सिन्धुपाल्चोकमा किशोरीहरु रातारात गायब हुँदै

सिन्धुपाल्चोक, चैत १ । गत माघ ५ गते बाह्रबिसे नगरपालिका ८ जम्बुपारीकी २१ बर्षीया कमला दाहाल एकाएक माइतबाटै गायब भइन् ।

दुई दिनसम्म परिवारले व्यापक खोजी गर्यो । कतै नभेटेपछि उनीहरु निराश छन् ।

कमला हराएको दुइ दिनपछि बाह्रबिसे कर्थलीकी २६ बर्षीया विमला तामाङ पनि त्यसरी नै हराइन् ।

बाह्रबिसे नगरपालिकामा मात्रै २०७४ साउनदेखि हालसम्म ३० किशोरी हराएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पछिल्ला दिनमा किशोरी हराउने क्रम बढेको छ । आजको कान्तिपुरको पृष्ठ १७ मा यो समाचार छापिएको छ ।

‘यो बर्षमात्रै किशोरी हराएका १२ वटा निवेदन परे । त्यसमा ५ जनालाई फेला पार्यौँ ।’ माइती नेपालकी जिल्ला संयोजक पवित्रा घिमिरेले भनिन्, ‘भूकम्पपछि ११ देखि २४ बर्षका ३८ किशोरी गायब छन् ।’

तीमध्ये १३ जनाको मात्रै उद्धार गर्न सकेको उनले बताइन् ।

जिल्ला प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोखरेलले भने, ‘भूकम्पपछि अहिलेसम्म ७३ जना हराएकामा ५२ जना अझै भेटिएका छैनन् । हराएका मध्ये अधिकांश किशोरी छन् ।’

उनले किशोरी बेचबिखनमा परेको हुनसक्ने बताए । वैदेशिक रोजगारको प्रलोभन देखाएर दलालहरुले किशोरी लाने गरेको उनको भनाइ छ ।

गृहमन्त्रीको निर्देशन–’ट्राफिक जाममुक्त नेपाल घोषणा गर्नेगरी कार्य गर्नु’

काठमाडौं, फागुन २९ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जनताले महसुस गर्नेगरी उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखलगायतका सरकारी पदाधिकारीलाई आज गृह मन्त्रालयमा बोलाएर तत्काल सडक जाम हटाउने कार्ययोजना ल्याउन गृहमन्त्री थापाले निर्देशन दिनुभयो । उहाँले ट्राफिक व्यवस्थापन गर्न तीन महिना, छ महिना कति सयम लाग्छ सोहीअनुरुपको खाका बनाउन सरकारी अधिकारीहरुलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “विद्युत्भार कटौतीमुक्त नेपाल घोषणा गरिएजस्तै ट्राफिक जाममुक्त नेपाल घोषणा गर्नेगरी कार्ययोजना अघि बढाउनुहोस् ।” गृहमन्त्री थापाले सडक, पुल निर्माणमा ढिलासुस्ती हुनुमा भ्रष्टाचार र अनियमितता जोडिएको भन्दै त्यसको छानबिन हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सडक, पुल बनाउन ठेक्का लिने तर समयमै सम्पन्न नगर्नेलाई समेत कारबाहीको दायरामा ल्याउनुहोस् ।” उहाँले यातायात क्षेत्रमा ‘सिण्डकेट’को दबदबा रहेको भन्दै त्यसको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनताको अभिलाषा सुरक्षित यात्रा’ भन्ने नारासहित सडक दुर्घटनालाई न्यूनीकरण गर्ने अभियान शुरु गर्न आवश्यक रहेको उहाँको भनाइ छ । कार्यक्रममा सरकारी पदाधिकारीले सरकारी संयन्त्रबीच समन्वयको अभाव, ठेकेदारको लापरबाही, राजनीतिक हस्तक्षेप, जनशक्ति र आर्थिक अभावलगायतका कारणले ‘ट्राफिक जाम’ र सडक निर्माणमा ढिलाई भइरहेको जानकारी गराएका थिए । समन्वय समिति बनाइने ट्राफिक व्यवस्थापन, सडक तथा पुल निर्माणमा भएका ढिलासुस्तीलगायतका विषयको नियमित समन्वय र अनुगमन गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा समन्वय समिति गठन गरिने भएको छ । सडकसँग जोडिएका क्षेत्रहरु महानगरपालिका, नगरपालिका, नेपाल विद्युत प्राधिकरण, यातायात व्यवस्था विभाग, सडक विभाग, ढल व्यवस्थापन गर्ने निकाय, दूरसञ्चार प्राधिकरणलगायत विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिसमेत रहनेगरी यस्तो समिति गठन गर्ने प्रस्ताव आजको बैठकले गरेको हो । त्यसका लागि छिट्टै सबै सरोकारवाला निकायहरुलाई डाकेर अर्को बैठक बस्ने सहमति आजको छलफलमा भएको छ । जनताबाट ट्राफिक व्यवस्थापन र सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे आएका जनगुनासो सम्बोधन गर्न यस्तो समिति गठन गर्नुपर्ने आवश्यकता देखिएको गृहमन्त्री थापाले बताउनुभयो ।

पोष्टरमा रजनीकान्तसँग बसेको कुकुर ४ करोड तिरेर किन्नेको हानथाप !

मुम्बई । बलिउड क्षेत्रका सुपरस्टार रजनीकान्त स्टार बलिउड चलचित्र ‘काला’ आगामी अप्रिल २७ मा रिलिज हुने भएको छ । पीए रञ्जीतले निर्देशन गरेको चलचित्रको ट्रेलर केही दिनअघि मात्रै सार्वजनिक भएको थियो । यस्तै फिल्मको पोस्टर पनि केही दिन अघि सार्वजनिक गरिएको थियो । पोस्टरमा रजनीकान्तसँग एउटा कुकुर देखाइएको छ । सुपरस्टार रजनीकान्तसँग बसेको कुकुर किन्नलाई अहिले होडबाजी सुरू भएको छ । रजनीकान्तका फ्यानहरू उक्त कुकुर किन्नलाई आतुर भएको बताइएको छ । कुकुरका लागि उनीहरु ४ करोड रुपैयाँसम्म तिर्न तयार देखिको भारतीय मिडियाले जनाएका छन् । व्यवसायिक कुकुर प्रशिक्षक साइमनका अनुसार जब मलेसियामा रहेका रजनीकान्तका फ्यानहरुले ‘काला’ को पोष्टरमा रजनीकान्तको छेउमा मणि नाम गरेको कुकुरको देखे, उनीहरु उसलाई किन्नका लागि करोडौँ रुपैयाँ तिर्न हानथाप गरिरहेका छन् । तर, आफूले मणिलाई आफ्नो बच्चा जसरी पालेको हुँदा ती अफरहरु अस्विकार गरेको उनले बताए । मलेसियामा पनि रजनीकान्तको थुप्रै फ्यानहरु रहेका छन् । रजनीले त्यहाँ काबालीसहित कयौँ चलचित्रको सुटिङ गरेका छन् । एजेन्सीको सहयोगबाट

राप्रपा प्रजातान्त्रिकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार राईलाई मतदान गर्ने

काठमाडौं, फागुन २९ । राप्रपा प्रजातान्त्रिकले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कुमारी लक्ष्मी राईलाई मतदान गर्ने भएको छ । पार्टीको कार्यसम्पादन समितिको बैठकले मंगलबार हुने राष्ट्रपति निर्वाचनमा राईलाई समर्थन गर्ने निर्णय गरेको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए । मंगलबार बिहान १० बजेदेखि ३ बजेसम्म संघीय संसद भवन नयाँबानेश्वरमा राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनमा एमालेबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राई उम्मेदवार छन् । राष्ट्रपतिका दुवै उम्मेदवार भोजपुर निवासी हुन् ।

नेपालको शानदार बलिङ, हङकङको सातौ विकेट पतन

काठमाडौं, फागुन २८ । एकदिवसिय विश्वकप क्रिकेट छनोट अन्तर्गत आफ्नो चौथो खेलमा नेपाल हङकङसँग भिडिरहेको छ । टस हारेर बलिङ गरिरहेको नेपालले हङकङको सातौ विकेट झारेको छ । छटौं विकेटको रुपमा हङकङका निजाकत खानलाई नेपालका ललित राजवंशीले ४७ रनमा आउट गरेका हुन् । सातौ विकेटको रुपमा तनविर अफजाललाई बसन्त रेग्मीले आउट गरेका हुन् । नेपालले हङकङविरुद्ध नेपालले पाँचौ सफलता हात पारेको छ।हङकङका सिमान्दीप सिंहलाई ज्ञानेन्द्र मल्ले रन आउट गराएका हुन् । यसअघि सन्दीप लामिछानेले तेस्रो र चौथो विकेट लिएका थिए । उनले हङकङका सहिद वासिकलाई १ रनमा र अंशुमन रथलाई पनि १ रनमा आउट गराएका थिए । सोमपाल कामीले हङकङको महत्वपूर्ण विकेटको रुपमा हङकङका बाबर हायतलाई आउट गराएका थिए । उनले १६ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाएका हायतलाई आउट गरेका थिए । हङकङको पहिलो विकेट भने बसन्त रेग्मीले लिएका थिए । हङकङका ओननिङ ब्याट्सम्यान सी कार्टरलाई उनले ९ रनमा आउट गरेका थिए ।

तीन राप्रपाबीच एकता हुँदैं

काठमाडौं, फागुन २७ । राप्रपा, राष्ट्रिय प्रजातान्त्रिक पार्टी र एकीकृत राप्रपाबीच एकीकरणको प्रक्रियामा अघि बढेको छ । एकीकरणका लागि दोस्रो तहका नेताहरुबीच छलफल चलिरहेको राप्रपा प्रजातान्त्रिकका एक नेताले बताए । पार्टी विभाजनपछि भएको चुनावमा नराम्रो पराजय बेहोरेका तीनै दल एक भएर अघि बढ्न सैद्धान्तिक रुपमा सहमत छन् । तर एकीकरणको प्रकृया र ढाँचाबारे थप छलफल आवश्यक रहेको नेताहरुले बताएका छन् । राप्रपाबाट विजयी प्रतिनिधिसभाका एक मात्र सांसद राजेन्द्र लिङदेनले एक न एक दिन मिल्नै पर्ने भएका कारण एकीकरणको चरण तर्फ अघि बढ्ने बताउनुभयो । पार्टी फुट्दा निर्वाचनमा नराम्रो पराजय भोग्नुपरेका तितो यथार्थका कारण राष्ट्रिय राजनीतिमा बलियो पकड बनाउनका लागि मिल्नुको विकल्प नभएको लिङदेनले बताउनुभयो । एकीकरण प्रक्रियाबारे प्रकाशचन्द्र लोहनीले भने केही बताउन चाहनुभएन । गत साउनमा राप्रपा विभाजन भएर ३ वटा पार्टी बनेको थियो ।

बालअधिकारको गम्भीर उल्लंघन : स्कूलमा हुनुपर्ने बालिका बन्दीगृहमा !

लिबाङ, रोल्पा । झोलामा कापी–कलम बोकेर स्कूल जाने उमेरकी ४ वर्षीया बालिका आशा परियार जिल्ला कारागार रोल्पाको बन्दी गृहमा थुनामा छिन् । परियारकी आमाले आफ्नै दिदी पर्ने थबाङ रोल्पाकी सुनकुमारी नेपालीको हत्या गरेको पुष्टि भएपछि मुलकी ऐन ज्यान सम्बन्धीको १४ नं बमोजिम जिल्ला अदालत रोल्पाले १० वर्ष कैद हुने गरी २०७३ फागुन ३ गते फैसला सुनाएको थियो । यसरी आमा थुनामा परेपछि यी अबोध बालिकाले आमाले गरेको दुष्कर्मको सजाय भोग्दै आएकी हुन् । खाने, खेल्ने र केही सिक्ने उमेरमा थुनामा रहेकी बालिकाले पौष्टिक आहार खान न त के देख्नसम्म पाएकी छैनन् । साँझ–बिहानको दुई छाक खाना र चाउचाउ बिस्कुटले मात्र कसरी यी बालिकाको शारीरिक तथा मानसिक विकास होला ? यस विषयमा सरोकारवाला निकाय गम्भीर बन्न जरुरी देखिन्छ । अपराधजन्य घटना घटाएका बालबालिकालाई पनि कारागारभित्र थुनामा नराखेर बाल सुधार गृहमा राख्ने कानुनी व्यवस्था छ । तर पनि संरक्षण गर्ने अभिभावक नभएको हुँदा उनी करीब साढे एक वर्षदेखि आमाको संरक्षणमा जेल जीवन गुजार्न बाध्य भएकी हुन् । रुकुम काक्री स्थायी ठेगाना भएकी यी बालिकालाई घरमा हेरचाह गर्ने कोही नभएका कारण आमाले आफैँसँग राख्दै आएकोे बताइन् । आशाभन्दा माथिका ७ वर्षीय दाजु र ९ वर्षीया दिदी आमा जेल चलान भएपछि मामाको घरमा बस्दै आएका छन् भने उनीहरूका बुबा केही वर्षयता वैदेशिक रोजगारीमा साउदी अरबमा पसिना बगाई रहनुभएको छ । “बच्चालाई घरमा पठाउने अवस्था नभएको हुँदा आफँैसँग राख्दै आएकी हुँ,” आशाकी आमाले भनिन् । आशा ३ महिनाकी हुँदा उनका बुबा वैदेशिक रोजगारीका लागि घरबाट निस्कनु भएको थियो । “यसले बाउको न्यानो काख नपाए पनि थुनाभित्रै बाउको फोटो हेरेर हरेक दिन बाउलाई सम्झिरहन्छे । फोटो हेरेर कहिले बाबा आउनुस् भन्छे, कैले बाबा पैसा पठाइदिनुस् भन्छे तर के गर्नु,” उनकी आमाले दिक्क मान्दै भनिन् । यसरी जेल जीवन बिताइरहेकी बालबालिकाको भविष्यतर्फ न त परिवारले सोचेका छन् न त कुनै सरकारी कार्यालयको नै ध्यान जान सकेको छ । बालअधिकारका क्षेत्रमा काम गर्ने एनजीओ तथा आइएनजीओ पनि यी बालिकाको अवस्थाका बारेमा बेखबर छन् । यिनका बारेमा कसैले सोच्न भ्याएका छैनन् । यतिबेला आशालाई सहयोगी हातको खाँचो छ । जिल्ला कारागार कार्यालय रोल्पाका प्रहरी सहायक निरीक्षक लोकबहादुर भण्डारीका अनुसार आमा थुनामा परेसँगै बच्चाको उमेर र समय बर्बाद भइरहेको छ । “दिनहुँ बच्चाको अवस्था देख्दा दुःख लाग्छ । तर आफूभन्दा माथिल्ला निकाय हुने भएको हुँदा आधिकारिक रूपमा जवाफ दिन वा चाहेर पनि आफूले केही गर्न सकिने अवस्था छैन,” उहाँले भन्नुभयो । जिल्लामा केही वर्षयता बालबालिकाका क्षेत्रमा काम गर्दै आएको संस्था सेभ द चिल्ड्रेन रोल्पाका कार्यक्रम संयोजक इन्द्र बडुवालले आफ्नो कार्यक्रममार्फत बच्चालाई स्कूल ल्याउने लैजाने गर्न नसकिने भए तापनि कसैले व्यवस्था मिलाउन सके शैक्षिक सामग्री तथा आवश्यक लत्ताकपडा, पौष्टिक आहार एवम् विभिन्न किसिमका खेलौना उपलब्ध गराउन सकिने बताउनुभयो । रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले प्रशासनिक कुरा भएको हुँदा सरोकारवाला निकायसँग समन्वय गरी उनका लागि आवश्यक कपडा, खेलौना र पौष्टिक आहारका लागि भने सहयोग गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो– नैसर्गिक अधिकारबाट कुनै पनि बालबालिकालाई वञ्चित गरिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले हाल बालिका आमामै आश्रित भएको हुँदा आमाको साथमा राखिएको तर आमाको मञ्जुरी भएमा बालिकालाई तत्काल बन्दीगृहबाट बाहिर निकाल्न सकिने बताउनुभयो । बच्चा निर्दाेष भएको हुँदा उस्लाई कैदीबन्दी भन्न नमिल्ने र उसलाई अधिकारबाट वञ्चित गर्न पनि नहुने उहाँको धारणा छ । साथै बच्चाको भविष्यका बारेमा सबैभन्दा बढी उसका आफन्तलाई चिन्ता तथा चासो हुनुपर्ने प्रनाउ फुयालको सुझाव छ । जिल्ला कारागार कार्यालय रोल्पा र तुल्सी आवासीय माविको आँगन एउटै हो केवल बीचमा एउटा पर्खाल छ भने करिब १०० मिटर टाढा सरकारी विद्यालय बाल मन्दिर छ तर पनि त्यहाँसम्म पुग्नका लागि आशाको पहँुच छैन । कसैले पर्खाल कटाउने व्यवस्था मिलाउन सके आशाले अन्य नागरिकसरह स्वतन्त्रतापूर्वक बाँच्नुका साथै शिक्षाको उज्यालो ज्योति पाउनबाट समेत वञ्चित हुनुपर्ने थिएन । रासस

पारस खड्काले ५० रन पूरा गरेपछि‍‍‍…

काठमाडौं, फागुन २६ । आइसीसी विश्वकप छनोट अन्तर्गत अफगानिस्तानसँगको खेलमा कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन् । पारस खड्काले ५७ बलमा ७ चौका र एक छक्कासहित ५३ रन बनाएका हुन् । योसँगै उनले लिस्ट ए क्रिकेटमा आठ वटा अर्धशतक प्रहार गरेका छन् ।

वायु प्रदूषणबाट नेपालमा प्रत्येक वर्ष ३५ हजारको मृत्यु

काठमाडौं, फागुन २६ । वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले हुने वायू प्रदूषणका कारण अनेकौँ रोग निम्तिने र त्यो मानव मृत्युको प्रमुख कारकका रुपमा देखिएको जानकारी दिइएको छ । प्रदेश नं १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले विश्वव्यापी समस्याका रुपमा देखिएको वायु प्रदूषण समस्यालाई क्षेत्रीय, जातीय, धार्मिक र राजनीतिक बहसभन्दा ज्यादा महत्व दिएर छलफल गरी समाधान गर्नुपर्ने बताउनुभयो । नाष्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले वायु प्रदूषण नियन्त्रण गर्न प्रत्येक प्रदेशमा क्षेत्रीय मापन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिनुभयो । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा घनश्यामलाल दास र विराटनगर महानगर प्रमुख भीम पराजुलीले मानव स्वयंको असावधानीले जोखिम निम्त्याइरहेको धारणा व्यक्त गर्नुभयो । कार्यपत्र प्रस्तुत गर्नुहुँदै नाष्टका प्राज्ञ मदनलाल श्रेष्ठले वायु प्रदूषणका कारण विश्वव्यापी रुपमा फोक्सोको अर्बुद ३६, हृदयाघात ३४ र मुटुको बिरामी २७ प्रतिशत हुने गरेको बताउँदै दुई दशमलव पाँच माइक्रोनका धुलोका कण मानव स्वास्थ्यका लागि सबभन्दा हानिकारक रहेको जानकारी दिनुभयो । निःशुल्क स्वास्थ्योपचार नोबेल शिक्षण अस्पताल विराटनगरले रु चार करोड ५४ लाख ७१ हजार रकम बराबरको निःशुल्क स्वास्थ्योपचार सेवा उपलब्ध गराएको छ । दश महिनाका अवधिमा न्यून आर्थिक अवस्था भएका ७६४ बिरामीलाई उक्त रकम बराबरको निःशुल्क उपचार सेवा विपन्न नागरिक औषधोपचार कोषअन्तर्गत उपलब्ध गराएको अस्पतालका निर्देशक डा राजेश नेपालले बताउनुभयो । छ प्रकारको रोग भएका बिरामीको सहुलियतमा उपचार गरेर औषधिसमेत निःशुल्क उपलब्ध गराइएको जनाइएको छ । (रासस)

बोक्सी भन्दै किशोरी कुट्नेलाई कारबाही गर्न माओवादीको माग

काठमाडौं, फागुन २६ । नेकपा माओवादी केन्द्रले बोक्सी भन्दै किशोरीलाई कुटपिट गर्नेविरुद्ध कानुनी कारबाहीको माग गरेको छ। कैलालीको घोडाघोडी नगरपालिका–५ की १८ वर्षीया राधा चौधरीलाई बोक्सीको लान्छना लगाएर २४ फागुनमा कुटपिट भएपछि माओवादी केन्द्र प्रदेश नम्बर ७ ले विज्ञप्ति जारी ध्यानाकर्षण भएको जनाएको हो। राधालाई गुरुबा भनिने रामबहादुर चौधरीले आफ्नो घरमा भएको पूजामा नआएको भन्दै बोक्सीको लान्छना लगाएर मरणासन्न हुने गरी कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी किशोरीको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ। माओवादी केन्द्र प्रदेश ७ प्रचारप्रसार विभाग प्रमुख ओमविक्रम भाट ‘सरल’ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बोक्सी भन्दै लगातार ६ घन्टासम्म कुटपिट हुनु जस्तो अमानविय घटना घटेकोमा घोर भर्त्सना गर्दछौं। साथै उक्त घटनाको मुख्य अभियुक्त आफूलाई भोले बाबा बताउने रामबहादुर चौधरीलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न र पीडित युवतीको उपचारको सम्पूर्ण व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछौं।’ माओवादीले उक्त घटनामा सहभागी हुने र उक्त कार्य गर्न उक्साएर सहयोग गर्नेहरुलाई पनि कानुनको दायरामा ल्याउन माग गरेको छ। ‘२१औं शताब्दीमा पनि १८ औं शताब्दीको जस्तो बर्बरता र घृणित कुरितिका विरुद्ध सशक्त र प्रभावकारी रुपमा जनचेतनाका कार्यक्रम संचालन गर्नुका साथै यस्ताकार्य निरुत्साहित गर्न प्रदेश सरकारसँग आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। भिडियाे 

तेह्रथुम आगलानी: खरानीमा गहना खोज्दै पीडित

काठमाडौं, फागुन २६ । लालीगुराँस नगरपालिका ८ सोल्मा कालीमाटीका ४२ वर्षीय लक्ष्मी अधिकारीको परिवार आगलागी भएको चार दिनसम्म पनि आफ्नो ३ तोला सुनको गहना खरानीमा खोजिरहेको छ । सम्पतीको नाममा भएको जम्मा ३ तोला सुन पनि जलेपछि यो परिवारको बिजोग भएको छ । उनीहरू खरानी भएको घरको आगनमा थुप्रिएको माटोमा गहना खोजिरहेका छन् । केही वर्षअघि आगलागीमा परेर सर्वस्व गुमाएका लोकनाथ न्यौपानेको पनि सोही आगोले जीवनभर जोहो गरेको सम्पत्ति क्षणभरमै खरानी बनाइदिएको छ । उनीसँग अहिले एक छाक खाने अन्न र एकसरो लगाउने लुगासमेत छैन । ‘आगोले मलाई साह्रै दु:ख दियो,’ जलेको घरको तल्लो कुनामा बसेर टोलाइरहेका न्यौपानेले दु:ख पोखे, ‘आगोले पटक–पटक मलाई मात्र किन दु:ख दिन्छ ?’ अघिल्लो पटकको आगलागीमा परेर सम्पूर्ण सम्पत्ति जलेर विस्तारै तङ्ग्रिँदै गरेका न्यौपानेको सम्पत्तिको नाममा अहिले केही पनि छैन । ‘शरीरमा लगाएको कपडाबाहेक अरू केही पनि वचेन,’ उनले भने । गत मंगलबार भएको आगलागीमा परी अधिकारी र न्यौपानेसहित गोविन्द अधिकारी, नेत्रप्रसाद अधिकारी, एकराज तिम्सिना र गुरुप्रसाद लुइँटेलको सर्वस्व गुमेको छ । आफ्नो नाममा २ रोपनी मात्र जग्गा रहेका लक्ष्मी अधिकारीले अर्काको खेत अधियामा रोपेर यो वर्ष ४० मुरी धान थन्क्याएका थिए । त्यो धान पनि सवै आगोमा जल्यो । ‘मैले योपटक फलाएको धान एक दाना पनि खान पाएको थिइनँ, सबै जल्यो,’ अधिकारीले विलौना गरे ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

मुख्य मन्त्री गुरुङद्वारा विश्वासको मत प्राप्त

पोखरा, फागुन २५ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि गर्नुभएको प्रस्तावमा ४१ जनाले उहाँको पक्षमा मतदान गर्नुभयो भने १७ जनाले विपक्षमा मतदान गर्नुभएको थियो । साठी सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ३१ मत प्राप्त गर्नुपर्नेमा यस प्रदेशमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेको २७ र माओवादीको १२ सदस्य रहेकोमा राष्ट्रिय जनमोर्चाका तीन जनाले पनि आज उहाँको पक्षमा मतदान गर्नुभएको थियो । विश्वासको मतको विपक्षमा नेपाली काँग्रेसको १५ र नयाँ शक्तिका दुई जनाले मतदान गर्नुभयो । मतदानमा सभामुख नेत्रनाथ अधिकारी सहभागी हुनुभएन भने मनाङका स्वतन्त्र तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङले हालसम्म शपथ लिनुभएको छैन । आजको बैठकमा प्रदेशसभा नियमावली २०७४ लाई पारित गरियोस् भनी प्रदेशसभा सदस्य प्रभा कोइरालाले गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको थियो । अर्को बैठक फागुन २७ गते दिनको ११।०० बजे बस्नेछ ।

एमाले–माओवादी एकता वैशाख ९ गते हुने

काठमाडौं, फागुन २५ । नयाँ पत्रिका दैनिकले एकता प्रक्रियामा रहेका एमाले–माओवादीबीच ९ वैशाखमा पार्टी एकता हुने समाचार छापेको छ । समाचार अनुसार आगामी ९ वैशाख अर्थात् २२ अप्रिलमा पार्टी एकता घोषणा गर्नेगरी तयारीको काम अघि बढाएका छन् । एकीकृत पार्टीको अन्तरिम विधान र संगठनसम्बन्धी गृहकार्यका लागि गठित कार्यदलमा नेताहरुबीच कम्युनिस्ट पार्टी स्थापनाकै दिन पारेर एकता घोषणा गर्ने मोटामोटी समझदारी भएको हो । बुधबार बसेको अन्तरिम विधान तथा संगठनसम्बन्धी कार्यदलको बैठकले दुवै पार्टीका अध्यक्षा केपी ओली र प्रचण्डलाई ब्रिफिङ गर्ने निर्णय गरेको समाचारमा उल्लेख छ ।

संसदमा अबको डेढ सातासम्म चुनावै चुनाव: यस्तो छ कार्यतालिका

काठमाडौं, फागुन २५ । चैत ५ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक समय सीमाका कारण अबको डेढ सातासम्म संसद्मा नियमित रूपमा चुनाव हुने भएको छ । यस अवधिमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिनेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका नेता–उपनेता चयन गर्ने कार्यसूची छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । संसद् सचिवालयले चैत ४ सम्म विभिन्न पदको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ।संसद्का प्रवक्ता भरतराज गौतमका अनुसार प्रतिनिधिसभा सभामुखका लागि शुक्रबार उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । शनिबार सभामुखका लागि मतदान हुनेछ । प्रतिनिधिसभा प्रारम्भ भएको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । वाम गठबन्धनको बहुमत रहेकाले गठबन्धनको उम्मेदवार नै सभामुख बन्ने निश्चित छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक–फरक दलको हुनुपर्ने संविधानको धारा ९१ मा व्यवस्था छ । उक्त व्यवस्थाअनुसार नै फरक लिंग र दल मिलाउन उपसभामुखको निर्वाचन केही दिनपछि तोकिएको सचिवालयले जनाएको छ । चुनावी कार्यतालिका -फागुन २५ सभामुख उम्मेदवारी -फागुन २६ सभामुख निर्वाचन -फागुन २७ प्रधानमन्त्रीले विश्वासको मत लिने -फागुन २८ राष्ट्रियसभा अध्यक्षका लागि उम्मेदवारी -फागुन २९ राष्ट्रपतिको निर्वाचन -फागुन ३० राष्ट्रियसभा अध्यक्षको निर्वाचन -फागुन चैत १ उपसभामुख उम्मेदवारी -फागुन २ उपसभामुख निर्वाचन -फागुन ३ राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी -फागुन ४ उपाध्यक्षको निर्वाचन

करिब दुई हजार बौद्ध धर्मावलम्वीले अभिषेक लिए

काठमाडौँ । हिमाली भेगका करिब दुई हजार बौद्ध धर्मावलम्बीले ‘सप्तलोचन श्वेततारा’ को अभिषेक (दीक्षा) लिएका छन् । अभिषेक कार्यक्रममा सहभागी भएमा रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख शान्तिका साथै दीर्घजीवन प्राप्त हुने विश्वास गरिन्छ । नेपाल गेलुक संघले बुधबार बौद्धमा आयोजना गरेको अभिषेकमा विशिष्ट लामा गुरु गोसोक रिन्पोछेले सहभागीलाई मनमा हुने चन्चलतालाई नियन्त्रण गरी सत्कर्ममा लाग्न प्रेरणा प्रदान गर्नुभयो । बौद्ध विद्वान् टीका शेर्पाले लोभलालचबाट मुक्त हुने वैराग्य उत्पादनको शिक्षा, अरुको हितका लागि क्रियाशील रहन बोधिचित्तको शिक्षा र कुनै पनि वस्तुको स्वतन्त्र सत्ता हुँदैन भन्ने श्ून्यताको शिक्षा दिनुभएको थियो । बौद्ध साहित्यमा मानव जीवन दुर्लभ मानिने हुँदा संसारभरका जीव, जीवात्मा तथा प्राणी रक्षाका काम गर्नसकेमा मात्र पुण्य सञ्चय हुने विश्वास गरिएको छ । गेलुक सम्प्रदायका संस्थापक प्रमुख लामा चोङखापालाई मानिन्छ । लामा चोङखापालाई मन्जुश्रीको एक अवतारका रुपमा लिइएको छ । उहाँको जन्म सन् १४ औँ शताब्दीमा तिब्बतको खाम चोङखा भन्ने गाउँमा भएको र तीन वर्ष भएपछि उहाँले शाक्य सम्प्रदायका गुरुसँग मध्यम पञ्चशील ग्रहण गरी धर्मको यात्रा शुरु गर्नुभएको विश्वास छ । बुद्धधर्मसम्बन्धी सुत्र, तन्त्रबारे धेरै वर्ष अध्ययन अनुसन्धान गरी आफ्नो अध्ययनपश्चातको आत्मबोध तथा अनुभवलाई नयाँ सम्प्रदायका रुपमा स्थापित गर्न गादेन महाविहार स्थापना गरेको र नयाँ विधि, अनुशासन कायम गर्न गेलुक सम्प्रदायको स्थापना गर्नुभएको बताइएको छ । उहाँले पुरानो बौद्ध शिक्षा तथा ज्ञानमा आधारित भई नयाँ विधि र शासन अपनाउने क्रान्ति शुरुवात गरेको र धेरै धार्मिक कार्यका माध्यमबाट समाजमा सेवा गरेर ६१ वर्षमा महपरिनिर्वाण प्राप्त गर्नुभएको थियो । यस सम्प्रदायले आस्था प्रकट गर्ने ठूलो तीर्थस्थल लाब्राङ गुम्बा चीनको उत्तर पश्चिमी भागमा अवस्थित छ । त्यसमा तिब्बती बौद्ध धर्म मातहतमा छवटा बौद्ध शास्त्र प्रतिष्ठान हुनुका साथै हालसम्म त्यहाँ तिब्बती बौद्ध धर्मको पूर्ण शिक्षा प्रणालीलाई संरक्षित गरिएको संघका अध्यक्ष यान तेनले बताउनुभयो । त्यस गुम्बामा रहेका वास्तुकला, धार्मिक समारोह, बौद्ध धर्मको कला र तिब्बती शास्त्र आदि भएकाले त्यो स्थानीय तिब्बती जातिका नागरिकको सांस्कृतिक र कलाको केन्द्र पनि मानिन्छ । काठमाडौँ उपत्यकाका १० वटा गेलुक सम्प्रदायका गुम्बा आबद्ध भएको उक्त संघले केही दिन अगाडि राष्ट्रकल्याणको कामना गर्दै विशेष पूजा सम्पन्न गरेको थियो । रासस

म्यान्चेस्टर सिटी र युभेन्टस युएफा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, फागुन २४ । म्यान्चेस्टर सिटी र युभेन्टस युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको प्रि क्वाटरफाइनल दोस्रो लेगको खेलमा स्विट्जरल्याण्डको एफ.सी बाजलसँग २-१ ले पराजित भए पनि पहिलो लेगमा हात पारेको जितको मद्दतले म्यान्चेस्टर सिटी अन्तिम ८ मा पुगेको हो । पहिलो लेगमा ४-० ले विजयी भएको म्यान्चेस्टर सिटी समग्रमा ५-२ को परिणामका साथ अर्को चरणमा पुगेको हो । गएराति भएको अर्को खेलमा इङ्लिस क्लब टोटनह्याम हट्सपरलाई २-१ ले हराउँदै ईटालीको युभेन्टस पनि क्वाटरफाइनलमा पुगेको छ । पहिलो लेगमा २-२ गोलको बराबरी खेलेका यी दुई टोलीबीचको दोस्रो लेगको खेलपछि समग्रमा युभेन्टस ४-३ ले विजयी भयो । गएराति टोटनह्यामलाई उसैको मैदानमा पराजित गर्न युभेन्टसका गोन्जालो हिगुवान र पाउलो डिबालाले एक–एक गोल गरे । खेलको पहिलो गोल भने टोटनह्यामका हिउङ मिन सनले गरेका थिए । गएरातिका खेलपछि च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल पुग्ने ८ टोलीको टुंगो लागेको छ । साविक विजेता रियाल मड्रिडसँगै इङ्ल्यान्डका म्यान्चेस्टर सिटी र लिभरपूल तथा ईटालीको युभेन्टस्ले अन्तिमा आठमा ठाउँ पक्का गरेका छन् । क्वाटरफाइनल पुग्ने बाँकी ४ टोलीको टुंगो अर्को हप्ता लाग्नेछ ।