाई प्लेइङ ११ मा समावेश गरेको छ । इंग्ल्याण्डले जो डेन्लीलाई आराम दिँदै डेविड मलानलाई प्लेइङ ११ मा समावेश गरेको छ । दक्षिण अफ्रिकाको प्लेइङ ११ः टेम्बा बावुमा, क्विन्टन डि कक( कप्तान), डेविड मिलर, रस्सी भ्यान डर दुसेन, हेनरिक क्लासेन, एन्डिले फेल्लुक्वायो, ड्वाइन प्रेटोरियस, डेल स्टेन, बजोर्न फोर्टुइन, तबराइज शम्सी र लुंगी एनगिडी । इग्ल्याण्डको प्लेइङ ११ः जेसन रोय, जोस बटलर, जोनी बेयरस्टो, डेविड मालन, इयोन मोर्गन (कप्तान), बेन स्टोक्स, मोइन अलि, क्रिस जोर्डन, टम कुरान, आदिल रशिद र मार्क वुड ।
आइपीएलः मुम्बई इन्डियन्सले बनायो कीर्तिमान
काठमाडौंः आसन्न इन्डियन प्रिमियर लिग (आइपीएल) को खेल तालिका सार्वजनिक भएको छ । २९ मार्चदेखि १७ मेसम्म हुने १३ औँ सिजनको आइपीएल खेल तालिका शनिबार राति सार्वजनिक भएको हो । आसन्न आइपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र गत विजेता मुम्बई इन्डियन्स खेल्ने छन् । यी दुई टीमबीचको पहिलो खेल मुम्बईको वानखडे स्टेडियममा हुनेछ । आइपीएल २०२० को खेल तालिका सार्वजनिक भएसँगै मुम्बईले नयाँ कीर्तिमान आफ्नो नाममा बनाएको छ । उसले सर्बाधिक उद्घाटन म्याच खेल्ने टीमको कीर्तिमान बनाएको हाे । १२ औँ सिजनसम्म आइपुग्दा मुम्बई र कोलकाता नाइट राइडर्स (केकेआर) ले ६–६ पटक आइपीएलको उद्घाटन म्याच खेलेका छन् । अब मुम्बईले केकेआरलाई पछि पार्दै धेरै पटक आइपीएल उद्घाटन म्याच खेल्ने उपलब्धि हासिल गरेको छ । धोनीको टीमले खेलेको छ सर्बाधिक फाइनल म्याच हालसम्म महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्स (सीएसके)ले सर्बाधिक ८ पटक आइपीएल फाइनल खेलेको छ । आठ चोटी फाइनल पुग्दा सीएसकेले तीन पटक उपाधि जित्न सफल भएको छ । सीएसकेपछि धेरै पटक फाइनल पुग्ने टीम मुम्बई इन्डियन्स हो । रोहित शर्मा कप्तान रहेको मुम्बई ५ पटक फाइनल स्थान पुग्दा ४ चोटी ‘च्याम्पियन’ बनेको छ । आइपीएल २०२० सम्म सर्बाधिक उद्घाटन म्याच खेल्ने टीम मुम्बई इन्डियन्स– ७ पटक चेन्नई सुपर किंग्स, कोलकाता नाइड राइडर्स– समान ६ पटक रोयल च्यालेन्जर्स बैंग्लोर– ३ पटक डेक्कन चाजर्स, दिल्ली डेयरडेविल्स, राइजिंग पुणे सुपरजायन्ट्स र सनराइजर्स हैदरावाद– समान एक पटक । आइपीएल २०२० मा ५ अप्रिल, १२ अप्रिल, १९ अप्रिल, २६ अप्रिल, ३ मे र १० मेमा दिनमा २–२ म्याच खेलाइने छ । यो पटक पनि पूरानै समयमा आइपीएलका म्याच सुरु हुने छन् । २ खेल हुने दिनमा पहिलो म्याच दिउँसो ४ र दोस्रो म्याच राति ८ बजे सुरु हुने छन् । पहिलोपटक आइपीएलमा शनिबार दुई खेल राखिएको छैन् । आइतबार भने दुई खेल हुने छ । आइपीएलमा चेन्नई सुपरकिङस्, मुम्बई इण्डियन, राजस्थान रोयल, दिल्ली क्यापिटल, रोयल च्यालेन्जर्स बैग्लोर, सनराई हैदरावाद, किङ्स इलाभेन पञ्जाव र कोलकाता नाइट राइडर्स रहेका छन्।
एसीसी इस्टर्न रिजन कपः तीन देश सहभागी हुनेमा आशंका
काठमाडौंः थाइल्याण्डमा हुने एसीसी टी–२० इस्टर्न रिजन प्रतियोगितामा चीन, म्यानमार र भुटान सहभागी नहुने सम्भावना बढेको छ । यद्दपी एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले तीनै राष्ट्रको सहभागिता सम्बन्धमा औपचारिक जानकारी खुलाइसकेको छैन् । एसियाली क्रिकेट काउन्सिलले वेस्टर्न रिजन प्रतियोगिताको सहभागी राष्ट्र सम्मिलित खेल तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । इस्टर्न रिजनको तालिका सार्वजनिक गरिए पनि एसीसीले उक्त तालिका आफ्नो वेभसाइटबाट भने हटाएको छ । प्रतियोगितामा भुटान, चीन, हङकङ, मलेसिया, म्यानमार, नेपाल, सिंगापुर र थाइल्याण्ड सहभागी हुने तय गरिएको थियो । जस बमोजिम तालिका समेत सार्वजनिक गरिएको थियो । तर चीन, भुटान र म्यानमार सहभागी नहुने सम्भावना बढेपछि खेल तालिका प्रभावित हुने भएको छ । कोरोना भाइरसको संक्रमणले चीनले एकपछि अर्को प्रतियोगिताको आयोजना गर्न हात झिक्दा इस्टर्न रिजन कपमा समेत सहभागी नहुने सम्भावना बढेको छ ।थाइल्याण्ड क्रिकेट संघले सार्वजनिक गरेको तालिका बमोजिम नेपालले आफ्नो पहिलो खेलमा चीनसँग स्पर्धा गर्ने निर्धारण गरिएको थियो । उक्त खेल फागुन १७ गतेको लागि निर्धारण गरिएको थियो । दोस्रो खेलमा नेपालले एकदिन पछि आयोजक थाइल्याण्डको सामना गर्ने तय गरिएको छ । त्यसैगरी तेस्रो खेलमा मलेसियासँग स्पर्धा गर्ने छन् । एसियाली क्रिकेट काउन्सिलले तीनै राष्ट्र सहभागी नहुने निश्चित भएपछि पुर्नतालिका गर्नेछ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टोली फागुन १५ गते थाइल्याण्डका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । जसका लागि क्यानले ज्ञानेन्द्र मल्लको नेतृत्वमा टोलीको घोषणा समेत गरिसकेको छ । संघका महासचिव अशोकनाथ प्याकुरेलले प्रतियोगिताको तयारीका लागि शनिबारदेखि बन्द शिविर सुरु भएको जानकारी दिए । वेस्टर्न रिजन कप भने यसै साता ओमानमा सुरु हुँदैछ । उक्त प्रतियोगितामा बहराइन, इरान, कुवेत र माल्दिभ्स एउटा समूहमा विभाजन गरिएको छ । ओमान, कतार, साऊदी अरब र यूएई भने दोस्रो समूहमा रहेको छ । इस्टर्न र वेस्टर्न रिजन कपमा उत्कृष्ट हुने दुई–दुई गरी चार टोलीबीच एसिया कप छनोट खेल हुनेछ । उक्त प्रतियोगिता आगामी अगष्ट महिनामा मलेसियामा हुने निर्धारण गरिएको छ । चार टोलीबीचको छनोट प्रतियोगिताको विजेता राष्ट्र सेप्टेम्बर महिनामा हुने एशिया कपका लागि योग्य हुने छन् । एसिया कप टी–२० प्रतियोगिता आगामी सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने निर्धारण गरिएको छ । जसमा टेष्ट मान्यता प्राप्त एसियाका भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र छनोट खेलेर आएका थप एक राष्ट्र गरी छ राष्ट्र सहभागी हुनेछन् । इस्टर्न रिजन प्रतियोगितामा उत्कृष्ट हुने दुई टोली भने १९ वर्ष मुनिको एसिया कपको लागि समेत अवसर पाउनेछन् । ५० ओभरको उक्त प्रतियोगिता नोभेम्बर महिनामा यूएईमा हुने निर्धारण गरिएको छ । जसमा पाँच टेष्ट मान्यता प्राप्त राष्ट्रसँग दुई इस्टर्न रिजनका र एक वेष्टर्न रिजनका विजेता राष्ट्र गरी कुल ८ टोली सहभागी हुनेछन् । उक्त प्रतियोगिता लगत्तै इमर्जिङ् टिम्स एसिया कप प्रतियोगिता हुनेछ । डिसेम्बरमा हुने इमर्जिङ् टिम्स एसिया कपमा पाँच टेष्ट मान्यता प्राप्त राष्ट्रसँगै आईसीसी वरियतामा उत्कृष्ट रहने तीन असोशिएट राष्ट्र सहभागी हुने छन् । इमर्जिङ टिम्स एशिया कप डिसेम्बर महिनामा बङ्गलादेशमा हुनेछ । गाेरखा दैनिकबाट
लयमा देखिए ऋषभ पन्त, तर शतक बनाउन भने चुके!
काठमाडौंः भारत र न्यूजिल्याण्ड–११ बीच भएको तीन दिवसीय अभ्यास म्याचको नतिजा ‘ड्र’ भएको छ । २१ फेब्रअुरीदेखि सुरु हुने दुई खेलको टेष्ट सिरिजअघि दुवै टीमले अभ्यास म्याच खेलेका हुन् । यो अभ्यास म्याचमा केही भारतीय ब्याट्सम्यान–बलर लयमा देखिएका छन् । खेलको पहिलो इनिङ्समा चेतेश्वर पुजाराले ९१ र हनुमा बिहारीले शतक बनाएका थिए । अन्य खेलाडीले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । तर, दोस्रो इनिङ्समा भने भारतीय टीमका अन्य खेलाडी पनि चम्किँएका छन् । न्यूजिल्याण्डसँगको वानडे सिरिजमा खासै नजमेका ओपनर मयंक अग्रवालले अभ्यास म्याचमा उत्कृष्ट ब्याटिङ गरेका छन् । उनले खेलको दोस्रो इनिङ्समा ३ छक्का र ९९ बलमा ८१ रन बनाए । यस्तै पछिल्लो समय खराब लयका कारण भारतीय टीमको प्लेइङ ११ मा पर्न नसकेका ऋषभ पन्तले ‘कम ब्याक’ गर्ने सम्भावना बढेको छ । विकेटकीपर–ब्याट्सम्यान पन्तले न्यूजिल्याण्ड ११ सँगको अभ्यास म्याचको दोस्रो इनिङ्समा शानदार ब्याटिङ गरे । उनले ४ छक्का र ४ चौका प्रहार गर्दै ६५ बलमा ७० रनको योगदान दिए । पन्त पहिलो इनिङ्समा भने ७ रनमै आउट भएका थिए । खेलको दोस्रो इनिङ्समा पृथ्वी शाले ३९, ऋद्धिमान शाहले अविजित ३० र रवीचन्द्रन आश्विनले १६ रन बनाए । बलिङमा न्यूजिल्याण्ड ११ का डारियल मिचेलले ३ विकेट लिए । भारतले दोस्रो इनिङ्समा ४८ ओभरमा ४ विकेट गुमाएर २५२ रन बनायो । उसले पहिलो इनिङ्समा २६३ रन मात्र बनाएको थियो । न्यूजिल्याण्ड–११ ले पहिलो इनिङसमा २३५ रन मात्र बनाएको थियो । उसका लागि हेन्री कपूरले सर्बाधिक ४० रन बनाएका थिए । बलिङमा भारतीय टीमका मोहम्मद शामी, जसप्रीत बुमराह, नवदीप सैनी र उमेश यादवले २–२ विकेट लिए । भारत र न्यूजिल्याण्डले टी–२० र वानडे सिरिज खेलेर टेष्ट श्रृंखला खेल्न लागेका हुन् ।
श्रेयस अय्यरले तोडे ४१ वर्ष पूरानो कीर्तिमान
काठमाडौंः भारतीय क्रिकेट टीमका युवा ब्याट्सम्यान श्रेयस अय्यर पछिल्लो समय उत्कृष्ट लयमा छन् । उनले न्यूजिल्याण्डसँगको एकविदसीय क्रिकेट सिरिजमा मात्रै एक शतक र २ अर्धशतक बनाइसकेका छन् । अय्यरले सिरिजको तेस्रो म्याचमा आज ६३ बलमा ९ चौकाको मद्दतमा ६२ रन बनाए । अर्धशतक बनाएसँगै उनले आज नयाँ विश्वकीर्तिमान बनाएका छन् । उनले १६ एकविदसीय क्रिकेटमा सर्बाधिक अर्धशतक बनाउने क्रिकेटरको कीर्तिमान बनाएका हुन् । उनले १६ वानडेमा ९ अर्धशतक बनाएका छन् । योसँगै अय्यरले अष्ट्रेलियाका पूर्वक्रिकेटर इयान च्यापलको कीर्तिमान भंग गरेका छन् । उनले १६ वानडे म्याचमा ८ अर्धशतक बनाएका थिए । अय्यरले १६ म्याचमा ९ अर्धशतक बनबाउँदै ४१ वर्ष पुरानो कीर्तिमान ताडेका छन् ।
जोगिएन ‘क्लिन स्विप’बाट भारत, न्यूजिल्याण्डले जित्यो वानडे सिरिज
काठमाडौंः भारतसँगको एकविदसीय क्रिकेट सिरिज न्यूजिल्याण्डले ३–० ले ‘क्लिन स्विप’ गरेको छ । आज अन्तिम खेलमा भारतलाई ५ विकेटले हराउँदै न्यूजिल्याण्डले सिरिज ‘क्लिन स्विप’ गरेको हो । सिरिजको अन्तिम खेलमा भारतले दिएको २ सय ९७ रनको लक्ष्य न्यूजिल्याण्डले ४७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि हेनरी निकोल्सले ८०, मार्टिन गुप्टिलले ६६, कोलिन डी ग्रान्डहोमले अविजित ५८, कप्तान केन विलियम्सनले २२, टम लाथमले नटआउट ३२, जिमी नीशमले १९ र रस टेलरले १२ रनको योगदान दिए । बलिङमा भारतीय टीमका युजवेन्द्र चहलले ३, शार्दुल ठाकुर र रवीन्द्र जडेजाले एक–एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रन बनायो । उसका लागि विकेटकीपर–ब्याट्सम्यान केएल राहुलले शतक बनाए । उनले ११३ बलमा २ छक्का र ९ चौका प्रहार गर्दै ११२ रनको योगदान दिए । एकविदसीय क्रिकेटमा राहुलको यो चौथो शतक हो । यस्तै श्रेयस अय्यरले ६२, मनिष पाण्डेले ४२, पृथ्वी शाहले ४० रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा न्यूजिल्याण्ड टीमका हमीश बेनेटले ४, जिमी नीशम र काइली जेमिशनले एक–एक विकेट लिए ।
त्रिकोणात्मक सिरिजः अमेरिकालाई ओमानले दियो २७७ रनको लक्ष्य
काठमाडौंः आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा ओमानले अमेरिकालाई २७७ रनको लक्ष्य दिएको छ । टस जितेर व्याटिङको निम्तो पाएको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २७६ रन बनायो । ओमानका लागि कप्तान जीशान मकसूद र अकीब इलियासले शानदार शतक बनाए ।अकीब इलियासले आइतवार नेपालविरूद्व पनि शतक हानेका थिए । मकसूदले १०९ बलमा १०९ रन, इलियासले १२३ बलमा १०५ रन बनाए । त्यस्तै, सन्दीप गौडले नटआउट १३, ओपनर खावर अलीले १० बनाए । अमेरिकाका लागि एसएन नेत्रवलकर र रस्टी थेरनले समान ३÷३ विकेट लिए । ओमानले सिरिज अन्तर्गत खेलका तिनै खेलमा जित निकालेछ । आज ओमनानको अन्तिम खेल हो । अमेरिका भने यसअघि दुई खेलमा पराजित भइसकेको छ ।
फुटबलका राजा पेलेः स्वास्थ्य अवस्था दयनीय, हिँड्न पनि सहारा चाहिन्छ
एजेन्सीः लिजेण्ड फुटबल खेलाडी पेले अब घरबाहिर निस्कनका लागि पनि सङ्कोच मान्न थालेका छन् । ७९ वर्षे पेले अहिले अस्वस्थ छन् । यही कारणले गर्दा पनि उनी घर छोडेर कतै निस्किन अप्ठेरो मान्ने गरेको उनका छोरा इडिन्होले बताएका छन् । गएको वर्ष युरिनरी इन्फेक्सन भएपछि उनलाई अस्पताल लगिएको थियो । अहिले उनको कम्मरमा पनि समस्या आएको छ । जसका कारण उनी अरुको सहयोगबिना यताउता पनि हिँड्न सक्दैनन् । उनलाई ह्वीलचेयर अनिवार्य जस्तै भइसकेको छ । केही सार्वजनिक कार्यक्रमहरुमा पनि पेले ह्वीलचेयरमा देखिएका छन् । पेलेले करियरमा कुल १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८१ गोल गरेका छन्, जुन कीर्तिमान अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन । तीन पटक ब्राजिललाई विश्वकपको उपाधि जिताएका पेलेले ९१ अन्तर्राष्ट्रिय खेलमा ७७ गोलसमेत गरेका छन् । पछिल्लो समय उनको स्वास्थ्य अवस्था दयनीय बन्दै गइरहेको छ । ‘एउटा राजा जसलाई अहिले हिँड्न पनि सहारा चाहिन्छ, यो अवस्था उहाँलाई सह्य छैन,’ पेलेका छोराले भने । ‘उहाँ अहिले कमजोर हुनुभएको छ । उहाँको कम्मरको समस्याका कारण हिँडडुल गर्न निकै कठिन छ । जसका कारण उहाँलाई डिप्रेसन जस्तै भएको छ,’ इडिन्होले थपे ।
इस्टर्न रिजन कपः १८ खेलाडीको नाम सार्वजनिक, को–कोले पाए प्रारम्भिक टोलीमा मौका?
काठमाडौंः थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन मेन्स टी–२० कप क्रिकेटका लागि नेपाल क्रिकेट संघले १८ खेलाडीको नामावली सार्वजनिक गरेको छ । त्रिकोणात्मक सिरीजका लागि छनोट भएका १८ खेलाडीको सूचीमा रहेका सुवास खकुरेल अटाएका छैनन् । यही सूचीबाट क्यानले १४ खेलाडी छनोट गर्नेछ । सोमपाल कामी सो बेलासम्म पनि ठिक नहुने भएकाले टिममा राखिएको छैन । उनी भिटामिन डी को कमिका कारण हाल पूर्ण रूपमा फिट छैनन् । थाइल्याण्डमा फेब्रुअरी २९ देखि मार्च ६ तारिखसम्म हुने प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । जसमा नेपाल रहेको समूहमा थाइल्याण्ड, मलेसिया र म्यानमार रहेका छन् । समूह बी मा हङकङ, सिंगापुर, भुटान र चीन रहेका छन । नेपालले प्रतियोगिताको पहिलो खेल चीनसँग खेल्नेछ । दोस्रो खेलमा नेपालको प्रतिद्धन्द्धी थाइल्याण्ड रहेको छ भने तेस्रो खेल मलेसियासँग खेल्नेछ । दुई समुहको शिर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन । प्रतियोगिताको विजेताले पाकिस्तानमा हुने एसीसी एसिया कपमा स्थान बनाउने छ । क्यानले सार्वजनिक गरेको प्रारम्भिक नेपाली टोलीः ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनाश बोहरा, पवन सराफ, कुशल मल्ल, सन्दीप जोरा, भुवन कार्की, सुशन भारी, किशोर महतो, लोकश बम, शेर मल्ल, कमलसिंह ऐरी र रोहित पौडेल ।

