प्रम ओलीको भ्याकेट निवेदन भट्टराई र फुयालको संयुक्त इजलासमा सुनवाई हुँदै
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चमा दिएको निवेदनको सुनवाई न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरि प्रसाद फुयालको संयुक्त इजलासमा भइरहेको छ ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै ओलीले भ्याकेट निवेदन दिएका थिए ।
सर्वोच्च अदालतले एमालेले कर्णालीका चार जना सांसदलाई कार्वाही गरेको निर्णय बदर गरेको थियो ।
कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेकोमा गरिएको कार्वाहीविरुद्ध परेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरिदिएको थियो ।
उक्त आदेशविरुद्ध केन्द्रीय कमिटीले निर्णय गरेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन भएको र सो आयोजक समिति नै एमालेको आधिकारिक कार्यकारी कमिटी भएको जिकीर गर्दै ओलीले भ्याकेट निवेदन दिएका हुन ।
हतियार देखाएर जबर्जस्ती करणी र लुटपाट गर्ने युवा पक्राउ, २ फरार
लमही, दाङको लमहीमा एकजना महिलामाथि हतियार देखाएर जबर्जस्ती करणी गर्ने एकजना युवक पक्राउ परेका छन् । घटनामा संलग्न रहेका दुईजना भने भाग्न सफल भएका छन् । प्रहरीका अनुसार, घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय किरण बुढा नाम गरेका युवा पक्राउ परेका हुन । निजहरुले गएराति कमानपुरमा रहेको सिमेन्ट कम्पनी जाने बाटोमा अन्दाजी करिब १० बजेको समयमा एक टिप्परलाई रोकी धारिलो हतियार देखाउँदै टिप्पर चालकलाई लुटपाट गरि टिप्परमा रहेका चालकका श्रीमति र आफन्तलाई जवरजस्ती करणी गरेको पीडितको भनाई रहेको छ । पीडितहरुका अनुसार, रोल्पाको होलेरीबाट सिमेन्ट कम्पनीका लागि कच्चा पदार्थ लिएर आएका पीडितहरु सिमेन्ट कम्पनीमा सामान झारेर लमही फर्कने क्रममा ती युवाहरुले बाटोमा मोटर साइकल लिएर तेर्साएको पीडितले बताएका छन् । ‘त्यसपछि धारिलो हतियार देखाउँदै सुनका गरगहना ,मोबाइल र नगद ४५ हजार लुटे । र, महिलाहरुलाई जवरजस्ती गरे ।’ प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।
नेपालमा फेरी देखियो कोरोनाको नयाँ भेरिएन्ट
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ । यससँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनहरुबाट पाइएको हाे । मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि दिइएको छ । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी ४८ नमुना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा परीक्षण गर्दा ७४ नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको थियो । जसमध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेशन भेटिएको हो ।
निधि, कोइराला र सिंहबीच लन्च मिटिङ, देउवालाई प्रधानमन्त्री र सहमतिमै नेतृत्व खोज्नुपर्ने विषयमा छलफल
काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी तीन शीर्ष नेताबीच वानेश्वरमा छलफल भएको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच पार्टीको १४ औं महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल भएको हो । नेता निधिले आफ्नो निवासमा शीर्ष नेताहरुलाई खाना खाने निम्तो दिएको थिए । कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि निम्तो दिइएको थियो । तर देउवा आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफलमा रहेकाले आउन ढिलो भएको बताइएको छ । आजको छलफलमा पाँचवटा विषयमा छलफल भएको छ । देशभर कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारलाई खबरदारी गर्ने, सिन्धुपाल्चोक लगायत देशभरको आएको बाढी र पहिरोबाट प्रभावितहरूलाई राहत, पुनःस्थापना र गासबासका लागि सरकारसमक्ष पहल गर्ने, पार्टीको १४औं महाधिवेशनको नेतृत्वका विषयमा छलफल भएको थियो। सकेसम्म सभापतिमा सहमति खोज्ने उनीहरुले निश्कर्ष निकालेको श्रोतले बतायो । यस्तै, छलफलमा आगामी निर्वाचनमा कांग्रेसको जित, गठबन्धनको तर्फबाट देउवालाई प्रधानमन्त्री बनाउन जोडतोडले लाग्ने विषयमा गठबन्धनका सबैबीच साझा धारणा बनाएर अघि बढ्ने विषय समेत समेटिएको हो । साथै आफूहरूबीच भएको संवादको विषयमा नेता कृष्णप्रसाद सिटौला, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेललाई जानकारी दिने पनि छलफ
धुलिखेलबाट फकाउँदै भक्तपुर ल्याएर किशोरी बलात्कार गर्ने युवक पक्राउ
किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षीय जयराम चौलागाईंलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । गुम्न जाउँ भनेर फकाउँदै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ की १५ वर्षीया किशोरीलाई चौलागाईंले भक्तपुर नगरपालिका–४ स्थित भक्तपुर गेष्टहाउसमा ल्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । यही असार ५ गते बालिकालाई घुम्न जाने भन्दै फकाएर भक्तपुर ल्याएको र भक्तपुरमा आएपछि खाजा नास्ता खाउँ भनी भक्तपुर गेष्टहाउसमा लगेर डर धाकधम्की दिई जबरजस्ती बलात्कार गरेको किशोरीले बयान दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए । प्रहरीले चौलागाईंलाई काठमाडौँ सुन्धारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । यही असार ५ गते बिहान १० बजे किशोरी हराएपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दिएकी थिइन् । निवेदनको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौँको प्रहरी टोलीले आइतबार किशोरीलाई सुन्धारामा फेला पारेर भक्तपुर प्रहरीलाई बुझाएको थियो ।
चुनावको तयारीमा देउवा : आज लुम्बिनी, कर्णाली र सुदूरपीश्चमका केन्द्रीय सदस्यसँग छलफल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव तयारी तीब्र पारेका छन् । आसन्न १४ औं महाधिवेशनमा फेरि पार्टी सभापतिमा पुनः उम्मेदवारी दिने घोषणा गरेका देउवाले आन्तरिक भेटघाट र छलफल तीब्र पारेका हुन् । आज देउवाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ । देउवाले यसअघि आफ्नै निवास बुढानिलकण्ठमा प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशका आफ्ना समुहका नेताहरुसाँ छलफल गरेका थिए । एकल उम्मेदवार हुने सम्भावना नभएपछि देउवाका लागि यो अधिवेशन चुनौतीपूर्ण नै देखिएको छ । देउवाको समूहभित्रै विमलेन्द्र निधिलगायतले पनि सभापतिमा इच्छा व्यक्त गरेपछि देउवालाई झन कठिनाई थपिएको हो । निधी असन्तुष्ट भएपछि उहाँ पछिल्लो सयम कृष्ण सिटौला र अन्य नेताहरुलाई मिलाउने रणनीति देउवाले अवलम्बन गर्न सक्छन् । देउवाले आफ्नै नेतृत्वमा कांग्रेसलाई बलियो र पहिलो पार्टी बनाउने बताएका थिए । यद्यपी कांग्रेसभित्र देउवाविरुद्ध रामचन्द्र पौडेल समूह सशक्तरुपमा अघि आएको छ । एकातिर पौडेलहरुले चुनौती दिने र अर्कोतर्फ आफ्नै समूहभित्र समेत पूर्ण सहमति नजुटने अवस्था देउवाका अगाडि सिर्जना भएको हो ।
आजकाे मौसम : प्रदेश-१, २ र लुम्बिनीका केही स्थानमा भारी वर्षाकाे सम्भावना
काठमाडौं । अहिले काठमाडौंसहित देशका केही ठाउँमा घाम लागेको छ । अहिले वाग्मती प्रदेश, प्रदेश–१ र गण्डकी प्रदेशका केही ठाउँको मौसम खुलेको छ । प्रदेश–१ का केही ठाउँमा घाम लागे पनि केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार प्रदेश–१ का केही ठाउँसँगै अहिले कर्णाली प्रदेशमा पनि पानी परिरहेको छ । मौसमविद्ले आज प्रदेश–१, २ र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको बताएका छन् । गएको २४ घण्टामा रुकुममा सबैभन्दा धेरै ८० मिलीमिटर पानी परेको छ । यस्तै, आज, भोलि र पर्सि केही ठाउँको मौसम सफा नै रहने अनुमान गरिएको छ । हिजोदेखि नै पानी पर्न कम भएपछि देशका धेरैजसो नली तथा खोलामा पानीको बहाव घटेको छ । यसले तत्कालका लागि बाढीको जोखिम घटेको छ । तर, यसअघिको लगातारको झरीले जमिन गलिसकेकाले सामान्य पानी पर्दा समेत पहिरोको जोखिम भने रहने मौसमविद्ले बताएका छन् । यस्तै, आउँदो विहीबारदेखि देशभर मौसम पूर्ण बद्ली भइ ठूलो पानी पर्ने सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् । यसपालिको बर्खामा औसतभन्दा धेरै पानी पर्ने सम्भावना रहेको बाढी पहिरोको जोखिम उच्च छ।
भेरी अस्पतालमा चिकित्सक र नर्समाथि कुटपीट गर्ने धरौटीमा रिहा
बाँके । भेरी अस्पतालमा आफन्तको मृत्यु भएपछि चिकित्सक र नर्समाथि कुटपीट गरेको आरोपमा पक्राउ परेका तीनजना धरौटीमा रिहा भएका छन् । आइतबार बाँके जिल्ला अदालतले तीनैजनाआरोपी मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई जनही ५० हजार रुपैयाँ धरौटीमा धरौटीमा छाड्न आदेश दिएको हो । गत जेठ १३ गते बेलुकी दाङ तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका ५४ वर्षीय कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारको क्रममा मृत्यु भएपछि उनीहरूले चिकित्सक र अन्य स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेका थिए । आक्रमणबाट जोगिन नर्सहरु शौचालयको झ्यालबाट हाम फालेका थिए । भेरी अस्पतालमा भएको उक्त घटनाको चौतर्फी विरोध भएपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।
यति ग्रुपलाई फाइदा पुग्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज, निकुञ्जभित्र आयोजना निर्माण गर्न रोक
काठमाडौं । सर्वोच्च अदालतले मन्त्रीपरिषदको अर्को निर्णय पनि खारेज गरेको छ । गत जेठ १३ गते सरकारले संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधारहरू निर्माण एवं सञ्चालन गर्न दिने गरी कार्यनीति ल्याएकोमा उक्त नीति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो । यसै साता सरकारले आगामी बजेटमा व्यवस्था गरिएको ढुंगा, गिट्टी र बालुवा निर्यात गर्ने निर्णय खारेज गरेको थियो । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजालासले संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवं सञ्चालनसम्बन्धी कार्यनीति, २०६५ को दफा ५ संशोधन गर्ने र दफा १५ थप गर्ने मन्त्रिपरिषद्को जेठ १३ को निर्णय कार्यान्वयन नगर्न, नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । उक्त निर्णय खारेज माग गर्दै अधिवक्ता विज्ञानसिंह विष्टले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । आदेशमा निकुञ्ज, आरक्षभित्र त्यसरी विद्युत् उत्पादन गर्न दिँदा निकुञ्ज ऐन विपरीत हुने र वन्यजन्तु संरक्षणको संवेदनशीलतालाई असर पर्ने भनिएको छ । तत्कालीन वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले यति वर्ल्ड इन्भेस्टमेन्ट कम्पनी प्रालिलाई लामटाङ निकुञ्जको भित्रि भागमा विद्युत् उत्पादनको अनुमति दिन मन्त्रिपरिषदबाट कार्यनीति नै संशोधन गराएका थिए । निकुञ्ज र आरक्षको भित्रि भागभित्र पनि ठूला जलविद्युत् आयोजना बनाउन पाउने र त्यसरी विद्युत् उत्पादन गर्न नदी, खोला थुन्दा प्राकृतिक प्रवाहमा १० प्रतिशत पानी छाडे हुने गरी कार्यनीति संशोधन गरिएको थियो । यतिले लामटाङ निकुञ्जको भित्रिभागमा पर्ने स्याफ्रु, बृद्धिम, टिमुरे र लामटाङबाट ३१० मेगावाट क्षमताको (लामटाङखोला रिजर्भवायर) विद्युत् उत्पादन गर्न प्रक्रिया अघि बढाएको थियो । उसले प्रस्ताव गरेको ठाउँ जैविक विविधता र वन्यजन्तुका लागि उपयुक्त भएको स्थान हो ।
नेपालमा डेल्टा भेटियन्टकाे काेराेना, संक्रमण बढ्ने खतरा कायमै, सुरक्षा सावधानी अपनाउन आग्रह
काठमाडौं, असार ६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हाल कोरोना संक्रमणको दोस्रो लहरमा डेल्टा भेटियन्ट फैलिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानबाट संकलन गरिएको ४८ नमूना मध्ये ४७ नमुनामा डेल्टा भेरियन्ट देखिएको जानकारी दिनुभयो । विश्व स्थास्थ्य संगठनबाट मान्यता प्राप्त भारतको नयाँ दिल्लीमा गरिएको परीक्षणमा ४७ जनाको नमूनामा डेल्टा भेरियन्ट र १ जनाको नमुनामा अल्फा भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. पौडेलले डेल्टा भेरियन्ट देखिएका ४७ नमूना मध्ये पनि ९ नमुनामा के फोर्टिवन सेभेन एन नामक म्यूटेट भेरियन्ट देखिएको बताउनुभयो । यस्तै मन्त्रालयले बाढी पहिरोले क्षति पु¥याएका जिल्लामा सहयोग गर्न जानेहरुले स्वास्थ्य सुरक्षा अप्नाउन आग्रह गरेको छ । संक्रमणको जोखिम कायमै रहेको भन्दै मन्त्रालयले सहयोग गर्न जानेहरुले अनिवार्य रुपमा सुरक्षा सावधानी नअपनाउने हो भने संक्रमण बढ्ने खतरा रहेको भन्दै ध्यानआकृषण गराएको छ ।
काठमाडौं महानगरको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷२०७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । असार ३ मा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति(तथा कार्यक्रम सार्वजनिक गरेका थिए । उपमेयरसहित कांग्रेस निकटका जनप्रतिनिधिले नीति तथा कार्यक्रमबारे अध्ययन गर्न समय मागेपछि प्रमुख शाक्यले छलफलका लागि दुई दिन दिएका थिए । नीति तथा कार्यक्रममा १ सय बेडको काठमाडौंमहानगर विशेष अस्पताल स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट र सहुलियत दिने, महानगरवासीलाई नागरिक स्वास्थ्य विमा कार्यक्रम, ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निःशुल्क सेवा लगायतका कार्यक्रममा उल्लेख छ ।
लुम्बिनी प्रदेशका चार मन्त्रीलाई जसपाले फेरि सोध्यो स्पष्टीकरण
बुटवल । लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका चारजना सांसदलाई जनता समाजवादी पार्टी (जसपा) ले फेरि स्पष्टीकरण सोधेको छ । पार्टीको ह्वीप उल्लंघन गर्दै प्रदेश सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेको भन्दै पार्टीको उपेन्द्र यादव पक्षले सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई स्पष्टीकरण सोधेको हो । केन्द्रीय कार्यालय सचिव प्रकाश अधिकारीले चारैजना मन्त्रीलाई छुट्टाछुट्टै पत्र पठाएर पाँच दिनभित्र वस्तुनिष्ट सन्तोषजनक स्पष्टीकरण लिखित रुपमा बुझाउन निर्देशन दिएको छ । नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि उल्लंघन गरेकाले कारवाहीका लागि केन्द्रीय समितिमा पत्राचार गरेको र केन्द्रीय समितिले स्पष्टीकरण सोधेको जसपा लुम्बिनी प्रदेश संसदीय दलका नेता सहषराम यादवले बताए । तोकिएको अवधिभित्र सन्तोषजनक स्पष्टीकरण नबुझाएमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ (४र ५) तथा पार्टीको अन्तरिम विधान २०७७ धारा ४९ र ५० (१) वमोजिम आवश्यक कारवाही हुने पत्रमा उल्लेख छ । गत वैशाख १९ मा पार्टीको ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि कारबाही गरिएका उनीहरुलाई कारवाही गरी पदमुक्त गरिए पनि सर्वोच्च अदालतले पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।
विपक्षी दलहरुद्वारा लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार
विपक्षी दलहरुले लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठक बहिस्कार गरेका छन् । अल्पमत परेको सरकारले ल्याएको बजेटको बिरोध गर्दै गठबन्धनमा रहेका दलहरुले बैठक बहिस्कार गरेका हुन् । असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गरेको थियो । तर, आज बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली काँग्रेसका वीरेन्द्र कनौडियाले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने बताए । त्यसपछि काँग्रेस, माओवादी र जसपा सांसदहरु बैठकबाट हिँडेका थिए । आय व्ययको छलफल भएपछि आजै विनियोजन विधेयक पेश हुने कार्यसूची रहेको थियो ।
आज पनि ओरालो लाग्यो सुनका मूल्य, नयाँ मूल्य कति ?
सुनको मूल्य आजपनि घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको हो । गत बुधबारदेखि ५ दिनमा सुनकाे मूल्य अधिकतम तीन हजार एक सय रुपैयाँले घटेकाे छ । महासंघका अनुसार गत बुधबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजारमा झरेको छ । यस्तै, सुनको मूल्य निरन्तर घटिरहेका बेला यता चाँदीको मूल्य समेत घटिरहेको छ । महासंघका अनुसार गत बुधबार प्रतितोला अधिकतम एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार एक हजार २९० रुपैयाँमा झरेको छ ।
घट्यो जोखिम, रोङसी नदी सुचारु हुँदै, तामाकोशीतर्फ राहत
काठमाडौं । चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरो जाँदा थुनिएको रोङसी नदीको प्रवाह बिस्तारै सुचारु गरिएको छ । उक्त पहिरोका कारण तामाकोशी क्षेत्रमा बाढी आएको थियो । जिल्ला प्रशासन कार्यालय दोलखाले गएराति सूचना जारी गरेर चीन तर्फबाट प्राप्त जानकारी अनुसार पहिरो आंशिक रुपमा हटाई नदीको प्रवाह सीमित मात्रामा सुचारु गरिएको जनाएको हो । यसले नेपालतर्फ तामाकोशी नदीको किनारमा बस्ने वासिन्दालाई राहत मिलेको छ । तर अझैपनि जोखिम पूर्णरुपले टरेको भने छैन । त्यसैले पूर्व सावधानी अपनाउन प्रशाशनले आग्रह गरेको छ । पछिल्लो सूचना अनुसार हाल नदी थुनेर बनेको जलायसबाट पहिरोलाई सीमित रुपमा कटान गरि पानीलाई बगाउन सुरु गरिएको छ । हाल उक्त जलासयमा अनुमानित एक लाख घनमिटर पानी जम्मा भएको हुनसक्ने बताईएको छ । नदीको थुनिंदा सीमावर्ती गाउँ र तामाकोशी नदीको तटीय क्षेत्रका सिन्धुली, दोलखा र रामेछाप जिल्लामा जोखिम बढेको थियो ।
बाबुरामले भने- टाउकाको ओखती नाइटामा लगाएर हुन्न
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन नै देशको संकटको प्रमुख कारण रहेको औंल्याएका छन्। उनले कांग्रेस, कम्युनिष्ट र समाजवादी रूपान्तरण हुनुपर्ने बताए। सामाजिक सञ्जाल ट्वीटरमा भटराईले आइतबार बिहान लेखेका छन्, ‘भनिन्छ–टाउकाको ओखती नाइटामा लगाएर हुन्न । अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो।’ नेता भट्टराईले पार्टी र नेतालाई आमुल परिवर्तन गर्नुपर्ने वा नयाँ बनाउने आँट गर्नुपर्ने बताए । ‘कांग्रेस ‘कांग्रेस’नरहनुस कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनुस समाजवादी ‘समाजवादी’ नरहनु ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं । नत्र समयले कसैलाई पर्खन्न है,’ भट्टराईले लेखेका छन् ।

