प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

विधेयक आजै संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारितका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

कर्णाली प्रदेशमा माओवादीका दुई मन्त्री नियुक्त

सुर्खेत । कर्णाली प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्यालयका अनुसार सोमबार नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । प्रदेश प्रमुख तिलक परियारले नव नियुक्त मन्त्री शाह र कामीलाई आजै दिउँसो तीन बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकी सांसद शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री समक्ष सिफारिस गरेको थियो ।

देउवा सहितका कांग्रेस पदाधिकारीले राष्ट्रपतिलाई भेट्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्दैछन् । भण्डारीलाई भेट्न देउवा पार्टी पदाधिकारीसहित दिउँसो २ बजे राष्ट्रपति भवन शितल निवास जाँदैछन् । सरकारको प्रमुखभन्दा पनि कांग्रेसको पार्टी सभापति र पार्टी पदाधिकारीको हैसियतमा राष्ट्रपतिलाई भेट्न जान लागेको एक नेताले जानकारी दिए । उनले भेटको एजेण्डाका बारेमा भने आफूहरुलाई केही जानकारी नदिइएको बताए ।

त्रिविमा देखिएको विकृति तत्काल समाधान गर्न सभामुखको रुलिङ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालले विकृतिको हल गर्न रुलिङको माग गरेपछि सभामुख सापकोटाले सरकारलाई यथासीघ्र समस्या समाधान गर्न निर्देशन दिएका हुन् । एमालेले त्रिभुवन विश्वविद्यालयमा भइरहेको बेथिती तत्काल हल गर्न सरकारसँग माग गरेको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले विश्वविद्यालयमाथि सत्तापक्षबाटै पटकपटक आक्रमण हुँदै आएको बताए । उनले विश्वविद्यालय धराशयी बनाउने माथि सरकारले कारबाही नगरेर टुलु टुलु हेरेर बसेको बताए । विश्वविद्यालयमा पटकपटक आक्रमण हुँदासमेत कुलपति र सहकुलपति संवेदनशील नभएको बताए।

प्रचण्डले उपत्यका विशेषको विस्तारित बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज उपत्यका विशेष प्रदेश समितिको विस्तारित बैठकलाई सम्बोधन गर्ने भएका छन् । निर्वाचन लक्षित प्रशिक्षणात्मक बैठकलाई प्रचण्डले काठमाडौं ब्याङ्केट थापागाँउमा पुगेर सम्बोधन गर्नेछन् देशैभरका ७७ जिल्लाबाट काठमाडौंका विविध पेशा व्यवसाय गरेर बसेका नेता कार्यकर्तालाई समेटेर बनाइएको उपत्यका विशेष बैठकलाई दिउँसो १ बजे सम्बोधन गर्ने भएका हुन् । प्रदेश, १५ गते सम्पर्क समन्वय समिति प्रदेश, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने माओवादी केन्द्रको तयारी छ ।

माओवादीले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रिय सदस्य पठाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि २० भदौं भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो । बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले २० भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका छन् । यसैगरी, बागमती प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने बैठकको निर्णयसमेत बैठकले गरेको छ ।आइतबार ललितपुरमा बसेको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बैठकले बागमती प्रदेशका ३३ निर्वाचनमा चुनावी कमाण्डर खटाउने निर्णय गरेको हो । बैठकले चितवन–१ मा कन्चन खनाल, चितवन – २ मा घनश्याम दाहाल र चितवन – ३ मा रेनु दाहाललाई चुनावी कमान्डरको जिम्मा दिएको छ । माओवादीले काठमाडौं –१ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाल, ८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल १० मा अञ्जना विसङ्खेमा खटाउने भएको छ । काठमाडौं महानगरभित्रको सबै चुनावी कमाण्ड भने मुक्ति प्रधानले सम्हाल्ने छन् । यस्तै भक्तपुर १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल तथा २ दिलीप प्रजापतिले जिम्मेवारी पाएका छन् । यता ललितपुर १ मा गंगा पराजुली, २ मा उर्मिला लामा र ३ मा हरि दाहाल र पद्मा राईले चुनावी नेतृत्व सम्हाल्ने छ । धादिङमा शालिकराम जम्कट्टेल, काभ्रेमा सूर्यमान दोङ र रुकु चौलागाई, सिन्धुपाल्चोकमा माधव सापकोटा र शरद दुलालले चुनावी कमाण्ड गर्ने छन् । यस्तै दोलखा देवी खड्का, रामेछापमा श्यामकुमार श्रेष्ठ र रसुवामा इन्द्र गोतामेले जिम्मेवारी पाएका छन् । माओवादीले सिन्धुलीमा दीर्घराज श्रेष्ठ र वसन्त माझी, मकवानपुर १ मा विजय गौतम, २ मा कुमारी मोक्तान, नुवाकोट १ रहितबहादुर तामाङ २ मा विमला सुवेदीले चुनावी कमाण्ड सम्हाल्न भनेको छ ।

प्रतिनिधी सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग बिद्येयकलाई बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । यसैगरी, राष्टपतिले प्रमाणिकरण गरेर पठाएको पत्रको ब्योहोरा पढेर सुनाइने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राखिएको छ ।

भारतीय वायु सेनाका उपप्रमुख नेपाल भ्रमणमा

काठमाडौं । भारतीय वायु सेनाका उपप्रमुख तेजवीर सिंह नेपाल भ्रमणमा आउनुभएको छ । आइतबार दिउँसो उहाँको नेतृत्वमा नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा सञ्चालित नेशनल डिफेन्स कोर्ष–६२ मा सहभागी ३१ जना भारतीय सेना नेपाल आइपुगेका हुन् । उपप्रमुख सिंह नेतृत्वको टोली भदौ १६ गते सम्म नेपालमा रहने नेपाली सेनाले जनाएको छ । ५ दिन नेपाल रहँदा सैनिक टोलीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्ने कार्यक्रम छ । उहाँले सोमबार नै जंगी अड्डा भ्रमण गर्ने सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिनुभयो । टोलीले मंगलबार पोखरास्थित मध्यकमाण्ड हेडक्वार्टरको भ्रमण गर्नेछ । यस्तै, भ्रमण दलले पशुपतिनाथ मन्दिर, काठमाडौं दरबार स्क्वायर, लुम्बिनी लगायत काठमाडौं र पोखराका पर्यटकीयस्थलहरुको अवलोकन गर्ने कार्यक्रम छ । यसअघि पनि विभिन्न देशले सञ्चालन गर्ने उच्चस्तरका सैनिक तालिममा सहभागीहरुले नेपालको भ्रमण गर्ने गरेका थिए ।

नेपाल बारले पेश गर्याे जबरामाथि महाअभियाेगका प्रमाण

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोगको आरोप पुष्टि हुने आधारसहित नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले उपलब्ध प्रमाणहरु महाअभियोग सिफारिस समितिमा बुझाएका छन् । आइतबार अपरान्ह सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे र सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य नेतृत्वको टोलीले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध लगाइको महाअभियोग सिफारिस समितिले प्रमाण पेस गर्न दिएको समयभित्रै आफूहरुसँग उपलब्ध प्रमाणहरु पेश गरेको हो । महाअभियोग सिफारिस समितिले यही श्रावण १० गते शुक्रबार ३ दिन भित्र त्यसका प्रमाणहरु पेश गर्न नेपाल बार र सर्वोच्च बारलाई पत्राचार गरेको थियो । आइतबार आफूसँग उपलब्ध सो सम्बन्धि प्रमाणहरु लिखित रुपमा बुझाइएको नेपाल बार एशोसिएशनका अध्यक्ष घिमिरेले बताउनुभयो । उहाँले आफूहरुले बुझाएको सो प्रमाणलाई गम्भिरतापूर्वक लिई महाअभियोग प्रस्ताव पारित गर्न पनि महाअभियोग सिफारिस समितिलाई आग्रह गर्नुभयो । सर्वोच्च अदालत बार एशोसिएशनले भने सो महाअभियोग प्र्रस्तावबारे वरिष्ठ कानुन व्यवसायीहरुको पनि राय लिन महाअभियोग सिफारिस समितिलाई आग्रह गरेको छ । एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले वरिष्ठ कानून व्यवसायीहरुको पनि राय लिएर सो महाअभियोगबारे आवश्यक निर्णयमा पुग्न पनि समितिलाई आफूहरुले आग्रह गरेको बताउनुभयो । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरामाथि यही भदौं १५ गत बयान लिँदैछ । उहाँ विरुद्ध गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए ।

बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना

बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गरिएको छ । कोहलपुरमा नापी र मालपोत कार्यालयको आज उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्न सरकार योजनाबद्ध रुपमा लागेको बताउनु भयो । मन्त्री श्रेष्ठले कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गर्न वजेट व्यवस्था नभएपनि वजेट अभाव हुन नदिन अर्थ मन्त्रीबाट भएको प्रतिबद्धता अनुसार कार्यालय सञ्चालनमा ल्याइएको बताउनुभयो । जनताको दैनिक जीवनसँग जोडिएको भूमि र जग्गा प्र्रशासन सम्बन्धी सेवा प्रवाहका लागि संवैधानिक व्यवस्था अनुरुप गर्न मन्त्रालय प्रतिबद्ध भएर लागिरहेको भन्दै मन्त्री श्रेष्ठले प्रविधिको माध्यमबाट भूमि र जग्गा प्रशासनमा सुशासन कायम गर्न मन्त्रालयले काम शुरु गरिसकेको पनि बताउनुभयो । उहाँले संविधानमा लिपिबद्ध नागरिकका सम्पूर्ण अधिकार कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको र भूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई भूमि वितरणको काम गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो “अहिले वितरण गरिएको लालपूर्जा खारेज नहुने गरी कानुनी व्यवस्था मिलाइएको छ ढुक्क हुनुहोस्, प्रचार र राजनीति गर्ने भन्दा पनि तल्ला तहका नागरिकलाई अधिकार दिने र भूमिहिनको समस्या सदाका लागि अन्त्य गर्न लागि रहेका छौ, यस अघिका आयोगहरुले वितरण गरेर खारेज भएजस्तो अहिले वितरण गरेको लालपूर्जा खारेज हुदैन सवै प्रक्रिया पुरा गरेर भूमिहिन दलित र भूमिहिन सुकुम्वासीलाई लालपूर्जा वितरण गरेका छौ ।” जग्गा नाप्ने तर लालपूर्जा वितरण नगर्ने प्रवृत्ति अन्त्य गर्दै प्राथमिकतामा नै नपरेको गाउँव्लकको लालपूर्जा वितरणको कामलाई आफूले पहिलो प्राथमिकतामा राखेर शुरु गरेपछि हालसम्म गाउँब्लक, विशेष नापी र पुनःनापीबाट ५० हजारभन्दाबढी नागरिकलाई लालपूर्जा वितरण गरिसकेको पनि बताउनु भयो । मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदन अनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुर्नस्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडी बढीसकेको पनि बताउनुभयो । मन्त्री श्रेष्ठले महिलाको संविधानमा भएको सम्पतिको समान हकको कार्यान्वयन गर्न अंशवण्डा गर्दा छोरीलाई पनि अनिवार्य उपस्थित गराउन देरभरका मालपोत कार्यालयमा निर्देशन गरी कार्यान्वयनमा ल्याइएको पनि बताउनुभयो ।

गुल्मीमा जीप दुर्घटना, चालकसहित पाँच जना घाइते

जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ६ क्वाङदीमा आइतबार जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। शान्तिपुर बजारबाट रूपाकोट जाँदै गरेको लु १ ज १८३४ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जीप सडकबाट करिब ६ मिटर तल खसेको छ।

राप्रपा नेपालाई तीर चुनाव चिन्ह प्रदान नगर्न सर्वोच्च अदालतकाे अल्पकालीन आदेश

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललाई तीर चुनाव चिन्ह प्रदान नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ। न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिटमा सुनुवाइ गर्दै निर्वाचन आयोगका नाममा यस्तो आदेश जारी भएको हो। ‘प्रस्तुत निवेदनमा अन्तरिम आदेश जारी गरी पाउँ भन्ने माग सम्बन्धमा विचार गर्दा दुवै पक्षबीच छलफल गरी निष्कर्षमा पुग्न मनासिव देखिएको र निवेदकले उठाएको विषय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसाग जोडिएको अत्यन्त महत्वपूर्ण र तत्काल निर्णय गर्नुपर्ने प्रकृतिको रहेको हुँदा भदौ १४ गते पेशीमा चढाइ निवेदनको विषयवस्तु जोडिएको देखिँदा छलफलको मितिसम्मको लागि निवेदकलाई भदौ ८ गतेको तीर चुनाव चुन्ह प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्नु,’ आदेशमा भनिएको छ।

हुबहु प्रश्नपत्र निकाल्नेलाई कारबाही गरियो, नाम सार्वजनिक गर्न मिल्दैन : त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र निकाल्न संलग्न रहेकाहरूमाथि छानबिन गरी कारबाही गरिएको जनाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले गत वर्ष सोधिएको प्रश्नपत्र यसपालि परीक्षामा पनि हुबहु निकाल्नेहरूमाथि कारबाही गरिएको बताएका हुन्। त्रिविले गत जेठ १८ मा लिएको पब्लिक इकोनोमिक्स र २३ को इन्टरनेशनल पोलिटिक्स परीक्षामा प्रश्नपत्र पुरानै दोहोर्‍याएपछि सवत्र विरोध भएको थियो। हुबहु प्रश्नपत्र तयार गर्ने र एउटा विषयको उल्लेख गरेर अर्कै प्रश्नपत्र तयार पार्नेमाथि छानबिन गरी कारबाही गरिएको उनले बताए।तीन वर्षसम्म पठनपाठन र परीक्षाका काम गर्न नमिल्ने गरी विभागीय कारबाही गरिसकिएको उनको भनाइ थियो । नाम सार्वजनिक गर्दा सुरक्षाको खतरा हुने त्रिविको भनाइ छ। विगतमा दुई जना शिक्षकको हत्या भएको पनि त्रिविले बताएको छ। उनले अर्को प्रसंगमा कर्मचारी प्रविधिमैत्री नहुँदा इन्ट्रीलगायत काम गर्न समस्या भएकोले वार्षिक प्रणालीअन्तर्गत विभिन्न परीक्षाका परीक्षाफल एक वर्ष हुँदा पनि प्रकाशित गर्न नसकिएको दाबी गरेका छन्।

आजदेखि मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको समय

काठमाडौं । निर्वाचन आयोगले आज आइतबारदेखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरू गर्ने भएको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म संकलन भएको र मतदान हुने मिति भन्दा अघिल्लो दिन २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरू गरिने आयोगले जनाएको छ । अद्यावधिक कार्यक्रम अनुसार आइतबारदेखि अर्को आइतबारसम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको समय दिईएको छ । उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुठा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायतका विषयमा काम हुने बताइएको छ । नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था गरिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपछि प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि मिति २०७९ भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

कांग्रेसको चुनावलक्षित अभियान आजदेखि सुरू

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरू गर्दैछ। कांग्रेसले यो अभियानलाई ‘जनताको साथमा नेपाली कांग्रेस’ नाम दिएको छ। आजदेखि भदौ २४ गतेसम्म यो अभियान सञ्चालन हुने कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ। कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य प्रतिनिधि पठाएर अभियान सञ्चालन गर्न लागेको हो। कांग्रेसले सातै प्रदेश कार्यसमितिबाट पनि यस अभियानका लागि जिल्ला–जिल्ला प्रतिनिधि पठाएको छ। यो अभियान सकिएपछि घरदैलोलगायत अभियान गर्ने कांग्रेसको तयारी छ। कांग्रेसले सत्ता गठबन्धनसँग मिलेर आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने निर्णय गरेको थियो।

केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। आज (शुक्रबार) बिहान सुदूपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य बदली भएकाे छ । बाँकी प्रदेशहरुमा भने आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, गण्डकी, लुम्बिनी प्रदेश, प्रदेश-१ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। शुक्रबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, लुम्बिनी प्रदेशका केही स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भइ अन्य भू-भागमा समेत आंशिक बदली हुने भएकाे छ । त्यस्तै, बागमती प्रदेश, गण्डकी, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।