जसपाबारे निर्वाचन आयोगले भन्यो- कारवाही कानूनसम्मत देखिएन

काठमाडौं  । जनता समाजवादी पार्टी (जसपा) का दुवै समूहले एक अर्कालाई कारवाही गरेर विवरण अद्यावधि गर्न निर्वाचन आयोगलाई दिएका निवेदनहरू उपर निर्वाचन आयोगले आज फैसला सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले गरेको कारवाहीलाई कानूनसम्मत नदेखिएको भन्दै दुई अध्यक्ष रहने गरी पुरानै पदाधिकारीहरू कायम रहने निर्णय गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरू जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त निर्णयका रूपमा निर्वाचन आयोगले जसपाका दुवै पक्षको निवेदनलाई खारेज गरिदिएको हो ।

‘एक जना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ वमोजिम विवरण अद्यावधिक गरिदिन भनी जनकारी गराएको विषयलाई कानून र दलको विधानसम्मत मान्न मिलेन,’ आयोगको फैसलामा भनिएको छ, ‘पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरी अद्यावधिकका लागि अनुरोध भई आएकोमा माग वमोजिम‘ अद्यावधिक गर्न मिलेन ।’

पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय

पोखरा । गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । कार्यविधि बनाएर सुविधा निर्धारण गरिने जनाइएको छ । बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई तोकेको छ । बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रवक्ता खड्काले जानकारी दिए ।

खोप व्यवस्थापनको विषय हाम्रो हैन, सङ्घीय सरकारको होः मुख्यमन्त्री पोखरेल

बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो । यसअघि मुख्यमन्त्री शङ्कर पोखरेलले आव २०७८÷७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले बहुमतको निर्णयलाई प्रदेशसभाले स्वीकार नगरेको उल्लेख गर्दै कानून कार्यान्वयनका विषयमा आफ्नो अरुचि नरहेको जनाए । उनले प्रदेशसभाका सदस्य लोकतन्त्रमा आलोचनाले सही बाटोमा अघि बढ्न निर्देश गर्ने र सही बाटो पत्ता लगाउने विधि छलफल भएको बताए । मुख्यमन्त्री पोखरेलले भने, ‘दलीय प्रणालीमा विश्वास राख्ने हो भने राजनीतिक रुपमा सरकारसँग बहुमत छ ।’ उनले नेकपा (एमाले)सँग ३९ र जनता समाजवादी पार्टीसँग छ सदस्य रहेको जानकारी दिँदै जनता समाजवादी पार्टीका विषयमा प्रदेशसभा सचिवालय नै स्पष्ट नभएको आरोप लगाए । कोरोना महामारीविरुद्धको लडाइँमा प्रदेश सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनले खोप व्यवस्थापनको विषय सङ्घीय सरकारको भएको स्पष्ट गरे । उनले भने, ‘कोरोना खोपको व्यवस्थापन संघीय सरकारले गर्छ ।’ उनले नदीजन्य पदार्थको व्यवस्थापनको काम प्रदेश सरकारले नगरेको र त्यो काम स्थानीय पालिकाले गरेको जानकारी दिँदै राजश्व बाँडफाँडको काम भएको तर कम पालिकाबाट ४० प्रतिशत राजश्व प्राप्त गरेको बताए । उनले मर्चवार क्षेत्रको विकासका लागि दोब्बर बजेट विनियोजन भएको र त्यहाँको विकासलाई उच्च प्राथमिकता दिइएको स्पष्ट गरे ।

काठमाडौंमा राोकिएको भेरोसेलको खोप भोलिबाट लगाइने

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाका ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा पुनः लगाइने भएको छ । जेठ २५ गतेबाट काठमाडौं उपत्यकासहित देशभर शुरु भएको खोप अभियान काठमाडौंमा स्थगित भएको थियो । दुई दिन खोप अभियान सञ्चालन भएपछि जेठ २७ गते काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै खोप अभियान रोकाएको जानकारी दिएको थियो । उक्त रोकिएको खोप अभियान काठमाडौंमा जेठ ३१ र असार १ गते लगाइने भएको छ । आइतबार सूचना जारी गर्दै महानगरपालिकाले ६०–६१ वर्ष उमेर समूहका नागरिक भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, कोरानाका वरामीको उपचार जाँच र प्रत्यक्षा उपचारमा संलग्न चिकित्साकर्मी प्यारा मेडिक्स नरसिंङका विद्यार्थीलाई भेरोसेद खोपको पहिलो मात्रा लगाउन अनुरोध गरेको छ । यसभन्दा अघि उक्त खोप जेठ २८ र २९ गते लगाइने कार्यक्रम थियो । तर, विशेष कारण देखाउँदै खोप अभियान स्थगित गरिएको थियो । खोप अभियान बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने कमनपाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमनका विभागीय प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए । खोप वीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगञ्ज, विरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पताल नयाँबानेश्वरमा खोप लगाइने छ ।  

निषेधाज्ञा खुकुलो बनाएर एक हप्ता थप्ने तयारी, के खुल्छन् ? के खुल्दैनन् ? (सूचीसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाएर एक हप्ता थप्ने तयारी गरिएको छ । त्यसका लागि आज आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । कोरोना संक्रमण घट्दै गएपछि निषेधाज्ञा खुकुलो बनाउने तयारी गरिएको छ । काठमाडौं उपत्यकामा कोरोना महामारी रोकथाम गर्न डेढ महिनाभन्दा धेरै समयदेखि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको मारमा परेका विपन्न, मजदुर, यातायात व्यवसायी, स्थानीय तहले निषेधाज्ञा खुकुलो बनाइ काम गर्ने वातावरण मिलाइदिन माग गर्दै आएका छन् । के खुल्छन् ? – पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्दै निजी सवारी साधन जोरबिजोर लागु गरिने, – बजार पसल खुला गर्ने नयाँ नियम जारी हुने, भाडा पसल, पुस्तकालय, कस्मेटिक्स, फेन्सी पसलहरुका लागि समय तोकिन। – खाद्यवस्तु किनबेचमा लगाइएको बिहान ९ बजेसम्मको समयसीमा बढाउने, – खेतीपातीजन्य आवागमनलाई सहजीकरण गर्ने, – सार्वजनिक निर्माणका साधनलाई सञ्चालन गर्न दिइने, – बैंकमा यसअघि तोकिएको कोटा र समयसीमा बढाउन दिने, अन्य वित्तीय संस्था र सहकारीलाई पनि समयसीमा र मापदण्ड तोकेर सञ्चालन गर्न दिने, के खुल्दैनन् ? शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा÷गोष्ठी÷सम्मेलन, सिनेमा हल, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्र ।

उपत्यकावासीले असार र साउन महिनामा मेलम्चीको पानी नपाउने , १ गतेदेखि सुरुङ निरीक्षण

काठमाडौँ उपत्यकावासीले असार र साउन महिनामा मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिद्वारा असार १ गतेदेखि मेलम्चीको सुरुङ निरीक्षण थालिने भएकाले मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको हो । सुरुङमा तीन महिना पानी बगिसकेपछि पुनः परीक्षण गर्नुपर्ने भएकाले पानी बन्द गरिने भएको हो । सुरुङमा पानी सुकाएपछि विज्ञहरूले सुरुङको निरीक्षण र परीक्षण गर्नेछन् । विज्ञहरूको निरीक्षण प्रतिवेदनका आधारमा थप काम गर्नुपर्ने पनि हुनसक्ने समितिका सूचना अधिकृत राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनले भने, “असार १ गतेदेखि सुरुङमा पानी सुकाएर सबै निरीक्षण गर्दैछौँ । यो पूर्वकार्यतालिका बमोजिम नै हो।” उहाँका अनुसार सुरुङ परीक्षण गर्न करिब १५ दिन लाग्ने छ । निरीक्षणपछि सबै कुरा ठीक रहे फेरि सुरुङमा पानी भर्न १५ दिन लाग्ने छ । सामान्य अवस्थामा ४५ दिनमा सबै काम पूरा हुनेछ । विज्ञहरूले समस्या देखे भने वा थप सुझाव दिए भने अरू काम गर्नुपर्ने पनि हुन सक्छ नत्र सामान्य अवस्थामा करिब ४५ दिनमा सकिने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

काठमाडौंमा रोकिएको भेरोसेल खोप सोम र मंगलबार लगाउने तयारी

कठमाडौं : काठमाडौं महानगर भित्रका ६० देखि ६१ वर्ष उमेर समूहका व्यक्तिलाई यही शुक्रबार र शनिबार लगाउने तय भई रोकिएको पहिलो चरणको खोप सोम र मंगलबार लगाउने तयारी गरिएको छ । कठमाडौं महानगरका लागि छुट्याइएको खोप मध्ये बाँकी रहेको करीब ४ हजार मात्रा खोप राजधानीका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट लगाउनेबारे छलफल भएको काठमाडौं जिल्ला जनस्वास्थ कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताए। सो खोप बारे समय र स्थान समेत तोकिएको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको भए पनि प्रमुख खड्काले यस विषयमा आज छलफल भएको र टुङ्गो लागि नसकेको बताउँदै सो पत्र आधिकारीक नभएको बताए।

गण्डकीका मुख्यमन्त्रीसहित ५ मन्त्रीले लिए शपथ, मनाङ्गे फेरि मन्त्री

पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् । मन्त्रीमा कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिएका हुन् । मुख्यमन्त्री पोखरेलले यही असार १ गतेभित्र बजेट ल्याउनु पर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाएको बुझिएको छ । उनी आफूलाई समर्थन गर्ने दलबाट एक-एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडी बढेका हुन् । यो पनि… गण्डकीमा पहिले ७ मन्त्रालय मात्र रहेका थिए । तर पछि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ मन्त्रालय बनाएका थिए । ११ मन्त्रालय बनाइएपछि कांग्रेस र माओवादीलाई ३-३ जसपालाई १ र थपिने छन् । वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेष्ठ २७ गतेसंसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गरेकी थिइन् । त्यही अनुसार शुक्रबार ५ बजे नै विपक्षी गठबन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

महोत्तरीमा दाजु-भाइबीच कुटाकुट हुँदा भाइको मृत्यु

जनकपुरधाम : घरको कुलदेवताको विषयमा दाइ-भाइबीच कुटाकुट हुँदा महोत्तरीमा भाइको मृत्यु भएको छ। महोत्तरीको लोहरपट्टी नगरपालिका-७ स्थित भ्रमरपुरामा दाइको कुटाईबाट भाइको मृत्यु भएको हो। मृत्यु हुनेमा ४५ वर्षीय लक्ष्मण साह रहेका छन्। लक्ष्मणको काठमाडौंस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। अंशवण्डा भएको लामो समयपछि दुवै जनाबीच कुलदेवताको विषयलाई लिएर कुटाकुट हुने गरेको थियो। वडाध्यक्ष गणेश ठाकुरले भने, ‘गत बुधवार रामचन्द्रकी श्रीमतीले लक्ष्मणको घरमा गई कुलदेवतालाई उठाएर आफ्नो घरमा ल्याएपछि दुवै जनाको परिवारबीच झगडा सुरु भएको थियो। उनीहरुबीच दुई दिनसम्म लगातार झगडा जारी नै रह्यो। शुक्रवार ५० वर्षीय दाइ रामचन्द्र साह र उनका छोराहरु मिलेर ४५ वर्षीय भाइ लक्ष्मण साहलाई उनको घरमा गइ तथानाम गालीगलौज गर्दै कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए।’ उनले घरको कुलदेवता कान्छो भाइ लक्ष्मणकै फाँटमा रहेपनि दाइ रामचन्द्रले जर्बजस्ती कुलदेवता आफ्नो घरमा लगेपछि विवाद सुरु भएको बताए। मृतककी पत्नीले आफ्नो श्रीमानलाई रामचन्द्रले टाउकोमा चिरपट प्रहार गरी गम्भीर घाइते बनाएको बताइन्। गत जेठ २६ गते घरको कुलदेउताको विषयमा विवाद हुँदा गम्भीर घाइते लक्ष्मणको उपचारको क्रममा काठमाडौंको अस्प्तालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। लक्ष्मणको मृत्यु भएपछि उनका दाइ रामचन्द्रकी पत्नी दुई जना छोरासहित फरार भएका छन्। घटनामा संलग्न रहेको भन्दै रामचन्द्र र उनका एक छोरा शिवरत्नलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। फरार अन्यको खोजी जारी रहेको र घटनामा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक आचार्यले बताए।

नवनियुक्त मुख्यमन्त्रीलाई निवर्तमान मुख्यमन्त्री गुरङ्गद्वारा फोन मार्फत बधाई

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोन मार्फत बधाई दिएका छन्। प्रदेश प्रमुखबाट नियुक्ति भए लगत्तै उनले फोन गरेर बधाई दिएका हुन्। उनले भने । कृण्णचन्द्र जी तपाईंलाई मुख्यमन्त्री बन्नु भएकोमा म र मेरो पार्टीको तर्फबाट बधाई छ । उनले सफल कार्यकालको शुभकामना पनि भनेका छन् ।

खोप उपलब्ध गराइदिन बेलायत सरकारलाई पत्र पठाइने

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड-१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिएका छन् सञ्चारकर्मीसंग आज कुराकानी गर्दै उनले नेपालका ज्येष्ठ नागरिकले खोप अभावका कारणले दोस्रो मात्राको खोप लगाउन नपाएको कुरा उल्लेख गदै पत्र पठाइने बताए । ‘पहिलो मात्रा लगाएर यहाँका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले खोप अभावको कारणले दोस्रो मात्राको खोप लगाउन पाएका छैनन् भनेर पत्रमा उल्लेख गर्ने छौ’ उनले भने ‘ज्येष्ठ नागरिकको जीवनरक्षा गर्नका लागि समयमा नै दोस्रो मात्रा खोप लगाउन पर्ने भएकोले खोप उपलब्ध गराउन आग्रह गर्ने छौ ।’ सरकारको आग्रहमा बेलायतले खोप चाँडै उपलब्ध गराउने विश्वास व्यक्त उनले गरे । मन्त्रालयले भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुबिधाले दुबैले तत्काल ‘कोभिशिल्ड’ खोप उपलब्ध नगराएपछि ‘कोभिशिल्ड’ बिकल्पमा जस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ लगाउने निर्णय गरेको छ । खोपको पहिलो मात्रा लगाएका कम्तिमा १२ देखि १६ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । सरकारले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकोले लगाउन केही फरक नपर्ने जनाएको छ । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ बर्ष माथिका उमेर समूहका करिव साढे १४ लाख व्यक्तिलाई कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको थियो । दोस्रो मात्राका लागि खोप नआएपछि अहिले त्यस्ता व्यक्तिले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ सम्म

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ सम्म गते गर्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ सम्म गते गर्ने निर्णय गरेको हो । यस अघि महाधिवेशनको मिति भदौ ७ लाई तय भएको थियो । असार २० गतेसम्म क्रियाशील सदस्यताको छानविन गरेर टुंग्याउने, असार २४ गतेसम्म क्रियाशील सदस्यता सार्वजनिक गरिने, असार २४ गतेसम्म क्रियाशील सदस्यता सार्वजनिक गरिने र साउन ६ बाट वडा तहको अधिवेशन गर्ने प्रस्ताव गरिएको सहमहामन्त्री प्रकाशशरण महतले बताए । यो प्रस्तावलाई केन्द्रीय समितिमा लगिने छ ।

५ पूर्व प्रधानमन्त्रीले भने– ओलीबाट निरन्तर संविधानमाथि प्रहार

काठमाडौं । पाँच जना पूर्व प्रधानमन्त्रीले प्रधानमन्त्री केपी ओलीबाट निरन्तर एकपछि अर्को गरी नेपालको संविधानमाथि प्रहार गर्ने कार्य भइरहेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल र डा.बाबुराम भट्टराईले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली जनताको लामो र कठोर संघर्ष तथा आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र तथा कानूनको शासनमाथि नै घात गरिएको बताएका छन् । अध्यादेशबाट बजेट घोषणा गर्ने, सरकारको नीति तथा कार्यक्रम झै प्रधानमन्त्रीले वाचन गरेर सार्वजनिक गर्ने, संविधान सभाबाट जारी नेपालको संविधान संशोधन गर्न भनि राष्ट्रिय सहमति नगरी अत्यन्त संवेदनशिल विषयमा स्वेच्छाचारी किसिमले कार्यदल गठन गर्ने, मन्त्रीपरिषद्को मनपरी किसिमले पटक–पटक विस्तार गर्ने, यसरी विस्तार गर्दा नेपालको राजनीतिक इतिहासमा कहिल्यै नभएको सत्तालिप्साको कुरुप स्वरुप प्रदर्शन गर्ने, सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन महान्यायाधिवक्तामार्फत धम्क्याउने जस्ता अलोकतान्त्रिक कार्यहरु प्रधानमन्त्री केपी ओलीबाट भएका यस्ता कार्यहरुको भर्त्सना गरिएको छ । देश कोरोना महामारीबाट आक्रान्त भइरहेको बेला राज्ययन्त्रलाई समग्ररुपमा महामारीबाट जनताको सुरक्षामा केन्द्रित गर्नुपर्नेमा प्रधानमन्त्रीबाट स्वार्थी सत्ता राजनीति, अन्योल, अनिश्चय र अस्थिरताको खेती गरिएको आरोप विज्ञप्तिमा लगाइएको छ । खोपको समुचित व्यवस्था गर्न, बन्द र बन्देजको अवस्थामा विपन्न, श्रमजीवी र कमजोर वर्ग एवम् समुदायलाई परिरहेको मर्का र कठिनाईप्रति संवेदनशील भई तिनीहरुको रोग र भोकको समस्याको सम्बोधन गर्न आवश्यक कार्ययोजना सहित अग्रसर हुन नेपाल सरकारसंग माग गरिएको छ । सरकारले घाटा बजेट पूर्ति गर्ने निहुमा ढुँगा, वालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय गरेको विज्ञप्तिमा भनिएको छ । आफ्नो घरमा आगो लगाएर अरुको हितका लागि खरानी बेच्ने जस्तो सरकारको उक्त निर्णयको तीब्र विरोध गर्दै तत्काल त्यस्तो निर्णय खारेज गर्न माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘काम चलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्ने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न र नगराउन चेतावनी दिँदै यसप्रकारमा गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकायलगायत राज्यका अन्य निकायहरुलाई समेत आग्रह गर्दछौं ।’

को हुन् गण्डकीको मुख्यमन्त्रीमा नियुक्त पोखरेल ?

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । अब उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । को हुन् पोखरेल ? नेपाली कांग्रेस संसदीय दलका ७१ वर्षीय नेता पोखरेल नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पोखरेल राजनीतिक पृष्ठभूमिकै परिवारमा जन्मे/हुर्केका उनका बुबा प्रजातन्त्र सेनानी गोवर्द्धन शर्मा हुन् । गोवर्द्धन शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि थिए । उनकी आमा द्रौपदा शर्मा हुन् । पोखरेल २००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा जन्मेका हुन् । २०२८ सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य बनेका कृष्णचन्द्र नेपाली पोखरेल आन्दोलनकै क्रममा ६ पटकभन्दा बढी जेल परेका छन् । त्यसअघि पनि उनी विद्यार्थी राजनीतिमा थिए । २०२८ सालमा नेपाली कांग्रेस तनहुँ जिल्ला सदस्य बनेका पोखरेल २ विषयका स्नातक हुन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् । प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयबाट पूरा गरेका उनी माध्यमिक शिक्षा पढ्न भारत पुगे । उनले माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरेका थिए । दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किए । पछि कानुनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका हुन् । २०३५ सालको विद्यार्थी आन्दोलनमा उनी कास्की कारागारमा दुईपटक गरेर पाँच महिना बस्नुपर्यो । । त्यसअघि २०३७ सालको जनमतसंग्रहका क्रममा ८ महिना कास्की कारागारमै बसे । २०३८ सालको निर्वाचनको क्रममा प्रहरीबाट यातनासँगै दुई महिना जेल चलान भए । देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह घोषणा ग¥यो । नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका पोखरेल परासी–कपिलवस्तुमा गरेर एक वर्ष जेल चलान भए । २०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रहेका पोखरेल नजरबन्दमा पनि परे । नौ महिना पाल्पा जेल बसे । २०४८ को अधिवेशनपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भए । २०४८ सालको आमनिर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिए । २०६२/६३ सालको जनआन्दोलनमा उनले नवलपुरको नेतृत्व गरे । त्यो बेला पनि परासी कारागार चलान भए । कांग्रेसको १२औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने । २०७० सालको प्रतिनिधिसभा चुनावमा ३ सय २५ मतले पराजित भए । उनले त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए । २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमाले माओवादी गठबन्धनबाट उम्मेद्वार रहेका सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी पोखरेल गण्डकी प्रदेश सभा सदस्य बन्न सफल भएका थिए ।

३३८४ संक्रमित थपिँदा ६२९५ निको, ६१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ छ । पछिल्लो २४ घण्टामा थप ६२९५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कुल संक्रमितमध्ये ५ लाख २७ हजार १११ जना निको भएका छन् । निको हुने दर ८६.९ प्रतिशत रहेको छ । शनिबार ६१ जनाको मृत्यु भएको छ । नेपालमा ८ हजार ३६६ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्युदर १.६ प्रतिशत रहेको छ । शनिबार काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जना संक्रमित थपिएका छन् ।

विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा

काठमाडौं । गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले पुनः मुख्यमन्त्रीमा दाबी गरेपछि विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । निर्धारित ३ बज्नु केहीअघि तीन दलको समर्थनसहित गुरुङले मुख्यमन्त्रीको दाबी गरेको बताइएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एकजना स्वतन्त्र सांसदले शुक्रबार दाबी पेस गरेका थिए । आफ्नो पक्षले बुझाएको हस्ताक्षरसहितको प्रमाण पुगेको दाबीसहित सांसदहरु प्रदेश प्रमुख कार्यालय पुगेका हुन् । बिहीबार विश्वासको मत लिन नसकेपछि गुरुङ नेतृत्वको एमाले सरकार ढलेको थियो । सम्बधित समाचारः गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी गण्डकीमा वैकल्पिक सरकार बनाउन दिएको समय सकियो, प्रदेश प्रमुख अनिर्णित