स्ववियु चुनावको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं, माघ १५ । फागुन १४ गतेलाई घोषणा गरिएको स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) चुनावको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावको कार्यतालिका सार्वजनिक गरेको हो ।

त्रिविले ८ बर्षपछि स्ववियु निर्वाचन गर्न लागेको हो । त्रिविले स्ववियु निर्वाचनको लागि फागुन १ गतेदेखि सुरु हुने गरी शनिबार चुनाव कार्यतालिका सार्वजनिक गरेको छ ।

त्रिविले सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन १ गते मतदाताको नाम प्रकाशित गर्ने, फागुन ४ गते उम्मेदवारलाई मनोनयन पत्र वितरण गर्ने, ५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दाखिला गर्ने, ५ गते ५ बजे प्रत्यक्ष तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने, ६ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने समय छ ।

कार्यतालिका अनुसार फागुन ६ गते बेलुका ५ बजे उम्मेदवारको दाबी विरोध उपर छानबिन गरी अन्तिम नामवली प्रकाशित गर्ने, ८ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र ८ गते दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ ।
त्रिविले फागुन १४ गतेको निर्वाचनलाई लक्षित गरी त्रिविका सबै क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको प्रथम वर्षको भर्ना पनि बन्द गरेको छ ।

उम्मेद्वारको २८ बर्षे उमेरहदको सीमालाई लिएर बिद्यार्थी संगठनले बिरोध गरिरहेका समय त्रिबिले निर्वाचनको दुई हप्ता लामो कार्यतालिका सार्वजनिक गरेको हो । आगामी फागुन १४ गते हुने स्ववियू निर्वाचन मिश्रित प्रणालीका आधारमा हुदैछ ।

निर्वाचन आयोगमा तीन आयुक्तको नाम सिफारिस

काठमाडौं, माघ १४ । निर्वाचन आयोगमा रिक्त तीन आयुक्तको नाम सिफारिस भएको छ । शुक्रबार संवैधानिक परिषदको बैठकले इश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधीरकुमार शाहलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको हो । पौडेल र दाहाल पूर्व सचिव हुन भने शाह पूर्व सहसचिव हुन् । अयोधीप्रसाद यादवले प्रमुख निर्वाचन आयुक्त र इला शर्माले आयुक्तको रुपमा काम गर्दै आएका छन् । सिफारिसमा परेकाहरुको नियुक्ती पछि निर्वाचन आयोगले पूर्णता पाउने छ । सिफारिसमा परेका व्यक्तिहरुको संसदीय सुनुवाई पछि मात्र नियुक्ती हुने गरिने छ । सरकारले चुनाव मिति घोषणा गर्ने तयारी गरेपछि रिक्त पदमा नियुक्ति गरिन लागेको हो ।

व्यवस्थापिका संसद बैठक: कुन सांसदको कस्तो चिन्ता !

काठमाडौँ, माघ १४ । व्यवस्थापिका– संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद दुलारी हरिजनले पूर्व –पश्चिम राजमार्गको नवलपरासी खण्डमा रहेका पुल जीर्ण भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै मुलुकभरका अस्पतालका चिकित्सक र अन्य कर्मचारीको बोली व्यवहार मिठो हुनुपर्ने बताए । सांसद धनबहादुर रायमाझीले भूकम्पपीडित जनतालाई प्रतिबद्धता गरेअनुसारको राहत हालसम्म उपलब्ध गराउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद नरबहादुर थापामगरले गत साउनमा बागलुङमा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको जानकारी सरकारलाई भए पनि हालसम्म प्रभावकारी रुपमा राहतका कुनै काम नभएको गुनासो गरे । सांसद पुरुषोत्तम पौडेलले मुलुकको सीमामा भएको हस्तक्षेप र जनताले दुःख पाएको समाचार दिनहुँ आए पनि सरकार मौन रहेको टिप्पणी गरे । सांसद पाँचकर्ण राईले खोटाङमा स्थानीय तह पुनःसंरचना सम्बन्धमा सर्वसम्मतिले पठाएको निर्णयलाई आयोगले गाउँपालिकालाई छिन्नभिन्न हुने गरी प्रतिवेदन गरेकोमा आपत्ति जनाउँदै यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रतिक्षा तिवारीले भूकम्प गएको लामो समय बितेपनि विशेष रुपमा महिला वर्ग अझै असुरक्षित भएर बस्न बाध्य हुनुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद प्रेमबहादुर आले डोटीमा रहेका विमानस्थल निर्माण र सञ्चालनमा सरकारले तदारुकताका साथ काम गर्नुपर्ने धारणा राखे ।

यस्ता छन् शुक्रबारको मन्त्रीपरिषद् बैठकका निर्णय

काठमाडौँ, माघ १४ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रशासनिक र पूर्वाधार निर्माण सम्बन्धि महत्वपूर्ण निर्णयहरु गरेको छ । शुक्रबार विहान बसेको मन्त्रीपरिषद्को बैठकले गरीबी निवारण कोषको उपाध्यक्ष छनोट समितिमा विज्ञको रुपमा डा. महेन्द्र सिंहलाई नियुक्त गरेको छ । बैठकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय लिएको छ । बैठकले आगामी वर्ष हुने बिमस्टेकको बैठक र आतिथ्यताको प्रबन्ध नेपालले गर्ने निर्णय गरेको छ । मुस्ताङ जिल्लाको लोमान्थाङ आसपासको क्षेत्रमा नापी गर्न बाँकी रहेको जमिनलाई छिटै नापी गर्ने, नवलपरासीको बेलाहानी लगायतका क्षेत्रका बसोबासीहरुको जग्गा दर्ता गर्ने प्रयोजनका निम्ति एक समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले नेपाल सरकारका शाखा अधिकृतहरुको प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा शैलेन्द्र गिरीलाई नियुक्त गरेको छ । बैठकले प्रकाश माथेमालाई नेपाल सरकारको सचिव पदमा पदोन्नति गरेको छ । त्यसैगरी डा. गोविन्द केसीसँग भएका सहमतिहरुको कार्यान्वयनका लागि गौरीबहादुर कार्कीको संयोजकत्वमा डा. श्रीकृष्ण गिरी, उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सदस्य रहेको एक समिति गठन गरिएको छ । बैठकले सडक लगायतका विकास पूर्वाधारको तिब्रताका लागि विभिन्न स्थानमा योजना कार्यालयहरु स्थापना गर्ने निर्णय लिएको छ । त्यसैगरी स्थानीय तह पूनर्संरचना आयोगले पेश गरेको प्रतिवेदन राजनीतिक तहमा छलफल गरेर मन्त्रीपरिषदमा पेश गर्ने निर्णय भएको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

युएईमा सुरक्षागार्डको तलब बढ्यो

काठमाडौँ, माघ १४ । युनाइटेड अरब इमिरेट्स (युएई)मा सुरक्षा गार्डको तलब बढेको छ । यसअघि लिएको तलबमा पाँच वीस दिराम बढेको त्यहाँको सञ्चार माध्यमले जनाएका छन् । युएईको दुवै शहरमा सेक्युरिटी गार्डको जागिर खानेहरु धेरै रहेका छन् । तर अबदेखि रेक्युरिटी गार्डमा जागिर खानेले राम्रो तालिम लिएको हुनुपर्ने नियम बनाइ तलब बृद्धि गरिएको जनाएका छन् । बढेपछि सुरक्षा गार्डले १९२० दिराम पाउनेछन् । यस अघि सेक्युरिटी गार्डले १४४० दिराम तलव बुझ्दै आएका थिए । तलब बढेपछि त्यहाँ रहेका लाखौ नेपालीलाई फाइदा हुने भएको छ ।

अाज देशका सबै ठाउँमा दिनभर वर्षा हुने

काठमाडौं, माघ १४ । शुक्रबार काठमाडौंको मौसममा बदली भएको छ । यतिबेला काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हल्का वर्षा भइरहेको छ । अहिले पानी परिरहेको छ । मौसमविदका अनुसार अहिले पश्चिम र सुदूरपश्चिमका धेरैजसो ठाउँमा पानी परिरहेको छ । यस्तै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, जिरीलगायत क्षेत्रमा हिमपात भएको मौसमविदले बताए । जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार धनगढीमा ७ मिलिमिटर, डडेल्धुरामा ६ मिलिमिटर, दिपायलमा ५ मिलिमिटर, वीरेन्द्रनगर र जुम्लामा २२ मिलिमिटर, नेपालगञ्जमा १ मिलिमिटर, दाङमा शून्य दशमलव ३ मिलिमिटर पानी परेको छ । पोखरा लगायत आसपासका क्षेत्रमा पनि अहिले पानी परिरहेको छ । पश्चिमी वायू नेपालबाट फर्किने क्रममा रहेकाले भोलिदेखि मौसम सफा हुने महाशाखाले जनाएको छ । पानी परेसँगै एक दुईदिन चिसो केही बढ्ने बताइएको छ ।

निर्वाचन आयोगलाई पुर्णता दिन संवैधानिक परिषदको वैठक बस्दै

काठमाडौं, माघ १४ । निर्वाचन आयोगलाई पूर्णता दिन  बिषयमा छलफल  गर्न सिंहदरवारमा अपरान्ह २ वजे संवैधानिक परिषदको वैठक आज वस्दैछ ।   निर्वाचन आयोगमा रिक्त ३ जना आयुक्त नियुक्ती सिफारिस सम्बन्धमा आज हुने बैठकमा छलफल हुने  प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सरकारले निर्वाचन मिति घोषणाको तयारी अन्तिम चरणमा पुर्‍याएको र आवश्यक कानुन निर्माणले पनि गति लिँदै गरेको अवस्थामा आजको बैठकले आयोगलाई पुर्णता दिने विषयमा छलफल गर्नेछ । निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र आयुक्त सहित ५ जना रहेने ब्यवस्था छ तर हाल प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादव र आयुक्त इला शर्मा मात्र छन् । परिषद्ले यही महिनाभित्र आयोगलाई पूर्णता दिने लक्ष्य राखेको छ ।  

प्रधानमन्त्री कार्यालयद्वारा कतारमा अलपत्र तीन नेपालीको उद्दार

माघ १४, काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्दार गरिएको छ । कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकाका तिलक बिष्ट, लक्ष्मणसिंह पन्त र हरिश भण्डारी कार्तिकको तेस्रो साता वैदेशिक रोजगारीका लागि कतार गएका थिए । काठमाडौंको अवतार ह्युमन रिसर्च मेनपावर कम्पनिलाई प्रतिव्यक्ति २ लाख साठी हजार बुझाएर कतार पुगेका उनीहरु काम नपाएर बेरोजगार भएका थिए । तीन महिनासम्म काम नपाएपछि उनीहरुले प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरी उद्दारका लागि अनुरोध गरेका थिए । पीडितको अनुरोधपछि प्रधानमन्त्री कार्यालयले परराष्ट्र र श्रम मन्त्रालयसँग समन्वय गरी अलपत्र नेपालीलाई नेपाल झिकाउन कुटनीतिक पहल गरेको थियो । त्यसलगत्तै कतारमा रहेको नेपाली दुतावासले थप पहल गरी उनीहरु माघ ११ गते नेपाल आइपुगेका हुन् । नेपाल फर्काएपछि प्रधानमन्त्री कार्यालयले पीडितले मेनपावरमा भुक्तान गरेको पैसा फिर्ता दिलाउने पहल थालेको छ ।

छड्के गरेर भएपनि जनतालाई सेवा दिन प्रधानमन्त्रीको निर्देशन

कुश्मा, माघ १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी कार्यालय र कर्मचारीहरुको छड्के जाँच गरेर भए पनि जनतालाई राम्रो सेवा दिन पर्वत जिल्लास्थित सरकारी कार्यालयका प्रमूखहरुलाई निर्देशन दिएका छन् । बिहीबार जिल्ला सदरमुकाम कुश्मा सरकारी कार्यालयका प्रमूखहरुलाई प्रधानमन्त्रीले उक्त निर्देशन दिएका ह’न् । प्रधानमन्त्री भने, ‘हुने र मिल्ने काममा पनि सरकारी कर्मचारीले जनतालाई दुःख दिने गरेको गुनासा आएका छन् । जनताको सेवालाई केन्द्रमा राखेर काम गर्नुस् । प्रमूख जिल्ला अधिकारी यहीँ हुनुहुन्छ, सरकारी कार्यालय र कर्मचारीको छड्के जाँच गरेर भएपनि जनतालाई राम्रो सेवा दिनुहोस् ।’ कार्यालय प्रमूखहरुलाई निर्देशन दिँदै प्रधानमन्त्रीले थपे, ‘पूँजीगत खर्च बढाउने सरकारको लक्ष्य छ । त्यसमा तपाईहरुले विशेष रुपमा ध्यान दिनुहोस् । जिल्लास्थित विकास आयोजनाहरुको निरन्तर निरीक्षण र अनुगमन गरेर नजितामूखी काम गर्नुस् । सरकारी बजेट अनावश्यक शीर्षकमा खर्च हुने गरेको बेथिति रोक्नुस् र सुशाासनको प्रत्याभूति गराउनुस् । पर्वत जिल्ला पनि भूकम्प प्रभावित जिल्ला हो, पूनर्निर्माणको कामलाई प्राथमिकता दिनुस् र मोडेल जिल्ला बनाउनुस् ।’ सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणाको तयारीमा रहेको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘निर्वाचन नगरी संविधान कार्यान्वयन हुँदैन । सरकार स्थानीय तहको निर्वाचनको तयारीमा छ । तपाईहरुले त्यसको राम्रो तयारी गर्नुस् । अब देश निर्वाचनको दिशामा अघि बढ्छ ।’

संविधान कार्यान्वयन गर्न दलहरु एक हुनुपर्छः सभापति देउवा

दाङ,  माघ १४ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान जारी गर्दा मिलेका दलहरु संविधान कार्यान्यन गर्न पनि एक हुनुपर्ने बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले बिहिबारदेखि सञ्चालन गरेको मध्यपश्चिम व्यापारिक महोत्सवको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “जसरी सबै दल मिलेर संविधान जारी गरेका थियौँ, त्यसैगरी कार्यान्वयनमा पनि एक हुन अतिआवश्यक छ ।” सभापति देउवाले हाल देखिएको विवाद मिलाएर स्थानीय तह चुनावको घोषणा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “प्राप्त उपलब्धि रक्षाका लागि दलहरु एक ठाउँमा आउनुको विकल्प छैन, तपाईँहरु ढुक्क हुनुहोस्, हामीहरुले चुनाव गराएरै छाड्छौँ ।” अबको एक सातापछि स्थानीय निर्वाचनको मिति घोषणा हुने उहाँको भनाइ थियो । उहाँले दाङको विमानस्थलको स्तरवृद्धिका साथै विमानस्थलमा इन्धन डिपो निर्माणका लागि आफूले पहल गर्ने आश्वासन पनि दिनुभयो । महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन तथा अन्तर्राष्ट्रियकरण गर्न मद्दत पुग्ने बताउँदै उहाँले निजी क्षेत्रको लगानीबिना देशको विकास नहुने भएकाले निजी क्षेत्रलाई साथै लैजानुपर्ने औंल्याउनुुभयो । सो अवसरमा नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले अब तीन दल मिल्नुको विकल्प नभएको बताउनुभयो । “लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि तीन दल एक ठाउँमा आउनुपर्छ”–उहाँले भन्नुभयो, “यो वा त्यो दल हैन, यदी हामीहरु समयमै मिल्न सकेनाँै भने प्राप्त उपलब्धि सबै गुम्नेछन्, सबै दलहरु असफल हुनेछौँ ।” यही माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न कृषि, पर्यटन र मनोरञ्जनका स्टल राखिएका छन् । हापुरखोला पुल शिलान्यास यसैबीच, सभापति देउवाले आजै दाङको डुरुवा र कोटेडाँडा जोड्ने हापुरखोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गर्नुभएको छ । रु १० करोड ५० लाख लागतमा निर्माण हुन लागेको पुल २०७५ चैत अन्तिममा निर्माण सम्पन्न गर्ने गरी एसबिए सूर्य जेवी, सुर्खेतले ठेक्का लिएको छ । सडक विभागका क्षेत्रीय निर्देशक मुक्ति गौतमको अध्यक्षतामा देउवाको प्रमुख आतिथ्य तथा सिँचाइ मन्त्री दिपक गिरीको विशिष्ट आतिथ्यमा भएको शिलान्यास कार्यक्रममा बोल्दै सभापति देउबाले पुल निर्माणसँगै यहाँका जनतालाई सहज हुने भएकाले समयमै पुल निर्माण गर्न आग्रह गर्नुभएको थियो । पुल निर्माणसँगै डुरुवाका वडा नं १, २ र ४ जोडिनेछन् । रासस

महतकै कारण घट्यो नुवाकोटमा घटना

नुवाकोट, माघ १३ । गाउँपालिका खारेजीको विरोधमा १० दिनदेखि नुवाकोटमा भइरहेको स्थानीयको आन्दोलनमा दबाएको विषयमा नेपाली काँग्रेस पार्टीभित्रै पुर्वअर्थमन्त्री डा.रामशरण महतको आलोचना भएको छ । उनले जिल्लामा सीमाङ्कनको विषयमा आन्दोलन दबाउन बिहिबार खेलेको भूमिका गलत भएको जिल्लामा क्रियाशील नेताहरुले आलोचना गरेका छन् । बुधवार नुवाकोटको ढिकुरेमा प्रहरी र काँग्रेस कार्यकर्ताहरुसहित पुगेका उनको नेतृत्वमा शान्तिपूर्ण आन्दोलनमा चलाइएको गोली प्रहारबाट १५ जनाभन्दा बढी स्थानीय घाइते भएका छन् । विद्यालयमा विद्यार्थीहरु अश्रुग्याँसबाट बेहोस् छन् भने कयौँ किसानहरुलाई घर, खेत– खेतबाट महतकै निर्देशनमा गिरफ्तार गरी निर्घात कुटपिट गरिएको छ । प्रस्तावित लिखु गाउँपालिकालाई पुर्नसंरचना आयोगले हटाइएको विरोधमा उक्त गाउँपालिकामा पर्ने खानिगाउँ, चौघडा, थानसिंङ र सुर्यमति गाविसका स्थानियवासी विगत १० दिनदेखि पुर्ण रुपमा बन्द गर्दै आन्दोलनमा उत्रिएका छन् । सयौँको संख्यामा पुगेको प्रहरीले महतकै प्रत्यक्ष उपस्थितिमा आन्दोलन दमन गर्न अश्रुग्याँस र गोली प्रहार गरेपछि स्थानियवासीले ढुंगामुढासहित प्रतिकार सुरु गरेका थिए । स्थानीयको आन्दोलनले उग्र रूप लिएपछि महतलाई जोगाउन भन्दै प्रहरीले अश्रुग्याँस र रबरको गोली चाएको हो । भागेर घरभित्र लुकेका गाउँलेहरुलाई घर–घरबाट थुतेर प्रहरीले लाठी र बुट बर्साएपछि दिनभरजसो गाउँ रणमैदान बनेको थियो । धेरैको घरमा लात हानेर ढोकाहरुसमेत फुटाइदिएको छ भने यस भेगको मुख्य बालीका रुपमा रहेको आलुखेतिसमेत प्रहरीले नष्ट गरिदिएको छ । जनताले जिताएको नेताकै नेतृत्वमा बर्बर दमन गरिएको भन्दै नुवाकोटका सबै राजनीतिक पार्टीहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा लगायतका नेता तथा साँसदहरुले विरोध जनाएका छन् । काँग्रेस नेता तथा शहरी विकास मन्त्री अर्जुननरसिँह केसी, कृषि राज्यमन्त्री राधिका तामाङ, पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता हितबहादुर तामाङ, साँसदहरु जगदिश्वर नरसिंह केसी, राममायाँ बोगटी लगायतले नागरिकले मागेको अधिकार दिलाउनभन्दा महत जस्तो नेता दमनमा उत्रिनु दुखद रहेको प्रतिक्रिया दिएका छन् । ‘महतले आफूखुसी पुर्नसंरचना प्रस्तावलाई भत्काउने र बनाउने अधिकार छैन, पुर्वमन्त्री एवं माओवादी नेता हितबहादुर तामाङले प्रतिक्रिया दिँदै भने, ‘उनको व्यक्तिगत स्वार्थमा आयोगजस्तो निष्पक्ष र संवेदनशील निकाय प्रलोभन र प्रभावमा पर्नु लाजमर्दो विषय हो ।’ अझ जनताको अधिकार खोसेर पनि उल्टै जनतालाई सहानुभूतिको साटो गोली र अश्रुग्याँस खुवाउने महतको यो निरंकुश चरित्र भएकोमा नेता तामाङले आक्रोश पोखे । स्थानीय तह पुन संरचनाप्राविधिक सहयोग समितिले जिल्लाबाट सिफारिस भएको प्रस्तावलाई नेता महतले उल्टाएको चर्को आरोप लगाउँदै नागरिकहरुले त्यसलाई सच्याउनुपर्ने माग राख्दै आन्दोलनरत छन् । गएको शुक्रवार पनि सदरमुकाम विदुरस्थित जिल्ला विकास कार्यालयमा असन्तुष्ट पक्षले तोडफोड र आगजनी गरेपछि प्रहरीले प्रहार गरेको गोली लागेर केही स्थानीयवासी घाइते भएका थिए । जिविसको आधा दर्जन भन्दा बढी कम्प्युटर, विद्युतिय सञ्चार सामाग्रीहरु, फर्निचर र कार्यालयको दुईवटा गाडी तथा झ्यालका सिसाहरु पुर्णतयाः नष्ट गरेका थिए । जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र सहितका सबै दलहरुसमेतको स्थानिय निकाय पुर्नसंरचना प्राविधिक समितिले ४ महिना लगायर लिखुसहित १२ गाउँपालिका सिफारिस आयोगसमक्ष पेश गरेको थियो । काँग्रससमेतले सहमति जनाएको उक्त प्रस्ताव भने नेपाली काँग्रेसका नेता डा. रामशरण महत र उनीनिकट कार्यकर्ताहरुले असहमति राख्दै आएका थिए । आफ्नो व्यक्तिगत स्वार्थ, भोट र कार्यकर्तालाई पछि चुनावमा उम्मेदवारको रुपमा व्यवस्थापन गर्ने नियतले नै लिखु गाउँपालिकालाई हटाएको स्थानियवासीको आरोप छ ।

नेविसंघको घोषणाः उमेर हद नहटाए स्ववियु निर्वाचनमा नजाने

काठमाडौं, माघ १३ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनमा उमेरको हद तोकेर त्रिभुवन विश्व विद्यालयले गम्भीर भूल गरेको आरोप लगाएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौंले गरेको एक पत्रकार सम्मेलनमा उपस्थित वक्ताहरुले यस्तो आरोप लगाएका हुन् । कार्यक्रममा नेविसंघका उपाध्यक्ष सागर परियारले मिश्रित चुनाव प्रणाली र उमेरको हद तोकेर गरिने स्ववियु निर्वाचनमा नेविसंघले भाग नलिने बताए । त्यस्तै जबरजस्ती गर्न खोजे त्यसको प्रतिकारमा उत्रिने चेतावनी उनले दिए । त्यस्तै उपाध्यक्ष उर्मिला थपलियाले विद्यार्थी हुनको लागि उमेर आवश्यक नभए जस्तै विद्यार्थी आन्दोलन र विद्यार्थीको हकहितको लागि काम गर्नको लागि पनि उमेर नचाहिने बताइन् । नेविसंघ जिल्ला कार्यसमिति काठमाडौंका सभापति मनोज वैद्यले उमेर हद तोकेर त्रिभूवन विश्व विद्यालयले स्ववियु निर्वाचन गर्ने सपना देखेको छ भने त्यो दिवा सपना मात्रै हुने बताए । तोकिएकै समय फागुन १४ गते नै निर्वाचन हुनपर्छ भन्ने पक्षमा भएको भएतापनि उमेर हद खारेज गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

आयोगको प्रतिवेदन स्वीकार्य छैन : यादव

काठमाडौं, १३ माघ। संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले स्थानीय तह पूर्नसंरचना आयोगले अघि सारेको प्रतिवेदन आफूहरुलाई स्विकार्य नभएको जिकिर गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता यादवले भने, ‘५२ प्रतिशत जनसख्या ओगटेको तराईमधेशमा मुस्किलले २५ प्रतिशत छ, यो न्यायोचित होईन, संरक्षित क्षेत्र, विशेष क्षेत्र र स्वायत्त क्षेत्रको पनि कुरै छैन, अनि कसरी चुनाव गराउने ?, नयाँ व्यवस्था अनुसार, पूरानो त गैसक्यो ?’ संघीय समाजवादी फोरम नेपालका समेत अध्यक्ष रहेका संयोजक यादवले सबै राजनीतिक दलले एक अर्काले समस्या बुझेर समन्वयात्मक बाटो खोजेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए। यादवले संविधान संशोधनले नै मुलुकले निकास पाउने भएकोले यसमा एमाले बाधक बन्न नहुने जिकिर गरे। अध्यक्ष यादवले मुलुकको आन्तरिक समस्यालाई आँफैले हल गर्न सकिए अरुले केही गर्न नसक्ने समेत स्पष्ट पारे। यादवले अहिलेसम्म सरकार र प्रमुख दलहरु स्थानीय तहको चुनाव गर्ने कि स्थानीय निकायको भन्नेमा नै अन्यौलमा रहेको आरोप लगाएका छन् । उनले भने, ‘संविधानमा स्थानीय तहको निर्वाचन गर्ने व्यवस्था छ, निकाय पूराने भैसक्यो, तहको गर्ने हो भने आयोगको प्रतिवेदन मन्त्रालयमा थन्किएर बसिरहेको छ, प्रतिवेदनको जताततै विरोध भैरहेको छ।’ फरक प्रसँगमा उनले नेपाल–भारत सम्बन्ध जति राम्रो भयो त्यति नै दुवै मुलुकको लागि हित हुने समेत स्पष्ट पारे। यादवले विदेश नीतिबारे सबै दलहरुवीच एकरुपता हुनुपर्ने बताउँदै भने,‘विदेश नीति मुलुकको हुनुपर्छ, पार्टी पार्टीवीच भिन्दाभिन्दै होईन।’ यादवले नेपालमा दलैपिच्छै छुट्टाछुट्टै विदेश नीति भएकोले गडबडी भएको गुनासो गरेका छन् । उनले नेपाल–भारतवीचका एक अर्काका संवेदनशिलतालाई कूटनीतिक माध्यमबाट छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले नेपालले भारतको आर्थिक विकास, समृद्धिबाट फाईदा लिन सक्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

‘स्थानीय तहको निर्वाचनपछि संविधान संशोधन’

चितवन, माघ १३ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधन प्रस्तावको टुङ्गो लाग्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाइ भएकाले संविधान संशोधन प्रस्तावमाथि नअल्मलिई यथाशक्य चाँडो निर्वाचनको मिति घोषणा गर्नुपर्ने विचार व्यक्त गरे । दलीय सहमति गरेर छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने उनको भनाइ थियो । नयाँ संरचनामा निर्वाचन गर्दा समय लाग्ने भएकाले अहिलेकै अवस्थामा स्थानीय तहको निर्वाचन गर्नुपर्ने पनि महामन्त्री कोइरालाले बताए । स्थानीय तह र प्रदेशको निर्वाचन गर्दा दुई÷तीन महिना समय रहने भन्दै उनले सोही समयमा संविधान संशोधन प्रस्तावको टुङ्गो लगाउनु पर्ने बताए । राजनीतिक दृढता हुन सके मात्र आउँदो माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्न सकिने भन्दै उनले समय थप गर्न नहुने उल्लेख बताए । नेपाली काँग्रेससँग भएको सहमतिअनुरुप प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार स्थानीय तहको निर्वाचनसम्म रहने महामन्त्री कोइरालाले बताए ।

चुनावका लागि तयारी रहन सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

पोखरा, माघ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा तयार रहन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । बिहिबार पोखराको लामपाटनमा अायोजित सशस्त्र प्रहरीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले अर्काे वर्षको माघ ७ भित्रै तीनै चरणको चुनाव गराउने भएकोले तयारी रहन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले भने, ‘मुलुकमा नयाँ संविधान जारी भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा निकट भविष्यमा घोषणा हुने स्थानीय तह, प्रदेश र संघीय निर्वाचनहरुको लागि तयारी अवस्थामा रहन सम्पूर्ण सशस्त्र प्रहरी राष्ट्र सवेकहरुलाई निर्देशन गर्दछु ।’ ‘हाल मुलुक संक्रमण अवस्थामा गुज्रिरहेको अवस्थामा विधिको शासनको मूल मर्मलाई आत्मसाथ गर्दै कानुन कार्यान्वयन गराउने निकायहरु थप चनाखो एवं होसियार रहेर आफ्ना काम कारवाही संचालन गर्नु अहिलेको आवश्यकता हो’ प्रचण्डले भने । सि.स ११ शसस्त्र प्रहरी निरीक्षकको आधारभूत तालिमको दीक्षान्त समारोहमा २५ जना प्रहरी दीक्षित भएका छन् । ५४ हत्तासम्म चलेको तालिमबाट उनीहरु दीक्षित भएका हुन् । ‘मुलुकमा दोहोरिरहने विपदका घटनाहरुबाट हुनसक्ने जनधनको क्षति न्यूनिकरणका लागि तत्काल खोज उद्धार र राहत दिने कार्यमा लाग्न सकल दर्जालाई न्यूनिकरण दिन चाहन्छु’ उनले भने । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, शसस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राई लगायतको सहभागिता रहेको थियो ।  

एक साताभित्र उपकुलपति नियुक्त नगरिए सेवा ठप्प गर्ने

जुम्ला, माघ १३ । नौ महिनादेखि उपकुलपतिविहीन बनाइएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले उपकुलपति नियुक्त गर्न अझै ढिलाइ गरिए सेवा ठप्प गर्ने चेतावनी दिएको छ । प्रतिष्ठानका नर्सिङ डिन गायत्री राईको अध्यक्षतामा यहाँको मेडिकल डाइरेक्टर, चिकित्सक तथा कर्मचारी सहभागी बैठकले सेवा बन्द गर्ने चेतावनी दिएको हो । जुम्लामा बुधबार पत्रकारसम्मेलनको आयोजना गरी एक साताभित्र पदाधिकारी नियुक्त नगरिए प्रतिष्ठान केन्द्रीय कार्यालयको सम्पूर्ण सेवा ठप्प गर्ने बताएका छन् । प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले पत्रकारमाझ सेवा ठप्प गर्ने कुरा सार्वजनिक गरिएको र अपिलमार्फत सहकुलपतिलाई जानकारी गराइएको बताए । “गएको असोज १४ लिखित रुपमा कार्यवाहक उपकुलपतिको जिम्मा पाएका डा. धर्मराज श्रेष्ठ अधिकांश समय सम्पर्क कार्यालयमा बस्दै आउनुभएको छ, प्रतिष्ठान विषम परिस्थितिमा पुग्दा पनि सरकारले पदाधिकारी नियुक्तिमा ध्यान दिएको छैन, यो प्रतिष्ठानलाई अपहेलना गरिएको छ, यदि यही अवस्थालाई कायम राखिए अस्पतालका सबै सेवा पूर्ण रुपले बन्द गर्छौं,” उनले भने । प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा. पुजन रोकायाले पदाधिकारी रिक्त हुँदा प्रतिष्ठानको सबै क्षेत्रमा अस्तव्यस्त भएको गुनासो गरे । नेतृत्व गर्ने पदाधिकारी नभएपछि जनशक्तिको अभाव पनि हुँदै गएको डा. रोकायाको भनाइ छ । यता डा सूर्यमान लिम्बूले उपकुलपति मात्र नभई रजिस्ट्रार र अस्पताल निर्देशक समेतका पदाधिकारी नहुँदा लामो समयदेखि कार्य परिषद्को बैठक बस्न नसकेको बताउनुभयो । डा. लिम्बूका अनुसार प्रतिष्ठानको परिचालन तथा व्यवस्थापनमा निकै ठूलो समस्या हुँदै गएको छ । पदाधिकारीविहीन हुँदा प्रतिष्ठानको तीन सय शय्याको निर्माणाधीन भवनको कामको भुक्तानी दिन नसकिएको प्रतिष्ठानले जनाएको छ । मुलुकका अन्य प्रतिष्ठानमा पदाधिकारीविहीन हुने बित्तिकै तुरुन्तै सरकारी चासो हुने तर यहाँको प्रतिष्ठानमा नौ महिना पदाधिकारीविहीन हुँदा पनि सरकार उदासीन देखिएकामा कर्णालीवासीले आक्रोश पोख्दै आएका छन् । रासस