संसदीय निर्वाचनमा ८७ राजनीतिक दलले भाग लिने, सबैभन्दा धेरै मधेस प्रदेशमा
काठमाडौँ — संसदीय निर्वाचनमा ८७ राजनीतिक दलले भाग लिने भएका छन् भने चुनाव चिह्न ७९ वटा रहने भएको छ । ७५ वटा दलले एकल चिह्न र चार वटाले संयुक्त समूहबाट प्रतिस्पर्धा गर्नेछन् । एउटा समूहमा चार वटासम्म दलको गठबन्धन भएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिह्न प्रदान र चिह्नको क्रम निर्धारण टुंग्याएको छ । यसअघिको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत संख्या र निर्वाचन प्रयोजनका लागि निवेदन दिएको क्रम संख्याका आधारमा उम्मेदवारको चिह्न मतपत्रमा समावेश गर्ने निर्णय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।
यो निर्णयअनुसार प्रत्यक्ष र समानुपातिक मतपत्रको पहिलो नम्बरमा एमालेको निर्वाचन चिह्न सूर्य हुनेछ । दोस्रोमा कांग्रेसको रूख, तेस्रोमा माओवादी र नेपाल समाजवादीको गोलाकारभित्र हँसिया–हथौडा रहनेछ । चौथोमा जनता समाजवादी (जसपा) को छाता र पाँचौंमा राप्रपाको हलो चिह्न हुनेछ । छैटौंमा राष्ट्रिय जनमोर्चा र सातौंमा नेमकिपा रहनेछ ।
स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलका आधारमा जसपापछि रहेका एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी मंसिर ४ मा हुने संसदीय निर्वाचनमा पछाडि धकलिएका छन् । मतपत्रमा ३३ औं स्थानमा एकीकृत समाजवादीको कलम चिह्न रहनेछ । जसपाबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादीको साइकल चिह्न २६ औं स्थानमा रहने भएको छ ।
०७४ को निर्वाचनमा दलले प्राप्त गरेको समानुपातिक मतका आधारमा सात वटा पार्टीपछि दल दर्ताका लागि निवेदन दिने दलको नाम रहने भएको छ । आयोगमा निवेदन दिनेमा पहिलो नम्बरमा जनमत पार्टी थियो । अन्तिममा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भएको थियो । मतपत्रमा पनि यो पार्टीको गोलाकारभित्रको घण्टी अन्तिममा रहने भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८० वटा दल दर्ता निवेदन परेकामा एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि ४ वटा निवेदन परेको थियो । ‘७९ वटा दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको संख्या ८७ कायम गरिएको छ,’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने । प्रदेश १ मा ७०, मधेसमा ७५, वाग्मतीमा ७२ र गण्डकीमा ६६ दल सहभागी हुनेछन् । लुम्बिनी प्रदेशमा ६८, कर्णाली प्रदेशमा ६४ र सुदूरपश्चिम प्रदेशमा ६४ दल सहभागी हुने आयोगले जनाएको छ । आयोगका अनुसार चार वटा पार्टी एकल निर्वाचन चिह्नमा सहभागी हुने भएका छन् । दलहरूले माग गरेको एकल चिह्न प्रदान गर्ने आयोगले निर्णय गरेको हो ।
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी निर्वाचनमा पनि चुनाव चिह्न ‘तीर’ नै प्रयोग गर्नुपर्ने भएको छ । थापाले चुनाव चिह्न गाई पाउनुपर्ने माग गर्दै आएका थिए । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा पनि चुनाव चिह्न ‘तीर’ नै प्रदान गरेको हो । स्थानीय तह निर्वाचनमा भने थापाले नै तीर रोजेका थिए । राप्रपाका पूर्वअध्यक्षसमेत रहेका थापाले गत फागुन ७ मा राप्रपा नेपाल घोषणा गरेका थिए ।
आयोगले ०७४ मा ९१ राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता गरी चिह्न प्रदान गरेको थियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५५ राजनीतिक दलले भाग लिएका थिए भने तीन महिनाअघि भएको स्थानीय तह निर्वाचनमा पनि ६३ दलले मात्रै भाग लिएका थिए ।
कान्तिपुरबाट साभार गरिएकाे
उद्योगी व्यवसायीद्धारा व्यापारीमाथिको हस्तक्षेप रोक्न आग्रह
काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघको आपतकालीन बैठक सकिएको छ । बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई वार्तामार्फत् समस्याको समाधान निकाल्न सकिने भन्दै व्यापारी माथिको हस्तक्षेप रोक्न अनुरोध गर्ने निर्णय गरेको छ । ‘बैठक भर्खरै सकियो । मेयर साहलाई थप व्यापारीमाथिको हस्तक्षेष रोक्न र वार्तामार्फत् समस्या समाधान गर्न आग्रह गर्ने निर्णय भयो,’ संघका सचिव दुर्गाराज श्रेष्ठले भने, ‘घरधनी र महानगरको लडाइँमा व्यापारी परे, वार्ता र कानुनी तरिकाबाट पनि समस्या समाधान गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो ।’
महानगरद्वारा कक्षा ११ का २७४ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
भरतपुर । भरतपुर महानगरले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । २ सय ७४ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइनबाट आवेदन माग गरी छात्रवृत्तिमा छनौट गरेको हो । भरतपुर महानगरका मेयर रेनु दाहालले मनखुशी र पहुँचका आधारमा छात्रवृत्ति दिने प्रवृत्ति नियन्त्रण गर्न सफल भएको बताए । विद्यार्थीको क्षमता र योग्यताका आधारमा पारदर्शी रुपमा विद्यार्थीलाई कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताए। आज (बिहीबार) औपचारिक कार्यक्रम गरि छात्रवृत्तिका लागि छनौट भएका विद्यार्थीलाई सिफारिस पत्र वितरण गरिएको छ । मेयर दाहालले गरिबी तथा विपन्नकै कारण शिक्षाको पहुँचबाट वञ्चित हुनुपर्ने अवस्था हटाउन महानगर लागेको बताए। अल्पसंख्यक, सिमान्तकृत समुदायका लागि, उच्च शिक्षाका लागि समेत छात्रवृत्ति वितरण गरिएको बताए । “भरतपुरबाट दक्ष जनशक्ति तयार गर्न शिक्षामा लगानी बढाएका छौँ”, उनले भनिन्, “जहेन्दार विद्यार्थीलाई पढाईमा प्रोत्साहन गर्ने नीति लिएका छौँ ।” शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालका अनुसार ३१ वटा संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति पाएकाहरुमध्ये विज्ञानतर्फ १ सय ६३ जना छन् भने १ सय ११ जना अन्य विषय पढ्नेहरु छन् । महानगरले बनाएको छात्रवृत्ति वितरण कार्यविधि अनुसार विद्यार्थी छनौट गरिएको हो । जेहेन्दारतर्फ १ सय १५ जना, गरिब तथा विपन्नतर्फ ९९ जना, आदिवासी जनजातितर्फ २७ जना, दलित तफए १७ जना, अपाङता भएका ७ जना, जनआन्दोलनका घाइतेका सन्ततीतर्फ ५ जना, शहिदका सन्ततीतर्फ ३ जनाले छात्रवृत्ति पाएका छन् । एसईई सामुदायिक विद्यालयबाट दिएका १ सय ४९ जना र संस्थागत विद्यालयका १ सय २५ जना छनौटमा परेका छन् । अरोमा इंग्लिस सकेण्डरी स्कुलमा ५० जना, अर्किड सकेण्डरीका ३० जना, बाल्मिकी शिक्षा सदनमा २७ जना, सप्तगण्डकी क्याम्पसमा २० जना, बालकुमारी कलेजका ९ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् । छात्रवृत्तिमा छनौट भएका विद्यार्थीले कक्षा ११ र १२ मा निःशुल्क पढ्न पाउनेछन् । महानगर सामाजिक विकास समितिका संयोजक तथा भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले संस्थागत विद्यालयले कम्तिमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनैपर्ने कानुनी व्यवस्था रहेको बताए । उनका अनुसार कक्षा ११ मा अध्ययनरत कुल विद्यार्थीको ५ प्रतिशत विद्यार्थीलाई महानगरबाट सिफारिस भएका आधारमा छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ । अन्य ५ प्रतिशतलाई विद्यालय छात्रवृत्ति वितरण समितिको निर्णयअनुसार हुने व्यवस्था छ । भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले स्मार्ट महानगरलाई सघाउन विद्यार्थी छात्रवृत्ति कार्यक्रमले टेवा पु¥याउने बताए । अरोमा इंग्लिस स्कुलका प्रिन्सिपल शेरबहादुर क्षेत्रीले कार्यविधिका आधारमा मेरिट लिष्टका आधारमा विद्यार्थी छनौट गर्दा लक्षित वर्ग लाभान्वित भएको बताए ।
भदौ १९ मा नेपाल आउँदै भारतीय सेना प्रमुख , राष्ट्रपतिबाट मानार्थ महारथी दिइने
काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे भदौ १९ मा नेपाल आउने भएका छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार सेना प्रमुख भएपछि पाण्डे पहिलो पटक नेपाल आउन लागेका हुन्। काठमाडौंमा पाण्डेले नेपाली सेनाका अधिकारीहरूसँग द्विपक्षीय वार्ता गर्ने छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको पदवी पनि प्रदान गर्ने छिन्। नेपाल र भारतमा एक–अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने परम्परा छ। पाण्डे गत वैशाखमा भारतीय सेनाको प्रमुख नियुक्त भएका थिए।
विश्व ‘हरित ऊर्जा’ प्रवद्र्धनमा केन्द्रित हुनुपर्छ : ऊर्जामन्त्री भुसाल
काठमाडौ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘हरित ऊर्जा’का लागि लगानी जुटाउन सामूहिक प्रयाससहित थप अवसरहरू पहिल्याउनुपर्ने बताएकी छन् । उनले जलवायु वित्तको जोहो गरेर विश्व ‘हरित ऊर्जा’को प्रवद्र्धनमा केन्द्रित हुनुपर्नेमा जोड दिएकी हुन् । ‘कोप–२७’ तयारीका लागि थाइल्याण्डको बैंककमा आज आयोजित ‘जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य प्राप्तिको प्रयासमा लगानी परिचालनसम्बन्धी मञ्च’ बैठकको ‘हरित ऊर्जाका लागि जलवायु वित्त लगानी’ विषयक सत्रमा भर्चुअल सम्बोधन गर्दै मन्त्री भुसालले भनिन्,– “स्वच्छ ऊर्जाको प्रवद्र्धनमा विश्व केन्द्रित हुनुपर्छ, त्यसका लागि सामूहिक रूपमा जलवायु वित्तको जोहो गर्न आवश्यक छ ।” उनले विशिष्ट भौगोलिक बनोट र जलवायु–संवेशनशील जीवन शैलीका कारण नेपाल जलवायु परिवर्तनको असरको उच्च जोखिममा रहेको उल्लेख गरे । अतिकम विकसित मुलुक भएर पनि नेपालले ‘१.५ डिग्री तामक्रम’को लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै मन्त्री भुसालले विश्वका मुलुकले कार्बन उत्सर्जन न्यूनीकरणका लागि महत्वकांक्षी लक्ष्य लिएर काम गर्नुपर्ने बेला आएको बताइन् । वार्षिक ऊर्जा खपत दरलाई आधार मान्ने हो भने नेपालमा उत्पादन भएको जलविद्युत बढी हुने उल्लेख गर्दै उनले आगामी सन् २०२५ देखि नेपाल वर्षभरी नै जलविद्युत निर्यात गर्ने मुलुक बन्ने जानकारी गराइन्। खपत गरेर बाँकी भएको ऊर्जा ‘हरित हाइड्रोजन’ उत्पादनमा प्रयोग गर्ने तयारी गरिएको बताउँदै मन्त्री भुसालले भनिन्, “ग्रीन हाइड्रोजनका लागि हामीले उपयुक्त पहल गरिरहेका छौँ ।” ग्रिन ग्रीड अवधारणाअनुसार कोप–२६ मा ‘एक सूर्य, एक विश्व र एक ग्रिड’ को शुरुआत गरिएको उल्लेख गर्दै उनले हरित ऊर्जासम्बन्धी विश्व अवधारणा पूरा गर्नका लागि नेपालजस्ता देशमा प्रशारण लाइनको निर्माण तथा पूर्वाधार विकासको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए। नेपालमा अधिकमात्रामा नवीकरणीय ऊर्जा जलविद्युत प्रयोग हुँदै आएको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, “सौर्य ऊर्जा उत्पादनका लागि पनि नेपालमा पर्याप्त सम्भावना छ ।” आफ्नो देशले शून्य कार्बन उत्सर्जनको रणनीति लिएको जानकारी गराउँदै मन्त्री भुसालले भनिन्, “नेपालले सन् २०४५ मा शून्य कार्बन उत्सर्जन गर्ने देश बन्ने लक्ष्य लिएको छ । स्वच्छ ऊर्जाको व्यापार गरेर नेपालमा मात्र होइन देशबाहिर पनि कार्बन उत्सर्जनलाई न्यूनीकरणमा योगदान गर्न चाहन्छ ।” स्वच्छ ऊर्जा प्रयोग गर्न शुरु गरिसकेको बताउँदै मन्त्री भुसालले भनिन् “पछिल्लो दशकमा हामीले विद्युत पहुँचलाई व्यापाक विस्तार गरेका छौँ । देशको ९५ प्रतिशत जनतालाई राष्ट्रिय प्रशारण लाइनमार्फत विद्युत पु¥याएका छौँ । आगामी सन् २०२४ सम्ममा हामीले देशभर स्वच्छ ऊर्जा विद्युत पु¥याउने लक्ष्य लिएका छौँ ।”
माओवादीका केन्द्रीय सदस्यले एक साताभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयले सदस्यहरुलाई पत्राचार नै गरेर एक साताभित्र सम्पत्ति विवरण पठाउन सूचित गरेको हो । ‘राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५३ को प्रयोजनको लागि पार्टी केन्द्रीय सदस्यहरुले आफ्नो चल अचल सम्पत्तिको विवरण पार्टी केन्द्रीय कार्यालयमा खाम बन्दी गरी हप्ता दिन पठाई दिनु हुन निर्देशन अनुसार अनुरोध छ’, केन्द्रीय कार्यालयले भनेको छ। सम्पत्ति विवरणमा केन्द्रीय सदस्यको सम्पूर्ण विवरणसहित घर तथा जग्गा धनीको नाम कित्ता नम्बर, बर्गमिटर, प्राप्तिको स्रोत, खरिद गरेको भए खरिद मूल्य खुलाउन भनिएको छ । यस्तै नगद, सुन, चाँदी, हिरा, जवाहरातको परिणाम प्राप्त मिति र स्रोत पनि खुलाउन भनिएको छ । यस्तै बैंक खाताको विवरण, धितोपत्र, शेयर वा ऋणपत्रको विवरण, ऋण लेनदेनको अवस्था लगायतको विवरण खुलाउन भनिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । माओवादीको हालै सम्पन्न स्थायी समिति बैठकले नेताहरुको सम्पत्ति विवरण माग गर्ने निर्णय गरेको थियो ।
सरकारले भारतलाई भन्यो– ‘अग्निपथ’बारे स्पष्ट नभएसम्म भारतीय सेनामा नेपाली भर्ती हुन्न
काठमाडौं । भारतले सैनिक भर्ती गर्न लागु गरेको अग्निपथ योजनाबारे स्पष्ट नभएको भन्दै नेपालले तत्काल नेपालबाट हुने भर्ती स्थगित गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरूण सुवेदीका अनुसार परराष्ट्र मन्त्री नारायण खड्काले बुधबार काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर अग्निपथबारे स्पष्ट नभएकाले तत्काल नेपाली भर्ती नहुने बताएका हुन् । गत असार पहिलो साता भारतले तीन सैनिक सेवा (स्थल, जल र वायु) मा नयाँ भर्नाका लागि अग्निपथ नामको नयाँ स्किम ल्याएको थियो। साढे १७ वर्षदेखि २३ वर्षसम्मका युवा अग्निपथ योजनाअनुसार भर्ती हुन पाउँने भनिएको थियो। यो योजनाअनुसार भर्ती हुनेहरूले ४ वर्षमात्र सेवा गर्न पाउने बताइएको थियो। त्यसपछि थोरैलाई मात्रै पूर्णकालीन सैनिकका रूपमा काम दिइनेछ भने बाँकीलाई घर पठाइने,तर उनीहरूले पेन्सनको सुविधा नपाउने बताइएको थियो । नेपालले आफ्ना युवाहरूलाई पनि त्यही ४ वर्षका लागि भारतीय सेनामा भर्ती गराउन लागेको हो कि पेन्सन पाउने गरी भन्ने स्पष्ट नभएकाले पहिला त्यो स्पष्ट हुनु पर्ने बताएको हो। ‘नेपालीलाई पनि ४ वर्षका लागि मात्र भर्ती गर्ने र पेन्सन नदिने हो भने यस विषयमा हामीले राजनीतिक दल र सरोकारवाला सबैसँग छलफल गर्नुपर्छ,’ परराष्ट्र मन्त्री खड्काले राजदूत श्रीवास्तवलाई भनेको स्रोतले भन्यो– ,‘त्रिपक्षीय सन्धीअनुसार लैजान लागेको हो भने सम्झौता कायम नै छ। हामीले केही भन्नु परेन।’ नेपाल, भारत र बेलायतबीच १९४७ मा भएको सम्झौता अनुसार नेपालीहरू भारतीय र बेलायती सैनिकमा भर्ती हुन पाउँछन्। हरेक वर्ष नयाँ भर्ती गर्दा भारतले सुरक्षालगायत व्यवस्था मिलाइदिन नेपाल सरकारलाई पत्र पठाउँछ। यसपालि पनि भारतले नियमित प्रक्रियामा पत्र पठाएको थियो। उक्त पत्रमा भारतले नेपालीहरूलाई अग्निपथ योजनाअनुसार भर्ना गर्न लागेको हो कि पुरानै व्यवस्थाअनुसार भन्ने खुलाएको छैन। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार अब भारतले नेपालीलाई कसरी सेनामा भर्ती गर्ने हो भन्ने स्पष्ट पारेपछि थप प्रक्रिया अघि बढ्ने बताए। बुटवलमा आजदेखि नेपालीलाई भारतीय सैनिकमा भर्ती गर्ने प्रक्रिया सुरू गर्ने भनिएको थियो। सरकारले पहिला अग्निपथबारे स्पष्ट पार्नुपर्ने बताएपछि बुटवल पुगेका युवाहरू फर्किएका छन् ।
चितवनमा बन्दकर्ताद्वारा ६ गाडी तोडफोड, केही पक्राउ
चितवन, नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ताहरुले चितवनका बिभिन्न स्थानमा सवारी साधनमा तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरेका हुन्। प्रहरीले दिएको जानकारी अनुसार, प्रदेश ३–०–०१क०३१२ नं को कार, ना८ख४२५९ नं को बस, ना५ख२२६३ नं को ट्रक, ना५ख१४३१ नं को बस, ना४ख८३२५ नं को ट्रक, प्रदेश२–०–३–००१ख००९८ नं को बसमा ढुङ्गाले हानेर सिसा फोडेका छन्। प्रहरीका अनुसार सामान्य क्षति भएको छ। सवारी साधन तोडफोड गर्ने पाँच जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। तोडफोडमा संलग्न रहेको आशंकामा ५ जना बन्दकर्ता र ४ थान मोटरसाइकल नियन्त्रणमा लिएको चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अपिधकारीले बताए। भरतपुर महानगरपालिका वडा नम्बर २३ का अमित घिसिङ , ९ का राजनबाबु सिंह , ७ का सुरज शर्मा र सुदिप पौडेल र भरतपुर २ का गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ। भरतपुरमा बन्दको प्रभाव खासै परेको छैन। सवारी साधन निर्वाध रुपमा चलेका छन्। चितवनका मुख्य बजार खुलेका छन्।
चुनाव तयारीबारे छलफल गर्न एमालेले बाेलायाे स्थायी समिति बैठक
काठमाडौं । नेकपा एमालेले स्थायी समिति बैठक बाेलाएकाे छ । निर्वाचनको तयारी तथा रणनीति बनाउन बैठक बाेलाइएकाे एमालेले जनाएकाे छ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीबारे छलफल गर्ने एक नेताले बताए । निर्वाचन तयारीकै लागि एमालेले भदौ १२ गतेभित्र पार्टीका बिभिन्न निकायका बैठक सम्पन्न गर्ने कार्यतालिका बनाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालकाअनुसार भदौ ७ गते स्थायी कमिटी बैठक, भदौ ९ गते पोलिटब्युरो बैठक, भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक बस्दैछ। सो बैठकले संघीय तथा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतको विषयमा छलफल गर्नेछ ।
टिकापुर घटनाको ७ वर्ष, विद्रोह दिवस मनाउँदै उन्मुक्ति पार्टी
कैलाली । टिकापुर घटनाको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले आज विद्रोह दिवसको घोषणा गरेको छ । २०७२ साल भदौ ७ गते टीकापुरमा घटेको घटनाको सम्झनामा उक्त पार्टीले विद्रोह दिवस मनाउने भएको हो । टिकापुर घटनापछि व्यापक धरपकड तथा घटनाको आलोचना भएपछि टीकापुरसहित मधेस आन्दोलनका क्रममा भएका ज्यादती र त्यसको सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय छानबीन आयोग गठन गरिएको थियो । आयोगले १४ महिना लगाएर ७ सय ९ पृष्ठ लामो प्रतिवेदन तयार पारी २०७४ मंसिर २९ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । यद्यपी उक्त प्रतिवेदन अझै सार्वजनिक भएको छैन । नागरिक उन्मुक्ति पार्टीका नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले थाकसको सभापतित्व र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख अतिथ्यमा कार्यक्रम गर्ने र जेलबन्दी परिवारका सदस्यलाई अतिथि बनाइ सम्मान गर्ने कार्यक्रम रहेको छ। ७ वर्षअघि २०७२ साल भदौ ७ गते आजकै दिन भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो। उक्त घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरीले आजीवन कैदको सजाय भोगिरहेका छन्। करिब साढे ३ वर्षपछि टीकापुर घटना सम्बन्धी मुद्दामा कैलाली जिल्ला अदालतले प्रतिनिधिसभा क्षेत्र नम्वर १ बाट विजयी सांसद चौधरी सहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। रेशम चौधरी सहित हरीनारायण चौधरी, राजकुमार कठरीया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, विरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई जन्म कैद हुने फैसला गरेको थियो । श्रवण चौधरी नाबालक भएकाले आधा अर्थात १० बर्ष सजाय तोकिएको थियो। यस्तै लक्ष्मण थारु, लाहुराम चौधरीलगायतका १२ जनालाई ३ वर्ष कैद तोकिएकोमा उनीहरु कैद भुक्तान गरेर छुटेका थिए। तर जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै उच्च अदालत दिपयालमा पुनरावेदन गरेपछि रिहा भइसकेका लक्ष्मण थारुलाई पनि जन्म कैद हुुने फैसला सुनाइएको थियो। अहिले उनी फरार छन्। ६ महिना कैद सजाय तोकिएका करन चौधरी पनि रिहा भएका छन् भने नुरुल अलि जागा भनिने तहाँवर अलिजागा, बिसराम चौधरी र रामनरेश चौधरीले सफाइ पाएका थिए । हालसम्म पनि फरार रहेका ३१ जनाको मुद्दा अदालतले मुलतवीमा राखेको छ। अदालतले थारु समुदायमाथि अन्याय गरेको भन्दै रेशम चौधरीसहितका कैदीबन्दी रिहाइ गर्नुपर्ने माग थरुहट थारुवान मोर्चाले राख्दै आएको छ। File Photo
सभामुख सापकोटासँगको भेटमा जिसिटिपिले भन्यो – नेपालको शान्ति प्रक्रियाबाट सिक्न चाहन्छौं
भदौ ७ काठमाडौं । ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिस (जिसिटिपि) का उच्च अधिकारीहरुले सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर नेपालको शान्ति प्रक्रियाबाट विश्वले सिक्न चाहेको बताएका छन् । जिसिटिपिका अधिकारीहरुले सोमबार सभामुख सापकोटासँग सिंहदरबारस्थित उहाँको कार्यकक्षमा भएको शिष्टाचार भेटमा नेपालबाट धेरै कुरा सिक्न चाहेको बताएका हुन् । भेटमा विश्व शान्ति र सहिष्णुता क्षेत्रमा काम गर्न विश्वका ९० बढि देश संलग्न जिसिटिपिका बर्तमान अध्यक्ष अहमद अल जरवानले भने – ‘शान्ति र सहिष्णुताको संस्कार सबैले अंगिकार गर्नु आवश्यक छ, यसका लागि हामीले नेपालको शान्ति प्रक्रियाबाट धेरै सिक्नु छ ।’ अध्यक्ष जरवानले नेपालको शान्ति स्थापनाको राम्रो उदाहरण रहेको एवं विविधताबीच एकता कायम रहेको कुराले विश्वका धेरै देशका सांसदलाई नेपाल आउन प्रेरित गरेको बताए । प्रतिनिधि मण्डलका सदस्यहरुले विश्व शान्तिका लागि संयुक्त राष्ट्रसंघ मार्फत शान्ति सेना पठाएर गरेको सहयोग तथा बुद्धको जन्मथलोका रुपमा विश्वभर शान्तिको सन्देश दिएको देश नेपालमा निकट भविश्यमा ग्लोबल कन्फरेन्स गर्ने इच्छा व्यक्त गरेको थियो । भेटमा सभामुख सापकोटाले वर्तमान विश्व परिवेशमा शान्ति र सहिष्णुताको महत्व अझ बढेर गएको बताउँदै यसका लागि सबैबाट असिमित प्रयासको खाँचो औंल्याए । नेपालमा शान्ति प्रक्रियाका धेरै विषय टुंगिएको र केही बाँकि रहेको जानकारी गराउँदै सभामुख सापकोटाले यहाँको शान्ति स्थापनामा भएका उत्तम अभ्यासहरु विश्वका लागि महत्वपूर्ण हुन सक्ने धारणा राखे । सभामुख सापकोटाले विश्व शान्ति स्थापनार्थ काम गरिरहेका संस्थाहरुबीच ऐक्यवद्धता र सहकार्य जरुरी रहेकोमा जोड दिंदै आफू नेतृत्वको संघीय संसद सहकार्यका लागि सधैँ तयार रहेको बताए । सो भेटमा जिसिटिपिका फरक फरक देशका १३ सदस्यीय प्रतिनिधि मण्डलका सदस्यहरुले लैंगिक समानताका क्षेत्रमा नेपालले गरेका काम उदाहरणीय रहेको बताएका थिए । यसैबीच नेपालको संघीय संसद र ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिसबीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा आयोजित कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेपालका तर्फबाट प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी र जिसिटिपिका तर्फबाट जोरान इल्लियोभोस्कीले हस्ताक्षर गर्नु भएको हो । समझदारी पत्रमा विश्व शान्ति र सहिष्णुताका लागि सहकार्यका विषय समावेश छन् ।
काठमाडौं उपत्यकाबाट बन्द गराउँदै हिँडेका १८ जना पक्राउ
काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दका क्रममा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट बन्द गराउन सडकमा निस्केका १८ जना नियन्त्रणमा लिइएका हुन । काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको छ । एकजना ललितपुरबाट पक्राउ परेका हुन् ।
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १० बजे बस्ने छ । आजको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा ९कोइराला०ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यसअघि हिजो बसेको बैठक काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो ।
गठबन्धन बैठक सिट बाँडफाँट नजिक , भोलि पुनः बस्ने
काठमाडौं । प्रदेश र प्रतिनिधिसभा चुनावमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक आज पनि विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि निष्कर्ष ननिस्केको सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीले बैठकपछि जानकारी दिए । उनले मंगलबार दिउँसो ३ बजे अर्को बैठक बस्ने पनि बताए । ‘गठबन्धन बैठक निष्कर्ष नजिक पुगेको छ । बैठक जारी छ , भोली ३ बजे बस्नेछ’, उनले भने । बैठकमा सिट बाँडफाँट र त्यसपछिको अवस्थामा केन्द्रीत रहेर छलफल भएको मन्त्री कार्कीले बताए ।
नेपाली कलासंस्कृति पर्यटनको आधार हो : पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली कलासंस्कृति पर्यटनको आधारको रुपमा रहेको बताएका छन् । सोमवार नेपाल व्यवसायिक कलाकार संघले नेपाल आर्ट काउन्सिलमा आयोजना गरेको कलाकार तथा लेखक सुरेशकुमार द्यःलाद्वारा लिखित ‘सत्यम्, शिवम्, सुन्दरम्’ नामक पुस्तक विमोचन तथा चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले कलाका विविध सौन्दर्यले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनारी दिने बताए। नेपाली कला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धन आफ्नो प्राथमिकतामा रहेको उनले बताए । पर्यटकीय क्षेत्रको संरक्षण र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउँदै मन्त्री श्रेष्ठले संस्कृतिको संरक्षण र प्रचार–प्रसारलाई योजनावद्ध रुपमा अघि बढाइएको बताए। काठमाडौंको पर्यटन विकासका लागि सम्पदामार्ग निर्माण गर्न लागिएको जानकारी दिदै उनले सम्पदामार्ग निर्माण प्रकृया समेत अघि बढिसकेको बताए । काठमाडौंमा सांस्कृतिक चाडपर्व र सम्पदाहरु पर्यटकीय आकर्षणका दृष्टिले महत्वपुर्ण रहेको बताउँदै यसको संरक्षण र सांस्कृतिक विविधतालाई प्रचार–प्रसार गर्नुपर्ने उनले बताए। कार्यक्रममा ‘चित्र कवि’ का रुपमा परिचित सुरेशकुमार द्यःलाले आफुले वीस बर्ष लगाएर ‘सत्यम्, शिवम्, सुन्दरम्’ कृति तयार गरेको बताए । द्यःलाले शिवशंकरको पुराणमा आधारित चित्रहरूमार्फत शिवको महिमा पुस्तकमा चित्रण गरे । कार्यक्रममा मन्त्री श्रेष्ठले कलाकार मदन चित्रकारलाई सम्मान गरे।
कम्युनिष्ट पार्टीसँग भएको सम्झौता पूरा गर्न सरकार प्रतिवद्ध : कानूनमन्त्री
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपाल कम्युनिष्ट पार्टीसँग भएको सम्झौता पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताए । सोमबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताए। मन्त्री कोइरालाले नेपाल कम्युनिष्ट पार्टीको वार्ता टोलीले सरकारसँग वि.सं.२०७७ फागुन २० मा सम्झौता गरेको सो अनुसार हालसम्म ५२३ मुद्दाहरु फस्र्यौट भइसकेको बताए। उनले नेपाल कम्युनिष्ट पार्टीमाथि कुल ६१० वटा मुद्दा लागेको बताए । उनले अहिले ८७ वटा मुद्दा फस्र्यौटको क्रममा रहेको बताए। मन्त्री कोइरालाले ६० जिल्लामा नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दाहरु रहेको उल्लेख गर्दै अदालतमा चलेका मुद्दाहरुमा पनि ११९ मुद्दा फैसला भइसकेको बताए। पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह र सरकारबीच भएको तीन बुँदे सहमति पूरा गर्नका लागि कार्यान्वयनमा प्रतिवद्ध रहेको बताए । उनले जिल्ला प्रशासन कार्यालयमा ६१० वटा मुद्दाहरु रहेकोमा ५२३ मुद्दा फस्र्यौट भएको र ८७ मुद्दा कार्यविधिगत कानूनी प्रक्रिया बाँकी रहेका कारणले विचाराधिन रहेको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित झन्डै १५०/१५५ को हाराहारीमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने गरी निर्णय गरिसकेको पनि बताए । महान्यायाधिवक्ता खातीले ऐन, कानूनले नेगेटिभ लिस्टमा राखेका मुद्दाहरु भने मन्त्रीपरिषद्बाट फिर्ता लिन नमिल्ने बताए। उनले फिर्ता लिने मुद्दाहरुमा ३८ थान मुद्दा गृह मन्त्रालयबाट आएको र महान्यायाधिवक्ताको कार्यालयले त्यसको प्रक्रिया पूरा गरेर गृह हुँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको अवस्था रहेको बताए। ती मुद्दामा क्षतिपूर्तिको माग दाबी भएको कारणले पनि प्रक्रियागत रुपमा अघि बढेको बताए।

