कस्तो छ आजको मौसम, कहाँ कहाँ हुँदैछ वर्षा ?

मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भने, हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ।

आज बिहान देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका प्रदेश १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

यसैगरी, देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङ सहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षा को सम्भावना छ ।

यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङसहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

टोपबहादुर र प्रभ शाह अकस्मात निर्वाचन आयोगमा, झस्किए आयोगको कुरा सुनेर…

काठमाडौं । नेकपा एमालेभित्रको विवादका कारण पार्टीविहिन बन्न पुगेका एमालेका गएका पूर्व माओवादी नेताहरुमध्ये टोपबहादुर र प्रभु शाह शुक्रबार अकस्मात निर्वाचन आयोग पुगेको खबर सार्वजनिक भएको छ । एमालेमा प्रवेश गरेर स्थायी कमिटि सदस्यमा मनोनित भएपनि राजनीतिक घटनाक्रमसँगै उनीहरु पार्टीविहिन हुन पुगेका थिए । सर्वोच्च अदालतले नेकपा विभाजनपछि भएगरेका काम कारवाही वैध नहुने निर्णय गरेपछि माओवादीबाट एमाले बनेकाहरु पदविहिन बन्न पुगेका थिए । शुक्रबार आयोग पुगेका रायमाझी र शाहले आफूहरु कुन पार्टीमा छौं भनेर बुझ्न खोजेका थिए । निर्वाचन आयोगको जवाफ सुनेर भने उनीहरु झनै चकित बने । निर्वाचन आयोगको रेकर्डमा उनीहरु अझै माओवादी केन्द्रीय समितिमा नै रहेको जानकारी पाएका थिए । आयोग पुगेर उनीहरुले माओवादीले केन्द्रीय समितिबाट के आरोपमा हटाएको रहेछ भन्दै सोधखोज गरेका थिए । साथै, उनीहरुले आफ्नो नाम एमालेको केन्द्रीय कमिटीमा दर्ता छ कि छैन भन्नेसमेत बुझेका थिए । उनीहरुलाई लागेको थियो कि एमालेको थपिएको केन्द्रीय समितिमा उनीहरुको नाम होला । तर अवस्था ठ्याक्कै उल्टो देखियो । पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीसमेत माओवादीबाट निर्वाचित चारजना प्रतिनिधि सभाका सदस्यहरु गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमालेतिर लागेका थिए । फागुन २८ गते उनीहरुलाई नेकपा एमालेले केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो । उसैदिन केन्द्रीय कमिटी भंग भई दशौं महाधिवेशन आयोजक कमिटी बनेको थियो । महाधिवेशन आयोजक कमिटीमा मनोनित भएका पूर्वमाओवादी नेताहरुको नाम निर्वाचन आयोगले अहिलेसम्म एमालेको केन्द्रीय कमिटीमा दर्ता गरेको छैन । अर्कोतिर, आयोगमा रहेको माओवादीको केन्द्रीय कमिटीको सूचीमा टोपबहादुर, लेखराज भट्ट र प्रभु साहको नाम यथावतै रहेको आयोगले जानकारी गराएको छ । ‘टोपबहादुरजी र प्रभु साहजी आयोगमा आउनुभयो, हामीलाई माओवादीले के आधारमा हटाएको रहेछ, कागजात हेर्नुपर्यो भन्नुभयो,’ आयोगका एक कर्मचारीले रातोपाटीसँग भने, ‘माओवादीको रेकर्डमा हेर्दा उहाँहरुलाई पार्टीबाट हटाएको पत्र अहिलेसम्म आयोगमा आएको पाइएन, दल दर्ताको डकुमेन्टमा अझै उहाँहरु माओवादीकै केन्द्रीय सदस्यका रुपमा रहनुभएको पाइयो । हामीले यही जानकारी दिएर पठायौं ।’

थुनियो तामाकोशी, तल्लो तटीय क्षेत्रमा सुरक्षित रहन प्रशासनको आग्रह

वर्षाका कारण तिब्बतमा पहिरो गएपछि त्यसको असर तामाकोशी नदीमा परेको छ । तामाकोशी नदी थुनिन पुग्दा यसले ठूलो क्षति पुर्याउन सक्ने भन्दै प्रशासनले उच्च सतर्कताका लागि अपील गरेको हो । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति पौने १० बजे सूचना जारी गर्दै जतिसुकैबेला तामाकोसी नदी विस्फोट हुनसक्ने चेतावनी दिएको छ । उसले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजगता अपनाइ सुरक्षित स्थानमा रहन समेत आग्रह गरेको छ । प्रशासनले नेपाल–चीन क्षेत्रमा रहेको टिङ्ग्री काउन्टीको रोङ्गछिया शहर र सो आसपासमा भारी वर्षा भएर पहिरो आउँदा नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको जनाएको छ । तामाकोसीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुनसक्ने देखिएकाले सम्पूर्ण स्थानीयलाई सजक रहन र खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासनको चेतावनी- मेलम्ची बाढीपीडितका नाममा चन्दा संकलन गरे २ वर्षसम्म जेल तथा १ लाखसम्म जरिवाना !

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले मेलम्ची बाढीपीडितका नाममा चन्दा वा सहयोग संकलन तथा कालोबजारी गरेको पाइएमा २ वर्षसम्म कैद, एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै प्रशासन कार्यालयले यस्तो चेतावनी दिएको हो । शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २४ (१) (ख) बमोजिम ‘अनुमति लिई वा नलिई विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा र ऐ ऐनको दफा १ (ख) मा विपदको समयमा अप्राकृतिक रूपमा बजारमूल्य वृद्धि गरेमा वा कालोबजारी गरेमा वा गुणस्तरहीन वस्तु वा सेवाको कारोबार गरेमा’ त्यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था भएकोले त्यस्तो गलत क्रियाकलाप नगर्न नगराउन, भए गरेको जानकारी वा सूचना प्राप्त भएमा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकी वा मोबाइल नम्बर ९८४१३९२८८३० मा जानकारी गराइदिन सर्वसाधारण सबैसँग अनुरोध छ।’

निर्वाचन आयोग पुगेर यादवले गरे आधिकारिकताको दावी, ठाकुर पक्ष संकटमा

काठमाडौं । कार्यकारिणी समितिका बहुमत सदस्यको निर्णयसहित जसपा अध्यक्ष उपेन्द्र यादवले आधिकारिकता प्रदान गर्न निर्वाचन आयोगसँग अनुरोध गरेका छन् । जनता समाजवादी पार्टीका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरबीच आधिकारिताको लडाईमा निर्वाचन आयोगले निष्पक्ष र कानुनसम्मत निर्णय गर्नुपर्ने यादव समूहको माग छ । यादवको पक्षमा केन्द्रीय कार्यकारिणी समितिमा स्पष्ट बहुमत रहेको छ । यादव शुक्रबार पार्टी कार्यकारिणी समितिका बहुमत सदस्यले गरेको निर्णयसहित आयोग पुगेका छन् । यादव पक्षले दलको विधान, संविधान र राजनीतिक दलसम्बन्धी कानुनअनुसार आधिकारिकता पाउनुपर्ने माग गरेकाे छ । आयोगले भने उपेन्द्र यादव पक्षले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई गरेको कारबाहीसम्बन्धी विवरण अद्यावधिक गर्न अस्वीकार गर्नुकाे साथै ठाकुर पक्षले उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको निर्णयलाई पनि मान्यता दिएको थिएन । ‘नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४, दलको अन्तरिम विधान २०७७ (संशोधनसहित) समेतको अनुकूल संचालन गर्न गराउन आवश्यक भएकोले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ को (ग) बमोजिम अधिकारिकताको लागि दफा ४४ (१) बमोजिमको अधिकारीक निर्णय आवश्यक भएकोले दफा ४४ उपदफा (२), (३), (५), ६) (७) दफा ४५, ४६ (१), (२) बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी अधिकारिकताको लागि जनता समाजवादी पार्टी, नेपालको कार्यकारणी समितिको मिति २०७८/३/३ को निर्णयबमोजिम लिखित दाबी पेस गरेका छौं,’ यादव पक्षको आधिकारिकताको दाबी पत्रमा उल्लेख छ । यादव पक्षले पार्टी सञ्चालनमा ठाकुर पक्षले अवरोध गरेको आरोप लगाएको छ । बारम्बार बैठकमा अनुपस्थित हुने, फरक सूचना जारी गरेर बैठक स्थगित गरेको निर्णय लेख्ने लगायतका काम ठाकुर पक्षबाट भएको र त्यसले पार्टीको आन्तरिक जीवन, राजनीतिक जीवन ठप्प पारेको यादव पक्षको भनाइ छ । पार्टीलाई दूरगामी प्रभाव र क्षति हुनेगरी ठाकुरले काम गरेको पनि यादवले आयोगलाई बुझाएको पत्रमा लेखेका छन् । ‘पार्टीको दैनिक कार्यदेखि आन्तरिक जीवन, राजनीतिक जीवन ठप्प पारी दलको गतिविधिमा दुरगामी प्रभाव र क्षति हुने गरी पार्टीलाई विभाजनको तहसम्मको एकपक्षीय रुपमा गुट-उपगुट बनाई विधानविपरीत एकपछि अर्को कार्य गरी आएकोले यस्तो कार्यलाई तत्काल रोक्न र पार्टीलाई कानुनसम्मत, विधिसम्मत संचालन गरी पार्टीलाई जनमत र बहुमतको आधारमा संचालनको लागि, ‘आधिकारिकता दाबी गर्नुपरेको यादवको तर्क छ ।

घ्यू तथा खाने तेलमा अत्यधिक मूल्यवृद्धि

काठमाडौं । घ्यू तथा खानेतेलमा अत्याधिक मात्रामा मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको १० महिनामा घ्यू तथा तेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि भएको उल्लेख छ । बैंकका अनुसार २०७७ को वैशाखको तुलनामा गत वैशाखमा मासु तथा माछामा १७.१२ प्रतिशत , गैर–मदिराजन्य पेय पदार्थमा ९.८५ प्रतिशत र सुर्तीजन्य पदार्थमा ९.८४ प्रतिशतले मूल्यवृद्धि भएको उल्लेख छ । यस्तै, वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत रहेको छ । सो अवधिमा महिनामा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको छ । थोक मुद्रास्फीतितर्फ गत वैशाखमा ८.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत रहेको थियो । सो अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.८० प्रतिशत, ८.९८ प्रतिशत र ३.६२ प्रतिशत रहेको छ । यस्तै, निर्माण सामग्रीको थोक मूल्यवृद्धि ८.४४ प्रतिशत रहेको छ । —

नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अधिकारीको निधन

लमजुङ : नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका पूर्वसभापति, पूर्वसांसद हरिभक्त अधिकारीको ७९ वर्षको उमेरमा आइतबार राति साढे ११ बजे उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले जानकारी दिए। नेता अधिकारीको निधनले नेपाली कांग्रेसलाई मात्र नभइ सिङ्गो लमजुङलाई नै अपूरणीय क्षति पुगेको उनले बताए। पौडेलका अनुसार नेता अधिकारीले २०४८ देखि २०५३ सम्म पार्टीको जिल्ला सभापति भइ भूमिका निर्वाह गरेका थिए । उनी २०५६ सालको आमचुनावमा नेपाली कांग्रेस लमजुङको तर्फबाट प्रतिनिधि सभामा क्षेत्र नं २ बाट विजयी भएका थिए । अधिकारीले गैरसरकारी संस्था महासङ्घको केन्द्रीय कार्यवाहक अध्यक्ष भएर समेत काम गरेका थिए भने २०५५ सालमा नेपाल खाद्य संस्थानको अध्यक्ष पनि भएका थिए । उनले देखाएको बाटोमा हिँड्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ’, नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सचिव हरिप्रसाद बरालले भने, ‘दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्दै पार्टीको तर्फबाट समवेदना व्यक्त गर्दछौँ ।’ नेता अधिकारीको जन्म सुन्दरबजार नगरपालिका वडा नं ४ (साविक दुराडाँडा गाविस चारघरे) मा १९९९ पुस १९ गते भएको हो । नेता अधिकारीको निधनले कांग्रेसले एक असल नेता गुमाएको भन्दै कांग्रेसका शीर्ष नेताहरूले समेत समवेदना व्यक्त गरेका छन् । ‘नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद हरिभक्त अधिकारीको निधनको खबरले निकै दुःखी भएको छु । उनको निधनले कांग्रेसले एक असल नेता गुमाएको छ’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उनको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’  

कोरोना संक्रमण नियन्त्रणमा छ, अब खोप चाहियो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण नियन्त्रणमा रहेको र अहिले घट्दै गइरहेको बताएका छन्। अमेरिकी टेलिभिजन च्यानल सिएनबिसीलाई दिएको अन्तरवार्तामा ओलीले अहिले संक्रमणदर ७५ प्रतिशतसम्म घट्दै गएको बताएका हुन्। उनले दोस्रो लहरको सुरुवातमा संक्रमण र मृत्युदर दुबै बढेको बताए। ‘त्यतिबेला हामीकहाँ अस्पतालमा बेड पुगेन, अक्सिजन, अक्सिजन सिलिन्डरको अभाव भयो, प्रधानमन्त्री ओलीले भनेका छन्, अहिले सबै कुरा हाम्रो नियन्त्रणमा छ।’ प्रधानमन्त्री ओलीले अहिले आफूहरुलाई कोरोनाविरुद्धको खोप आवश्यक परेको पनि बताए। खोप उत्पादक र विश्व समुदायलाई उनले खोप सहयोगका लागि आग्रह पनि गर्दै यसअघि खोप सहयोग गरेका मित्रराष्ट्रलाई धन्यवाद पनि दिएका छन्। थाहा खबरबाट साभार

तनहुँमा मोटरसाइकल दुर्घटना हँदा नेपाली सेनाका एक जवानको मुत्यु

तनहुँ : पृथ्वीराजमार्ग खण्डमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका-७ मालेबगरमा भएको दुर्घटनामा परी नेपाली सेनामा कार्यरत एक जवानको मृत्यु भएको छ । पोखरा महानगरपालिका २४ घर भै झापाको ११ नम्बर बाहिनीमा कार्यरत २८ वर्षीय प्रदीप भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । पोखराबाट दमौली जाँदै गरेको भट्टराई सवार ग. १४ प ७२०१ नं को मोटरसाइकललाई विपरीत दिसाबाट आउँदै गरेको ना. ७ ख ११६८ नं को कन्टेनरले सोमबार दिउँसो ठक्कर दिँदा घाइते भएका थिए । घाईते सिपाहीको स्थानीय जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक डोलिन्द्रबहादुर हमालले जानकारी दिए। कार्यालयमा हाजिर हुनका लागि मोटरसाईकलबाट भट्टराई जाने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनाको अनुसन्धानको लागि चालक र कन्टेनरलाई नियन्त्रमा लिइएको प्रहरीले जनाएको छ ।

कोटेश्वरमा देउवा, प्रचण्ड र नेपालबीच छलफल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि कोटेश्वर पुगेका छन्। यसअघि महामन्त्री पूर्णबहादुर खड्कालाई साथै लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाल निवास पुगेका थिए। त्यसको केहीबेरमै प्रचण्ड पनि नेपाल निवास पुगेका हुन् । उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइउको छ । यसअघि विपक्षी गठबन्धनको छलफलमा नेता नेपाल देउवा निवास बुढानिलकण्ठ जान्थे । तर, आज देउवा र प्रचण्ड नै नेपाल निवास गएका छन् ।

प्रधानमन्त्रीविरुद्ध धम्की दिने प्रदेश सांसदलाई कारवाहीको माग

काठमाडौं : नेकपा (एमाले) निकट विभिन्न दश जनसङ्गठनले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मार्ने धम्की दिने बागमती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न माग गरेका छन् । गृहमन्त्री खगराज अधिकारीलाई आज सिंहदरबारस्थित गृह मन्त्रालयमा ज्ञापनपत्र दिँदै ती सङ्गठनले प्रधानमन्त्री ओलीको ज्यानमाथि धावा बोल्ने गरी वैद्यले दिएको अभिव्यक्ति मुलुकको फौजदारी कानूनविपरीत हुने भएकोले उनीलाई अविलम्ब गिरफ्तार गरी कानून कारवाही गर्न माग गरेका हुन् । मुलुकको कार्यकारी प्रमुखमाथि यस्तो गम्भीर र आपत्तिजनक अभिव्यक्ति प्रदेशसभामा दिइएको विषयप्रति नेपाली कांग्रेसले अझैसम्म औपचारिक धारणा मेत सार्वजनिक नगरेकोप्रति ती सङ्गठनले आपत्ति जनाएका छन् । गृहमन्त्री अधिकारीलाई नेपाल किसान महासङ्घका अध्यक्ष डा। प्रेम दंगाल, अखिल नेपाल महिला सङ्घका सहसंयोजक थममाया थापा, विद्यार्थी सङ्गठन अनेरास्ववियूका अध्यक्ष ऐन महर, राष्ट्रिय युवा सङ्घका अध्यक्ष किरण पौडेल, नेपाल खेलकुद महासङ्घका अध्यक्ष रमेश पौडेल, मुस्लिम इत्तिहास सङ्गठनका उपाध्यक्ष इश्रत साह, पेशागत महासङ्घ नेपालका अध्यक्ष बाबुराम थापालगायतले भेटी ज्ञापनपत्र बुझाएका थिए । केही दिन अघि बागमती प्रदेशसभा बैठकमा प्रदेश सांसद वैद्यले प्रधानमन्त्री ओलीविरुद्ध उत्रन आफू नाथुराम गोड्से बन्न तयार रहेको बताए । आम आलोचनापछि वैद्यले प्रदेशसभामा उक्त अभिव्यक्ति फिर्ता लिएका थिए ।

भट्टी पसलमा मदिरा सेवन गरेका एकै गाउँका ८ जनाको मृत्यु

सर्लाही । सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५, पडरिया गाउँमा चार दिनमा तीन भारतीय नागरिकसहित ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पडरिया गाउँका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहेका छत् । यस्तै, भारतको उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसादको पनि मृत्यु भएको छ । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट भृत्यु भएको चिकित्सकले आशङ्का गरेका छन् । नेपाल–भारत सीमा दशगजाबाट करिव दुई किलोमिटर उत्तरतर्फ पर्ने पडरिया गाउँमा संचालित एक घरेलु मदिरा उत्पादन गर्ने भट्टी पसलमा मदिरा सेवन गरेकाहरुको मृत्यु भएको हो । मृतक तीनै जना भारतीय नागरिक चन्दन इँटा उद्योग पडरियाका मजदुर हुन् । अन्य पाँच जना भने पडरिया गाउँका स्थानीयवासी रहेका बुझिएको छ । तीनै जना भारतीय नागरिकको २८ गते, स्थानीय राम ईश्वर पासवान र दिनकर दासको २९ गते, कैलु दासको ३० गते र जुगेश्वर माझी र बलिन्द्र दासको सोमवार बिहान मृत्यु भएको ब्रह्मपुरी गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक उपेन्द्र राउतले जानकारी दिए । मदिरा सेवन गरेका थप तीन जना स्थानीय बिरामी परेका छन् । दुई जना बिरामीको जिल्ला अस्पताल मलङ्गवा र एक जनाको श्रीराम अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ । मदिरा पसलका संचालक देवराज कापर आफै पनि बिरामी परेका छन् । चार दिनमा ८ जनाको मृत्यु भएपछि सोमबार बिहान स्वास्थ्य निर्देशनालय जनकपुरबाट डा. कमलेश यादव, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएजओ) बाट डा. किरण बास्तोला, जिल्ला अस्पताल मलङ्गवाबाट डा. अविनाश कुमार सिंहसहित जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाको स्वास्थ्य शाखाको टोलीले मदिरा पसल संचालनमा रहेको गाउँको निरीक्षण गरेको छ । जिल्ला अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले मदिरा सेवनबाट सबैको मृत्यु भएको जानकारी आए पनि मृत्युको कारण पत्ता लगाउन मृतकहरुको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब, काठमाडौंमा पठाउने तयारी गरिएको बताए । ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोद कुमार साहले मृत्यु भएका आठै जना र बिरामी परेका तीन जनाले विषाक्त मदिरा सेवन गरेको पाइएको जानकारी दिए । आफूहरुले पटक–पटक मदिरा पसल हटाउन खोजेपनि असफल भएको र अहिले ठूलो मानवीय क्षति हुन पुगेको गाउँपालिका अध्यक्ष साहको भनाई छ ।

दम्पती हत्या आरोपित सात वर्षपछि पक्राउ

काठमाडौं : सप्तरीमा व्यापारी दम्पतीको हत्याका फरार आरोपित सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ भारदहका ३९ वर्षीय बब्लु मण्डल सात वर्षपछि आज पक्राउ परेका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका हनुमाननगर बजारकी ५२ वर्षीया सरोजदेवी वेगवानी र उनका श्रीमान ५५ वर्षीय प्रेमसुख बेगवानीको हत्या आरोपमा फरार आरोपित मण्डल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । पसलसँगै रहेको घरमा सुतिरहेका व्यापारी दम्पतीको मण्डलसहितका आरोपितहरूले २०७१ जेठ २१ गते राति हत्या गरेको बताइएको छ । यसअघि पक्राउ परेकाहरू सुनसरी हरिपुर गाविस-७ भण्टाबारीका २६ वर्षीय मो कैजुम मियाँलाई सप्तरी जिल्ला अदालतले २०७३ भदौ २६ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले मियाँलाई हत्या आरोपमा सर्वस्वसहित जन्मकैद र डाँका मुद्दामा थप छ वर्ष गरी २६ वर्ष कैद फैसला भएको जिल्ला अदालतले जनाएको छ । श्रेस्तेदार कुमार मास्केका अनुसार सुनसरी जिल्लाको श्रीपुर गाविस-८ का ४० वर्षीय मो हैदर अली मियाँलाई हत्या आरोपमा जन्मकैद र डाँका मुद्दामा थप छ वर्ष गरी २६ वर्ष कैद भएको छ । सुनसरी जिल्लाको श्रीपुर जब्दीस्थित कोशी कटान क्षेत्रबाट २०७१ जेठ २९ गते एक थान नल कटुवा पेस्तोल, दुई राउण्ड गोली र गरगहनासहित पक्राउ परेका कैजुम र हैदरलाई जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको आदेशले २०७१ असार २९ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको थियो । यसैगरी सुनसरी हरीपुर गाविस-७ का २७ वर्षीय इनर भनिने इन्द्रदेव कामत र श्रीपुर गाविस-३ कुमयाहीका २६ वर्षीय सागिर मन्सुर मियाँलाई ११/११ वर्ष कैद फैसला भएको छ । सुनसरी नरसिंह गाविस-९ चिरौनीबाट २०७१ असोज ४ गते पक्राउ परेका कामत र सागिरलाई सप्तरी जिल्ला अदालतले २०७१ असोज ६ गते पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको थियो । आज पक्राउ परेका मण्डल र सुनसरी हरिपुर गाविस-७ भण्टाबारीका २३ वर्षीय सलिम भनिने अलाउद्दिन मियाँ फरार रहेकाले उनीहरूको हकमा मुद्दा मुल्तवी राखिएको छ । सलिम अझै पक्राउ परेका छैनन् । आरोपितहरूले २०७१ जेठ २१ गते राती हनुमाननगर बजारस्थित पसलसँगै रहेको घरमा वेगवानी दम्पतीको हत्या गरेका थिए । लाशको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०७१ जेठ २३ गते पोष्टमार्टम भएको थियो । जिल्ला प्रहरी कार्यालयले आरोपितविरुद्ध कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजाना ऐनअन्तर्गत ०७१ जेठ २३ गते मुद्दा दर्ता गरेको थियो । आरोपितहरूबाट गरगहना किन्ने सुनसरी ईनरुवा नपा-१ घर भई लौकही गाविस-६ मा सुनचाँदीको पसल गर्ने ३४ वर्षीय सुबोध स्वर्णकारलाई हत्या र चोरीबाट सफाई मिले पनि उनले किनेको चोरीको धनमाल पीडित पक्षलाई फिर्ता दिने फैसला भएको छ । रुपनी गाउँपालिका-१ बाट २०७१ असार ४ गते पक्राउ स्वर्णकार अदालतको आदेशमा २०७१ असार २९ गते नगद रु १० लाख धरौटी बुझाई रिहा भएका थिए । रासस

बैतडीमा मकैमा फौजी किराको प्रकोप

बैतडी : मुख्य खाद्य बालीका रुपमा रहेको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित भएका छन् । फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका बोटहरु सखाप भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका, मेलौली नगरपालिकालगायतका किसानले लगाएको मकैमा उक्त प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । मकैको पकेट क्षेत्रमै किराले मकैबाली नोक्सान गर्न थालेपछि किसानहरु हैरान भएका छन् । गत वर्ष पनि मकैबालीमा फौजी किराको प्रकोप देखिएको थियो । फौजी किराले मकै सखाप पारेपछि दोस्रोपटक छरेको सुर्नया गाउँपालिका-५ का किसान अजवबहादुर चन्दले बर्ताए । उनले भने, ‘एकपटक उम्रेको मकै किराले सखाप पार्‍यो अहिले दोस्रोपटक छरेका छौं, यहाँका सबैजसो किसानले त्यस्तै गरेका छन् ।’ दशरथचन्द नगरपालिका-१ गुरुखोलाका किसानले खेतमा लगाएको मकैमा पनि यस्तै प्रकोप देखिएको छ । स्थानीय किसान अम्बादत्त बडुका अनुसार किराले भर्खरै हुर्कन लागेको मकैका बोटहरु नष्ट गरेको छ । खेतमा लगाएको मकैमा फौजी किराको प्रकोपले मकैबाली नष्ट हुन थालेपछि यहाँका किसान समस्यामा परेका छन् । मकैबालीमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका पञ्चेश्वर गाउँपालिका-२ का देवबहादुर चन्दले बताए । मकैबालीमा फौजी किराको प्रकोप देखा परेकोले यो वर्ष मकै उत्पादनमा हस आउने देखिएको छ । जिल्लाका विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी किराको प्रकोप देखिएको भन्ने गुनासो आएको ज्ञान केन्द्रका प्रमुख दिलबहादुर सिंहले जानकारी दिए। उनले भने, ‘फौजी किरा रातिको समयमा बढी सक्रिय हुने गरेको छ, फौजी किराको प्रकोप देखिएको ठाउँमा विषादीको प्रयोग गर्नुपर्छ ।’ बैतडीमा १३ हजार हेक्टर क्षेत्रफल जमीनमा मकै खेती गरिँदै आएको छ ।

एमालेले बोलायो स्थायी कमिटी बैठक, यी विषयमा हुनेछ छलफल

काठमाडौं । सत्तारुढ नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न एमालेले असार २ गते बैठक बोलाएको हो । सर्वोच्च अदालतले जेठ २७ मा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीका निर्णयलाई वैधता दिन अस्वीकार गर्दै कर्णाली प्रदेशका चार सांसदको पुनर्बहाली गरेपछि एमालेको ओली पक्ष दबाबमा परेको छ । स्थायी कमिटी बैठकमा अदालतको आदेशपछिको रणनीतिमाथि छलफल हुने भएको छ । यद्यपि अदालतको फैसलालाई लिएर एमालेको संस्थापन पक्षले पुनरावलोकनमा जाने बताएको छ । खनाल(नेपाल समूहका गतिविधिबारे पनि बैठकमा छलफल हुने बताइएको छ । साथै, बैठकमा गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ सरकारको बहिर्गमनको पनि समीक्षा हुनेछ ।

महिला लाभान्वित हुने मौद्रीक नीति ल्याउन आग्रह

काठमाडौं : लघुवित्त सङ्घ नेपालले किस्ता तिर्ने समयअवधी थप गर्न र कर्जा पुनर्तालिकीकरण गर्न सरकारसँग माग गरेको छ । अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानालाई भेटेर सङ्घको टोलीले कोरोना प्रभावितहरूका लागि सहुलियत दरमा पुनर्कर्जा उपलब्ध गराउन पनि आग्रह गरेको छ । सङ्घका अध्यक्ष जगत पोखरेलको नेतृत्वमा गएको टोलीले लघुवित्त वित्तिय संस्थाहरूलाई दिएको राहतले ग्रामीण क्षेत्रका न्यून आएका भएका महिला लाभान्वित हुने भएकाले उनीहरूलाई सम्झेर राहतमा उदारता देखाउन आग्रह गरेको थियो । सङ्घको टोलीले बुझाएको ज्ञापनपत्रमा कोरोनाभाइरसको महामारीबाट अति प्रभावित ऋणी ग्राहकको ब्याज अनुदान दिनुपर्ने, वचतकर्ता समूह सदस्यहरूको व्याज आयमा कर छुट गर्नुपर्ने, सरकारले उपलव्ध गराउने राहत प्याकेज लघुवित्त प्रदायक सस्थामार्फत उपलब्ध गराउनु उपयुक्त हुनेलगायत सुझाव उल्लेख गरिएको छ । राष्ट्र बैंकले नयाँ आर्थिक वर्षका लागि ल्याउन लागेको मौद्रिक नीतिमार्फत आफ्ना मागहरू सम्बोधन गराउन अर्थ सचिव ढुङ्गानालाई ज्ञापनपत्र बुझाइएको सङ्घकी उपाध्यक्ष भगवती चौधरीले जानकारी दिनुभयो । टोलीसँगै जानु भएका लघुवित्त विज्ञ तथा नेपाल सरकारका पूर्व सचिव डा मानवबहादुर विश्वकर्माले वित्तिय सेवामा पहुँच बढाउन विपन्न क्षेत्र कर्जाको परिचालन लघुवित्त संस्थाहरूबाट मात्र प्रवाह गर्ने ब्यवस्था गराउन सुझाव दिनुभएको थियो । सङ्घले गैह्र बैकिङ्ग वित्तीय सस्थाबाट ऋण लिन सकिने व्यवस्था गर्नुपर्ने, एउटा लघुवित्त संस्थाले सङ्कलन गरेको वित्तीय श्रोत अर्को लघुवित्त संस्थामा छोटो अवधिको लागि लगानी गर्न पाउनु पर्ने, समूह सदस्य तथा व्यक्तिलाई प्रदान गरिने कर्जाको सीमा बढाउनुपर्ने माग पनि राखेको छ । गाभिन तथा प्राप्तिलाई अनिवार्य नगरी उपयुक्त मिल्दा संस्थाहरू मिल्न प्रोत्साहन गर्न अर्थ सचिव ढुङ्गानाको ध्यानाकर्षण गराइएको उन्नती सहकार्य लघुवित्तकी अध्यक्ष डा अनिता शाहले जानकारी दिनुभयो । लघुवित्त संस्थामा मात्र संस्थागत सामाजिक उत्तरदायीत्व कोष र ग्राहक संरक्षण कोष गरी उस्तै दुई कोषको व्यवस्था भएकोले ग्राहक संरक्षण कोषको मात्र व्यवस्था हुन उपयुक्त हुने उहाँको सुझाव थियो । लघुवित्त सस्थाको कार्य प्रकृति नै अन्य बैँक नपुगेका तथा अति विपन्नलाई सामाजिक मध्यस्ततासहित सेवा पु¥याउने रहेकोले यसमा लाग्ने संस्थागत कर अरुलाई लाग्ने आधा र समुह सदस्यको वचतको व्याज आयमा कर नलाग्ने व्यवस्था हुनुपर्ने माग पनि सङ्घले राखेको सङ्घका प्रमुख कार्यकारी अधिकृत रविन पोखरेलले जानकारी दिनुभयो । सङ्घको माग र सुझावहरू उपयोगी र रचनात्मक रहेको भन्दै अर्थसचिव ढुङ्गानाले सकेसम्म धेरै सुझावलाई समेट्न प्रयास गर्ने आश्वासन दिनुभएको थियो । रासस