नेकपा कार्यदल मस्यौदाः ओलीको अधिकार खुम्च्याइयो, प्रचण्डको बढाइयो

काठमाडौंः पार्टीभित्रको विवाद समाधानको सूत्र खोज्न गठित नेकपाको कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिलाई पुनर्व्याख्या गर्दै कार्यकारी अध्यक्षको कामलाई प्रधानमन्त्रीले हस्तक्षेप नगर्ने प्रारम्भिक मस्यौदा तयार पारेको छ ।

कार्यदलले पार्टीको आगामी महाधिवेशन सम्बन्धमा पनि आफ्नो धारणा तय गर्दै यसअघि केन्द्रीय कमिटीले तय गरेको चैतको मितिमै गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको ६ सदस्यीय कार्यदलको चारवटा बैठकपछि प्रारम्भिक मस्यौदा तयार पारी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई बुझाइएको छ ।

आजको कान्तिपुर दैनिकका अनुसार प्रारम्भिक मस्यौदाको खाका यस्तो बनेको छः

– एकता महाधिवेशनबाट सहमतिमा अध्यक्ष हुने भएपछि सरकारको बाँकी कार्यकाल प्रधानमन्त्री ओलीले नै चलाउने । तर मन्त्रिपरिषद् भने पुनर्गठन हुने ।

– प्रचण्डले सम्पूर्ण रूपमा पार्टी सञ्चालन गर्ने, एकताको काम सकेर महाधिवेशनमा केन्द्रित हुने र त्यसमा ओलीले सघाउने ।

– प्रस्तावित मस्यौदाले पार्टीमा ओलीको अधिकार सीमित गरेको छ, सारमा ओलीलाई सेरेमोनियल अध्यक्षजस्तो बनाइनेछ, प्रचण्डले पार्टी काम सञ्चालन गर्नेछन् । तर दुई अध्यक्षबीचको सहमतिबिना केही पनि निर्णय गर्न पाइने छैन, निर्णयहरूमा दुवै अध्यक्षको हस्ताक्षर हुन्छ, सहमतिमै बैठक बोलाइनेछ ।

– सरकारको दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर राजनीतिक नियुक्ति पार्टीको निर्णयबिना ओली एक्लैले गर्न नपाउने । प्रदेश सरकारहरू पनि आवश्यकताअनुसार पुनर्गठन गर्ने ।

– स्थायी कमिटीमा अलपत्र एजेन्डाबारे छलफल चलाउने र केन्द्रीय कमिटीको बैठक माग गर्दै हस्ताक्षर बुझाएका नेताहरूको पनि माग सम्बोधन गर्ने ।

यसअघि ओलीले पार्टी, सरकार तथा राजनीतिक नियुक्तिमा एकलौटी गर्दै आएका थिए । अब भने त्यो अधिकार ओलीलाई छैन । त्यसमा प्रचण्डको सहमति हुनुपर्नेछ । त्यसकारण प्रारम्भिक मस्यौदामा ओलीको अधिकार खुम्च्याइयो र प्रचण्डको बढाइएको कार्यदलका एक सदस्यले बताए ।

एमसिसीका बारेमा प्रतिवेदनले उक्त परियोजनालाई जस्ताको तस्तै पारित गर्न नसकिने र यसबारेमा यसअघि कार्यदलले दिएको सुझावमाथि स्थायी कमिटीमा थप छलफल गर्नुपर्ने सुझाव दिएको बताइन्छ ।

यसैगरी स्थानीय तहदेखि संघीय सरकारको समिक्षाको विषयमा स्थायी समितिमा एजेण्डा नै रहेकोले छलफल अघि बढाएर मन्त्रीमण्डल परिवर्तनदेखि समाजवाद उन्मुख कार्यक्रमको ढाँचा तयार गर्नुपर्ने सुझाव दिएको एक सदस्यले बताए ।

रसियापछि बेलायतले पनि बनायो कोरोना खोप

एजेन्सीः बेलायती फार्मास्यूटिकल कम्पनी फाइजरद्वारा निर्माण गरिएको कोभिड–१९ खोपले प्रारम्भिक क्लिनिकल परीक्षणमा सुरक्षा र प्रभावकारिता परीक्षण सफलताका साथ पार गरिसकेको छ । बेलायत सरकारले खोपको ३० करोड डोज निर्माण गर्न आदेश दिएको छ । कोभिड भाइरस रोक्नको लागि अत्यन्त आशाजनक ठानिएको यो अर्को खोप हो । न्यूयोर्कमा स्थित फाइजर कम्पनी, अमेरिकाका विश्वविद्यालयहरू र अस्पतालहरूले गरेको यस इन्जेक्सनको प्रारम्भिक मानव परीक्षणले आशाजनक नतिजा उत्पादन गरेको छ । खोप प्राप्त गर्ने मानिसहरूको प्रतिरोध क्षमतमा पहिलेको भन्दा सुधार आएको छ । खोप परीक्षण गरिएका मानिसहरुमा यसको कुनै खतरनाक साइड इफेक्टहरू देखा परेन तर केहीले भने सामान्यतया टाउको दुख्ने र थकान महसुस गरेको गुनासो गरेका थिए । फाइजरले निर्माणको प्रयास गरिरहेको यो खोपको नाम बीएनटी१६२बी१ राखिएको छ । यस खोपको परीक्षणले एक आशाजनक नतिजामा देखाएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटी र इम्पीरियल कलेज लन्डनले बनाएको खोप समेत मानव परीक्षणमा सफल हुने प्रारम्भिक संकेत देखिएको छ । कोभिडविरुद्ध खोप निर्माण गर्ने पहिलो राष्ट्र भने रसिया बनेको छ । रसियाले कोभिड १९ विरुद्ध निर्माण गरेको खोप मानव परीक्षणमा समेत सफल भएको जनाइएको छ ।

आज कहाँ–कहाँ हुँदैछ भारी वर्षा ? (सूचीसहित)

काठमाडौंः आज देशका धेरै स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश , प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना महाशाखाले जनाएको छ । आजै राति गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । महाशाखाले वर्षा हुने स्थानमा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान साउन ३० गते (शुक्रबार) राती : देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । साउन ३१ गते (शनिबार) दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश , प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राती देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । साउन ३२ गते (आइतबार) दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति मुखर्जीको भेन्टिलेटरमा उपचार हुँदै

नयाँदिल्ली : कोरोना भाइरस सङ्क्रमण भएपछि भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। उनी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए। उनी ८४ वर्षका भए। कोभिड-१९ पुष्टि भएको भोलिपल्ट मङ्गलवार सघन उपचार कक्षमा सारिएको बताइएको छ। अस्पतालमा मस्तिष्कमा रगत जमेर बनेको सानो टुक्रा हटाउन शल्यक्रियाका लागि पुगेका मुखर्जीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो। स्थानीय सञ्चारमाध्यमहरूले अस्पतालले उनको अवस्था गम्भीर रहेको र आगामी केही घण्टा महत्त्वपूर्ण हुने बताएको उल्लेख गरेका छन्। राष्ट्रपति हुनुअघि मुखर्जी भारतका अर्थमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीजस्ता महत्त्वपूर्ण पदमा रहेर काम गरेका थिए। उनले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व ब्याङ्कको बोर्डमा पनि काम गरेका थिए।

निरन्तर घट्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौंः आज पनि सुनको मूल्य ओरालो लागेको छ । सोमबार तोलामा २ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने तोलाको ४० रुपैयाँले बढेर प्रतितोला एक हजार ४ सय ३५ रूपैयाँ कायम रहेको महासंघले बताएको छ । सोमबार चाँदी तोलाको १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ९५ रूपैयाँमा कारोबार भएको थियो ।

जसपाको निर्णय कुण्ठाग्रस्त सोचको दिवालियापनः प्रधानमन्त्रीको सचिवालय

काठमाडौंः जनता समाजवादी पार्टी नेपालले जारी गरेको विज्ञप्तिप्रति प्रधानमन्त्री केपी ओलीको सचिवालयले आपत्ति जनाएको छ । उक्त पार्टीको साउन २५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ रहेको निष्कर्ष निकालेको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको भन्दै आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो र सोचको दिवालियापन नै हो ।’ ‘राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला’ थापाले अगाडि भनेका छन् । ‘राजनीतिक दलहरूले आफ्ना धारणा र विमति प्रष्ट्याउने गरी सरकारको आलोचना र विरोध गर्न सक्छन् । तर राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरूद्द प्रयोग गरिने अपमानजनक, तथ्यहीन, भ्रामक र गैरजिम्मेवार भाषाप्रति गंभीर आपत्ति प्रकट गर्नैपर्छ, जो सभ्य समाजको मूल्य र मानक विपरित रहेका छन्’, थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जसपाको औपचारिक विज्ञप्तिमा प्रमप्रति प्रयोग गरिएको भाषा निन्दनीय रहेकोतर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु ।’

कार्यकर्ता रिझाउन पद बाँड्दै देउवा, पौडेल पक्षको आपत्ति

काठमाडौंः पार्टीका सबै संरचनाको गठन ६ महिनाभित्र गरिसक्नुपर्ने विधानको व्यवस्थाविपरीत कांग्रेस सभापति शेरबहादुर देउवाले १५ वटा विभागमा ६ सय ६८ जनालाई मनोनयन गरेका छन् । उनले आइतबार राति ११ बजे १० र सोमबार अपराह्न थप ५ विभाग गठन गरेका हुन् । महाधिवेशनको मुखमा कार्यकर्ता रिझाउन विभागहरू गठन गरिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ । देउवा ०७२ फागुनमा सम्पन्न १२ औं महाधिवेशनबाट पार्टी सभापतिमा चयन भएका हुन् । विधानअनुसार उनको चार वर्षको नियमित कार्यकाल गत फागुनमै सकिएको छ । नियमित महाधिवेशन गराउन नसकेपछि केन्द्रीय कार्यसमितिको बहुमतले विधानको सुविधा प्रयोग गर्दै थप एक वर्ष कार्यकाल बढाइसकेको छ । नेता शेखर कोइरालाका अनुसार महाधिवेशन गर्नका निम्ति एक वर्ष समय थपिएको हो । नियमित कार्यकाल सकिएको र महाधिवेशनको कार्यतालिकासमेत घोषणा भइसकेको अवस्थामा सभापति देउवासहित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरू कामचलाउ हैसियतमा छन् । महाधिवेशनको प्रक्रिया अघि बढिसकेका बेला कामचलाउ हैसियतमा रहेका सभापति देउवाले पूर्ण कार्यकारी हैसियतमा जस्तै केन्द्रीय विभागहरूको गठन, मनोनयन र नियुक्ति गर्न नमिल्ने कोइराला बताउँछन् । ‘एकातिर विधानको ठाडो उल्लंघन भएको छ, अर्कोतर्फ पार्टी नेतृत्वले आफ्नो चुनावी अनुकूलताका लागि पद बाँड्ने काम गरिरहेको छ,’ उनले भने, ‘सभापतिजीले मनोनयन गरेका सबै साथीहरू कांग्रेसकै हुन् । हाम्रा पनि साथी नै हुन् । व्यक्तिगत रूपमा उनीहरूलाई ल्याएकामा कुनै विरोध छैन तर पार्टी हाँक्ने नेतृत्वलाई विधि, पद्धति र विधानविपरीत गएर मनपरीतन्त्र गर्ने अधिकार छैन । यसलाई हामी महाधिवेशनमा मुद्दा बनाउँछौं ।’ विधानअनुसार चल्ने हो भने सभापति देउवाले पार्टीका केन्द्रीय विभागलगायत सबै निकाय दुई महिनाभित्र (तत्कालीन विधानअनुसार) गठन गरिसक्नुपर्ने थियो । ०७२ फागुनमा निर्वाचित भई चैत पहिलो सातादेखि देउवाले पार्टीको विधिवत् जिम्मेवारी सम्हालेका थिए । त्यस हिसाबले जेठ पहिलो सातामै यी सबै काम सक्नुपर्थ्यो । तर, केही केन्द्रीय सदस्यको मनोनयनबाहेक उनले कुनै पनि काम अघि बढाएनन् । अहिले पनि पार्टीका सबै संरचनाको गठन ६ महिनाभित्र गरिसक्नुपर्ने विधानको प्रावधानलाई निलम्बन गर्न सकिने बाटो थियो । त्यसलाई समेत बेवास्ता गर्दै देउवाले विभाग गठन गरेका हुन् । आइतबार राति देउवाले संगठन, शिक्षा, मुस्लिम, तराई–मधेस समन्वय, संघीय मामिला तथा प्रदेश समन्वय, वन, वातावरण तथा विपत् व्यवस्थापन, वित्तीय तथा सहकारी संस्था समन्वय, स्थानीय तह समन्वय, निर्माण व्यवसायी विभागमा सदस्य मनोनयन गरे । सोमबार उद्योग व्यापार, आदिवासी जनजाति, नेपाली जनसम्पर्क समिति, श्रमिक तथा ट्रेड युनियन र राज्य प्रशासन विभागमा सदस्य मनोनयन गरेका छन् । देउवाले फागुन १७ मा १३ र फागुन १९ मा थप ७ वटा गरी २० वटा विभागमा विभाग प्रमुख तोकेका थिए । जसमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका एकबाहेक सबै जना आफ्नो पक्षका नेता छन् । अहिले ती विभागमा धमाधम सदस्यहरू मनोनयन गरिरहेका छन् । एउटा विभागमा ५० जनासम्म सदस्य राख्न सकिने व्यवस्था विधानमा छ । अब सातवटा विभागमा सदस्य मनोनयनको तयारीमा छन् । उनले यसअघि नै तीनवटा विभाग गठन गरिसकेका छन् । देउवानिकट स्रोतका अनुसार पौडेल पक्ष सहभागी नभएको खण्डमा उनले ४७ वटा विभागलाई पूर्णता दिने योजना अघि बढाएका छन् । सबै विभागलाई पूर्णता दिँदा २ हजार ३ सय ५० स्थानीय कार्यकर्ताले पद पाउँछन् । केही दिनअघि आफ्नो नेतृत्वमा रहेको ज्येष्ठ राजनीतिज्ञ सभामा देउवाले करिब ५ सय पुराना नेता–कार्यकर्तालाई समेटेका छन् । कांग्रेस नेता मीनेन्द्र रिजालले निष्पक्ष र स्वतन्त्र रूपमा महाधिवेशन गराउने जिम्मेवारीमा रहेका सभापति नै आफ्नो पक्षमा चुनावी प्रचारमा उत्रिएको बताए । ‘पार्टी सभापति देउवा आगामी महाधिवेशनका उम्मेदवार आफूलाई जिताउन अहिल्यैदेखि लाग्नुभएको छ,’ उनले भने, ‘आफ्नै पार्टी सभापति विधान मिच्दै मनपरीतन्त्रमा अघि बढेपछि राष्ट्रिय राजनीतिका एजेन्डामा प्रधानमन्त्री केपी ओलीले गरेका बदमासीलाई कुन नैतिक धरातलमा रहेर विरोध गर्ने ?’ संस्थापनपक्षको बुझाइमा यी सबै काम गर्नुका पछाडि १४ औं महाधिवेशनबाट पनि आफैं नेतृत्वमा आउने देउवाको चाहना हो । पार्टी र सरकारको नेतृत्वमा छँदा उनको छवि राम्रो छैन । सार्वजनिक अपिल गरेर वा एजेन्डा उठाएर आफू नेतृत्वमा आउन नसक्ने भएपछि देउवा पद बाँड्न र आन्तरिक जोडघटाउमा बढी व्यस्त हुन थालेको इतरपक्षको आरोप छ । कांग्रेसको विधानमा विभागको संख्या २८ छ तर देउवाले ११ गतेको केन्द्रीय कार्यसमितिको बहुमतबाट निर्णय गराएर ४७ पुर्‍याइदिए । ‘भर्खरै कार्यान्वयनमा आएको विधान भत्काउने काम त्यहींबाट सुरु भयो,’ कोइराला भन्छन्, ‘महाधिवेशन प्रभावित पार्ने योजनाअन्तर्गत थिएन भने विभागको संख्या किन बढाउनुपर्थ्यो ?’ इतरपक्षमा रहेका तर आफ्नो छुट्टै समूह अघि बढाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेत सभापतिको यस्तो गतिविधिको विरुद्धमा छन् । महाधिवेशनको मुखमा पार्टीका निकाय र विभागहरूको गठनले महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठ्ने उनी बताउँछन् । देउवामाथि अर्को आरोप पनि छ– महाधिवेशनको मुखमा अन्य दलबाट कांग्रेस प्रवेश गर्नेहरूलाई अपारदर्शी रूपमा पद बाँडेको । हालै राप्रपाबाट आएका सुनीलबहादुर थापासहित एक दर्जनको समूहलाई पद बाँड्दा आफूहरूसँग परामर्श नगरेको इतरपक्षका सबै समूहका नेताहरूको गुनासो छ । देउवाले थापालाई सहमहामन्त्री दिने, उनीसँगै आएका अन्य नेतामध्ये ५ जनालाई केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित सदस्य दिने वचनबद्धता गराएका छन् । ०७४ को चुनावमा तत्कालीन माओवादी, एमाले, राजपा, राप्रपा र अखण्ड नेपालबाट कांग्रेस प्रवेश गरेका करिब एक दर्जनलाई उनले यसअघि नै केन्द्रीय कार्यसमितिमा ल्याइसकेका छन् । केन्द्रीय कार्यसमितिमा परेका त स्वतः महधिवेशनका मतदाता भइहाल्ने भए । तलका नेता तथा कार्यकर्तालाई पनि पद दिएर खुसी पार्न सकिए तिनको प्रभावमा महाधिवेशन प्रतिनिधि चयनमा आफू अनुकूलका प्रतिनिधि आउन सक्ने बुझाइ देउवामा देखिन्छ । यसैलाई बुझेर वरिष्ठ नेता पौडेल पक्षले दुई पटक लिखित रूपमै विरोध जनाइसकेको छ । दुई पटक लिखित र पटक–पटक भेटेर विरोध गर्दासमेत केही जोर नचलेपछि पौडेल पक्ष सभापति देउवाका सबै निर्णयलाई महाधिवेशनमा मुद्दा बनाउने योजनाका साथ सार्वजनिक विरोधमा उत्रिएको छ । ‘विभाग गठनलाई पनि हामी स्विकार्दैनौं, यसको बहिष्कार गर्छौं,’ उनले भने, ‘हामीले यस्तो निर्णयको भर्त्सना गरेका छौं । देशभर मुद्दा बनाएर लैजान्छौं ।’ देउवालाई पनि आफूले यतिबेला जे गर्दा पनि चुनावी मुद्दा बनाउने गरेको गुनासो छ । भागबन्डा मिल्दा विधानको कुरा नउठाउने, नमिलेपछि विधानको कुरा उठाउने गरेको तर्क गर्दै देउवा पक्षीय नेताहरूले अहिले भइरहेको असन्तुष्टि र विरोधलाई महाधिवेशनमा कार्यकर्तालाई तान्ने रणनीतिकै रूपमा बुझेका छन् । ‘पौडेल समूहको विरोध पनि महाधिवेशनलाई प्रभावित पार्नका लागि भएको हो,’ देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘नेताहरू सबैलाई चुनाव लागिसकेको छ । अब महाधिवेशनसम्म यस्तै हो ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

विदेशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी

टेक्सस : कोभिड-१९ का कारण विश्वमा उत्पन्न जटिल परिस्थितिले गर्दा नियमित अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित हुँदा विभिन्न देशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी रहेको छ । विभिन्न देशमा रहेका नेपाली दूतावास, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घबीचको सहकार्यमा हालसम्म ५८ देशबाट ४६ हजार ३१२ जना नेपाल फर्किएका छन् । नेपाल फर्किएका सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार ५०१ जना रहेको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । यसैगरी साउदी अरेबियाबाट छ हजार ९९७, मलेसियाबाट छ हजार ७९४, कुवेतबाट छ हजार ३२९ र कतारबाट पाँच हजार २५१ जना नेपाल फर्किसकेको सङ्घले जानकारी दिएको छ । सङ्घका अनुसार अफगानिस्तानबाट ३३, ओमानबाट ६३६, बर्माबाट २६, थाइल्यान्डबाट ३२६, दक्षिण कोरियाबाट ७२०, बङ्गलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, सिङ्गापुरबाट २९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९८०, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट २०८, टर्कीबाट ११० जना स्वदेश फर्किएका छन् । फिलिपिन्सबाट २०१, स्विट्जरल्यान्डबाट १०, इराकबाट ३९, दक्षिण सुडानबाट २५०, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८, श्रीलङ्काबाट पाँच, जापानबाट एक हजार २३ जना स्वदेश फर्किएका छन् । भारतबाट हवाई उडानमार्फत ८५ जना स्वदेश फर्किएका छन् । सङ्घले उल्लेख गरेको तथ्याङ्कमा स्थलमार्ग हुँद नेपाल आएकाहरूको तथ्याङ्क भने समेटिएको छैन । यसैबीच विभिन्न देशमा मृत्यु भएका २४६ जना नेपालीको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १७२ को मृत्यु भएको देशमै अत्येष्टिका लागि परिवारबाट सहमति प्राप्त भएको पनि बताइएको छ । अब ७६ शव नेपाल ल्याउन बाँकी रहेको बताइएको छ । यस्तै गैरआवासीय नेपाली सङ्घले जनाएअनुसार सङ्क्रमणका कारण विदेशमा मात्र १९१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार भारतमा गत साता थप दुई जनाको कोरोनाका कारणले निधन भएको छ । शनिबार साँझसम्म नेपालसहित विश्वभर २६४ जना नेपालीको कोरोना भाइरसले ज्यान लिएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाकाअनुसार यो साता प्राप्त तथ्याङ्कअनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्यान्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीहरुमा थप नयाँ सङ्क्रमण देखिएको छ । सङ्घको स्वास्थ्य समितिलाई उद्धृत गर्दै सङ्घको कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जारी गर्नुभएको प्रेस विज्ञप्तिका अनुसार गत हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायत देशमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । यो साता अष्ट्रेलिया रहेका १४६ जना नेपालीमा नयाँ सङ्क्रमण थपिएको समितिले जनाएको छ । समितिकाअनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपालीहरुमा सामूहिक रुपमा देखिएको कोरोना सङ्क्रमितहरु सङ्क्रमणमुक्त हुँदै गएका छन् । सङ्घका अनुसार लग्जेम्वर्गमा करीब दुई दर्जन नेपालीमा कोरोना सङ्क्रमण रहेको र बाँकी आइसोलेसनमा रहेका छन् । लग्जेम्वर्गमा थप सङ्क्रमण देखिएको छैन् । विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएको सङ्घले जनाएको छ । सात प्रदेशमा अस्थायी सेल्टर निर्माणको अवधारणा  गैरआवासीय नेपाली सङ्घले नेपालको सातवटै प्रदेशमा अस्थायी आश्रयस्थल भवन निमार्णको अवधारणा अघि सारेको छ । विभिन्न समयमा आउने प्राकृतिक विपत्तिदेखि लिएर अन्य कारणले घरवारविहीन हुन परेकालाई अस्थायी रूपमा आश्रय दिने प्रयोजनले अस्थायी आश्रयस्थल भवन निर्माणको अवधारणा अघि सारिएको सङ्घले जनाएको छ । नेपाल सरकार हुँदै प्रदेश सरकारहरुसँगको सहकार्यमा अस्थायी आश्रयस्थल निर्माण गर्ने गरी अवधारणा अघि सारिएको सङ्घकी महिला उपाध्यक्ष एवं सङ्घको वन एनसिसी वन च्यारिटी प्रोजेक्टकी प्रमुख रविना थापाले जानकारी दिइन् । केन्द्रीय प्रदेश हुँदै स्थानीय सरकारसँगको समन्वयमा सातवटै प्रदेशमा अस्थायी आश्रयस्थल बनाउने बारे सङ्घले अवधारणा अघि सारेको जानकारी दिनुहुँदै उपाध्यक्ष थापाले अहिले यो योजना प्रारम्भिक चरणमा रहेको बताइन् । स्थानीय सरकारले जग्गा उपलब्ध गराउने र त्यसमा भवन निर्माण एनआरएनएले गरिदिने अवधारणा रहेको बताउँदै उनले एउटा भवन बनाउन करीब १ करोडको खर्च अनुमान गरिएको जानकारी दिइन् । ‘समयसमयमा आउने प्राकृतिक विपत्तिका कारण घरवारविहीन भएकाहरुदेखि लिएर अहिले नै पनि कोरोना सङ्क्रमितहरुलाई क्वारेन्टिनमा राखौँभन्दा पनि हामीसँग त्यस्तो कुनै संरचना छैन । यसबाहेक पनि विदेशबाट अहिले फर्किएकाहरुलाई राख्नका लागि पनि हामीसँग कुनै पूर्वाधार छैन । एनआरएनएकी उपाध्यक्ष थापाले भनिन्, “कुनै पनि कारणले घरवारविहीन हुन परेकाहरुलाई अस्थायी रुपमा बसोबासको प्रबन्ध गराउनका लागि एउटा अस्थायी सेल्टरको आवश्यकता देखेर यसका लागि एनआरएनएले अवधारणा अघि सारेको हो । यस्ता सेल्टरहरु निर्माणले समस्यामा परेकाहरुलाई अस्थायी रुपमा व्यवस्थापनका लागि सहज हुन्छ भने सरकारले चाहँदा पनि ‘सर्ट टर्म’का लागि प्रयोग गर्न सक्ने पूर्वाधारका रुपमा यो रहन्छ ।” प्रदेशको पायक पर्ने स्थानमा यस्ता सेल्टरहरु निर्माण गर्नका लागि सङ्घले चरणबद्ध रुपमा प्रक्रिया अघि बढाउने र त्यसका लागि आवश्यक पर्ने सहयोग एनआरएनहरुबाटै सङ्कलन गर्ने लक्ष्य रहेको सङ्घकी उपाध्यक्ष थापाले जानकारी दिइन् । निर्माण सङ्घले गर्ने भए पनि सञ्चालन सरकार वा सरकारका अङ्ग मातहत गर्न सक्दा सहज हुने भएकाले त्यसरी संरचनाको विकास गरिने बताउँदै थापाले अहिले यो प्रारम्भिक चरणमा रहेको उल्लेख गरिन् । विश्वभरि रहेका सङ्घका राष्ट्रिय समन्वय परिषद्हरु र एनआरएनहरुबाट नेपालमा एकत्रित ढङ्गबाट सेवामूलक कार्यमा लगानी गर्नका लागि सङ्घले दूरगामी महत्वका योजनाहरु अघि बढाइरहेको उपाध्यक्ष थापाले बताइन् । रासस

अपडेट- भारतमा विमान चिप्लिएर दुई टुक्रा, १५ जनाको गयो ज्यान

भारतीय राज्य केरलाको कोझिकोड एयरपोर्टमा शुक्रबार साँझ भएको विमान दुर्घटनामा दुवै जना विमान चालक सहित कम्तिमा पनि १५ को ज्यान गएको छ। यद्यपि भारतीय समाचार स्रोतहरूले फरक फरक हताहतीको संख्या बताइरहेका छन्। दुबईबाट आएको एयर इंडियाको उक्त विमान अवतरण रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो। दुर्घट्ना पछि उक्त बोइङ्ग ७३७ विमान दुई भागमा टुक्रिएको थियो। विमानमा चालकदलका सदस्य लगायत १९१ जना सवार थिए। भारतका केन्द्रिय मन्त्री भी मुरलीधरनले दुर्घटनामा दुवै चालकको समेत पुष्टि गरेका छन्। दुर्घटनामा१२३ भन्दा बढी घाइते रहेको र केही मानिस अझै विमानभित्र फसेका बताइन्छ। राहत तथा उद्वार कार्य जारी रहेको बताइएको छ। कोकिझोड विमानस्थल २००६ मा अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा मान्यता पाएको हो। विमानस्थलको रनवे सानो भएको र टेबलटप संरचनाको उक्त विमानस्थलमा २००८ यता छ विमान दुर्घटना भैसकेका छन्। दुर्घटनाप्रति भारतीय राष्ट्रपति र प्रधानमन्त्री लगायतले दुःख जनाएका छन्।

सुशांत सिंहले गर्न सक्छन, म किन गर्दिन ? भन्दै विद्यार्थीले गरे आत्महत्या

काठमाडौंः बलिउड अभिनेता सुशांत सिंहको आत्महत्याको समाचारले धेरैलाई स्तब्ध बनाएको छ र मानिसहरूले किन यस्तो गरे भन्ने प्रश्न उठिरहेका छन् । उत्तर प्रदेशको बरेलीमा कक्षा १० का विद्यार्थीले टिभीमा सुशांत सिंहको आत्महत्या गरेको खबर पाएपछि आत्महत्या गरेको खबर भारतीय मिडियो आजकतले लेखेको छ । विद्यार्थीले आफ्नो सुसाइड नोटमा लेखेका छन्, ‘अभिनेता सुशांत सिंहले आत्महत्या गर्न सक्छन, त्यसोभए म किन गर्दिन ।’ वास्तवमा, कक्षा १० का विद्यार्थीले आफ्नो सुसाइड नोटमा त्यसो गर्नुको कारण लेखेका छन् । मर्नु अघि विद्यार्थीले सुसाइड नोटमा लेखे कि उसको नपुंसक जस्तै लक्षण थियो र उसको अनुहार पनि केटीजस्तै थियो, जसको कारण मानिसहरूले उसलाई हाँसोमा उडाउँथे । प्रहरीले आत्महत्याका खबर पाएलगत्तै घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । आत्महत्या विद्यार्थीको बुबा मोबाइल मर्मत पसल चलाउँछन् जबकि उनकी आमा बितिसकेका छन् । विद्यार्थीले मर्नु अघि उनले लेखेका थिए, उनको अनुहार केटीजस्तै छ, मान्छे हाँस्छन् र अब ऊ पनि आफूलाई कुनामा मान्छे भनेर सोच्न थालेको छ । त्यसो भए आत्महत्या गर्नु बाहेक अरु कुनै उपाय छैन । विद्यार्थीले थप लेखेका छन् कि यदि उसले आत्महत्या नगरेको खण्डमा उसको बुबाको जीवनमा ग्रहण नपुंसक हुने संकेतका कारण सिर्जना हुने थियो । तसर्थ, उसलाई मर्न आवश्यक छ । विद्यार्थीले एक सुसाइड नोटमा लेखेका छन् कि उनी एक गायक थिए र उनले बच्चाहरूलाई कला सिकाउन चाहेका थिए । छोराको सुसाइड नोट पढिसकेपछि भावनात्मक बुबाले भने कि उनका छोराले राम्रो चित्रण गरे कि स्कूलका शिक्षकहरूले पनि उनको प्रशंसा गरे । साथै बुबाले भने कि आत्महत्या नोटमा छोराले अन्त्येष्टिमा उसलाई घृणा गर्ने सबै व्यक्तिलाई बोलाउनु पर्छ भनेर पनि लेखेका थिए । विद्यार्थीले कसैलाई पनि उसको मृत्युको लागि जिम्मेवार ठहराएको छैन ।

स्टाफ नर्समा देखियो कोरोना

कैलालीः सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना पुष्टि भएको छ । धनगढी उप–महानगरपालिकाकी २८ बर्षीय स्टाफ नर्समा कोरोना पुष्टि भएको हो । सोमबार सुदूरपश्चिममा ६८ जनामा कोरोना पुष्टि भएकोमा २८ बर्षीय स्टाफ नर्समा समेत संक्रमण पुष्टि भएको अस्पताल स्रोतले बताएको छ । सुदूरपश्चिममा यसअघि कञ्चनपुरका तीन र डडेल्धुराका एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ ।

काठमाडौंकाे टोखामा भेटिएका २ संक्रमित ज्योतिषी र किराना पसले

काठमाडौंः राजधानीको टोखा नगरपालिकामा आज कोरोना संक्रमण पुष्टि भएका २ जना ज्योतिषी र किराना व्यावसायी भएको खुलेको छ । आज बिहान संक्रण पुष्टि भएका उनीहरू टोखा नगरपालिका–३ र ६ निवासी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरमणि अधिकारीका अनुसार सोमबार काठमाडौंको टोखामा २ र बूढानीलकण्ठमा एक संक्रमित भेटिएका छन् । संक्रमण पुष्टि भएकामध्ये टोखा–३ भत्केको पुलनजिकै बस्दै आएका २७ वर्षीय युवक ज्योतिषी र वडा नम्बर ६ मा भेटिएका अर्का संक्रमित ४१ वर्षीय पुरुष किराना पसले रहेको वडा कार्यालयले जानकारी दिएको छ । उनी महानगरीय प्रहरी प्रभाग टोखा नजिकै पसल चलाउँदै आएका स्थानीय हुन् । उनीहरू दुवैजनालाई ललितपुस्थित पाटन अस्पतालको आइसोलेसनमा पठाउने तयारी गरिएको छ । प्रारम्भिक सोधपुछमा दुवैजनाको ट्राभल हिस्ट्री भेटिएको छैन ।

कोरोना आशंका गरिएका पुरुषको मृत्यु

चितवनः कोरोना आशंका गरिएका एक पुरुषको मृत्यु भएको छ । नवलपरासीको रामग्राम–७ का ४८ वर्षीय पुरुषको सोमबार बिहान उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । लुम्बिनी अस्पतालबाट राति १२ बजे भरतपुर अस्पताल ल्याइएका उनलाई आइसोलेसनमा राखिएको थियो । निमोनियाबाट ग्रसित पुरुषमा कोरोनाको आशंका गरिएको छ । भरतपुर अस्पतालले मृतक पुरूषको स्वाब परिक्षण गर्ने तयारी गरेको छ ।

सर्वाधिक संक्रमित १०औं देश बन्यो भारत

काठमाडौैंः भारत कोरोना भाइरसबाट सर्वाधिक संक्रमित १०औं देश भएको छ । संक्रमितको संख्यामा इरानलाई पछि पार्दै भारत कोरोना भाइरसबाट सर्वाधिक संक्रमित १०औं देश भएको हो । त्यहाँ सोमबार बिहानसम्म संक्रमित संख्या १ लाख ३८ हजार ५ सय ३६ पुगेको छ । संक्रमितमध्ये साढे ५७ हजार बढी निको भएका छन् । यसअघि दैनिक ६ हजारको हाराहारीमा संक्रमित थपिने भारतमा आइतबार ७ हजार पार गर्दै रेकर्ड ब्रेक भएको थियो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ आइतबार ७ हजार १ सय ११ संक्रमित थपिएका छन् । जुन अहिलेसम्मकै उच्च हो । आइतबार कोरोना संक्रमणबाट १ सय ५६ ले ज्यान गुमाएसँगै त्यहाँ मृतक संख्या ४ हजार २४ पुगेको छ । सर्वाधिक संक्रमित को ११औं नम्बरमा रहेको इरानमा १ लाख ३५ हजार ७ सय १ संक्रमित हुँदा ७ हजार ४ सय १७ ले ज्यान गुमाएका छन् । शिर्ष स्थानमा भने अमेरिका कायमै छ । त्यहाँ १६ लाख ८६ हजार बढी संक्रमित हुँदा ९९ हजार ३ सयको मृत्यु भइसकेको छ । यी हुन् सर्वाधिक संक्रमित १२ देश, जहाँ संक्रमित संख्या एक लाख नाघेको छः   सम्बन्धित समाचारः भारतमा कोरोना संक्रमितको संख्यामा रेकर्ड ब्रेक

कोरोनाबाट मृत्यु भएकी सुत्केरीकी आमाकाे गुनासाे: नातिलाई घाम देखाउन पनि पाएको छैन

काठमाडौंः २५ वैशाखमा काठमाडौंको शिक्षण अस्पतालमा सुत्केरी भएपछि सिन्धुपाल्चोकस्थित बाह्रबिसे घर पुगेकी काभ्रेकी २९ वर्षीया महिलाको १ जेठमा उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदा ल्याउँदै बाटैमा निधन भयो । निधनपछि उनलाई कोरोनाभाइरस संक्रमण भएको पाइयो । छोरी, ज्वाई र नवजात शिशुसँगै गाउँबाट अस्पताल आएकी अर्की एक महिला गरी चार जना अहिले अस्पतालमै आइसोलेसनमा छन् । छोरी गुमाउनुको पीडाबीच आइसोलेसनमै बच्चा (नाति) को हेरचाह गरिरहेकी मृतककी आमासँग गरिएका कुराकानीः अहिले म धुलिखेलमा छु । बच्चा मेरै काखमा छ । रुने त धेरै गरेको थिएन, आज चाहिँ बेला बेला अलि रोएको (बच्चा अलि अलि रोएको फोनमै सुनिन्थ्यो) छ । दुध (ल्याक्टोजिन) खाएपछि सुत्छ । मैले पहिलो पटक छोरीलाई मसान्तको दिनमा (३१ वैशाख) मा भेटेको हुँ । सुत्केरी भएको सातौं दिन भएको थियो, खानेकुराहरु लिएर सुत्केरी छोरीलाई भेट्न गएँ, घरमा पनि खसी काटेको रहेछ । मासु खाएपछि ट्वाइलेट गइरहनु पर्ने भयो भनी, २’३ चोटी ट्वाइलेट गएपछि । बेलुका ठिकै थियो, एकछिन कुरा गरेर सुत्यौं, अलि राती भएपछि दम बढेको जस्तो स्वाँस्वाँ गरी । एकछिन पछि सुख्खा खोकी पनि लाग्न थाल्यो । ज्वाईंले गाडी, एम्बुलेन्स खोज्नुभयो, रातको समयमा पाइएन । बल्ल बिहान हुन लाग्दा (१ जेठमा) गाडी पाएर ज्वाईंले बाह्रबिसेको स्वास्थ्य चौकीमा लिएर जानुभयो । त्यहाँ पुग्दा दम अलि कम भएछ, त्यही पनि सुत्केरीलाई हामीले एन्टीबायोटिक्सहरु चलाउन मिल्दैन, धुलिखेल अस्पताल वा सुत्केरी भएकै अस्पतालमा लैजानुपर्छ भनेछन् । आमाबच्चाको लुगाकपडा बोकेको थिएन, त्यो भएर घरै गएर सामानहरु हालेर एम्बुलेन्समा आयौं । घरबाट एम्बुलेन्ससम्म पुग्न ४/५ कान्ला तल झर्नुपर्छ, आफैं हिँडेर तल झरेर एम्बुलेन्स चढेकी हो । त्यति बेला खोकी लागेको थियो र खोकीमा अलि अलि रगत देखिएको थियो । एम्बुलेन्स चढ्दा ठिकै थियो, तर बाह्बिसे पुग्दा दम अलि बढ्यो । सास फेर्न गाह्रो भयो भनेर एम्बुलेन्समा भएको अक्सिजन लाइदिए । त्यसपछि एम्बुलेन्स बेस्सरी दौडिए जस्तो लाग्यो । हुन त, अस्पताल छिटो पुर्याउन हो नि, तर बिहानदेखि गाडीको गाडीमै घरबाट बाह्रबिसे फेरि घर अनि धुलिखेलतिर हिंडेको, ९/१० दिनको सुत्केरीलाई कस्तो भयो होला ? अक्सिजन लगाएरै धुलिखेल अस्पताल आइपुग्यौं । अस्पतालको आँगनमा ओराल्दा त शरीर पूरै निलो भइसकेछ । मूल प्राण गइसकेछ । केही नभई एक्कासी दम र खोकीको निहुँमा ज्यान गयो । अहिले सबैले ज्वरो आको थियो होला भन्दा रहेछन् । ज्वरो आएको थिएन । म पनि स्वास्थ्य स्वयंसेविका हो, ज्वरो आकोनआको त थाहा पाउँछु नि ! ज्यान गएपछि पो अस्पतालले कोरोना जाँच्नुपर्छ भनेर जाँचे । कोरोना लागेछ रे, एकैछिनमा गाह्रो भएर गई । यता दुधे बालक, उता घरमा ठूलो बच्चा १०/११ वर्षको अर्काे छ । यो सानोलाई कोठाको कोठा नै राख्नु परेको छ । अस्पताल आएदेखि एकछिन घाम देखाउन पाको छैन। कहीँ निकाल्न हुँदैन भनेका छन् । बच्चाको कपडाहरु घाममा सुकाउन पनि पाएको छैन । बेडको तल, माथि, झ्यालतिर झुण्ड्यायो । जति सुक्छ, त्यस्तै लगाइदिनु परेको छ । यस्तो बच्चालाई घाममा राख्नुपर्ने, सेक्नुपर्ने तर कहाँ पाउनु ? अरु त के भन्नु र ? यस्तो महामारीबाट सुत्केरी र्मयो, बच्चाको बिजोग भयो । बच्चा महिना पुग्नु भन्दा अलि अगाडि जन्मेको हो तर केही गाह्रो नभएर त होला अस्पतालले डिस्चार्ज गर्देको । लकडाउनमा काठमाडौंभन्दा घरमै ठिक हुन्छ भनेर घरमै गई । तर केही नभई उमेरको छोरी गुमाउनु प¥यो । अहिले, एउटा कोठामा सानो बच्चा, म, ज्वाईँ र अर्की एक छोरीसहित ४ जना छौं । बच्चालाई दुध खुवाउने, स्याहारसुसार गर्छु । ल बहिनी अहिले बच्चा रोयो, अरु केही छ भने ज्वाईंसँग कुरा गर्नु ! हिमाल खबरबाट साभार

यी हुन् आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौंः आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन २० गतेसम्म थप गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा.युवराज खतिवडाले सो कुराको जानकारी दिए । लकडाउनलाई अझै कडा बनाउने उनले बताए । खतिवडाले ढुवानी, कृषि क्षेत्र, उद्योग, निर्माण कार्य जारी रहने बताए । तर ती काम सुरक्षित तरीकाले गर्नुपर्नेछ । उनले रोग प्रतिरोधात्मक क्षमता बढाउन जडीबुडीको उपयोग र व्यायाम गर्न जनचेतना फैलाउने निर्णय गरिएको बताए । साथै क्वारेन्टाइनको क्षमता र स्तर बढाउने पनि निर्णय बैठकले गरेको छ । लकडाउको मोडालिटीबारे छलफल भएको खतिवडाले बताए ।