प्रतिशोधको भावनाले द्वन्द्दको समाधान गर्दैन्, बरु झन बल्झाउँछ– गौरी प्रधान, पूर्व आयुक्त, मानवाधिकार आयोग
काठमाडौं । राष्ट्रिय मानवाधिकार आयोगका पूर्व आयुक्त गौरीप्रधानले द्वन्द्वको घाउ बल्झ्याउने काम भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानले द्वन्द्वकालका घाउहरु बल्झाउनुको पीडा देश र जनताले भोग्नुपर्ने भन्दै यस विषयमा गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । “द्वन्द्दको घाउलाई बल्झाएर के गर्नु ? आखिरमा, नोक्सान त देश र दुनियाँलाई नै हुने हो क्यारे! सबै गम्भीर होऔं, सबै जिम्मेवार बनौं !” उनले लेखेका छन् ।
द्वन्द्व समाधानमा नेल्सन मण्डेलाको भनाई मन पर्ने उल्लेख गर्दै उनले प्रतिशोधको भावनाले द्वन्द्वको समाधान गर्ने नभई झन बल्झाउने बताएका छन् । उनले लेखेका छन्ः
द्वन्द्द समाधानको बिषयमा मेरो दृष्टिकोण आज पनि नेल्सन मन्डेलाको विचार “क्षमा गर, तर नबिर्स” (Forgive, but not forget) मा आधारित छ । प्रतिशोधको भावनाले द्वन्द्दको समाधान गर्दैन्, बरु झन बल्झाउँछ । मुख्य कुरा विस्तृत शान्ति सम्झौता (Comprehensive Peace Accord)को अधुरो र अपुरो कुरालाई पूर्ण गराउनु नै हो । यतातिर सबैको गम्भिर ध्यान जावस्।
वर्षौंसम्म पनि सुध्रिएन रोल्पा सडकको अवस्थाः कष्टपूर्ण यात्रा गर्न बाध्य यात्रु
रोल्पा । दिदीको छोराको बिहेमा रुकुम पश्चिम हिँडेकी रोल्पा नगरपालिका–४ लिवाङकी टीका आचार्य कष्टपूर्ण यात्रा गर्दै ४ घण्टा ढिला माइत पुगिन्। बिहेजस्तो अत्यावश्यक काममा हिँडेकी उनलाई विवाहको साइतमा नपुगिने हो कि भन्ने चिन्ता थियो। सदरमुकाम लिवाङबाट परिवर्तन गाउँपालिका–६ इरिवाङ हिँडेकी मेलिना थापाको यात्रा निकै कष्टकर रह्यो। ८ महिनाको छोरीसहित घर हिँडेकी उनलाई समयमै घर नपुगिने कुराले चिन्तित बनाएको थियो। जाडोको याममा बच्चासँगको यात्रा गर्न बाध्य उनलाई बेलुकाको बास कहाँ हुने हो भन्ने चिन्ता थियो। जिल्ला सदरमुकाम लिवाङबाट गङ्गादेव गाउँपालिका हिँडेका मनोजकुमार वली चढेको गाडी रोल्पा नगरपालिका–७ निम्रीस्थित सडकमा रहेको हिलोमा भासियो। उनले गाडीका स्टाफ र अन्य यात्रुसँगै हिलोमा फसेको गाडी तान्न तम्सिए। लगातार एक घण्टा डोरी लगाएर तानेपछि हिलोमा फसेको गाडी निस्कियो। आचार्य, थापा र वली मात्र हैन सदरमुकाम लिवाङबाट पश्चिम रोल्पाका चार स्थानीय तहसहित रुकुमपूर्व र रुकुमपश्चिम आवतजावत गर्ने यात्रुहरु अचेल यस्तै समस्या भोग्ने गर्दछन्। यसको मुख्य कारण हो रोल्पा नगरपालिका–७ मा पर्ने निम्री सडक। सो सडकले जिल्ला सदरमुकाम लिवाङलाई पश्चिम रोल्पाका आधा दर्जन स्थानीय तहका साथै रुकुमपूर्व र पश्चिम दुई जिल्लालाई समेत जोडेको छ। दैनिक दर्जनौँ गाडी ओहोरदोहोर गर्ने उक्त सडकमा यात्रा गर्ने यात्रुहरुलाई कष्टपूर्ण यात्रा गर्न बाध्य हुने गरेका छन्। डेढ घण्टा लाग्ने यात्रामा साढे तीन घण्टा लाग्ने गरेको छ। बाटोको अस्तव्यस्तताले यात्रासमेत अनिश्चित हुने गरेको छ। अत्यावश्यक काम लिएर हिँड्ने यात्रुहरुसमेत बाटोको अवस्थाले कैयौँ अवसर गुमाउने गरेका छन्। बाटामा रहेका ठूल्ठूला खाल्डाखुल्डी, झाडी, पहिरो र साँघुरो मोडले यात्रालाई असहज बनाउने गरेका छन्। सडक स्तरोन्नतिका नाममा हरेक वर्ष करोडौँ रुपैयाँ खर्च भएको देखिने भए पनि बाटोको अवस्था भने परिवर्तन हुन सकेको छैन। सोही सडक भएर पश्चिम रोल्पाका थवाङ, परिवर्तन, गङ्गादेव, त्रिवेणी, रुन्टीगढी र माडी गाउँपालिकाका अध्यक्षहरु जिल्ला समन्वय समितिको बैठकमा हरेक महिना सदरमुकाम ओहोरदोहोर गर्दछन्। सोही सडक भएर धार्मिक पर्यटकीय क्षेत्र जलजला र ऐतिहासिक गाउँ थवाङ पुग्ने गरिन्छ। जिल्लाका सबै स्थानीय तहको विकास प्राथमिकतामा सडक सञ्जाल परे पनि वर्षौं बित्दासमेत सडकको अवस्था भने सुधार हुन नसक्नु दुःखद भएको सरोकारवालाको भनाइ छ। जिल्लाका सबै स्थानीय तहले सडक निर्माण तथा मर्मत शीर्षकमा कूल बजेटको झन्डै ६० प्रतिशत विनियोजन गर्ने गर्दछन्। सङ्घीय र प्रदेश सरकारले समेत जिल्लाको सडक निर्माणलाई नै प्राथमिकता दिएको देखिन्छ। विगत पाँच वर्षयता यो क्रमले निरन्तरता पाइरहे पनि जिल्लाका सडकको गुणस्तर भने परिवर्तन हुन नसकेको जिल्लावासीको गुनासो छ। “सङ्घ, प्रदेश र स्थानीय सरकारमा जवाफदेहिता देखिँदैन” स्थानीय यातायात व्यवसायी भीम घर्तीले भन्नुभयो, “जतिभन्दा पनि सरकारले सुन्दै सुन्दैनन्।” सडकमा भएका खाल्डाखुल्डी पुरे पनि यातायात व्यवसायीलाई राहत मिल्ने थियो, उहाँको भनाइ छ। दस वर्षे सशस्त्र द्वन्द्वमा मारिएका व्यक्तिहरुका नाममा ती सडकको नामकरण गरिएको छ। शहीद मार्ग नामकरण गरिएका ती सडक आफैँ शहीद भएका छन् रुन्टीगढी गाउँपालिकाका स्थानीय युवा नन्दराम खड्काले बताउनुभयो। “बाटोको अवस्था हेर्दा शहीदमाथि अन्याय भएको छ”, उहाँले भन्नुभयो, “यो बाटोमा यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य भएका छन्। तर पनि सरकारले कुनै चासो देखाएको छैन्।” उक्त सडकबाट यात्रा गर्दा धेरै पटक मृत्युको मुखबाट बचेको बताउँदै उहाँले कष्टपूर्ण यात्रा गर्नु यहाँको यहाँका लागि कुने नौलो विषय नभएको बताउनुभयो। “विकासमा पछाडि पारिएको भन्दै रोल्पाबाट जनविद्रोह गरेका नेताहरु सत्तामा पुगे पनि विकासमा तात्विक अन्तर देखिएको छैन”, स्थानीय महिला अगुवा तीर्था आचार्यले भन्नुभयो, “सडक सञ्जालका नाममा डाँडाकाँडा छिया छिया भए पनि गुणस्तरीयताको अभावमा सडकहरु मृत्युमार्गका रुपमा देखिएका छन्।” उहाँले दस वर्ष बन्दुकको त्रास भोगेका रोल्पाली अहिले सडक त्रासमा बच्न बाध्य भएका छन् भन्दै अप्ठेरो, असहज र अनिश्चित यात्राले महिलाहरु थप प्रताडित हुने गरेका छन्। तर यसतर्फ कसैको ध्यान नगएको बताउनुभयो। लामो समयदेखि सोही सडकमा गाडी चलाउँदै आएका जीपचालक दीपक थापाका अनुसार सुधारिएको सडकमा कहिल्यै गाडी चलाउन पाइएन। “यात्रा सधैँ यस्तै कष्टकर हुने गर्दछ”, उहाँले भन्नुभयो, “हिउँदमा सामान्य पानी पर्दा पनि पहिरो झर्ने र बाटो हिलाम्य हुने गर्दछ। बाटामा भएका ठूल्ठूला खाल्डाखुल्डी र ढुङ्गालाई छल्दै गाडी चलाउनुको विकल्प छैन।” सडक मर्मतमा सम्बन्धित निकायको लापरबाहीका कारण नागरिकहरु यस्ता समस्या भोग्न बाध्य छन्। यात्राको मारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति बढी मात्रामा पर्ने गर्दछन्। असहज यात्रा, समयमा घर नपुगिने चिन्ता र असुरक्षाले उनीहरुको यात्रा कष्टकर बन्ने गर्दछ।
किसानका समस्या समाधान गर्न मन्त्रीको नेतृत्वमा समिति गठन
जनकपुर । मधेस प्रदेश सरकारले आफ्नो प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ। शनिबार बिहान बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय समिति गठन गरेको हो। समितिमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश सर्राफ छन्। समितिलाई कृषि तथा पशुपक्षी विकास, किसानको मलखाद, बीउबिजन तथा सिँचाइ समस्या, बिमाको अवस्था, डुबान कटानको अवस्था, कृषि र यान्त्रिकीकरणको अवस्था र अगामी रणनीति, कृषि विद्युतिकरणको अवस्था, मधेस प्रदेशको भूउपयोग नीति निर्माण एवं मधेस सरकारले कृषि सुधारका लागि गरेका कामको समीक्षा एवं अगामी योजनाबारे नीति निर्माण गर्ने जिम्मेवारी दिइएको सरकार प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसादसाहले जानकारी दिए। उच्च स्तरीय समितिलाई १५ दिनभित्र अन्तरिम प्रतिवेदन तथा १ महिनामा पूर्ण प्रतिवेदन मन्त्रिपरिषदमा पेस गर्ने समय सीमा दिइएको प्रवक्ता साहले बताए।
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित,चार जनाको परीक्षा रद्ध
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । माघ २१ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार माघ २ र ३ गते सञ्चालन भको ग्रेडवृद्धि (पूरक)परीक्षार्थीको परीक्षाफल प्रकाशित गरिएको बोर्ड परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । ग्रेडवृद्धि परीक्षामा सम्मिलित ४२ हजार ४७ मध्ये ४ जनाको परीक्षा रद्द भएको छ भने बाँकी परीक्षार्थीको नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ । ग्रेडवृद्धिको नतिजा बोर्ड र नेपाल टेलिकमको वेबसाइटका साथै नेपाल टेलिकमको १६०० मा एसएमएस र १६०१ नम्बरमा डायल गरेर प्राप्त गर्न सकिनेछ ।
गृहमन्त्रीद्वारा हिमपात र हावाहुरी प्रभावितलाई राहत तथा सहायता गर्न निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले हिमपात र हावाहुरी प्रभावित नागरिकलाई राहत तथा उचित व्यवस्थापन मिलाउन निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातले प्रभावित नागरिकको उचित व्यवस्थापन एवं राहत उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएका हुन। गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिए। हिजो दिउँसो धनुषाको सबैला नगरपालिका–१२ मा रुखकोे हाँगा भाचिदा महेन्द्र सदाकी आठ वर्षीया छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका सात वर्षीय छोरा अरविन्दको मृत्यु भएको थियो । त्यस्तै, हिजो नै रौतहटको बुधिमाई नगरपालिका–१ मा कच्ची घर ढलेर भित्ताले च्याप्दा राममंगल रायकी श्रीमती ४५ वर्षीया फूलमतियादेवीको मृत्यु भएको थियो । त्यसैगरी हिमाली जिल्लाको हिमपात र तराइमा हावाहुरी र शीतलहरबाट प्रभावितलाई राहत र अन्य आवश्यकीय कार्यका लागि सतर्क रहन भनेका छन् ।
निर्वाचन आयाेगद्वारा मतपत्र डिजाइन, लाेगाे तथा सूचना सामग्रीका लागि दरखास्त आह्वान
काठमाडौं । निर्वाचन आयोगले चुनावकाे तयारी सुरु गरेकाे छ । आयाेगले यसका लागि मतपत्र डिजाइनका गर्न दरखास्त आह्वान गरेको छ । आयोगले आज सार्वजनिक सूचना प्रकाशित गरेर मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त मागेको हो । निर्वाचनको समयमा आयोगले तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । आवेदन आयोगको कार्यालय वा आयोगको इमेलमा दर्ता गर्न सकिने भनिएको छ । निवेदनको ढाँचा आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखावा वेबसाइटबाट प्राप्त गर्न सकिने बताएको छ ।
पुलमा बस र ट्रक ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु
काठमाडौं । गएराति सुनसरीको लौकहीमा स्थित खुनिया पुलमा बस र ट्रक एक आपसमा ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा १३ जना यात्रु घाइते भएका छन् । गएराति साढे ७ बजे काकडभिट्टाबाट काठमाडौं हिडेको ना ८ ख ८४९३ नम्बरको यात्रुबाहक बसले पूर्वतर्फ आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रकलाई ठक्कर दिदा आगलागी भएको हो । आगलागी हुँदा बसमा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएको छ । प्रहरीले २ घण्टाभित्र आगो नियन्त्रणमा लिएपनि बस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
आज दिउँसोदेखि मौसममा सुधार हुने
काठमाडौं । आज दिउँसोदेखि मौसममा सुधार हुने भएको छ । बिहीबार र शुक्रबार वर्षा तथा हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छिन । बिहीबार पश्चिम भेगमा र शुक्रबार देशैभरि वर्षा र हिमपात भएको थियो । अहिले देशका केही ठाउँमा सामान्य बद्ली रहेको र दिउँसोदेखि मौसम सफा हुने मौसमविद् मानन्धरले बताइन । आज पहाडी भेगका केही ठाउँमा बदली भएर सामान्य वर्षा हुने उहाँले बताउनुभयो । भोलिदेखि मौसम खुलेर घाम लाग्ने र न्यानो सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दुई दिनको हिउँदे वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ । यस वर्ष गएको वर्षको हिउँदको तुलनामा चार गुणा धेरै वर्षा भएको छ । गत वर्षको हिउँद अर्थात डिसेम्बरदेखि फेब्रुअरीसम्म १५ दशमलव चार मिलिमिटर वर्षा भएकोमा यो वर्ष शुक्रबार बिहानसम्म ५७ दशमलव ७ मिलिमिटर वर्षा भइसकेको थियो । शुक्रबार देशैभरि वर्षा भयो भने थुप्रै ठाउँमा भारी वर्षा समेत भएको छ । सामान्यतया हिउँदमा ६० दशमलव नौ मिलिमिटर वर्षा हुन्छ । आज पनि देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाले लियो १६ को ज्यान
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित थप १६ जनाको मृत्यु भएको छ भने २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ७३ नमुना परीक्षण गरिएकोमा ६ हजार ६५५ नमुनाको पीसीआर टेष्ट गर्दा एक हजार ६०२ र चार हजार ४१८ नमुनाको एन्टीजेन टेष्ट गर्दा ९२४ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जन संक्रमणमुक्त भएका छन्। हाल देशभर ५६ हजार ४५७ संक्रिय संक्रमित छन्। ५५ हजार ९० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३६७ जना संस्थागत आइसोलेसनमा छन्। उनीहरुमध्ये २४३ जनाको आईसीयू र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
म्यानपावर कम्पनीको वर्गीकरण हुने , सहसचिवको संयोजकत्वमा कार्यदल गठन
काठमाडौँ । सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउने उदेश्यले यसो गर्न लागिएको हो । आठ सय ६० म्यानपावर कम्पनीलाई मापदण्ड बनाएर वर्गीकरण गर्न लागिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यबिधि तयार गर्न मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । आज गठन भएको कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको निजी सचिवालयले जनाएको छ ।
होटलमा बस्दै आएका एक युवा मृत फेला परेपछि…
धनगढी । केही समयदेखि होटलमा बस्दै आएका एक युवा मृत फेला परेका छन् । कैलालीको राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका निवासी ३५ वर्षीय साधन डान मृत फेला परेका हुन । उनी विगत केही दिनदेखि उक्त होटलमा बस्दै आएका बताइन्छ । प्रहरीका अनुसार, शनिबारका दिन कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा उनलाई फेला पारिएको थियो। उनी माघ ३ गतेदेखि उक्त होटलमा बस्दै आएका थिए। उनको मृत्युबारे प्रहरीले छानबीन सुरु गरेको छ । उनी किन होटलमा बसिरहेका थिए र उनका गतिविधि के कस्ता थिए भन्ने कुरा विस्तृत अध्ययनपछि मात्रै कारण पत्ता लाग्ने प्रहरीको भनाई छ ।
आजदेखि विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने
काठमाडौं । आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि विद्यालय खुल्ने छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न निर्देशन दिएको थियो । सोही अनुसार स्थानीय तहले सूचना जारी गर्दै खोप लगाउन आह्वान गरेका छन् । काठमाडौं महानगरपालिकाले विद्यालय खोप अभियान सञ्चालन भइरहेकाले खोप लगाउन छुटेका विद्यार्थीको विवरण अद्यावधि गरेर विद्यालय वा नजिकैको खोप केन्द्रमा खोप लगाउन निर्देशन दिएको छ । त्यसका लागि स्थानीय तहका वडामा रहेका सामुदायिक सहरी स्वास्थ्य क्लिनिकसँग समन्वय गर्न विद्यालयलाई भनिएको छ । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइँदै आइएको छ । यसअघि २७ पुसदेखि १५ माघसम्म सबै विद्यालय बन्दको निर्णय भएकामा लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ । खोप लगाएको सुनिश्चित गरेपछि परीक्षा सञ्चालन गर्ने सरकारको तयारी छ ।
मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउन मन्त्री चौधरीको निर्देशन
काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यकावासीलाई आगामी चैत मसान्तभित्र मेलम्चीको पानी वितरण गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्री चौधरीले मुलुकको राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत मेलम्ची खानेपानी आयोजना प्राकृतिक विपत् जोखिमयुक्त क्षेत्रमा रहेकाले आयोजनाको हेडवक्र्सलगायतका संरचनाको गुणस्तरीय निर्माण गर्नसमेत ठेकेदार कम्पनी र मेलम्ची खानेपानी विकास समितिका कर्मचारीलाई निर्देशन दिनुभयो । गत असार १ गते आएको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले सुरु गरिसकेको छ । खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य व्रजाचार्य, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र प्राविधिक टोलीसहित मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरी मन्त्री चौधरीले सो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले यही माघ ७ गते देशवासीका नाममा सम्बोधन गर्दै यसै वर्षभित्र आयोजनालाई पुनः सञ्चालनमा ल्याई मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यसैगरी कुनै पनि बहानामा निर्धारित समयभन्दा एक दिन पनि काम ढिलो नगर्न, आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनसहित विभिन्न चरण गरी चौबीस घण्टा नै काम जारी राख्न तथा काम सम्पन्न नहुञ्जेलसम्म आयोजना स्थल (साइट) नछोड्न प्राविधिकलाई मन्त्रीले निर्देशन दिनुभएको उहाँका प्रेस संयोजक लीलाराज खनालले जानकारी दिनुभयो । उहाँले आयोजना पूर्ण रूपमा पुनः सञ्चालनमा नआएसम्म आफूले स्थलगत अवलोकन गरी हप्तैपिच्छे कार्यप्रगति लिने र मूल्याङ्न गर्ने स्पष्ट पार्नुभयो । -गाेर्खापत्रबाट
निर्वाचन आयोगसँग सल्लाह गरी सरकारले निर्वाचनको मिति तोक्छ– प्रवक्ता कार्की
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीय निर्वाचनको मिति तोक्ने बताएका छन्। सत्ता साझेदार दलका शीर्ष नेता तथा संयन्त्रका सदस्यहरु र कानुनविद्हरुको वालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता कार्कीले स्थानीय तहको निर्वाचन जेठमा गर्न सहमति जुटेकोले अब निर्वाचन आयोगसँग सल्लाह गरी मिति तोक्ने बताए। ‘गठबन्धनले आगामी जेठभित्र स्थानीय निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ। त्यसका लागि कानुनी अफ्ठ्याराहरू हुन सक्छन्, संविधानसँग हाम्रो स्थानीय तहको निर्वाचन ऐन बाझिएको अवस्था छ, त्यसैले कानुनमा समेत आवश्यक संशोधन गरेर जेठभित्रमा सरकारले स्थानीय निर्वाचन सम्पन्न गर्छ,’ मन्त्री कार्कीले भने, ‘सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्छ।’ उनले निर्वाचन एकै चरणमा गर्ने वा के गर्ने भन्ने विषयमा सरकारले आयोगसँग छलफल गरेपछि मात्रै टुंगो लाग्ने बताएका छन्। शनिबार बसेको सत्ता गठबन्धनको बैठकले जेठभित्र स्थानीय निर्वाचन गर्ने सहमति जुटाएको हो। शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक दुई चरणमा बसेको थियो।
गठबन्धन बैठकमा जुट्यो सहमति, ऐन संशोधन गरेर जेठमा स्थानीय तहको निर्वाचन
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले संविधानसँग बाझिएको ऐन संशोधन गर्दै आगामी जेठ महिनामा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। आज अपरान्ह ४ बजेदेखि बसेको बैठकमा स्थानीय तहको निर्वाचन र कानुनी प्रावधानका बारेमा विस्तृतमा छलफल भएको थियो। छलफलमा सहभागी सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार ऐनमा संशोधन गरेर आगामी जेठमा निर्वाचन गर्ने सहमति बैठकमा जुटेको छ। यद्यपि यसको अन्तिम निर्णय भने शीर्ष नेताहरुले छलफल गरेपछि टुंगो लाग्ने छ। शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। स्थानीय तह निर्वाचनका बारेमा संविधानको प्रावधानको कार्यान्वयन गर्नका लागि गठबन्धनले एक सातादेखि सघन छलफल चलाएको थियो। यो बीचमा सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय संयन्त्रका साथै शीर्ष नेताहरुबीच समेत लामो छलफल चलेको थियो। गठबन्धन दलहरुले कानुनविदहरुसँग समेत परामर्श लिएपछि ऐनमा संशोधन गरेर जेठमा निर्वाचन गर्ने निश्कर्षमा पुगेको एक सहभागीले बताए। नेपालको संविधानले गाउँ सभा र नगर सभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुनेछ। त्यस्तो कार्यकाल समाप्त भएको छ महीनाभित्र अर्को गाउँ सभा र नगर सभाको निर्वाचन सम्पन्न गर्नुपर्नेछ।उल्लेख गरेको छ। तर स्थानीय तह निर्वाचन ऐन र स्थानीय सरकार सञ्चालन ऐनका प्रावधान भने संवैधानिक व्यवस्थासँग बाझिएकोले यसमा संशोधन गर्नुपर्ने छलफल गठबन्धनको बैठकमा चलेको थियो। आजको सुझाव अनुसार सरकारले आवश्यक तयारी गरेर ऐन संशोधनको प्रक्रिया अघि बढाउने र निर्वाचन मिति तोक्ने देखिन्छ। सभामुख अग्नि सापकोटाले भोलि अपरान्ह १ बजेका लागि संसदको बैठक बोलाएका छन् भने राष्ट्रिय सभाको बैठक १७ गतेका लागि डाकिएको छ।
फागुन ९ गते भैरहवामा ‘क्यालिब्रेशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान
सिद्धार्थनगर । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताउनुभएको छ। आज दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात उहाँले भन्नुभयो, “मौसमले साथ दिएमा फागुन ९ गते क्यालिब्रेशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ।” हुस्सु, कुहिरो र भिजीबिलिटी कम लागेको बेला भने सो फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन्। मन्त्री आलेले ढिलाइ नगर्न र क्यालिब्रेशन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “कुनै पनि हालतमा, कुनै पनि बहानामा काम नरोकियोस्।” छेऊमै रहेका कांग्रेस नेता भरत कुमार शाहलाई देखाउँदै मन्त्री आलेले भन्नुभयो, “सार्वजनिक लेखा समितिका सभापति यहीँ हुनुहुन्छ, माननीय प्रमोद यादव यहीँ हुनुहुन्छ। यो निर्वाचन क्षेत्रका माननीय घनश्याम भुसालले दिनदिनै सोध्नुहुन्छ, प्रधानमन्त्री, मन्त्रीज्यूहरू सबैको चासो छ, यो विमानस्थलमा छिटो उडान हुनुपर्छ भन्नेछ। हामी त्यहीअनुसार तयारी गरिरहेका छौँ।” लेखा समितिका सभापति भरतकुमार शाह र सांसद प्रमोदकुमार यादवले छिटो उपकरण चेकजाँच गरी उडानको तयारी गर्न आग्रह गर्नुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले एरोथाइको टिम काम सकेर मात्रै फर्किन्छ, त्यसपछि परीक्षण उडान नेपाल एयरलाइन्सको ३३० ले गर्छ भन्नुभयो। एरोथाइका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले भन्नुभयो, “यहाँको मौसमलाई तीन वर्षमा नियाल्दा भिओएफआरमा उड्न मिल्छ। क्यालिब्रेशन फ्लाइटका लागि सफा मौसम चाहिन्छ। कम्तीमा पाँच किमी भिजिबिलिटी चाहिन्छ। फ्रेबुअरी २१ मा भैरहवामा जहाज ल्याण्डिङ हुनेछ तयारी छ। कुनै पनि हालतमा २१ फेब्रुअरीभन्दा ढिला हँुदैन ।” भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा हालसम्म आइसिपी वान र टु गरेर रु साढे सात अर्ब लगानी भइसकेको छ।

