‘भ्वाइस अफ नेपाल’ सिजन–२ को ‘डिजिटल अडिसन’ शुरु हुँदै

काठमाडौं, पुष १३ । सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ छिट्टै सुरु हुने भएको छ । सिजन–२ का लागि ‘द भ्वाइस अफ नेपाल’ले चाँडै डिजिटल अडिसन सुरु हुने जनाएको छ ।

“छिट्टै नै द भ्वाइस अफ नेपालको दोस्रो सिजनको डिजिटल अडिसन सुरु हुँदैछ । दूरदराजमा बस्ने आवाजका धनीहरुलाई डिजिटल अडिसनले मुलधारमा ल्याउने भूमिका खेलोस्,” ‘द भ्वाइस अफ नेपालले आफ्नो अफिसियल फेसबुक पेजमा लेखेको छ ।

सिजन वान सकिएको केही समयमै भ्वाइसले सिजन–२ सुरु हुन लागेको जनाएको हो । सिजन वानको विजेता पोखराका सिडी विजय अधिकारी भएका थिए ।

तर, कहिलेबाट डिजिटल अडिसन सुरु हुन्छ, त्यो भने स्पष्ट पारिएको छैन । भ्वाइसमा सुरुमा भ्वाइस रेकर्ड गरेर पठाएपछि उक्त भ्वाइसमा सम्भावना देखिएको खण्डमा ब्लाइन्ड अडिसनका लागि बोलाइन्छ । सिजन वानका १०८ जना ब्लाइन्ड अडिसनका लागि छनोट भएका थिए ।

देशको दूरदराजमा रहेका तथा विदेशमा बसोबास गर्ने प्रतिभालाई सहजै पहुँच प्राप्त होस् भनेर भ्वाइसले डिजिटल अडिसन लिने गरेको छ । सिजन वानमा भारतका विभिन्न ठाउँबाट नेपाली भाषी डिजिटल राउन्ड अडिसन हुँदै अघिल्ला चरणहरुमा पुगेका थिए । उज्यालो नेपालबाट

गृह जिल्लामा रविलाई स्वागत जनसागर उर्लियो, समर्थक रमाए यसरी

काठमाडौं, पुष १० । नेपाल आइडल सिजन २ का विजेृता रवि ओडलाई गृह जिल्ला कञ्चनपुरमा भव्य स्वागत गरिएको छ । जनप्रतिनिधि, समर्थक एवं जिल्लाबासीले रविलाई भव्य स्वागत तथा सम्मान गरेका हुन् ।

नेपाल आइडल ओडलाई भीमदत्त नगरपालिकाद्वारा अभिनन्दन

कञ्चनपुर, पुष १० । दोस्रो नेपाल आइडल रवि ओडलाई कञ्चनपुरको महेन्द्रनगरमा अभिनन्दन गरिएको छ । भीमदत्त नगरपालिकाले स्मारकमा कार्यक्रम गरी ओडलाई अभिनन्दन गरेको हो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र नगर उप प्रमुख सुशिला चन्दले ओडलाई दोसल्ला ओढाएर अभिनन्दन पत्र प्रदान गरे । सायौं नगरवासी सहभागी कार्यक्रममा नगर प्रमुख विष्टले रविको विजय सबै नगरवासीको विजय भएको उल्लेख गर्दै नगरवासीका तर्फबाट अभिनन्दन गरिएको बताए । ‘यो जित हामी सबैको सबैको हो, रविको तिजले हामी सबै अत्यन्त खुसी छौ, यस अवसरमा उहाँलाई बधाई दिन चाहन्छौ, भविष्यका लागि शुभकामना दिन चाहन्छौ’ नगर प्रमुख विष्टले भने, ‘यस अवसरमा भीमदत्त नगरवासीका तर्फबाट वहाँलाई अभिनन्दन र सम्मान गर्न चाहन्छौ ।’ कार्यक्रममा नगर प्रमुख विष्टले ओडलाई नगरपालिकाबाट ५१ हजार सहयोग प्रदान गरिने घोषणा गरे । अभिनन्दपछि नेपाल आइडल ओडले आफ्नो जित सबै शुभ चिन्तकहरुको जित भएको बताए । ‘यो जित मेरो मात्रै होइन्, सबै शुभ चिन्तकहरुको हो,’ उनले भने, ‘तपाईहरुको सबैको साथ र सहयोग यो जितमा छ, यो जित तपाईहरुको हो ।’ नेपाल आइडल बनाउन आफूलाई सहयोग गर्ने सबै शुभ चिन्तकहरुलाई उनले धन्यवाद दिदैं आभार व्यक्त गरे । कार्यक्रममा उनले केही गीतहरु समेत गाए । भीनपा नगर प्रमुख विष्ट, उप नगर प्रमुख चन्द सहित जिल्ला समन्वय समितिका उप संयोजक सानु बुड थापा महरा, वडा नं. ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, २ का अध्यक्ष डम्मर सिह कार्की, १७ का अध्यक्ष हिमाल बहादुर चन्द लगायत जनप्रतिनिधि, उद्यमी, व्यवसायी, स्थानीय सहभागी भएका छन् । भीमदत्त नगरपालिका प्रवेशद्वार भाँसी खोलामा पुलमा भीनपा वडा नं. ४ का अध्यक्ष बोहरा, २ का कार्की र १७ का अध्यक्ष चन्दले स्वागत गरे । रविलाई गाजाबाजा सहित कार्यक्रम स्थलमा पुगाइएको हो । मदनचोकदेखि कार्यक्रम स्मारकसम्म छलिया नाच प्रस्तुत गरिएको छ । कार्यक्रम स्थलमा रविसित सेल्फी खिच्न दर्शकहरको भिड लागेको थियो । मञ्च नजिक पुगेका उनीहरुलाई पछाडि हटाउन प्रहरीलाई हम्मेहम्मे परेको छ । रविलाई उनको गृह नगर कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका लगायतका विभिन्न स्थानमा सम्मान गरिएको छ ।

आलोचना गर्नेलाई रविले दिए कडा जवाफ

काठमाडौं, पुष १० । गत शुक्रवार अबेर पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा भएको नेपाल आइडल सिजन २ मा विजेता घोषित भए लगत्तै रवि ओड रोएका थिए। विजेता बन्नुको खुशी त छँदै थियो उनमा, तर रुनु पछाडिको मुख्य कारण थियो भारतको गुजरातमा विगत २५ वर्षदेखि चौकीदारका रूपमा कार्यरत आफ्ना बुवालाई मञ्चमा ल्याउन नसक्नु। ‘मैले पटक-पटक बुवालाई नेपालमा आइडलको मञ्चमा ल्याउन खोजेँ, सकिनँ। तर ग्राण्ड फिनाले अर्थात् अन्तिम दिन पनि ल्याउने कोसिस गरेँ तर ल्याउन सकिनँ’ कुराकानीमा रविले भने। उनका अनुसार बुवा राजेन्द्रले चौकीदारीबाट कहिल्यै छुट्टी पाएनन्। तर उक्त प्रतियोगिताको विजेता घोषित भएपछि पहिलो फोन बुवालाई गरे। दिनचर्या ‘बुवाले स्याबासी दिनुभयो र उक्त उपाधिको प्रतिष्ठा जोगाउन रहेका चुनौतीबारेमा पनि सचेत पार्दै त्यसका लागि शुभकामना दिनुभयो’ उनले भने। गरिबी, अभाव लगायत अनेक संघर्षबीच रवि दोस्रो नेपाल आइडल बन्न सफल भएपछि उनको मात्र होइन, उनका बुवाको दिनचर्या पनि फेरिएको छ। रविले हाँस्दै भने, ‘यता मैले सम्मानपछि सम्मान पाइरहेको छु र उता भारतमा रहेका नेपालीले मेरो बुवालाई सम्मान गरिरहेका छन्। बुवाले हाम्रो बारेमा अन्तर्वार्ता दिइरहनुभएको छ।’ कन्चनपुरमा जन्मिएका २१ वर्षीय रविले सानो छँदा नै आमा उमा देवीलाई गुमाएका थिए । गरिबीका बावजुद उनका बुवाले उनीहरूको रेखदेख तथा लालनपालनमा भरमग्दुर प्रयास गरे। प्रेरणा ‘भारतमै चौकीदारको काम गरेर बुवाले पठाएको पैसाले हाम्रो जीवन चलेको हो। त्यसैले सङ्घर्ष, दुःख, अभावलाई मैले नजिकबाट नियालेको छु, भोगेको छु। मैले पाएको सफलतामा यसको पनि हात छ’ रविले भने। तर गीतसङ्गीतमा रुची बढ्नुमा भने उनको हजुरबुवाको प्रेरणा छ। उनले आफ्नो हजुरबुवालाई भेट्न त पाएनन्, तर गाउँका बूढापाकाले रविको आवाज हजुरबुवाको जस्तो भएको बताउँथे। ‘हजुरबुवाले राम्रो गाउने र मेरो आवाज उहाँसँग मिल्ने थाहा पाएदेखि नै मेरो सङ्गीतप्रति रुचि बढ्दै गएको हो।’ १२ कक्षासम्म पढेका रविले सातजनाको परिवारलाई सघाउन विभिन्न स्थानीय कार्यक्रम, महोत्सव र रोदीघर तथा दोहोरीसाँझमा समेत गाउन थाले। म्यादी उनी देउडाका अतिरिक्त पप, आधुनिक गीत गाउन समेत पोख्त भएको बताइन्छ। दिपक बज्राचार्य, सुगम पोखरेल, हेमन्त राना जस्ता ख्याति प्राप्त गायकबाट विशेष प्रभावित उनको साङ्गीतिक यात्रामा धनगढीका दोहोरी साँझ बन्द भएपछि केही पूर्णविराम लागेको उनी बताउँछन्। पटकपटक कामविहीन बनेका उनले संविधानसभाको निर्वाचनताका म्यादी प्रहरीका रूपमा जागिर समेत गरे। ‘मैले कामको जोहो गर्दैगर्दा राम्रोसँग पढ्न पनि पाइनँ। पास हुनका लागि मात्रै परीक्षाको केही अघिमात्रै पढ्थेँ। १२ कक्षाको अब एउटा विषय पास गर्नुछ र अब पढाइमा समेत ध्यान दिन्छु’ उनले भने। अमेरिकन आइडलको फ्रेन्चाइज लिएर नेपालमा भित्रिएको उक्त नेपाली संस्करणका अतिरिक्त भारतीय संस्करण पनि रविले नजिकबाट नियालिरहेका हुन्थे। योजना नेपाल आइडलमा सहभागी भएर उपाधि नै जित्ने उनको कुनै योजना थिएन । तर फुर्सदमै रहेको बेला साथीहरूको सुझावका आधारमा उनले केही महिनाअघि पहिलो अडिसन धनगढीमा दिए र शुरू गरे नेपाल आइडलको यात्रा। शुरुदेखि नै निर्णायकहरूको रोजाइमा पर्दै आएका उनले भने, ‘आफूमा केही प्रतिभा भएकै कारणले निर्णायकहरूले मलाई पछिल्ला राउण्डमा ल्याउनुभयो।’ ५० प्रतिशत दर्शकको भोट र ५० प्रतिशत निर्णयको छनोटका आधारमा विजेता घोषित भए पनि कतिपयले उनको जितलाई दया र क्षेत्रीयताको प्रभावका रूपमा अर्थ्याएका छन्। आलोचना तर त्यसको प्रतिवाद गर्दै उनी भन्छन्, ‘दया, जातीय वा क्षेत्रीय कारणले जितिने भए म भोटिङ्ग राउण्ड अर्थात् मतका आधारमा मूल्याङ्कन गरिने चरणमा समेत पुग्न सक्ने थिएन।’ ‘तर ती आलोचना वा प्रतिक्रियालाई म सहज रूपमा लिन्छु । ऊर्जाको रूपमा लिन्छु र अघि बढ्छु।’ विजेता बनेसँगै आर्थिक रूपमा पनि उनको जिन्दगी फेरिएको छ। ‘सर्वत्र माया र सम्मान पाएको छु। त्यसले ममा एक प्रकारको चुनौती पनि थपिदिएको छ, भन्दै उनले आगामी योजनाबारे भने, पहिले आयोजकसँगको सम्झौता सकाउँछु र त्यसपछि दर्शक-स्रोताको माग अनुसार मेरो साङ्गितिक यात्रा अघि बढाउछु।’ बीबीसी नेपाली सेवाबाट

अब प्रत्येक पाइलामा होसियारीका साथ काम गर्छु– रवि ओड

काठमाडौं, पुष ९ । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले आइडल बनेपछि आफ्नो अनुभव व्यक्त गरेका छन् । उनले भने्, ‘जब ग्रान्ड फिनालेको रिजल्ट आउन सुरु भयो। अत्यन्तै डर लागेको थियो। चौथो हुनेको नाम उच्चारण हुनासाथ म अझै बाँचेको छु है भन्ने लाग्यो। तेस्रो प्रतियोगीमा सुमितको नाम सुन्दा म प्रथम नभए पनि दोस्रो पक्कै भएँ भन्ने लाग्यो। टाइटल विजेतामा आफ्नो नाम उच्चारण भएपछि म केही बोल्नै सकिनँ। शब्दविहीन भएँ म। म एकछिन सपनाको संसारमा हराएँ।’ नेपाल आइडल–२ का टाइटल विजेता रवि आफ्नो आइडल अनुभव सुनाउँदै थिए। अलिकति उत्सुकता, अलिकति खुसी र अलिकति डर मिसिएको उनको अनुहारमा अनगिन्ती सपना झल्किरहेको देखिन्थ्यो। विजेता बनेपछिको अनुभव कस्तो छ ? उनी भन्छन्, ‘नेपाल आइडलले मेरो परिचय नै बदलियो। यो जित मेरो मात्र होइन, मलाई माया गर्ने तपाईं सम्पूर्णको हो’, उनी थप्छन्, ‘अत्यन्तै खुसी लागेको छ। नेपाल आइडलको विजेताको भार थाम्न अत्यन्तै गाह्रो छ, टाइटलको आफ्नै गरिमा छ। निकै सचेत, मेहनती र अझै लगनशील हुन जरुरी छ। प्रत्येक पाइलामा होसियारीका साथ काम गर्नु पर्नेछ। म यसको जिम्मेवारी पूरा गर्ने भरपुर कोसिस गर्छु।’ अडिसनमा आउँदा उत्कृष्टमा पुग्न सक्छु होला भन्नेसमेत उनलाई विश्वास थिएन। नेपाल आइडलको मञ्च स्वर्ग जस्तै घर सम्झने ओडले यो घरले अनमोल परिचय दिएको बताउँछन्। निकै कडा मेहनत र संघर्षका साथमा हरेक नेपालीको मायाले मात्र जित सम्भव भएको उनले बताए। उनले आफ्नो भागमा परेको गीतको प्रस्तुति दिनुअघि सयौं पटक सुन्ने र गीत गाउने र घण्टौं रियाज गरिरहने बताए। अन्नपूर्ण पोस्ट्बाट

मेरो खास प्रतिस्पर्धा अब सुरु हुँदैछः सुमित पाठक

काठमाडौं, पुष ७ । नेपाल आइडल सिजन–२ को ‘सेकण्ड रनरअप’ भएका सुमित पाठकले सांगीतिक क्षेत्रमा आफ्नो प्रतिस्पर्धा अब विशेष हुने बताएका छन् । आइडलको नतिजा पछि फेसबुकमा स्टाटस पोस्ट गर्दै उनले यस्तो बताएका हुन् । सुमितले आफूलाई अमूल्य भोट दिएर ‘सेकण्ड रनरअप’ बनाइदिएकोमा समर्थकलाई धन्यवाद व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘यतिबेला मसँग सबैजनालाई एकमुष्ट सम्वोधन गर्नसक्ने कुनै शब्द छैन । खासमा म निःशब्द छु, स्तब्ध छु र म आफैँभित्र हराइरहेको छु । समयले हरेक व्यक्तिलाई फरक बन्ने अवसर दिँदोरहेछ । मेरो हकमा समयले नेपाल आइडलको मञ्च लिएर आयो । मलाई कुनै सामान्य अवस्थाबाट नेपाल आइडलको ‘सेकेन्ड रनरअप’ जस्तो गरीमामय उपाधी दिलायो । यसका लागि नेपाल आइडल परिवारप्रति आभारी छु । मेरी आमा जसले मलाई जन्म दिनुभयो र यो धर्ती चिनाउनु भयो म सब भन्दा धेरै उहाँको ऋणी छु । मैले उहाँको ऋण तिर्न पाइन । यो बेला मैले हासिल गरेको सफलता पनि उहाँलाई चढाउँन पाइन । तर मलाई लाग्छ यो उहाँ कै आशिर्वाद हो ।’ सुमितले आफ्नो फेसबुकमा यस्तो लेखेका छन्– यतिबेला मसँग सबैजनलाई एकमुष्ट सम्वोधन गर्नसक्ने कुनै शब्द छैन । खासमा म निःशब्द छु, स्तब्ध छु र म आफैँभित्र हराइरहेको छु । समयले हरेक व्यक्तिलाई फरक बन्ने अवसर दिँदोरहेछ । मेरो हकमा समयले ‘नेपाल आइडल’ को मञ्च लिएर आयो । मलाई कुनै समान्य अवस्थाबाट नेपाल आइडलको सेकेन्ड रनरअप जस्तो गरीमामय उपाधी दिलायो । यसका लागि नेपाल आइडल परिवारप्रति आभारी छु । मेरी आमा जसले मलाई जन्म दिनुभयो र यो धर्ती चिनाउनु भयो म सबभन्दा धेरै उहाँको ऋणी छु । मैले उहाँको ऋण तिर्न पाइन । यो बेला मैले हासिल गरेको सफलता पनि उहाँलाई चढाउँन पाइन । तर मलाई लाग्छ यो उहाँकै आशिर्वाद हो । मेरा बुबा, मेरा गुरु जसले मलाई यहाँसम्म आइपुग्ने बाटो बनाई दिनुभयो, मेरा मार्गदर्शक मेरा गुरुहरुप्रति कोटीकोटी नमस्कार चढाउँछु । मेरा सम्पूर्ण शुभचिन्तक, मेरा फ्यानहरु यहाँहरु मेरा भगवान सरह हुनुहुन्छ । मैले खास उपाधी नजितेर यहाँहरुको सपना पूरा त गर्न सकिन यसमा मैले जे गर्नु पथ्र्यो सायद त्यो गर्न सकिनँ र हजुरहरुको म आइडल भएको हेर्ने सपना पूरा गर्न सकिन यसमा मेरा धेरै कमी कमजोरीहरु पनि थिए होलान तर आउँदा दिनहरुमा म ती कमी कमजोरीहरुलाई सुधार्ने वचन दिन्छु । यो पनि मेरो जित हो । मैले जेजे प्राप्त गरेँ त्यो सब यहाँहरुले नै दिलाईदिनु भएको हो । म जे छु जहाँ छु त्यो सबथोकको श्रेय हजुरहरुलाई नै जान्छ । मेरा हरेक यात्राहरु हजुरहरु सम्पुर्णको साथले सफल हुनेछन् । हजुरहरु हुनुहुन्छ हजुरहरुको माया छ र मात्र मैले म आफु भएको महसुस गरेरको छु । हजुरहरुलाई म कोटीकोटी प्रणाम गर्दछु । नेपाल आइडलका सम्पुर्ण प्रतिश्पर्धी साथीहरु यहाँहरुप्रति आभारि छु । यहाँहरु सम्पुर्ण हुनुहुन्थ्यो र नै यो प्रतिस्पर्धामा मैले म भएको अनुभूत गरेको थिएँ । मेरो यो उपलब्धीको भागिदार तपाईहरु पनि बराबर हुनुहुन्छ । यहाँहरुले प्रतिस्पर्धी भएर जो साथ र सहयोग गरिरहनु भयो त्यो मेरा लागि अनुपम छ । यो साथ र प्रेरणा आउँदा दिनमा पनि मलाई उत्तिकै खाँचो छ । देशविदेशमा बसेर मलाई लाखौँले सहयोग गर्नु भएको छ, यहाँहरुप्रति म ऋणि छु । अन्त्यमा यहाँ मैले सबै पक्षलाई यहाँ सम्वोधन गर्न सकिरहेको छैन । म धन्यवादका लागि कसैको पनि नाम लिन सक्ने अवस्थामा छैन । त्यसैले म नतमस्तक भएर एकमुस्ट आभार व्यक्त गरिरहेको छु । मैले हजुरहरुलाई जति नै धन्यवाद दिए पनि त्यो यहाँहरुको सहयोगको बदलामा सारै सानो हुने छ । मेरो विवसता यतिखेर यही हो । मेरो खास प्रतिस्पर्धा भने अब सुरु हुँदैछ यसका लागि यहाँहरु सम्पुर्णको माया, हौसला, प्रेरणा, सुझाव, सल्लाह र साथको सँधै खाँचो हुनेछ । हजुरहरूको आशिर्वादको आशा गरिरहने छु ।  हजुरहरुको प्यारो सुमित पाठक

मलेसियामा रविको व्यापक प्रचार [फोटोफिचर]

काठमाडौं, पुष १ । नेपाल आइडल सिजन–२ को ‘फाइनल’ मा पुग्न सफल रवि ओडलाई विजयी बनाउन मलेसियामा उनका समर्थकले व्यापक प्रचारप्रसार गरिरहेका छन् । त्यहाँ नेपालीहरुको सबैभन्दा बढी भीडभाड हुने स्थानमा रविको व्यापक प्रचार–प्रसार भइरहेको हो । यो प्रचारको नेतृत्व मलेसियामा रहेको ‘रबि जिताउ बिशाल अभियान’ले गरिरहेको छ । अभियानले त्यहाँका विभिन्न स्थानमा रविका सयौं तस्बिरहरु टाँसिएका छन् । आज (आइतबार) समर्थकले मलेशियाको जोहोर बारुमा हजारौंको संख्यामा उपस्थित भएर रबिको लागि भोट आह्वान गरिएको छ । रबिलाई भोट गर्न मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ ।  यो पटक भोटिङ बिहीबार रातिबजेबाट खुल्ला  भएकाे छ र एक हप्तासम्म भोट गर्न सक्नु हुनेछ ।  देश तथा विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरेर पनि भोट  गर्न सकिन्छ ।

रवि ओडको गीतमा बन्यो बबाल डान्स भिडियो, हाँस्नुस् मरिमरी !

काठमाडौं, पौष १ । नेपाल आइडलको मुख्य चार प्रतिष्पर्धिमा छनौट भएका छन् गायक रवि ओड । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा सामान्य परिवारमा जन्मेका रवि ओड यतिखेर देश विदेशमा चर्चित बन्न पुगेका छन् । रविको क्रेज कतिसम्म छ भने अहिले उनका फ्यानहरुले रवि ओडले गाएको गीतमा बबालको डान्स भिडियो बनाएका छन् । डेढु बाँदरहरुले रमाईलो गरी डान्स गरेको गीतमा रविले गाएको गीत निकै सुहाएको देखिन्छ । अहिले रविको गीत मन पराउने उनका प्रशंसकहरु देश तथा विदेशमा उनका लागि भोट माग्न अपील गर्दैछन् । यो भिडियो पनि यही भोटको अपीलका लागि बनाइएको बताइन्छ । हेर्नुस् भिडियोः

गीतकार भोगीको ‘झ्याप्पै तिमीलाई’ चर्चाको शिखरमा [भिडियाेसहित]

काठमाडौंं, मंसिर २९ । गीतकार निर्मल पुरी ‘भोगी’ को शब्दमा रहेको डान्सिङ गीत ‘झ्याप्पै तिमीलाई..’ स्रोता–दर्शकले अत्यधिक रुचाएका छन् । युट्युबमा सार्वजनिक नभएको दुई हप्तामै भोगीको गीतलाई झण्डै ४ लाखले हेरेका छन् । आकर्षक भिडियो र शब्द भएकाले गीतको चर्चा अहिले शिखरमा पुगेको छ । भिडियोमा एलिशा राई र भिमफेदी गाईजका कलाकारहरुको अभिनय देख्न सकिन्छ । निर्मल लामाको निर्देशन रहेको भिडियोमा पवन सुस्लिङको छायाँकन तथा सम्पादन छ । फुर्वा तामाङले स्वर भरेकी गीतमा बबुल गिरीको संगीत रहेको छ ।

जहाजभित्र रविको चर्चा, बन्लान् ‘नेपाल आइडल’ को क्याप्टेन ? [भिडियाेसहित]

काठमाडौं, मंसिर २८ । नेपाल आइडल सिजन–२ को ‘फाइनल’ मा पुग्न सफल रवि ओडको चर्चा अहिले शिखरमा छ । उनको सुमधुर आवाजले नै रविकाे चर्चा शिखरमा पुगेको हो । उनले फाइनल पुग्नसम्म ‘दमदार’ प्रस्तुति दिदैं स्रातो–दर्शकको मन जित्न सफल छन् । र, अहिले उनको सर्वत्र चर्चा भइरहेको छ । रविलसहित फाइनलमा पुगेका ४ प्रतिस्पर्धीले बिहीबार उपाधिका लागि प्रस्तुति दिएका छन् । हिजोको प्रस्तुति सबैको उत्कृष्ट थियो । चारैजनाका लाखौं समर्थक देश तथा विदेशमा छन् । उनीहरु आफूलाई मन पर्ने प्रतिस्पर्धी जिताउन अहोरात्र खटिरहेका छन् । चार प्रतिस्पर्धीका आ–आफ्ना समर्थक छन् । प्रतिस्पर्धीका समर्थक सबै ठाउँमा छन् । नेपाल आइडलमा आफ्नो कला प्रस्फोटन गर्दै सबै प्रतिस्पर्धी सबैको मन–मनमा बस्न सफल भएका छन् । उनीहरुको प्रतिभाकाकै कारण समर्थकले पनि खुलेर चर्चा गरिरहेका छन् । यसैबीच, आइडलको फाइनलमा पुगेका रवि ओडको ‘एयर होस्टेजहरु’ ले खुलेर प्रशंसा गरेका छन् । बाँकि हेर्नुस् तलको भिडियो–

भावुक हुँदै बिक्रमले यस्तो आग्रह गरे [भिडियोसहित]

काठमाडौं, मंसिर २८ । नेपाल आइडलको उपाधि जित्ने उद्देश्यका साथ बिहीबार प्रस्तुति दिएका बिक्रम बरालले आफूलाई भोट गर्न अनुरोध गरेका छन् । आफ्नो फेसबुक पेजमार्फत समर्थकमाझ यस्तो अनुरोध गरेका हुन् । उनले भावुक हुँदै आफूलाई अत्यधिक भोट गर्दै विजयी बनाउन आग्रह गरे । उनले भनेका छन्, ‘म यतिखेर नेपाल आइडलको फाइनलमा छु । एक साताको लागि भोटिङ लाइन खुला भएकाे छ । मलाई यहाँहरूले धेरै दिइसक्नु भएको तर अब यो अन्तिम पटक हो । यहाँहरूले यति धेरै माया गरिरहनु भएको मलाई नेपालको पहिलो नेपाल आइडल बनाउन अब हजुरहरू बाहेक अरु कसैले सक्दैन त्यसैले यहाँहरूको शरणमा छु, अन्तिम एकचोटी हार्दिक हार्दिक अनुरोध गर्दछु ।’ बाँकी हेर्नुस् बिक्रमले समर्थकलाई यस्तो आग्रह गरेका छन्– 

नेपाल आइडलः पाठकको नजरमा बिक्रमभन्दा रवि अगाडि

काठमाडौं, मंसिर २३ । रवि ओड सुदूरपश्चिमेलीको मात्र होइन सबै नेपालीको मनमा बसेका छन् । यसको प्रमाणहरु सामाजिक सञ्जालमा पर्याप्त छन् । यति मात्र होइन विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरुले पनि रवि धेरैको मनमा बसेको जनाउँ दिन्छ । यसैबीच, काठमाडौंबाट प्रकाशित हुने अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित समाचारमा पनि रविलाई धेरैले पढेका छन् । अर्थात् उनको समाचारलाई धेरैले पढेका र सेयर गरेका छन् । यसको मापन सहजै गर्न सकिन्छ । सेयर गरेको प्रत्यक्ष अंक नै देखिन्छ । अन्नपूर्णले रविकोभन्दा अगाडि बिक्रमको समाचार प्रकाशित गरेको थियो । तर, ‘पोखरामा माया बटुल्दै बिक्रम’ शिर्षकको समाचार आइतबार साँझ ६ बजेसम्म १०७१ जनाले मात्रै सेयर गरेका छन् । तर, ‘कैलालीमा रविलाई पञ्चेबाजाले स्वागत’ शिर्षकको समाचार बिक्रमको भन्दा केही समयपछि प्रकाशित गर्दा पनि आइतबार साँझसम्म ३७७४ जनाले सेयर गरिसकेका थिए । यसरी आंकलन गर्ने हो भने बिक्रमभन्दा रवि पाठकको आँखामा धेरै अगाडि छन् । अन्य मिडियामा रविबारे प्रकाशित समाचार पनि अत्यधिक सेयर भएको देखिन्छ । सेयर गरेको मापन गर्नुको मूल कारण पाठकमाझ को प्रतिस्पर्धी अगाडि छन् भन्ने केलाउन खोजिएको हो । अन्नपूर्ण पोस्ट् दैनिक र ‘नेपाल आइडल’ आयोजना गर्ने एपी वान टेलिभिजन एकै ग्रुपको संञ्चार माध्यम भएकाले पनि अन्नपूर्णमा प्रकाशित समाचारलाई मापनको आधार बनाइएको हो । अन्नपूर्णले रवि र बिक्रमबाहेक अस्मिता अधिकारी र सुमित पाठकको बारेमा भने समाचार प्रकाशित गरेको थिएन । यसकारण सुमित र अस्मिताबारे पाठकको साथ प्रकाशित गरेनौं । अहिले चारै प्रतिस्पर्धी गृह जिल्लामा व्यस्त छन् । रवि सुदूरपश्चिममा, बिक्रम पोखरा, सुमित र अस्मिता झापामा रहेका छन् । पत्रिकामा पाठकले साथ दिए पनि यात्रा भोटिङको भएकाले उपाधि भने यसले नै जित्न सक्छ भनेर ठोकुवा गर्न कठिन छ । अब हेरौं दोस्रो नेपाल आइडलको उपाधि कसले जित्छ ।

रविबारे २ खुलासा ! नृत्य प्रशिक्षकदेखि ‘कर्णाली आइडल’ सम्मको यात्रा

काठमाडौं, मंसिर २३ । जारी नेपाल आइडल–२ को ‘टप फोर’ मा पुग्न सफल रवि ओडको बारेमा जान्ने इच्छा धेरै समथर्क एवं पाठकलाई हुनसक्छ । यसकारण आज धेरैलाई जानकारी नभएका केही कुराहरु तपाइँमाझ जानकारी गराउनेछौं । रवि नृत्य गर्न पनि त्यत्तिकै माहिर छन् । यो कुरा सायद धेरैलाई थाह होला । तर, उनी अरुलाई पनि नृत्य सिकाउँथे भन्ने कुरा चाहिँ कमैलाई थाह हुनुपर्छ । रविले सुर्खेतको कोपिला भ्याली विद्यालयमा डान्स शिक्षकमा रूपमा पनि काम गरिसकेका छन् । साथै, अर्को कुरा– उनी नेपाल आइडलमा आउनुअघि ‘कर्णाली आइडल’ मा पनि सहभागि भएका थिए । यसबारेको भिडियो पनि प्राप्त भएको छ । उनले त्यहाँ ‘अब जाउँला रेलैमा’ बोलको गीत गाएका थिए । तर, उनको कर्णाली आइडलको यात्रा कहाँसम्म पुग्यो भन्ने चाहिँ खुलाइएको छैन । रविले कर्णाली प्रदेशमा पनि केही समय विताएका छन् । उनले त्यहाँको व्यक्तिहरुसँगको सम्बन्ध पनि बढाएका छन् । अझ भनौं रविको सम्बन्ध सुदूरपश्चिमसँग मात्र नजिक छैन कर्णालीसँग पनि उत्तिकै नजिक छ । हुनत रवि एक नेपाली नागरिक हो । नेपालको हरेक भूगोलसँग समबन्ध छ । तथापि उनको क्रियाकलापको कुरा गर्दा खेरी कर्णालीको प्रशंग जोडिन पुगेको हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रविका हजारौं समर्थक छन् । उनीहरुले पनि रविलाई अत्यधिक साथ लिइरहेका छन् । समर्थकको साथले नै रवि यो स्थानसम्म पुग्न सफल भएका हुन् ।

१० वर्षको उमेरमा आमा गुमाएका सुमितले गाउँदा सबैका आँँखामा आँसु

काठमाडौं, मंसिर २० । जारी नेपाल आइडल सिजन २ अन्तर्गत ‘उत्कृष्ट ४’ मा पुग्नका लागि आज पाँच जनाले प्रतिस्पर्धा गरेका छन् । बाँकी पाँच प्रतिस्पर्धीले उत्कृष्ट प्रस्तुति दिएका छन् । यसैबीच, आज सुमित पाठकले ‘आमा’लाई संवोधन गर्दै गाएको गीतले उपस्थित सबैको मन छोयो । दश वर्षको उमेरमा आमा गुमाएका सुमितले आज आमा बोलको गीत नै गाउ आफू र अरुलाई पनि रुवाएका थिए । आइडलमा ‘गोल्डेन माइक’ जितेका उनलाई उपाधि जित्ने प्रमुख दाबेदारका रुपमा हेरिएको छ । अब हेरौं उनको आगामी यात्रा कहाँसम्म पुग्छ ।

‘टप फोर’ मा पुग्न अस्मिताले आज यस्तो गीत गाउँदै (प्रोमोसहित)

काठमाडौं, मंसिर २० । जारी ‘नेपाल आइडल सिजन–२’ मा आज (बिहीबार) ‘टप फोर’ प्रवेशका लागि बाँकी रहेका पाँच प्रतिस्पर्धीले प्रस्तुति दिने भएका छन् । उनीहरुले बिहीबार नेपाली पप र चलचित्रका गीत गाउने भएका हुन् । यसैबीच, आइडलमा बाँकी रहेकी एक मात्र महिला प्रतिस्पर्धी अस्मिता अधिकारीले ‘जीवनमा सधैं..’ बोलको गीत प्रस्तुत गर्ने छिन् । अहिलेसम्म अब्बल प्रस्तुति दिदैं ‘टप फाइभ’ मा पुगेकी अस्मिताले आज (शुक्रबार) पनि उत्कृष्ट प्रस्तुति दिने योजनामा छिन् । उनी काठमाडौं अडिसनबाट आइडलमा भाग लिएकी हुन् ।

रवि ओडलाई हराउन यस्तोसम्म हर्कत !

काठमाडौं, मंसिर २० । अहिले ‘नेपाल आइडल सिजन–२’ चलिरहेको छ । आइडलको रौनकले चौतर्फि छोएको छ । नेपाल आइडलमा पाँचजना मात्र प्रतिस्पर्धी बाँकी रहेकाले यसको रोमाञ्चकता बढ्दै गएको हो । बाँकी रहेका पाँचजनाले आज (बिहीबार) ‘टप फोर’ मा स्थान बनाउन प्रस्तुति दिदै छन् । पाँचै प्रतिस्पर्धीका समर्थक अहिले निकै व्यस्त छन् । उनीहरुको व्यस्तता आफूले मन पराएका प्रतिस्पर्धीलाई जिताउनमा रहेको छ । अधिकांश समर्थकले सामाजिक सञ्जाल, विभिन्न सञ्चारमाध्यम एवं अन्य उपाय अपनाइरहेका छन् । आफूले मन पराएको प्रतिस्पर्धीलाई भोट दिन पाउनु, प्रचार गर्न पाउन स्वतन्त्रताको कुरा हो । तर, प्रतिस्पर्धीको नक्कली ‘फेसबुक आइडी’ खोलेर दूरुपयोग गर्नु चाहिँ पक्कै पनि राम्रो होइन । यो एक हिसाबले अपराध नै हो । यस्तै गलत कार्य भइरहेको पाइएको छ । आइडलमा बाँकी रहेका रवि ओडको नाममा ‘नक्कली फेसबुक आइडी’ बनाएर कतिपय व्यक्तिले दूरुपयोग गरिरहेका पाइएको हाे । रविको व्यक्तिगत एक मात्र फेसबुक आइडी छ । तर, अधिकांश व्यक्तिले दूरुपयोग गर्ने तरिकाबाट आइड बनाएका छन् । र, त्यसको दूरुपयोग गरिरहेको भेटिएको हो । रविको एकमात्र आइडको फोटो यस्तो छ- यो मात्र उनको आइडी हो ! रविका समर्थकले उनको आइडी हो भनेर कुरा गर्दा नक्कली आइड बनाएर फेसबुक चलाउने व्यक्तिले विभिन्न कुराहरु पठाउने गरेका छन् । एकजना रविका समर्थकले उनको नामको आइडीमा कुरा गर्दा यस्तो लेखिएको सन्देश आएको थियो । यो आजको कुरा हो- यस्तो हर्कत गर्ने व्यक्ति पक्कै पनि कतैबाट प्रयोग भएका हुनसक्छन् । यसकारण यस्तो कार्य जोसुकै भएपनि गर्न र गराउनुहुन्न । नेपाल आइडलमा आज ‘टप फोर’ का लागि प्रतिस्पर्धा हुँदैछ । अब आइडलमा रवि ओड, बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र अमित बराल बाँकी छन् ।