राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री पौडेलले सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रिय सभाको आजको बैठक दिउँसो एक बजे बस्ने भएको छ।
आजको बैठकमा राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन र प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समितिको प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ ।
त्यसैगरी आजको बैठकमा उपप्रधान एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले समसामयिक विषयमा बैठकमा सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।
यी क्षेत्रमा बाढी पहिराे तथा पानीकाे सतह बढने भन्दै सतर्कता अपनाउन अपिल
काठमाडौं । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाकाअनुसार आज बिहान प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रही प्रदेश २ र बागमती प्रदेशका एक दुइ स्थानमा धेरै भारि बर्षाको समेत सम्भावना रहेकाे छ । धेरै वर्षा हुने भएकाले प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएकाे छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्ताे छ आगामी तीन दिनकाे माैसम पूर्वानुमान असार १९ गते – शनिबार दिउँसो: प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । प्रदेश २ र बागमती प्रदेशका एक दुइ स्थानमा धेरै भारि बर्षाको समेत सम्भावना रहेको छ । राती: प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, र गण्डकी प्रदेशका एक दुइ स्थानमा धेरै भारि बर्षाको समेत सम्भावना रहेको छ । असार २० गते -आइतबार दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक दुइ स्थानमा धेरै भारि बर्षाको पनि संभाबना रहेको छ। असार २ गते – सोमबार दिउँसो: प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । राती: प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
पछिल्लो २४ घण्टामा २२ सय ९९ जनामा कोरोना संक्रमण, थप ३४ जनाको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै यो अवधीमा कोरोना संक्रमणबाट थप ३४ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० हजार ५ सय ९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३ सय ९१ जनामा र एन्टिजेन विधिबाट ९ सय ८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विधिबाट ३६ हजार ७ सय ५५ जनामा संक्रमण संक्रमण पुष्टि भइसकेको छ । यही अवधिमा थप ३४ सय ५१ संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ३ हजार ६ सय जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४ प्रतिशत छ । हाल २६ हजार ३ सय ३६ जना होम आइसोलेसन, २ हजार ९३८ जना संस्थागत आइसोलेसन, ६ सय ३२ जना आइसीयू र १ सय ८१ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै हालसम्म ९ हजार १ सय ७९ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएकाे छ।
प्रधानमन्त्री ओलीको दाबी- अब भ्याक्सिनको समस्या हुँदैन, पर्सिदेखि चाहिनेजति आउँछ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना भाइरसविरुद्धको खोपको अभाव नहुने दाबी गरेका छन् । आज नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अब खोपको अभाव नहुने दाबी गरेका हुन् । बैठकमा ओलीले भने, ‘अब भ्याक्सिनको समस्या छैन । पर्सिदेखि चाहिनेजति भ्याक्सिन आउँछ । भारतबाट दोस्रो डोज नआउँदा समस्या भयो । केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिङ गरिरहेका छन् ।’ शुक्रबार बालुवाटारमा जारी १३ औं केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालपक्ष सहभागी छैनन् ।
प्रतिष्ठान डुबाउने उपकुलपति, रजिस्ट्रार, रेक्टर र निर्देशक बर्खास्त गर्न डा. केसीको माग
काठमाडौं । प्रा.डा.गोविन्द केसीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान डुबाउने उपकुलपति, रजिस्ट्रार, रेक्टर र निर्देशक बर्खास्त गर्न माग गरेका छन् । डा.केसीले प्रतिष्ठानका पदाधिकारीले बरबादीतिर प्रतिष्ठानलाई धकेलिरहेको भन्दै उपकुलपति, रजिस्ट्रार, रेक्टर र निर्देशकको बर्खास्त गर्न माग गरेको हुन् । बिपी प्रतिष्ठानलाई डुबाएर आफ्ना कार्यकर्ताको अस्पताललाई अवैध रूपमा मेडिकल कलेजको सम्बन्धन दिन प्रधानमन्त्री ओलीले निरन्तर नाजायज दबाब दिइरहेको विज्ञप्तिमार्फत डा.केसीले आरोप लगाएका छन् । बिपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरूले थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेको केसीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । दलीय बफादारिता नभई वरिष्ठता, इमानदारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गर्नुपर्ने डा. केसीको भनाइ छ । बिपी प्रतिष्ठानमा भइरहेको अनियमितताका विरोधमा प्रतिष्ठानका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र विद्यार्थीहरू १८ दिन देखि आन्दोलनमा छन् । प्रेस विज्ञप्ति बिपी प्रतिष्ठानका चार शीर्ष पदाधिकारीलाई बर्खास्त गर । पूर्वी नेपालको स्वास्थ्य सेवा तथा देशकै मेडिकल शिक्षाको धरोहरका रूपमा स्थापना भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले धराशायी हुने संघारमा छ । त्यसको कारण दलीय वफादारिताका आधारमा पदमा पुग्ने नालायक र भ्रष्ट पदाधिकारीहरु रहेकोमा कसैको विमति छैन । त्यसमाथि पनि धरानस्थित प्रतिष्ठानको नजिकै खुलेका निजी मेडिकल कलेज र अस्पतालहरुका स्वार्थका लागि प्रतिष्ठान डुबाउन स्वयम प्रधानमन्त्री र उनका स्वास्थ्यमन्त्रीहरु लागेको कुरा बारम्बार मिडियामा सार्वजनिक भइरहेको छ । प्रधानमन्त्री ओली आफैं बिपी प्रतिष्ठानलाई डुबाएर नजिकैका निजी अस्पतालहरुको उद्घाटन गर्दै हिंडेका छन् । परिणामः नेपालको झण्डै एक चौथाइ जनसंख्याका लागि विशिष्ट तहसम्मको स्वास्थ्य सेवा दिने भनेर बनेको संस्था साधारण ल्याब परीक्षण, एक्सरे, अल्ट्रासाउण्ड, सिटी र एमआरआइजस्ता जाँच गर्न नसक्ने अवस्थामा पुगेको छ । संस्था वर्षेनी अरब घाटामा रहँदा आम बिरामी वर्षेनी दुई अर्बभन्दा बढी रकम निजी अस्पतालहरुमा खर्च गर्न बाध्य छन् । प्रतिष्ठानमा आउने बिरामीहरु र त्यहाँ अध्ययनरत विद्यार्थीहरुको उत्तिकै बिचल्ली छ । यसका लागि मुख्य जिम्मेवार प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी ओली हुन जसले पूर्वी नेपालका पचास लाख जनता स्वास्थ्य सेवा नपाएर बिचल्लीमा पर्दा सार्वजनिक रूपमा एउटा माफियाको बियर र हुस्कीको विज्ञापन गरेर तथा देशको कानुनी व्यवस्था मिचेर सम्बन्धन दिने प्रयास गरेर बसिरहेका छन् । देशलाई समाजवाद उन्मुख तथा गुणस्तरीय स्वास्थ्य सेवालाई नैसर्गिक अधिकार भनेर संविधानमा लेखिएको अवस्थामा देशको प्रधानमन्त्रीले त्यसो गर्नु भनेको आम नागरिकको जीवनमा आपराधिक खेलवाड गर्नु हो । अवैध रूपमा बारम्बार संसद विघटन गरेर देशको संवैधानिक व्यवस्थामै खलल पु¥याउन प्रयासरत केपी ओली आफ्नो निकृष्ट स्वार्थ पूरा गर्नका लागि जस्तो सुकै कदम चाल्न तयार रहेको कुरा अब पुष्टि भएको छ । उनको त्यस्तो असंवैधानिक कार्य हामीलाई पहिले पनि स्वीकार्य थिएन र अहिले पनि छैन । यो अवस्थामा प्रतिष्ठानमा सुधारका लागि चिकित्सक, विद्यार्थी र कर्मचारीहरु आन्दोलनरत छन् । यसबीच ओली सरकारद्वारा नियुक्त उपकुलपति ज्ञानेन्द्र गिरीलगायत हाल प्रतिष्ठानको शीर्ष नेतृत्वमा रहेका रेक्टर, रजिस्ट्रार र अस्पताल निर्देशकका भ्रष्ट करतुतहरु निरन्तर मिडियामा आइरहेका छन् । तर आन्दोलनकारीहरुसित वार्ता गर्न भनेर हालै उपकुलपति कार्यालय समयमै मदिराले चुर भएर प्रतिष्ठानमा प्रस्तुत भएका छन् । ओली सरकारले देश जसरी चलाइरहेको छ, बिपी प्रतिष्ठानका पदाधिकारीले पनि संस्थालाई उसरी नै चलाएर बरबादीतिर धकेलिरहेका छन् । अवस्था यतिसम्म भइसकेपछि बिपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरूले थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेका छन् । त्यसैले उनीहरुले तत्काल पद खाली गर्नुपर्छ र पदाधिकारी मापदण्ड निर्धारण समितिले सुझाव दिए अनुसार दलीय बफादारिता नभई वरिष्ठता, इमानदारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गरिनुपर्छ । साथै अहिले बिपी प्रतिष्ठानलाई डुबाएर आफ्ना कार्यकर्ताको अस्पताललाई अवैध रूपमा मेडिकल कलेजको सम्बन्धन दिन प्रधानमन्त्री ओलीले निरन्तर नाजायज दबाब दिइरहेका छन् । अर्कोतिर चिकित्सा शिक्षा ऐन अनुसार विसं। २०८० सम्ममा सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज खुल्नुपर्नेमा माफियाहरूको स्वार्थमा ओलीले त्यसलाई रोकेर राखेका छन् । बिचौलिया, माफिया र गुण्डाहरूको काम गर्नका लागि हामीलाई देशको प्रधानमन्त्री चाहिएको हैन, आम नागरिकको काम गर्नका लागि चाहिएको हो । कानुनतः सम्बन्धन दिन नमिल्ने भएपछि जोसुकैको अस्पताल भए पनि त्यसको निरीक्षणको कुनै अर्थ र औचित्य रहँदैन । त्यसैले आयोगको आकस्मिक बैठक राखेर प्रधानमन्त्री र शिक्षामन्त्रीको नाजायज दबाबमा गराइएको त्यस्तो निरीक्षणसम्बन्धी निर्णयको कुनै तुक छैन । त्यो काम तत्काल बन्द गरेर बिपी प्रतिष्ठान बचाउन उचित कदम नचालेमा तथा असंवैधानिक संसद विघटन नसच्याइएमा सत्याग्रहसहित आन्दोलनका कडा कार्यक्रमहरु ल्याउने जानकारी गराउँछौँ । डा। गोविन्द केसी काठमाडौं, २०७८/३/१८
हतार गर्नु हुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ : वामदेव गौतम
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुख्य नेतालाई अपमान गरेर पार्टी एकता नहुने बताएका छन् । बालुवाटारमा शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष गौतमले मुख्य नेतालाई सम्मानजनक व्यवहार नगरे कार्यकर्ता पंक्ति भड्किने बताए । गौतमले भने, ‘मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किन्छ । मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन । हतार गर्नु हुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ ।’ एमालेको एकता सार्थक निष्कर्षमा पुर्याउनुपर्ने उनले बताए । ‘हिजो केन्द्रीय कमिटी निर्वाचन हुँदा माधव कमरेडसँग जम्मा नौ जना कम थिए, अहिले पनि अवस्था उस्तै छ,’ उनले भने । वार्ता कमिटी बनाएपछि बीचैमा छाड्न नहुने गौतमको भनाइ थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु गल्ती भएको गौतमको निष्कर्ष छ । ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाको पक्षमा हस्ताक्षर गर्ने थिएँ,’ उनले भने ।
एमाले केन्द्रीय कमिटी बैठक जारी, नेपाल पक्षलाई सर्वोच्चको निवेदनबाट २ दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक जारी रहेको छ । यसअघि महाधिवेशन आयोजक कमिटीको बैठककै निरन्तरताका रुपमा बोलाइएको बैठक माधव नेपाल पक्षले भने बहिस्कार गरेको छ । बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी छन् । माधव नेपाल पक्षले आफ्ना माग पुरा नभएको र सहमतिको सम्भावना भइरहेको बेला बैठक बोलाएको भन्दै आज अनुपस्थिति जनाएको हो । आजको बैठकले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाका तर्फबाट प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन निवेदनबाट माधव नेपाल पक्षले हस्ताक्षर लिनुपर्ने निर्णय समेत गरेको सार्वजनिक भएको छ । बैठकअघि खनाल–नेपाल समूहका नेताहरु गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । हिजो हाम्रो समूहले जे निर्णय गरेको त्यसले एकतालाई प्राथमिकता दिने भनेको छ । एकताको लागि हामीले सकारात्मक ढंगले प्रयत्न गरिराखेको छौं लगभग निष्कर्षनजिक पुगेका छौं । यस्तो अवस्थामा आज एकपक्षिय बैठक राख्ने कुराले माहोल बिग्रन्छ । बैठक स्थगन गर्नुस् भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौं,’ बालुवाटार पुगेका एक नेताले भने, ‘कार्यदलको औपचारिक वार्ता गरेर एकाध दिनमा निर्णयमा पुग्ने र माधव नेपालसहित सहमति गरेर पार्टी एकढिक्का बनाउँ भन्ने प्रस्ताव पनि राख्यौं । उहाँले हाम्रा कुरा सुन्नु भयो र साथीहरुसँग सल्लाह गर्छु भन्नु भएको छ ।’ उक्त भेटमा महासचिव ईश्वर पोखरेल र सुवास नेम्वाङ पनि सहभागी रहेको ती नेताले बताए । तर, नेपाल पक्षले स्थगित गर्न आग्रह गरे पनि बैठक जारी छ ।
नेपालमा पनि देखिएको डेल्टा भेरिएन्ट विश्वका ९६ देशमा देखियो, द्वारा चेतावनी जारी
काठमाडौं । नेपालमा पनि भेटिएको कोरोनाका डेल्टा भेरिएन्ट संसारभरी फैलिन थालेको छ । अहिलेसम्म यो भेरिएन्टको संक्रमण ९६ देशमा पुगेको छ । विश्व स्वास्थ्य संगठनले डेल्टा भेरिएन्टले विश्वमा नयाँ खतरा थपेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएको छ । संगठनका अनुसार, आगामी केही महिनामा भाइरसको असर झनै बढ्न सक्छ । बेलायतमा भेटिएको अर्को अल्फा भेरिएन्ट भने अहिले सम्म १७२ देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले डेल्टा भेरियन्टले अर्थतन्त्रमा समेत खतरा उत्पन्न गरेको भन्दै रोकथामका लागि स्थानीय उपायमा जोड गर्न अपील गरेको छ । लामो समययसम्म सुरक्षा उपाय अपनाउनुपर्ने संगठनको सुझाव छ ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज
काठमाडौं । क्रियाशील सदस्यता टुंगो लगाउन नसकेको कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । यसअघि बिहिबारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित बनेको थियो । क्रियाशील सदस्यताको काम पुरा गर्न नसक्दा कांग्रेसको महाधिवेशको तयारी प्रभावित भएको छ । हिजो स्थगित भएको बैठक आज बस्न लागेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठक हिजो दिउँसो दुई बजे बस्ने भनिए पनि अन्तिम समयमा आएर स्थगन भएको थियो । पार्टी मुख्य कार्यालय सानेपामा बस्ने आजको बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल हुनेछ । ‘‘छानबिन समितिले हालसम्मको प्रगति विफ्रिङ गर्न बैठक बोलाइएको हो ।’ महतले भन्नुभयो । बैठकमा क्रियाशील सदस्यता छानबिनबारे मापदण्ड बनाउने तयारी पनि छ । हिजो नेताहरुले पर्याप्त तयारी नपुगेको भन्दै बैठक स्थगित गरेका हुन् ।
ओली र नेपालबीच केन्द्रबीच बैठकअघि भेट हुनसक्ने, टेलिफोनमा भयो कुराकानी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय कमिटी बैठकअघि भेट हुने सम्भावना बढेको छ । एमालेले आज केन्द्रीय कमिटी बोलाएपनि माधव नेपाल पक्षले भने बैठक बहिस्कार गर्ने बताइसकेको छ । यसअघि बिहिबार ओली र नेता नेपालबीच कुराकानी भएको थियो। बैठकमा सहभागिता र पार्टी एकतालगायत विषयमा अध्यक्ष ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको र आज पनि कुराकानीलाई निरन्तरता दिने तयारी रहेको नेताहरूले जानकारी दिएका छन्। दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर ओलीले आज बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक राखेका छन्। तर उक्त बैठकमा सहभागी नहुने निर्णय नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको छ। एमाले नेता शेर बहादुर तामाङका अनुसार आज बिहान ११ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्छ। पार्टी कार्यालय थापाथलीमा ठाउँ अभाव हुने हुँदा बालुवाटारको खुला चौरमा टेन्टमा बैठक गरिने उनले जानकारी दिए। नेपाल पक्षका नेता भीम आचार्यले अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुरा भएको बताए। कुराकानीलाई निरन्तरता दिने पनि उनको भनाइ छ। आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित गर्न आफूहरूले माग गरिएको पनि आचार्यले बताए। ‘बैठक स्थगित गरियो भने पार्टी एकताका लागि राम्रो सन्देश जान्छ। हामीले बैठक सार्न भनेका छौं यदी बैठक सरेन र बस्यो भने त त्यो गुटको बैठक हुन्छ र त्यो बैठकको के अर्थ छ र?,’ उनले भने। आज अध्यक्ष ओली र नेता नेपालबीच भेटघाट हुन सक्ने नेताहरूले बताएका छन्। सम्भवत आज फेरि टेलिफोनमा कुराकानी र भेट नै गर्ने तयारी रहेको नेताहरू बताउँछन्।
एम्बुलेन्समाथि पहिरो खस्दा एकको मृत्यु, एकजना घाइते
पोखरा । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो। दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ ।
पछिल्लो २४ घण्टामा २७ सय ६० जनामा कोरोना संक्रमण, ३३ को निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा २,७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै यो अवधीमा कोरोना संक्रमणबाट ३३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ३० जनामा गरिएको पिसिआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लख ४० हजार ६६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ हजार १७ रहेको छ ।
विद्यार्थी संगठनहरुले जलाए प्रधानमन्त्रीको पुत्ला
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत बिभिन्न विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । प्रतिगमन भाग २ विरुद्ध आन्दोलन अभियानमा जोडिएका अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, माधव नेपाल समूहको अनेरास्ववियू, जसपा निकट विद्यार्थी संगठन र अखिल छैठौंले संयुक्तरुपमा पुत्ला दहनमार्फत बिरोध प्रदर्शन गरेका हुन । राजधानीको रत्नराज्य क्याम्पस अगाडि भएको पुत्ला दहन कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामांगलगायतको उपस्थिति रहेको थियो ।
सवारी लाइसेन्स लिन चाहनेका लागि आयो यस्तो खबर
काठमाडौं । सवारी साधनको इजाजत पत्र लिन पर्खाइमा बसेकाहरुलाई खुसीको खबर छ । कोरोना महामारीका कारण रोकिएको लाइसेन्स लिने प्रक्रिया शुरु हुने भएको छ । यातायात व्यवस्था विभागले निषेधाज्ञाका कारण रोकिएको सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा लिने तयारी गरेको हो । हाल देशभरी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या चार लाख भन्दा धेरै छ । यो संख्या गत पुस २९ देखि निषेधाज्ञा अघिसम्म देशभरका यातायात कार्यालयमार्फत परीक्षामा सहभागी हुन चाहने सेवाग्राहीको हो । निषेधाज्ञा पूर्ण रूपमा खुल्नेबित्तिकै सवारी चालक अनुमतिपत्रको लागि आवेदन दिनेहरूको परीक्षा लिने तयारी विभागले गरेको महानिर्देशक नमराज घिमिरेले बताएका छन् ।
राष्ट्रिय सभामा सरकारले १२ अध्यादेश पेश गर्दै, विपक्षी दलहरुले विवादित अध्यादेशको बिरोध गर्ने
काठमाडौं । राष्ट्रिय सभाको आजदेखि सुरु हुने बैठकमा सरकारले बिभिन्न विषयसँग सम्बन्धित १२ वटा अध्यादेश प्रस्तुत गर्ने भएको छ । यीमध्ये कतिपय अध्यादेश विवादित रहेका छन् । ् विपक्षी दलहरुले अदालतमा प्रवेश गरेका र अन्य विवादित अध्याधेशहरुको बिरोध गर्ने रणनीति बनाएका छन् । राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये एमालेका ३२ सांसद छन् । माओवादी केन्द्रका १५ जना सांसद छन् । यस्तै कांग्रेसबाट ७ जना छन् भने जसपाबाट ५ सांसद छन् । एमालेका ३२ सांसदमध्ये २४ सांसद प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा छन् भने ८ सांसद माधव नेपाल पक्षका छन् । सरकारले सभामा प्रस्तुत गर्न लागेका अध्यादेश –संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ –शपथ सम्बन्धी अध्यादेश, २०७८ –नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८ –बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश, २०७७ –नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, २०७८ –सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८ –तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८ –फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ –यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ –स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ –कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ –औषधि तेस्रो संशोधन अध्यादेश, २०७८
इजलासमा प्रधानन्यायाधीशको प्रश्नः १ ४९ सांसदको समर्थन लगेर देउवाले के चाहिँ गल्ती गरे ?
काठमाडौँ — प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा चलिरहेको सुनुवाईका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिप्रश्न गरेका छन् । जबराले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा दाबी गर्न कांग्रेस सभापति तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले कांग्रेस, माओवादी र अन्य सांसदको समर्थन लिएर जाँदा कसरी गल्ती भयो भनी प्रश्न गरेका हुन् । ‘प्रतिनिधिसभामा दलको मात्र उपस्थिति हुँदैन, अन्य उपस्थिति पनि संविधानले स्विकारेको छ । त्यस कारण संविधानको धारा ७६ को उपधारा ५ र २ को दल र स्वतन्त्रको समर्थन भनेर व्याख्या भइरहेको छ, अलि प्रस्ट गरिदिनुस् है,’ खरेललाई प्रधानन्यायाधीश जबराले सोधे, ‘दलबाटै चाहियो कि अरूबाट पनि समर्थन हुन सक्छ ? शेरबहादुर देउवाले दाबी गर्दा पार्टी, अन्य सांसदसहित १ सय ४९ जनाको हस्ताक्षर लिएर दाबी गर्न जानुभयो, यसमा शेरबहादुर देउवाले के गल्ती गर्नुभयो ?’ प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संवैधानिक इजलासमा बहसका लागि आएका एमाले नेता तथा वरिष्ठ अधिवक्ता अग्नि खरेलले बहस गरिरहेकाे बेला उनले यस्तो प्रश्न गरेका हुन् । संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको व्यवस्थालाई उक्त धाराको उपधारा २ सँग तुलना गर्दा स्वतन्त्र सांसदलाई अवसर नहुने प्रधानन्यायाधीशको भनाइ थियो । ‘देउवाको हकमा दुई पार्टीको समर्थन भयो, अरू स्वतन्त्र रूपमा गए,’ जबराले भने । संविधानको धारा ७६ को उपधारा ५ र २ अनुसार प्रधानमन्त्री दलको समर्थनमा मात्रै हुने भनी विपक्षीले बहस गरिरहेको भन्दै प्रधानन्यायाधीशले खरेललाई ती दुई व्यवस्थामा भिन्नता के हो भनेर व्याख्या गर्न पनि भनेका थिए । देउवाले दाबी गर्दा माओवादीको संसदीय दलको निर्णय चाहिने तर अरुको हकमा त्यो नहुने हो ? भन्ने प्रश्न गर्दै खरेलले दल त्यागसम्बन्धी ऐनको व्यवस्था र संविधानको धारा ७६ को उपधारा २ जस्तै भएको दाबी गरेपछि प्रधानन्यायाधीशले फेरि भने, ‘संविधानका सबै धारा स्वतन्त्र हुन्छन् । धारा ७६ को उपधारा ५ पनि स्वतन्त्र हो । संसारमा नभएको व्यवस्था हो भनेर दुवै पक्षले भनिरहेका छन् । स्वतन्त्र धारा हो भनिरहेका बेला यसमा अन्य ऐन जोडेर हुन्छ ?’ खरेलले धारा ७६ को उपधारा २ मा दलको समर्थन लिनुपर्ने भनेको तर उपधारा ५ मा जो सांसद जता लागे पनि हुन्छ भनेर संविधानमा नलेखिएको बताएपछिइजलासमा जबराले सोधे–‘उपाधार ५ को ब्यवस्था, जस्तो अहिले संसदमा ४ जना स्वतन्त्र हुनुहुन्छ । तर, दलको समर्थन अनिवार्य हुँदा उहाँहरुले अवसर पाउनुभएन ? स्वतन्त्र सांसदको भुमिकामा हुनेहरुको हकमा उपधारा ५ ले स्वतन्त्र रुपमा आउने अवसर दिएको छ की छैन ? शेरबहादुर देउवाको हकमा दुई पार्टीको हकमा समर्थन भयो अरु स्वतन्त्र रुपमा गए, उपधारा ५ र २ को व्यवस्थामा भिन्नता चाहिँ केहो ?’ खरेलले धारा ७६ (३) अनुसारका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिइकन ७६ (५) मा जान सक्ने जिकिर गरेका थिए । उनले भने, ‘धारा ७६ (४) अनुसार मत पाउने ग्राउन्ड छ की छैन भनेर टेष्ट गरिराख्नु पर्दैन । दलहरुले मत दिने छाटकाट नदेखाएपछि मत लिन्न भनेर मार्गप्रशस्त गरेर प्रधानमन्त्रीले राष्ट्रपतिलाई अर्को सरकार गठनका लागी आग्रह गर्नुभएको छ ।’ प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १ सय ४६ जनाले दायर गरेको मुद्दामा संवैधानिक इजलासमा बिहीबार पनि निरन्तर सुनुवाइ भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन व्यवसायीहरूले राष्ट्रपति र प्रधानमन्त्रीको कदमको बचाउमा बहस गरिरहेका छन् ।

