माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै, संसद र सरकार गठनको गृहकार्यबारे छलफल हुने

काठमाडौं । मंगलबारदेखि शुरु भएको माओवादी केन्द्रको स्थायी कमिटि बैठक आज पनि बस्दैछ ।

अहिले बिहान ११ बजे बस्ने बैठकमा प्रतिनिधि सभा बैठकमा पार्टीले खेल्ने भूमिका र सरकार गठनका बारेमा भएको प्रगतिका बारेमा छलफल हुनेछ ।

यसअघि हिजो सम्पन्न बैठकले सरकार गठनका लागि कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो ।

केपी ओली सरकारलाई दिएको समर्थन भने फिर्ता लिने या नलिने विषयमा मंगलबारको बैठकमा कुनै निर्णय भएको थिएन ।

आजको बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

मंगलबार सत्ता समीकरणको विषयमा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।

महिला लघुवित्तकाे आईपिओ बाँडफाँड, ३७ हजार ५०० ले पाए १० कित्ता

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको आइपीओ फागुन १४ गते, शुक्रबार बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार सर्वसाधारणमा बिक्री गरेको आइपीओ आज कम्पनीको कार्यालयमा बाँडफाँड गरिएको हो। क्यापिटलले आवेदन दिएका कुल लगानीकर्तामध्ये ३७ हजार ५०० जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको बताएको छ। लघुवित्तको आइपीओमा १५ लाख ४० हजार ३५ जना आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो। मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण गरिएको हो। महिला लघुवित्तले माघ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने फागुन ५ गते अन्तिम दिन थियो। लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन खुलाइएको थियो।

संगठनात्मक संरचनालाई पूर्णता दिन प्रचण्ड-नेपाल समूहको ९ बुँदे मापदण्ड तयार (सूचीसहित )

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तयार पारेको छ । अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तयार पारेका हुन् । मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०–५० प्रतिशत हुने उल्लेख छ । यस्तो छ मापदण्ड १. प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं‌ पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा सामान्यतया साविकको जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षवाट पूर्ति गर्ने । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने । पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने । २. सामान्यता पार्टी कमिटीहरु तथा जनवर्गीय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुल सदस्य संख्यामा ५०/५० प्रतिशत हुनेगरी गर्ने, बिशेष परिस्थितिमा बिशेष व्यवस्था गर्न सकिनेछ । ३ पार्टी कमिटी तथा जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति गर्दा साविक घटकको कमिटी र जनसंगठनमा वरियतामा अगाडि रहेकालाई प्राथमिकता दिने । बरियतामा ध्यान दिँदा साविक घटनको सम्बन्धित कमिटी वा संगठनभित्रबाट व्यक्तिको चयन गर्ने र महिला सहभागिता तथा समावेशी सिद्धान्तको अनुशरण गर्ने । विशिष्ट स्थितिमा कमिटी वा संगठनमा नरहेको भएपनि विगतमा पार्टी कमिटी वा संगठनमा काम गरेके वरियताको दृष्टिबाट योग्य व्यक्तिलाई जिम्मेवारी दिन सकिने । ४. एकीकरणको काम वा रिक्त पदको पूर्ति गर्दा सम्बन्धित घटकभित्र सामान्यतया वरियताको आधारमा जिम्मेवारी दिनुपर्ने भएपनि विशिष्ट स्थितिमा स्थानीय आयश्यक्ता अनुसार प्रदेश कमिटीले निर्णय गर्नै । यसो गर्दा सकियतालाई ध्यान दिनुका साथै फुट र गुटमा लागेका अर्को पक्षबाट सिर्जित समस्याको समाधान र चुनौतीको सामना गर्नसक्ने विशेष ध्यान दिने । प्रमुख नेतृत्वलाई माथिल्लो जिम्मेवारी दिनुपर्ने पर्ने अवस्थामा उपयुक्त र सक्षम व्यक्तिलाई सो स्थानको जिम्म्वारी दिने । ५. पार्टी केन्द्रीय किमिटी सदस्यको रिक्त रहेको ठाउँमा सदस्यहरूको चयन नहुँदासम्म केन्द्रीय निकायले गर्नुपर्ने जिम्मेवारीका लागि केन्द्रीय प्रतिनिधिको रूपमा उपयुक्त ब्यक्तिको मनोनयन गरी सम्बन्धित जिल्ला वा क्षेत्रको जिम्मेवारी दिने । ६. साविक नेकपा एमाले पक्तिमा रहेको गुट तथा फुटपरस्तहरूले कार्यकताहरुलाई भ्रमित तुल्याउने प्रयास बढी गरिरहेकाले जिम्मेवारी प्रदान गर्दा उक्त भ्रमलार्इ चिर्नसक्ने कुरामा विशेष ध्यान दिने । ७. पार्टीका केन्द्रीय कमिटी र केन्द्रीय निकाय तथा जनवर्गिय संगठनका केन्द्रमा बाहेक प्रदेश कमिटीका सदस्यहरुको पूर्ति प्रदेश कमिटीको सिफारिसमा केन्द्रले गर्ने, जिल्ला कमिटीको पूर्ति जिल्ला कमिटीको सिफारिशमा प्रदेश कमिटीले गर्ने र मातहत अन्य कमिटीमा रिक्त रहेका सदस्यको स्थान पूर्ति सम्बधित जिल्ला कमिटीले गर्ने । यसरी पूर्ति गर्दा मापदण्डहरु अनुरुप गर्ने । (संख्या थप गर्नुपर्ने भएमा पार्टी र जनवर्गीय संगठनको विधान अनुरूप सदस्यहरूको मनोनयन गर्ने । त्यसबाट पनि अपुग हुने स्थितिमा केन्द्रमा सुझाव प्रस्ताव पठाउने ।) ८. पार्टी पक्ति उत्साहित हुने, जिम्मेवारी औचित्यपूर्ण देखिने र विद्यमान चुनौतीको सामना गर्नसक्ने स्थिति निर्माण हुनसक्ने गरी नेतृत्व चयन गर्ने कुरामा विशेष ध्यान दिने । ९. उपयुक्त मापदण्ड र आधारको अवलम्बन गर्दै यथाशीघ्र रिक्त स्थानहरूको पूर्ति गर्ने ।

जुलुसमा हिँडका महिलालाई ज्यान मार्ने र बलात्कारकाे धम्की दिनेलाइ कार्वाही गर्न माग

प्रतिनिधिसभा विघटनको विरोधमा सहभागी स्रष्टा र अभियन्ताहरूलाई सामाजिक सञ्जालबाट धम्की आएको भन्दै बृहत् नागरिक आन्दोलनले दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । माघ ३० गते काठमाडौंमा आयोजित महिला मार्चमा सहभागी अभियन्ता र स्रष्टाविरुद्ध धम्की दिँदै घृणा फैलाइएको नागरिक समाजले विज्ञप्तिमार्फत जनाएको छ । आन्दोलनका अभियन्ताहरु सपना सञ्जिवनी, मोहना अन्सारी, पल्लवी पायल, रिता साह, हिमा विष्ट र अन्शु खनाललाई लक्षित गरी फेसबुक र ट्विटर जस्ता विद्युतीय सञ्जालमा ज्यान मार्ने र बलात्कार गर्नेजस्ता निकृष्ट धम्की दिइएको पनि समाजले जनाएको छ । बृहत् नागरिक आन्दोलनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका अभियन्ताहरु सपना सञ्जिवनी, मोहना अन्सारी, पल्लवी पायल, रिता साह, हिमा विष्ट र अन्शु खनाललाई लक्षित गरी फेसबुक र ट्वीटर जस्ता विद्युतीय सञ्जालमा ज्यान मार्ने र बलात्कार गर्नेजस्ता निकृष्ट धम्की दिइएको छ । यसरी धाकधम्की दिने, ट्रोलिङ्ग गर्ने र साइबर दुर्व्यव्यहार गर्ने काममा संलग्न व्यक्ति र समूहका आपराधिक नियतविरुद्ध सिंगो नागरिक आन्दोलन निर्भयताका साथ डट्नेछ साथै, यस्ता अपराधमा संलग्नहरुबारे गम्भीरतापूर्वक छानबिन गर्न र दोषीविरुद्ध तुरुन्त कारबाही अघि बढाउन सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गर्न चाहन्छौं ।’ प्रतिरोधका हरेक आवाजले समतामूलक समाज नचाहने तप्का विचलित हुने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘आफूलाई लागेको कुरा बोल्न पाउनु, कथा, कविता वाचन गर्न पाउनु, सभा, समारोहमा विचार अभिव्यक्त गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो । महिलालगायत बहिष्कृतमाथि सदियौंदेखि जारी विभेदविरुद्ध आवाज उठाउन अपरिहार्य नै छ । प्रतिरोधका हरेक आवाजले समतामूलक समाज नचाहने तप्का विचलित हुने गरेका छन् । तर्कमा आधारित विमर्शमा सहभागी हुन नचाहनेहरु अभद्र र आक्रामक प्रतिक्रियामा उत्रन थालेका छन् ।’ साइबर दुर्व्यवहारमार्फत् नागरिक आन्दोलनमा सहभागी अभियन्तालाई निरुत्साहित र अपमानित गर्न खोज्नु सर्वसत्तावाद, असहिष्णुता र प्रतिगमनलाई बल पुऱ्याउनु भएको उल्लेख गर्दै समाजले प्रत्येक लोकतन्त्रप्रेमी नागरिकले यसप्रति सचेत हुन र आन्दोलित हुन जरुरी भएको पनि बताएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अनेरास्ववियूद्वारा क्याम्पसहरु अगाडि प्रदर्शन, १ बजे आयल निगम घेरिने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियूले आन्दोलन शुरु गरेको छ । मूल्यबृद्धिको बिरोध गर्दै आज देशैभरीका सबै क्याम्पस अगाडि प्रदर्शन गरिएको हो । विद्यार्थीहरुले जनताको ढाड सेक्नेगरी सातामा दुईपटक मूल्यबृद्धि गरेको बिरोध गर्दै तत्काल फिर्ता लिन चेतावनी दिएका छन् । कतिपय स्थानमा टायर बालेर विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् । मूल्यवृद्धिकै बिरोधमा आज अनेरास्ववियूले दिउँसो १ बजे आयल निगमको कार्यालय घेराउ गर्ने बताएको छ । अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले दिउँसो १ बजे निगमको कार्यालय घेराउ गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ज्ञापनपत्रसमेत बुझाइने जानकारी दिए । नेपाल आयल निगमले गत फागुन चार गते डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो । त्यसअघि गत माघ २८ गते पनि खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ तथा पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको थियो ।

अष्ट्रेलियाको संसद भवनभित्र रक्षामन्त्रीको कोठामा बलात्कार भएको खुलासा, प्रधानमन्त्रीले मागे माफी

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले संसदमा काम गर्ने एक महिलासँग माफी मागेका छन् । यी महिलाले संसद भवनमा उनीसँग बलात्कार भएको बताएकी थिइन । एक टेलिभिजनलाई अन्र्तवार्ता दिँदै ती महिलाले संसद भवनभित्र रहेको रक्षा मन्त्री लिण्डा रेनोल्ड्सको कार्यालयमा बलात्कार भएको बताएकी थिइन । २६ वर्षी ती महिलाले उक्त आरोप लगाएपछि प्रधानमन्त्री मोरिसन ती महिलासँग माफी माग्दै जाँचको आदेश दिएका छन् । दुई छोरीका बुवा समेत रहेका प्रधामन्त्रीले संसदभित्र सुरक्षित वातावरण कायम राख्न समेत निर्देशन दिएका छन् । ती महिलाले वर्ष २०१९ मा मोरिसनकै सत्ताधारी लिबरल पार्टीका सिनियर कार्यकर्ताले बलात्कार गरेको बताएकी थिइन । “मैले अप्रिल २०१९ मा नै यसबारेमा प्रहरीसँग कुरा गरेकी थिएँ तर त्यतिबेला यो मुद्दालाई सार्वजनिकरुपमा व्यक्त गर्दा जागिर जाने चिन्ता भएकाले काम गर्ने कार्यालयमा नै उजुरी दिन उपयुक्त लाग्यो ।” मिडियासँग कुराकानी गर्दै उनले भनेकी छिन । स्थानीय महिलाले महिलाको यो भनाईको पुष्टि गर्दै प्रहरीले घटना दर्ता नगरिएको बरु कार्यालयमा नै आधिकारिकरुपमा यसको गुनासो गर्ने निर्णय लिएको बताए । महिलाले भने रक्षामन्त्री कार्यालयलाई यो घटनाको सबै जानकारी दिएपनि केही पहल नभएको बताइन । आफुसँग दुष्कर्म भएकै कोठामा उक्त विषयमा बैठक भएपनि त्यसपछि कुनै कार्वाही अघि नबढेको उनको आरोप छ । प्रधानमन्त्रीले यो विषयमा जाँचको आदेश दिएका छन् । “पहिलो कुरा त यस्तो हुनु हुँदैनथ्यो । तर जे भयो, त्यसका लागि म माफी माग्छु ।” प्रधानमन्त्रीले भने, “ हामीलाई महिलाहरु कार्यक्षेत्रमा सुरक्षित रहुन भन्ने कुरा सुनिश्चित गर्नु जरुरी छ । दुखको कुरा भनौं, अहिलेको समयमा पनि महिलाहरुले यो सबै सहनुपरेको छ ।” तस्वीरः एबिसिबाट  

नेपालमा कण्डमको प्रयोग घट्दै, वर्सेनि करिब ६१ लाख कन्डम वितरण

काठमाडौं : चिकित्सकहरुले नेपालमा कन्डमको प्रयोग सन्तोषजनक हुन नसकेको बताएका छन् । अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा आइतबार राजधानीमा भएको एक कार्यक्रममा चिकित्सकहरुले कन्डमका फाइदा धेरै हुँदा पनि यसको प्रयोग न्यून भएको बताएका हुन् । उनीहरुले कन्डम परिवार नियोजनको अस्थायी साधनमात्रै नभई अनिच्छित गर्भसमेत रोक्ने स्पष्ट पारे । त्यस्तै कन्डमको प्रयोगले असुरक्षित यौन सम्पर्कबाट हुने एचआईभी एड्स संक्रमण तथा यौन रोग हुनबाट समेत जोगाउने उनीहरुको जोड रहेको छ । एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालले आयोजना गरेको उक्त कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सूधा देवकोटाले कन्डमको प्रयोग बढाउन देशव्यापी जनचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायबीच समन्वय र सहकार्यमा कन्डमको प्रयोग बढाउनुपर्नेमा जोड दिइन् । ‘कन्डम प्रयोगका बहुफाइदा छन्’, निर्देशक डा. देवकोटाले भनिन्, ‘तर नेपालमा यसको प्रयोग न्यून छ । त्यसैले सबै पक्षबीच सहकार्य र समन्वय गरेर कन्डमको प्रयोग बढाउनेबारे देशव्यापी जनचेतना फैलाउनुपर्छ ।’ त्यस्तै केन्द्रकै वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठले जनचेतनाको अभावले नेपालमा अझै कन्डमको सही प्रयोग हुन नसकिरहेको बताए । केन्द्रले गरेको सर्भेअनुसार नेपालमा करिब ६५ प्रतिशतले मात्रैले कन्डमको प्रयोग गर्ने गरेका छन् । यो स्वास्थ्यका दृष्टिले कम रहेको उनको भनाइ थियो । ‘कन्डमको प्रयोग बढाउन सकिए, एचआईभी एड्सको संक्रमण र यौनरोग हुनबाट रोक्न सकिन्छ’, वरिष्ठ जनस्वास्थ्य प्रशासक श्रेष्ठले भने । उनका अनुसार केन्द्रले वर्सेनि करिब ६१ लाख कन्डम वितरण गर्दै आएको छ । जसअनुसार गत वर्ष ६० लाख ९८ हजार कन्डम वितरण गरिएको उनले जानकारी दिए । कार्यक्रममा एएचएफ नेपालका स्वास्थ्य सल्लाहकार डा. उन्नत श्रेष्ठले एचआईभी संक्रमण हुन नदिने कन्डम ९५ प्रतिशत सुरक्षित रहेको बताए । कन्डम ९८ प्रतिशत सुरक्षित र विश्वसनीय रहेको उनको भनाइ थियो । ‘धेरैलाई कन्डम प्रयोग गर्दा यौन सन्तुष्टि नहुने भ्रम रहेको छ’, डा. श्रेष्ठले भने, ‘तर आजभोलि कन्डम पनि धेरै प्रकारका पाइन्छन् । जुन लगाएको अनुभूतिसमेत हुँदैन ।’ उनले कन्डमकै कारण एचआईभी संक्रमणको नियन्त्रणमा उल्लेखनीय उपलब्धि भएको स्पष्ट पारे । त्यस्तै कन्डमले बिबाहित महिलाहरुमा अनिच्छित गर्भसमेत नियन्त्रण हुँदै आएको उनको भनाइ छ । कार्यक्रममा एएचएफ नेपालका राष्ट्रिय कार्यक्रम निर्देशक दीपक ढुंगेलले अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा संस्थाले देशभरका १५ वटा एआरटी सेन्टरमा विभिन्न कार्यक्रम गरिएको जानकारी दिए । ती केन्द्रमा निःशुल्क कन्डम वितरण, एचआईभी परीक्षण र सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको उनले सुनाए । उनका अनुसार नेपालमा सन् २०११ देखि एएचएफ नेपालले अन्तर्राष्ट्रिय कन्डम दिवस मनाउँदै आएको बताए । त्यस्तै राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाललका अध्यक्ष राजेश दिदियाले कन्डम दिवसको अवसरमा पारेर महासंघले ६१ जिल्लामा रहेका आफ्ना प्रतिनिधि संस्थाले विभिन्न गतिविधि गर्दै आएको जानकारी दिए । उनले महासंघले स्थानीय तहमा स्थानीय भाषामा कन्डमको प्रयोग गर्ने तरिका तथा यसको फाइदाबारे जनचेतना फैलाउँदै आएको बताए । प्रत्येक वर्षको फेब्रुअरी १३ मा अन्तर्राष्ट्रिय कन्डम दिवसमा विश्वभर मनाइँदै आएको छ । यस वर्षको दिवसको नारा ‘सेफर इज सेक्सी’ रहेको छ। अन्नपूर्ण पोष्टबाट

केपी ओलीले बनाएका दुई मन्त्री फर्किने प्रचण्डको दावी

काठमाडौं । नेकपाका अध्यक्ष ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्री फर्कने दावी गरेका छन् । बुधबार नेकपा प्रचण्ड–नेपाल पक्षले संसद् विघटनविरुद्ध गरेको विरोध सभामा उनले सो दावी गरेका हुन् । प्रचण्डले ती मन्त्रीहरूको नाम खुलाएनन् । तर, मन्त्रीबाट फर्कने विषयमा कुरा चलिरहेको बताए । उनले भने, ‘केपी ओलीलाई छोड्ने मान्छेको लाम लागेको छ । अरु त अरु, दुई जना मन्त्री पनि फर्कन मसँग वार्तामा छन् ।’

बीरगञ्जः अहबर अन्सारीलगायत दर्जनबढी नेता कार्यकर्ता पक्राउ

२२ माघ, वीरगञ्ज । नेकपाले आयोजना गरेको देशव्यापी आमहडतालका क्रममा वीरगञ्जमा  नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ता पक्राउ परेका छन् । पार्टीले घोषणा गरेको हड्ताल सफल बनाउन सडकमा निस्किएका वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुपतासहितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मसाल जुलुसबाट फर्किंदै गरेको नेता डाचाराज वाग्ले मृत फेला

नेकपा (दाहाल–नेपाल समूह) का केन्द्रीय सदस्य तथा सर्लाही इन्चार्ज डाचाराज वाग्ले मृत फेला परेका छन्। सर्लाहीको बरहथवा नयाँसडक सडकखण्डमा बुधबार राति ९ बजे उनको शव र दुर्घटनाग्रस्त मोटरसाइकल फेला परेको हो। उनको मोटरसाइकललाई कुनै गाडीले ठक्कर दिएको संकेत भने नभएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डीएसपी उद्धवसिंह भाटले बताए। तीव्र गतिको कारण दुर्घटना भएको हुनसक्ने उनको भनाइ छ। बुधबार साँझ नेकपा (दाहाल–नेपाल) समूहले बरहथवामा मसाल जुलुसको आयोजना गरेको थियो। वाग्लेले त्यसको नेतृत्व गरेका थिए। त्यहाँबाट उनी ज१०प ३२०६ नम्बरको मोटरसाइकलमा नयाँसडकस्थित घर फर्कने क्रममा थिए। बरहथवाबाट नयाँसडक पुग्न जंगलको बाटो पार गर्नुपर्छ। उनी बरहथवा–नयाँसडक सडक खन्डमै दुर्घटनामा परेका हुन्। प्रहरीलाई टेलिफोनमार्फत राति ९ बजे दुर्घटनाको जानकारी आएको डीएसपी भाटले बताए। प्रहरीले एम्बुलेन्स बोलाएर उनलाई अस्पताल पु¥याएको जनाएको छ। तर, बरहथवा अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले मृत्यु घोषणा गरेका थिए। उनले लगाएको हल्मेट टाउकोमै रहेको जनाइएको छ। घटनाको अनुसन्धान शुरु भएको डीएसपी भाटले जनाएका छन्। हिजो नै जिल्ला कमिटीको पूर्ण बैठकले सर्लाहीका चार वटा ठाउँमा मसाल जुलुस गर्ने निर्णय गरेको थियो। बरहथवाको नेतृत्व गर्ने जिम्मा वाग्लेलाई दिइएको थियो। आफूलाई पनि वाग्लेले बरहथवा जान प्रस्ताव गरे पनि पार्टीका साथीहरुले हरिऔन बोलाएकाले त्यता गएको अर्का केन्द्रीय सदस्य अच्युतम् काफ्लेले बताए। काफ्लेका अनुसार मसाल जुलुसपछि उनी एक्लै मोटरसाइकलमा फर्कँदै थिए। वाग्ले सामाजिक अभियानहरुमा पनि संलग्न थिए। दुई वर्षअघि मिटर ब्याजीहरुविरुद्धको अभियानमा उनी सक्रिय थिए। त्यसक्रममा मिटर ब्याजी पीडितहरुको नेतृत्व गरेर न्यायका लागि काठमाडौँ पनि पुगेका थिए। त्यसैले षडयन्त्र भएको पनि हुनसक्ने काफ्ले बताउँछन्। तर, प्रहरीले अनुसन्धान थालेको हुनाले अहिले केही भन्न नसकिने उनले बताए। वाग्ले तत्कालीन नेकपा एकता केन्द्र हुँदै एकीकृत नेकपा माओवादीमा आएका थिए। उनी एकता केन्द्रको विद्यार्थी संगठनको अध्यक्ष पनि भएका थिए। एमाओवादीको उनी केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज थिए। एमाओवादी विभाजन हुँदा उनले मोहन वैद्यलाई साथ दिएका थिए। तर, रामबहादुर थापा समूह पुनः पुष्पकमल दाहाल नेतृत्वको नेकपा मोओवादी केन्द्रमा फर्किएपछि उनी पनि मूल पार्टीमै फर्किएका थिए। तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भइ नेकपा बनेपछि उनी त्यसको केन्द्रीय सदस्य र सर्लाही इन्चार्ज भए। अहिले उनी रामबहादुर थापाको साथ छाडेर नेकपाको दाहाल–नेपाल समूहमा थिए। प्रतिनिधिसभा विघटनविरुद्ध सर्लाहीमा भएको आन्दोलनलाई उनले नै नेतृत्व गरिरहेका थिए। उनका श्रीमती र दुई छोरा छन्। थप सामग्री : https://www.himalkhabar.com/news/122123

मन्त्री ईश्वर पोखरेल र प्रभु शाहलाई कालो झण्डा देखाइयो

सर्लाहीः उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेल र मन्त्री प्रभु शाहलाई कालो झण्डा देखाइएको छ । पोखरेल र शाहलाई नवलपुरमा कालोझण्डा देखाइएको हो । नेकपा ओली समूहका नेता रहेका उनीहरूलाई प्रचण्ड–नेपाल समूहका युवा तथा विद्यार्थीले सदरमुकाम मगङ्गवा जाने क्रममा कालो झण्डा देखाएका हुन् । संसद् विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहको विद्यार्थी संगठनले मन्त्रीलाई कालोझण्डा देखाउँदै आएको छ ।

आज चन्द्रागिरी हिलको आइपिओ भर्ने अन्तिम दिन

काठमाडौं । चन्द्रागिरी हिल लिमिटेडको आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि गत पौष २४ गते शेयर आवेदन खुला गरेको थियो । गत पौष २४ गते सर्वसाधारणका लागि १५ लाख ३४ हजार ९१ कित्ता शेयर खुला गरेको हो । हालसम्म प्राप्त जानकारी अनुसार, अहिलेसम्म १० लाख ६७ हजार ८ सय ९३ आवेदकहरुद्वारा २ करोड १० लाख ५२ हजार ३ सय २० कित्ता शेयरका लागि आवेदन परिसकेको छ । यो हेर्दा खुला गरिएको शेयर संख्याको तुलनामा आवेदकहरु १५ गुणा बढी देखिएका छन् । आज अन्तिम दिन भएपछि यो संख्या झनै बढ्ने देखिन्छ । कम्पनीले लटरीका माध्यमबाट १० कित्ता शेयर उपलब्ध गराउने यसअघि नै जनाएको छ ।

कम्युनिष्टलाई दुई तिहाइ मत दिएर जनताले भूल गरे : राजेन्द्र महतो

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले कम्युनिष्टलाई दुई तिहाइ मत दिएर जनताले ठूलो भूल गरेको बताएका छन् । जसपाले आज जनकपुरधाममा आयोजना गरेको विरोधसभामा नेता महतोले भने, ‘प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथिको प्रहार हो ।’ वर्तमान संविधानलाई विश्वकै उत्कृष्ट भनिएकामा किन समस्या आयो भनी नेता महतोले प्रश्न गर्दै भने, ‘अहिलेको संविधान सबै जनताको नभएकाले समस्या आएको हो ।’ उनले अमेरिकामा २०० वर्ष र भारतमा ७० वर्षदेखि एउटै संविधान रहेको तर हाम्रो देशमा सात/सातवटा संविधान बनिसके पनि मधेशी जनता आफ्नो अधिकार पाउनबाट अझ वञ्चित हुनु परेको बताए । जसपाका नेता शरतसिंह भण्डारीले संसद् विघटनपछि मुलुकमा राजनीतिक अस्थिरता आएको धारणा व्यक्त गरे । विरोधसभामा जसपाका नेताहरु रेणुकुमारी यादव, वृषेशचन्द्र लाल, उमाकान्त झा, जितेन्द्र सोनललगायत नेताहरूले समेत आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।

नेपालगञ्ज विमानस्थललाई ‘हब एयरपोर्ट’ बनाउँछौँ : मन्त्री भट्टराई

नेपालगञ्ज : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थललाई नेपालको ‘हव एयरपोर्ट’को रूपमा विकास गरिने बताएका छन् । नेपालगञ्ज विमानस्थलमा नवनिर्मित विस्तारित विमान पार्किङ क्षेत्रको आज उद्घाटन गर्दै उनले पछिल्ला दिनमा नेपालगञ्ज र विराटनगर विमानस्थललाई प्राथमिकतामा राखेको बताए । ‘दुवै विमानस्थललाई भविष्यमा अन्तर्राष्ट्रिय विमानस्थलको हैसियतमा स्तरोन्नति गर्नुपर्छ भन्ने गुरुयोजना नेपाल सरकारले अघि बढाएको छ,’ उनले भने, ‘नेपालगञ्ज विमानस्थलमा विस्तारित पार्किङ क्षेत्रले गौरव बढाएको छ ।’ मन्त्री भट्टराईले विस्तारित पार्किङ क्षेत्रमा एटिआर ७२ साइजका कम्तीमा पनि छ वटा जहाज एकसाथ पार्किङ गर्नसक्ने र एयरबस ३२० सम्मका जहाज पार्किङ हुनसक्ने अवस्थामा नेपालगञ्ज विमानस्थल पुगेको बताए । सो पार्किङ क्षेत्रको निर्माण कार्य २८ करोड ५३ लाखको लागतमा निर्धारित समयमै सम्पन्न भएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपालगञ्ज नागरिक उड्डयन कार्यालय र निर्माण कम्पनीलाई धन्यवाद दिँदै उनले नेपालगञ्जमा सञ्चालन हुने थप निर्माण कार्य पनि समयमै सम्पन्न हुने अपेक्षा व्यक्त गरे । ‘नेपालगञ्ज विमानस्थललाई अहिले प्रस्तुत गरेको गुरुयोजनामा टर्मिनल भवन, रनवे मर्मत र अरू भौतिक तथा प्राविधिक सुविधा थप्दा जग्गा अधिग्रहणबाहेक सरकारले नेपालगञ्ज विमानस्थलमा करिब चार अर्ब लगानी गर्दैछ । यो नेपालगञ्जप्रतिको सरकारको अपार विश्वास हो,’ मन्त्री भट्टराईले भने, ‘यो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालगञ्जलाई दिएको महत्व र सद्भावको विषय पनि हो ।’ उनले प्रदेशको राजधानी नहुँदैमा नेपालगञ्ज शहरको महत्व नघट्ने बताउँदै राजधानी नबन्दैमा निराश नहुन नेपालगञ्जवासीलाई आग्रह गरे । ‘नेपालगञ्जले प्रदेशको राजधानीको रुपमा परिचय नपाए पनि प्रदेशको राजधानी भन्दा कम चर्चामा छैन । त्यस हिसाबले नेपालगञ्जको महत्व कम भएको छ जस्तो भलाई लाग्दैन,’ मन्त्री भट्टराईले भने, ‘किन कि यहाँबाट हुनसक्ने दुईदेशीय व्यापार, पर्यटन आवागमन, उद्योगधन्दा, शैक्षिक क्षेत्रलगायतका कारण यहाँको महत्व कम भएको छैन ।’

चीन–इथियोपिया सम्बन्ध अझ प्रगाढ बनाउन राष्ट्रपति सीको आग्रह

बेइजिङः चीनका राष्ट्रपति सी चिनफिङले चीन–इथियोपिया सम्बन्ध तथा बेल्ट एन्ड रोड सहयोगलाई थप अगाडि बढाउन इथियोपियाली राष्ट्रपति सेहल–वर्क जेडेसँग आग्रह गरेका छन् । राष्ट्रपति सीले उक्त परियोजनाले दुबै मुलुक एवं जनताले लाभ लिन सक्ने बताए । दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापनाको ५० वर्षका अवसरमा राष्ट्रपति सीले आफ्ना समकक्षी इथियोपियाली राष्ट्रपति जेडेलाई पठाएको बधाई सन्देशमा उक्त कुरा उल्लेख छ । सन्देशमा राष्ट्रपति सीले वितेका ५० वर्षमा दुई देशबीचको परम्परागत सम्बन्ध अझ प्रगाढ र सुदृढ हुँदै गएको बताएका छन् । पछिल्ला वर्षहरुमा हस्ताक्षर भएको चीन–इथियोपिया विस्तृत रणनीतिक साझेदारी सम्झौताले राजनीतिक तहमा उच्च समझदारी विकास भएको र विभिन्न क्षेत्रमा फलदायी नतिजाहरु प्राप्त भएको पनि राष्ट्रपति सीले बताएका छन् । कोभिड–१९ महामारी फैलिएयता चीन र इथियोपियाले एकअर्का मुलुकले सामना गर्नु परेका कठिनाईलाई समान ढंगबाट समाधान गर्न प्रयत्न गरेको चीनको भनाई छ । राष्ट्रपति सीले कोभिड–१९ महामारी विरुद्ध लड्न चीन र अफ्रिकी मुलुकहरुबीच भएको समझदारी उदाहरणीय रहेको पनि बताएका छन् ।

हराएकी ६ वर्षीया बालिकाकाे शव झाडीमा फेला, बलात्कारपछि हत्या भएकाे आराेप

महोत्तरीको बर्दिबास- १४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको शव फेला परेको छ। आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जानकारी दिए।  हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा बालिकाको शव सोमबार मध्य रातमा फेला परेको हो। बर्दिबास—१४ स्थित शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको हो। हत्या आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले गौशाला— ५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको डीएसपी चपागार्इंले बताए। उनका अनुसार ति युवकले आरोप स्वीकारसमेत गरेका छन्।  घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयले बताएका छन्। आरोपीले बालिकाको बलात्कार गरेर हत्या गरेको हो ? भन्ने प्रश्नमा डीएसपीले भने,‘त्यो कुरा पोस्टमाटम रिपोर्टले भन्छ।’  प्रहरीले आरोपी साहलाई गौशालाबाट सोमबार साँझ नियन्त्रणमा लिएको हो। पूर्व—पश्चिम राजमार्गस्थित बर्दिबास भोलाबसन्त चोकबाटे नव क्षितिज क्यामस जाने मूलबाटोमा आरोपी साहले घर बनाई अरुण किराना पसल संचालन गर्दै आएका छन्। आइतबार साँझ पसलमा चकलेट किन्न गएको बेला उनले बलिकालाई अपहरण गरेर घरमा लुकाएका थिए। ‘मेरो छोरीको बलात्कारपछि हत्या गरेर लास फालेको हामीलाई लागेको छ,’ बालिकाका बुवाले शहिद आलमले भने। प्रहरीका अनुसार आइतबार साँझ बालिकाको बलात्कारपछि हत्या गरेर आरोपी साहले बर्दिबासस्थित किराना पसल नजिकैको झाडीमा फालेर सोमबार दिनभरी पसल खोलेका थिए।सोमबारस्थानीयले उनको पसलको सिसी क्यमरा हेर्न खोज्दा आरोपीले भनेका थिए,‘किन हेर्न आएको ? मैले बच्चीलाई लुकाएको ?’ सोमबार साँझ मदिरा खाएर गौशालास्थित घर पुगेका आरोपीले आफ्ना घरपरिवारलाई बालिकाको हत्या गरेको बताएका थिए। त्यपछि उनका परिवारजनले इलाका प्रहरी कार्यालय गौशालाको जिम्मा लगाएको त्यहाँका इन्स्पेक्टर प्रकाश रेग्मीले बताए। गौशाला प्रहरीले बर्दिबास प्रहरीलाई आरोपीलाई प्रहरी नियन्त्रणमा रहेको खवर गरेका थिए। सोमबार राति १२ बजे बर्दिबासका डीएसपी चापागाईंले ती युवकलाई लिएर शव लुकाएको स्थानमा पुग्न सफल भएका थिए। आइतबार साँझदेखि बालिकालाई प्रहरी, गाउँलले खोजी गर्दै आएका थिए। घटनाको खबर पाउन साथ घटनास्थल पुगेका  बर्दिबास वडा नम्बर—१४ का वडा अध्यक्ष भरतबहादुर हमालले बालिकाको हत्याले चिन्तित बनाएको बताए। इलाका प्रहरी कार्यालय बर्दिबासबाट तीन दर्जन प्रहरी घटना स्थललाई घेरा हालेका छन्। घटना स्थालमा पुगेका बर्दिबास वडा नम्बर —१ का वडा अध्यक्ष चुडामणि पोखरेलले बालिका जीवित भेटिने आशमा खोजी गर्दै गर्दा उनको शव भेटेको बताए। प्रहरीले आरोपीको किराना पसल भएको घरमा खानतलासी गरेको छ। आइतबार बिहानै बालिकाका बुवाले स्कुल पढाउन भन्दै सप्तकविन्द्र बोर्डिङ स्कुलमा भर्ना गरेर आएका थिए। आमालाई घरमा जिम्मा लाएर बालिकाका बुवा शहिद मोवाइल किन्न भन्दै महोत्तरीको सम्सी बजार गएका थिए।  आरोपीले केही समय पहिले गौशालामा एक युवकको हत्या गरेको उजुरी रहेको प्रहरीले जनाएको छ। अन्नपूर्ण पाेष्टबाट साभार