रास्वपा सांसद चौधरीले सरकारको आलोचना गरेपछि सभामुख भने-'खास विषयमा धारणा राख्नस्'

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले सरकारको आलोचना गर्न थालेपछि रुलिङ गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोलेका चौधरीले कुनै खास विषयमा आफ्नो भनाई नराखी सरकारका कामहरूको आलोचना गरेपछि सभामुख घिमिरेले विषय केन्द्रित भएर बोल्न निर्देशन दिए। 

सांसद चौधरीले सरकारको आलोचना गर्दै भने, ‘सरकार रेमिट्यान्सको लोभमा फसेको छ, कन्सल्टेन्सीहरुलाई पैसा कमाउनु परेको छ । ३० जना श्रमिक मजदुरहरू साउदी अरबमा बन्दी भएर बस्नुपरेको छ, ती नेपालीलाई नेपाल फिर्ता ल्याउन र दोषीलाई कारबाही गर्न माग गर्दछु । यो सरकार संविधान विरोधी सरकार बन्न पुगेको छ । यसको सुरुवात मन्त्रीपरिषद् गठनदेखि सुरु भएको थियो । अहिले मन्त्रीपरिषद् गठनपछि पछिल्लो निर्णय गर्दा १८ देशमा राजदूत सिफारिस गर्दा र ३ वटा प्रदेशमा प्रदेश प्रमुख फेरिँदा र मन्त्रालयमा २२ सचिवको सरुवा हुँदा एउटा पनि मधेसी, थारु, दलित, मुस्लिम र पिछडिएका क्षेत्रका नहुनु दुर्भाग्यपूर्ण छ ।’

सांसद चौधरीले यति बोलेपछि सभामुख घिमिरेले आकस्मिक समयमा के बोल्न चाहेको हो विषयमा केन्द्रित रहन गम्भीरतापूर्वक ध्यानाकर्षण गराएको बताए।

पाँच देशका राजदूत फिर्ता, १८ देशमा सिफारिस

काठमाडौं । सरकारले पाँच देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। सोमबार (आज) सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले पाँच देशका राजदूत फिर्ता बोलाउने र १८ देशमा नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको हो। बैठकबाट सरकारले अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। चीनका राजदूत विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका कैलाशराज पोखरेल, रूसका मिलन तुलाधर, श्रीलंकाका वासुदेव मिश्र र दक्षिण अफ्रिकाका राजदूत दानबहादुर तामाङ फिर्ता बोलाइएको हो । यस्तै अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले भारतमा शंकर शर्मालाई नै निरन्तरता दिने भएको छ।भारतमा शंकरदास बैरागीलाई राजदुत बनाउने चर्चाका बीच भारतीय पक्षले शंकर शर्मालाई नै निरन्तरता दिन आग्रह गरेका कारण नचलाइएको स्रोतले बतायो ।अमेरिकामा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र बेलायतमा पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन्। दक्षिण कोरियामा एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फे, मलेसियामा नेत्र तिमल्सिना र चीनमा कृष्णप्रसाद ओली सिफारिस भएको एक मन्त्रीले बताए। त्यस्तै पाकिस्तानमा रिता धिताल र दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ सिफारिस भएका छन्।इजरायलमा धनप्रसाद पण्डित र पोर्चुगलमा प्रकाशमणि पौडेल सिफारिस भएका छन्।

नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गर्ने खतिवडा पक्राउ

काठमाडौं। सामाजिक सञ्जालमा आफूलाई धार्मिक अभियान्ता तथा ज्योतिषी भनेर चिनाउँदै आएका पुष्कर खतिवडा पक्राउ परेका छन्। नेताहरूको अशुभ (मृत्यु) कामनासहित अनुष्ठान गरेर सामाजिक सञ्जालमार्फत् लाइभ गरेका उनलाई धुम्बाराहीस्थित मण्डिखाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो। पक्राउ परेपछि उनले सामाजिक सञ्जालमा लेख्दै आफू पक्राउ परेको सूचना दिएका छन्। ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौँ देश बनोस्’, उनले भनेका छन् ।प्रहरीले आपत्तिजनक तरिकाले पूजापाठ गरिरहेको भेटाएपछि पक्राउ गरेको जनाएको छ। चार दिनअगाडि नै नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन भन्दै भिडिओ पोष्ट गरेका थिए। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संसदीय सुनुवाइ समितिको बैठक ५ बजेका लागि सर्‍यो

काठमाडौँ । नैतिक चरित्रमा व्यापक प्रश्न उठेका निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अनुमोदन गर्नेरनगर्ने विषयमा निर्णयमा पुग्नका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार अपराह्न ५ बजेसम्मका लागि सारिएको छ । सोमबार बिहान साढे ११ बजेका लागि निर्धारित बैठक संवैधानिक परिषदबाट प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको विषयमा निर्णय लिन कांग्रेस एमाले छलफलमा रहेका कारण समितिको बैठक सारिएको हो ।

पोखराको स्कूल बस दुर्घटनामा आमाछोराको मृत्यु

काठमाडौँ । पोखरामा भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ । आज बिहान पोखरा महानगरपालिका–२१ छरछरे कृस्तीमा भएको बस दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी आरती बिक र उनका यूकेजीमा अध्ययनरत ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो । विद्यार्थी लिएर पोखरा–१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल स्कूलतर्फ फर्किँदै गरेको ग१क ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते भएको छन् । यसअघि २२ जना घाइते भएको जनाइएको थियो । घाइतेको गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बस घुम्तीबाट झन्डै ५० मिटर तल खसेको थियो ।

तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसीय समितिको बैठक बस्दै छ ।  विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।  विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक कार्ययोजनाका विषयमा छलफल हुनेछ।  विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल गर्ने कार्यसूची छ।  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनामाथि छलफल हुनेछ । बैठक  बिहान ११ः३० मा सुरु हुनेछ। 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यतालिका

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ।आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या र कृषि तथा पशुपक्षी विकास सम्बन्धी सांसदहरूका मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ। यस्तै, सभामुख देवराज घिमिरेले संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम ९२० बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्ने कार्यक्रम छ । यसैगरी, सभामुखले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। सांसद डा। तोसिमा कार्कीले ‘विपद व्यवस्थापनमा पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य सङ्कट पूर्व तयारी सम्बन्धमा छलफल गर्न आवश्यक भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

सङ्क्रमणकालीन न्यायलाई अन्तिम रुप दिने तयारी

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित कार्यदलको बैठक आज बस्दैछ।बैठक बिहान ८ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि शुक्रबार बसेको कार्यदलको बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि रहेका असहमतिमा सैद्धान्तिक सहमति भएको बताइएको थियो। कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा रहेका छन्। सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको र सरोकारवालासँग छलफल गरेपछि आज अन्तिम रूप दिन बैठक बस्न लागेको स्रोतले बतायो ।

ठूलो रूपान्तरणको प्रक्रियामा छौं : माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी पदाधिकारी बैठकमा अहिलेको परिस्थिति निकै जटिल र पेचिलो भएको नेताहरूले निष्कर्ष निकालेका छन् । तेस्रो दिन आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा वर्तमान परिस्थिति र पार्टी निर्माणको विषयमा पाँचजना नेताहरूले आ–आफ्नो धारणा राखेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।  ‘वर्तमान परिस्थितिबारेमा समग्रमै छलफल भएको छ । परिस्थिति अहिले निकै जटिल र पेचिलो छ। जनतामा गएर वर्गसितको ठूलो रूपान्तरणको प्रक्रियामा छौँ । सरकारमा बसेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा भएको कुरा सामूहिक रूपमा लिनुपर्छ । कमी कमजोरी पनि गम्भीर समीक्षा गर्नुपर्छ। सामूहिक रूपमा लिनुपर्छ’, सापकोटाले भने ।  आजको बैठकमा उपमहासचिवहरु गिरिराजमणि पोखरेल,जनार्दन शर्मा,सचिवहरू गणेश साह,हितमान शाक्य र कोषाध्यक्ष श्रीराम ढकालले धारणा राखेका थिए । बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने सापकोटाले जानकारी दिए ।

२०८४ मा चुनाव जितेर, भ्रष्टहरूलाई फेरि बढार्छौँ  : अध्यक्ष प्रचण्ड

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अबको निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने बताएका हुन् । अध्यक्ष प्रचण्डले भने, पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्वपूर्ण समयमा तपाईहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ। उनले १८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको गरेको बताए । प्रचण्डले भने, '१८ महिना सरकारको नेतृत्व गर्‍यौँ। हामीले असार २८ गते सरकार छोड्दा हामी विजयी भएर निस्किएका छौँ।हामी सुशासनका पक्षमा विजय भएर निस्किएका छौँ।भ्रष्टहरू मिलेर सरकार बनाएको कुरा बच्चा बच्चालाई पनि थाहा छ। यो कुरा जनतालाई पनि बुझाउन जरूरी छ।' पार्टी प्रवेश गर्दै युवा नेता जगदिश दाहालले प्रचण्ड सरकार इतिहासकै सबैभन्दा सफल सरकार भएको र प्रचण्ड सुशासनका नायक भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको बताए। कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल परित्याग गरी मकवानपुर जिल्लाका ६० जनाभन्दा बढी नेता(कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

सरकारले गिरीबन्धु र नक्कली भुटानी शरणार्थी अनुसन्धान तत्काल थाल्नुपर्छ : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकार माथि लागेको आरोप व्यवहारबाट खण्डन गर्नुपर्ने बताएका छन् । संघीय सरकारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले वर्तमान प्रधानमन्त्री केपी ओली जोडिएको गिरीबन्धु चिया बगान र नक्कली भुटानी शरणार्थीबारे तत्काल अनुसन्धान थाल्नुपर्ने बताए ।   ‘प्रधानमन्त्री र सिंगो मन्त्रिपरिषदलाई आग्रह गर्दछ। नक्कली भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु चिया बगानबारे सरकारले व्यवहारबाटै जवाफ दिनुपर्छ। अविलम्ब छानविन सुरु गर्नुपर्दछ । म माग गर्दछु ।गिरीबन्धुको ७० विगाहा जग्गा कांग्रेसले बेचेर खायो भन्ने प्रधानमन्त्री ओलीले को हो त्यो कांग्रेस देखाउनु पर्छ । नक्कली भुटानी शरणार्थीबारे पनि यथार्थ सार्वजनिक गराउनु पर्छ,’ उनले संसदमा बोल्दै भने। भ्रष्टाचार विरुद्धको अभियानमा गृहमन्त्रीले पूर्वाग्रहमुक्त अभियान चलाउनु पर्ने, अनुग्रह र स्टण्टमुक्त अभियान चलाउन उनले सुझाव पनि दिएका छन् ।   अर्को एक प्रशंगमा उनले गठबन्धनले संघदेखि प्रदेशसम्म सरकार बनाउँदा विरोधाभाष हुने प्रकृतिका मन्त्रीहरुलाई पनि जिम्मेवारी दिएको र यो गलत भएको बताए ।  विपक्षी कित्ताबाट उठेका प्रश्नलाई बिरोधको रुपमा मात्रै लिन नहुने उनले बताए ।  अहिले पनि विपक्षी दलहरुले उठाएका प्रश्नलाई सरकारले हेक्कामा राखेर समाधानको बाटोमा जानुपर्ने बताए । विश्वासमा लिन, सुन्न र साथमा लिएर हिड्न सरकारले विपक्षी दलहरुलाई पनि सम्बोधन गर्नुपर्ने उनको धारणा छ । 

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ । बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। प्रत्यक्ष प्रसारण

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी

काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक आज तेस्रो दिन पनि जारी छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि जारी बैठकमा वर्तमान परिस्थिति र पार्टी निर्माणमा बहस केन्द्रित भइरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।  बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थिति र आगामी कार्यभार सम्बन्धमा बैठकलाई ब्रिफिङ गरेका थिए। शनिवारसम्म वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू  अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, उपमहासचिवहरू वर्षमान पुन, शक्तिबहादुर बस्नेत, सचिवहरू राम कार्की, चक्रपाणि खनाल, हितराज पाण्डेले विचारको विकास र पार्टी निर्माणबारे धारणा राखेका थिए । १० वर्षपछि पहिलो प्रतिपक्षमा पुगेको माओवादीले गम्भीर समीक्षा गरी आगामी कार्ययोजना बनाउन लागेको छ।पदाधिकारी बैठकले स्थायी समिति बैठक बोलाउने प्रवक्ता सापकोटाले बताए। स्थायी समितिले एजेन्डा तय गरेपछि भदौमा केन्द्रीय समिति बैठक बोलाउने योजनामा रहेको छ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सोमबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक भोलि (सोमबार) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार दिउँसो १ बजे बस्ने बैठकले केन्द्रीय सदस्य टुंगो लगाउने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिए । पार्टी विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकोमा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ । सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी भुगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने नेता रायमाझीले बताए । रासस

नेकपा (माओवादी केन्द्र)पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) पदाधिकारी बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्ने जनाइएको छ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ। साथै पार्टीका आगामी रणनीति, सांगठनिक विषयहरुमा पनि छलफल हुने बताइएको छ। केही दिन यता पार्टीको सचिवालय बैठक लगातार बस्दै आएको छ।

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ९ बजे कानून,न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेश र छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानलाई अनुमोदन गर्ने/नगर्नेबारेमा निर्णय हुनेछ ।