टी–२० सिरिजः भारतलाई ब्याटिङको निम्तो, प्लेइङ ११ मा को–कोले पाए मौका?

काठमाडौंः भारत विरुद्धको टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा पाहुना टाेली श्रीलंकाले टस जितेर फिल्डिङ रोजेको छ । भारत–श्रीलंकाबीचको खेल साँझ ७ः१५ बजेदेखि पुणेमा सुरु हुँदैछ ।

सिरिजको अन्तिम खेलमा भारतले तीन र श्रीलंकाले २ खेलाडी परिवर्तन गरेको छ । श्रीलंकाले इसरु उडाना र भानुका राजापाक्षलाई विश्राम दिएको छ । उनीहरुको स्थान एन्जेलो म्याथ्यूज र लक्षण सदाकनले लिएका छन् ।

भारतले सिरिजको तेस्रो खेलमा ऋषभ पन्त, कुलदीप यादव र शिवम दुवेलाई विश्राम दिएको छ । उनीहरुको स्थानमा सञ्जु स्यामसन, युजवेन्द्र चहल र मनीष पाण्डेलाई प्लेइङ ११ मा मौका दिइएको छ । तीन खेलको सिरिजमा भारत १–० ले अगाडि छ ।

यदि आजको खेल भारतले जिते उसले सिरिजलाई २–० ले ‘क्लिन स्विप’ गर्नेछ । सिरिजको पहिलो खेल वर्षा बाधक बनेपछि रद्द गरिएको थियो ।

भारतको प्लेइङ ११ः शिखर धवन, केएल राहुल, विराट कोहली (कप्तान), सञ्जु स्यामसन (विकेटकीपर), मनीष पाण्डे, श्रेयस अय्यर,  युजवेन्द्र चहल,  वाशिङटन सुन्दर, जसप्रीत बुमराह, शार्दुल ठाकुर र नवदीप सैनी ।

श्रीलंकाको प्लेइङ ११ः लसिथ मलिंगा (कप्तान), दनुष्का गुनाथिलका, अभिष्का फर्नान्डो, दसुन शनाका, कुशल परेरा (विकेटकीपर), धनन्जय डी सिल्भा, इसुरु उडाना, लक्षण सदाकन, एन्जेलो म्याथ्यूज, वानिन्दु हसरंगा र लाहिरू कुमारा ।

बीबीएलः म्याक्सवेलद्वारा लगातार दोस्रो अर्धशतक

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत मेलबर्न रेनेगेड्सविरुद्ध पनि मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले शानदार अर्धशतक पूरा गरेका छन् । उनले ३४ बलमा ३ छक्का र एक चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । म्याक्सवेलको यो लगातार दोस्रो अर्धशतक हो । स्टार्स रेनेगेड्सले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको छ । यो समाचार तयार पार्दासम्म स्टार्सले १७ ओभरमा ३ विकेट गुमाएर १ सय ३७ रन बनाएको छ । यसअघि ब्याट फ्लिप’ हारेर ब्याटिङको मौका पाएको रेनेगेड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६८ रन बनायो । उसका लागि शन मार्शले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ६३ रन बनाए । यस्तै मार्कस ह्यारिसले ४२, बीजे वेबस्टारले २५ रन बनाए । बलिङमा मेलबर्न स्टार्सका नाथन कल्टर नाइल, सन्दीप लामिछानेले २–२ र हरिस रौफले एक विकेट लिए । जारी प्रतियोगितामा सन्दीप आवद्ध मेलबर्नले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उसले ७ म्याचमा ६ मा जित हासिल गर्दै १२ अंक जोडेको छ । र, मेलबर्न शीर्ष स्थानमा कायमै छ । यता गत विजेता रेनेगेड्सले भने ७ म्याच खेल्दा सबै खेलमा हारको सामना गरेको छ । मेलबर्न स्टार्सको प्लेइङ ११ः ग्लेन म्याक्सवेल, हिल्टन कार्टराइट, नाथन कटर–नाइल, बेन डन्क, सेव गोच, लान्स मोरिस, सन्दीप लामिछाने, निक लार्किन, हरिस रौफ, मार्कस स्टोइनिस र डानियल वर्रल । रेनेगेड्सको प्लेइङ–११ः शन मार्श, साम हार्पर, मार्कस हैरिस, बउ वेबस्टर, समित पटेल, ड्यान क्रिश्चियन, टम कूपर, विल सुदरल्याण्ड, क्यामरन ब्यायस, जो मेन्ने, रिचर्ड ग्लेसन ।

ह्यारी केन ४ महिना मैदान बाहिर

काठमाडौंः टटनहमका कप्तान एवम् स्ट्राइकर ह्यारी केन घुँडाको चोटको कारण आगामी अप्रिल महिनासम्म मैदान बाहिर रहने भएका छन् । २६ वर्षीय केन साउथम्पटन विरुद्धको खेलमा घाइते भएका थिए । उक्त खेलमा टटनहम पराजित भएको थियो । स्परले एक वक्तब्य जारी गरी विशेषज्ञले शल्यक्रियाको आवश्यकता देखाएको हुँदा केन केही महिनाका लागि मैदान बाहिर रहने जनाएको छ । यूरोकप २०२० सुरु हुनुभन्दा दुई महिना अघि उनी अप्रिल महिनामा अभ्यासको लागि मैदानमा फर्किने जनाइएको छ । वक्तब्यमा घुँडा जोर्नी तलको ‘टेन्डन’ विच्छेद भएको हुँदा शल्यक्रिया जरुरी भएको विशेषज्ञलाई उद्धृत गर्दै उल्लेख गरिएको छ । जारी सिजनमा केनले ३१ खेलमा २७ गोल गरेका छन् । टटनहमका व्यवस्थापक जोस मौरिन्होले उहाँको योगदानलाई हेरेर केही महिना टोलीलाई केनको अभाव रहने बताए । प्रिमियर लिगमा स्पर्स छैठौं स्थानमा छ । चौथो स्थानको चेल्सीभन्दा चार अङ्क कम रहेको छ ।

बिग बास लिगः मेलबर्नविरुद्ध स्टार्सको सम्भावित प्लेइङ ११

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्सले आफ्नो आठौं म्याच खेल्दै छ । स्टार्सले आठौं म्याचमा मेलबर्न रेनेगेड्स विरुद्धको सामना गर्न लागेको हो । स्टार्स–रेनेगेड्स विरुद्धको खेल दिउँसो १ः५५ बजेदेखि सुरु हुनेछ । आठौं म्याचमा पनि लामिछाने टिममा अटाएका छन् । शुक्रबारको म्याचमा विकेटकीपर–ब्याट्सम्यान पीटर ह्यान्सकम्ब, स्पिनर एडम जम्पा र ब्याट्सम्यान निक म्याड्सन भने हुने छैनन् । ह्यान्सकम्ब र जम्पाले अष्ट्रेलियाले खेल्ने वानडे सिरिजका कारण मेलबर्नको आजको म्याच नखेल्ने भएका हुन् । म्याड्सनले भने चोटका कारण शुक्रबारको खेल गुमाए । उनीहरुको स्थानमा सेब गोच, लान्स मोरिस र साम इलियटले टोलीमा मौका पाएका छन् । जारी प्रतियोगितामा सन्दीप आवद्ध मेलबर्नले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उसले ७ म्याचमा ६ मा जित हासिल गर्दै १२ अंक जोडेको छ । र, मेलबर्न शीर्ष स्थानमा कायमै छ । यता गत विजेता रेनेगेड्सले भने ७ म्याच खेल्दा सबै खेलमा हारको सामना गरेको छ । रेनेगेड्सविरुद्ध मेलबर्न स्टार्सको सम्भावित प्लेइङ ११ः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, नाथन कटर–नाइल, बेन डन्क, सेव गोच, क्लिन्ट हिन्चलिफ, सन्दीप लामिछाने, निक लार्किन,  हरिस रौफ, मार्कस स्टोइनिस र डानियल वर्रल ।

‘ए’ डिभिजन लिगः एपीएफमाथि संकटाको रोमाञ्चक जित

काठमाडौंः सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय क्लब एपीएफमाथि ४–२ गोलको रोमाञ्चक नतिजा निकाल्दै संकटा क्लबले जारी प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ । आज भएको पाँचौं चरणको खेलमा संकटाले एपीएफमाथि ४–२ को रोमाञ्चक नतिजा निकाल्दै लिगमा दोस्रो जित दर्ता गरेको हो । संकटाको जितमा विदेशी खेलाडी अजय मार्टिन्सले २ गोल गर्दा लक्ष्मण रुचाल र कर्णबहादुर सुब्बाले १–१ गोल थपे । एपीएफका नवीन लामा र आशिष लामाले २ गोल फर्काए पनि हार टार्न सकेनन् । जितसँगै संकटाले ३ अंक जोडेको छ । अब संकटाको लिगमा ७ अंक भएको छ । संकटा लिगको सातौं स्थानमा उक्लिएको छ । पराजित एपीएफ ४ अंकसहित लिगको ११औं स्थानमा छ ।

टी–२० सिरिजः श्रीलंकाद्वारा भारतलाई १४३ रनको लक्ष्य

काठमाडौंः टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा पाहुना टोली श्रीलंकाले भारतलाई १ सय ४३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन बनायो । उसका लागि कुसल परेराले ३४, अविश्का फर्नान्डोले २२, डनुष्का गुणतिलकाले २०, धनन्जय डीसिल्भाले १७, वानिन्दू हसरंगाले अविजित १६, ओशादा फर्नान्डोले १० रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा भारतका शार्दुल ठाकुरले ३, कुलीदप यादव, नवदीप सैनीले २–२ र जसप्रित बुमराह र वासिङटन सुन्दरले एक–एक विकेट लिए । तिन म्याचकाे सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । सिरिज जित्नका लागि दुवै टिमका लागि आजको खेल महत्वपूर्ण हुनेछ । भारतको सम्भावित प्लेइङ ११ः शिखर धवन, केएल राहुल, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त (विकेटकीपर), शिवम दुबे, वाशिङटन सुन्दर, कुलदीप यादव, जसप्रीत बुमराह, शार्दुल ठाकुर र नवदीप सैनी। श्रीलंकाको सम्भावित प्लेइङ ११ः लसिथ मलिंगा (कप्तान), दनुष्का गुनाथिलका, अभिष्का फर्नान्डो, दसुन शनाका, कुशल परेरा (विकेटकीपर), धनन्जय डी सिल्भा, इसुरु उडाना, भानुका राजापक्ष, ओशादा फर्नान्डो, वानिन्दु हसरङ्गा र लाहिरू कुमारा ।

इपीएल खेल्ने विदेशी खेलाडी (सूचीसहित)

काठमाडौंः एभरेष्ट प्रिमियर लिग (इपीएल) को तेस्रो संस्करणमा चर्चित विदेशी क्रिकेटरले खेल्ने भएका छन् । इपीएलको अफिसियल वेबसाइटमा उल्लेख भए अनुसार यो सिजनकोे इपीएलमा दक्षिण अफ्रिकाका हसिम अमला, रिचार्ड लेभी वेष्ट इन्डिजका ड्वायन स्मिथ, केस्रिक विलियम्स, अफगानिस्तानका मोहम्मद सेहजाद, श्रीलंकाका सेकुगी प्रसन्ना, उपल थरंगा, इंग्ल्याण्डका लियाम प्लेइङकट, आयरल्याण्डका पउल स्ट्रलिङ, केभिन ओब्रायन, स्कटल्याण्डका काइली कोयट्जर लगायत खेलाडी आउने भएका छन । आयोजकका अनुसार अमला आउने निश्चित जस्तै भएको छ । बाँकी खेलाडीको आधिकारीक धारणा एक दुई दिनमा टुंगो लाग्ने बुझिएको छ । इपीएलले आफ्नो आधिकारीक वेबसाइटमा राखेका खेलाडी हेर्न यहाँ क्लिक गर्नुस् यो संस्करणको इपीएल चैत्र १ देखि १५ सम्म हुने भएको छ । यस पटक गत सिजन ईपीएलपछि पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिग खेलेका विदेशी खेलाडीले इपीएल खेल्न पाउने छैनन् ।

खुत्रुकेमा जम्मा गरेको रकम रंगशाला निर्माणलाई

काठमाडौंः चितवनको भरतपुर महानगरपालिका–१६ रमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशला निर्माणका लागि आर्थिक सहयोग जुट्ने क्रममा जारी छ । रंगशला निर्माणका लागि स–साना नानीहरुदेखि वृद्धसम्मले सकेजति आर्थिक सहयोग गरिरहेका छन् । यसैबीच रंगशाला निर्माण अभियानका लागि डेनमार्क बस्ने रिदम सापकोटाले खुत्रुकेमा जम्मा गरेको ११ हजार २ सय रुपैंया रंगशाला निर्माणका लागि सहयोग गरेका छन् । उनले उक्त रकम मंगलबार धुर्मुस–सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेका छन् । अभियानमा जोडिकोमा रिदमलाई फाउण्डेशनले धन्यवाद दिएका छन् । अन्तर्राष्ट्रियस्तरको २५ हजार दर्शक क्षमताको निर्माणाधिन क्रिकेट रंगशालाको अतिरिक्त यो परिसरभित्र दुईवटा अत्याधुनिक क्रिकेट अभ्यास मैदान, फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडी पोखरी, ब्याडमिन्टन, टेनिस कोर्ट पनि बन्नेछन् । क्रिकेट रंगशालाको परिधि ४ सय ७१ मिटरको छ । केन्द्र भागबाट ७५ मिटरको हुनेछ । रंगशालामा सातवटा पिच बन्नेछन् । यहाँ अहिले पिच निर्माण भइरहेको छ । रंगशालाको ड्रेन निर्माण तथा प्रारम्भिक पिल्लरका लागि फाउन्डेसन हुँदै छ । कृषि तथा वन विश्वविद्यालयले २० विघा ६ कट्ठा क्षेत्रफल जग्गा फाउन्डेसनलाई उपलब्ध गराएपछि माघ १६ मा काठमाडौंमा रंगशाला निर्माणको घोषणा भएको थियो । त्यसको चार दिनपछि काम सुरु भयो । जेठ १५ मा केही स्थानीय आक्रमणमा उत्रिएपछि ठप्प भएको काम ३ महिनापछि भदौदेखि सुरु भएको हो । काँसघारी सम्याएर निर्माण कार्य सुरु भएको डेढ महिना भएको छ । क्रिकेट रंगशाला राष्ट्रिय आवश्यकता नै हो भन्ने बुझेर ‘नमुना नेपाल’ निर्माणको महाअभियान थाँती राखी रंगशाला निर्माण सुरु गरेको फाउन्डेसनले अवरोधबीच आफ्नो अभियान स्थगित गर्न सकेन । ६ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने र त्यसको २ वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । एक वर्ष बितिसकेको छ । असोजमा मात्र डीपीआर सार्वजनिक गरिएको थियो र मंसिरदेखि यहाँ युद्धस्तरमा काम सुरु भएको हो ।

बिग बास लिगः आरोन फिन्चको टिमको लगातार सातौं हार

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत मेलबर्न रेनेगेड्स विरुद्धको खेलमा पर्थ स्कोरचर्स ६ विकेटले विजयी भएको छ । मेलबर्नले दिएको १ सय ७६ रनको लक्ष्य पर्थले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍याे । उसका लागि लायम लिभिङस्टोनले ५९, जोश इन्ग्लिशले ५१, कप्तान मिचेल मार्सले २१, क्यामरोन बानक्राफ्टले नटआउट २४ र टिम डेविडले १६ रन बनाए । बलिङमा मेलर्नका रिचर्ड ग्लेसनले ३ र केन रिचडर्सनले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको मेलबर्नले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनायो । उसका लागि साम हार्परले ७३, बेउ वेबस्टारले अविजित ५९, डानियल क्रिश्चियनले १९ र मार्कस ह्यारिसले १४ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमासमेत रन जोड्न सकेनन् । बलिङमा पर्थका झाय रिचडर्सनले ३ र मिचेल मार्शसले २ विकेट लिए । आजको खेलसँगै आरोन फिन्च नेतृत्वको मेलबर्न रेनेगेड्सले लगातार सातौं हार बेहोरेको छ । मेलबर्न गत संस्करणको विजेता टिम हो । आजको जितसँगै पर्थ भने अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । उसले ७ म्याचमा ४ मा हार र ३ खेलमा जित हासिल गर्दै ६ अंक बटुलेको छ । जारी प्रतियोगितामा नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्सले शानदार प्रदर्शन गरिरहेको छ । उसले आफ्नो सातौं खेलमा बुधबार सिड्नी थन्डरको सामना गर्दैछ । मेलबर्न ६ म्याच खेल्दा ५ मा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । जारी प्रतियोगितामा सन्दीपले ५ म्याच खेल्दा ६ विकेट लिन सफल भएका छन् । उनी बुधबार हुने सिड्नी विरुद्धको खेलमा पनि प्लेइङ ११ मा पर्ने सम्भावना बलियो छ । मेलबर्नले आज सार्वजनिक गरेको १३ सदस्यीय टोलीमा पनि सन्दीप अटाएका छन् । उनले आफ्नो चौथो खेलमा मेलबर्न रेनेगेड्सविरुद्ध ४ ओभरमा २६ रन दिएर महत्वपूर्ण ३ विकेट लिएका छन् । जारी प्रतियोगितामा सन्दीपको यो उत्कृष्ट बलिङ हो ।

आइसीसीद्वारा नयाँ टी–२० वरियता सार्वजनिक, नेपाल कति नम्बरमा?

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक नयाँ टी-२० नयाँ वरियतामा नेपाल १२ औँ स्थानमै यथावत रहेकाे छ । अघिल्लो महिना पनि नेपाल १२ औँ स्थानमै रहेको थियो । नयाँ वरियता अनुसार नेपाल १ सय ९२ रेटीङ अंक पाउँदै १२ औँ स्थान रहेको हो । नेपाल एसोसियट राष्ट्र मध्येको टी-२० वरियतामा  शीर्ष स्थानमा रहेको छ । नेपाल भन्दा तल टेष्ट राष्ट्र आयरल्याण्ड रहेको छ । नयाँ टी-२० वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा अष्ट्रेलिया रहेका छन् । इंग्ल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौंथो र भारत पाँचौं स्थानमा छ ।

हेटौंडाका मेयरद्वारा रंगशालालाई ३० लाख हस्तान्तरण

काठमाडौंः हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले चितवनको भरतपुर महानगरपालिका–१६ मा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ३० लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । उपमहानगरपालिकाको तर्फबाट मेयर महतले मंगलबार एक कार्यक्रमकाबीच धुर्मुस–सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेका हुन् । आइतबार निर्माणाधिन रङ्गशालाको अवलोकनपछि महतले सहयोगको घोषणा गरेका थिए । सहयोग रकम हस्तान्तरण गर्दै मेयर महतले धुर्मुस–सुन्तली फाउन्डेशनको प्रयासमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण हुन लागेकाले स्थानीय सरकारको हैसियतमा सहयोग गरेको बताए । रंगशाला निर्माणका लागि देशैभरीका स्थानीय सरकारको सहयोग आवश्यक रहेकोसमेत उनले बताए । चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको २० बिघा ६ कट्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गर्न लागिएको छ । मौलिकतासहित निर्माण हुन लागेको रङ्गशाला स्तुपाकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुनेछ । जसले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका खेलाडीहरूलाई मुस्कुराउँदै स्वागत गर्नेछ ।

सगरमाथा क्रिकेट क्लबलाई हराउँदै रोयल राइनोजले जित्यो बिएमडब्ल्यु कपको उपाधि

मेलबर्नः रोयल राइनोज क्रिकेट क्लबको आयोजना तथा बिएमडब्ल्यु एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न बिएमडब्ल्यु कप टी-२० क्रिकेट प्रतियोगिता २०१९ को उपाधि रोयल राइनोज क्रिकेट क्लबले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा सगरमाथा क्रिकेट क्लबलाई ‘सुपर ओभर’मा पराजित गर्दै रोयल राइनोजले उपाधि जितेको हो । पहिला ब्याटिङ गरेको सगरमाथा क्रिकेट क्लबले २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन बनाएको थियो । उसका लागि आशिष जिसीले ५४, अबिनाश पौडेलले २६ तथा कुशल तुलाधरले १७ रनको योगदान दिए । रोयल राइनोजका लागि निरज श्रेष्ठले ३ तथा निरन्जन कार्की, पुकार भण्डारी तथा भीष्मले समान १-१ विकेट लिए । १३९ रनको बिजय लक्ष पछ्याउँदै जवाफी ब्याटिङ गरेको रोयल राइनोजले २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रनमा पुग्दा खेल टाइ हुन पुगेको थियो । रोयल रानोजका लागि मोहन पुनले ५८, मोहन टण्डनले २४ तथा निरज श्रेष्ठले ११ रनको योगदान दिए । सगरमाथा क्रिकेट क्लबको लागि कुसल तुलाधरले ३ तथा समिप थापा, निकेश खनाल, साजेन्द्र श्रेष्ठले समान १-१ विकेट लिए । फाइनल खेल टाइ भएपछि सुपर ओभरमा खेलाइएको खेलमा रोयल राइनोज क्रिकेट क्लब बिजयी हुन पुगेको हो । सुपर ओभरमा पहिला ब्याटिङ गरेको रोयल राइनोज १३ रन बनाउन सफल भयो । उसका लागि निरज श्रेष्ठले ३ चौकाको मद्धतले १२ रनको योगदान दिए । सुपर ओभरमा १३ रनको पछ्याएको सगरमाथाले ११ रन मात्र बनाउन सक्यो । रोयल राइनोजलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका मोहन पुन फाइनल खेलका प्लेयर अफ द म्याच चुनिनुका साथै उनले बेस्ट ब्याट्सम्यान र फिल्डरको अवार्डसमेत जिते । त्यस्तै रोयल राइनोजका अभिनाश पौडेलले बेस्ट बलर र प्लेयर अफ द टुनामेन्टको अवार्ड हात पार्दा सगरमाथाका सुशन गुरुङले बेस्ट किपरको अवार्ड थापेका थिए । उपाधि बिजेता रोयल राइनोज र उपबिजेता सगरमाथा अर्को साताबाट अस्ट्रेलियामै आयोजना हुने म्याप क्रिकेट प्रतियोगितामा समेत छनोट भएका छन् ।

एमएम कपः एमसीसीमाथि आर्मीको फराकिलो जित

काठमाडौंः सुनसरीमा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आयोजक इनरुवाविरुद्ध नेपाल आर्मी क्लब १० विकेटले विजयी भएको छ । इनरुवाले दिएको ५७ रनको सामान्य लक्ष्य आर्मीले ५ ओभरमा बिनाविकेट पूरा गर्यो । उसका लागि कुशल मल्लले १९ बलमा २ छक्का र ५ चौका हिर्काउँदै अविजित ३५ रन बनाए । यस्तै हरिशंकर झा २० रनमा नटआउट रहे । यसअघि टस जितेर ब्याटिङ गरेको इनरुवाले १९.३ ओभरमा सबै विकेट गुमाएर ५६ रन बनायो । उसका लागि सुशान्त तिमिल्सिनाले १५ र सोनु मन्डलले १३ रन बनाए । बाँकी खेलाडीले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् । बलिङमा आर्मीका सुशन भारीले घातक बलिङ गरे । उनले ह्याट्रिकसहित ८.३ ओभरमा १६ रन दिएर ७ विकेट लिए । सुशनले सरोज बस्नेत, रोकश सोनी र अल्फाज मंसुरीलाई आउट गर्दै ‘ह्याट्रिक विकेट’ पूरा गरेका थिए । यस्तै हरि चौहानले २ र शाहव आलमले १ विकेट हात पारे । (तस्बिरः विकेट नेपाल)

एमएम कपः सुशन भारीले लिए ‘ह्याट्रिक विकेट’

काठमाडौंः सुनसरीमा जारी मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लबका बलर सुशन भारीले ‘ह्याट्रिक विकेट’ लिएका छन् । उनले आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवाविरुद्ध ‘ह्याट्रिक विकेट’ हुन् । सुशनले सरोज बस्नेत, रोकश सोनी र अल्फाज मंसुरीलाई आउट गर्दै ‘ह्याट्रिक विकेट’ पूरा गरे । उनले आफ्नो चौथो विकेटमा ‘ह्याट्रिक’सहित ४ विकेट लिन सफल भए । भारीले आज घातक बलिङ गरेका छन् । उनले ७ ओभर बलिङ गर्दा १५ रन दिएर ६ विकेट लिएका छन् । आजको खेलमा इनरुवाले टस जितेर ब्याटिङ गरिरहेको छ । उसले यो समाचार तयार पार्दासम्म १६ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको छ ।

भलिबललाई नै राष्ट्रिय खेल बनाउने संसदीय समितिको निर्णय

काठमाडौंः संसदको महिला, शिक्षा तथा स्वास्थ्य समितिले भलिबललाई नै राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेको छ। राष्ट्रिय खेलकुद विकास विधेयकबारे छलफल गर्दै समितिले भलिबललाई नै राष्ट्रिय खेल बनाउने निर्णय गरेको समिति सदस्य तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले जानकारी दिए। राष्ट्रिय सभामा प्रस्तुत राष्ट्रिय खेलकुद विकास विधेयक प्रतिनिधि सभा हुँदै थप छलफलका लागि समितिमा पठाइएको थियो। सो विधेयक पुनः राष्ट्रिय सभा हुँदै प्रतिनिधि सभामा जानेछ। प्रतिनिधि सभाले पास गरेपछि त्यसले ऐनको रुप लिनेछ। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा २०७४ साल जेठ ८ गतेको मन्त्रिपरिषद् बैठकले भलिबलाई राष्ट्रिय खेलको मान्यता दिएको थियो। त्यहीबेलादेखि नेपाल भलिबल संघले जेठ ८ लाई भलिबल दिवसका रुपमा मनाउँदै आएको छ।

बिग बास लिगः सातौं म्याचमा पनि सन्दीप टिममा

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत सिड्नी थन्डर विरुद्धको खेलमा लागि मेलबर्न स्टार्सले टोली घोषणा गरेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध मेलबर्नले भोलि (बुधबार) हुने खेलका लागि आज १३ सदस्यीय टोली घोषणा गरेको हो । सन्दीपले सातौं म्याचमा पनि टिममा मौका पाएका छन् । थन्डर विरुद्धको म्याचमा फास्ट बलर डेल स्टेन र ब्याट्स्म्यान जोनो मोर्लोलाई विश्राम दिइएको छ । उनीहरुको स्थानमा हरिस रौफ र हिल्टन कार्टराइटलाई टिममा समावेश गराइएकाे छ । मेलबर्न र सिड्नीबीचको खेल बुधबार दिउँसो १ः५५ बजेदेखि सुरु हुनेछ । जारी प्रतियोगितामा मेलबर्न ६ म्याचमा ५ मा जित हासिल गर्दै १० अंकका तालिकाको शीर्ष स्थानमा छ । यो सिजनमा सन्दीपले ५ म्याच खेल्दा ६ विकेट लिएका छन् । उनले आफ्नो पाँचौ खेलमा मेलबर्न रेनेगेड्सविरुद्ध ४ ओभरमा ३ विकेट लिँदै २६ रन दिएका थिए । जारी बीबीएलमा सन्दीपको यो उत्कृष्ट बलिङ हो । सिड्नी थन्डरविरुद्ध मेलबर्नले घोषणा गरेको टोलीः ग्लेन म्याक्सवेल (कप्तान), नाथन कल्टर–नाइल, बेन डन्क, पीटर ह्यान्सकम्ब, क्लिन्ट हिन्चलिफ, सन्दीप लामिछाने, निक लार्किन, हिल्टन कार्टराइट, हरिस रौफ, निक म्याडिन्सन, मार्कस स्टोइनिस, डानियल वर्रल र एडम जम्पा ।