एभरेष्ट दैनिक

व्यापारी हमालले गरे उम्मेदवारी घोषणा

धनगढी, वैशाख ८ । सात नं प्रदेशको एकमात्र उपमहानगर धनगढीमा उपमहानगरपालिकाको प्रमुखमा यहाँको उद्योगी एवम् व्यापारी गोपाल हमालले आफ्नो स्वतन्त्र उम्मेदावरी घोषणा गरेका छन् । कैलाली उद्योग वाणिज्य सङ्घ पूर्व अध्यक्षसमेत रहेका हमालले आज आयोजित सभामा धनगढीबाट विकास र समृद्धिको अभियान सुरु गर्न आफूले सो उपमहानगरको प्रमुखमा उम्मेदवारी घोषणा गरेको बताए । धनगढी उपमहानगरको प्रमुखमा औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने हमाल पहिलो व्यक्ति हुन् । उपमहानगरको प्रमुख र उप प्रमुखमा नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट उठाउने उम्मेदावारको टुङ्गो लगाइसकेको छ । सो पार्टीले प्रमुखमा रामसमझ राना र उप प्रमुखमा शान्ति अधिकारी क्षेत्रीलाई उठाउने तय गरिसकेको छ । नेपाली काँग्रेस, नेकपा एमाले राप्रपा नेकपा माले लगायतका दलले उपमहानगरको प्रमुख उप प्रमुखमा कसलाई उठाउने भन्ने टुङ्गो अझै लगाउन सकेका छैनन् । साविक सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र रहेको र गएको संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको विजयी क्षेत्र भएकोले पनि यो उपमहानगरको निर्वाचनलाई दलहरुले आ–आफ्नो प्रतिष्ठाको विषय बनाउने अनुमान सबैको छ ।