प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। सोमबार अपराह्न १ बजेबाट सुरु भएको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिन लागेका छन्।

उक्त परिच्छेदमा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको पहिलो घण्टा निर्धारण गर्ने व्यवस्था रहेको छ।

गत असार ३० गते चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओलीको सांसदसँग यो पहिलो प्रश्नोत्तर हो। 

प्रधानमन्त्री ओलीले विश्वासघाती राजनीति गर्नुभयो : माधवकुमार नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासघाती राजनीति गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभा बैठकमा आइतबार प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विगतमा ओलीले स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भनेर आश्वासन दिएपनि बिचबाटोबाटै छाडेर अर्को बाटो लागेको भन्दै नेपालले कटाक्ष गरे। अध्यक्ष नेपालले भने, ‘पाँच वर्ष सँगै जाने, स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भन्ने सुन्दै आनन्द लाग्ने कुरा थियो। तर आफू स्वगतिर गयो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर र्पुयायो ।’ ओलीले विगतका घटनामा आत्मसमीक्षा गर्नुपर्ने बताउँदै नेपालले तिनमा आत्मालोचना गर्नसमेत सुझाव दिए। नेपालले ओलीको विगत सम्झाउँदै २०७८ असार २८ को बर्हिगमन सम्झिन भनेका छन्। ‘ओली जी तपाई हुन दिन सत्ताबाट आउट हुनुभएको थियो । त्यही दिन दिन इन हुनु भएको छ। बोलेको कुरा पुरा गर्नुभएन । जनता उत्साहित छैनन्। विगतबारे समीक्षा गर्न सामान्य अनुरोध गर्छु । नेतामा विश्वसनीयता र इमानदारता हुनुपर्छ। अहिलेसम्मको अनुभवबाट तपाईँले कस्तो शिक्षा लिनुभएको छ’, उनले भने।

ढुक्क छैनन् देउवा, भने- 'सहमतिप्रति एमाले दृढ रहने विश्वास लिएको छु'

काठमाडौं। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नयाँ समिकरण निर्माणको बेला कांग्रेस र एमालेबीचको सहमति कार्यान्वयन हुनेमा ढुक्क देखिएका छैनन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि समर्थन जनाउँदै सम्बोधन गर्दा देउवाले ओली अध्यनशिल र मिहनेती नेता भएको भन्दै प्रशंसा गरे तर सहमति कार्यानव्यन हुनेमा एमाले इमान्दार बन्नेमा संका व्यक्त गरे ।  गत असार १७ गते काँग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिको कार्यान्वयनप्रति काँग्रेस दृढ रहेको र दृढ रहिरहने अवगत गराउँदै सभापति देउवाले एमाले पनि यस कुरामा दृढ रहने विश्वास व्यक्त गरेको बताए।   ‘असार १७ गते नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिको कार्यान्वयनप्रति नेपाली काँग्रेस दृढ छ, दृढ रहिरहनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने, ‘साथै, नेकपा एमाले पनि यस कुरामा दृढ रहनेछ भन्ने कुरामा पूर्ण रूपले विश्वास छु। उनले नेपाली जनताको अपेक्षाअनुसार स्थिर सरकार, तीव्र आर्थिक विकास, रोजगारी सिर्जना तथा भौतिक संरचनाको शीघ्र निर्माण गर्न वर्तमान सरकार गठन भएको उल्लेख गरे। सभापति देउवाले संविधान संशोधन लोकतन्त्रको स्वाभाविक अभ्यास रहेको उल्लेख गर्दै संविधान संशोधन गर्दा सबै दलको सहमति खोजिने स्पष्ट पारे। ‘संविधान कार्यान्वयनको आठ वर्ष पूरा भएको छ। यसको सबल र दुर्बल पक्ष एवम् जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास हो,’ उनले भने, ‘संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ। नेपालमा क्रियाशील सबै राजनीतिक दलबीच संवाद र सहमतिबाट संविधान संशोधन गर्न उचित हुन्छ भन्नेमा हामी स्पष्ट छौं।’ सभापति देउवाले संसद्का दुई ठूला दल काँग्रेस र एमाले मिलेर बनेको सरकारले राजनीतिक स्थिरता, तीव्र आर्थिक विकास र समृद्धिका लागि काम गर्ने अपेक्षा गरे। ‘देश विकासका लागि सबैभन्दा पहिलो आवश्यकता स्थिर र मजबुत सरकार निर्माण गर्नु हो। आजको संसद्को संरचनालाई दृष्टिगत गरी स्थिर सरकारका लागि संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण भएको छ,’ उनले भने। नयाँ सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै समग्र अर्थतन्त्रलाई चलायमान बनाउने र दिगो शान्ति कायम गरी गतिशील अर्थतन्त्रको माध्यमबाट देशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राख्ने सभापति देउवाले विश्वास व्यक्त गरे। यसबाट राजस्व संकलनमा थप वृद्धि भई विकास निर्माणका जनआकांक्षा पूरा गर्न सकिने उनको भनाइ थियो। भ्रष्ट्राचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्फ लैजान आवश्यक रहेको उल्लेख गर्दै सभापति देउवाले विधिको शासन र संविधानको पूर्ण कार्यान्वयनका लागि कानुनको निर्माण, लगानीको वातावरण बनाएर अहिले देखिएको आर्थिक शिथिलता चिरेर आन्तरिक उत्पादन बढाउने तथा रोजगारीका अवसर सिर्जना गरिने बताए। ‘प्रधानमन्त्री ओली अत्यन्त मेहनती, अध्ययनशील र अनुभवी हुनुहुन्छ। उहाँको मन्त्रिमण्डलमा रहेका साथीहरू पनि योग्य र सक्षम हुनुहुन्छ,’ सभापति देउवाले भने, ‘ओलीको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्ने छ भन्ने मैले विश्वास लिएको छु। राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउन गठन भएको वर्तमान सरकार सफल हुने विश्वास लिएको छु।’ सात बुँदे सहमतिमा आगामी दुई वर्ष एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्ने र त्यसपछि चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति देउवाले गर्ने उल्लेख छ। काँग्रेसले प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको पक्षमा मतदान गर्ने उल्लेख गर्दै उनले अन्य दललाई पनि प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको पक्षमा मतदान गर्न अपिल गरे।  

प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी ओलीले संघीय संसदबाट विश्वास प्राप्त भएको छ।संघीय संसदको प्रतिनिधि सभामा संविधानको धारा ७६ (२) अनुसारको राष्ट्रपतिले गरेको नियुक्तिका विषयमा ओलीले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए।   ओलीलाई विश्वासको मत छ भन्ने पक्षमा एमालेसहित नेपाली कांग्रेस, जसपा, जसपा नेपाल, जनमतलगायतका पार्टीले मत दिए भने माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राप्रपा, राजमो, नेमकिपा, आम जनता पार्टी लगायतले विपक्षमा मतदान गरे।   प्रतिनिधि सभाको बैठकमा उपश्थित भएका २६३  जनामध्य ओलीको पक्षमा १८८  विपक्षमा ७४ र मत दिन्न भन्ने पक्षमा १ मत खसेको थियो। 

राजेन्द्र लिङ्देनको व्यंग्यः 'यो देशमा कांग्रेस-एमाले मात्रै भए देश कस्तो होला ?'

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र एमाले मिलेर मात्रै देश र जनताको आवश्यकता सम्बोधन गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावप्रति आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै लिङ्देनले सो कुरा बताएका हुन् । उनले नेपाली कांग्रेस र एमालेले राज्यका विभिन्न तहमा भएको समाजवेसी सहभागीको अधिकार खोस्न नसक्ने समेत बताए। नेपाली जनताले नेपाली कांग्रेस र एमाले मिलेर चलाएको देश देखेको बताउँदै व्यग्य कस्दै प्रश्न गरे -'यो देशमा कॉंग्रेस(एमाले मात्रै भए देश कस्तो होला ?' लिङ्देनले प्रधानमन्त्री केपी ओलीलाई अहिले विश्वासको मत दिन आवश्यक नरहेको बताए ।  ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने आवश्यकता छैन । यो विगतको निरन्तरता मात्रै हो ।’ उनले विकृतको अन्त्य हुने कुनै सम्भावना नरहेको भन्दै विगतमा राजाको मुख्यसचिवलाई कसले अख्तियारको प्रमुख बनायो भन्दै प्रश्न समेत गरे । ‘राजाको विरोध गर्ने, अहिले पनि समस्या पर्‍यो भने राजाको विरोध गर्ने तर राजाको मुख्यसचिव ल्याएर अख्तियार प्रमुख कसले बनाएको ? फाइल खोल्न थालेपनि महाभियोग फेरि तपाईँहरूले नै लगाएको होइन ? तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नाम नलिई उनले भने ।   

ओलीसँग वर्षमान पुनको प्रश्न- 'यो देश नेताले चलाउने कि बिचौलियाले ?'

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव, सांसद वर्षमान पुनले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार बिचौलियाले चलाउने शंका व्यक्त गरेका छन् । सरकार निर्माण गर्नुअघि गठबन्धन बनाउने बेलामा नै यसको पक्षमा सक्रिय भएका मानिसहरूको क्रियाकलापले देश कसले चलाउँदैछ भन्ने प्रश्न उठ्ने अवस्था देखिएको बताए ।  प्रधानमन्त्री केपी ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावप्रति आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै पुनले नेता र राजनीतिक दलले देश चलाउनुपर्ने बताएका हुन्। धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा बिचौलियाले चलखेल गरेको र त्यसमा ओलीले बिचौलियालाई साथ दिएको संकेत उनको थियो।आफूभन्दा अघि अर्थमन्त्री भएका काँग्रस नेता डा.प्रकाशशरण महत र आफूले बिचौलियाको चलखेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेको भन्दै उनले नयाँ अर्थमन्त्री विष्णु पौडेलले के गर्छन् भन्ने हेर्ने बताए।  ‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नलाई मभन्दा अगाडिको अर्थमन्त्रीले कोसिस गर्नुभयो।मैले पनि सकिन। अब अहिलेको अर्थमन्त्रीलाई त्यो जिम्मेवारी आएको छ।म यहाँ नढाँटीकन आमजनताका अगाडि भन्न चाहन्छु कि यो देश राजनीतिक दलले र नेताहरुले चलाउने हो कि बिचौलियाहरुले ?’, उनले भने, ‘यो जवाफ छिट्टै प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मेरो अपेक्षा नेताहरुले त्याग गर्नुभएको छ । बलिदान गर्नुभएको छ । जेल पर्नुभएको छ । युद्ध सबैबाट आउनुभएको छ । नेताहरुले देश चलाइदिनुस । पार्टीहरुले देश चलाइदिनुस् । बिचौलियाहरुले होइन ।’  पुनले आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले  सुशासन र भष्टाचारका मुद्धामा छानबिन र कारबाही अगाडि बढाएपछि काँग्रेस–एमाले मिलेको टिप्पणी गरे ।  उनले गिरिबन्धु ‘टी स्टेट’ र भुटानी शरणार्थी प्रकरणका विषयमा कारबाही अगाडि बढाएपछि सरकार ढलेको बताए । प्रतिपक्षमा रहँदा काँग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गिरीबन्धुको विषय उठाएको र परिवर्तित सन्दर्भमा पनि एजेण्डा छाड्दैनौं भनेको चर्चा गर्दै अब के हुन्छ भन्नेमा काँग्रेसलाई पनि प्रश्न उठाइने जनाए। ‘ कमरेड प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको विभिन्न फाइलहरु खोज्ने, छानबिन गर्न गर्दा। त्यसै गरी नक्कली भुटानी शरणार्थीलगायत गिरिबन्धु टी स्टेटसम्मका कुराहरु उठ्दै गर्दा नेपाली काँग्रेसका महामन्त्रीज्यूहरुले हाम्रा एजेण्डाहरु छाड्दैनौं भन्नुभएको छ। त्यसमा निश्चिय पनि नेपाली काँग्रसलाई पनि प्रश्न हुन्छ’, उनले भने, ‘हिजो यही हाउसमा अपोजिशनमा हुँदा गिरिबन्दधु टी स्टेश गिरीबन्धु टी स्टेट भन्नुभएको थियो।  यसमा के हुन्छ ? हामीले र नेपाली जनताले सही जवाफको अपेक्षा गरेका छन्।’ उनले दमकमा भ्यू टावर निर्माण गरी उर्जा(उत्पादनमा लगानी गरेको हो वा रोजगारी सिर्जनाको क्षेत्रमा लगानी गरेको भन्दै प्रश्न गरेका छन्। ‘विकासको मोडल कस्तो छ सम्माननीय प्रधानमन्त्री ज्यूको एक पटक फर्केर हेर्नुस् साढे तीन वर्षमा। दमकको भ्यू टावर कति अर्बको हो, प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा भ्यू टावर सुरू गरेपछि देशैभरिका ७५३ पालिकाहरूले गाउँगाउँमा भ्यूटावर बनाउन सुरू भएको होइन?,’ उनले प्रश्न गरे, ‘नेतृत्वले उर्जा उत्पादनमा लगानी गरेको हो कि रोजगारी सिर्जना गर्नेमा लगानी गरेको हो?’ त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भन्दै विदेशबाट लिइएको ऋणलाई त्यसमा प्रयोग गरेको पनि आरोप लगाए। त्यस्तै प्रकृतिको काम गर्न नहुने पनि उनले बताए। ‘प्रधानमन्त्री रोजगार कार्यक्रममा ऋण लिएर लगाएको अभ्यास छ।  जसमा जंगलको झारहरू उखेल्दै, क्याप लगाउने, केही ड्रेस लगाएर हिँड्ने अनि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भनेर केही कार्यकर्तालाई रोजगारी दिने अनि विदेशी ऋणलाई खर्च गर्ने ढंगले हुँदैन,’ उनले भने।

हामीले अनुसन्धान गर्दै गरेका व्यक्तिहरूलाई मन्त्री पुरस्कृत गरियो : रवि लामिछाने

काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेले आफूहरुले अनुसन्धान जारी राखेको व्यक्तिले बालकोटमा बसेर गीत गाएपछि आफूहरुलाई झस्काएको बताएका छन् । उनले विश्वासको मत दिन मन भए पनि प्रधानमन्त्रीको सुरुवातकै संकेतले झस्क्याएको बताए । उनले नेपाली कांग्रेसका नेता विनोद चौधरीप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । साथै, उनले अहिले प्रधानमन्त्रीले मन्त्रीहरु छनोट गर्दा आफुहरुले अनुसन्धानको दायरामा ल्याका व्यक्तिहरुलाई जोगाउँदै मन्त्री उपहार दिएर पुरस्कृत गरिएको उनले बताए ।   

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले दिए राजीनामा

बुटवल। लुम्बिनी प्रदेशका  मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिएका छन् ।

प्रधानमन्त्री ओलीले वाचन गरे काँग्रेस-एमालेबीचको सहमति, यस्ता छन् ७ बुँदा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेससँग भएको सात बुँदे सहमति वाचन गरेर सार्वजनिक गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेससँग भएको सहमतिबारे जानकारी गराएका हुन्। राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वको लागि आवश्यक संविधान संशोधन गर्ने, अर्थतन्त्रको समस्या समाधान गरेर देशमा रोजगारीको समस्या सिर्जना गर्ने बताए। प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारको दुई वर्ष ओली र त्यसपछि चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले गर्ने, राष्ट्रिय हितको रक्षा गर्न र भ्रष्टाचारको अन्त्य गरी सुशासन दिन न्यूनतम साझा कार्यक्रम तय गरी सरकार सञ्चालन गर्ने, राष्ट्रिय सहमतिको सरकारको लागि दुई ठूला दलको नेतृत्वदायी भूमिकाको आधारमा सरकारमा समान भूमिका रहने र अन्य दललाई पनि सहभागी गराउने, राष्ट्रिय सहमतिको सरकार गठनको भावना अनुरूप प्रदेश सरकार गठन र सञ्चालन गर्ने विषय समेटिएको बताए ।उनले सबै कुरा बाहिर आइरहेकाले लुकाउनुपर्ने कुरा केही नभएको बताए।यद्यपी उनीहरुले हस्ताक्षर गरेको सहमति पत्र भने अहिलेसम्म सार्वजनिक गरेका छैनन् । यस्ता छन् सहमतिका बुँदा १.आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ ९२० अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने।  २.राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदअनुकूलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने।  ३.अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय, व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने। आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने।  ४.राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकारको गठन भएको मितिले दुई वर्षसम्म नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने।  ५.राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीब्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने।  ६.राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताका आधारमा समान हैसियतमा सरकारमा सहभागीता रहने र अन्य दललाई समेत सरकारमा समावेश गर्ने।  ७.राष्ट्रिय सहमतिको सरकारको मर्म र भावनाअनुरूप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावनाअनुरूप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तीब्रता दिने।

उपसभामुख रानाको चरित्र हत्या गरेर मिडिया ट्रायल गर्न खोजियो : संसदमा सुमना

काठमाडौँ । रास्वपा सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा राना मगरलाई काँग्रेस सांसद रामहरि खतिवडाले मानव तस्कर भनेर चरित्र हत्या गरेको भन्दै मानव तस्करी गरेको प्रमाणित गर्न चुनौती दिएकी छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा काँग्रेस सांसद खतिवडाले उपसभामुख रानाको लेटर प्याड प्रयोग गरेर असम्बन्धित मानिसहरूलाई अमेरिका लैजान पत्र लेखेको भन्दै त्यसको छानबिन गर्न माग गरेका थिए । सांसद खतिवडा पछि बोलेकी रास्वपा सांसद श्रेष्ठले उपसभामुख राना माथि आरोप लगाएर मिडिया ट्रायल गरेकोमा आपत्ति जनाउँदै सबै सांसदको लेटर प्याडबाट के(के भएको छ सबैको छानबिन गर्नुपर्ने बताइन् । ‘मानव तस्करजस्तो गम्भीर आरोप तपाईँले आनन्दले डिक्लियर गर्नुभयो। ल डिक्लियर गरौँ न त भुटानी शरणार्थीको क्लियर गरौँ कसले गरेको हो भनेर त्यो आँट छ?’, श्रेष्ठले भनिन्, ‘एउटा महिला जो अप्ठेरो अवस्थाबाट यहाँ आउनुभएको छ उहाँलाई हेप्न नखोज्नुस् ।’ उनले विधि पद्धति बनाउने कुरामा छानबिन गर्न पार्टी तयार रहेको भन्दै मिडिया ट्रायल गरेर किन चरित्र हत्या गरेको भनेर प्रश्न गरिन्। साथै उनले संवैधानिक परिषदमा अल्पमतमा परियो भनेर उपसभामुखको चरित्र हत्या गरिएको भन्दै सबैलाई विधि पद्धति बनाउन आग्रह गरिन्।

संवैधानिक परिषद्लाई हेरेर उपसभामुखको चरित्र हत्या गरिएको हो भने सशक्त प्रतिवाद गर्छौँ  : माधव सापकोटा

काठमाडौँ । माओवादी केन्द्र सांसद माधव सापकोटाले संवैधानिक परिषद्को गणित हेरेर उपसभामुखको चरित्रमाथि प्रश्न उठाएको हो भने प्रतिपक्ष दलले सशक्त प्रतिवाद  गर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले राजनीतिक र नैतिक प्रश्न भए पनि चरित्र हत्या गर्ने काम नगर्न चेतावनी दिएका छन् ।  उनले भने– ‘उपसभामुखको एक वर्ष अगाडिको कुरा, राजनीतिक र नैतिक प्रश्न हो यो । यसलाई स्वीकार गर्नुपर्छ । संवैधानिक परिषदमा तपाईंहरु अल्पमतमा पर्नुभयो भनेर जुन उद्देश्यका साथ यसलाई हाई लाइट गरिएको छ, साँच्चै यदि त्यो कुरा हो भने मान्छेको आफ्नो अधिकारका प्रति, मान्छेको चरित्र हत्या गर्नेका प्रति यो संसद्ले पनि न्याय गर्नुपर्दछ । राजनीतिक र नैतिक प्रश्नमाथि छलफल गर्न सकिन्छ । संवैधानिक परिषद्मा तपाईंहरुलाई रातारात के निर्णय गर्नुपरेको छ, त्यो उद्देश्यद्वारा प्रेरित गरिएको हो भने हामी प्रतिपक्षले यसलाई सशक्त ढङ्गले प्रतिवाद गर्छौं । यो कुरा सबैलाई हेक्का होस् ।’  यस्तै सत्तापक्षका वरिष्ठ नेताले भारतमा गएर अर्को चुनावमा माओवादीलाई नबोक्ने बताएको उल्लेख भ्रष्ट्राचारले डुङ्डुङुती गन्हाएकाहरूले बोक्न आवश्यक नभएको बताए ।

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आइतबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  विश्वासको मत लिँदै छन्। प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने कार्यसूची  छ । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । यसैगरी, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।  

संसद् बैठक सुरु हुन अघि सिंहदरबारमा प्रचण्ड र माधव नेपालबिच भेट

काठमाडौँ । संसद् बैठक सुरु हुनु अघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ।  दुई नेताबिच आइतबार सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिनुअघि  नेताहरू प्रचण्ड र नेपालले भेटवार्ता गरेका हुन् ।  माओवादी केन्द्र, रास्वपा, राप्रपा र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने तयारी गरेका छन् ।

ओलीलाई विश्वासको मत नदिन एकीकृत समाजवादीको ‘ह्विप’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ‘ह्विप’ जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिए। उनले भने, “सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्नेछ। पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ।”

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन रास्वपाको ह्विप

काठमाडौँ । प्रधानमन्त्रीलाई विश्वासको मत नदिन राष्ट्रिय स्वतन्त्र पार्टीले ह्विप जारी गरेको छ । आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको हो ।  नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले प्रतिनिधिसभामा आज विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने कार्यसूची रहेको छ । प्रधानमन्त्रीको सो प्रस्तावको विपक्षमा मतदान गर्न रास्वपाले आफ्ना सांसदहरुलाई निर्देशन दिएको हो । संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको जानकारी दिएका हुन् ।