गण्डकी प्रदेश समन्वय परिषद कतारले मनायो ५ औं स्थापना दिवस

दोहा, कतार

गण्डकी प्रदेश समन्वय परिषद कतारले आफ्नो पाचौं स्थापना दिवस मनाएको छ ।

संस्थाले शुक्रबार भौतिक तथा भर्चुअल रूपमा कार्यक्रम गर्दै अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान सहित आफ्नो ५ औं स्थापना दिवस मनाएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले एनसिसि कतार समस्यामा परेका नेपालीको साथमा रहेको बताए । अध्यक्ष मुक्तदाले एनआरएनए कतारले कतारमा कुनै पनि नेपाली खान नपाएर भएर तथा टिकट काटन नसकेर नेपाल फर्कन नसक्ने अवस्था आउन नदिने बताए । एनआरएनए कतारले बिगत देखि नै गण्डकी प्रदेश समन्वय परिषद कतार सङ्ग समन्वय गरेर अगाडि बढेको भन्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताए ।

साथै उनले कतार सरकारले विभिन्न कारणले अबैध बनेका आप्रवासीको लागि बैध बनेर काम गर्न तथा आफ्नो देश फिर्ता हुनको लागी विभिन्न छुट सहितको सुविधा मार्च ३१ सम्म थप गरेकोले नेपाली समुदायलाई मौकाको फाइदा लिन अनुरोध गरे ।

कार्यक्रममा गण्डकी प्रदेश समन्वय परिषद कतारका प्रमुख सल्लाहकार हंसराज ढकाल, संस्थापक संयोजक एवं सल्लाहकार आश बहादुर गुरुङ, संस्थापक सचीव रमेश पौडेल, संस्थापक सदस्यहरु बिमल सुवेदी, बिल गुरुङ, मन प्रसाद गुरुङ, पदम गिरी, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समिती कतारका सभापति अजिज अली, नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारी, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष रामहरि गैरे, बिबेकशिल साझा सद्भाव समुह कतारका संयोजक गणेश कार्की, नेपाली महिला समाज कतारका अध्यक्ष सरिता भण्डारी पौडेल, प्रदेश समन्वय परिषदको तर्फबाट सुदुर पश्चिमेली नेपाली समाज कतारका अध्यक्ष परमानन्द भट्ट, जिल्ला संस्थाको तर्फबाट गोर्खा सेवा समाज कतारका अध्यक्ष रामजी खत्री र परिषद सदस्यको तर्फबाट सन्तोष क्षत्रीले शुभकामना मन्तव्य राखेका थिए ।

गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत
उपाध्यक्ष अजमत अली र संचालन महासचिव सन्तोष रेग्मीले गरेका थिए ।

माओवादीद्वारा सम्मेलनकाे साटाे आठौं महाधिवेशन गर्ने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनकाे पुर्व सन्ध्यामा आठौं महाधिजेशन गर्ने निर्णय गरेकाे छ । शनिबार बेलुका बसेको सो पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो । उक्त निर्णय पारित गर्न माओवादीले भाेलि बिहान केन्द्रीय कमिटीबैठक आयाेजना गरेका छ । बैठकले अनुमोदन गरेपछि मात्रै स्थायी कमिटीको निर्णयले वैधानिकता पाउनेछ । माओवादीले याे निर्णय अचानक किन गर्याे भन्ने खुल्न सकेकाे छैन । स्थायी कमिटी बैठकपछि शनिबार साँझ पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता कृष्णबहादुर पनि महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई सोझै महाधिवेशनमा लैजाने बताएका थिए । स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न आइतबार बिहान ८ बजे केन्द्रीय कमिटी बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ ।

प्रहरीको मोटरसाइकल लिएर कारागारका कैदी फरार

घोराही । दाङको घोराही कारागारका कैदीलाई भगाउन सहयोग गर्ने थप एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार तीन जनाको मिलेमत्तोमा भगाएको खुल्न आएको उनले बताए । एक जना प्रहरी जवान र दुई जना बाहिरका मान्छेको मिलेमतो रहेको पुष्टि भएपछि सोही अनुसार अनुसन्धान अघि बढाएको उनको भनाई छ । प्रहरी जवान धनबहादुर चौधरीलाई विहीबार नै पक्राउ गरि अनुसन्धान थालिएको छ । अन्य दुई मध्ये एक जनालाई पक्राउ गरि सकिएको र अर्का एक जनाको खोजी भइरहेको प्रहरी प्रमुख समेत रहेका काफ्लेले बताए ।‘तीन जनाको मिलेमत्तोमा भगाउन सहयोग गरेको खुल्न आएको छ, ति मध्ये एकजनालाई हामीले पक्राउ गरि सक्यौं’, उनले भने‘अर्का एकजनाको पनि खोजी कार्य भइरहेको छ ।’ अहिले अनुसन्धानमै रहेकाले उनीहरुको नाम भने केही समय पछि सार्वजनिक गर्ने प्रहरीले बताएको छ । कैदीका नाइके समेत रहेका उनलाई कर्तब्य ज्यान मुद्दामा २० बर्ष कैद फैसला भइ घोराही कारागारमा जेल जीवन विताई रहेका दाङ राजपुर गाउँपालिकाको बेलाका निवासी २७ बर्षीय जयराम परियार बिहीबार विहान ११ बजेतिर प्रहरी कै मोटरसाईकल लिएर भागेका थिए । छालाको विरामी देखिएका उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकालागि लगिएको र उपचारका क्रममा ति ब्यक्तीको हतकडी खोलिएको थियो । त्यही मौकामा उनी प्रहरीकै लु ३४ प ४१० नम्बरको मोटरसाईल चढेर फरार भएका हुन् । उनलाई प्रहरी जवान चौधरीले नै मोटरसाइकलमा राखेर अस्पताल लिएका थिए । घटनाका विषयमा प्रहरी जवान चौधरीले साँझ ४ बजे मात्रै खबर गरेपछि उनकै मिलेमतोमा भगाईएको आशंका गरिएको छ । ति कैदीले सातबर्ष जेल जीवन विताईकेका थिए ।

प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्षद्वारा राजीनामा ( विज्ञप्ति सहित )

काठमाडौ । प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष उदय जिएमले अध्यक्ष पदबाट राजीनामा दिएका छन । पार्टी भित्र दुई लाइनको संघर्षलाई स्वस्थ र स्वच्छरुपमा सञ्चालन नगरी एकअर्काको राजनीतिक जीवन र इतिहास समाप्त पार्ने प्रवृत्ति हावी हुँदै आएकाले आफू यस्तो फोहोरी खेलमा नलाग्ने बताउदै उनले राजीनामा दिनुपरेको बताएका हुन । पार्टीमा नेतृत्वले विचार र सिद्धान्तको पक्षधरतालाई व्यवहारको संकीर्णता र असहिष्णुताले थिच्दैमिच्दै आएको मनोरोगको शिकार यतिबेला नेपाल कम्युनिष्ट पार्टी (मसाल) तथा राष्ट्रिय जनमोर्चा र त्यसका भातृ तथा शुभेच्छुक संगठनहरु र तिनका नेता- कार्यकर्ताहरुले आफूले जिम्मेवारीबाट अलग हुनुपरेको बताएका छन । यस्तो छ विज्ञपति प्रेस विज्ञप्ति मैले २०४६ सालदेखि अविचलितरुपमा नेपाल कम्युनिष्ट पार्टी (मसाल) तथा राष्ट्रिय जनमोर्चानिकट रहेर उसको विचार, राजनीति, सिद्धान्तलाई सर्वोपरि ठान्दै आएको सबैमा अवगत नै छ । वैचारिक आस्थाका हिसावले नेकपा (मसाल)मा दृढ रहँदै पछिल्ला करीव २५ वर्ष नेपाली मूलधारको पत्रकारितामा सक्रिय रहेको पनि सबैलाई अवगत नै छ । यस अवधिमा शुरुका केही वर्ष पूर्णकालीन कार्यकर्ताका रुपमा अखिल भारत नेपाली एकता समाजका विभिन्नस्तरका समितिहरुमा क्रियाशील रहनुका साथै एकता समाजको केन्द्रीय कार्यालय सञ्चालन र मुखपत्र “नेपाली एकता”को प्रकाशनको जिम्मेवारी निर्वाह गरें । अखिल नेपाल जनजाति सम्मेलन (भारत शाखा)को जिम्मेवारीमा रहँदै मुखपत्र “जनजाति लहर”को प्रकाशनमा संलग्न रहें भने त्यसकै केन्द्रीय समितिको प्रकाशन विभाग र मुखपत्र “जनजाति आवाज”को प्रकाशनमा पनि संलग्न रहें । २०५४ सालयता मूलधारको नेपाली पत्रकारितामा क्रियाशील रहेतापनि प्रगतिशील पत्रकार संघको संस्थापक केन्द्रीय सदस्य, दुईपटक महासचिव हुँदै हाल संघको अध्यक्षको रुपमा क्रियाशील छु । यही निरन्तरता र क्रियाशीलताका कारण अघिल्लो कार्यकालमा नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव हुँदै हाल केन्द्रीय उपाध्यक्षको जिम्मेवारी बहन गरिरहेको अवगतै छ । नेपाली कम्युनिष्ट आन्दोलन टुटफुट, विभाजन, एकता अनि ध्रुवीकरणको प्रक्रियाबाट अगाडि बढ्दै आएको इतिहास छ । विचार र सिद्धान्तमा मतैक्यता नभएपछि दुई लाइनको संघर्षलाई स्वस्थ र स्वच्छरुपमा सञ्चालन नगरी एकअर्काको राजनीतिक जीवन र इतिहास समाप्त पार्ने प्रवृत्ति छ । विचार र सिद्धान्तको पक्षधरतालाई व्यवहारको संकीर्णता र असहिष्णुताले थिच्दैमिच्दै आएको पनि इतिहास छ । यही रोगको शिकार यतिबेला नेपाल कम्युनिष्ट पार्टी (मसाल) तथा राष्ट्रिय जनमोर्चा र त्यसका भातृ तथा शुभेच्छुक संगठनहरु र तिनका नेता÷कार्यकर्ताहरु भइरहेका छन् । केही आरोपहरु र कथित आरोपहरु, केही विमतिहरु र कथित विमतिहरुको पुलिन्दा बाँधेर अर्को पक्षलाई खुइल्याउने र समाप्त पार्ने अभियान चलिरहेका छन् । यस्तो अवस्थामा डिलमा बसेर रमिता हेर्न नसकिने भएकाले आजैको मितिदेखि प्रगतिशील पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा नरहेको र स्वतन्त्र भएको जानकारी गराउँछु । यसक्रममा हाइस्कूल पढ्दा नै मनमस्तिष्कमा राजनीतिक चेतको बिजारोपण गरिदिने आदरणीय गुरु कृष्णबहादुर महरा, भारतमा रहँदा संगठित गर्नेदेखि मेरा हरेक कदमहरुमा साथ, सहयोग र समर्थन गर्नुहुने आदरणीय महेश जीसी, मित्रलाल शर्मा, गिरधारीलाल न्यौपाने, डिलाराम आचार्य लगायतका नेतागणहरुलाई सम्मान व्यक्त गर्न चाहन्छु । मलाई संगठनको उच्च जिम्मेवारी प्रदान गर्नुहुने श्रद्धेय नेताहरु नेकपा (मसाल)का महामन्त्री क. मोहनविक्रम सिंह, वरिष्ठ नेता आदरणीय चित्रबहादुर केसी, दुर्गा पौडेल, कृष्ण अधिकारी, सुरेश थापालगायतका नेतृत्वगणप्रति उच्च सम्मान व्यक्त गर्दछु । संघका निवर्तमान अध्यक्ष नारायण शर्मा तथा रामसिंह श्रीस र परि थापालगायतका नेताहरुलाई पनि यो अवसरमा सम्झन चाहन्छु । प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरु र देशैभरका सम्पूर्ण सदस्य साथीहरुले मप्रति देखाउनुभएको सदाशयता, सद्भाव र सहयोगको उच्च प्रशंसा र सम्मान व्यक्त गर्दछु । र, नेपाल पत्रकार महासंघको उपाध्यक्षको भूमिकामा उत्तिकै हार्दिकता, उत्तिकै सद्भावका साथ यहाँहरुका हरेक सुखदुःख, खुशी, पीडा र हर्षमा यहाँहरुकै माझमा रहने विश्वास दिलाउन चाहन्छु । अन्तमा, मेरो यो कदमपछि हरेक कोणबाट आउने आलोचना, गाली, ताली, सुझाव, सल्लाह र उत्प्रेरणाहरुलाई सहर्ष शिरोपर गर्नेछु । धन्यवाद ! उदय जीएम ७ पुस २०७८

उपाध्यक्षसहित गाउँपालिकाका २६ जनप्रतिनिधिद्वारा ओलीले उदघाटन गर्ने कार्यक्रम बहिस्कार

पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालय उद्घाटन कार्यक्रम गाउँपालिकाकी उपाध्यक्षसहित २६ जना जनप्रतिनीधिहरुले बहिस्कार गरेका छन् । गाउँपालिकाको भवन निर्माणमा आर्थिक अनियमितता गरेको आरोप लगाउँदै उपाध्यक्ष बिसमिल्लाह खातुनसहित २६ जना जनप्रतिनीधिहरुको बुधवार बसेको बैठकले कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको हो । कार्यालय उद्घाटन कार्यक्रममा समेत गाउँपालिकाकै उपाध्यक्षलाई जानकारी नगराइएको र आफुले अरुलाई पठाएको निमन्त्रणा कार्डबाट थाहा पाएको उपाध्यक्ष खातुनको भनाई छ । कार्यालय उद्घाटन कार्यक्रम सर्वसंवत रुपमा छलफल नै नगरी मनोमानी ढंगले गर्न. खोजेको भन्दै कार्यक्रममा कोही पनि उपस्थित नहुने निर्णय गरेको बैठकमा सहभागी वडा नम्बर ३ का वडाअध्यक्ष नगीना राउत अहिरले बताए । नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । स्रोतकाअनुसार उक्त कार्यक्रमकै लागि गाउँपालिकाभित्रका विद्यालय बन्द गरेर शिक्षक, विद्यार्थी तथा अभिभावकलाई पनि कार्यक्रममा उपस्थित हुन गाउँपालिकाको शिक्षा शाखाले निर्देशन जारी गरेको भन्दै यसको सर्वत्र विरोध भइरहेको छ । उपाध्यक्ष खातुनसहित वडा नम्बर २ का वडाअध्यक्ष प्रभु प्रसाद कुर्मी, वडा नम्बर ३ का वडाअध्यक्ष नगीना राउत अहिर, वडा नम्ब्र ५ का वडाअध्यक्ष बिहारी महतो नुनिया, कार्यपालिका, सदस्य, वडा सदस्य लगायत २६ जना जनप्रतिनीधिहरुले उक्त कार्यक्रम बहिस्कार गरेका हुन् । yatrdaily.com बाट साभार ।

ओलीले एमसिसीलाई गठबन्धन भत्काउने रणनीति बनाउन खाेजेका छन्- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष ओलीले एमसीसीलाई रणनीतिका रूपमा प्रयोग गरिरहेको दाबी गरेका छन् । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस एमसीसीकाे पक्षमा रहेकाे बेला एमालेले यसलाई गठबन्धन भत्काउने हतियारका रुपपमा उपयाेग गरेेकाे उनकाे भनाइ छ । प्रचण्डले एमसीसी सहितका विषयलाई समातेर प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “सत्तारूढ गठबन्धन भत्काउन खोजेको” आरोप लगाउँदै त्यसप्रति आफूहरू सतर्क भएको टिप्पणी गरेका छन्। नेकपा माओवादी केन्द्रले परिमार्जन विना एमसिसि पारित गर्न नसकिने अडान लिएकाे छ । “अहिले पनि उहाँले लगातार सदन अवरूद्ध गर्नुको पछाडि उहाँले सर्त राख्नुभएको तपाईँ हामीले सुनेका छौँ। गठबन्धन टुट्छ भने उहाँले नेपाली कांग्रेसलाई एकलौटी सरकार बन्न दिने। यदि नेपाली कांग्रेसले गठबन्धन छाडेर एमालेसँग मिल्न जाने हो अथवा एमालेको समर्थन लिन जाने हो भने नेपाली कांग्रेसलाई एकलौटी चलाउन दिने। गठबन्धन टुट्ने हो भने एमसीसी पास गर्न सहयोग गरिदिने। उहाँले खुलेआम दिएको तर्क, के यो लोकतान्त्रिक तर्क हो?” उनले भने । झन्डै ६० अर्ब रुपैयाँ बराबरको सो अमेरिकी आर्थिक अनुदान सहायता कार्यक्रम अघि बढाउने विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका थिए। त्यसमा कुनै निष्कर्षमा नपुगेपछि अध्ययन गर्न तीन प्रमुख दलका नेता सम्मिलित एउटा समिति बनाइएको छ।

मातृका पोखरेलको नेतृत्वमा जनसांस्कृतिक महासंघको नयाँ कार्यसमिति चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रको सांस्कृतिक मोर्चाका रुपमा परिचित जनसांस्कृतिक महासंघ नेपालको अध्यक्षमा माृतका पाेखरेल चयन भएका छन् । जनवादी सांस्कृतिक आन्दोलनको अग्रमोर्चामा रहेको जनसांस्कृति महासंघको काठमाडौंमा भएको सम्मेलनबाट कार्यसमिति चयन भएको हो । नियुक्त भएका १० उपाध्यक्षहरुमा विक्रम कुवर, कर्णबहादुर परियार, केशव शिलवाल, देवेन्द्र थुम्केली, प्रगति महरा, भीम कुमाखी, राकेश किराँती, केपी पाठक, सुदिन चौधरी र चेतन सापकोटा  रहेका छन् । १३ सदस्यीय पदाधिकारीमा एक उपाध्यक्ष, महासचिव र २ सचिव भने चयन गर्न बाँकी छ । त्यस्तै सचिवमा केशरी घर्तीमगर चयन भएकी छन् । महासचिवमा सुवर्ण हमाल र केशर कालिकोटेले दावी गरेपछि केन्द्रीय समितिले उपयुक्त समयमा सर्वसम्मतको प्रयास गर्ने बताइएको छ । कोषाध्यक्षमा भने विमला केसी चयन भएकी छिन् । पदाधिकारी बाहेक ९५ सदस्यीय केन्द्रीय सदस्य चयन गरिएको छ । लेखक संघ, चलचित्रकर्मी संघ, नाट्यकर्मी संघ, कलाकार संघ लगायतका सात ओटा घटक मिलेर जनसाँस्कृतिक महासंघ गठन भएको र यसले जनसंस्कृति विकासका लागि काम गर्ने उपाध्यक्ष कुँवरले बताए । “हाम्रो काँधमा समाजवादी क्रान्तिको सांस्कृतिक मोर्चाको जिम्मेवारी आएको छ । हिजो जनयुद्दमा पनि हामी उल्लेख्य भूमिका छौं, नयाँ परिस्थितिमा नयाँ खाले क्रान्तिका लागि हामी रणनीतिकरुपमा अघि बढ्नेछौं ।” उनले भने ।  

पूजाको विषयलाई लिएर दुई पक्षबीच झडप, एक जनाको मृत्यु

महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आज दिउँसो दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोनमा गाउँपालिका–२ तरहारी गाउँका ५० वर्षीय रामप्रसाद यादव रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए। सुन्दरपुरका ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा तथा तरहारीका ५० वर्षीय रामप्रसाद यादवबीच सुन्दरपुरको मैनटोलमा विश्वकर्मा मेलामा पूजाको विषयलाई लिएर विवाद भएको थियो। विवादले उग्ररूप लिएपछि दुबै पक्षबीच भएको कुटाकुटमा रामप्रसाद यादव बेहोस भएर बाटोमै ढलेका थिए। त्यसको केहीबेरमै उनको मृत्यु भएको स्थानीयबासीले जानकारी दिए। घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको र शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। रासस

वीरगञ्जमा दुई किशोरको डुबेर मृत्यु

वीरगञ्ज । पाेखरीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । वीरगञ्ज–१२ स्थित मुर्ली पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुवै जनाको मृत्यु भएको हो। वीरगञ्ज महानगरपालिका–१५ का १७ वर्षीय आशिषकुमार साह र १२ वर्षीय प्रितम साहको मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिएका छन् । दुवै जना किशोर शुक्रबार दिउँसो घरबाट खेल्न भनी निस्किएको र अपरान्ह ४ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजी शुरु गरेका थिए । मुर्ली पोखरी नजिकै उनीहरुले लगाएको लुगा र चप्पल फेला परेपछि पोखरीमै डुबेको आशंकामा उनीहरुको खोजी शुरु गरिएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा शनिबार बेलुका ८ बजेतिर उनीहरुलाई पोखरीमा फेला पारी निकालिएको थियो । त्यसपछि तराई हस्पिटल लगिएकोमा अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको थियो । आशिष सगरमाथा बोर्डिङ स्कुलको कक्षा ९ मा र प्रितम कक्षा ६ मा अध्ययनरत् थिए ।

राप्तीमा एक जनाको हत्या, छिमेकी पक्राउ

काठमाडौं । पूर्वी चितवनको राप्तीमा एक जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीका अनुसार राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । कान्छाको हत्यामा संगल्न भएको आरोपमा छिमेकी दशरथ ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । दशरथले कान्छाको टाउकोमा फलामको गलले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका उनीहरूले सँगसँगै खानपिन गरेको र सोही क्रममा विवाद हुँदा दशरथले आक्रमण गरेको प्रहरीको भनाइ छ । घटनास्थलबाट शवसँगै हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बीच झडपसमेत भएको थियो । स्थानीयले पक्राउ परेका व्यक्तिमाथि आक्रमण गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । भीड नियन्त्रण गर्न प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो ।

अमेरिकासँग नेपाल हार्नुका मुख्य चार कारण

१. खराब सुरुवात र अन्त्य नेपाल हार्नुको मुख्य कारण पर्याप्त रन बनाउन नसक्नु नै हो । आज पनि नेपालको ब्याटिङ कमजोर रह्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले अर्धशतक पूरा गर्न सकेनन् । विनोद भण्डारी (११), आसिफ शेख (३), रोहित पौडेल (२), कुशल मल्ल (०), सोमपाल कामी (२), करण केसी (१२) सस्तैमा आउट भए । नेपालको न सुरुवात राम्रो भयो नत अन्त्य नै । नेपालले पहिलो विकेटका रूपमा आसिफलाई ३ रनमा गुमाएको थियो । उनी आउट भएपछि कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लबीच साझेदारीले आकार लिँदै थियो । तर, कुशल आउट भएपछि नेपालको विकेट पतन रोकिएन । विनोद, कुशल, करण छक्का हान्ने धुनमा आउट भए । मध्यक्रमका ब्याट्सम्यानको खराब प्रदर्शनले पनि नेपाल पराजित हुन पुग्यो । २. खराब फिल्डिङ नेपाल हार्नुका अर्को कारण खराब फिल्डिङ पनि हो । अमेरिकन ब्याट्सम्यानले बेलाबेला विकेट लिने अवसर दिए । तर, खराब फिल्डिङका कारण नेपालले विकेट लिन सकेन । ७.२ ओभरमा स्टिभन टेलर व्यक्तिगत ४२ रन बनाइरहेको अवस्थामा क्याच आउट हुने थिए । तर, कुशल भुर्तेलले क्याच छुटाउन पुगे । ३. टस हार्नु ओमानको यो पीचमा पहिला बलिङ गरेका टिमले बढी म्याच जितेका छन् । अमेरिकाविरुद्ध पनि त्यस्तै भयो । टस हारेर ब्याटिङ गरेको नेपालले १७४ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको अमेरिकाले २९.३ ओभरमा लक्ष्य भेट्टायो । अमेरिकासँगको पहिलो खेलमा नेपाल विजयी भएको थियो । सो खेलमा नेपाल लक्ष्य पछ्याउँदा विजयी भएको थियो । ४. टेलरको उत्कृष्ट ब्याटिङ नेपाल हारको कारण टेलरको उत्कृष्ट ब्याटिङ पनि हो । उनलाई रोक्न नसक्दा नेपाल पराजित हुन पुग्यो । टेलरले ९२ रनको पारी खेले एकदिवसीय क्रिकेटमा उनको यो हालसम्मकै उत्कृष्ट पारी हो । करण केसीलाई बलिङमा ढिला ल्याउनु पनि हारको कारण हो । उनको स्थानमा कुशल भुर्तेल, कुशल मल्ल, गुल्शन झालाई बलिङमा मौका दिइएको थियो । करणले ढिला मौका पाए । उनले ढिला मौका पाउँदा पनि लगातार दुई विकेट लिएका लिए ।

खराब प्रदर्शनः २ ओभर बाँकी छँदै १७८ रनमैं समेटियो नेपाल

काठमाडौ । क्रिकेट वर्ल्डकप लिग अन्तर्गत आज भएको खेलमा नेपालको खराब प्रदर्शन रहेको छ । टस हारेर ब्याटिंग गरेको नेपालका मध्यमक्रमका खेलाडी नचल्दा अमेरिकाले नेपाललाई सस्तैमा रोक्न सफल भएको हो । नेपालले ४८ ओभरको खेलमा १७४ रन मात्र बनाएको छ । आजको खेलमा कप्तान ज्ञानेन्द्र मल्लले भने कीर्तिमान कायम गरेका छन् । राष्ट्रिय टोलीमा डेब्यूट्यान्ट गुल्शन झासँग ५१ रनको साझृदारी गर्दै कप्तान मल्लले नेपालका लागि महत्त्वपूर्ण ५० रन पूरा गरे । ज्ञानेन्द्रले १०५ बलमा ३ चौकासहित ५५ रनको इनिङ खेलेका थिए ।एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाविरुद्ध डेब्यू गरेका युवा क्रिकेटर गुल्सन झाले भने २८ रन बनाएका छन्। छैटौं नम्बरमा मैदानमा प्रवेश गरेका उनले ५२ बलमा एक छक्का र दुई चौकाको सहयोगमा २८ रन बनाएका हुन्। ओपनर कुशल भुर्तेल ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख ३ रनमा आउट भए । त्यस्तै, रोहित पौडेल २ मा पेभेलियन फर्किँदा विनोद भण्डारीले १० रन मात्र जोडेर आउट भए । डेब्यूट्यान्ट गुल्शनले ५३ बलमा २ चौका र १ छक्कासहित २८ रनको योगदान गरे । त्यस्तै कुशल मल्ल, सोमपाल कामी २ र करण केसी १२ रन बनाएर पेभेलियन फर्केका थिए । त्यस्तै सन्दीप लामिछाने ११ रन जोडेर अन्तिम विकेटको रूपमा आउट हुँदा सुशन भारी २ रनमा अविजित रहे । अमेरिकाका लागि कप्तान सौरभ नेत्राभल्करले ४, काएल फिलिपले २ तथा करिमा गोर, एल्मोर हचिन्सन र नोस्ठुस केन्जिगेले १/१ विकेट लिए ।

भरतपुर महानगरद्वारा भरतपुर अस्पताललाई ५० लाख बराबरको सामग्री प्रदान

भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई झन्डै ५० लाख बराबरको कोभिड १९ सम्बन्धित स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालबाट अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी, मेसु डा कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण भएको हो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले कोभिड १९ को उपचारमा भरतपुर अस्पतालले खेलेको भूमिकाबारे चर्चा गरिन् । कार्यक्रममा प्रमुख दाहालले काठमाडौँलगायत विभिन्न जिल्लाबाट हेलिकोप्टरबाट कोभिडका बिरामीलाई भरतपुर अस्पतालमा उपचारको लागि ल्याइएको र उपचारमा धेरै बिरामीहरु ठीक भएको बताइन् । कार्यक्रममा उनले भनिन्, ‘त्यो गरिमालाई भरतपुर अस्पतालले जोगाइराख्नुपर्छ ।’ कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरले दिएको स्वास्थ्य सामग्रीको सही सदुपयोग गर्दै सेवालाई सेवालाई अझ बढी प्रभावकारी बनाउन अस्पताल टिमलाई निर्देशन दिएकी थिइन् । मित्रराष्ट्र चीनको सिगात्से सिटी र बेइजिङ एग्रो बायोटिकले महानगरलाई उपलब्ध गराएको स्वास्थ्य सामग्री भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा सांसद गीता वाग्लेले भरतपुर अस्पतालको सेवा प्रभावकारी भइरहेको र अझ यसलाई झन् प्रभावकारी बनाउनुपर्ने बताइन् । अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले भरतपुर महानगरबाट अस्पतालको विकास निरन्तर सहयोग भइरहेको बताए । कार्यक्रममा मेसु डा कृष्णप्रसाद पौडेलले सबैको सल्लाह र सुझावअनुसार नै अस्पताललाई अगाडि बढाउने बताए । अस्पताल विकास समितिका सदस्य मुकुन्द दाहालले अस्पतालको विकासमा भरतपुर महानगरपालिकाको सहयोगले नै अस्पताल यहाँसम्म आइपुगेको बताए । कार्यक्रममा २०७८ सालको भरतपुर अस्पतालको पहिलो अंक बुलेटिनको विमोचनसमेत गरिएको थियो ।

नेपालले आज अमेरिकासँग खेल्दै, नेपालले पहिले ब्याटिङ गर्ने, गुल्शनकाे राष्ट्रिय टिममा डेब्यू

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। ओमानको अल अमिरत रंगशालामा अमेरिकाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। ओमानमा टस जितेको अमेरिकाले नेपाललाई ब्याटिङको निम्तो दिएको छ । नेपाली टोलीमा खेलाडी परिर्वतन भएको छ । विक्रम शोवको स्थानमा गुल्सन झा आएका छन् । योसँगै गुल्शल राष्ट्रिय टिममा डेब्यू गर्नेछन्। यसअघि नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले नै हारेको थियो। विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। यसअघि नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले नै हारेको थियो। विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। नेपालले हालसम्म ओमान र अमेरिकासँग तीन-तीन खेल खेलिसकेको छ। नेपाल ६ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ। ओमान १२ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको १४ खेलबाट १२ अंक छ।

ओलीसँग कुरा भयो, बजेट रोकिँदैन, संसदको गतिरोध हट्छ- मन्त्री कार्की

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताएका छन्। विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन्। मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबारै छलफल भएको पनि बताए। अत्यावश्यक अध्यादेश पारित गर्न सहयोग गर्न आग्रह गरिएको उनको भनाइ थियो। उनले मुलुकमा दीगो शान्ति र समृद्धिका निम्ति सहमति र सहकार्य आवश्यक भएको बताए। साथै उनले एमसिसी विकास परियोजना भएकाले यसलाई राजनीतिकरण गर्न नहुने बताए।

एमाले नेता रामबहादुर थापा ‘बादल’ले रोचक चुटकिला सुनाएपछि…

काठमाडौं । बिहिबारका दिन नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका नेता रामबहादुर थापा बादलले बाग्मती प्रदेश इन्चार्जको सम्मान पाए । तत्कालिन माओवादी केन्द्रमा छँदा प्रचण्डपछि तेश्रो बरियतामा रहेका बादलले प्रदेश इन्चार्जको पद पाउन हम्मेहम्मे नै गर्नुपर्यो । उनलाई इन्चार्जको रुपमा मञ्चमा बोलाउन उदघोषकलाई प्रशिक्षित गरिएको थियो । कार्यक्रमअघि छलफलपछि मात्रै बादललाई इन्चार्जको रुपमा बोलाउने निर्णय भएको थियो । एमाले जेठ २ गतेमा फर्किएपछि स्वभाविकरुपमा अष्टलक्ष्मी शाक्य प्रदेश इन्चार्ज हुन । तर मध्यपन्थीहरुसँग दश बुँदे सहमति अघि नै अध्यक्ष ओलीले रामबहादुर थापाको योगदानको कदर गर्दै उनलाई प्रदेश इन्चार्ज बनाएका थिए । दशवर्षे युद्धमा प्रचण्डको समेत पर्यायवाची बनेका बादललाई पार्टीको माथिल्लो वरियतामा राखेर इश्वर पोखरेलदेखि आफ्ना अरु खास नेताहरुको समकक्षीमा राख्न ओलीले चाहने कुरा थिएन । प्रचण्डविरुद्ध बादलहरुलाई उपयोग गर्ने काम भइसकेको थियो । त्यसैले बादललाई प्रदेश इन्चार्जमा थन्क्याइएको थियो । तर दश बुँदेले बादल त्यहाँबाट पनि हटने अवस्था आएपछि बिहिबारको कार्यक्रममा उदघोषकलाई निर्देशन नै दिएर बादललाई इन्चार्ज भनेर मन्चमा बोलाउन भनिएको थियो । जे होस, बादलले इन्चार्जको उदघोषणसँगै मन्चमा आसन जमाए । अनि बादलको भाषण गर्ने पालो आयो । उनी माइकनेर उभिए । उनका अगाडि एमाले पंक्ति थियो । माओवादीप्रति असहिष्णु पंक्ति, माओवादी हत्यारा नै हुन भन्ने पंक्ति । र, तिनका अगाडि त्यही माओवादी र त्यही हत्यारा भनिने जनयुद्धकालका नायक बादल । अनि बादलले एउटा मज्जाको चुटकिला सुनाए । उनले सुनाएको चुटकिला थियोः ओली नेतृत्वको एमाले क्रान्तिकारी पार्टी हो । यसमा दुईवर्षदेखि दक्षिणपन्थी, पूँजिवादीहरुले कब्जा गर्न खोजे । अन्तमा दक्षिणपन्थीहरु पार्टीबाट बाहिरिए । चुटकिला यतिमा मात्रै रोकिएन । उनले प्रचण्डको नाम लिँदै भने, प्रचण्ड दक्षिणपन्थीसँग मिसिए । अब क्रान्तिकारी समाजवादी धार ओलीले प्रतिनिधित्व गरेका छन् । यो चुटकिलालाई बिट मार्दै उनले भने, अब एमाले वर्गसंघर्षको माध्यमबाट क्रान्तिकारी पार्टीको रुपमा उदाउँछ । इतिहासले गर्ने कतिपय मजाकहरुमा यो पछिल्लो समयको उत्कृष्ट मजाक थियो भन्न सकिन्छ । बादशाहको लुगा भन्ने कथा बादलले पक्कै पढे होलान् । कम्तिमा उनमा देखिएको यो विचलन अहिले चौतर्फी प्रहसनको विषय बनेको छ । अहिले सामाजिक सञ्जालमा बादलको यही चुटकिलाको चर्चा चलेको छ । अरे, एमाले पो क्रान्तिकारी, प्रचण्डहरु त दक्षिणपन्थी रे, हाहाहा । आदि इत्यादी । सत्तामा छँदा दलाल पूँजिवादको स्वार्थमा एकपछि अर्को निर्णय गर्दै एकाधिकारवाद लागु गर्ने ओली क्रान्तिकारी रे । अनि ओलीको प्रतिगमन र संविधानविरोधी कदमविरुद्ध सिँगो मिडिया र राजनीतिक दलहरु उभिनु चाहिँ दक्षिणपन्थी रे । जे होस्, बादलका यस्ता चुटकिला भविष्यमा पनि देखिँदै जानेछन् । त्यसो त प्वाँख पलाएपछि कमिलाले पनि मर्नुअघि उड्ने अन्तिम कसरत गर्छ नै ।