पार्टी प्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष प्रचण्डको निर्देशन
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै, संगठन निर्माणका लागि आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिनुभएको छ।
बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष प्रचण्डले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राख्नुभयो। उहाँले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने बताउनुभयो।
भर्चुअल बैठकमा सहभागी हुनुको कारण स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “सचिवालय र इन्चार्ज कमरेडले भौतिक रूपमा सुदूरपश्चिम आइदिन अनुरोध गर्नुभएको थियो, तर महिलाको राष्ट्रिय सम्मेलनलगायत केन्द्रीय गतिविधिका कारण म यो पटक भर्चुअलमार्फत सहभागी हुनुपर्यो। दशैंपछि मध्यपहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सकिएपछि दुई दिनको समय निकालेर म सुदूरपश्चिम प्रदेशमै आएर प्रत्यक्ष संवाद गर्नेछु।”

अध्यक्षले सबै जिल्ला संयोजक र इन्चार्जहरूको रिपोर्टिङको प्रशंसा गर्दै सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताउनुभयो। उहाँले निर्देशन दिँदै भन्नुभयो, “अब सबै नेता–कार्यकर्ताले गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ।”
त्यसैगरी, उहाँले पार्टीभित्र आत्मसमिक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउँदै, हरेक कमरेडले विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
अध्यक्ष प्रचण्डले पार्टी सरकारमा रहँदा हासिल गरिएका उपलब्धिहरू, त्यसपछिको खबरदारी अभियान तथा जनसंगठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले सरकारमा हुँदा गरेका काम र अहिले सडकबाट उठाएका आवाजकै कारण जनभावना सकारात्मक बनेको छ। अब त्यसलाई सशक्त संगठनमार्फत संस्थागत गर्नु जरुरी छ।”
बैठकका केही सहभागीले पार्टीभित्रको अन्तरसंघर्षबारे चासो व्यक्त गरेपछि अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो, “हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो जहाँ कार्यकर्ताले आफूले देखेको कुरा खुला रूपमा राख्न सक्ने अवसर पाउँछन्। पदाधिकारी बैठकदेखि स्थायी समिति बैठकसम्म खुला छलफल हुने हाम्रो संस्कार माओवादी केन्द्रमा मात्रै छ।”
उहाँले संगठन निर्माणलाई अबको अभियानको मूल धार मानेर भन्नुभयो, “हामी निर्वाचनमा जान्छौं, आन्दोलनमा उत्रन्छौं भन्ने कुरा तब मात्र सार्थक हुन्छ, जब संगठन बलियो हुन्छ। त्यसैले सबै कमरेडहरू आत्मसमिक्षा गर्दै जनतामाझ पुग्नुहोस्, सदस्यता विस्तार गर्नुहोस्, जनसंगठनहरूलाई सक्रिय पार्नुहोस्।”
अध्यक्ष प्रचण्डले सुदूरपश्चिमलाई राजनीतिक र सांगठनिक हिसाबले माओवादी केन्द्रको सम्भावनायुक्त प्रदेश बताउँदै, त्यहाँका नेता तथा कार्यकर्ताहरूलाई व्यवस्थित, योजनाबद्ध, केन्द्रित र परिचालित गर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले भन्नुभयो, “सुदूरपश्चिम सम्भावनायुक्त प्रदेश हो – क्रान्तिको समयमा पनि र अहिले शान्तिको समयमै पनि। त्यहाँ नेता–कार्यकर्ताहरूको ठूलो जमात छ। त्यसलाई व्यवस्थित गर्ने, योजनाबद्ध गर्ने, केन्द्रित गर्ने र परिचालन गर्ने चुनौती हाम्रो अगाडि छ।”
बैठकमा विशिष्ट अतिथि पार्टी उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोख्रेलले सुदूरपश्चिममा पार्टीको भावी रणनीति, सांगठनिक विस्तार तथा स्थानीय तहसम्मको पहुँच विस्तारबारे स्पष्ट कार्ययोजना प्रस्तुत गर्नुभयो। उहाँले सुदूरपश्चिमको विशेष परिस्थितिअनुसार जनसम्पर्क र संगठन सुदृढीकरणमा केन्द्रित हुने बताउनुभयो।
भर्चुअल बैठकमार्फत अध्यक्ष प्रचण्डले पार्टीलाई एकीकृत, केन्द्रित र अभियानमुखी बनाउनेमा जोड दिँदै कार्यकर्तालाई संगठन निर्माण र आत्मसमिक्षाको बाटोमा अघि बढाउने रणनीति प्रस्तुत गर्नुभएको छ। उहाँले निष्कर्षमा भन्नुभयो, “सकारात्मक माहोललाई संगठनमा बदलेर मात्र राजनीतिक सफलता सम्भव छ।”
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड
बुटवल– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपन्देहीमा एक्लै चुनाव लड्ने र त्यसमा राम्रो नतिजा ल्याउने बताउनुभएको छ । पार्टीको लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठक बुटवलको वेलबासमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी थाल्न नेताकार्यकर्तालाई निर्देशन दिनुभएको छ । अध्यक्ष प्रचण्डले भन्नुभयो -“पछिल्लो समय म विभिन्न कार्यक्रममा बाहिर जाँदा कांग्रेस एमालेका नेताहरुले मलाई भेट्दा यो परिर्वतन माओवादीले ल्याएको हो । त्यसको रक्षा पनि माओवादीले नै गर्नुपर्छ भन्नुभएको छ ।मैले यो कुरा मलाई किन भन्नुहुन्छ ? यो जनतालाई भन्नुहोस् न भन्ने गरेको छु । त्यसैले कमरेडहरु माओवादीले यो परिवर्तनको आन्दोलनमा खेलेको भुमिका कसैले नकार्न सक्दैन । बाहिर प्रचार प्रसार त हामीले गर्नुपर्यो नि, रुपन्देहीमा हामीले पहिला भन्दा राम्रो परिणाम ल्याउँछौं, ल्याउँछौं । एक्लै लड्ने हो, तपाईहरु त्यसको तयारी गर्नुहोस् ।” अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको असन्तुष्टि र बहसलाई वर्गसंर्घषको स्वाभाविक स्वरुप भएको बताउनुभयो । उहाँले ऐतिहासिक दृष्टान्त दिँदै भने, “असन्तुष्टि जहाँ गयो त्यही हुन्छ, विश्वको क्रान्तिकारी आन्दोलनमा पनि यस्तै देखिन्छ।” उहाँले माओत्से तुङ, ल्यू साओची र लिनप्याओबीचको ऐतिहासिक सम्बन्धलाई उल्लेख गर्दै विश्वासघात र नेतृत्वप्रतिको आस्था परीक्षणको दिष्टान्त पार्टीका नेताकार्यकर्ताहरु समक्ष राख्नुभयो । अध्यक्ष प्रचण्डले जनयुद्ध, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाको नेतृत्व इतिहासले आफूलाई सुम्पिएको उल्लेख गर्दै जनयुद्ध र परिर्वतनका आन्दोलनका अभिलेख व्यवस्थित गर्न माओवादी केन्द्रले अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । “देशभरका वडाहरुबाट जनयुद्ध र जनआन्दोलनमा सहभागी, सहिद, घाइते र जेलनेल भोगेका जुनसुकै पक्षका व्यक्तिको विवरण तथ्याङ्क संकलन गरेर केन्द्रमा पठाउनुपर्छ,” उहाँको भनाइ थियो।उहाँले जुनसुकै पार्टीका भए पनि गणतन्त्रमा योगदान दिने नागरिकलाई सम्मान गर्नुपर्ने र पार्टीले यसको स्पष्ट मापदण्ड तय गर्ने पनि जानकारी दिनुभयो । प्रचण्डले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै त्यसबाट डराएका “प्रतिक्रियावादी र बिचौलिया” समूहहरु माओवादी आन्दोलनविद्ध जोसुकै लागेको भएपनि विज्ञान र वर्गसंर्घषको नियमअनुसार माओवादी आन्दोलन अझ अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। बैठकमा अध्यक्ष प्रचण्डले पार्टी आन्दोलनबारे समिक्षा, संगठन पुनर्गठन, नेतृत्व हस्तान्तरणको तयारी, जनताको भरोसाप्रति जिम्मेवारी र पार्टीको भविष्यका योजनाहरु राख्नुभएको छ । बैठकमा प्रचण्डले समसामयिक राजनीति, पार्टीको आन्तरिक अवस्था र आगामी रणनीतिबारे धारणा राख्नुभएको छ ।परिवर्तनको जग माओवादीले राखेको र त्यसको रक्षा गर्ने शक्ति पनि माओवादी नै भएको उहाँले बताउनुभएको छ ।
माओवादी केन्द्रसँग एकता गर्ने सम्बन्धमा विप्लव नेतृत्वको नेकपाको स्थायी समितिमा सकरात्मक छलफल
काठमाडौं । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक आजदेखि सुरु भएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र)सँग गर्ने भनिएको एकतालगायतका विषयमा छलफल सुरु भएको छ । स्थायी समिति बैठकले पोलिटब्युरो र केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने नेता चिरन पुनले जानकारी दिए । उनकाअनुसार पोलिटब्युरो बैठक १७ गते र केन्द्रीय समिति बैठक २२ गते बैठक बस्ने तय भएको छ । कपिलवस्तुस्थित पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको यो बैठकले माओवादी केन्द्रको एकता प्रस्तावलाई कार्यान्वयन गर्ने ठोस योजना बनाउने निर्णय गरेको स्रोतले जनाएको छ । अधिकांश नेताहरुले पार्टी एकता गर्नेगरी सकरात्मक छलफल सुरु भएको बताएका छन् । माओवादी केन्द्रले आफ्नो पछिल्लो स्थायी कमिटी बैठकमा नेकपासँग एकता गर्ने निर्णय गरेको थियो। नेकपाका नेताहरूले माओवादीसँगको एकता प्रक्रियालाई राजनीतिक र साङ्गठनिक रूपमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत प्रस्ताव तयार गर्नुपर्ने सुझाव राखेका छन् । बैठकले समाजवादी क्रान्तिको नयाँ मोडेल, पार्टी नेतृत्वको भविष्य र साङ्गठनिक संरचनालाई कसरी सुदृढ गर्ने भन्ने विषयमा पनि छलफल तयारी छ ।
'टंकमणि साहसी योद्धा हुनुहुन्थ्यो,जनयुद्धमा अतुलनीय भूमिका खेल्नुभयो' : अध्यक्ष प्रचण्ड
बुटवल। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद स्मृति प्रतिष्ठान, रूपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’को शालिक अनावरण गर्नुभएको छ। आइतबार बुटवलस्थित प्रतिष्ठानको कार्यालय परिसरमा आयोजित समारोहमा अर्धकदको शालिक अनावरण गरिएको हो। सोही अवसरमा ‘टंकमणि: एक क्रान्तिबीज’ पुस्तकको पनि विमोचन गरिएको छ। कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको सफलतामा टंकमणिको नेतृत्वमा सप्लाई विभागले खेलेको महत्त्वपूर्ण भूमिकाको स्मरण गर्नुभयो। उहाँले टंकमणिले जोखिमपूर्ण जिम्मेवारी बहन गर्दै दशवर्षे जनयुद्धलाई सफल बनाउन विशेष योगदान दिएको बताउनुभयो। “टंकमणि साहसी योद्धा हुनुहुन्थ्यो, जनयुद्धमा अतुलनीय भूमिका खेल्नुभयो,” प्रचण्डले भन्नुभयो। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले टंकमणि माओवादी मात्र नभई समग्र समाजका नेता भएको उल्लेख गर्नुभयो। उहाँले उपमहानगरले परिवर्तनका लागि लडेका योद्धाहरूको सम्मानमा सधैं कदर गर्ने र सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पाण्डेले कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित भए पनि केन्द्रमा गठबन्धन भत्किए पनि स्थानीय तहमा गठबन्धनको मर्मअनुसार काम भइरहेको स्पष्ट पार्नुभयो। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल, पूर्वसभामुख ओनसरी घर्ति, पूर्वमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, जोखबहादुर महरा, प्रदेश अध्यक्ष सुदर्शन बराललगायतका नेता–कार्यकर्ताहरूको उपस्थिति थियो। स्वर्गीय टंकमणिको २०७८ मंसिर ८ गते सवारी दुर्घटनामा निधन भएको थियो।
प्रधानमन्त्री ओली चीनमै रहेका बेला मोदी-सीबीच लिपुलेकबारे अर्को आपत्तिजनक सहमति
काठमाडौं । नेपाली भूमि लिपुलेक पासबाट ब्यापार गर्ने भारत र चीनबीचको सहमतिको विरोध गरेकै भोलिपल्ट फेरि दुई देशले कैलाश मानसरोवर यात्रा पुनरारम्भ गर्ने अर्को सहमति गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा पुनरारम्भ गर्ने सहमति भएको छ। यो सहमति शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनको साइडलाइनमा तियानजिन, चीनमा भएको द्विपक्षीय भेटवार्तामा भएको हो। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेकै अवस्थामा यो सहमति हुनुले नेपाललाई कूटनीतिक रूपमा बेवास्ता गरेको देखिएको छ। कैलाश मानसरोवर यात्रा परम्परागत रूपमा नेपाली भूमि लिपुलेक पास हुँदै तिब्बतको कैलाश मानसरोवर क्षेत्रमा पुग्ने मार्गबाट सञ्चालन हुँदै आएको छ। सन् २०२० मा भारतले लिपुलेक हुँदै सडक निर्माण गरेपछि र भारत-चीनबीच यो क्षेत्रलाई व्यापारिक मार्गको रूपमा प्रयोग गर्ने सम्झौता भएपछि नेपालले गम्भीर आपत्ति जनाएको थियो। त्यसयता कैलाश मानसरोवर यात्रा कोभिड-१९ महामारी र भारत-चीन सीमा तनावका कारण बन्द रहेको थियो। नेपालले सन् २०२० मा नै लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो, जसलाई संवैधानिक रूपमा अनुमोदन पनि गरियो। यद्यपि, भारतले अस्वीकार गर्दै आएको छ । नेपालले यो विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्न प्रयास गरिरहेको छ, तर हालसम्म ठोस प्रगति भएको छैन। अर्को आपत्ति जनक सहमति प्रधानमन्त्री केपी शर्मा ओली चीनमै रहेका बेला फेरि नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको सहमति भएको छ । शनिबार प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। यो भेटमा ओलीले भारत र चीनबीच लिपुलेकलाई व्यापारिक मार्गको रूपमा प्रयोग गर्ने सम्झौताप्रति गम्भीर आपत्ति व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको थियो। यद्यपी चीनको विदेश मन्त्रालयले भने यस सम्बन्धमा कुनै पनि कुरा उल्लेख गरेको छैन । आइतबार भएको मोदी-सी भेटवार्ता करिब ५० मिनेट लामो थियो, जसमा सीमा व्यवस्थापन, डाइरेक्ट फ्लाइट पुनःस्थापना, कैलाश मानसरोवर यात्रा पुनरारम्भ, र सीमापार नदीको हाइड्रोलोजिकल डाटा आदानप्रदान जस्ता विषयमा सहमति भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार लिपुलेक पास नै मुख्य मार्ग हुने छ। नेपालमाथि फेरि अर्को मिचाहा व्यवहार यो सहमति ओली चीनमा रहेकै बेला हुनुले नेपालको कूटनीतिक प्रयासलाई कमजोर बनाएको विश्लेषकहरूको भनाइ छ। एससीओ सम्मेलनमा मोदी र ओलीबीच पनि भेट हुने अपेक्षा गरिएको थियो। भारतीय पक्षले यो यात्रालाई धार्मिक तथा सांस्कृतिक महत्वको रूपमा प्रस्तुत गर्दै आएको छ, जबकि नेपालले यो नेपाली भूभागबाट हुने भएकाले आफ्नो सहमति बिना सञ्चालन गर्न नहुने अडान विगतमा राख्दै आएको छ । नेपालको भूभागीय दाबी ऐतिहासिक प्रमाणहरूमा आधारित छ, तर भारत र चीनको शक्ति सन्तुलनले यो विवादलाई जटिल बनाएको छ। यो सहमतिले भारत-चीन सम्बन्ध सुधारमा योगदान दिए पनि, नेपालको लागि यो कूटनीतिक असफलताको रूपमा देखिएको छ।
सुनको मूल्यमा फेरि बढ्यो, तोलामा २ लाख ३ हजार ६०० पुगेर नयाँ रेकर्ड
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। आइतबार छापावाल सुनको मूल्य एकैपटक तोलामा ३ हजार रुपैयाँले बढेर २ लाख ३ हजार ६०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ हजार रुपैयाँले वृद्धि भएको हो। यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा २ हजार ३६० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार २ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रचण्डद्वारा गौरा पर्वको शुभकामना, सामाजिक एकताको सन्देश
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने प्रमुख सांस्कृतिक चाड गौरा पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। प्रचण्डले गौरा पर्वले प्रकृति र उत्पादन प्रणालीबीचको अभिन्न सम्बन्ध झल्काउनुका साथै मौलिक सांस्कृतिक पहिचान बोकेको बताउनुभयो। यो पर्वले सामाजिक एकता र सामूहिकता प्रवर्द्धनमा विशिष्ट भूमिका खेल्ने उहाँको भनाइ छ। “सबै जाति, भाषा, धर्म र समुदायको सम्मान, पहिचान र अपनत्वले मात्रै साँचो अर्थमा राष्ट्रियता बलियो हुन्छ,” शुभकामना सन्देशमा प्रचण्डले भन्नुभयो। उहाँले यस्ता पर्वहरूको उचित संरक्षण र सम्वर्द्धनका लागि सबैमा अपील गर्नुभएको छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा टंकमणिको सालिक अनावरण र स्मृति ग्रन्थ विमोचन
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद स्मृति प्रतिष्ठान, नेपाल, रूपन्देहीको आयोजनामा बुटवल–११, माझगाउँमा आयोजित एक समारोहमा कमरेड रामप्रसाद वञ्जाडे ‘टंकमणि’को सालिक अनावरण र स्मृति ग्रन्थ ‘टंकमणिः एक क्रान्तिविजय’ पुस्तकको विमोचन गर्नुभएको छ। उक्त समारोहमा प्रचण्डले शहीद टंकमणिको योगदानको कदर गर्दै उनको सालिक अनावरण गर्नुभयो। साथै, ‘टंकमणिः एक क्रान्तिविजय’ नामक स्मृति ग्रन्थको पनि विमोचन गर्नुभयो। यो कार्यक्रम शहीद स्मृति प्रतिष्ठान, नेपालले आयोजना गरेको थियो।
ओली-सी भेटवार्ता : लिपुलेकका सन्दर्भमा चिनियाँ विदेश मन्त्रालय मौन (हेर्नुस् विज्ञप्ति)
काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको भेटवार्तामा लिपुलेक मुद्दा उठे पनि चिनियाँ विदेश मन्त्रालय भने यो विषयमा मौन रहेको छ । नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि ओलीले लिपुलेक मुद्दामा गम्भीर चासो व्यक्त गरेको उल्लेख छ । यद्यपि, चिनियाँ विदेश मन्त्रालयको प्रेस नोटमा लिपुलेकबारे कुनै उल्लेख नभएकोले यो विषयमा चीनको मौनता कायम रहेको देखिन्छ । चिनियाँ विदेश मन्त्रालयले भने नेपालले ‘एक–चीन नीति’प्रति दृढ प्रतिबद्धता व्यक्त गरेको र ‘ताइवान स्वतन्त्रता’को विरोधमा अडिग रहेको उल्लेख गरेको छ । मन्त्रालयका अनुसार, नेपालले कुनै पनि शक्तिलाई आफ्नो भूमि प्रयोग गरी चीनको हितविरुद्ध कार्य गर्न नदिने प्रतिबद्धता दोहोर्याएको छ । थप रूपमा, नेपालले चीनद्वारा प्रस्तावित विश्वव्यापी विकास, सुरक्षा र सभ्यता पहललाई समर्थन गरेको छ । शांघाई सहयोग संगठन (एससीओ) को भूमिकालाई नेपालले महत्त्व दिएको र ‘शाङ्घाई भावना’लाई सक्रिय रूपमा प्रवर्द्धन गर्ने गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । हेर्नुस् विज्ञप्ति President Xi Jinping Meets with Nepali Prime Minister K. P. Sharma Oli On the afternoon of August 30, President Xi Jinping met at the Tianjin Guest House with Nepali Prime Minister K. P. Sharma Oli, who was in China to attend the Shanghai Cooperation Organization Summit 2025 and the commemoration of the 80th anniversary of the victory of the Chinese People’s War of Resistance Against Japanese Aggression and the World Anti-Fascist War. President Xi noted that China and Nepal are neighbors linked by mountains and rivers and enjoy lasting friendship. The two are also peace-loving countries who stand on our own feet. Over the past 70 years of diplomatic relations, the two peoples have stood together through thick and thin and written a historic chapter of good-neighborliness and friendship. China and Nepal are now making steady progress in high-quality Belt and Road cooperation and the two peoples have forged a closer bond with each other. China stands ready to work with Nepal to carry forward the traditional friendship and take to a new height the China-Nepal strategic partnership of cooperation featuring ever-lasting friendship for development and prosperity. President Xi stressed that the two sides need to enhance mutual strategic trust and firmly support each other on issues concerning our respective core interests and major concerns. We need to deepen mutually beneficial cooperation, jointly advance Belt and Road cooperation, and strengthen connectivity through ports, roads, power grids, aviation and telecommunications. We need to enhance cooperation in areas such as industry, agriculture and animal husbandry, new energy, environmental protection, oil and gas, artificial intelligence, education, health, law enforcement, and security. We need to continue the successful activities in celebration of the 70th anniversary of our diplomatic relations. We need to enhance communication and coordination in multilateral platforms such as the United Nations and the Shanghai Cooperation Organization, jointly support free trade and sustainable development, and safeguard international fairness and justice. Prime Minister Oli said that the Nepal-China relationship, having stood many tests, has only grown stronger. Both sides have always respected and trusted each other and attended to one another’s concerns. Cooperation with China has significantly boosted Nepal’s economic and social development. Nepal is firmly committed to the one-China principle, resolutely opposes “Taiwan independence,” and does not allow any force to use its territory to undermine China’s interests. Nepal is committed to achieving continuous development and looks forward to deepening cooperation with China in the context of the Belt and Road Initiative. We will enhance cooperation with China on trade, investment, agriculture, science and technology, tourism, climate response, and other fields and deliver more positive outcomes. Nepal supports the Global Development Initiative, the Global Security Initiative and the Global Civilization Initiative proposed by China, values the role of the Shanghai Cooperation Organization, actively upholds the “Shanghai Spirit,” and looks forward to China playing an even bigger role in international affairs. Cai Qi, Wang Yi, and Chen Min’er, among others, were present at the meeting.
अध्यक्ष प्रचण्ड रुपन्देहीमा, यी हुन् कार्यक्रम
बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुपन्देही पुग्नु भएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालका अनुसार प्रचण्डले शहीद स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित विशेष समारोहमा स्व. रामप्रसाद बन्जाडे ‘टङ्कमणि’को सालिक अनावरण अनावरण गर्दै हुनुहुन्छ । सोही अवसरमा ‘टङ्कमणि : एक क्रान्तिविज’ नामक पुस्तकको विमोचन गर्ने कार्यक्रम तय भएको छ । जनयुद्धको सुरुवातदेखि नै भूमिगत रही काम गरेका बन्जाडेको २०७८ मङ्सिर ८ गते सडक दुर्घटनामा परि ५५ वर्षको उमेरमा निधन भएको थियो । बन्जाडे माओवादी केन्द्रका केन्द्रीय सदस्य मात्र नभई लामो समयदेखि रुपन्देहीका इन्चार्जको जिम्मेवारी बहन गर्नुभएको थियो । पार्टी र जनआन्दोलनमा उहाँले पुर्याएको योगदानको स्मरणमा माओवादी केन्द्र रुपन्देहीले शहीद स्मृति प्रतिष्ठानमा उहाँको सालिक निर्माण गरेको हो । प्रचण्डले आजै बुटवलको बेलवासमा आयोजित माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटी बैठकलाई पनि सम्बोधन गर्ने तयारी छ ।
खानेपानी समिति रोल्पामा काँग्रेस-एमालेको गठबन्धनलाई पराजित गर्दै माओवादीको प्यानल नै विजयी
रोल्पा। नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त प्यानललाई पराजित गर्दै रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । गएराति सम्पन्न चुनावबाट सत्तारुढ काँग्रेस एमालेको प्यान पराजित भएको हो । नेकपा माओवादी केन्द्रका सुमन विक नेतृत्वको प्यानल विजयी भयो । उपाध्यक्षमा रेउती आचार्य, महासचिवमा अशोक आचार्य, सचिवमा रुपा बुढा र कोषाध्यक्षमा शिला बिक विजयी भएका छन् ।
बेपत्ता योद्धाहरूको खोजी प्रभावकारी बनाउन अध्यक्ष प्रचण्डको सरकारसँग माग
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ता योद्धाहरूको खोजी र सम्बन्धित कार्यहरू प्रभावकारी रूपमा अघि बढाउन सरकारसँग माग गर्नु भएकाे छ । ‘बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’ का अवसरमा जारी सन्देशमार्फत प्रचण्डले बेपत्ता योद्धाहरूप्रति श्रद्धा अर्पण गर्दै विस्तृत शान्ति सम्झौताको दफा ५.२.५, अन्तरिम संविधान २०६३ को धारा ३३ र नेपालको संविधानको धारा ३०४(२) को प्रावधान तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभएको हो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि बेपत्ता योद्धाहरूको योगदानलाई स्मरण गर्दै बेपत्ता व्यक्तिको छानबिन आयोगलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै, बेपत्ता व्यक्तिका परिवारलाई उचित सम्मान, सेवा, सुविधा र सहुलियत उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभएको छ ।
भ्रष्टाचार आरोपी रुपन्देहीका दुई पूर्व गाउँपालिका अध्यक्ष एमाले प्रवेश
रुपन्देही। रुपन्देहीको मर्चवारी क्षेत्रका दुई पूर्व गाउँपालिका अध्यक्ष, जसले भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा खेपिरहेका छन् र पटक–पटक दल परिवर्तन गरेका छन्, शनिबार नेकपा (एमाले) मा प्रवेश गरेका छन्। सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) र मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्द बनियासहितको समूहलाई मर्चवारीको असुरैनामा आयोजित कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरे। जितेन्द्रनाथ शुक्लाको राजनीतिक यात्रा जितेन्द्रनाथ शुक्ला २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक (विजय गच्छदार नेतृत्व) बाट सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। २०७९ मा माओवादी केन्द्रमा प्रवेश गरी पुनः गाउँपालिका अध्यक्षको उम्मेदवार बने, तर पराजित भए। त्यसपछि उनले जनता समाजवादी पार्टी (जसपा) हुँदै जनमत पार्टीमा प्रवेश गरे। गत आम निर्वाचनमा उनी जनमत पार्टीबाट प्रदेश सभा उम्मेदवार बनेर पुनः पराजित भएका थिए। केशवनन्द बनियामाथि भ्रष्टाचारको मुद्दा मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्द बनिया २०७४ मा उपेन्द्र यादव नेतृत्वको पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। २०७९ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उम्मेदवार बनेर पराजित भए। उनलाई २०७९ चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारका अनुसार, बनियाको आयभन्दा खर्च ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा बढी देखिएको छ, जसको स्रोत खुल्न सकेन। उनको खर्चमा छोराहरूको अध्ययन, घर निर्माण, जग्गा खरिद, बिमा प्रिमियम, मोटरसाइकल र ट्याक्टर खरिद, कर्जाको साँवा–ब्याज, राइस मिलको आयकर, र विभिन्न बैंक खाताहरूमा रहेको मौज्दात समावेश छन्। कुल खर्च एक करोड ७५ लाख ९६ हजार ९९४ रुपैयाँ ३६ पैसा पुगेको छ। अख्तियारले बनिया र उनको परिवारले उच्च जीवनशैली अपनाएर गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी गरेको छ। मुद्दामा ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा बिगो जफत र जरिवाना माग गरिएको छ।
क्रान्ति पुरै जितेर आउन सकेनौँ, जबसम्म शक्ति हुँदैन तबसम्म संविधानले पनि काम गर्दैन : अध्यक्ष प्रचण्ड (भिडियोसहित)
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेको संविधान सम्झौताको संविधान भएको बताउनु भएको छ । नेपाल दलित मुक्ति मोर्चाले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताउनु भएको हो । प्रचण्डले जनयुद्धका क्रममा दलित समुदायले सबैभन्दा पनि बन्दुक खोस्ने आँट गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, 'आफैँ लडेर विरोधीहरु माथि, प्रतिक्रान्तिकारीमाथि विजय प्राप्त भयो । दलित समुदायले बन्दुक खोस्ने आँट गर्यो । लामो लडाइँ लडेर स्थानीय सरकारमा दलित समुदायको प्रतिनिधित्व सम्भव भएको हो ।' पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनयुद्धको समयमा जनतालाई आफ्नो लडाइँ आफै लड्न सिकाएका कारण उत्पीडित वर्ग, क्षेत्र र जातिले अधिकार प्राप्त गरेको बताउनु भयो । उहाँले भन्नुभयो, 'उत्पीडित वर्गले आफ्नो लडाइँ आफै लड्नुपर्छ भनेर हामीले भनेका हौ । आफ्नो मुक्ति आफैँले लडेर ल्याउनुपर्छ । माओवादी पार्टीको विचार हो । वर्गले गर्नुपर्यो । उत्पीडित वर्गले गर्नु पर्यो ।' मोर्चाले आयोजना गरेको 'नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती' विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले शक्ति नभएमा संविधान र कानूनले पनि काम नगर्ने बताउनु भयो । उहाँले भन्नुभयो, 'जबसम्म शक्ति हुँदैन नि आफ्नो हातमा । तबसम्म संविधानले पनि काम गर्दैन, कानूनले पनि काम गर्दैन ।' जनयुद्ध विस्तृत शान्ति सम्झौतामा टुंगिएको स्मरण गर्दै प्रचण्डले क्रान्ति अधुरो रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, 'हामीले क्रान्त्ति पुरै जितेर आउन सकेनौँ । यो कुरा हामी सबैले मनन् गर्नुपर्ने छ । क्रान्ति पुरै जितेर आउन पाएको भए माथि परेकालाई तल पारिने थियो, तल परेकाहरु माथि आउने थियो, पारिने थियो ।'
पार्टीको अनुशासन उल्लंघन गर्ने गतिविधिबारे छिट्टै बस्ने कार्यालय बैठकमा छलफल हुन्छ : प्रवक्ता सापकोटा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले पार्टीको अनुशासन उल्लंघन गर्ने गतिविधिबारे छिट्टै बस्ने कार्यालय बैठकमा छलफल हुने बताउनु भएको छ । एभरेष्ट दैनिकसँगको कुराकानीका क्रममा प्रवक्ता सापकोटाले हालै सम्पन्न स्थायी समिति बैठकको निर्णय भन्दा बाहिर कोही पनि जान नसक्ने बताउनु भयो । पार्टीका एक पदाधिकारीले निरन्तर पार्टी र नेतृत्वका विरुद्धमा गतिविधि गरिरहेको गुनासो आएकोबारे एभरेष्ट दैनिकसँग कुराकानी गर्दै उहाँले छिट्टै बस्ने बैठकमा समग्र विषयमा छलफल हुने बताउनु भयो । उहाँले भन्नुभयो, 'विभिन्न ठाउँबाट आएका गुनासाका सन्दर्भमा छिट्टै बस्ने कार्यालय बैठकमा छलफल हुन्छ । पार्टीको अनुशासन उल्लंघन गर्ने गतिविधिबारे छिट्टै बस्ने कार्यालय बैठकमा छलफल हुन्छ ।' पछिल्लो समय अन्य पार्टीलाई फाइदा पुग्नेगरी पार्टी र नेतृत्वविरुद्ध निरन्तर भइरहेका गतिविधिले कार्यकर्ताहरु निरास छन् । स्थायी समिति बैठकले निर्णयबाहिर गएर गतिविधि नगर्न सबैलाई सचेत गराएको थियो । उपाध्यक्षसमेत रहेका प्रवक्ता सापकोटाले हालै सम्पन्न स्थायी समिति बैठकले लिएका निर्णयको कार्यान्वयन हुने बताउनुभयो । उहाँले भन्नुभयो, 'स्थायी समिति बैठकले गुटबन्दी नगर्नेलगायतका महत्वपूर्ण निर्णय गरेको छ । त्यसको कार्यान्वयन सबैको जिम्मेवारी हो । पार्टी निर्णय सबैले मान्नुपर्छ ।' स्थायी समिति बैठकले पार्टी निर्णयको कार्यान्वयनका लागि अनुगमन समिति बनाउने निर्णय गरेको थियो । अबको बैठकले अनुगमन समिति बनाउने र पार्टीका निर्णय कार्यान्वयन गर्ने तयारी छ ।
सत्ताको आडमा एमाले नेता ऐनलाई चैन, पीडित महिलालाई उल्टै झुट्टा मुद्दा ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आडमा एमाले नेताहरुले विभिन्न प्रकारका आरोपबाट मुक्ति पाउने र अन्य विचार समूहका वा पीडितलाई राज्य संयन्त्रको प्रयोग गरेर दुख दिन थालिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले उल्टै पीडित महिलालाई फसाउन उनीविरुद्ध उजुरी दिएका छन् । प्रहरीले एमाले नेता महरको उजुरीलाई दर्ता गरेर पीडित महिलाको बलात्कारसम्बन्धी उजुरीलाई तामेलीमा राखेको थियो । एमाले नेता महरले बलात्कार गरेको आरोपसहितको उजुरी प्रहरीले नलिएपछि पीडित महिलाले अदालतको ढोका गुहार्नु परेको बताएकी छन् । महरले राज्य सत्ताको आडमा ती महिलाविरुद्ध आपराधिक लाभको मुद्दा लगाएका छन् । नेपाल प्रहरी र सरकारी वकिलको कार्यालयलाई दबाब दिएर पीडित महिलाको निवेदनलाई तामेलीमा राखिएको थियो । निरन्तर आफू महरबाट पीडित बनेको भन्दै ती युवतीले पछिल्लो समय महर दम्पतीले आफूलाई गालीगलौज र चरित्रहत्या गरेकाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरेकी थिइन् । राज्य सत्ताकै दुरुपयोग गरेर एमाले नेता महर एक घन्टामै रिहा भएका छन् । तर त्यही प्रकृतिका अन्य मुद्दाहरुमा दुई हप्तासम्म हिरासतमा राखिएको छ । पीडित महिलाले आफूमाथि निरन्तर भएको यौन शोषणको कानूनी उपचारको ठाउँमा आफूमाथि आपराधिक लाभको मुद्दा परेकोमा आश्चर्य लागेको बताएकी छन् ।

