सिन्डिकेट अन्त्य गर्न जारी यातायात निर्देशिकाको स्वागत

काठमाडौं, चैत १९ । गोगो फाउण्डेसनले यातायात व्यवसायीको एकाधिकारबाट आक्रान्त यात्रुलाई राहत दिने उद्देश्यसहित यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक गरेको सात वटा निर्देशिकाको स्वागत गरेको छ ।

फाउन्डेसनले सरकारले कुनै सुधार गर्न खोज्नेबित्तिकै विरोधमा उत्रने, जथाभावी गाडी तेर्साएर सडक अवरुद्ध गर्नेजस्ता एकाधिकारवादबाट सञ्चालित हुँदै आएका व्यवसायीलाई निरुत्साहित गर्नुपर्ने जनाएको छ ।

फाउन्डेसनका कार्यकारी निर्देशक केदार खड्काले आज विज्ञप्तिमार्फत यात्रुलाई सुविधाजनक सेवा दिएर यातायात क्षेत्रमा काम गर्न चाहने नयाँ व्यवसायीलाई निरुत्साही गर्ने एकाधिकार शैलीप्रति विरोध जनाएको छ ।

सरकारले यातायात व्यवस्थापनसँग सम्बन्धित सात वटा निर्देशिका (मझौला तथा साना सवारी निरीक्षण निर्देशिका, मझौला तथा साना सवारी परीक्षण निर्देशिका, सवारी प्रदूषण परीक्षण निर्देशिका, स्कुल बस निर्देशिका, बस बडी विल्डिङ मापदण्ड र कारखाना तथा वर्कशप दर्ता सञ्चालन मापदण्ड, २०७४) कार्यान्वयनमा ल्याएको छ ।

केही वर्षअघि सर्वोच्च अदालतले उपभोक्ताको प्रतिस्पिर्धी सेवा छनोट गर्ने अवसरबाट वञ्चित गर्ने उद्देश्यले यातायात क्षेत्रमा लादिएको एकाधिकार अन्त्य गर्न सरकारका नाउँमा निर्देशात्मक आदेश दिएको थियो ।

अब सबै यातायात व्यवसायीले कानूनी सर्वोच्चताको सम्मान गर्दै सरकारले ल्याएका निर्देशिकाअनुसार व्यवसाय सञ्चालन गर्न गराउन गोगो फाउन्डेशनले आह्वान गरेको छ ।

हिन्दी चलचित्रमा कलाकार बनाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं, चैत १३ । महानगरीय अपराध महाशाखाले हिन्दी चलचित्रमा कलाकार बनाइदिने भन्दै ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले काठमाडौं फिल्म प्रालिमार्फत् कलाकार बनाइदिने भन्दै ठगी गर्ने भारतका विजय ठाकुर र करिष्मा बोहरालाई आइतबार लाजिम्पाटबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । ठाकुर र बोहराले १० जना व्यक्तिसँग रु २५ हजारका दरले रु दुई लाख ५० हजार ठगी गरेको आरोप छ । उनीहरुले विभिन्न व्यक्तिसँग रु १० लाख २५ हजार ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई मुलुकी ऐन ठगी महलअनुसार कसुरको मात्रा हेरी पाँच वर्षसम्म कैद र विगोबमोजिम जरिवाना हुने व्यवस्था छ । रासस

संघीय संसदको आठौं बैठक शुरु, यस्तो छ कार्यसूची

काठमाडौं, चैत्र १२ । संघीय संसदको आठौं बैठक संसद भवन नयाँ बानेश्वरमा शुरु भएको छ । सोमबार दिउँसो १ बजे शुरु भएको बैठकमा तीनवटा कार्यसूची रहेको संसद सचिवालयल जनाएको छ । आजको संसद बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद विस्तार सम्बन्धी पत्र पढेर सुनाउनु हुनेछ । त्यसपछि सभामुखले प्रतिनिधिसभा नियामावली मस्यौदा समितिमा रहने संसद सदस्यको नाम हेरफेरका जानकारी गराउनु हुने छ । त्यसैगरी,कानून, न्याय तथा संसदीय मामिला मन्त्र िशेरबहादुर तामाङले बेपत्ता पारिएका व्यक्तिका धानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(पहिलो संशोधन) २०७४ पेश कार्यसूची रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनु भयो ।

अदालत जाने तयारीमा उपसभामुख तामाङ, भनिन्- भन्दै नभनेको कुरा आयो

काठमाडौँ, चैत्र ११। प्रदेश नं. ३ की उपसभामुख राधिका तामाङले आफूले बोल्दै नबोलेको कुरालाई सामाजिक संजालमा फैलाएर आफूलाई बद्नाम गर्ने कोसिस गरिएको आरोप लगाएकी छिन्। केही दिन यता ‘गाई काटेर खान पाउने कानुन ल्याउँछु’ भनेको भन्ने समाचार केही अनलाइन समाचार माध्यममा आएपछि उपसभामुख राई चर्चामा छिन्। राईले उक्त दिन उनको विवादास्पद वक्तव्य आएको भनिएको कार्यक्रममा आफूले बोल्दै नबोलेकाले कसरी यस्तो समाचार आयो भन्ने बारे आफैँ स्तब्ध भएको बताएकी छिन्। उक्त दिन गाईको मासु खाएको आरोपमा पक्राऊ परेका मकवानपुर पदमपोखरीका कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनको गिरफ्तारी व्यक्तिगत रिसिबीका कारण भएको भन्दै उनीहरुलाई छाड्दिन तामाङ घेदुङले गृहमंत्रीलाई ज्ञापनपत्र बुझाएको थियो। राईले आफू गृहमन्त्रीलाई भेट्न मन्त्री क्वाटर, पुल्चोक  पुगेको र संयोगवश सोही समय नुवाकोटको प्रतिनिधि मण्डलसँग आफू पनि पुल्चोक पुगेको बताइन् । उनले उक्त कार्यक्रममा घेदुङ महासचिवले मात्र बोलेकोमा आफ्नो बारेमा कसरी विवादास्पद समाचार आयो भनेर अचम्म परेको बताइन्। आफू प्रदेश नं. ३ को उपसभामुख रहेको र आफ्नो पदीय मर्यादाबारे आफू सचेत रहेको बताउँदै उनले ‘बोल्दै नबोली कसरी यो समाचार भाइरल बन्यो त?’ भन्ने प्रश्नको  जवाफमा तामाङले भनिन्, “मैले बोल्ने परे पत्रकार सम्मेलन गरेर बोल्थें।” उनले आफू चेलीबेटी बेचबिखनमा संलग्न सुनबहादुर तामाङलाई  पक्राउ गर्न मा सक्रिय रूपले लागेकाले  त्यसकै इबी साँध्न यो सबै भएको हुनसक्ने बताइन्। तामाङले आफू यस घटनाको कानुनी उपचार खोज्ने तयारीमा रहेको र त्यसका लागि कानुन व्यवसायीहरूसँग परामर्श समेत थालेको बताएकी छिन्।  

सुर्ती, कपडा र डिजेल बरामद

सप्तरी, चैत ११ । खुलेआम भारतबाट नेपाल भित्र्याउँदै गरेको सुर्तीसहित अवैध समान प्रहरीले बरामद गरी भन्सारमा बुझाएको छ । प्रहरीको विशेष टोलीले चेक जाँचका क्रममा गएराति सप्तरीको तिलाठी कोइलाडी–१ स्थित भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको ४८ थान सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । यस्तै बलानबिहुल गाउँपालिका–४ बाट खटिएको संयुक्त प्रहरीको टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरेको रु दुई लाख मूल्य बरावरको कपडासमेत पक्राउ गरेको छ । सप्तरीको बोधेबरसाइन नगरपालिकाबाट अवैध रुपमा नेपालबाट भारततर्फ स१त ६३९७ नंको ट्र्याक्टरमा लोड गरी लैजान लागेको एक हजार लिटर डिजल बरामद गरेको छ । ट्र्याक्टर, डिजलसहित सप्तरी बोधेबरसाइन नगरपालिका–९ बस्ने ४३ वर्षीय इन्दल साह र र २७ वर्षीय प्रलादकुमार यादवसमेत पक्राउ परेका छन् । अवैध डिजल, ट्र्याक्टरलगायत बरामद गरेका अवैध समान समेतलाई तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

विश्व क्रिकेट इतिहासमा सबैभन्दा कम, २० बलमा भारतीय खेलाडीले बनाए शतक

काठमाडौं । भारतीय खेलाडी रिद्धिमान साहाले टि–२० क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन् । उनले विस्फोटक ब्याटिङ गर्दै, २० बलमा शतक बनाएका हुन । विश्व क्रिकेटमा यो सबै भन्दा कम बलमा बनाइएको शतक हो । जेसी मुखर्जी ट्रफी अन्तर्गत मोहन बगानका रिद्धिमानले बिएनआर रिक्रियसन क्लब कालिघाटविरुद्ध २० बलमा १०२ रन बनाएका हुन् । मोहन बगानलाई १० विकेटको जित दिलाउन रिद्धिमानले १४ छक्का र ४ चौका प्रहार गरेका थिए । उनले मात्र १२ बलमा अर्धशतक पुरा गरेका थिए । रिद्धिमानको यो प्रदर्शन टि – ट्वान्टी क्रिकेटमा सबैभदा चाँडो शतक हो । तर, उनको यो प्रदर्शनलाई आईसीसीले कीर्तिमानको मान्यता भने दिने छैन । टि – ट्वान्टी क्रिकेटमा सर्वा्धिक चाँडो शतक बनाउने कीर्तिमा वेष्ट इण्डिजमा क्रिस गेलको नाममा रहेको छ । गेलले ३० बलमा शतक प्रहार गर्दै किर्तिमान बनाएका हुन् । योसँगै ३३ बर्षीय रिद्धिमानले इन्डियन प्रिमियर लिग (आइपिएल) को नयाँ सिजन शुरु हुनु अघि आफू लयमा रहेको प्रमाणित गरेका छन् । रिद्धिमानले यो सिजनको आइपिएल सनराइजर्स हैदरावादबाट खेल्दै छन् ।

रोल्पा जनयुद्ध जस्तै फेरि पनि परिवर्तनको प्रतीक बन्नुपर्छ : सभामुख महरा

काठमाडौं, चैत्र ११ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले बदलिएको परिस्थितिमा पनि रोल्पा परिवर्तनको प्रतिक बन्नुपर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र रोल्पा–काठमाडौं सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले सामाजिक परिवर्तनका लागि रोल्पा फेरि पनि प्रतीक बन्नुपर्ने बताउनुभएको हो । ‘रोल्पा परिवर्तनको पहिचान र प्रतीक बनेको छ । हामीले धेरै ठूलो त्याग र बलिदान गरेका छौं । त्यसको प्रतिफल आजको रोल्पा बनेको छ’, उहाँले भन्नुभयो, ‘रोल्पा त्यसै रोल्पा बनेको हैन, रोल्पालाई अध्यक्ष प्रचण्डले विश्वास गर्नुभयो र रोल्पाले उहाँलाई विश्वास ग¥यो । यो विश्वासलाई अब नयाँ उचाइमा उठाउनुपर्छ । प्र्रचण्डलाई नयाँ उचाइ र नयाँ भूमिकामा उठाउनको निम्ति हामीले त्यहीँ उचाइमा उठेर विश्वास गर्नुपर्दछ ।’ कसै कसैलाई रोल्पा परिवर्तनको पहिचान र प्रतीक बनेको मन नपरेको भन्दै सभामुख महराले परिवर्तन नचाहने शक्तिहरुको षड्यन्त्र गरिरहेको बताउनुभयो । ‘परिवर्तन विरोधीहरुलाई रोल्पा परिवर्तनको प्रतीक बनेको मन परेको छैन, उहाँले भन्नुभयो, ‘सबैखाले षड्यन्त्रका विरुद्ध हामी एकढिक्का भएर लड्नुपर्छ ।’ सामाजिक परिवर्तनका निम्ति आगामी दिनहरु झनै चुनौतिपूर्ण भएको भन्दै उहाँले समाजलाई रुपान्तरण गर्ने र समृद्ध रोल्पा बनाउने अभियानमा सबै रोल्पालीहरु एक ठाउँमा आउनुपर्ने बताउनुभयो । अहिले रोल्पाका युवाहरुको ताँती देख्दा आफूलाई ०३५/३६ सालतिरको याद आएको भन्दै उहाँले भन्नुभयो, ‘त्यतिबेला रोल्पा निकै अप्ठ्यारो अवस्थामा थियो । शुरुवातमा हामी निकै थोरै थियौं । अहिले रोल्पा नेतृत्व पंक्ति र कार्यकर्ताको हिसाबले निकै सम्पन्न भएको छ ।’

रोल्पा विचार, क्रान्ति र परिवर्तनको प्रतिक – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा विचार, क्रान्ति र परिवर्तनको प्रतीक बनेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र रोल्पा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले वर्गसंघर्षको अग्रणी किल्लाको रुपमा रही विचार निर्माण र नेतृत्व निर्माणमा समेत अग्रणी रहेको बताउनुभयो । ‘नेपालको जनवादी क्रान्तिमा रोल्पाको भूमिका अग्रणी रह्यो भन्ने इतिहाससिद्ध भइसकेको छ । रोल्पाले अग्रणी वर्गसंघर्षको किल्लाको रुपमा विचार निर्माण र नेतृत्व निर्माणमा पनि अग्रणी नै हो भन्ने कुरा सावित भइसकेको छ ।’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘विचार, नेतृत्व र संगठन जनताको बीचमा बलियो विश्वासको सम्बन्ध भयो भने ठूल्ठूला परिवर्तन सम्भव हुँदोरहेछ भन्ने कुराको एउटा प्रमाण हो रोल्पा ।’ dav जनयुद्धको क्रममा रोल्पा, रुकुम, जाजरकोट, सल्यान र पूर्व पश्चिमका विभिन्न जिल्लाहरुलाई मुख्य केन्द्रीय आधारइलाकाको रुपमा सञ्चालन गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले युद्धको अप्ठ्यारा दिनहरुमा राजनीतिक र फौजी जटिलता आएपछि आफू रोल्पा जाने र त्यहाँका पार्टी कार्यकर्ता र जनतासँग बसेर समस्या समाधान गर्ने गरेको बताउनुभयो । विगतको रोल्पासँगको विश्वासलाई अझ सुदृढ गर्न चाहेको भन्दै प्रचण्डले भन्नुभयो, ‘शान्तिप्रक्रियामा, संविधान निर्माण प्रक्रियामा र संविधान कार्यान्वयन गर्दै समाजवादतर्फको नितान्त नयाँ युगको यात्रामा पनि हामी यो विश्वासलाई अझ सुदृढ गर्न चाहन्छौं । हाम्रो विचार, नेतृत्व र जनताको सम्बन्धको स्तरलाई अझ बलियो बनाउन चाहन्छौं देशभरिको पनि र मुख्यतः रोल्पाको ।’ रोल्पा एउटा जिल्लाको नाम मात्र नभएको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘रोल्पा विश्वव्यापी नयाँ विचार, नयाँ परिवर्तन, नयाँ पहिचान दिएको प्रतीक हो, यो प्रतीकलाई बनाइराख्न र अझ सुदृढ गर्न हामी सबै एकजुट हुन जरुरी छ ।’ dav उहाँले भन्नुभयो, ‘रोल्पा जसरी परिवर्तनको, क्रान्तिको, विचारको प्रतीक बनेको छ, यसलाई हामी सुदृढ गर्न चाहन्छौं ।’ रोल्पाले राजनीतिक रुपमा विश्वव्यापी पहिचान बनाएको भन्दै प्रचण्डले रोल्पाले राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय आन्दोलनमा पनि महत्वपूर्ण भूमिका भूमिका स्थापित गरेको बताउनुभयो । अहिले नयाँ र समृद्ध नेपाल बनाउने समाजवादतिरको नयाँ यात्राको आरम्भ गरेको भन्दै अध्यक्ष प्रचण्डले नयाँ तरिकाले अझ धेरै गहिरो अध्ययन, मेहनत र संघर्ष गर्नुपर्ने बताउनुभयो । ‘हामीले समाजवादको यात्राको झण्डा उठाएका छौं । पक्कै पनि माओवादी आन्दोलन, पार्टी, नेतृत्व र तपाई रोल्पा रुकुमलगायत देशभरिका क्रान्तिकारी जनतालाई नयाँ क्रान्तिको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ’, उहाँले भन्नुभयो, ‘हामी त्यसका निम्ति एक ठाउँमा केन्द्रित हुन जरुरी छ ।’

दीपिका र रणवीरको विवाह

एजेन्सी। बलिउडका चर्चित कलाकार रणवीर सिंह र दीपिका पादुकोण विवाहको गेटअपमा खिचिएका तस्वीर यति बेला सामाजिक संजालमा भाइरल भएका छन् । सामाजिक संजालमा भाइरल भएका उनीहरुको तस्वीर विवाह अघि गरिने फोटोसुटको भएका बताइएको छ । केहिदिन अघि उनीहरुको इंगेजमेन्ट र विवाहको खबर सञ्चारमाध्यममा छाएका थिए । बलिउडका हट जोडी लामो समयदेखि प्रेममा थिए । भने धेरै पटक ब्रेकअपको पनि खबर सार्वजनिक भएका थिए । रणवीरसँग दीपिका दुबैको आमाबुबाले विवाहको मिति पनि मिलेर टुङ्गो लगाएका छन् । बिबाह मिटिङ दीपिकाको घर ‘प्रभादेवी’मा भएको थियो । मिटिङको समय रणवीर र दीपिका सबै परिवारका साथमा सहभागी थिए । दीपिका र रणवीरले बिदेशमा बिबाह गर्ने इच्छा ब्यक्त गरेका थिए । तर दुबैको परिवारले इच्छा मुम्बईमा बिबाह समारोह राख्ने रहेको छ । सञ्चारमाध्यमका अनुसार उनीहरुको विवाह साउथ इन्डियन रितिरिवाज अनुसार हुनेछ । विवाहपछि दुबैले रिसेप्सन पार्टी राख्ने योजना समेत बनाएका छन् । भारतीय मिडियाका अुनसार उनीहरु चाँडै नै विवाहबन्धमा बाँधिनेवाला छन् । दुवैको परिवारहरु विवाहको तयारीमा लागेको बताइएको छ ।

जनतालाई सुशासनको प्रत्याभूति वर्तमान सरकारको प्राथमिकता : शिक्षामन्त्री

बर्दिवास, चैत ९ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनतालाई सुशासनको प्रत्याभूति गराउनु वर्तमान सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले गरेको स्वागत कार्यक्रममा मन्त्री पोखरेलले सुशासनका लागि सरकारका सबै अंगका कामलाई विज्ञान र प्रविधि क्षेत्रका पछिल्ला उपलब्धिसँग जोडेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “काम लिएर आउने जनताको नमस्कार खाएर उनीहरूलाई ‘भोलि आउनू’ भनिने चलन सधैंलाई हटाउनुपर्छ” मन्त्री पोखरेलले भन्नुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख विदुरकुमार कार्की, उपप्रमुख कृष्णमाया गौतम र प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलसहितका स्थानीय प्रतिनिधि र अधिकारीले मन्त्री पोखरेललाई सम्मान गर्नुभएको थियो । मन्त्री पोखरेलले आजै जिल्लाका बर्दिवास र भङ्गाहा नगरपालिकाकासहित चार एसइइ (माध्यमिक शिक्षा परीक्षा) परीक्षा केन्द्रको अनुगमन गर्नुभयो ।

‘साहित्यिक–सॉस्कृतिक र पर्यटकीय देशदर्शन अभियान’ कहाँ–कहाँ पुग्ने छ ? हेर्नुहोस् भिडियो

कैलाली, चैत्र ९ । चैत्र १५ गतेदेखि सुरु हुने ‘साहित्यिक–सॉस्कृतिक तथा पर्यटकीय देश दर्शन अभियान’ को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानको तयारी अन्तिम चरणमा पुगेका जानकारी दिएको हो । अभियान चैत्र १५ गते सुरु भएर बैशाख १ गते धनगढीमा एक भव्य समारोहकाविच सम्पन्न हुने छ । मध्य र सुदूरपश्चिमको कलासंस्कृति तथा पर्यटनको प्रचार–प्रसारमा टेवा पुगोस् भनेर अभियानको आयोजना गरिएको साहित्य समाजका अध्यक्ष्य तथा मदन पुरस्कार विजेता रामलाल जोशीले बताए । उनले भने,“सेती–महाकालीका मौलीक लोकगीत, नृत्य तथा यहाँका पर्यटकीय स्थलहरुलाई आफ्नै मुलुक र छिमेकी राष्ट्र भारतका विभिन्न ठाउँमा प्रत्यक्ष देखाएर प्रचारप्रसार होस् भन्नाका लागी अभियान सुरु गरिएको हो ।” हालको प्रदेश सातमा विभिन्न धार्मीक, साँस्कृतिक, ऐतिहासिक, प्राकृतिक तथा पुरातात्विक पर्यटकीय स्थलको महत्व जानकारी दिनका लागि अभियान सार्थक हुने साहित्यकार तथा डेउडा गायक यज्ञराज उपाध्यायले बताए । साथैं, अभियानले सम्पूर्ण नेपालीलाई आफ्नो सस्कृति संरक्षण र प्रचारप्रसार गर्नुपर्छ भन्ने चेतना जगाउन मद्दत गर्नेमा विश्वस्त रहेको उनको भनाई छ । भारतका विभिन्न ठाउँमा गएर पनि अभियान मार्फत पदर्शनी देखाइने भएकाले छिमेकी राष्ट्रसंगको साँस्कृतिक सम्बन्ध थप प्रगाढ हुने आयोजकले आशा राखेको छ । अभियानका बारे जानकारी दिदैं मदन पुरस्कार विजेता कृतिका लेखक एवं आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशी –भिडियो: अभियानका क्रममा हुड्केली, छलिया, सखिया नाच, भुवो, होली, डेउडा र राईझुमा गीत लगायत सांस्कृतिक नृत्यहरु नेपालका र छिमेकी राष्ट्र भारतका विभिन्न स्थानमा देखाइने साहित्य समाजका अध्यक्ष जोशीले जानकारी दिए । अभियानले धनगढी, महेन्द्रनगर, नेपालगञ्ज, पोखरा, काठमाडौं, चितवन, जनकपुर, विराटनगर, इटहरी र झापालगायत विभिन्न शहर र भारतका दार्जिलिङ, सिक्किम र आसामका विभिन्न स्थानमा साँस्कृतिक नृत्यहरु एवं पर्यटकीय तस्बिर प्रदर्शन गर्ने छ । दुई वर्षयता अभियानले निरन्तरता पाउन सकेको थिएन । भुकम्प र भारतको अघोषित नाकाबन्दीका कारण अभियानले निरन्तरता नपाएको सामाजका अध्यक्ष जोशीले बताए । तर, यो वर्षदेखि भने अभियान निरन्तर हुने उनले जानकारी दिए । नेपाल पर्यटन बोर्ड मुख्य प्रवद्र्धक रहेको अभियानमा सामाजिक विकास मन्त्रालय प्रदेश सात र धनगढी उप–महानगरपालिका, सुदूर पश्चिमाञ्चल विकास आयोग सह–आयोजक रहेका छन् । यस्तै, अभियानलाई सफल पार्नका लागि विभिन्न स्थानीय तह, संघ–संस्था र व्यक्तिले सहयोग गरेका आयोजकले जनाएको छ । अभियानमा साहित्यकार, कलाकार तथा पत्रकार गरि करिब ४० जनाको समूह हुने छ ।

आयोगद्वारा ४४ गाडी हस्तान्तरण

काठमाडौं, चैत ९ । निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नेपाल सरकारअन्तर्गतका विभिन्न निकायलाई आज ४४ थान सवारी साधन हस्तान्तरण गरेको छ । आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले आफ्नै कार्यकक्षमा मन्त्रिपरिषद्को कार्यालयसहित उपराष्ट्रपतिको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय, विभिन्न मन्त्रालयसहित राष्ट्रिय समाचार समिति र रेडियो नेपाललाई सवारी साधन हस्तान्तरण गरिएकोे जानकारी दिनुभयो । प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले आफूले प्रयोग गरिरहनुभएको पुरानो सवारी साधन नै प्रयोग गर्नुहुने भएकाले प्रमुख आयुक्तका लागि खरिद गरिएको नयाँ सवारी साधन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय भएको जनाइएको छ । सचिव पौड्यालले मुलुकमा तीनै तहको निर्वाचनसहित राष्ट्रपति एवम् उपराष्ट्रपति पदको समेत निर्वाचन सम्पन्न भइसकेका अवस्थामा निर्वाचन सञ्चालन प्रयोजनका लागि प्रयोग गरिएका सबै सवारी साधन विभिन्न सरकारी निकायलाई हस्तान्तरण गरिएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको आचारसंहिता विपरित प्रतिवेदन आयाे : परराष्ट्र मन्त्रालय

काठमाडौं, चैत ८ । परराष्ट्र मन्त्रालयले युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पर्यवेक्षणबारे दिएको अन्तिम प्रतिवेदनमाथि गम्भीर आपत्ति जनाएको छ । प्रतिवेदनका केही सुझावले नेपालको संविधान कार्यान्वयनमा कोशेढुंगा सावित भएको शान्तिपूर्ण, स्वच्छ र धाँधलीरहितरुपमा सम्पन्न निर्वाचनलाई नजरअन्दाज गर्नाका साथै अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको कार्यक्षेत्र र मान्यताविपरीत देखिएको मन्त्रालयले जनाएको छ । युनियनले ती निर्वाचनका कानुनमा खस क्षेत्रीलाई आरक्षण कोटामा नराख्नलगायत सुझावसहितको प्रतिवेदन मंगलबार सार्वजनिक गरेको थियो । मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा निर्वाचन आयोगकोे अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको आचारसंहिता तथा नेपाल सरकार र सो युनियनबीच भएको सम्झौताविपरीत सो प्रतिवेदन आएको उल्लेख गरिएको छ । नेपालको संविधानलाई प्रत्यक्ष चुनौती दिइएको त्यसप्रकारको सुझाव फिर्ता लिन पनि मन्त्रालयले युनियनसँग आग्रह गरेको छ । सार्वभौम मुलुकका नेपालीले आफ्नो सामाजिक संरचना र समावेशीताको मर्मअनुसार तय गरेको राजनीतिक मुद्दामा सो आयोगबाट सुझाव दिइनु दुःखद भएको पनि मन्त्रालयले जनाएको छ । अत्यधिक मतदान भएको निर्वाचन नेपालको लोेकतन्त्र, विकास र समृद्धिका लागि महत्वपूर्ण सावित भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

कर्मचारीलाई स्वेच्छिक अवकाश दिन सकिँदैन : मन्त्री पण्डित

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दक्ष जनशक्ति रुपमा रहेको निजामती कर्मचारीलाई स्वच्छिक अवकाश दिन नसकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले चिकित्सकको सफारिसमा मात्र शारीरिक एवं मानसिकरुपमा अशक्त कर्मचारीलाई मात्र स्वच्छिक अवकाश दिन सकिने प्रष्ट पार्नुभयो । उहाँले सरकारले तोकेको ठाउँमा कर्मचारी कार्य गर्न जानुपर्ने अन्यथा सरकार बाध्य भई कारबाही गर्ने दृढतासमेत व्यक्त गर्नुभयो । मन्त्री पण्डितले वर्तमान संक्रमणकालीन अवस्थामा सरकारको तीनवटै तहमा कर्मचारी खटाउनुपर्ने भएकाले कर्मचारीलाई बिदा दिने पक्षमा सरकार नभएको धारणा व्यक्त गर्नुभयो । मन्त्री पण्डितले आगामी आइतबार सबै मन्त्रालयमा तोकिएको क्षेत्रमा कर्मचारी पठाउनका लागि पत्र पठाउने जानकारी दिँदै सम्बन्धित ठाउँमा नजाने कार्मचारीलाई निजमती ऐनअनुसार कारबाही हुने बताउनु भएको छ । उहाँले अहिलेसम्म ७८ प्रतिशत कर्मचारी आफ्नो कार्यक्षेत्रमा पुगिसकेको र अर्को हप्तादेखि कार्यक्षेत्रमा नजाने कर्मचारी कारबाहीको भागिदारी स्वय् हुनुपर्ने बताउनुभयो । मन्त्री पण्डितले सरकारले खटाएका कर्मचारीलाई पहिलेको कार्यालयमा हाजिर गराउन खोजिए कार्यालय प्रमुख पनि कारबाहीको भागिदार हुने प्रष्ट पार्नुुभयो । अहिलेको सरकारको प्रमुख लक्ष्य भनेको आर्थिक समृद्धि र विकास भएकाले त्यसका लागि राष्ट्रसेवक कर्मचारीको सहयोग आवश्यक रहेको बताउनुभयो । एक प्रश्नको जवाफमा मन्त्री पण्डित अघिल्लो सरकारले गरेका कतिपय निर्णयको मूल्यांकन गरिने र कानुन विपरीत भएकामा खारेज हुने बताउनुभयो । उहाँले संघीयता असफल नहुने बताउँदै यसमा देखिएका कमी कमजोरी हटाउँदै यसलाई सफल कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको छ भन्नुभयो । रासस

दशैंअघि नै राजधानीमा मेलम्चीको पानी वितरण गर्ने मन्त्री बीनाको तयारी

काठमाडौं, चैत्र ७ । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले मेलम्चीको पानी राजधानीमा दशै अघि वितरण गर्ने बताएकी छन् । बुधबार राजधानीमा रिपोर्टर्स् क्लव नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री बीनाले अबको करीव एक महिनामा मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा आउने गरी पूर्वाधार निर्माणको काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको बताइन् । मंगलबार मन्त्री बीना मेलम्ची खानेपानी आयोजना निर्माणस्थल पुगेर अनुगमन गरेपछि निर्माण कार्यलाई तीव्रता दिन र अव ढिलासुस्ती नगरी काम छिटो सम्पन्न गर्न माताहातका अधिकारीलाई निर्देशन दिएकी थिइन । संविधानको धारा २५ ले नै मौलिक हकअन्तर्गत स्वच्छ खानेपानीको व्यवस्था गरेकाले खानेपानी जनतासँगै प्रत्यक्ष जाडिएको विषय भएको बताईन् । उनले भनिन्, ‘मेलम्चीको पानी काठमाडौं ल्याउने निर्माण कार्य अवरुद्ध थियो, त्यही भएर म हिजोमात्रै मेलम्ची पुगेर आएँ, मैले आवश्यक निर्देशन दिएर आए अव निर्माण कार्यले तीव्रता पाउछ ।’ मन्त्री बीनाले २५ दिनभित्रै मेलम्चीको पानी सुन्दरीजलमा (मुख्य र अन्तिम द्धार) ‘ब्रेक–थ्रुो’ गर्ने विश्वास निर्माण कम्पनीले दिएको पनि स्पष्ट पारिन् । ‘असार अन्तिमसम्म सुन्दरीजलमा पानी खसाल्ने प्रतिबद्धता आएको छ, मैले त्यही स्पिरिटमा काम गर्न निर्देशन दिएको छु’–उनले भनिन्। मन्त्री मगरले दशैंअघि नै मेलम्चीको पानीलाई स्वागत गर्न काठमाडौंवासीहरुलाई आग्रह समेत गरिन् । तराई–मधेशका २२ जिल्लामा खानेपानीमा देखिएको आर्सनिकको समस्या समाधान गर्न तराई–मधेश खानेपानी सुधार कार्यक्रम सञ्चालनमा आएकोले त्यसलाई प्रभावकारी रुपमा अघि बढाउने पनि उनले विश्वास दिलाईन् । त्यस्तै उनले हिमाली रेन्जको सरसफाईमा पनि आफूले विशेष ध्यान दिने प्रतिबद्धता जनाईन् । काठमाडौं उपत्यका र शहरमा देखिएका पानीको समस्यालाई हल गर्नको लागि चुहावटलाई पनि रोक्ने उनको अठोट थियो । उनले भनिन्,‘पानीको समान पहुँच पुर्याउँछौं, उपत्यका र देशका विभिन्न शहरमा देखिएका समस्याहरुलाई वैज्ञानिक रुपमा हल गर्नेगरि म कार्यक्रम अघि बढाउँछु।’ त्यस्तै उनले आगामी ०७५ साललाई राष्ट्रिय सरसफाई वर्षको रुपमा घोषणा गरेर काम गर्ने बताईन् । उनले भनिन्,‘संविधानको धारा ३० मा पनि सरसफाईको बारेमा उल्लेख गरिएको छ, सोही अनुसार हामी ०७५ साललाई राष्ट्रिय सरसफाई अभियान सञ्चालन गर्छौं।’ केही वर्षभित्र बाग्मती, विष्णुमति र धोबीखोलालाई पर्यटकीय रुपमा विकास गर्नेपनि उनले सुनाईन् । ‘त्यसको लागि प्राकृतिक र कृत्रिम रुपमा पनि पानीको बहाव बढाउँछौं’–उनले भनिन्। मन्त्री बनिाले कम्तिमा पनि आफ्नो कार्यकालमा बाग्मतीमा ¥याफ्टिङ र स्विमिङ गर्न सक्ने वातावरण बनाउने प्रतिबद्धता जनाईन् । ‘स्वस्थ खानेपानी र सफा वातावरण नागरिकको मौलिक अधिकार हो, त्यसैले यही स्पिरिटमा म काम गर्छु।’–उनले भनिन् ।

दलित मैत्री नीति अवलम्बन गर्ने प्रधानमन्त्री अाेलीकाे बचन

काठमाडौं, चैत ७ । सरकारले सबै समुदायलाई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तय गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सरकारका नीति तथा कार्यक्रमलाई दलित मैत्री बनाइने पनि उनले बताएका छन् । ५३ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले परम्परागत कुसंस्कार कारण नेपालमा अझै पनि जातीय विभेद कायम रहनु दुःखत रहेको बताएका छन् । ‘सरकारले आगामी दिनमा सबै समुदायलाई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तय गर्ने छ,’ प्रधानमन्त्री ओलीको सन्देशमा लेखिएको छ । संविधानको प्रस्तावनामा नै सबै प्रकारका विभेदको अन्त्य गरिनेछ भन्ने व्यवस्था भएकोले सरकार त्यसको प्रभावकारी कार्यन्वयनको गर्न प्रतिवद्ध रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीले राज्यका हरेक अंग र निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार दलित समुदायको प्रतिनिधित्व गराइएको स्मरण गरेका छन् । स्थानीय तहको वडा स्तरमा दलित महिलाको अनिवार्य प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गरिनुका साथै राष्ट्रियसभामा प्रत्येक ७ प्रदेशबाट १/१ जनाको प्रतिनिधित्व गरिनु यस समुदायलाई राज्यको मुल प्रवाहमा ल्याउने एउटा प्रयास भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । सन् १९५९ मार्च २१ मा दिन दक्षिण अफ्रिकाको तत्कालीन गोरा सरकारले काला जाति माथि दमन गर्न रङ्गभेदी नीति लागू गर्दा काला जातिहरुले विरोध गरेका थिए । उक्त विरोधको दमनमा ६९ जना कालाजातिको मृत्यु भएको स्मरणमा १९६६ सालमा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको थियो । नेपालले सन् १९७१ म्ाा सो महासन्धीलाई अनुमोदन गरेको थियो ।