सोमपालआवद्ध मराठाद्वारा कलन्दर्सलाई १०२ रनको लक्ष्य

काठमाडौं: यूएईमा जारी चौथो संस्करणको टी-१० लिगमा मराठा अरेबियन्सले कलन्दर्सलाई १ सय २ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको मराठाले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनायो ।

उसका लागि मोहम्मद अफीजले ४४, सोयब मलिकले २३, अब्दुल शाकूरले ११, लौरी इभन्सले ९, कप्तान मोसाद्देक ओसेन र मुक्तर अलिले ४र४ रन बनाए ।

सोमपाल कामीले भने आज पनि ब्याटिङको मौका पाउन सकेनन् । उनले ब्याटिङको मौका नपाएको यो लगातार चौथो म्याच हो ।

बलिङमा सोहेल तनवीरले तीन, सुल्तान अहमद र अहमद दानियलले एकरएक विकेट लिए ।

इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिम घोषणा

काठमाडौं  : इंग्ल्याण्डसँगको पहिलो दुई टेष्टका लागि भारतीय टिम घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आज विराट कोहलीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो । टिममा लामो समयपछि अलराउन्डर अक्क्षर पटेललले स्थान बनाएका छन् । साथै, इशान्त शर्मा, हार्दिक पाण्ड्या पनि टिममा फर्किएका छन् । ओपनर पृथ्वी शा भने टिमबाट ‘आउट’ भएका छन् । पूर्णरूपमा फिट भए पनि भुवनेश्वर कुमारले भने इंग्ल्याण्डसँगको सुरुवात २ टेष्टमा मौका पाएका छैनन् । भारत र इंग्ल्याण्डबीचको पहिलो टेष्ट ५ फेब्रुअरी र दोस्रो टेष्ट १३ फेब्रुअरीमा सुरु हुनेछ । यी दुवै म्याच चेन्नईमा खेलिने छ । इंग्ल्याण्डसँग पहिलो २ टेष्ट खेल्ने भारतीय टिम : रोहित शर्मा, शुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिंक्य रहाणे (उपकप्तान), ऋषभ पन्त (विकेटकीपर), ऋद्धिमान साह (विकेटकीपर), हार्दिक पाण्ड्या, केएल राहुल, जसप्रीत बुमराह, इशान्त शर्मा, मोहम्मद सिराज, शार्दुल ठाकुर, रविचन्द्रन अश्विन, कुलदीप यादव, वाशिङ्टटन सुन्दर र अक्क्षर पटेल । वैकल्पिक खेलाडी : के एस भरत (विकेटकीपर), अभिमन्य ईश्वरन, शाहबाज नदीम र राहुल चहर । नेट बलर : अंकित राजपूत, आवेश खान, सन्दीप वारियर, कृष्णप्पा गौतम र सौरभ कुमार ।

अन्तिम टेष्टको अन्तिम क्षणमा भारतको अष्ट्रेलियामाथि जित

काठमाडौंः भारतले अष्ट्रेलियाविरुद्धको चौथो, अन्तिम तथा निर्णायक टेष्ट खेल तीन विकेटले जितेको छ । चौथो टेष्टमा जितसँगै भारतले चार म्याचको टेष्ट श्रृखंला २–१ ले जितेको छ । अष्ट्रेलियाले प्रस्तुत गरेको ३२८ रनको लक्ष्य भारतले सात विकेटको क्षतिमा ३२९ रन बनाएर पुरा गर्यो । भारतको जितमा ऋषभ पन्त, शुभमन गिल र चेतेश्वर पूजाराको अद्र्धशतकीय पारी महत्वपूर्ण रह्यो । १८ रनमै रोहित शर्मालाई गुमाएर कमजोर सुरुवात गरेको भारतलाई शुभमन गिलले ९१ रनको उत्कृष्ट पारी खेलेर स्थिरता प्रदान गरे । उनले चेतेश्वर पूजारासँग ११४ रनको साझेदारी गरे । पूजाराले पाँचौं विकेटका लागि ऋषभ पन्तसँग ६१ रनको साझेदारी गरी ५६ रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किए । भारतलाई जितका लागि एक सय रन आवश्यक छँदा पन्तले मयन्क अग्रवाल र वाशिंगटन सुन्दरसँग साझेदारी गरेर जित नजिक पुर्याए । सुन्दर २२ रनमा पेभेलियन फर्किदा पन्त अत्तालिएन । उनले १३८ बलमा नौ चौका र एक छक्का लगाएर भारतको जित सुनिश्चित गरे । अष्ट्रेलियाका लागि प्याट्ट क्युमिन्सले सर्वाधिक चार तथा नाथन लियोनले दुई र जोश हयाज्लऊडले एक विकेट लिए । त्यसअघि ब्रिसबेनमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा ३६९ रनको औसत योगफल तयार गरेको थियो । मार्नस लबुस्नेले शतकीय पारी खेल्दै १०८ रन बनाएपछि अष्ट्रेलियाले औसत योगफल तयार गर्न सफल भयो । उसको पारीमा म्याथ्यु वाडेले ४५ तथा टिम पैनले ५० रनको पारी खेले । भारतका लागि टी नटराजन, श्रद्धुल ठाकुर र वाशिंगटन सुन्दरले सामान तीन तीन तथा मोहम्मद सिराजले एक विकेट लिए । पहिलो पारीमा १८६ रनमै छ विकेट गुमाएर कमजोर प्रदर्शन गरेको भारतका लागि पुछारका ब्याट्सम्यानहरुले उत्कृष्ट पारी खेलेपछि उसले तीन सयको योगफल कटाउन सफल भयो । भारतले दोस्रो पारीमा ३३६ रनको योगफल तयार गर्यो । वाशिंगटन सुन्दरले आफ्नो डेब्यु टेष्टमै अद्र्धशतकीय पारी खेलेर भारतको योगफल तीन सयमाथि पुर्याए । श्रद्धुल ठाकुरले समेत अद्र्धशतक लगाए । उनले ६७ रनको योगदान दिए । दुबैजनाले सातौं विकेटका लागि १२३ रनको साझेदारी गरे । उक्त साझेदारी भारतीय पारीको सबैभन्दा ठूलो साझेदारी हुनपुग्यो । ओपनर रोहित शर्माले ४४ तथा चेतेश्वर पूजाराले २५, अजिन्क्यै रहानले ३७ तथा मयन्क अग्रवालले ३८ रनको पारी खेले । अष्ट्रेलियाका लागि जोश हयाजलऊडले सर्वाधिक पाँच, मिसेल स्टार्क र प्याट्ट क्युमिन्सले सामान दुई तथा नाथन लियोनले एक विकेट लिए । जवाबमा अष्ट्रेलियाले आफ्नो दोस्रो पारीमा २९४ रनको औसत योगफल तयार गर्दा भारतले ३२८ रनको लक्ष्य पाएको थियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ५५, देविड वार्नरले ४८ तथा अर्का ओपनर मार्कस हयारिसले ३८ रनको योगदान दिए । भारतका लागि मोहम्मद सिराजले सर्वाधिक पाँच तथा श्रद्धुल ठाकुरले चार र वाशिंगटन सुन्दरले एक विकेट लिए ।

पीएम कपका लागि कर्णालीको टिम घोषणा, रवीन्द्रसहित यी खेलाडीले पाए मौका

काठमाडौं  : आसन्न प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा गरिएको छ । सोमबार रवीन्द्रजंग शाहीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । आसन्न पीएम कपका लागि कर्णाली टिममा पौल फरेरा प्रशिक्षक र भुवन कोइराला व्यवस्थापक छन् । पीएम कप खेल्ने कर्णालीको टिम : रवीन्द्रजंग साही (कप्तान), निश्चल रावल, दिवानबाबु पुन, हेमन्त ओली, ललित प्याकुरेल, दिनेश अधिकारी, हिमान्शु शाही, विपिन रावल, राजकुमार शाह, अनुज चनारा, ताराप्रसाद गिरी, रुपक दाहाल, युनिशबिक्रम सिंह र अभिषेक बम । माघ २ गतेदेखि काठमाडौंको टीयू र मूलपानी क्रिकेट मैदानमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित जम्मा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन्। उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेश भिड्ने छन् । यी दुई टोलीबीचको खेल टियू मैदानमा हुने आयोजकले जनाएको छ ।

विराट र अनुष्कालाई पुत्रीलाभ

काठमाडौं: भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मालाई पुत्रीलाभ भएको छ । श्रीमती अनुष्का शर्माले आज छोरी जन्म दिएकी विराटले सामाजिक सञ्जालमार्फत जनाएका छन् । विराट र अनुष्काको यो पहिलो सन्तान हो । श्रीमती बच्चा पाउने भएपछि विराट अष्ट्रेलिया विरुद्धको टेष्ट सिरिजको पहिलो म्याच खेलेर भारत फर्किएका थिए ।

पाकिस्तान सुपर लिगको छनोटमा नेपाली खेलाडी असफल

काठमाडौंः पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका नेपाली खेलाडी छनोटमा असफल भएका छन् । पाकिस्तानमा आइतबार राति भएको छनोटमा ड्राफ्टमा परेका नेपालका १० खेलाडीमध्ये कोही पनि छनोटमा पर्न सकेनन् । सन् २०२१ का लागि भएको छनोटमा नेपाली खेलाडीलाई आबद्ध गर्न कुनै पनि टोलीले इच्छा देखाएनन् । नेपालबाट पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अविनाश बोहोरा, पवन सर्राफ, सुवास खकुरेल र आसिफ शेख पिएसएलको ड्राफ्टमा परेका थिए । ड्राफ्टमा २० देशका चार सयभन्दा बढी खेलाडी परेका थिए । नेपाली खेलाडी अलग–अलग समूहमा ड्राफ्टमा परेका थिए । लामिछाने सबैभन्दा महँगो प्लेटिनम श्रेणीमा तथा अन्य ९ खेलाडी सिल्भर श्रेणीमा ड्राफ्टमा परेका थिए । गत वर्षको पिएसएलमा पनि नेपालका ८ खेलाडी ड्राफ्टमा परेका थिए । अन्तिम समयमा कोही पनि नेपाली खेलाडी पिएसएलका लागि छनोट हुन सकेनन् ।

म्याराथनमा पुष्पाले जितिन् स्वर्ण

काठमाडौंः बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छन् । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरिन् । सो स्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरिन् । उनले निर्धारित दूरी तीन घण्टा ४६ सेकेण्डमा पूरा गरिन् । सो प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो भइन् । गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा भण्डारीले म्याराथनमा रजत पदक मात्र प्राप्त गरेकी थिइन् । भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्ध छन् । पुरुष म्याराथनमा नेपालका किरणसिंह बोगटी चाै‌थो भए । बोगटीले निर्धारित दूरी दुई घण्टा २४ मिनेट १३ सेकेण्डमा पूरा गरे । दौडका क्रममा उनलाई चोट लागेपछि दौडमापछि परेको प्रशिक्षक धनीराम चौधरीले जानकारी दिए । उनले १३औँ सागमा भने म्याराथनमा स्वण जितेका थिए । उक्त स्पर्धामा भारतका बहादुर सिंहले निर्धारित दूरी दुई घण्टा २१ मिनेट ४० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जिते ।

नेपालका ए डिभिजन फुटबल क्लब एएफसीका प्रतियोगिता खेल्न अयोग्य

काठमाडौंः नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासङ्घ (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका छन् । एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्डसमेत पूरा गर्न नसकेका कारण नेपाली क्लबले एशियाली फुटबल महासङ्घको आधिकारिक प्रतियोगिता खेल्न नपाउने भएका हुन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली क्लबलाई लाइसेन्स दिनका लागि एएफसीलाई अनुरोध गरेको थियो । एएफसीले मापदण्ड नपुगेको भन्दै नेपाली क्लबलाई एएफसी क्लब लाइसेन्स दिन अस्वीकार गरेको एन्फाले जनाएको छ । एएफसीका प्रतियोगिता खेल्न एएफसी क्लब लाइसेन्स अनिवार्य मानिन्छ । सन् २०२१ का लागि नेपालका १३ ए डिभिजन क्लबले निवेदन दिएका थिए । एएफसीले नेपाली क्लबमध्ये त्रिभुवन आर्मी क्लबको निवेदनबारे सकारात्मक प्रतिक्रिया दिएको एन्फाले जनाएको छ । लाइसेन्सका लागि एन्फाले पुनः एएफसीसँग अनुरोध गर्ने भएको छ । नेपालका शीर्ष डिभिजनका १३ क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए । गत सिजन बी डिभिजन लिगमा घटुवा भएको सरस्वती युथ क्लबले भने क्लब लाइसेन्स आवदेन प्रक्रियामा थिएन । क्लब लाइसेन्सका लागि क्लबको आफ्नै खेल मैदान, युवा टोली, एकेडेमी, खेलाडी बसोबासको व्यवस्था, प्रशिक्षण गर्ने स्थान, खेलाडी, प्रशिक्षक र पदाधिकारी हुनुपर्नेलगायत मापदण्डको व्यवस्था गरिएको छ । लाइसेन्सका लागि मच्छिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सङ्कटा क्लब, न्यूरोड टिम एनआरटी क्लब, च्यासल युथ क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्डस् क्लब, एपीएफ क्लब र ब्रिगेड ब्वाइज क्लबले निवेदन दिएका थिए ।

टी-२० र वानडे नयाँ वरियता सार्वजनिक, नेपालको स्थान कहाँ?

काठमाडौं  : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नयाँ एकदिवसीय र टी-२० वरियता सार्वजनिक गरेको छ । नयाँ वरियताअनुसार नेपाल पुरानै अवस्थामा कायम रहेको छ । नेपाल नयाँ वरियतामा पनि एकदिवसीयतर्फ १६औँ र टी-२० तर्फ १५ औँ स्थानमा कायमै रहेको हो । नेपालले वानडेमा १८ र टी-२० मा १८० रेटिङ प्वाइन्ट पाएको छ । नेपालले अन्तिम पटक घरेलु मैदानमा ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज खेलेको थियो । जसमा नेपालले ओमानसँग हार ब्यहोर्दा र अमेरिकालाई भने दुवै खेलमा हराएको थियो ।  नयाँ टी-२० वरियतामा अष्ट्रेलिया शीर्ष स्थानमा कायमै छ । त्यस्तै, इंग्ल्याण्ड, भारत क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । टी-२० नयाँ वरियता : एकदिवसीय वरियतातर्फ इंग्ल्याण्ड शीर्ष स्थानमा छ । त्यस्तै, भारत दोस्रो र न्यूजिल्याण्ड वानडे वरियताको तेस्रो स्थानमा छ ।  

सन्दीप लामिछाने अस्पताल भर्ना

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । उनलाई शुक्रबार संक्रमण पुष्टि भएको थियो ।

क्यानले बोलायो थप ५ खेलाडीलाई बन्द प्रशिक्षणमा

कठमाडौं  : एकै दिन तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले पाँच खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । आज कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेललाई कोरोना पुष्टि भएपछि क्यानले पाँच खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको हो । क्यानले बोलाएकोमा लोकेश बम, अनिल शाह, बिक्रम सोब, रित गौतम, कुशल भुर्तेल रहेका छन् । केही दिनअघि क्यानले बन्द प्रशिक्षणका लागि यी पाँच खेलाडीलाई बोलाएको थिएन । यसअघि क्यानले २२ खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको थियो । मंगलबार पीसीआर गरिएका खेलाडीको नतिजा आउन ढिलाई भएकाले आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण रोकिएको छ । अब बाँकी खेलाडीको पीसीआर रिपोर्ट आएपछि प्रशिक्षण सुरु गरिने क्यानले जनाएको छ ।

 नेपाली क्रिकेट टिमका ३ खेलाडीलाई कोरोना संक्रमण

कठमाडौं : नेपाली क्रिकेट टिमका कप्तान ज्ञोन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, ब्याट्सम्यान रोहित पौडेल र नेपाल क्रिकेट संघ (क्यान)का कर्मचारी प्रदीप लामालाई पनि कोरोना पुष्टि भएको छ । हिजो गरिएको पीसीआरमा आज उनीहरूको नतिजा पोजिटिभ देखिएको हो । क्यानले फेसबुकमार्फत उनीहरूमा कोरोना भएको जानकारी दिएको हो । कोरोना पुष्टिसँगै उनीहरू होम आइसोलेसनमा बसेका छन् । उनीहरू अब कोरोनामुक्त नहुँदासम्म आइसोलेसनमा बस्ने छन् । आजदेखि क्यानले बन्द प्रशिक्षण थाल्ने भनेको थियो । तर, सबै खेलाडीको परीक्षण गर्न बाँकी रहेकाले प्रशिक्षण सुरु गरिएन ।

‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा पारस खड्का

काठमाडौंः नेपालका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारस पर्न सफल भएका हुन् । मनोनयनमा पारससहित स्कटल्याण्डका काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन, पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोेरन परेका छन् । सन् २००२ मा यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ मा नेपालको कप्तानी सम्हालेका थिए । २०७६ असोज २८ मा कप्तानी छाडेका उनले हाल पनि राष्ट्रिय टिमबाट खल्दै आएका छन् । पारसले आफ्नो १० वर्षे कप्तानीकालमा नेपाललाई पहिलो पटक टी–२० विश्वकप खेलाउनुका साथै एकदिवसीय मान्यता दिलाएका थिए । ३३ वर्षीय पारसले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सतक र एक अर्धसतक तथा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक सतक र तीन अर्धसतक बनाएका छन् । भोटका आधारमा उनले अवार्ड जित्नेछन् । खड्कालाई भोट गर्न यहाँ क्लिक गर्नुहोस् ।

बन्द प्रशिक्षणको तयारी पूरा

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि सुरु हुने बन्द प्रशिक्षणको तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको छ । बन्द प्रशिक्षणमा सहभागी हुने सबै खेलाडी प्रशिक्षक तथा ग्राउण्ड स्टाफको मंगलबार पीसीआर परीक्षण गरिने छ । पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आउने खेलाडी तथा प्रशिक्षकलाई राजधानीको एक होटेलमा राखिने छ भने ग्राउण्ड स्टाफलाई कीर्तिपुर मैदानमै राख्ने व्यवस्था गरिएको छ । ग्राउण्ड स्टाफलाई पहिलो चरणमा एक महिना घर जान दिइने छैन भने खेलाडीहरूलाई पनि होटलबाट मैदानसम्म आउनका लागि क्रिकेट संघकै बस प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दुर्गाराज पाठकले क्लोज क्याम्पको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । खेलाडीलाई राख्नका लागि होटेल पनि आइसोलेट गरिएको र त्यहाँ अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको उनले बताए । यस्तै, स्वास्थ्य मापदण्डका कुराहरूमा क्यान संवेदनशील रहेको बताउँदै अहिलेको अवस्थामा सम्पूर्ण कुरा मिलाउन चुनौती रहेको भएपनि खेलाडी मैदान उत्रन उत्साहित रहेको बताए ।

आरसीबीको सामना गर्दै दिल्ली, सन्दीपले मौका पाउने सम्भावना कति?

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा दिल्ली क्यापिटल्सले आज लिग चरणको अन्तिम म्याच खेल्दै छ । उसले आज रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)सँग खेल्न लागेको हो । यी दुई टिमबीचको खेल नपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि अबुधाबीमा सुरु हुनेछ । दुबै टिमका लागि यो खेल निकै महत्वपूर्ण छ । जुन टिमले यो म्याच जित्छ ऊ टोली ‘प्लेअफ’मा स्थान पक्का गर्नेछ । पछिल्ला खेलमा दुबै टिम लयमा देखिएका छैनन् । आरसीबीले पछिल्ला तीन म्याचमा लगातार हार ब्यहोरेको छ । त्यस्तै, सुरुवातमा राम्रो प्रदर्शन गरेको दिल्लीले पछिल्ला चार खेलमा लगातार हारको सामना गरेको छ । अहिलेसम्म दिल्ली आईपीएलको फाइनलसम्म पनि पुग्न सकेको छैन । आरसीबीले धेरै पटक फाइनलमा स्थान बनाए पनि उपाधि भने अहिलेसम्म हात पार्न सकेको छैन । जारी सिजनमा दिल्लीले १३ खेलमा ७ मा जित र ६ खेलमा हारको सामना गरेको छ । आरसीबीले पनि १४ मध्ये ७ मा जित र बाँकी खेलमा पराजय ब्यहोरेको छ । सन्दीपको सम्भावना कति? लिग चरणको अन्तिम म्याचमा पनि दिल्लीमा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेको सम्भावना न्यून छ । विदेशी कोटाबाट खेलिरहेका खेलाडीले पछिल्लो म्याचमा प्रदर्शन सन्तोषजनक नगरे पनि आज पनि उनीहरूलाई नै दिल्लीले दोहोर्‍याउने सम्भावना छ । अघिल्लो म्याचमा अक्क्षर पटेलको स्थानमा मौका पाएका प्रवीण दुबेले आज पनि खेल्ने सम्भावना छ । डेब्यू म्याचमा विकेटविहीन रहे पनि दुबे बलिङका साथै ब्याटिङ पनि गर्न सक्छन् । आजको खेल जित्नैपर्ने दबाबमा रहेको दिल्ली बलियो प्लेइङ-११ का साथ मैदान उत्रिने छ । यसो हुँदा लगातार बेन्चमा बसिरहेका सन्दीपलाई आज पनि दिल्लीले मौका दिने सम्भावना कमजोर छ । यदि आज सन्दीपले मौका नपाए उनी यो सिजभर बेन्चमै सीमित हुनेछन् । दिल्लीले १३ म्याच खेल्दा उनी कुनै पनि खेलमा अन्तिम ११ को हिस्सा बन्न सकेका छैनन् । दिल्लीले आज निकै परिर्वतन गरेको अवस्थामा चाहिँ सन्दीपले मौका पाउन सक्छन् । एनरिक नोर्टजले यही सिजनमा सर्वाधिक तीव्र गतिमा बलिङ गर्दै इतिहास रचेका थिए । तर, उनको प्रदर्शन पनि पछिल्लो म्याचमा सन्तोषजनक छैन । कागिसो रबाडा र नोर्टजे नचल्दा दिल्ली निरन्तर पराजित भइरहेको छ । प्रदर्शन खराब भए पनि दिल्लीले नोर्टजे र रबाडाको विकल्प खोज्ने सम्भावना निकै कम छ । यद्यपि शिमरोन हेटमायर र मार्कस स्टोइनिसमध्ये एकलाई चाहिँ आज दिल्लीले विश्राम दिन सक्छ । यी दुबै खेलाडीको पछिल्लो खेलमा खास प्रदर्शन रहन सकेको छैन । स्टोइनिस र हेटमायरमध्ये एकलाई विश्राम दिएर दिल्लीले बेन्चमा बसिरहेका एलेक्स क्यारी, सन्दीप लामिछाने, किमो पउल र डानियल साम्समध्ये एक खेलाडीलाई प्रयोग पनि गर्न सक्छ । दिल्लीको सम्भावित प्लेइङ-११ : शिखर धवन, पृथ्वी शा, श्रेयस अय्यरर (कप्तान), ऋषभ पन्त, मार्कस स्टोइनिस, अक्क्षर पटेल, रविचन्द्रन आश्विन, एनरिक नोर्टजे, शिमरोन हेटमायर/सन्दीप लामिछाने, कागिसो रबाडा र प्रवीण दुबे । आरसीबीको सम्भावित प्लेइङ-११ : देवदत्त पाडिक्कल, जोश फिलिप्पी, विराट कोहली (कप्तान), एबी डिलियर्स, इशरु उडाना, क्रिस मोरिस, गुरकितमान सिंह, वासिङ्टन सुन्दर, नवदीप सैनी, मोहम्मद सिराज र युजवेन्द्र चहल ।

आईपीएल : राजस्थानमाथि केकेआरको शानदार जित

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध राजस्थान रोयल्स ६० रनले पराजित भएको छ । केकेआरले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो । उसका लागि राहुल तेवटियाले ३१, जोश बटलरले ३५, बेन स्टोक्सले १८, श्रेयस गोपालले अविजित २३, रोबिन उथप्पा, जोफ्रा आर्चरले ६/६, कप्तान स्टिभ स्मिथले ४, कार्तिक त्यागीले २ र सञ्जु सामसनले १ रन बनाए । बलिङमा प्याट कमिन्सले ४, वरुण चक्रवर्तीले ३, शिबम माबीले २ र कमलेश नगरकोटीले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो । उसका लागि कप्तान इयोन मोर्गनले शानदार ब्याटिङ गरे । उनले आज ३५ बलमा ६ छक्का र ५ चौकासहित अविजित ६८ रन बनाए । त्यस्तै, शुभमन गिलले ३६, राहुल त्रिपाठीले ३९, आन्द्रे रसेलले २५ र प्याट कमिन्सले १५ रन बनाए । सुनील नारायण, नीतिश राणा र दिनेश कार्तिक भने आज शून्यमै आउट भए । बलिङमा राजस्थानका राहुल तेवटियाले ३, जोफ्रा आर्चर र श्रेयस गोपालले एक/एक विकेट लिए । आजको हारसँगै राजस्थान ‘प्लेअफ’दौडबाट बाहिरिएको छ । राजस्थान ‘प्लेअफ’दौडबाट बाहिरिने तेस्रो टोली हो । यसअघि किंग्स इलावेन पञ्जाब र चेन्नई सुपर किंग्स (सीएसके) पनि अन्तिम चार पुग्न असफल भएका छन् । आईपीएल २०२० मा राजस्थानले १४ खेलमध्ये ६ म्याच मात्र जित हासिल गर्न सफल भयो । केकेआरको भने ‘प्लेअफ’पुग्ने सम्भावना जीवितै छ । उसले लिग चरणका १४ म्याचमध्ये ७ मा जित र ७ खेलमा हारको सामना गरेको छ ।