सीपीएल : सन्दीपको उत्कृष्ट बलिङ, लिए महत्वपूर्ण विकेट

काठमाडौं : वेष्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत सेन्ट लुसिया जुक्सविरुद्ध जमैका तल्लावाजमा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् ।

उनले आफ्नो चौथो ओभरको दोस्रो बलमा विस्फोटक ब्याट्सम्यान नजिबुल्लाह जर्दान (२५) विकेट लिएका हुन् ।

सन्दीपले आफ्नो ४ ओभको स्पेलमा २३ रन दिएर महत्वपूर्ण १ विकेट लिए । आफ्नो पहिलो खेलमा जमैकाले टस जितेर बलिङ रोजेको हो ।

आज सन्दीपसँगै विदेश खेलाडीको कोटामा स्पिनर मुजीउर रहमान, आशिफ अलि र ग्लेन फिलिप्सले पनि प्लेइङ ११ मा स्थान बनाएका छन् । जमैकामा रोभमेन पावेल र जुक्समा डारेन स्यामी कप्तान छन् ।

सीपीएलको ८ औँ सिजन १० सेप्टेम्बरमा सकिने छ । दुबै सिजनमा पूरा प्रतियोगिता खेल्न नपाएका सन्दीपले यस सिजन भने पूरा खेल्न पाउने छन् ।

उनी सीपीएल खेलेर वेष्ट इन्डिजबाट आइपीएल खेल्न यूएई प्रस्थान गर्ने छन् । यो वर्ष भारतमा कोरोना महामारी तीव्र गतिमा फैलिएकाले १३ औँ सिजनको आइपीएल यूएईमा हुन लागेको हो ।

सुशान्तको मृत्युबारे के भन्छन् भारतीय क्रिकेटर?

काठमाडौंः बलिउड अभिनेता सुशान्त राजपुत सिंहले आत्महत्या गरेपछि उनको मृत्युबारे अहिले चौतर्फी चर्चा भइरहेको छ । सामाजिक सञ्जाल फेसबुक, ट्विटरदेखि युट्युबसम्ममा अहिले सुशान्तको आत्महत्याबारे चर्चा भइरहेको छ । महेन्द्रसिंह धोनीको बायोपिक ‘महेन्द्र सिंह धोनी द अनटोल्ड स्टोरी’ फिल्ममा शानदार भूमिका निर्वाह गरेका सुशान्तको मृत्युबारे क्रिकेट जगतमा पनि चर्चा छ । अचानक उनले आत्महत्या गरेको खबर सुनेर सबै आश्चर्यमा परेका छन् । यसैबीच, सुशान्तको मृत्यपछि भारतीय क्रिकेटरले उनीबारे सामाजिक सञ्जालमा लेखेका केही स्टाटस- युवराज सिंहः मलाई सुशान्तको मृत्युबारे विश्वास लागिरहेको छैन । लगातारको सफलताकाबीच पनि उनले किन यस्तो निर्णय लिए होलान्? अनुमान नै गर्न सक्दैन । सचिन तेन्दुलकरः सुशान्तको निधनको खबर सुनेर म निकै दुःखी छु । उनी युवा प्रतिभाशाली कलाकार थिए । उनको परिवार र साथीहरूमा समवेदना । सुरेश रैनाः सुशान्तको मृत्युको खबरले म स्तब्ध छु । धोनीको बायोपिकका लागि उनीसँग मैले धेरै पटक भेट गरेको थिए । हामीले एक सुन्दर र सधैं मुस्कुराउने कलाकार गुमाएका छौं । उनीप्रति हार्दिक श्रद्धान्जली । वीरेन्द्र सहवागः थाहा छैन केही भइरहेको छ । सुशान्तप्रति श्रद्धान्जली परिवारमा समवेदना । हरभजन सिंहः कृपया कोही भन्दिनुस् यो खबर गलत हो । उनको निधनको खबरले म दुःखी छु । सुशान्तलाई श्रद्धान्जली र परिवारमा समवेदना । इरफान पठानः उनीसँग मेरो अन्तिम कुराकानी ताज होटलको एक जिममा भएको थियो । भेटमा मैले सुशान्तको कामको तारीफ गरेको थिए । यो कुरा सुनेपछि उनले जवाफ दिएका थिए- प्लीज ‘छिछोरे’ हेर्नु, तपाइलाई राम्रो लाग्ने छ । शिखर धवनः सुशान्तको यो खबरले म निकै हैरान भएको छु । म उनको निधनप्रति विश्वास नै गर्न सकिरहेको छैन । सुशान्तको परिवारप्रति समवेदना, उनको आत्माले शान्ती पाओस् । मैथलीराजः सुशान्तको निधनको खबरप्रति विश्वास नै लागिरहेको छैन । यहाँ कोही पनि बताउन सकिरहेका छैनन् की उनको मनमा के चलिरहेको थियो । हामी सबै तिमीलाई सम्झिरहने छौं ।

वार्नरको आइपीएल प्लेइङ इलाभेनः को–कोले पाए मौका?

काठमाडौंः सनराइजर्स हैदरावादका कप्तान डेविड वार्नरले आफ्नो अल टाइम आइपीएल इलाभेन घोषणा गरेका छन् । उनले आफ्नो टिममा रोहित शर्मा, विराट कोहली, सुरेश रैना जस्ता भारतीय स्टारलाई समावेश गरेका छन् । यद्यपि वार्नरले आइपीएलमा सर्बाधिक सफल बलर लसिथ मलिंगालाई भने आफ्नो टिममा समावेश गराएका छैनन् । साथै उनले आइपीएलका अर्का सफल ब्याट्सम्यान शेन वाट्सनलाई पनि आफ्नो टिममा राखेका छैनन् । क्रिकबजका लागि हर्ष भोग्लेसँगको अन्तर्वार्तामा वार्नरले आफ्नो आइपीएल प्लेइङ ११ चयन गरेका हुन् । उनले प्लेइङ ११ मा आफू र रोहितलाई ओपनर ब्याट्सम्यानको रूपमा राखेका छन् । त्यस्तै, वार्नरले तेस्रो नम्बरमा बिराट कोहलीलाई मौका दिँदा चौथो स्थानमा सुरेश रैनालाई अवसर दिएका छन् । उनले पाँचौमा हार्दिक पाण्ड्या, छैठौँमा नम्बरमा ग्लेन म्याक्सेवलाई आफ्नो टिमका लागि चुनेका छन् । वार्नरले टिममा विकेटकीप/कप्तानको रूपमा महेन्द्रसिंह धोनीलाई लिएका छन् । बलरको कुरा गर्दा वार्नरले मिचेल स्टार्क, जसप्रीत बुमराह र आशिष नेहरालाई टोलीमा समावेश गरेका छन् । स्पिनरमा युजवेन्द्र चहल र कुलदीप यादवलाई मौका दिएका छन् । वार्नरले आफ्नो अलटाइम आइपीएल इलाभेनमा क्रिस गेल, एबी डिभिलियर्सलाई समावेश गरेका छैनन् । डेविड वार्नरको अलटाइम आइपीएल इलाभेनः रोहित शर्मा, डेविड वार्नर, विराट कोहली, सुरेश रैना, ग्लेन म्याक्सवेल, हार्दिक पाण्ड्या, महेन्द्रसिंह धोनी (विकेटकीपर), मिचेल स्टार्क, जसप्रीत बुमराह, आशिष नेहरा, कुलदीप यादव/युजवेन्द्र चहल ।

विश्वकप संरचना निर्माणमा खटिएका नेपाली कामदार कोरोनाको उच्च जोखिममा

काठमाडौंः कतारले दुई वर्षपछि आयोजनाको तयारी गरिरहेको फिफा विश्वकप फुटबलका लागि आवश्यक भौतिक संरचना निर्माणमा खटिएका नेपाली कामदार कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् । जर्मनीको एक टेलिभिजन च्यानलले तयार पारेको रिपोर्टमा नेपालीसहित बंगलादेश र अफ्रिकाका विभिन्न देशबाट आएका कामदारलाई निकै जोखिमपूर्ण अवस्थामा राखिएको दाबी गरिएको छ । विश्वकप संरचना निर्माणमा कति नेपाली कामदार संलग्न छन् भन्ने यकिन तथ्यांक भने दिइएको छैन । जर्मनीको एआरडी च्यानलले तयार पारेको रिपोर्टमा विश्वकप संरचना निर्माणका लागि खटिएका कामदारलाई राजधानी दोहाभन्दा बाहिर रहेको क्वारेन्टाइन सेन्टरमा राखिएको छ । कोरोना भाइरस संक्रमित कमदारलाई समेत सोही क्वारेन्टाइनमा राखिएको छ । रिपोर्टमा भनिएको छ, ‘भाइरस रोक्ने प्रयासस्वरूप त्यहाँ निकै कडाइ गरिएको छ । त्यसमध्ये क्वारेन्टाइनमा राखिएका कामदारका लागि खानेकुराको समेत अभाव छ ।’ मोबाइलबाट लिइएको फुटेजमा वरिपरि र निकै टाढासम्म पसल र सुपरमार्केट बन्द देखिएका छन् । सरकारी अधिकारीले उपलब्ध गराएका राहत सामग्री लिन कामदारहरू दौडादौड गरिरहेको फुटेजमा देखिन्छ । सो रिपोर्ट तयार पार्न नेपाली कामदारसँग पनि कुरा गरिएको दाबी च्यानलले गरेको छ । रिपोर्ट प्रसारण भएपछि कतारले भने कामदारहरूलाई सुरक्षित राख्न सबै प्रयास गरिएको दाबी गरेको छ । ‘खानेकुरा र आवश्यक सामानले भरिएका एक सय ट्रक प्रत्येक दिन विश्वकपको आवश्यक संरचना निर्माणका लागि खटिएका कामदार राखिएको क्षेत्रमा पुग्ने गरेको छ,’ कतारले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘हामीले कामदारलाई खानेकुरा, पानी, मास्क, पन्जा र ह्यान्ड स्यानिटाइजर दिँदै आएका छौँ ।’ रिपोर्ट प्रसारण भएपछि कतारले विज्ञप्ति नै जारी गरी सबै कामदारका लागि निःशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था गरिएको जनाएको छ । यस्तै, कोरोना भाइरस संक्रमित कुनै पनि कामदारको निःशुल्क उपचार र बिरामी भएको अवधिका लागि समेत पूरै तलब दिने व्यवस्था गरिएको कतारको भनाइ छ । यस्तै, सबै कामदारलाई आवश्यकताअनुसार पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट दिइएको र उनीहरू बस्ने स्थानलाई समेत सबै किसिमले सुरक्षित राख्ने प्रयास गरिएको कतारले जनाएको छ । कोरोना भाइरसबाट कतारमा झन्डै १८ सयको हारामारीमा संक्रमित भेटिएको जनाइएको छ । जसमध्ये अहिलेसम्म चारजनाको मृत्यु भइसकेको छ भने एक सय ३० जना निको भएर घर फर्किएका छन् । विश्वभर महामारीका रूपमा कोरोना भाइरस फैलिइरहँदा कतारले भने सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका लागि आवश्यक भौतिक संरचना निर्माणको कार्य जारी राखेको छ । सो कार्यमा नेपालबाट पनि कामदार गएका छन् । कतारमा वैदेशिक रोजगारीका लागि जानेमध्ये एसियाबाट नेपाल र बंगलादेशकै धेरै छन् । टेलिभिजन रिेपोर्टमा कामदारहरूले आफूहरूलाई सार्वजनिक रूपमा नबोल्न भनिएको उल्लेख गरेका छन् । उनीहरूमध्ये केहीले बिरामी भएका कारण लामो समयदेखि काममा जान नसकेको र त्यो अवधिको तलब नपाउने चिन्ता व्यक्त गरेको रिपोर्टमा दाबी गरिएको छ । गत साता मात्रै मानवअधिकारसम्बन्धी आधा दर्जन अन्तर्राष्ट्रिय संघसंस्थाले कतारका प्रधानमन्त्री खालिद बिन खालिफा अल थानीलाई कामदारलाई कोरोना भाइरस महामारीबाट बचाउन आवश्यक कदम चाल्न अनुरोध गरेका थिए । एम्नेस्टी इन्टरनेसनल, फेयर-स्क्वायर, ह्युमन राइट्स वाच र माइग्रान्ट–राइट्स अर्गनाइजेसनले प्रधानमन्त्री थानीलाई भेटी कतारमा रहेका विदेशी कामदारलाई यो महामारीबाट बचाउन अनुरोध गरेका थिए । ती संघसंस्थाको अनुरोधको जवाफमा समेत कतारले कामदारका लागि मात्रै भनेर छुट्टै स्वास्थ्य केन्द्र निर्माण गरिएको जनाएको छ । त्यसमा तीन छुट्टाछुट्टै चेक प्वाइन्ट राखिएको पनि जनाएको छ । ‘जोसँग कामका लागि आवश्यक प्रवेशाज्ञा छैन, तिनीहरूका लागि पनि हामीले निःशुल्क उपचार गरिरहेका छौँ । उनीहरूको भिसा सकिए पनि घर नफर्काउने वा कुनै आर्थिक जरिवानासमेत नलगाउने व्यवस्था गरेका छौँ,’ कतारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्वारेन्टाइनमा रहेका वा उपचार गराइरहेका सबैले समयमै तलब पाउनेछन् ।’ कतारले सोसियल डिस्ट्यान्ससमेत कायम हुने गरी कामदारको आवासमा एउटा कोठामा चारजनासम्म मात्रै बस्न मिल्ने गरी संख्या कायम गरिएको जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

टोकियो ओलम्पिक एक वर्षका लागि स्थगित

काठमाडौंः यही वर्षको जुलाईमा सुरु हुने टोकियो ओलम्पिक कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित भएको छ । ओलम्पिक स्थगित भएर अर्को वर्षमात्रै आयोजना हुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य डिक पाउन्डले जानकारी दिएका छन् । यसअघि अष्ट्रेलिया र क्यानेडाले ओलम्पिकमा प्रतिस्पर्धा नगर्ने जानकारी गराएका थिए । त्यस्तै, ब्रिटिस ओलम्पिक एशोसियसनका अध्यक्ष सर हग रोबर्टसनले पनि आफ्नो देशलाई टोली पठाउने सम्भावना निकै कम रहेको बताएका थिए । ‘आईओसीसँग भएको सूचनाका आधारमा भन्नुपर्दा ओलम्पिक खेल स्थगित गर्ने निर्णय भइसकेको छ,’ पाउन्डले अमेरिकी सञ्चारमाध्यम यूएसए टुडेसँग भनेका छन्, ‘अगाडि के हुन्छ भन्ने विषयमा केही निक्र्यौल भएको छैन । तर जुलाई २४ मा ओलम्पिक सुरु हुनेछैन, मैले जानेको यति हो,’ उनले भने । यसअघि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले चार साताभित्र ओलम्पिक खेलको भविष्यबारे निर्णय लिने जनाएको थियो । तर पाउन्डले यस विषयमा निर्णय भइसकेकाले चाडै आधिकारीक घोषणा आउने बताएका छन् ।

भारत र दक्षिण अफ्रिकाबीचको वानडे सिरिज रद्द

काठमाडौंः  भारत र दक्षिण अफ्रिकाबीचको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज रद्द गरिएको छ । बढ्दो कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भारत र दक्षिण अफ्रिकाबीचको सिरिज रद्द गरिएको हो । सिरिजको पहिलो खेल धर्मशालामा वर्षाका कारण स्थगित गरिएको थियो । अब सिरिजका बाँकी खेल कोरोनाका कारण रद्द गरिएको स्रोतलाई उदृत गर्दै भारतीय अनलाइन जागरण डटकमले लेखेको छ । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो वानडे १५ मार्चमा लखनउ र अन्तिम वानडे म्याच १८ मार्चमा कोलकातामा हुने तालिका थियो । यी दुवै मैदानमा दर्शकबीना भारत–दक्षिण अफ्रिकाबीचको बाँकी खेल तयारी गरिएको थियो । तर, फेरि अचानक सिरिज रद्द गरिएको समाचार बाहिर आएका छन् । कोरोनाका कारण २९ मार्चदेखि सुरु हुने इन्डियन प्रिमियर लिग (आइपीएल)को मिति पनि सारिएको छ । अब आइपीएल १५ अप्रिलदेखि सुरु हुनेछ । विश्वभर व्यापक रुपमा फैलिरहेको कोरोनाका कारण ठूला–ठूला खेलकुद प्रतियोगिता स्थगित भइरहेका छन् । आज नै श्रीलंका–इंग्ल्याण्डबीचको टेष्ट सिरिज पनि कोरोनाका कारण स्थगित गरिएको छ । नेपालमा चैत्र १ गतेखेखि हुने भनिएको एभरेष्ट प्रिमियर लिग (इपीएल) पनि कोरोनाको जोखिमका कारण स्थगित गरिएको छ ।

अष्ट्रेलियन क्रिकेटर रिचडर्सन कोरोनाको संक्रमणबाट सुरक्षित

काठमाडौंः  कोरोना भाइरस संक्रमणको आशंका गरिएको अष्ट्रेलिया क्रिकेट टिमका तिव्र गतिका बलर केन रिचडर्सनको रिपोर्टको नतिजा ‘नेगेटिभ’ देखिएको छ । दक्षिण अफ्रिका ‘टूर’ सकाएर स्वदेश फर्किएसँगै स्वास्थ्यमा समस्या देखिएपछि उनले स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य परीक्षण गरेर रिपोर्ट हेर्दा उनमा कोरोना भाइरस संक्रमण नदेखिएको चिकित्सकले बताएका छन् । कोरोना संक्रमणकै आशंकामा २९ वर्षीय रिचडर्सनले आजदेखि घरेलु मैदानमा सुरु भएको एकदिवसीय क्रिकेट सिरिजको पहिलो म्याच गुमाउन पुगे । उनको अनुपस्थितिमा न्यूजिल्याण्डसँगको पहिलो वानडेमा अष्ट्रेलिया ७१ रनले विजयी भएको छ ।

आइपीएलको मिति सर्‍यो

काठमाडौंः बढ्दो कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै आसन्न इन्डियन प्रिमियर लिग (आइपीएल) को मिति सरेको छ । चैत १६ देखि सुरु हुने भनिए पनि कोरोनाको जोखिम बढेपछि आइपीएलको मिति सार्नु परेको हो । अब १३ औं संस्करणको आइपीएल बैशाख ३ गतेदेखि सुरु हुने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जनाएको छ । भारतीय सञ्चार माध्यमका अनुसार आसन्न आइपीएलका म्याच दर्शक बिनाको स्टेडियममा हुने छन् । यसअघि भारत सरकारले अप्रिल १५ सम्म विदेशीहरुलाई भारत प्रवेशमा रोक लगाएको थियो । जसमा आइपीएल खेल्ने विदेशी खेलाडीसमेत पर्ने छन् । आइपीएल सरेपछि भने अब विदेशी खेलाडीले पनि आइपीएल खेल्ने सम्भावना बढेको छ । १३ औं संस्करणको आइपीएलमा पनि ८ टिमले प्रतिस्पर्धा गर्दै छन् ।

सन्दीपआवद्ध दिल्ली क्यापिटल्सका म्याच घरेलु मैदानमा नहुने

काठमाडौंः आसन्न इन्डियन प्रिमियर लिग (आइपीएल) का म्याच दिल्लीमा नहुने भएका छन् । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले शुक्रबार कोरोना भाइरसको जोखिमका कारण आइपीएलका म्याच दिल्लीमा आयोजना गर्ने अनुमति नदिने घोषणा गरेका छन् । दिल्ली सरकारले कोरोनाका कारण सबै खेलकुद प्रतियोगिता रद्द गरेपछि आइपीएलमा पनि प्रवाभ परेको हो । दिल्ली सरकारले म्याच आयोजना गर्ने अनुमति नदिएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले दिल्लीको विकल्प खोज्नुपर्ने दवाव आएको छ । १३ औँ संस्करणको आइपीएल २९ मार्चदेखि सुरु हुने तालिका घोषणा भइसकेको छ । जसअनुसार दिल्लीमा ३० मार्चमा दिल्ली क्यापिटल्सले किंग्स इलावेन पन्जावसँग पहिलो म्याच खेल्ने तालिका थियाे । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै आसन्न आइपीएलका म्याच खाली मैदानमा गर्ने तयारी भइरहेको छ ।

अष्ट्रेलियाका स्टार बलर रिचडर्सनलाई कोरोना संक्रमणको आशंका

काठमाडौंः  अष्ट्रेलिया क्रिकेट टिमका तिव्र गतिका बलर केन रिचडर्सनले कोरोना संक्रमणको आशंकामा स्वास्थ्य परीक्षण गरेका छन् । दक्षिण अफ्रिका ‘टूर’ सकाएर स्वदेश फर्किएसँगै स्वास्थ्यमा समस्या देखिएपछि उनले स्वास्थ्य परीक्षण गरेका हुन् । यद्यपि केनको स्वास्थ्य रिपोर्ट आउन बाँकी छ । स्वास्थ्य समस्याकै कारण उनले आजदेखि घरेलु मैदानमा सुरु भएको एकदिवसीय क्रिकेट सिरिज पनि गुमाएका छन् । २९ वर्षीय रिचडर्सनले बुधबार स्वास्थ्य जाँच गरेका थिए । र, उनलाई चिकित्सकले टिमबाट अलग रहनसमेत आग्रह गरेका छन् । रिचडर्सनको स्थानमा अष्ट्रेलिया टिममा शन एबटलाई बोलाइएको छ ।

रोड सेफ्टी टी–२० वर्ल्ड सिरिज रद्द

काठमाडौंः भारतको मुम्बईमा जारी रोड सेफ्टी टी–२० वर्ल्ड क्रिकेट सिरिज रद्द गरिएको छ । बढ्दो कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै यो सिरिज रद्द गरिएको हो । अर्को सूचना जारी नहुँदासम्म सिरिज रद्द गरिएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । यो सिरिजमा भारत, श्रीलंका, वेष्ट इन्डिज, दक्षिण अफ्रिका र अष्ट्रेलिया लेजेन्ड्स टिमले खेलिरहेका थिए । सिरिज खेल्न ब्रायन लारा, जोन्टी रोड्स, तिलकरत्ने दिलशान, ब्राड हेडिन जस्ता पूर्व स्टार क्रिकेटर भारतमा छन् । सिरिजमा वेष्ट इन्डिज, भारत र श्रीलंकाले २–२ र दक्षिण अफ्रिका तथा अष्ट्रेलिया लेजेन्ड्स टिमले एक–एक म्याच खेलिसकेका छन् । सिरिजका बाँकी खेल स्थिति अनुकूल भएको समयमा हुने इन्डिया टुडेले लेखेको छ । यो सिरिज ट्राफिक नियमको सचेतना अभिवृद्धिका लागि आयोजना गरिएको थियो ।

नयाँ टी–२० वरियतामा नेपाली महिला टिमको स्थान

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को महिला टी–२० को विश्व वरियतामा नेपाली महिला टोली १४ औं स्थानमा परेको छ । आइसीसीले जारी गरेको नयाँ वरियतामा अष्ट्रेलिया महिला टिम शिर्ष स्थानमा छ । गत साता सम्पन्न महिला विश्वकप टी–२० विश्वकप क्रिकेट प्रतियोगितापछि आइसीसीले नयाँ वरियता जारी गरेको हो । नयाँ वरियतामा इंग्ल्याण्ड दोस्रो तथा न्यूजिल्याण्ड तेस्रो स्थानमा छ । विश्वकपको फाइनलसम्म पुगेको भारतीय टोली भने चौथो स्थानमा छ । छोटै समयमा महिला विश्वकप टी–२० क्रिकेट प्रतियोगितासम्म पुगेको थाइल्याण्ड भने ११ औं स्थानमा छ । विश्वकप छनोटबाट बाहिरिएको आयरल्याण्ड थाइल्याण्डभन्दा माथि १० औं स्थानमा छ । नेपालभन्दा माथि स्कटल्याण्ड १३ औं र जिम्बाबवे १२ औं स्थानमा छ । सेमिफाइनलसम्म पुगेको दक्षिण अफ्रिका पाँचौं तथा वेष्ट इन्डिज छैठौं स्थानमा छ । दक्षिण एसियाली राष्ट्रहरु पाकिस्तान, श्रीलंका र बंगलादेश भने सातौं, आठौं र नवौं स्थानमा छ ।

कोरोना: रोनाल्डो पनि क्वारेन्टाइनमा !

काठमाडौं: विश्वभर फैलिएको कोरोनाको असर स्टार फुटलबरमा समेत पर्न थालेको छ । त्यसैको असरस्वरुप युभेन्ट्सबाट खेल्ने पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा रहेका छन् । इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमणको खबरपछि रोनाल्डो आफ्नो देश पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा राखिएका हुन् । ३५ वर्षीय रोनाल्डो आफ्नो आमालाई भेट्न पोर्चुगल पुगेका थिए । रुगानीको खबर सुनेपछि उनी उत्तरी इटली जानु सट्टा आफ्नै घरमा रहेका हुन् । रोनाल्डो क्वारेन्टाइनमा रहेको समाचार पोर्चुगलका अखबारले पहिलो पृष्ठमा प्रकाशित गरेका छन् ।

अष्ट्रेलिया विश्वकपको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

काठमाडौंः अष्ट्रेलिया दक्षिण अफ्रिकालाई हराउँदै आइसीसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकालाई डकवर्थ लुइस नियमका आधारमा ५ रनले हराउँदै दक्षिण अष्ट्रेलिया विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अष्ट्रेलिया महिला टी–२० विश्वकपको फाइनलमा छैटौं पटक प्रवेश गर्न सफल भयो । फाइनलमा उपाधिका लागि आइतबार अष्ट्रेलियाले भारतको सामना गर्नेछ । सिड्नीमा भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले दिएको ९८ रनकाे लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५ विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाको पारी सुरु हुनुभन्दा अगाडि भारी बर्षा भएपछि खेल १३ ओभरमा झारीएको थियो । जसका कारण दक्षिण अफ्रिकाले १३ ओभरमा ९८ रनको नयाँ लक्ष्य पाएको थियो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३४ रन बनायो । उसका लागि कप्तान मेग नालिङले ४९, बेथ मोनेले २८, एस्ले हिलेले १८ रन बनाइन् ।

एभरेष्ट प्रिमियर लिग स्थगित, अब कहिले होला ?

काठमाडौंः चैत्र गतेबाट आयोजना हुन लागेको एभरेष्ट प्रिमियर लिग (इपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरसको संक्रमणबाट बच्न प्रतियोगिता रोक्न निर्देशन दिएको थियो । सोअनुसार प्रतियोगिता स्थगित गरिएको आयोजकले बिहीवार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । इपीएलको नयाँ मिति उपयुक्त समयमा सार्वजनिक गरिने आयोजकले जनाएको छ । इपीएलका कार्यकारी निर्देशक आमिर अख्तरले कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लिग अनिश्चितकालका स्थगित गरिएको जानकारी दिए । इपीएलका लागि टेष्ट राष्ट्रका चर्चित स्टार खेलाडी अनुबन्धित भएका थिए । नेपाली राष्ट्रिय टिम र प्रतियोगिता खेल्नका लागि अनुबन्ध भएका खेलाडीलाई मिल्ने गरि प्रतियोगिताको अर्को मिति तय गरिने बताइएको छ ।

इपीएल लगायत खेलकुद प्रतियोगिता रोक्ने तयारी

काठमाडौंः राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरसको संक्रमणबाट बच्न सबै खेल प्रतियोगिता रोक्ने तयारी गरेको छ । सरकारले भेला तथा सभाहरु आयोजना नगर्न आग्रह गरेको छ । सरकारले भेलाको आयोजना नगर्न आग्रह गरेकाले खेल प्रतियोगिता रोक्ने तयारी भइरहेको राखेपले जनाएको छ । राखेपका अनुसार, चलिरहेको प्रतियोगिता भने रोकिने छैन । तर, अब हुने प्रतियोगिता भने स्थगित गर्ने तयारी भइरहेको राखेपले जनाएको छ । राखेपले यस्तो निर्णय गरे देशभरका विभिन्न घरेलु प्रतियोगिता रोकिनेछ । सबैभन्दा बढी प्रभाव १ चैतबाट आयोजना हुन लागेको एभरेष्ट प्रिमियर लिग (इपीएल) लाई पर्नेछ । इपीएलका लागि टेष्ट राष्ट्रका चर्चित स्टार खेलाडी अनुबन्धित भएका छन् ।