उच्च मनोबलका साथ दायित्व पूरा गर्न प्रहरीलाई गृहमन्त्री अधिकारीको निर्देशन

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले समाज र नागरिकसँग प्रत्यक्ष जोडिने नेपाल प्रहरीलाई उच्च मनोबलका साथ दायित्व पूरा गर्न निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयको आज निरीक्षण भ्रमणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले परिस्थितिको सामना गर्ने क्रममा राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्न पनि निर्देशन दिए । प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने क्रममा प्रहरीको भूमिका महत्वपूर्ण रहेको उनले स्मरण गराए ।

कोभिड–१९ सङ्क्रमणको विषम परिस्थितिमा अग्रपङ्क्तिमा खटिएको नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने एवं नागरिकको जीउधनको सुरक्षामा अहोरात्र निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

सीमित साधन स्रोतका बाबजुद नेपाल प्रहरीले सुम्पिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै आएको स्मरण गर्दै उनले आवश्यक व्यवस्थापनमा गृह मन्त्रालय सदैव प्रतिबद्ध रहेको स्पष्ट पारे ।

प्रदेशसभा सदस्य वैद्यलाई आत्मालोचना गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षणलगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ । पार्टीले आज विज्ञप्तिमार्फत प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुकी नै पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उनलाई सचेतसमेत गराइएको जनाइएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन भन्ने प्रष्ट रहेको उल्लेख गर्दै आलोचना लोकतान्त्रिक हक भए पनि त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन नमिल्ने बताएका छन् । शान्तिपूर्ण राजनीतिको शालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसद्मा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुने विज्ञप्तिमा उल्लेख छ । हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति नभएको प्रवक्ता शर्माले उल्लेख गरेका छन् । पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोहीबमोजिम आफूलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने विषयमा कांग्रेस प्रष्ट रहेको विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्रीलाई हत्याको धम्की अभिव्यक्ति निन्दनीयः एमाले  

‘नाथुराम गोडसेको चाहियो’ भनेपछि कांग्रेस सांसद वैद्यलाई कार्वाही गर्न एमाले सांसदहरुको माग

बागमती प्रदेशसभाको नीति तथा कार्यक्रमबारे छलफलमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै सत्ता पक्षका सांसदहरुले उनलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । यस्तो माग गर्ने सांसदहरुमा डाक्टर अजयक्रान्ति शाक्यलगाय छन् । ‘बैठकमा प्रदेश सांसद वैद्यले देशको कार्यकारी प्रमुखलाई संसदीय मर्यादाको समेत ख्याल नगरी दिएको अभिव्यक्ति खेदजनक छ,’ प्रदेश सांसद शाक्यले भने, ‘महात्मा गान्धीका हत्यारा नाथुराम विनायक गोड्से उदाहरण दिँदै उनले देशको प्रधानमन्त्रीको हत्या गर्न तयार छु भन्दै दिएको अभिव्यक्ति क्षमा गर्न योग्य छैन । उनलाई हदैसम्मको कारबाही गर्न माग गर्छौ ।’ प्रदेशसभाले प्रस्तुत गरेको नीति तथा कार्यक्रबारेको बहसमा वैद्यले छलफल भन्दा बाहिरको विषयवस्तुको उठान गर्दै कार्यकारी प्रमुखकै हत्या गर्ने अभिव्यक्ति अराजकताको पराकाष्ट भएको पनि सांसदहरुको भनाई छ । सांसद वैद्यले प्रधानमन्त्रीले आफ्नो सत्ता बचाउनका निम्ति विभिन्न किसिमको हतकण्डा अपनाइरहेको भन्दै नेपालको अहिलेको परिपेक्षमा नाथुराम गोड्से बन्नुपर्ने अभिव्यक्ति दिएका थिए । ‘नेपालको अहिलेको परिपेक्षमा खड्क ओलीलाई यसरी नै छाड्ने हो भने नेपाल खाइदिन्छ है, खाइदिन्छ है,’ वैद्यले भनेका थिए, ‘त्यसैले मेरो आग्रहचाँहि कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब, यो देश बचाउनका लागि कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्छु ?’ राताेपाटीबाट

गण्डकी, लुम्विनी र कर्णालीमा भारी बर्षा सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर आंशिक देखि सामान्य बदली भई अन्य स्थानहरुमा समेत वर्षा भइरहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । काठमाडाैंमा शनिबार बिहानदेखि वर्षा भईरहेको छ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउनु समेत अनुरोध गरिएकाे छ। देशको पुर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको महाशाखाले जनाएकाे छ । नेपालमा शुक्रबारदेखि मनसुन भित्रिएको छ । बंगालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजबाट नेपालमा मनसुन भित्रिएको हो । यस्ताे रहेकाे छ । आगामी तीन दिनको मौसम पूर्वानुमान जेठ २९ गते – शनिबार दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ । साँझ : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारि बर्षाको पनि संभावना रहेको छ। जेठ ३० गते – आइतवार दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ । साँझ : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ । जेठ ३१ गते – सोमवार दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश,गण्डकी प्रदेश ,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ । साँझ : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश केही स्थानहरुमा र प्रदेश २, बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

नेपाल सिधै एसियन कप २०२३ छनोटको तेस्रो चरणमा पुग्न असफल, अब प्लेअफ खेल्नुपर्ने

काठमाडौँ — नेपाल सिधै एसियन कप २०२३ छनोटको तेस्रो चरणमा पुग्न असफल रहेकाे छ । हिजाे राती भएकाे खेलमा डिफेन्सका मुख्य खेलाडी रोहित चन्दले पहिलो हाफको अन्त्यमा रातो कार्ड बेहोर्दे मैदान छाडेपछि १० खेलाडीमा समेटिएको नेपालले अस्ट्रेलियाविरुद्ध ३–० को हारेकाे थियाे । याेसँगै शुक्रबार विश्वकप २०२२ छनोट टुंग्याएको छ भने यससँगै २०२३ छनोटकाे तेश्राे चरणका लागि नेपालले प्लेअफ खेल्नुपर्नेछ । छनोटका ८ खेलमध्ये ६ खेल हारेको नेपालले दुई खेल जित्दै ६ अंक बनाएर समूह ‘बी’ को चौथो स्थान हासिल गरेकाे छ । नेपालले दुवै जित चाइनिज ताइपेईविरुद्ध निकाल्यो । ताइपेई समूहको अन्तिम अर्थात् पाँचौं स्थानमा रह्यो । समूहमा चौथो हुने आठ टिममध्ये उत्कृष्ट चार देशले सिधै एसियन कप छनोटको तेस्रो चरण खेल्न पाउँछन् । तर, एउटा समूहमा चार टिममात्रै भएकाले चौथो हुनेमध्ये उत्कृष्ट चारको छनोटमा पाँचौं हुने टिमसँगको नतिजा गणना हुँदैन । त्यसर्थ, चौथो स्थानको वरीयतामा नेपाल अंकविहीन रहेकाे हाे । त्यसैले अस्ट्रेलियाविरुद्धको हारसँगै नेपालले एसियन कप छनोटमा कायम रहन प्लेअफमा सफलता हासिल गर्नुपर्नेछ । प्लेअफ आउने सेप्टेम्बरमा हुनेछ र यसबाट आठ टिमले एसियन कप छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् । सन् २०२३ मा चीनमा हुने एसियन कप २४ टिमले खेल्नेछन् । यो विश्वकप छनोटको तेस्रो चरण पुग्ने १२ टिम (समूहका शीर्ष आठ र दोस्रो हुनेमध्ये उत्कृष्ट चार टिम) ले सिधै एसियन कप खेल्नेछन् । यो छनोटमा दोस्रो हुनेमध्ये पुछारका चार, तेस्रो हुने आठ र चौथो हुनेमध्ये उत्कृष्ट चार टिम महादेशीय प्रतियोगिताको छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् । पुछारमा रहने ११ टिमले प्लेअफ खेल्नेछन् । यसमा नेपाल पनि परेको छ । अस्ट्रेलिया लगातार सातौं जितसहित विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्‍यो । यससागै उसले एसियन कप २०२३ खेल्ने पनि पक्का गर्यो । हिजाे भएकाे खेलमा जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा कप्तान म्याथ्यु लेस्कीले हेडर गोल गर्दै छैटौं मिनेटमै अस्ट्रेलियालाई अग्रता दिलाए । उनकै उत्कृष्ट पासमा फ्रान कारासिचले ३८ औं मिनेटमा दोस्रो गोल गरे । बल अघि बढाइरहेका मार्टिन बोएललाई फाउल गर्दै लडाएपछि रोहितले ४५ औं मिनेटमा रातो कार्ड बेहोर्दै मैदान छाडे । त्यसपछि नेपाली टिमलाई अझै समस्या हुने अनुमान गरिएको थियो । तर, १० खेलाडीले पनि जुझारुपन देखाए । उनै मार्टिनले ५७ औं मिनेटमा तेस्रो गोल गरेका थिए । सुनारमात्रै छन् ।

सन् २०२० मा भन्दा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु

काठमाडौं : सन् २०२० को अर्थात् गत वर्षको तुलनामा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु भएको पाइएको छ । सन् २०१९ को अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान शहरबाट कोभिड १९ को भाइरस देखा परेको थियो । त्यसपछि सन् २०२० मा यो भाइरस विश्वभर पुगेको थियो । तर गत वर्षको भन्दा पनि यस वर्ष यो भाइरसबाट विश्वमा धेरै नागरिकको ज्यान गएको पाइएको एक समाचारमा जनाइएको छ । अमेरिकाको वाल स्ट्रिट जर्नलले यो समाचार दिएको हो । अघिल्लो वर्षको भन्दा यस वर्षको छ महिनायता नै विश्वमा कोभिडबाट धेरै मानिसको ज्यान गएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको रिपोर्टअनुसार यस वर्षको छ महिनामा मात्र १८ लाखभन्दा बढी मानिसको विश्वमा कोभिडको संक्रमणबाट नै मृत्यु भएको छ । सो विश्वविद्यालयले विश्वका कैयौँ देशमा अहिले खोपको आविष्कार भएर खोप लगाउने थालिएको भए पनि यस वर्ष लागेपछि मानिसहरुको ज्यान जाने क्रम भने रोकिएको छैन भनेको छ । कोभिडबाट भएको यो मृत्युको संख्या हेर्दा अहिले पनि संसारका कैयौँ स्थानमा कोभिडको महामारीले मानिसको ज्यान लिने क्रम भने नरोकिएको देखिएको सो विश्वविद्यालयले जनाएको छ ।

महामारीले अर्थतन्त्रका सबै क्षेत्रमा समस्या बढ्यो, साझा सहकार्य जरुरी

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड-१९ को महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको उल्लेख गर्दै साझा प्रयासबाट मात्रै समस्याको समाधान हुने स्पष्ट पारेको छ । महासङ्घका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र सङ्घईले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९ औँ बैठकलाई नेपालको रोजगारदाताका तर्फबाट आज सम्बोधन गर्दै कोरोनाका कारण आर्थिक सामाजिक नोक्सानीको क्षतिपूर्ति हुन केही वर्ष लाग्ने हुँदा सबै मुलुकबीचको आपसी सहयोग र सहकार्यका लागि अनुरोध गर्नुभयो । नेपालमा कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले देशव्यापी रूपमा बन्दाबन्दी र निषेधाज्ञा जारी गर्दा आर्थिक गतिविधि ठप्प हुन गई ठूलो नोक्सानी बेहोर्नुपरेको, यसबाट पर्यटन क्षेत्र, लघु, घरेलु र साना उद्योग व्यवसाय अत्यन्त प्रभावित भएको उहाँको भनाइ छ । कोरोनाका कारण मुलुकको आर्थिक वृद्धि ऋणात्मक भएको, कुल गार्हस्थ्य उत्पादन घट्न गएको, लाखौँको रोजगारी गुमेको र गरिबीको मात्रा बढेको भन्दै उहाँले महामारीका कारण अहिले मुलुक कठिन अवस्थाबाट गुज्रिरहेको र कोरोनाको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिरहेको हुँदा यसमा नियन्त्रण गर्न सरकारले प्रयास गरिरहेको र निजी क्षेत्रले पनि सामाजिक जिम्मेवारी महसुस गरी सरकारसँग सहकार्य गर्दै आएको जानकारी दिनुभयो । सभापति सङ्घईले अहिले नेपालको रोजगारदाता संस्थाले नीतिगत सुधार एवं केन्द्र, प्रदेश र स्थानीय सबै तहमा सामाजिक संवादको संयन्त्रको सबलीकरण गर्ने काम गरिरहेको उल्लेख गर्नुभयो । कूल १७६ भन्दा बढी मुलुकका प्रतिनिधिहरूको सहभागिता रहेको आइएलओ बैठक जुन ३ देखि १८ सम्म सञ्चालन हुनेछ । यस्तै श्रम सम्मेलनमा कोभिड-१९ महामारीको सङ्कटबाट मुक्त हुन अपनाउनु पर्ने उपाय र रणनीति, दिगो आर्थिक पुनरउत्थान, सामाजिक सुरक्षा, बालश्रम र अन्तर्राष्ट्रिय श्रम सङ्गठन शताब्दी घोषणाको कार्यान्वयनलगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।

अर्को निर्वाचन नभएसम्म संविधानको परिधिमा रहेर काम गर्छु : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले दलहरूलाई राष्ट्रिय कार्यसूचीमा साझा धारणा बनाएर सहमति, सहकार्यका साथ अगाडि बढ्न आग्रह गरेका छन् । विघटित प्रतिनिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग आज संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजित छलफलमा सभामुख सापकोटाले संविधानले नै अर्को निर्वाचन नभएसम्म सभामुख रहने व्यवस्था गरेकाले आफू संविधानको परिधिमा रहेर काम गर्ने बताए । उनले संसारभरको मान्यता, सिद्धान्तअनुसार अर्को निर्वाचन नहुँदासम्म सभामुख रहने तथा जनताका प्रतिनिधिका आवाज संसद्मा आउने र सभामुखमा केन्द्रित रहने तथ्यलाई सभामुखले उल्लेख गरेको उनका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । छलफलमा सभामुखले प्रतिनिधिसभा अकारण पटकपटक विघटन भएको बताउँदै पछिल्लो पटक त वर्षे अधिवेशनको आवश्यक तयारी भइरहेका समयमा नै विघटन भएकामा असन्तुष्टि व्यक्त गरे । आफूले पूर्वसभामुख, कानून व्यवसायी र सञ्चारकर्मीसँग निरन्तर संवाद गरिरहेको भए पनि राजनीतिक दलका शीर्षस्थ नेतृत्वसँग समसामयिक विषयमा छलफलका लागि आफूले निम्त्याएको उनले बताएका थिए । छलफलमा नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाललगायतले प्रतिनिधिसभा विघटनसम्बन्धी विषय सर्वोच्च अदालतमा पुगेकाले त्यहाँबाट संविधानअनुरूप फैसला आउने विश्वास व्यक्त गरेका थिए । प्रतिनिधिसभा विघटनसम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेका अवस्थामा दलका नेताहरूसँग सभामुखले समसामयिक राजनीतिक विषयमा छलफलका लागि बोलाएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जानकारी दिए । उनले प्रतिनिधिसभा पटकपटक विघटन हुँदा लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दल लाग्नुपर्नेमा सबै दल सहमत भएको जानकारी दिए । ‘पटकपटक संसद् विघटन भएको छ । यसमा साझा चिन्ता व्यक्त भयो,’ उनले भने, कोरोना महामारी चर्किएको छ । खोप व्यवस्थापन हुन सकेको छैन । यस विषयमा पनि हामी सबैको एउटै मत रह्यो ।’ छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पूर्वप्रधानमन्त्री खनाल, नेपाल, डा भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाका दीपक बोहोरा र नेमकिपाका प्रेम सुवाल सहभागी थिए । छलफलमा नेकपा एमालेको ओली समूहका तर्फबाट भने सहभागिता थिएन ।

संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थामा सुधार

काठमाडौं । वाङ्यमय शताब्दी पुरुष सत्यमोहन जोशीको छातीमा समस्या देखिएपछि गत बुधबार साँझबाट ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । उनलाई छातीमा निमोनिया देखिएपछि भर्ना गरिएको कलेजका निर्देशक सुरज बज्राचार्यले बताए । उनले भने, ‘आज उहाँको अवस्था सामान्य भइसकेको छ । साविकसरह खानपिन पनि गर्न थालिसक्नुभयो । कोरोना रिपोर्ट नेगेटिभ आइसक्यो ।” उनका भतिज तथा उद्योग वाणिज्य सङ्घ, ललितपुरका पूर्वाध्यक्ष अजरमान जोशीले आज उनको स्वास्थ्यमा निकै सुधार भएको र आउँदो आइतबार घर फर्काइने सम्भावना रहेको बताए । गत वैशाख ३० देखि जोशी एक सय एक वर्ष पुरा गरी एक सय दुई वर्षमा प्रवेश गरेका छन् । मुलुकमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना महामारीबीच जोशी निवास बखुम्बहाल पुगेर उनको जन्मोत्सवको अवसरमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सुस्वास्थ्य एवं दिर्घायुको कामना गरेका थिए । मदन पुरस्कारप्राप्त जोशीको मुहारअङ्कित रु १० को हुलाक टिकट पनि प्रकाशन भइसकेको छ । जोशीको नाममा नेपाल राष्ट्र बैंक टक्सार महाशाखाबाट उनको तस्बिर अङ्कित चाँदीको विभिन्न सिक्कासमेत निस्कासन भइसकेको छ ।

मन्त्रीपरिषद् पुनः विस्तार गर्नु सत्तालिप्साको चरम बेथिति हो : भीम रावल

काठमाडौं : नेकपा एमालेबाट निष्कासित नेता तथा पूर्वमन्त्री भीम रावलले कामचलाउ सरकारले मन्त्रिपरिषद् पुनः विस्तार गर्नु सत्तालिप्साको चरम बेथिति भएको बताएका छन् । सर्वोच्च अदालतमा मन्त्रिपरिषद् विस्तार विरुद्धकै मुद्दा विचाराधीन रहेको बेला पुनः विस्तार गरिनु संविधानको मर्ममाथि घात भएको नेता रावलले बताए । उनले ट्विटरमा लेखेका छन्, कामचलाउ प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् विस्तार गरिएको विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै स्थितिमा मन्त्रिपरिषद्को पुनः विस्तार जसरी गरियो, त्यसले संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि घात गरेको छ । यो सत्तालिप्साको चरम बेथिति र मन्त्रिपरिषद्को गम्भीर अवमूल्यन हो ।’  

प्रधानमन्त्री ओलीविरुद्ध तिनकुनेमा टायर बालेर प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काठमाडौंको बानेश्वरस्थित तिनकुनेमा टायर बालेर प्रदर्शन गरिएको छ । केही संख्यामा रहेका युवाहरूले त्रिभुवन विमानस्थलतर्फ जाने मूल सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘केपी ओली मुर्दावाद’को नारा लगाएका छन् । प्रहरीले उनीहरूलाई तितरबितर पारेर टायर हटाएको छ ।

जनकपुरधाममा चट्याङ लागेर २ बालक घाइते

धनुषा : जनकपुरधाममा चट्याङ लागेर २ बालक घाइते भएका छन् । शुक्रबार वर्षासँगै परेको चट्याङबाट जनकपुरधाम उपमहानगरपालिका १ स्थित पुलचोक बस्ने हकिम साफीका ११ वर्षीय छोरा रहान साफी र साबिक शेखका १२ वर्षीय छोरा शहीद शेख घाइते भएको धनुषा प्रहरीले जनाएको छ । जनकपुरधामको पुल्चोकस्थित रेल्वे स्टेशन नजिकै चट्याङ लागेर दुबै बालक घाइते भएको धनुषाको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । पिपलको रुखमा चटयाङ खस्दा रुखमुनि खेलिरहेका २ बालक घाइते भएका हुन् । घाइतेमध्ये रहान साफीको अवस्था गम्भीर रहेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मिश्रले जानकारी दिए । घाइते दुबै बालकको स्थानीय रामजानकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल एयरलाइन्सका अध्यक्ष घिमिरेले दिए राजीनामा

काठमाडौं : नेपाल एयरलाइन्सका अध्यक्ष सुशील घिमिरेले राजिनामा दिएका छन्। पूर्वपर्यटन सचिवसमेत भइसकेका सुशील घिमिरेलाई सरकारले २०७७ वैशाखमा कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो। योगेश भट्टराई मन्त्री हुँदा अध्यक्ष नियुक्त घिमिरे भानुभक्त ढकाल मन्त्री हुँदा पनि निरन्तर थिए। हालैमात्र जनता समाजवादी पार्टी (महन्थ ठाकुर पक्ष)बाट उमाशंकर अगरिया पर्यटनमन्त्री हुनेवित्तिकै घिमिरेले राजिनामा दिएका हुन्। यद्यपी घिमिरेले भने मन्त्रीसँग कुनै पनि विवाद नरहेको प्रष्ट पारेका छन्। उनले नितान्त व्यक्तिगत कारणले नेपाल एयरलाइन्स छोड्न चाहेको प्रष्ट पारेका छन्। पर्यटनमन्त्री अगरियाले भने आफू मन्त्री हुनुपहिले नै घिमिरेको राजिनामा आएको र आज आफ्नो टेबलमा पत्र आएको जानकारी दिए। उनले पहिले नै राजिनामा पत्र दिनुभएको रहेछ। आज मेरो टेबलमा आएको छ। उनले पारिवारिक कारणले आफै छोड्न चाहनुभएको रहेछ। उनीसँग कुरा बुझेरमात्र स्वीकृत गर्ने वा नगर्ने निर्णय हुन्छ मन्त्री अगरियाले भने।

देशभर खाद्यमा २० प्रतिशत छुटको व्यवस्था लागू हुने

काठमाडौं : अगामी दिन खाद्यमा २० प्रतिशत छुटको व्यवस्था देशभर लागू हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार लिमिटेडका सूचना अधिकारी सर्मिला न्यौपाने सुबेदीले यस्तो व्यवस्था लागू हुने बताएकी हुन् । उनका अनुसार खाद्यमा भएको छुटले उपभोक्ताहरु लावान्धित भएपनि लकडाउनले यातायातको समस्या भने भोगिरहेका छन् । लकडाउनले यातायात नहुँदा समान लिन आउनेको संख्या कम रहेको सूचना अधिकारी न्यौपानेले बताइन् । खाद्य व्यवस्था तथा व्यापार लिमिटेले उपत्यकामा काठमाडौंको थापाथली, रामशाहपथस्थित बिक्री कक्ष, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सुर्यविनायक बिक्री कक्ष तथा अन्य जिल्लामा कम्पनीका कार्यालय र बिक्री कक्षबाट सामाग्री उपलब्ध गराउँदै आएको उनले बताइन्। ‘अहिले उपत्यकाको ४-५ ठाउँबाट खाद्य समान विक्रिवितरण गरिरहेका छौँ, यो व्यवस्था विस्तारै देशभर लागू हुनेछ, यातायातको समस्याले सामान लिन आउनेको संख्या कम रहेको छ’-सूचना अधिकारी न्यौपानेले भनिन् । अहिलेसम्म गत जेठ २१ गतेदेखि २६ गतेसम्ममा व्यापार भएको ३५ हजार ६५ किलो कूल विवरणमा छुट रकम ४ लाख ३६ हजार ९१४ रुपियाँ रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिक्ष्न् । खाद्यमा २० प्रतिशत छुटको व्यवस्था अभियानकै रुपमा रहेको उपभोक्ता संरक्षण मञ्चका सचिव हरि मैनालीले बताएकी छन्। उनले बजारमा निजि क्षेत्रबाट भएको व्यापार के-कति मात्रामा नाफा लिएको छ । नाफा र मूल्यको अन्तर तुलना गर्न सजिलो हुने बताइन् । उनले भनिन् ‘खासमा बजारको उपभोग र उपभोक्ताहरुको माग बमोजिम काम गर्न नसके पनि यस्ता कामले बजार सन्तुलन र मार्केटिङ्ग टिप्सलाई सन्तुलन गर्छ ।’

बहुमत सांसदको हस्ताक्षरसहित गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दाबी

पोखरा । बहुमत सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका हुन् । प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएर आह्वान गरेपछि विपक्षी गठबन्धनबाट पोखरेलले सरकारमा दाबी गरेका हुन् । गण्डकीमा बहुमतका लागि ३० सांसद चाहिन्छ ।

कोभिड संकटः ठगी तथा कालोबजारी नियन्त्रण

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) अनुसार एशियाली क्षेत्रमा कोभिड–१९ अर्थात कोरोना भाइरस सङ्क्रमणमा तीव्र रुपले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भैरहेका छन् । यो लेख तयार पार्दा सम्म पछिल्लो दुई महिना भरि निरन्तर रूपमा यस क्षेत्रमा १७,७००६७, लाखभन्दा बढी नयाँ सक्रिय सङ्क्रमित थपिएका छन् भने केही ठाउँहरूमा सङ्क्रमण पुष्टि हुने दर उच्च वृद्धि भैरहेको छ । आमनागरिकहरुले विगतका कष्टकर करिब डेढ बर्षमा आफू र आफ्ना मान्छेलाई बचाउन सम्भव भएसम्मका सबै उपाय लगाइसके । तर पनि हामी अझै विश्वव्यापी महामारीको चरम र उच्च जोखिम अवस्थामै छौं । विशेषगरी विश्वका केही देशहरू सामान्य अवस्थातर्फ उन्मुख भैरहँदा यस क्षेत्रका सबै देशहरूमा आगामी दिनको चुनौतीको अवस्थालाई मध्यनजर गर्दै हाम्रा प्रतिकार्यहरू कायम राख्नु र अझ बृहत् बनाउनु आवश्यक छ । महामारीको दोस्रोचरण सङ्क्रमितको संख्यामा जे जति भए पनि सार्वजनिक स्वास्थ्य प्रणालीको अनुगमन र क्षमता विस्तार अनिवार्य गरिनुपर्छ । यसले सङ्क्रमितको संख्या बढेको अवस्थामा स्थान, कर्मचारी र अक्सिजन एवं बेडसहितका आवश्यक सामग्रीको उपलब्धता वृद्धि गर्न र सम्बन्धित स्वास्थ्य संस्थाहरूबीच समन्वयलाई मद्दत पुर्याउन नियमितरूपमा योजना लागू गरिनुपर्छ । यता कोरोनाको कष्टकरले गम्भीर मारमा जनजीवन अस्तव्यस्त छ भने यसैबीच महासंकटको बेलामा दैनिकी उपभोग्य, खाद्यान्न, खानेतेल, तरकारी तथा फलफूलजस्ता उपभोग्य सामग्रीलगायत स्वस्थ्य सामाग्री, औषधिहरुको अवैैधानिक र बिना मापदण्ड मूल्यवृद्धि हुनु नियमित रुटिन जस्तै भैसक्यो । निरन्तर कोरोना महामारीमा थोरै पनि मानवीय संबेदनशिलतालाई ख्याल नै नराखी जीवनको दोधारमा हस्पिटलका बेडमा छटपटाईरहेका बिरामी र एक छाक जोहो गर्न मुस्किल पर्ने मानिसहरूलाई औषधिलगायतका अत्यावश्यक स्वास्थ्य उपचार सामग्रीहरूमा समेत आफुखुशी मूल्यमा बिक्री भैरहेका छन् । संकटको बेलामा मुल्य वृद्धि मात्रै बढाइएको छैन, बजारमा नक्कली र गुणस्तरहीन सामाग्री पनि फस्टाएको छ । यसबाट बिहान बेलुकीको छाक टार्ने नागरिकहरु तथा गरिब दुखी बिरामीको स्वास्थ्यमै गम्भीर असर परिरहेको र पर्न सक्ने अवस्था छ । यस्तो ठगी धन्दा रोक्न प्रहरी प्रशासनले केही प्रयास गरेको जस्तो देखिए पनि त्यो पुर्ण भने छैन । तिनै असहाय, गरिवको निम्ति बाधक मात्र नभएर आम जनस्वास्थ्यकै गम्भीर प्रश्न पनि भएकाले यस्तो ठगी रोक्न सरकार र मातहतका सम्बन्धित निकायहरुले यस्ता विषयमा चासो दिएर कार्यन्वयन गर्नुपर्छ । ठगिनबाट जोगिन सबै नागरिक पनि सचेत रहनुपर्छ । यस्तो धन्दाबारे जानकारी राख्ने सम्बन्धित निकायवालालगायत सर्र्वसाधारणले पनि प्रहरी, प्रशासनलगायतका विभिन्न मातहतमा रहेका संयन्त्रमा सूचना दिएर ठगीमा लागेकाहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने वातावरण बनाउनुपर्छ । सक्रिय संक्रमित र उपचारका लागि अस्पताल पुग्नेहरूका लागि स्वास्थ्य सामाग्रीहरु यही मौकामा यिनको कालोबजारी मात्र भएन, नक्कली तथा गुणस्तरहीन सामाग्रीहरुको पनि बेचबिखन मौलाएको हो । सबैले गम्भीरतापूर्वक ध्यान पुराउनु पर्छ । बजारमा गुणस्तरहीन सामग्री बिक्री वितरण नहोस् भनेर सम्बन्धित सबै निकायले अनुगमन बढाउनुपर्छ । ठगी तथा कालोबजारी कार्य रोक्न प्रहरीले मात्र प्रयास गरेर हुँदैन, कानुनी प्रक्रियासँगै आपूर्ति, वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग र औषधी व्यवस्था विभाग जस्ता निकायहरूले पनि आवश्यक अनुगमन तथा कामकारबाही गर्नुपर्छ । नागरिकहरु गम्भीर मारमा परिरहँदा जिम्मेवार निकायहरू कुनै पनि छलकपट नगरीकन निस्वार्थ भावनाले एक कदम अघि बढनुपर्छ । अन्यथा यस्तो कार्यमा उनीहरूको समेत सहकार्य र समर्थन भएको अर्थ लाग्छ । जसरी हुन्छ, सम्बन्धित सबै निकायहरूको सक्रियतामा बजारमा भैरहेको अवैैधानिक धन्दा रोकिनुपर्छ । ठगी तथा कालोबजारीमा लाग्नेहरुलाई हदैसम्मको सजाय दिलाउन कसैको दवाब र प्रभावमा नपरीकन उपयुक्त कानुनी प्रक्रियामा अघि बढाउनुपर्छ । सामानलाई गुणस्तर अनि राम्रो भनी झुक्याई बेचेको र यस्ता गलत कार्यमा लागेकाहरुलाई निरुत्साहित बनाई प्रावधानअनुसार पनि कारबाही गर्न कानुनी प्रक्रिया अपनाउन सकिन्छ । त्यसैले यसका निम्ति प्रहरी प्रशासनलगायतका सम्बद्ध निकायहरूको पनि जिम्मेवारीपूर्वक इमान्दारीका साथ सक्रिय भुमिका खेल्न जरुरी देखिन्छ ।