राष्ट्रपति भण्डारी भन्छिन-‘दलहरू मिलौं, कसैले शहीद बन्नुनपर्ने गरी लोकतन्त्र जोगाऔं’

काठमाडौँ, माघ १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले अव कसैले शहीद हुनुनपर्ने गरी लोकतन्त्रको संस्थागत विकास गरिनुपर्ने बताएकी छन् ।

शहीद दिवसका अवसरमा राष्ट्रिय शहीद एवम् वर–पिपल वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन “सही लोकतान्त्रिक अभ्यासले नै लोकतन्त्रको जरो बलियो हुन्छ ।”

“अब कसैले सहिद बन्नु नपर्ने वातावरण सिर्जना गरेमा मात्र शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुन्छ, लोकतान्त्रिक अभ्यासले नै समस्या समाधानमा सहयोग गर्नेछ, सहमति र सहकार्यका साथ अघि बढ्न सबै दललाई शहीद दिवसले प्रेरणा देओस् ” उनले भनिन ।

सरकारले विसं २०७१ देखि २०८० सम्मलाई वन दशक घोषणा गरेकाले यसले जलवायु परिवर्तन र तापमानलाई सन्तुलनमा ल्याउने विश्वास व्यक्त गर्दै उनले भनिन –“पूर्खाले वर र पिपलको बिरुवा रोप्ने प्रचलन वातावरण सन्तुलन कायम राख्न चलाएको कद्मप्रति सबैको ध्यान जानुपर्दछ ।”
शान्ति तथा पुनःनिर्माण मन्त्रालय र राष्ट्रिय शहीद तथा शान्तिस्मारकले उक्त कार्यक्रम काठमाडौंको गोकर्णमा गरेको थियो ।

हेटौँडा– कुलेखानी–स्यूचाटार प्रसारणलाइन सञ्चालन, उपत्यकामा कहिल्यै लोडसेडिङ नहुने

काठमाडौँ, माघ १६। लामो समयदेखि विभिन्न कारणले अवरुद्ध हुँदै आएको हेटौँडा– कुलेखानी–स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन शनिबारदेखि सञ्चालनमा आएको छ । भारतबाट आयात भएको विद्युत् काठमाडौँ ल्याउने महत्वपूर्ण प्रसारणलाइनको रुपमा रहेको सो प्रसारणलाइनको महत्वपूर्ण खण्ड गत पुसको अन्तिम साता नै मातातीर्थमा जोडिइसकेको थियो । मातातीर्थबाट स्यूचाटार जोड्ने प्रसारणलाइनको खण्डमा पर्ने घर तथा आवास क्षेत्रमा रोकिएको काम समेत सम्पन्न भएको आयोजना प्रमुख केदार सिलवालले जानकारी दिए । उक्त प्रसारणलाइनबाट काठमाडौँमा बढी भएको बिजुली हेटौँडा र त्यहाँ बढी भएको बिजुली राजधानी ल्याउन सहज भएको छ । केही दिन पहिले मात्रै ढल्केबर– खिम्ती प्रसारणलाइनबाट समेत विद्युत् प्रवाह भइसकेको छ । हेटौँडा मातातीर्थ स्यूचाटार प्रसारणलाइन पनि सञ्चालनमा आएपछि काठमाडौँमा विद्युत् आयात गर्न र काठमाडौँबाट बाहिर लैजानलाई समेत सहज भएको छ । प्राधिकरणले १३२ केभी प्रसारणलाइन क्षमताको डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न गरेपछि भारतबाट ढल्केबर– हेटौँडाडा हुँदै राजधानी भित्रिएको विद्युत् वितरणमा सहज भएको हो । उक्त प्रसारण लाइनबाट करिब २०० सय मेगावट बिजुली आयात तथा निर्यात दुवै गर्न सकिने आयोजना प्रमुख सिलवालले जानकारी दिए । विसं २०६८ बाट सुरु भएको सो प्रसारणलाइन मुनिपर्ने जग्गा धनीले मुआब्जा एवम् क्षतिपूर्ति माग्दै लामो समयदेखि अवरुद्ध गर्दै आएका थिए । विसं २०४३ मा नै कुलेखानी दोस्रोको विद्युत् राजधानी ल्याउन निर्माण गरिएको प्रसारणलाइनले दायाँबायाँ नौ–नौ मिटर जग्गाको क्षतिपूर्ति दिइसकेको थियो । मकवानपुरको चौकीटोल, काठमाडौँको तत्कालीन मातातीर्थ र स्यूचाटार गाविसले घर तथा आवास बनाउन अनुमति दिएका कारण प्रसारणलाइन विस्तारमा समस्या पर्दैआएको थियो । काठमाडौँ उपत्यकामा विद्युत्को माग बढ्दै गएपछि आयोजनाले एकल फेजमा रहेका प्रसारण लाइनलाई दोहोरो बनाउने तयारी गर्दा स्थानीयवासीले चर्को विरोध गर्दै अवरोध गरेपछि विस्तारकार्य रोकिएको थियो । प्रसारण लाइन निर्माणका लागि मात्रै आयोजनाले १९ घरपरिवारलाई रु. एक करोड ८४ लाख क्षतिपूर्ति प्रदान गरेको छ । ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ र मकवानपुरका प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा क्षतिपूर्ति तथा मुआब्जा वितरण गरिएका कारण प्रशारणलाइन सञ्चालन सहज भएको हो । भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौँडा हुँदै काठमाडौँ ल्याउन सो प्रसारणलाइन सहयोगी भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । प्रसारण लाइनको दायाँबायाँ क्षेत्रमा रहेका घरधनीले घर भत्काउन थालेको र केही दिनभित्रै घर भत्काइसक्ने जानकारी आफूलाई आएको भन्दै आयोजना प्रमुख सिलवालले काठमाडौँ उपत्यकामा लोडसेडिङ नगर्ने सरकारको लक्ष्य थप सहज भएको छ । मातातीर्थदेखि स्यूचाटारसम्मको खण्डमा पर्ने घर भत्काएर प्रसारणलाइन सञ्चालनमा ल्याइएको हो । सो प्रसारणलाइन निर्माण सम्पन्न भएपछि मातातीर्थ– भक्तपुर प्रसारणलाइनको काम अगाडि बढाउने प्राधिकरणको योजना छ ।

नेता मोहनबिक्रमलाई भेट्न प्रधानमन्त्री ग्राण्डी अस्पतालमा

काठमाडौं, माघ १६ । वयोवृद्ध वामपन्थी नेता तथा नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहलाई भेट्न प्रधानमन्त्री प्रचण्ड ग्राण्डी अस्पताल पुगेका छन् । ज्वरो आउने र पेटसम्बन्धी समस्या देखिएपछि नेता सिंह तीन दिनदेखि ग्राण्डी अस्पतालमा उपचाररत छन् । प्रधानमन्त्री प्रचण्डले चिकित्सकहरुसँग सिंहको स्वास्थ्य अवस्थाका बारेमा छलफल गर्नुका साथै सिंहसँग कुराकानी गरेका थिए । नेपालको राजनीतिमा माओवादी धारका गुरु भनेर चिनिने ८२ वर्षीय बृद्ध नेता मोहनबिक्रमसँग प्रचण्डको सैद्धान्तिक विमती रहँदै आएपनि भावनात्मक सम्बन्ध भने निकट रहेको छ । सिंहको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको चिकित्सकहरुले भेटका अवसरमा बताएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

आर्थिक समृद्धिमा लागे मात्रै शहीदका सपना पुरा हुने– उपराष्ट्रपति पुन

काठमाडौं,माघ १६ उपराष्ट्रपति नन्दकिशोर पुनले आर्थिक समृद्धिको बाटोमा देश हिँडेमा मात्रै शहीदका सपना पुरा हुने बताएका छन् । शहीद दिवसका अवसरमा सन्देश व्यक्त गर्दै उपराष्ट्रपति पुनले दिगो आर्थिक विकाससहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न एक भएर लाग्न अनुरोध गरे । “सहिद दिवस जस्तो यस गौरवपूर्ण दिनको अवसरमा सम्पूर्ण नेपालीहरुलाई एकताबद्ध भएर संविधानको पूर्ण कार्यान्वयन गरेर आर्थिक समृद्धिको बाटोमा दृढ्तापूर्वक अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा लिएको छु ।” वक्तव्यमा पुनले भनेका छन् । पढ्नुस विस्तृतमा ‘जहानियाँ राणा शासन विरोधी आन्दोलन तथा त्यसपछिका ठूल–ठूला राजनीतिक परिर्वनकारी क्रान्ति तथा संघर्षमा आफ्नो जीवन बलिदान दिनुहुने सहिदहरुको सम्झनामा प्रत्येक माघ १६ मा सहिद दिवस मनाउँदै आएका छौँ । सहिद दिवस–२०७३ को यस पुण्य तिथिमा म सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आज हामी नेपाली जुन अवस्थामा छौँ, यो प्राप्तीका लागि नेपालमा धेरै ठूला क्रान्ति, संघर्ष, आन्दोलनहरु भएका छन् । सबै खाले आन्दोलनमा नेपाली वीर सपुतहरुको वलिदानी रहेको छ । नेपालमा प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रलगायत पछिल्लो राजनीतिक उपलब्धीहरु प्राप्तीको प्रमुख श्रेय सहिदहरुलाई नै जान्छ । यस अवसरमा प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवनको वलिदान गर्नुहुने सम्पूर्ण सहिदहरुको उच्च सम्मान व्यक्त गर्दछु । साथै सम्पूर्ण सहिद परिवारजनमा पनि उच्च सम्मान व्यक्त गर्दछु । सहिदहरुको वलिदानी शान्त, समुन्नत र समृद्ध राष्ट्र निर्माण तथा सबै नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन हो । संविधानसभाबाट जारी संविधान कार्यान्वयनसँगै राजनीतिक रुपमा सहिदहरुको सपना पूरा हुँदै छन् । सहिदहरुलाई स्मरण गर्दै नेपाली जनतालाई पूर्ण अधिकार सम्पन्न र देशलाई दिगो आर्थिक विकाससहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न एक भएर लाग्न म सबैको ध्यानाकर्षण गराउन चाहान्छु । सहिद दिवस जस्तो यस गौरवपूर्ण दिनको अवसरमा सम्पूर्ण नेपालीहरुलाई एकताबद्ध भएर संविधानको पूर्ण कार्यान्वयन गरेर आर्थिक समृद्धिको बाटोमा दृढ्तापूर्वक अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा लिएको छु । महान् सहिदहरुप्रति पुनः हार्दिक श्रद्धाञ्जली ।’

जनयुद्द र जनआन्दोलनका कारण प्राप्त संविधानको कार्यान्वयनका लागि हातेमालो गरौं– प्रधानमन्त्री

काठमाडौं, माघ १६ । प्रधानमन्त्री प्रचण्डले संविधानको कार्यान्वयनमार्फत आन्दोलनका उपलब्धि संस्थागत गर्नका लागि सबैले हातेमालो गर्नुपर्ने बताएका छन् । शहीद दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्रीले नेपालमा चलेका बिभिन्न आन्दोलनहरुको उपलब्धिका रुपमा प्राप्त उपलब्धि रक्षा गर्न जोड दिएका हुन । पढ्नुस् प्रधानमन्त्रीको सन्देश नेपाल र हामी सबै नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताको लागि आफ्नो जीवन बलिदान गर्ने शहिदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो । शहिद दिवस, २०७३ को यस अवसरमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरुको श्रद्धापूर्वक स्मरण गर्दै सम्पूर्ण ज्ञात अज्ञात शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाललाई वर्तमान अवस्थासम्म ल्याउन र हामीलाई अहिले प्राप्त स्वतन्त्रताको स्थापनामा महान् शहिदहरूको योगदान उच्च रहेको छ । देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशता विरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्नुहुने महान शहिदहरूको योगदान सधंै स्मरणीय रहनेछ । राणाकाल शुरु हुनुपूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकाल विरुद्धका चरणवद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, दश वर्षे जनयुद्ध, मधेश आन्दोलन लगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत् नेपालले जे–जति उपलब्धि प्राप्त गरेको छ, ती महान् शहिदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव भएको हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत् देशलाई समृद्ध बनाउन शहिदहरूको सपना तथा योगदान सधैं प्रेरणादायी हुनेछ भन्ने विश्वास लिएको छु । यसका लागि शहिदहरूको बलिदानको उच्च सम्मानका साथ उहाँहरूको सपनालाई साकार पार्ने कार्यमा हामी सबै आ–आफ्नो ठाउँबाट निरन्तर प्रयत्नशील रहनु आवश्यक छ । यस अवसरलाई हाम्रो राष्ट्रिय एकतालाई अझ सुदृढ र दरिलो बनाउने गरी उपयोग गर्न तथा यसमा सबै नेपालीहरूले अपनत्व महशुस गर्न सकुन् भन्ने उद्देश्यले सरकारले त्यसतर्फ निरन्तर प्रयास गरिरहेको छ । आजको ऐतिहासिक दिनबाट शान्ति र विकास सहितको समुन्नत् भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासहित शहिदहरूको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न म सबैमा हार्दिक आव्हान गर्दछु ।

बिहानै त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

रत्ननगर (चितवन),  माघ १६ । चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ५ बजेको समयमा चामल बोकेर वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना५ख ५६५४ नंको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खसेर सो दुर्घटना भएको हो । ट्रक सडकबाट करिब ७० मिटर तल त्रिशूली नदीमा पुगेको प्रहरीले जनाएको छ । चालक धादिङ खयरघारीका २० वर्षीय रामशरण वाग्लेको घाइते अवस्थामा उद्धार गरिएको र ट्रकमा सवार एकजना बेपत्ता भएको खुल्न आएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेको पहिचान नभएको जनाइएको छ । ट्रकमा अन्य मानिस कति थिए भन्ने नखुलेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । यसैबीच कुरिनटारमा आज बिहान अर्को ट्रक पल्टिँदा दुईजना घाइते भएका छन् । ट्रक पानीमा डुबेको अवस्थामा रहेको छ । बिहान करिब १ः३० बजेको समयमा चितवनको दारेचोक गाविस–३ कुरिनटारमा आफैँ अनियन्त्रित भई ट्रक पल्टिएर २० फिट तल पुग्दा दुर्घटना भएको छ । वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना६ख ४७२९ नंको मच्छड धुप बोकेको ट्रक अनियन्त्रित भई पल्टिएको चितवन प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी चालक सिन्धुपाल्चोकका २६ वर्षीय हरि बस्नेत र सहचालक सोही ठाउँका १८ वर्षीय नीरज भुजेल घाइते भएको प्रहरीले जनाएको छ । दुवै घाइतेको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । रासस

बारको आकस्मिक बैठक, देशव्यापी आन्दोलन गर्ने

काठमाडौं, १६ माघ । उच्च अदालतका न्यायाधीश सिफारिसमा तीनजना पदाधिकारीको मिलोमतोमा एकतर्फी निर्णय गरेको भन्दै सरकारी वकिलले गरेको इजलास बहिष्कार कार्यक्रम सेलाउन नपाउँदै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आन्दोलन घोषणा गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– बारको शनिबार बसेको आकस्मिक बैठकले उच्च अदालतका लागि ८० न्यायाधीश नियुक्तिको सिफारिसले समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई बेवास्ता गरेको आरोप प्रधानन्यायाधीश कार्कीविरुद्ध लगाएको छ । आगामी नियुक्तिमा संविधान र न्यायपरिषद् ऐनका प्रावधानलाई ध्यानमा राखिने प्रतिबद्धता र सहमतिपछि सरकारी वकिलले बिहीबार मात्रै आफ्नो आन्दोलन फिर्ता लिएका थिए तर त्यो आश्वासनकै आधारमा आश्वस्त हुन नसक्ने निष्कर्षमा बार पुगेको छ । पुस २८ मा परिषद् सदस्य रहेका आफ्ना प्रतिनिधि र वरिष्ठ न्यायाधीशको उपस्थितिबिनै मध्यरातमा संविधानविपरीत उच्च अदालतमा ८० न्यायाधीश सिफारिस गरिएको भन्दै स्मरणपत्र बुझाउन पुगेका नेपाल बार र सर्वोच्च बारका पदाधिकारीलाई प्रधानन्यायाधीश कार्कीले भेट्न अस्वीकार गरेपछि बार अपमानित र थप क्रुद्ध बनेको हो । नेपाल बारले शनिबार सर्वोच्च बारको समेत सहमतिमा आन्दोलनमा उत्रने निर्णय लिएको हो । उक्त निर्णय लिनुपूर्व न्यायाधीश सिफारिसमा भएका गतिविधि र भूमिकाबारे बारबाट परिषद् सदस्य रहेका वरिष्ठ अधिवक्ता रामप्रसाद सिटौलासँग पनि बारले छलफल गरेको थियो । छलफलमा सहभागी एक सदस्यका अनुसार सिटौलाले आफूले प्रस्ताव गरेका नाम प्रधानन्यायाधीशद्वारा काटिन थालेपछि बैठकमा सामेल हुनुको औचित्य नदेखेर बहिष्कार गरेको प्रस्टीकरण दिएका थिए । उनले न्यायाधीश नियुक्ति सिफारिसमा आफ्नो कुनै सल्लाह र सम्मति नरहेको पनि प्रस्ट्याएका थिए । बार बैठकले उच्च अदालतमा गरिएको न्यायाधीश सिफारिसको आधार तथा मापदण्ड पारदर्शी नरहेको, परिषद्का दुई सदस्यको अनुपस्थितिमा मध्यरातमा अस्वाभाविक ढंगले संविधानको मर्म र न्यायपरिषद् ऐनको दफा ५ ९१० विपरीत निर्णय भएको, महिला, दलित, आदिवासी, जनजाति, मधेसी, पिछडिएको क्षेत्रको उचित प्रतिनिधित्व नभएको एवं प्रक्रिया र पद्धतिको ठाडै उल्लंघन भएको ठहर गरेको छ । परिषद्को निर्णय हुनुमा प्रधानन्यायाधीश कार्कीको ‘गैरजिम्मेवारपूर्ण’ कार्य जिम्मेवार रहेको भन्दै स्तब्ध भएको बारले जनाएको छ । स्वतन्त्र र सक्षम न्यायपालिकाको जबाफदेही र न्यायप्रति आम नागरिकको अपेक्षाभन्दा बाहिर गई न्यायाधीश नियुक्त भएको निष्कर्षसहित बार आन्दोलनमा उत्रेको हो । गत माघ ११ मा प्रधानन्यायाधीश कार्कीले बार र सर्वोच्च अदालत बार पदाधिकारीलाई भेट्न अस्वीकार गरेपछि उनीहरू तीनदिने अल्मिेटमसहितको ज्ञापनपत्र परिषद् सचिवालय र वरिष्ठ न्यायाधीश एवं परिषद् सदस्य गोपाल पराजुलीलाई बुझाएर फर्केका थिए । ‘सम्माननीय प्रधानन्यायाधीश तथा न्यायपरिषद्का अध्यक्ष श्री सुशीला कार्कीबाट बार र कानुन व्यवसायीको अस्तित्वलाई स्वीकार नगरी निषेधको मानसिकताबाट अग्रसर भई संविधानले निर्धारण गरेका कतिपय व्यवस्थाको पालना गर्न वर्तमान प्रधानन्यायाधीशको नेतृत्वदायी भूमिकाबाट पन्छिएर स्वतन्त्र, सक्षम उत्तरदायी न्यायपालिकामा प्रत्यक्ष रूपमा असर पर्ने गरी निर्देशित न्यायपालिका बनाउन खोजेको नेपाल बारको ठहर छ’, बार केन्द्रीय कार्यसमितिको निर्णयमा भनिएको छ । वार्ता, संवाद र सहमतिबाट मात्र न्यायिक स्वाभिमानको रक्षा हुनसक्ने बारले जनाएको छ । बारले आफ्ना मुलुकभरका बार एकाइमा विरोधका कार्यक्रम अघि बढाउन शनिबार नै सर्कुलरसमेत गरेको छ । बारले माघ १७ गते दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म बारपरिसरमा कानुन व्यवसायीको भेला गरी विरोध कार्यक्रममा सहभागिताका लागि आह्वान गर्ने भएको छ । यस्तै १८ गते १० बजेदेखि १२ बजेसम्म कानुन व्यवसायीले हातमा कालोपट्टी बाँधेर विरोध गर्ने र १९ गते दस बजेदेखि १ बजेसम्म मुलुकभरका अदालतमा बहसपैरवी बहिष्कार गर्ने निर्णय बारले लिएको छ । यस्तै प्रधानन्यायाधीश र सर्वोच्च अदालतले आयोजना गर्ने कुनै पनि कार्यक्रमसमेत बहिष्कार गर्ने र बारले पनि प्रधानन्यायाधीशलाई कुनै कार्यक्रममा नबोलाउने निर्णयसमेत लिइएको छ । न्यायपरिषद्बाट संवैधानिक इजलास गठन नहुन्जेलसम्म संवैधानिक मुद्दामा इजलासको सहयोगका लागि नेपाल बार र सर्वोच्च अदालत बारबाट खटिएका ‘एमिकस क्युरी’ बहसपैरवीमा उपस्थित नहुने निर्णयसमेत लिइएको छ । हाल एमिकस क्युरीका लागि नेपाल बार र सर्वोच्च बारबाट बाह्रजना कानुनविद्लाई सर्वोच्चमा खटाइएको छ । नेपाल बारले हाल न्यायाधीश सिफारिसविरुद्ध विभिन्न बार एकाइमा चलिरहेको विरोध कार्यक्रमलाई समर्थन जनाएको छ । बार अध्यक्ष शेरबहादुर केसीले न्यायाधीश नियुक्तिमा बारलाई उपेक्षा गर्दै न्यायपालिका नेतृत्वबाट भेट नदिएर अपमानसमेत गरिएको बताए । निर्णय सच्याउन तयार नभएसम्म आन्दोलन नरोकिने भनाइ उनले राखे । ‘उल्लिखित कार्यक्रमप्रति सम्माननीय प्रधानन्यायाधीश तथा न्यायपरिषद्का अध्यक्षको गम्भीर ध्यानाकर्षण गराउँदै यथासमयमा यसतर्फ ध्यान नदिएमा आगामी दिनमा योभन्दा कडा कार्यक्रम नेपाल बारले सार्वजनिक गर्ने र यसको सम्पूर्ण जबाफदेही न्यायपरिषद्का अध्यक्ष तथा सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुने बेहोरासमेत अनुरोध गर्दछु’, बैठकपछि चेतावनीको भाषामा बार महासचिव खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बारले उच्च अदालतमा भएको न्यायाधीश सिफारिसलाई लिएर अघिल्लो साता वरिष्ठ अधिवक्ता, बारका पूर्वअध्यक्ष, उपाध्यक्ष र महासचिवलगायतसँग रायसुझावसमेत लिएको थियो ।

प्रचण्डले बाबुरामलाई भने- दोधारमा होईन, खुकुरीको धारमा छु

काठमाडौं, १६ माघ । प्रधानमन्त्री प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईबीच शनिबार एक सार्वजनिक कार्यक्रममा सवाल–जवाफ भएको छ । तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दुई नेताबीच आसन्न स्थानीय तह निर्वाचनको विषयलाई लिएर सवाल–जवाफ भएको हो । आजको नयाँ पत्रिकामा खबर छ– कार्यक्रमलाई पहिले सम्बोधन गरेका नयाँ शक्तिका संयोजक डा. भट्टराईले प्रधानमन्त्री दोधारको अवस्थामा रहेको बताए । ‘मधेसी मोर्चाको माग सम्बोधन गरेर जाने वा त्यसै निर्वाचनमा जाने भन्ने दबाबका कारण प्रधानमन्त्री दबाब र अप्ठ्यारोमा परेको जस्तो देखिँदै छ,’ भट्टराईले भने, ‘प्रधानमन्त्रीले के हो प्रस्ट पार्नुपर्छ । यसरी चल्नेवाला छैन ।’ भट्टराईपछि सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले आफू दोधारमा नभई खुकुरीको धारमा रहेको बताए । ‘दायाँबायाँ दुवैतिर खुकुरकिो धार छ । बीचबाट जोगिएर हिँड्नुपर्ने परिस्थिति हाम्रोसामु छ,’ प्रधानमन्त्रीले भने । अतिवादी सोचका विरुद्ध दृढतापूर्वक उभिएर मात्रै चुनौतीलाई अवसरमा बदल्न सकिने भन्दै प्रधानमन्त्रीले थपे, ‘हामी संघर्ष गरेर नै यो ठाउँमा आइपुगेका छौं । फेरि पनि चुनौतीलाई अवसरमा बदलेर देशलाई राजनीतिक स्थिरता दिन आर्थिक समृद्धिको दिशामा लैजान हामी गम्भीर छौं ।’ file photo

जनताको अधिकार रक्षाका लागि खुकुरी धारको सामना गरिन्छ–प्रधानमन्त्री

काठमाडौँ, माघ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समस्या समाधानका लागि जस्तौसुकै चुनौती सामना गरेर पनि अघि बढ्न सरकार तयार रहेको बताएका छन् । तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधानको सफल कार्यान्वयनबाटै देशको समस्या समाधान हुने बताए । उनले संविधान कार्यान्वयनको सन्दर्भमा जटिलता र चुनौती रहेको भन्दै त्यसलाई चिरेर अघि बढ्न सरकार तयार रहेको बताए । ‘संविधान कार्यान्वयन लगायतमा अप्ठेरा, चुनौतीहरु छन् । दायाँ, बायाँ खुकुरीको धार अवश्य छन्’ उनले भने, ‘त्यही जटिलता र चुनौतीमा अवसर पनि हुन्छन्, सबै चुनौतीको सामना गरिनेछ ।’ प्रधानमन्त्री दाहालले सबै उत्पीडित समुदायको एकता अनिवार्य रहेको पनि बताए । एकात्मक राज्यको अन्त्य र संघात्मक राज्य बनाउन हजारौंले बलिदानी गरेको स्मरण गर्दै उनले सबैको सहयोगको बलमा संविधान संशोधन, परिमार्जन गरी निर्वाचनमार्फत् प्राप्त उपलब्धिको रक्षा गर्ने बताए । उनले संविधानलाई सबैमा स्वीकार्य बनाउन संशोधन गर्ने प्रक्रिया अघि बढाइएको भन्दै सबै उत्पीडित जातिको अधिकार र पहिचान बढाउने कुरामा विश्वस्त हुन तामाङ समुदायलाई आग्रह गरे । ‘संविधानमा सीमाहरु छन्, कमी कमजोरी छन् । तर यो एउटा गतिशील दस्तावेजको रुपमा परिमार्जन हुँदै जान्छ’, प्रधानमन्त्रीले भने, ‘संविधान (दोस्रो संशोधन) ले मधेसी जनजाति समुदायको अधिकारलाई बढाउने र निर्वाचनमा जाने बाटो खुल्नेछ ।’ प्रधानमन्त्रीले नेपाल तामाङ घेदुङको भवन निर्माण लगायतका लागि सरकारले गत वर्ष दिइएको भन्दा दोब्बर दिइने आश्वासन दिए । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य कपिल लामा, नेकपा एमालेका सांसद शेरबहादुर तामाङ, सोनाम ल्होसार मुल आयोजक समितिका संयोजक मोहन गोले लगायतका वक्ताहरुले सोनाम ल्होसार राष्ट्रिय संस्कृतिको विकास, तामाङ समुदायको उत्थान र राजनीतिक अधिकार प्राप्तिको दिशामा सकारात्मक योगदान गर्ने धारणा राखेका थिए ।

एउटै मञ्चमा बैद्य, प्रचण्ड र बाबुराम, कुलमानलाई सम्मान गर्दै प्रचण्डले भने–‘मेरो सपना पूरा गर्नुभयो बधाई’

काठमाडौँ, माघ १५ । लामो समयपछि नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराई एउटै मञ्चमा सँगै देखिएका छन् । शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित सोनाम ल्होसार कार्यक्रममा तत्कालीन प्रचण्ड नेतृत्वको एमाओवादीबाट अलग्गिएका तीनै नेता एउटै मञ्चमा बसेर सम्बोधन गरेका हुन् । प्रधानमन्त्रीले नेपाल विदयुत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई सम्मान गरेका थिए । घिसिङलाई सम्मान गर्दै प्रधामन्त्रीले काठमाडौँमा देशभर लोडसेडिङ अन्त्य गर्ने आफ्नो सपनालाई पूरा गरेकोमा घिसिङलाई बधाई दिए । एक–दुई वर्षयता आफू कुलमान घिसिङलाई उचित जिम्मेवारी दिने मौकाको खोजीमा रहेको बताएका थिए । तामाङ जातिको नयाँ वर्ष सोनाम ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– ‘नेपालमा लोडसेडिङको अन्त्य र विद्युतीकरण गरेर मात्र देशमा समृद्धि हासिल गर्न सकिन्छ भन्ने मेरो सोंच हो । कुलमान घिसिङजीको क्षमता र इमान्दारितालाई मैले विगत एक–दुई वर्षयता नजिकबाट हेरिरहेको थिएँ । कति बेला मौका मिल्ला र उहाँलाई उचित जिम्मेवारी दिन सकिएला भन्ने मौकाको खोजीमा थिएँ, प्रधानमन्त्री भएपछि त्यो मौका मिल्यो, सरकारले उहाँलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनायो । आज उहाँले हाम्रो विश्वासलाई व्यवहारमा उतार्नुभएको छ । म उहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । जिम्मेवारी पायो भने जुनसुकै जाति र समुदायको व्यक्तिले गरेर देखाउन सक्छ भन्ने तामाङको छोरो कुलमानजीले प्रमाणित गरेर देखाउनुभएको छ । ’ कार्यक्रममा प्रधानमन्त्रीले जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित गणतन्त्रले महत्वपूर्ण परिवर्तन ल्याएको बताए । ‘अहिले राष्ट्रपति महिला हुनुहुन्छ, उपराष्ट्रपति जनजाति समुदायको हुनुहुन्छ, प्रधानन्यायाधीश महिला हुनुहुन्छ, सभामूख जनजाति समुदायको महिला हुनुहुन्छ, उपसभामूख मधेशी हुनुहुन्छ । यो सबै जनयुद्धकै राजनीतिक र परिवर्तनकारी सोंचको देन हो । अझ संयोग भनौं, उहाँहरु सबैलाई प्रस्ताव गर्ने संयोग पनि मलाई नै जुट्यो,’ प्रधानमन्त्रीले बैद्य र भट्टराईलाई सँगै राखेर भने ।

अब बाथ मुटुरोगीको भल्ब शल्यक्रिया निशुल्क गरिने

काठमाडौं, १५ माघ । स्वास्थ्य मन्त्रालयले आगामी फागुन १ देखि बाथ मुटुरोगीको भल्वशल्यक्रिया पूर्ण निः शुल्क गर्ने भएको छ । स्वाथ्यमन्त्री गगनकुमार थापाले ‪शनिवार शहीद गंगालाल हृदय केन्द्रको २१औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा फागुन १ गतेदेखि बाथ मुटुरोगीको भल्व शल्यक्रिया पूर्ण निःशुल्क गर्ने घोषणा गरेका हुन् । उनले यो सेवा निःशुल्क गर्नका लागि आवश्यक संपूर्ण प्रक्रिया पुरा भईसकेकाले सहजै कार्यान्वयन हुने पनि जानकारी दिए । स्वास्थ्यमन्त्री थापाको घोषणापछि बाथ मुटुरोगीको भल्व शल्यक्रिया सेवा दिदै आएका सवै सरकारी अस्पतालहरुमा जुनसुकै नेपालीले निःशुल्क रुपमा यो सेवा पाउने छन् । मन्त्री थापाले यसअघि अन्य विभिन्न रोगका विरामीहरुलाई पनि यस्तै प्रकारको राहत तथा सहुलीयतको व्यवस्था गरेका थिए । कार्यक्रममा उनले काम गर्ने उमेरका धेरै युवाहरुमा बाथ मुटुरोग लागी भल्व शल्यक्रिया गर्नु पर्ने भएकाले यस व्यवस्थाले ठुलो जनशक्तिलाई रहत पुग्ने उहाँले विश्वास व्यक्त गरे । मन्त्री थापाले यस बर्ष भित्रमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सेवा काठमाडौ उपत्यका बाहिरका कम्तीमा पनि दुई ठाउमा विस्तार गरिने बताए । सेवा विस्तारका लागि एउटा टोलीले गृहकार्य तिव्र पारेको जानकारी दिदै उनले सहयोगका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आह्वान पनि गरे । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, सांसद तथा अस्पताल संचालक समितिका सदस्य नरहरि आचार्य लगायतले अस्पतालको प्रशंसा गर्दै सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन आग्रह गरेका थिए । सो अवसरमा स्वास्थ्य मन्त्री थापाले अस्पताल परिसरमा बनाउन लागिएको बहिरंग तथा आकस्मीक सेवा भवनको सिलन्यास समेत गरेका थिए ि। सो भवन झण्डै ४८ करोडको लागतमा तीन बर्षमा बनाउने लक्ष्य राखिएको अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले जानकारी दिए ।

सबै रास्ट्रवादी एक हुन विप्लवको आव्ह्वान

काठमाडौं, १५ माघ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले यो मुलुक नेपालीको भएको दलाल र गद्दारको नभएको बताएका छन् । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले राष्ट्रिय नाचघर, जमलमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बोल्दै विप्लवले अबको क्रान्तिमा सबै राष्ट्रवादी एक हुनुपर्ने बताए । ‘अबको क्रान्तिमा सबै एक हुनुपर्दछ । आवश्यक प¥यो भने सेना–प्रहरीहरूले पनि आ–आफ्नो बर्दी खोलेर हामीलाई साथ दिनुपर्दछ’, उनले भने, ‘यो देश हाम्रो होे, दलाल र गद्दारको होइन ।’ जनयुद्धमा मात्रै १५० भन्दा बढी संस्कृतिकर्मीहरूको सहादत भएको स्मरण गर्दै विप्लवले आफ्नो पार्टीले देश र जनताका निमित्त एवम् परिवर्तनका पक्षमा प्रतिवद्ध रहेको भन्दै सबै संस्कृितकर्मीहरूको संरक्षण गर्ने प्रतिवद्धता जनाए । रायन श्रेष्ठ, जेबी टुहुरे, माधव प्रधान, लक्ष्मी गुरुङ, कुश्मिता दर्लामी, आरोह नेपाली, ढुण्डी अधिकारी, रमण थामी, रमेश विकलगायतका कलाकारहरूले एकल तथा सामूहिक गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा वरिष्ठ लेखक तथा साहित्यकार शरद पौडेलद्वारा लिखित नाटक ‘अनुत्तरित प्रश्न’ को प्रदर्शन गरिएको थियो ।

एकाध दलले निर्वाचन नमान्दैमा सरकार पछि हट्नु हुँदैन : उपाध्यक्ष ज्ञवाली

नेपालगन्ज, माघ १५ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले सरकारले छिटो स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । सबै दलसँग सहमति गरेर निर्वाचन गर्नुपर्नेमा जोड दिँदै उपाध्यक्ष ज्ञवालीले एकाध दलले निर्वाचन मान्दैनन् भने पनि सरकार त्यसबाट पछि हटनु नहुने बताएका छन् । प्रेस चौतारी, बाँकेले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता ज्ञवालीले भने, — ‘संविधान कार्यान्वयनका लागि विशेषगरी प्रमुख दलबीच एकता, समन्वय र सहकार्य हुनु जरुरी छ ।’ दलहरुबीच सहमती गरेर भएपनि निर्वाचन गराउनुपर्नेमा जो दिँदै उनले भने, ‘संविधान संशोधन प्रक्रियालाई रोकेर भए पनि स्थानीय निकायको निर्वाचन गर्न सक्नुपर्छ ।’ संविधान कार्यान्वयन सबैको साझा सवाल बन्नुपर्ने उनले बताए ।

अध्यक्ष ओलीले भने-‘एमाले तीनै तहको चुनावमा होमिइसक्यो’

चितवन, माघ १५ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ सङ्कल्पित रहेको बताए । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आउँदो माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरेर देशमा संवैधानिक र राजनैतिक सङ्कट आउन नदिने पक्षमा एमाले रहेको बताए । तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन हुन नसके संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को समय सकिने भन्दै अध्यक्ष ओलीले संसद् सदस्य नरहेमा प्रधानमन्त्रीको पद रिक्त हुने बताए । उनले भने– “प्रधानमन्त्री वा सरकार बनाउन संस्था र प्रक्रिया चालु नभएका बेला काम चलाउ भन्न पनि नमिल्ने गम्भीर समस्या पैदा हुन्छ । त्यसकारण समयभित्रै निर्वाचन हुनुपर्छ, हामीले भनेका छौँ, हाम्रो सबैभन्दा बढी जोड मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट नआओस् भन्ने हो ।” समयमै निर्वाचन नभए नेपाली जनताले यस कुरालाई स्वीकार्न नसक्ने भन्दै उनले निर्वाचन घोषणा गर्नुपर्छ भनेर आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको बताए । जटिलताको वहाना बनाएर निर्वाचन नगर्ने प्रयासहरु भइरहेको भन्दै उहाँले निर्वाचन नगराउन सम्भव छैन भने । अर्को एक प्रसङ्गमा अध्यक्ष ओलीले संविधान संशोधन अनावश्यक, अनुचित र हानिकारक भएको भन्दै यो प्रस्ताव देशको हितमा नरहेको बताए ।

सभापति देउवाले भने–‘चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउँछ’

नेपालगन्ज, माघ १५ । नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलको सहमतिमा स्थानीय तहको निर्वाचन मिति घोषणा गरिने बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,‘संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलले निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ ।’ सरकारले निर्वाचनको सबै आधार छिटो तय गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘दलहरुबीच सहमति बन्यो भने छोटो समयभित्र पनि निर्वाचन हुनसक्छ ।’ सभापति देउवाले संविधान संशोधन प्रस्ताव निर्वाचन अघि पारित हुने दाबी गरे । तर, यदि त्यसो नभएमा प्रक्रियामा लगेर संशोधन प्रस्ताव पारति गरेर भएपनि निर्वाचन गराउने बताए । उनले पार्टी अहिले एक ढिक्का भएर सङ्गठन विस्तारमा लागिरहेको बताए । स्थानीय निकायको निर्वाचनमा आफ्नो दलले विजय प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उनले यसका लागि पार्टीपङ्क्ति अहिले सङ्गठन विस्तारका लागि सक्रिय रहेको बताए ।

सोमबार चुनाव मिति घोषणा हुने सभामुखको भनाई

मोरङ, माघ १५ । सभामुख ओनसरी घर्तीमगरले सोमबारसम्ममा स्थानीय तहको चुनावको घोषणा हुने बताएकी छन् । विराटनगर विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख मगरले विधेयक पास भएलगत्तै सबै दलको सहमतिमा निर्वाचनको मिति घोषणा हुने बताइन् । ‘अहिले जे आशंकाहरु भइरहेको छ त्यो स्वाभाविक हो तर धैर्य गर्नुस् सोमबारपछि स्थानीय तहको निर्वाचन मिति घोषणा हुन्छ। ’ सभामुख घर्तीले मधेसी मोर्चाको सहमतिमा चुनाव हुने बताइन । निर्वाचनको मिति घोषणा अगाडि नै मधेसी, थारु लगायतको माग संबोधन हुने गरी संबिधान संशोधन प्रस्तावमा समेत दलहरुबीच सहमति हुने उनले बताइनन् ‘मधेसी मोर्चाको समेत निर्वाचनसम्बन्धी विधेयकमा सहमति रहेकोले निर्वाचनको बारेमा कुनै शंका नगर्न आग्रह छ,’ उनले भनिन् । उनले २०७४ माघभित्र तीनवटै चुनाव गर्न दलहरुले सहमति गर्ने विश्वास लिइन । ‘अहिले आइरहेको अभिव्यक्ति दलहरुको आ–आफ्नो भएको तर टेबलमा बसेपछि केही छोडेर र केही लिएर सहमति हुन्छ’, उनले भनिन्, ‘दलीय स्वार्थन्दा माथि उठेर राष्ट्र र जनताको पक्षमा निष्कर्ष दिन राजनीतिक दलले लचिलो भूमिका निर्वाह गर्नैपर्छ ।’ उनले संविधान कार्यान्वयनका लागि बाँकी विधेयकहरु सरकारले समयमा नै पारित गराउने कार्य तिव्रताका साथ अगाडि बढिरहेको जानकारी दिइन । अन्तरपार्टी महिला संघ मोरङले निर्वाचनमा महिला सहभागिता बढाउनु पर्ने माग गर्दै सभामुख घर्तीमगरलाई ज्ञापन पत्र बुझाएका छन् । स्थानीय तहको निर्वाचनमा अध्यक्ष पुरुष भए उपाध्यक्ष महिला र अध्यक्ष महिला भए उपाध्यक्ष पुरुषको व्यवस्थाको ग्यारेण्टी हुनु पर्ने ज्ञापन पत्रमार्फत् माग गरिन् । ज्ञापन पत्रमा कानुनमा भएको महिलाको ४० प्रति सहभागिता कार्यान्वयन हुनु पर्ने उल्लेख छ ।