नगरपालिकाकै बासिन्दा महाकालीको पानी पिउन बाध्य

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीका स्थानीय बासिन्दा बर्षौंदेखि महाकाली नदीको दूषित पानी पिउदै आइरहेका छन् । गाउँमा खानेपानीको सुविधा नहुँदा आफूहरु महाकालीको दूषित पानी प्रयोग गर्न बाध्य भएको तिरखडेनीका धाना बुडालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बर्सातको समयमा महाकालीमा भेल आएको बेलासमेत सोही पानी प्रयोग गर्न बाध्य भएका छौँ ।” तिरखडेनीका करीव ५० घरपरिवारले खानेपानीको चरम समस्या भोगिरहेका छन् । आफूहरुलाई खानेपानीको निकै सकस भएको स्थानीयवासी जयन्ती बुडालले बताउनुभयो । उहाँले भन्नुभयो, “महाकाली किनारका बासिन्दालाई खानेपानीकै समस्याले पिरोलेको हुन्छ ।”

महाकालीमा भेल आउँदा खानेपानी भर्न लगेका भाँडाकुँडासमेत नदीले बगाएको स्थानीय बासिन्दाले बताएका छन् । आफूहरु वर्षौंदेखि दूषित पानी प्रयोग गर्दै आइरहेको र अहिलेसम्म कसैले समस्या समाधान नगरेको स्थानीयवासी नारु बोहराले बताउनुभयो ।

निर्वाचनका बेला सबै राजनीतिक दलले गाउँमा खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि कसैले पनि आफ्ना प्रतिबद्धता पूरा नगरेको स्थानीयवासीको गुनासो छ । महाकाली किनारका तिरखडेनी र सिम्तडीका बासिन्दाले खानेपानीको निकै समस्या भोग्नुपरेको स्थानीय हरिना पन्तले बताउनुभयो । आफूहरुले सरोकारवालासँग पटक पटक आग्रह गरे पनि केही पहल नभएको स्थानीयवासीको गुनासो छ । नगरपालिकाका बासिन्दा भएर पनि आफूहरुलाई नगरवासीको अनुभूति हुन नसकेको महाकाली तटीय क्षेत्रका बासिन्दाले बताएका छन् । दूषित पानी पिउँदा विभिन्न रोगको संक्रमणसमेत देखिने गरेका छन् ।

रासस

दिनानुदिन बढ्दैछ बलत्कारको घटना, किन चुपचाप छन् सम्बन्धित निकाय ?

राजविराज । सप्तरी जिल्लामा दिनानुदिन समाजमा बलात्कार जस्ता घटना बढिरहेको छ । एकपछि अर्काे महिला तथा किशोरीहरु बलात्कृत हुने गरेको घटना दोहोरिएका छन् । प्रहरीले बलात्कार घटनामा संलग्न अपराधीहरु पक्राउ गर्दै मुद्दा दर्ता गरिरहे पनि बलात्कारको श्रृंखला भने अझै रोकिएको छैन । फागुन पहिलो साता प्रहरीले खडक नगरपालिका ९ लालपत्ताका १८ वर्षीय राजदेव मण्डललाई पक्राउ गर्यो । १३ वर्षीया बालिका पार्वतीकुमारी मण्डललाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका उनी मृतक बालिकाकै ठुलोबुबाका छोरा हुन् । आफ्नै कोठामा सुतिरहेकी बहिनीलाई बलात्कार गरिसकेपछि कुर्ताको तुनाले घाँटी बाँधेर हत्या गरेको प्रहरीले जनाएको छ । ‘बालिका चिच्याएपछि घटना सार्वजनिक हुने डरले लुकाउन खोज्दा अर्को घटना घट्यो,’ एसपी मुकेशकुमार सिंहले घटना अनुसन्धानको स्मरण गर्दै भने, ‘त्यसपछि पनि परिवारका सबै मिलेर घटनालाई दबाउने प्रयास भइरहेको छ।’ सोही दिन तिलाठी–कोइलाडी गाउँपालिका ७ मन्सापुरकी ११ वर्षीया एक बालिका बलात्कारको शिकार भइन्। आरोपीलाई भोलिपल्टै पक्राउ गरी मुद्दा दर्ता गरिएको छ। यसैगरी, फागुन २७ मा १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भयो। आरोपी शम्भुनाथ नगरपालिका ३ का २० वर्षीय एटलान्टिक चौधरी र सोही ठाउँका २० वर्षीय अजयकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। अन्य आरोपितहरू सोही ठाउँका २२ वर्षीय अर्जुनकुमार साह, २१ वर्षीय मनोजकुमार साह, २० वर्षीय बबी चौधरी र नाम नखुलेका अन्य दुई जना फरार छन्। प्रहरीले उनीहरुको खोजी गरिरहेको छ। बलात्कारको आरोपमा पक्राउ परेका सबै पीडित युवतीका छिमेकी हुन्। त्यसको एकदिन अघिमात्रै २५ वर्षीया महिलाको सामूहिक बलात्कार भयो। आरोपीहरु विष्णुपुर गाउँपालिका ५ का ३५ वर्षीय जिवछ राम र ३ का २८ वर्षीय इसराइल मियाँ विरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ। फागुन २३ मा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दर्ता छ । फागुन २५ मा उजुरी दर्ता भएदेखि नै आरोपी फरार छन् । यस्तै, छिन्नमस्ता गाउँपालिकामा दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी १२ वर्षीय बालक पनि प्रहरी नियन्त्रणमा छन्। पछिल्लो पटक गत शुक्रबार मात्रै लिफ्ट मागेर माइक्रोमा चढेकी एक युवतिलाई माईक्रोबसका चालक र सहचालकले नै सामूहिक बलात्कार गरे। छिन्नमस्ता–काठमाडौं चल्ने बा.५.प ३१४१ नम्बरको माइक्रो बसभित्रै १७ वर्षीय ती किशोरीको बलात्कार भएको प्रहरीले जनाएको छ। घटनाका आरोपी सिरहाको भगवानपुर ९ घर भएका चालक वैजनाथ दास र बाँकेको राप्ती सोनारी ५ का सहचालक खेमराज वैस्यलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार विगत एक महिनाभित्रै सप्तरीमा बलात्कारका ९ वटा घटना भएका छन्। अधिकांश घटनामा परिवारका सदस्य र छिमेकीहरु संलग्न पाइएको छ भने केही घटनामा मात्रै बाहिरी व्यक्तिहरु संलग्न भएको प्रहरीको भनाइ छ। एसपी सिंहका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा २१ वटा बलात्कार र १० वटा बलात्कार उद्योगका घटना भएका छन्। जसमा १८ जनालाई पक्राउ गरिएको र अन्य आरोपीको खोजी भइरहेको छ। जिल्लामा बढ्दो बलात्कारका घटनालाई न्यूनीकरण गर्न सामाजिक सचेतना आवश्यक रहेको उनले बताए। ‘सुरक्षा व्यवस्था कडा पारेर मात्रै बलात्कार नियन्त्रण गर्न कठिन छ,’ एसपी सिंहले भने, ‘जनस्तरमै यस विषयमा जागरण ल्याउन नसके यसले अझै भयावह रुप लिन सक्छ ।’    

सुनसरीको मधुवनमा भिषण आगलागी, ६० लाख बढीको नोक्सानी

इटहरी, चैत ४ । सुनसरी जिल्लाको साविक मधुवन-९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीमा कम्तीमा बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिए । क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने पनि उनको भनाइ रहेको छ । आगलागीमा बस्ती नै सखाप भएको तथा केही बालबालिका पनि सामान्य घाइते भएका छन् । उक्त आगलागीमा दुईवटा चौपाया पनि जलेर मरेको पनि पीडितले बताएको वडाध्यक्ष विष्टले जानकारी दिएका छन् । आगो कसको घरबाट निक्लिएको हो भन्ने यकीन नभएको पनि उनले जानकारी दिंदै क्षतिको अझै यकिन विवरण आई नसकेको बताए । बराहक्षेत्र नगरपालिकाका प्रमुख लिलम खनालले निकै ठूलो विपद् परेकाले नगरपालिकाले तत्काल आपत्कालीन राहतका विषयमा अहिले बिहानै स्थलगत अवलोकन गर्ने कार्य भइरहेको तथा आपत्कालीन सहयोग उपलब्ध गराउन नगरपालिकाले तयारी गरिरहेको जानकारी दिए । बस्ती नै सखाप हुने गरी भएको आगोलाई इटहरी, धरान, इनरुवा र राजविराजबाट आएका चार बारुणयन्त्र तथा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी एवं स्थानीयवासीको सक्रियतामा राति १ बजेतिर आगोलाई पूर्ण नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए । आगलागीमा परेर स्थानीयवासी सबैको घरमा भएका खाद्यान्न, लत्ताकपडा, बहुमूल्य सुनचाँदी, भाडावर्तनलगायत सबै नै खरानी भएकाले उनीहरुका लागि आपत्कालीन सबै प्रकारका राहतको आवश्यकता रहेको पनि प्रनाउ चिमौरियाले जानकारी दिएका छन् ।

सुन तस्कर गोरेले करेन्ट लगाएर गरे सहयोगीको हत्या

विराटनगर, चैत ४ । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सुन तस्कर गोरे एवं रुपेश भनेर चिनिने चूडामणि उप्रेतीले सहयोगीकै हत्या गरेको खुलेको छ । आफ्नो सहयोगीको रुपमा रहेका उर्लाबारी ७ का ३५ बर्षीय सनम शाक्यको हत्या उप्रेतीले गरेको प्रहरी अनुसन्धानले देखाएको छ । चीनको केरुङ नाका हुँदै तस्करी गरेर नेपाल भित्राएको उप्रेतीको साढे ३३ किलो सुन हराएको विषयमा विवाद भई हत्या गरेको खुलेको मोरङ प्रहरी प्रमुह एसपी अरुणकुमार बीसीले बताए । उनका अनुसार करेन्ट लगाएर यातना दिने क्रममा शाक्यको फागुन १८ गते उर्लाबारीको सोल्टी खोला किनारको जंगलमा मृत्यु भएको थियो । उनको शव गायब बनाउने प्रयास गरेको पनि प्रहरी अनुसन्धानमा देखिएको छ । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ८ मा यो समाचार छापिएको छ ।

एसइई परीक्षामा चिट चोर्ने चोराउनेलाई एक लाख जरिवाना

काठमाडौं, चैत ४ । केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (इसइई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हअुने यो परीक्षामा नियमित र एक्जाम्टेडको छुट्टाछुट्टै प्रश्नपत्र छापिएको छ । प्रदेशअनुसार प्रश्नपत्र तयार हुन नसकेपछि चारवटा क्लस्टरका आधारमा प्रश्नपत्र छापिएका छन् । चैत ८ देखि १८ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो खबर छ । परीक्षामा चिट चोर्ने/चोराउनेलगायतका अमर्यादित गतिविधि भएमा एक लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने बोर्डले जनाएको छ । गत बर्षदेखि अक्षरांक प्रणालीबाट परीक्षाफल प्रकाशित हुँदै आएको छ । आगामी बर्षदेखि एसइई परीक्षा ७ वटै प्रदेशबाट सञ्चालन गरिँदै छ ।

नेपालको कमजोर प्रदर्शन, पारस खड्का पनि आउट

काठमाडौं, चैत्र ३ । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि नेपाल र नेदरल्याण्ड्सबीचको खेल जारी छ । जिम्बावेको क्वेक्वे मैदानमा टस जितेर पहिला व्याटिङ गरेको नेदरल्याण्ड्सले ५० ओभरमा ९ विकेटको क्षतिमा १८९ रन जोड्यो। नेपाललाई जितका लागि १९० रनको लक्ष्य प्रस्तुत गरेको हो । जवाफी व्याटिङ गरेको नेपालले कमजोर प्रदर्शन गरिरहेको छ । नेपालले सस्तैमा तीन विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा कप्तान पारस खड्का पनि आउट भएका छन् । यस अघि नेपालका ओपनरद्वय ज्ञानेन्द्र मल्ल ४ रनमा र अनिल शाह ८ रन बनाएर आउट भएका छन् । उपकप्तानसमेत रहेका मल्ल पछिल्लो समय खराब फर्ममा छन् । उनले पछिल्ला खेलमा राम्रो प्रदर्शन गर्न सकेका छैनन । ताजा अवस्थामा १७ ओभरको समाप्तीमा तीन विकेटको क्षतिमा नेपालले ५१ रन बनाएर खेलिरहेको छ ।

चलचित्र ‘फेरि–फेरि’ मा अर्पण एक्सन भूमिकामा

काठमाडौं । नेपाली चलिचत्र ‘फेरि फेरि’ पुरन थापाको लेखन, निर्माण र निर्देशन रहेको छ भने यो चलचित्रको ८५ प्रतिशत छायाँकन सकिएको छ । कमेडी कथामा तयार भइरहेको यो चलचित्रको छायांकन माघको तेश्रो सातादेखि सुरु भएको थियो । चलचित्रमा अर्पण थापा, ऋचा शर्मा, पुरन थापा, धर्मेन्द्र आचार्य, निक शर्मा, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला, एलिना बास्कोटा, सोनीका बास्तोला, राम बुढाथोकी लगायतका कलाकारको अभिनय छ । चलचित्रको अहिले एक्सनको दृश्यको छायांकन भइरहेको छ । क्लाइमेक्सका लागि करिब १० दिन लागेको पुरनले जानकारी दिए । उनले गुणस्तरिय चलचित्र बनाउन कुनै कसर बाँकी नराखेको समेत स्पष्ट पारे । गीतको छायांकन बाँकी रहेको उनको भनाई थियो । ‘फेरि फेरि’को काठमाडौंभित्रका दृश्य खिचिसकेपछि दामन, चितवन हुदै कर्णाली पुलसम्मका दृश्य कैद गर्ने योजना निर्माणपक्षको छ । कलाकार अर्पण थापाले विगतका चलचित्रमा भन्दा फरक भूमिका रहेको सुनाए । नायिका शर्माले आफूले विगतका चलचित्रमा विभिन्न भूमिका निर्वाह गरेको स्मरण गर्दै यो चलचित्रमा पनि नौलो चरित्र निर्वाहा गरेको बताइन् । सुरुदेखि अन्तिमसम्म चलचित्र निकै रमाइलो बनेको दाबी ऋचाले गरेकी छिन् । सुरेश बज्राचार्यको छायांकन रहेको चलचित्रलाई दशैंसम्म रिलिज गर्ने योजना निर्माण पक्षको छ ।

जसले कलेजो नै दान गरिन्…

काठमाडौं, चैत २ । २०६८ सालमा कलेजोको क्यान्सरले चलिएका डा. गोविन्द शर्मालाई २ महिनाको आयु दिएका थिए । चिकित्सकले । कलेजो प्रतयारोपण गरेमा बढीमा तीन बर्ष ाआयु लम्ब्याउन सकिने भनेपछि उनकी भान्जी शान्ता दाहाल पोखरेल ले शर्मालाई कलेजो दिएकी थिईन् । शर्माको भारतको मेदान्त अस्पतालमा कलेजोको शल्यक्रिया भएको थियो । दाहालेको कलेजोको ३० प्रतिशत भाग निकालेर शर्मामा प्रत्यारोपण गरिएको थियो । त्यति सहयोगी, क्षमतावान् मान्छेको मृत्यु नजिक थियो, दाहालले भनिन् तर केही बर्ष जीवन लम्ब्याउन सकिन्छ भने थाहा पाएपछि मैले आफुलाई रोक्न सकिनँ । र, कलेजो दिएँ कलेजो प्रत्यारोपणपछि चिकित्सकले तीन बर्ष आयु तोके पनि डा. शर्मा ६ बर्षभन्दा बढी बाँचे ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

सरकारलाई आजै पूर्णता दिने तयारी, यी हुन एमाले र माओवादीबाट मन्त्री बन्नेहरु

काठमाडौं, चैत २ । प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व सम्हालेको ३० दिनपछि शुक्रबार मन्त्रिपरिषदलाई ‘पूर्णता’ दिने तयारी गरेका छन्। आफ्नै पार्टी एमाले, माओवादी, संघीय फोरम र राजपासमेतलाई समेटेर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री ओली लागेका हुन्। यसका लागि उनले बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका नेताहरूसँग अनौपचारिक छलफल गरेका थिए। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ । प्रधानमन्त्री ओलीले आफ्नै दलका शीर्ष नेतासँग बिहीबार छलफल गरे भने बालुवाटारमै माओवादी केन्द्र र संघीय फोरमलाई आन्तरिक पार्टी छलफल र अन्तरपार्टी छलफलको वातावरणसमेत मिलाइदिए। राष्ट्रपति चुनावपछि सरकारलाई पूर्णता दिने बताउँदै आएका प्रधानमन्त्रीले त्यसयताको तीन दिन माओवादी अध्यक्ष दाहालसँग लगातार छलफल गर्दै आइरहेका थिए। मंगलबार, बुधबार मात्रै होइन, ओली–दाहालले बिहीबार पनि बालुवाटारमा छलफल गरेका थिए। यी भेटघाट हरेक दिन रुटिङ नै जस्तो एक घण्टासम्म चल्ने र उठ्ने गरेको थियो। शुक्रबारै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीसाथ बिहीबार भने ओली–दाहालबीच साँझ–बिहान दुई पटक भेटवार्ता भएको थियो। ‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद् विस्तार शुक्रबार नै गर्ने तयारी गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले अन्नपूर्णसँग भने, ‘कुनै परिघटना भएन भने शुक्रबार अब मन्त्रिमण्डलले पूर्णता पाउँछ।’ फोरम र राजपासँग पनि प्रधानमन्त्रीले औपचारिक÷अनौपचारिक छलफल गरेका कारण सकभर दुवै पार्टीलाई सरकारमा ल्याएर मन्त्रिमण्डललाई पूर्णता दिने गरी छलफल भइरहेको रिमालले बताए। राजपाका शीर्ष नेताको छलफल पनि बिहीबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमै बसेको थियो। तीन वटै पार्टीले आ–आफ्ना पार्टी नेतासँग बिहीबारै आन्तरिक छलफल गरेपछि पुनः तीन शीर्ष नेताबीच मन्त्रालय भागबन्डा र संख्याका विषयमा केन्द्रित रहेर छलफल भएको थियो। ‘सरकारले पूर्णता नै पाउने विषय अन्य दलको तयारीले के हुन्छ तर शुक्रबार दुई–चार जना भए पनि मन्त्रिमण्डल बिस्तार हुन्छ,’ माओवादी नेता शक्ति बस्नेतले भने। सरकारमा संघीय फोरम पनि सहभागी हुने नै भएपछि एमाले–माओवादीले यसअगाडि भागबन्डा गरेको मन्त्रालय संख्यामा दुवैका एक–एकवटा घटाएर फोरमको व्यवस्थापन गर्ने तयारी भएको छ। त्यसो हुँदा एमालेलाई प्रधानमन्त्रीसहित १०, माओवादीलाई ६ र फोरमलाई २ मन्त्रालय भाग आउनेछ। त्यस्तै राजपा सरकारमा आए उसले पनि दुई मन्त्रालय पाउनेछ। ‘मन्त्रालयको संख्या र कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषयमा टुंगो भने लागिसकेको छैन,’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘यी विषय छलफलकै क्रममा छन्, अझै टुंगिएका छैनन्।’ माओवादीका तर्फबाट यसअघि नै गृहमा रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्तिमा मातृका यादवले मन्त्रीको रूपमा सरकारमा काम गरिरहेका छन्। ६ मन्त्रालय पाउँदा उसले प्रदेश ७ बाट बिना मगर, प्रदेश २ बाट गिरिराजमणि पोखरेल, प्रदेश ५ बाट वर्षमान पुन र प्रदेश ६ बाट नेताद्वय जनार्दन शर्मा र शक्ति बस्नेतमध्ये एकलाई पठाउने तयारी गरेको छ। एमालेबाट भने प्रदेश १ बाट भानुभक्त ढकाल, योगेश भट्टराई, वसन्त नेम्बाङ, २ बाट रघुवीर महासेठ, ३ बाट कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, प्रदेश ४ बाट रवीन्द्र अधिकारी, प्रदेश ५ बाट प्रदीप ज्ञवाली र छविलाल विश्वकर्मा, ७ बाट प्रेम आले र नारदमुनि रानाको नाम चर्चामा छ। एमालेले अब पाँच वटा मन्त्रालयमा मन्त्री पठाउनुपर्नेछ। उपराष्ट्रपति दोहोरिने, राष्ट्रियसभा उपाध्यक्षमा शशिकला बालुवाटारमा बिहीबार बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहो¥याउन पार्टी बैठकमा सिफारिस गरेको छ। राष्ट्रियसभा उपाध्यक्ष भने प्रदेश २ की सांसद शशिकला दाहाललाई बनाउने विषयमा छलफल चलेको छ। ‘राष्ट्रियसभा उपाध्यक्षमा शशिकला दाहालको सम्भावना बढी हुनेगरी छलफल चलेको छ,’ नेता देवेन्द्र्र पौडेलले बताए। क–कसको सम्भावना ? एमाले प्रदेश १ भानुभक्त ढकाल, योगेश भट्टराई, वसन्त नेम्बाङ प्रदेश २ रघुवीर महासेठ प्रदेश ३ कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा प्रदेश ४ रवीन्द्र अधिकारी प्रदेश ५ प्रदीप ज्ञवाली र छविलाल विश्वकर्मा प्रदेश ७ प्रेम आले र नारदमुनि राना माओवादी प्रदेश ७ बिना मगर प्रदेश २ गिरिराजमणि पोखरेल प्रदेश ५ वर्षमान पुन प्रदेश ६ जर्नादन शर्मा र शक्ति बस्नेत

स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीको संख्या १० हजार पुग्याे

काठमाडौं, चैत २ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन सकिएको जनाएको छ । गत फागुन १३ गतेदेखि अवकाश दिनका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन सकिएको मन्त्रालयको स्वेच्छिक अवकाश इकाइ शाखाका प्रमुख धर्मराज रोकायाले बताए । जिल्लाबाट विवरण पठाउनुपर्ने भएकाले विवरण संकलनमा समय लागेको उनको भनाइ थियो । प्रमुख रोकायाका अनुसार संकलित विवरणलाई अहिले पहिलेको सक्कल विवरणसँग रुजु गर्ने कार्य भइरहेको छ । उनले इकाइ शाखामा पाँच कर्मचारी भएकाले धेरैको संख्यामा आएको विवरणलाई रुजु गर्न करिब तीन महिना लाग्ने बताए । सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीलाई गत पुस २९ देखि फागुन १३ गतेसम्म स्वेच्छिक अवकाशका लागि निवेदन दिन आग्रह गरेको थियो । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला तथा संघीय संसद् सचिवालयका सचिवद्वय हिमनाथ सुवेदी र वीरेन्द्र कार्की गरी चार सचिवसहित नौ हजार ६५६ कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएको मन्त्रालयका उपसचिव रोकायाले बताए । सरकारले निजामतीसहित संसद् र स्वास्थ्य सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाशको योजना ल्याएको हो । मन्त्रालयले ५० वर्ष उमेर पुगेका र बीसवर्षे सेवाअवधि पूरा गरी निवृत्तिभरण पाउने अवस्थामा रहेका कर्मचारीले अवकाश लिन पाउने व्यवस्था गरेको थियो ।

यी पूर्वपदाधिकारी, जसले आजीवन सुरक्षा पाउनेछन्

काठमाडौं, चैत २ । गृहमन्त्रालयले सुरक्षा थ्रेटका आधारमा पूर्वपदाधिकारीको स्तर वर्गीकरण गरी नयाँ सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ । नयाँ सुरक्षा व्यवस्थाअनुसार, पूर्वराष्ट्रपतिले राज्यबाट आजीवन सुरक्षा पाउनेछन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले पारित गरेको सुरक्षा व्यवस्थालाई गृहले कार्यान्वयनमा ल्याएको हो । गृहले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री÷पूर्वमन्त्रिपरिषद अध्यक्ष, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख, राष्ट्रियसभाका पूर्वअध्यक्ष र पूर्वउपप्रधानमन्त्रीलाई विशिष्टस्तरमा वर्गीकरण गरी उनीहरुमाथि हुन सक्ने सम्भावित सुरक्षा थ्रेटलाई विश्लेषण गरी सोहीबमोजिम सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

पत्रकार ओझाको ‘वारिको डाँडामा म’ गीतको भिडियो सार्वजनिक

काठमाडौं, चैत्र १ । पत्रकार अनुप ओझा गायकका रुपमा उदाएका छन्। ओझा ‘वारिको डाँडामा म’ बोलको गीतसहित सांगितिक क्षेत्रमा आएका हुन्। सागर राजले संगीतबद्ध गरेको गीतमा स्वर र शब्द अनुप ओझा स्वमका हुन । गीतका म्यूजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ। भिडियोमा दुई युवाको बाल्यकालीन मित्रताको सन्दर्भ समेटिएको छ । भिडियोमा अनुप, द नेस्क्टका कलाकर्मी दिप्सन परियार, निर्मल न्यौपाने, बाल कलाकारहरु सुजन पोखरेल र समीर तामाङको भूमिका रहेको छ। अस्ट्रेलियामा रहेको नेपाली कलाकारको समूह द नेक्स्टका प्रदीप लामाले निर्देशन गरेका हुन । गीतको भिडियो नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको हो। द नेक्स्टले सागर राज फिल्मस्को सहकार्यमा भिडियो स्टडी अस्ट्रेलियाले उत्पादन गरेको हो।

‘बोक्सी’ प्रकरणमा रमिते बनेका सामुदायिक वनका अध्यक्ष पक्राउ

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–५ की २० वर्षीय राधा चौधरीमाथि कुटपिट भइरहँदा रमिते बनेका स्थानीय हरियाली सामुदायिक वनका अध्यक्ष चनकलाल चौधरीसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्ने भाँक्री भनिएका रामबहादुर चौधरीकी आमा ४१ वर्षीय सितारानी चौधरी र ३४ वर्षीय वेदप्रसाद चौधरी छन् । राधा चौधरीमाथि कुटपिट हुँदा समेत रमिते बनेको आरोपमा वन समूहका अध्यक्ष पक्राउ परेका हुन् भने अन्य २ जनाले युवती खोज्न सहयोग गरेका थिए । अभियुक्तलाई पक्राउ गरी बोक्सी आरोप कुसर तथा सजाय ऐन अन्तर्गत ७ दिनलाई म्याद थप गरी अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । यसअघि, घटनामा संलग्न झाँक्री रामबहादुरसहित १८ वर्षीय किस्मती चौधरी र २४ वर्षीय स्मारिका चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ । पीडित राधालाई अहिले धनगढीस्थित महिला गृहमा राखिएको छ । घटनाले राष्ट्रिय स्तरमा चर्चा पाएपछि प्रहरी र सरकारले छानविनलाई तीब्रता दिँदै कडा कारवाहीको प्रक्रिया अगाडि बढाएको थियो ।

आईसीसी क्रिकेटः नेपाल र पीएजनजी प्रतिस्पर्धामा भिड्दै

काठमाडौं । अर्को वर्ष इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने एकदिवसीय क्रिकेट विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिता खेल्न जिम्बाब्वेतर्फ प्रस्थान गर्नुअघि नै नेपाली टोलीले आफ्नो उद्देश्य स्पष्ट पारेको थियो, सुपर सिक्स चरणमा प्रवेश गर्दै आईसीसीबाट एकदिवसीय टोलीको मान्यता हासिल गर्ने । सोमबार सम्पन्न समूहगत चरणको खेलपछि नेपाली टोलीको सुपर सिक्स चरणमा प्रवेश गर्ने सम्भावना पूर्ण रूपमा समाप्त भएको छ । एकदिवसीय टोलीको मान्यताको सम्भावना भने अझै कायमै छ । आईसीसीको नियमअनुसार नेदरल्यान्ड्सबाहेक विश्वकप छनोट प्रतियोगितामा सहभागी एसोसिएट टोलीमध्ये शीर्ष तीनले सन् २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता पाउनेछन् । गत डिसेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको हैसियतमा नेदरल्यान्ड्सले यसअघि नै एक दिवसीय टोलीको मान्यता पाइसकेको छ । यसैगरी सोसिएट टोलीमध्ये सुपर सिक्स चरणमा पुगिसकेका संयुक्त अरब इमिरेट्स (यूएई) र स्कटल्यान्डले पनि एक दिवसीय मान्यता पक्का गरिसकेका छन् । अब बाँकी रहेको एक स्थानका लागि सुपर सिक्स चरणमा पुग्न नसकेका नेपाल, हङकङ र पपुवा न्युगिनीले प्ले अफ खेलमार्फत आ–आफ्नो दाबेदारी प्रस्तुत गर्दैछन् । पहिलोपटक एकदिवसीय टोलीको मान्यता प्राप्त गर्न नेपाले बिहीबार हुने खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराउनैपर्ने हुन्छ । पीएनजी विरुद्धको एक जितले नै पनि नेपाललाई आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता दिलाउने सम्भावना छ । तर, त्यसका लागि बिहीबार नै हुने अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गर्नुपर्ने हुन्छ । नेपाली टोली आफ्नो पहिलो खेलमा विजयी भए पनि अर्को खेलमा हङकङले नेदरल्यान्ड्सलाई हराएमा एकदिवसीय टोलीको मान्यता पाउन नेपालले पुनः अर्को खेलमा हङकङलाई पनि हराउनुपर्ने हुन्छ । पीएनजीसँगको खेलमै पराजित भए नेपालले एकदिवसीय टोलीको सम्भावना पनि गुमाउने छ । जारी प्रतियोगिताको समूह ‘ए’मा रहेको पीएनजीले चारमध्ये सबै खेलमा पराजय बेहोरेको थियो भने समूह ‘बी’मा रहेको नेपालले चारमध्ये एक खेलमा जित हात पारेको थियो । नेपालले समूहगत चरणको अन्तिम खेलमा हङकङलाई पाँच विकेटले हराएको थियो । जारी प्रतियोगितामा पीएनजीले पनि नेपालकै जस्तो ब्याटिङमा संघर्ष गरिरहेको छ । आयरल्यान्डविरुद्धको खेलमा प्रारम्भिक ब्याट्सम्यान टोनी उराले एक सय ५१ रनको बनाए पनि अन्य खेलाडीले कुनै पनि खेलमा लामो पालि खेल्न सकेका छैनन् । नेपाली टोलीका लागि पनि कप्तान पारस खड्काले अफगानिस्तान र स्कटल्यान्डविरुद्घ अर्धशतक बनाउनु बाहेक अन्य भरपर्दा ब्याट्सम्यान चल्न सकेका छैनन् । पीएनजीका बलरले वेस्ट इन्डिजजस्तो अनुभवी टोलीविरुद्ध उत्कृष्ट बलिङ गरेका छन् । मात्र दुई सय एक रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले कप्तान जासन होल्डरको अविजित ९९ रनको योगदानमा खेल सहजै जिते पनि पीएनजीले ५८ रनकै कुल स्कोरमा चार महत्वपूर्ण विकेट लिन सफल भएको थियो । त्यसैले नैपाली टोलीले पीएनजी विरुद्धको जितका लागि ब्याटिङमा निकै मेहनत गर्नुपर्नेछ । नेपालले पछिल्लो समय पीएनजीविरुद्ध खेलिरहेको भए पनि ५० ओभरको क्रिकेटमा भने दुईपटक मात्र भिडन्त गरेको छ । ती दुवै खेलमा नेपाली टोली पीएनजीसँग पराजित भएको छ । नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सन् २०१५ को नोभेम्बरमा भएको दुईमध्ये दुवै खेल गुमाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)को निलम्बनका कारण नेपालमै हुने तय भएपनि दुबईमा सारिएको दुईमध्ये पहिलो खेलमा नेपाल दुई विकेट र दोस्रो खेलमा तीन विकेटले पराजित भएको थियो । विगतमा नेपाल र पीएनजी आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेल नेपालः २३२–८/५ ओभर पीएनजीः २३५/८ (४९.३ ओभर) पीएनजी दुई विकेटले विजयी आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेल नेपालः २२४/८ (५० ओभर) पीएनजीः २२५/७ (४९.४ ओभर) पीएनजी तीन विकेटले विजयी अन्नपूर्णपोष्टबाट साभार

बाबुरामजीले पश्चाताप गरेर माओवादीमै फर्किनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले भुल गरेकाले पश्चाताप गरेर माओवादीमै फर्किनुपर्ने बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज नयाँ शक्तिका १९ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले माओवादी छाडेर बाबुरामले गम्भीर गल्ती गरेको बताउनुभयो । आफूले पटक–पटक फर्किन आग्रह गरेको भन्दै उहाँले भन्नुभयो, ‘हाम्रो त भनाइ बाबुराम जीहरू समेत यही जोडिन आइपुग्नुपर्छ भन्ने हो । नत्र कुनै भविष्य छैन ।’ उहाँले अघि भन्नुभयो, ‘धेरै ठूलो भूल गर्नुभएको छ, यसको पश्चाताप गरेर फर्कनुपर्ने हुन्छ उहाँले । अनि मात्रै उहाँलाई माथि जाने बेलामा आनन्दसँग जान पाइन्छ । नत्र पोलेको पोल्यै हुन्छ । दुःख उहाँलाई नै हुन्छ भन्ने चिन्ता छ ।’ माओवादी र कम्युनिष्ट आन्दोलनका लागि काम गरेकाहरू एउटै केन्द्रमा आउनुको विकल्प नभएको उल्लेख गर्दै उहाँले विप्लव समूहलाई पनि पार्टीमा फर्कन आहृवान गर्नुभयो । जनताको आर्थिक विकास र सम्वृद्धिको चाहाना सम्बोधन गर्नका लागि बलियो केन्द्र आवश्यक रहेकाले वाम गठबन्धनको पक्षमा उभिएको उहाँले बताउनुभयो । गोरखामा नयाँ शक्ति पार्टीका तर्फबाट विभिन्न भूमिकामा रहेर काम गर्दै आएका कार्यकर्ता पार्टी प्रवेश हुनुलाई पुनर्मिलनको संज्ञा दिँदै माओवादी अध्यक्ष प्रचण्डले गोरखा फेरि पनि कम्युनिष्ट किल्लाकै रुपमा कायम रहने विश्वास व्यक्त गर्नुभयो।

सम्बन्ध विच्छेद गरेका श्रीमान् छोरीको शव दाबी गर्न आएपछि..

काठमाडौं, चैत १ । ‘मैले निकै दुःखले हुर्काएको छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ । नत्र मलाई पनि प्यारी छोरीको शवसँगै जलाइदिए हुन्छ,’ बुधबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भेटिएकी उर्मिला प्रधानले भनिन् । सम्बन्ध विच्छेद गरेर छुट्टै बसेका श्रीमान् छोरी श्वेताको मृत्युपछि शव दाबी गर्न आएपछि उर्मिला निकै भाव विह्वल भइन् । गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला एयरलायन्सको विमान दुर्घटनामा परी आप्mनो २४ वर्षीया डाक्टर छोरी गुमाएकी उर्मिला प्रधान पोस्ट्रमार्टममा राखिएको छोरीको शवको सम्पूर्ण पहिचानसहित हुलिया विवरण दिएर शव बुझ्न अस्पताल पुगेकी थिइन् । ५८ वर्षीया उर्मिला निकै विक्षिप्त अवस्थामा थिइन् । उनी बुधबार दिनभर अस्पताल परिसरमा छिनमै रुने, कराउने र छोरी सम्झिएर बरबराउने गरिरहेकी थिइन् । आजको राजधानीमा खबर छ । उर्मिला विगत दुई दिनदेखि मृतक छोरी श्वेता थापाको शव बुझ्न त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक ल्याब परिसरमा धर्ना दिएर बसेकी छन् । तर, बुधबार एकाएक सम्बन्ध विच्छेद गरेर बसेका (पूर्वश्रीमान्) गजेन्द्र थापा छोरीको शव दाबी गर्न आएपछि उर्मिला आश्चर्यचकित भइन् । नुवाकोटको विदुर नगरपालिकास्थित थुम्काका गजेन्द्र थापासँग उर्मिलाको दशकअघि सम्बन्ध विच्छेद भएको थियो । सम्बन्धविच्छेद भएदेखि नै गजेन्द्र थापा छोरी श्वेतालाई उर्मिलासँगै छाडेर अर्की श्रीमती लिएर छुट्टै बस्दै आएका थिए । श्वेतालाई हुर्काउने र पढाउने सबै काम आमा उर्मिलाले नै गरेकी थिइन् । उनले आप्mनी छोरीलाई डाक्टर बनाउन नेपाल राष्ट्रिय वाणिज्य बैंकको ललितपुर शाखाबाट २० लाख रुपैयाँको शैक्षिक कर्जासमेत लिएको बताइन् । सम्बन्ध विच्छेद भइसकेका श्रीमान्ले गरेको दाबीमाथि प्रश्न गर्दै राजधानीसँग शर्मिलाले भनिन्, ‘मैले छोरी श्वेतालाई हुर्काएर ठूलो बनाएँ । दुःख गरेर पढाएँ । तर, अहिले आएर छोरीको शवमा दाबी गर्दै छ ।’ कानुनी रूपमै सम्बन्ध विच्छेद गरेर अहिले ललितपुरको गोदावरी टौखेलमा माइतीहरूसँगै छुट्टै घर बनाएर बस्दै आएकी उर्मिलाले छोरीलाई डाक्टर बनाउन बंगलादेशको सिलेटस्थित जलालाबादको रागिव रवैया मेडिकल कलेजलाई ३८ हजार डलर बुझाएकी थिइन् । त्यहाँ होस्टेलमा बसेबापत थप ५ सय डलर तिर्नुपर्ने थियो । गत सोमबारको दुर्घटनामा ज्यान गुमाएकी श्वेता एमबीबीएस अध्ययन पूरा गरेर घर फर्किंदै थिइन् । उनले काठमाडौं आएपछि आमालाई चन्द्रागिरि र पोखरा जाने योजना बनाउन भनेकी थिइन् । छोरी फर्किने दिन श्वेतालाई लिन आफू विमानस्थलमा पुगेको बताउँदै उर्मिलाले भनिन्, ‘बंगलादेशको विमान ल्यान्ड हुँदै छ भन्ने सूचना आयो । अब ४० मिनेटपछि बाहिर आउँछे भनेर खुसी भएको थिएँ । तर, त्यसको केही मिनेटमै विमान दुर्घटनाग्रस्त भएको र आफ्नो आँखै अघि छोरी दन्किएको आगोमा पोलिइन् । छोरीले भनेका सबै खत्तम भयो । अब मैले छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ ।’