प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ ।

बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

कोसीमा माओवादीका मन्त्रीले दिए राजीनामा

विराटनगर । कोसी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले राजीनामा दिएका छन् । शुक्रबार अपराह्न उनीहरूले मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।‌ माओवादीले सरकारलाई दिएको समर्थन भने तत्काल फिर्त नलिने भएको छ । नेकपा (एमाले) नेतृत्वको सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायण बहादुर मगर पर्यटन, वन तथा वातावरण मन्त्री थिए । यसैगरी बन्दना झागर पर्यटन राज्यमन्त्री थिइन् । केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन बनेसँगै कोसीमा माओवादी सरकार छाड्न खोजेको थियो ।मुख्यमन्त्री हिक्मत कार्कीले केही समय सरकारमै रहन आग्रह गरेका कारण केही ढिलो गरी राजीनामा बुझाएका हुन् ।‌ कोसीमा नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार छ ।‌

माओवादी पदाधिकारी बैठक भोलि पनि बस्ने, आजको बैठकमा के भयो ?

काठमाडौं । आज देखि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय पदाधिकारीको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाडा, कोटेश्वरमा शुरु भएको छ। बैठकमा राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे गम्भीर समीक्षा भैरहेको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्र राजनीतिक घटनाक्रमबारे  ब्रिफिङ गरे पश्चात पदाधिकारीले धारणा राखे। आजको बैठकमा अध्यक्षको ब्रिफिङ पछि वरिष्ठ उपाध्यक्ष नारायणकाजि श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव वर्षमान पुन अनन्त, सचिवहरू चक्रपाणी खनाल बलदेव, सुरेन्द्र कार्की पार्थ र हितराज पाण्डे उत्तमले आफ्ना भनाई राखेका छन्।  बैठकमा सरकारमा बसेर भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै सरकार छाड्नु परेको प्रचण्डले ब्रिफिङ गरेका थिए भने पदाधिकारीले पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा धारणा राखेका छन् । बैठकमा पदाधिकारीहरु बोल्नेक्रम जारी छ । बैठक फेरि शनिबार बिहान ११ बजे बस्ने छ ।

अब चेक बाउन्स भएपनि कालोसूचीमा नपर्ने

काठमाडौँ । अब चेक बाउन्स हुँदा पनि कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीतिमा उक्त व्यवस्था गरिएको हो । अब चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन हुने भएको हो। निर्माण व्यवसायीहरूलाई पनि कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा नराख्ने भएको छ। यसभन्दा पहिले चेक बाउन्सका आधारमा नै कालोसूचीमा राख्ने गरिएको थियो।  

माओवादीको पदाधिकारी बैठक जारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।  सरकारबाट हटेपछि पहिलो पटक बस्न लागेको बैठकमा पछिल्लो राजनीतिक अवस्था, आगामी योजना, पार्टी निर्माण लगायत विषयमा छलफल हुने उपाध्यायले बताए । साथै स्थायी समिति बैठक र केन्द्रीय समितिको बैठक बोलाउनेबारे छलफल हुनेछ ।

कोशी सरकारका माओवादी मन्त्रीले राजिनामा दिंदै

विराटनगर ।नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । शुक्रबार माओवादी केन्द्रका चार मन्त्रीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीबाट राजीनामा दिने भएका हुन् । कोशी प्रदेशमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री रहेका छन् ।भने वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री रहेकी छन् ।

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ।बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रले जनाएको छ । सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रको यो पहिलो पदाधिकारी बैठक हो।बैठकमा पछिल्लो केन्द्रीय समिति बैठक यताका समग्र परिस्थितिको समीक्षा हुने र पार्टीले आगामी कार्यदिशा तय गर्नेबारे छलफल हुने बताइएको छ । छलफल नयाँ समीकरण बनेपछिको वर्तमान राजनीतिक परिस्थति, शान्ति प्रक्रिया र पार्टीको संगठनलाई सुदृढ बनाउने विषयसँग सम्बन्धित हुने बताइएको छ ।

सभापति यादवले बोल्न नदिएको भन्दै पूर्वमन्त्री किरातीले गरे छलफल बहिष्कार

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति सभापति राजकिशोर यादव र नेकपा (माओवादी केन्द्र)का सांसद भनाभन भएको छ । बिहीबारको समितिको बैठकमा सभापति यादवले सांसद किराँतीलाई बोल्न समय दिएका थिए । बैठकमा सांसद किराँतीले १२ मिनेट भन्दा बढी समय बोलिसकेपछि एमसीसीबारे धारणा राख्न थाले । सो विषयलाई रोकेर सभापति यादवले प्राविधिक कुराहरुमा जान आग्रह गरे । सभापतिको आग्रहपछि किराँतीले एजेण्डा धेरै राख्ने अनि बोल्न नदिने भन्दै आपत्ति जनाए । सभापति यादव र सांसद किराँतीबीच भएको सवालजवाफ जस्ताको त्यस्तैः सुदन किराँतीः …हुनतः सार्वभौम सत्ताको कुरा गर्दा हिजो एमसीसी पनि त्यसैअन्तर्गत गयो त हाम्रो देश । सडकमा रक्तपात भयो, राँके जुलुस भयो । देश आन्दोलित भयो । सार्वभौम सत्ता त्यति कमजोर छैन होला तर अहिले कसले हात हाल्ने कसले काम गर्ने परिस्थिति पनि त्यस्तै छ । … सभापतिः मान्य ज्यु एक पटक समयको … सुदन किराँतीः के गर्नु एजेण्डा राखिरहाल्नु भयो, एजेण्डामा त बोलिसकौँ न । सभापतिः टेक्निकल कुरा राखौँ सुदन किराँतीः टेक्निकल त म कसरी राखौँ, राजनीतिक मान्छे । सुदन किराँतीः राजनीतिक व्यक्ति म, टेक्निकल कुरा त, कुन चाहीँ जहाँज कति घण्टा उडाएर त्यसको रिसाइक्लिङ कहिले हुन्छ रु म सक्दिन नि त । विषयमा नीति केन्द्रित भन्नु न सभापति ज्यु । कसरी टेक्निकल्ली, टेक्निकल्ली भन्नुहुन्छ । म त जान्दिन टेक्निकल्ली । म त पाइलट पनि परिनँ । सभापतिः यहाँ टेक्निकल विषयमा वहस हुने हो । सुदन किराँतीः राजनीतिक मान्छेले के गर्छ त ? सभापतिः ठिक छ, यहाँ विषयमा केन्द्रित हौँ न । सुदन किराँतीः केमा गर्दैछु त म । सभापतिः तपाईं राजनीति … सुदन किराँतीः सभापतिज्यु तपाईंले कसरी राख्नुभयो, राखेकै कुरामा म छलफल गरिरहेको छु । सभापतिः त्यही गरौँ न त । समय यहाँ कम छ । सुदन किराँतीः एजेण्डा किन राख्नुभएको त ? सभापतिः कुरा राख्नु त भयो नि । विषयमा अलिकति केन्द्रित होउँ न । सुदन किराँतीः म विषय भन्दा कसरी बाहिर गएँ । तपाईंले पो बुझ्ने समस्या भयो त यो । सभापतिः मान्यज्यु तपाईं अलिकित हद पार गर्दै हुनुहुन्छ । तपाईंले यहाँ… सुदन किराँतीः तपाईं यहाँ दोहोर संपाद गरेर नष्ट गर्ने, धेरै एजेण्डा राख्ने । सभापतिः तपाईं यहाँ … सुदन किराँतीः एजेण्डामा हामी बोल्न नपाउने रु के हो यो ? सभापतिः तपाईंलाई … सुदन किराँतीः तपाईं हठी की म हठी ? सभापतिः म कुरै । सुदन किराँतीः फेरेर कुरा गर्नुहुन्छ । सभापतिः तपाईं समयलाई ध्यान दिनु । सुदन किराँतीः सभापतिज्यु कोर्डिनेशन गर्नुस् । सभापतिः होइन, समयलाई त ध्यान दिनु … सुदन किराँतीः तपाईंले नयाँ मन्त्री छ त किन यति ४/४ वटा गर्नुभयो त । सभापतिः किन गरिँदैन । सुदन किराँतीः मलाई बोल्न दिँदा किन तपाईं रोक्नुहुन्छ । सभापतिः विषयमा राख्नुस् न । सुदन किराँतीः यत्रो पढ्नै थियो, अझै मैले छोट्याउन खोजेको । सभापतिः विषयमा राख्नुस् न । सुदन किराँतीः म त छोट्याउँदैछु, विषय केन्द्रित नभए के हो यो । अरु माननीयजतिले त मैले बोलेकै छैन त । ठिक छ मन्त्रीज्यु म बोलिनँ । सुदन किराँतीः तपाईंको पनि…टेप लाएर… सभापतिः मान्य हरि उप्रेतीलाई … हरि उप्रेतीः कारण कसले पहिल्याउने ? थोत्रा प्लेनको, पाइटको, को पाइलटको कारण की, गुगलको कारण । यो विषय पहिला छुट्याउन जरुरी छ जस्तो लाग्छ मलाई । सुदन किराँतीः सभापतिज्यु म लागेँ । तपाईंले आज धम्क्याउन बोलाउनुभएको रहेछ, धन्यवाद । हरि उप्रेतीः कसैले पनि धम्क्याएको छैन, बसौँ मान्यज्यु । सुदन किराँतीः म बस्दिन । हरि उप्रेतीः यति गम्भीर विषय छ, देशको स्थिति । सुदन किराँती झर्किंदैः गम्भीर विषयमा त कुरा राख्न पाउनुप¥यो नि । हरि उप्रेतीः राख्नुभयो त । त त्यत्रो… सुदन किराँतीः तपाईंले मलाई रुलिङ गर्ने की उहाँले गर्ने रु तपाईं फेरि रुलिङ गर्न थाल्ने रु सांसदहरुः बसौँ न मान्य ज्यु । हरि उप्रेतीः राम्रो विषय राख्नुभएको छ भन्दै छु त । सुदन किराँतीः एजेण्डामा कुरा गर्न नदिने भए किन एजेण्डा राख्नुभयो । सुदन किराँतीः म त छोट्याउँदै थिएँ । सभापतिः यसलाई कन्टिन्यु गरौँ । सुदन किराँतीः अरुलाई बोल्न भारी दिने, मलाई टेक्निकल कुरा गर् भन्ने । सभापतिः बसौँ बसौँ । सुदन किराँतीः म थोडी इन्जिनियर पढेको हो । म राजनीति गरेर आएको हो । सुदन किराँतीः तपाईं गर्नुस् टेक्निकल कुरा, छानबिन पनि तपाईं गर्नुस् । सुदन किराँतीः तपाईं दाइने झर्‍याे की देब्रे झर्‍याे हेर्नुस् । कस्तो बोल्नु दिनुहुन्न । सभापतिः हरि उप्रेतीज्यु बोल्नुस् । थप बोल्न नदिएपछि किरातीले समितिको बैठक नै बहिष्कार गरेर हिँडेका छन् । सभापतिले चार चार वटा मुद्दा छलफलका राखे पनि सम्बन्धित मुद्दामा बोल्न नदिएर अत्याचार गरेको किरातीको आरोप छ ।

शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा अब विशेषज्ञ सेवा

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १४ को शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु भएको छ । सेवाको एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहालले दुई जना सेवाग्राहीलाई टिकट प्रदान गरी उद्घाटन गरिन् ।  सेवाको औपचारिक उद्घाटन स्थानीय ७२ वर्षीय नन्दकला कुवँर र ७० वर्षीय मुक्तिबहादुर घिमिरेलाई बिशेषज्ञ सेवाको टिकट प्रदान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै विशेषज्ञ सेवा नियमित संञ्चालन गरिने बताइन्। जनताको स्वास्थ्य भन्दा ठूलो कुरा केही नहुने भन्दै उहाँले महानगरपालिकाले नगरबासीको स्वास्थ्यका लागि धेरै कार्यक्रकमहरु गर्दै आएको बताइन्। यस केन्द्रलाई नगर स्तरीय अस्पतालको रुपमा घोषणा गरेर सोही अनुसार काम अघि बढ्ने उल्लेख गरिन्। महानगर उपप्रमुख चित्रसेन अधिकारीले विशेषज्ञ सेवा गाउँमै पाएसँगै यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताइन्। महानगरको गाउँगाउमा पुगेर सेवा दिने योजनाअनुसार विशेषज्ञ सेवा सुरु भएको उनको भनाई थियो । केन्द्रबाट हरेक हप्ताको सोमबार, बुधबार र बिहिबार विशेषज्ञ सेवा प्रदान गरिने छ । पुरानो मेडिकल कलेज र भरतपुर आँखा अस्पतालको समन्वयमा केन्द्रबाट हप्ताको ३ तीन दिन विशेषज्ञ सेवा दिन लागिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सोमबार जनरल फिजिसियन, बुधबार प्रसुति तथा स्त्री रोग तथा रेडीयोलोजी सेवा र बिहिबार बाल रोग तथा नेत्र रोगको सेवा दिइने छ ।  २०२७ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा हाल मेडिकल अधिकृत ३ जना, पारामेडीक्स ९ जना, नर्सिङ् ८ जना, प्रयोगशालाकर्मी ४ जना, फार्मेसिस्ट २ जना, रेडियोग्राफर १ जना, सहित ३२ जना कर्मचारी कार्यरत रहेका छन् । यस केन्द्रले गत आर्थिक वर्षमा ४९ हजार ३७५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको केन्द्रको तथ्याङमा उल्लेख छ । केन्द्रले दैनिक १६५ जना विरामी सेवा दिने गरेको छ ।

सुनको मूल्य एकैदिन तोलामा २४ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो।

भाजपा कोषाध्यक्ष राजेश अग्रवाल आज नेपाल आउँदै

काठमाडौँ । भारतीय जनता पार्टीका कोषाध्यक्ष राजेश अग्रवाल आज नेपाल आउँदै छन् । कोषाध्यक्ष अग्रवालको यो नेपालको निजी भ्रमण भए पनि यहाँ उच्चस्तरीय भेटघाटको पनि कार्यक्रम रहेको बताइएको छ । नेपालमा भाजपा निकट रहेर काम गर्दै आएका एक स्रोतका अनुसार कोषाध्यक्ष अग्रवाल सत्ता पक्ष र विपक्षी दलका केही शीर्ष नेतासँग भेटघाट गर्नुका साथै केही मन्त्रीसँग पनि भेटघाटको कार्यक्रम रहेको छ । स्रोतका अनुसार कोषाध्यक्ष अग्रवाल कांग्रेस नेतृ एवं परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणामा  नेपाल आउन लागेका हुन् ।

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।  बैठकमा सङ्गठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यसूची रहेको छ । 

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । आजको बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने लगायत विषयमा निर्णय गर्ने नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गरिने उनको भनाइ छ। पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन् । सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । समावेशीको सिद्धान्तअनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ ।

संसद्का ६ वटा समितिको बैठक बस्दै, ईयूको ‘सेफ्टी लिस्ट’लगायतका विषयमा छलफल गरिने

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ। प्रतिनिधिसभाअन्तर्गतको पाँच र राष्ट्रियसभाअन्तगर्तको एउटा समितिको बैठक बस्न लागेको संसदीय सचिवालयले जनाएको छ ।  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ईयूको सेफ्टी लिस्ट तथा नागरिक उड्डयन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमतिका विषयमा छलफल हुनेछ ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगति सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।  बिहान ११ बजे बस्ने बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसल कवलहरूको सम्झौताका विषयमा पनि छलफल गर्ने कार्यसूची छ ।  कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । बैठक बिहान साढे ११ बस्नेछ ।  महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा बालबालिकाको शैक्षिक विकासमा युनेस्कोले खेल्दै आएको भूमिकाका विषयमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आजै बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।  सार्वजनिक लेखा समितिको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ ।  उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि, बजार अनुगमनको अवस्था, उपभोक्ता हक संरक्षण र प्रवर्द्धन सम्बन्धमा देखिएका समस्या र सुझाव सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

सात वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूचि

काठमाडौं । आज एकै पटक सात वटा संसदीय समितिको बैठक बस्दैछ ।जसअनुसार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक सुरु हुँदेछ । बैठकमा नेपाल सरकारले पछिल्लो समय छिमेकी मित्र राष्ट्रहरुसँग गरेको सन्धि सम्झौताहरुको विवरण र हालसम्मको कार्यप्रगति र मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयहरुमाथि छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ । बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिमा प्राप्त विधेयकहरुका सम्बन्धमा छलफल हुनेछ। त्यसैगरि बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीहरुमा छलफल हुनेछ भने बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । त्यस्तै संसदीय सुनुवाइ संयुक्त समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा निर्वाचन आयुक्त पदमा प्रश्तावित व्यक्तिको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।

केन्द्रीय कमिटीलाई पूर्णता दिन नेकपा एसले बोलायो बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक साउन १० गतेका लागि आह्वान गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषय निर्णय गर्ने नेता सोमप्रसाद पाण्डेले बताए ।  केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी सन्तुलन मिलाएर मनोनयन गरिने नेता पाण्डेले जानकारी दिए । पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन् ।   सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । समावेशीकरणको सिद्धान्तअनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ ।