विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति छिट्टै हुन्छः मन्त्री पुन

रोल्पाः ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताएका छन् ।

प्रेस सङ्गठन जिल्ला शाखाले आज लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ गतेसम्म रहेकाले त्यसअघि नै सरकारले नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताए ।

कुलमानको पुनःनियुक्तिका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कसलाई नियुक्ति गर्ने भन्ने विषयको अझै टुङ्गो नलागेको स्पष्ट पारे । ‘कुलमान घिसिङको विषयमा कोही सकारात्मक र कोही नकारात्मक रहेको भन्दै चलाइएको हल्लामा सत्यता छैन’, मन्त्री पुनले भने ।

विप्लव नेकपाका तत्कालीन सैन्य कमाण्डरसहित ८८ जना जसपामा प्रवेश

काठमाडौं : नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य केन्द्रिय कमाण्डका तत्कालिन सैन्य कमाण्डर जीवन लामा (जिमी) सहितका ८८ जना नेताकार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । जसपामा प्रवेश गर्नेमा कमाण्डर लामासहित ब्यूरो सदस्य प्रह्‍लाद फुयाल (जीवन), रौतहट जिल्ला पूर्व सेक्रेटरी गोपाल जिम्बालगायत विभिन्न तह र जिल्लाका ८८ जना नेता रहेका छन् । पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिका अनुसार उनीहरू विप्वलको पार्टीमा रहँदा ललितपुर, मकवानपुर, काभ्रे, चितवन, रौतहट, बारा, पर्सा, काठमाडौं, दोलखा, धादिङ, नुवाकोट र सिन्धुली जिल्लाका विभिन्‍न तहगत जिम्मेवारीमा रहेका नेताहरू हुन् ।

कक्षा ११ मा नयाँ व्यवस्था: संकाय छुट्याउन नपाइने

काठमाडौं: अब विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले यस पटकबाट विद्यालयले विगत जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने जानकारी दिए । उनले अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने जानकारी दिए । यसमा भर्ना हुँदा विद्यार्थीलाई ऐच्छिक विषय छनोट गर्न दिइन्छ तर सङ्कायका आधारमा त्यसलाई मान्यता दिइँदैन । यसपटक कक्षा ११ मा ३ वटा अनिवार्य विषय र तीनवटा समूहबाट एक/एक विषय ऐच्छिक गरी ६ वटा विषय अध्यापन गराइन्छ । विद्यार्थीले चाहेमा सातौँ विषयका रूपमा पनि अध्ययन गर्न पाउने व्यवस्था छ । कक्षा ११ पनि अब विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया कक्षा ९ र १० को जस्तै गरी लिइने भएको हो । एकलपथीय प्रणालीमा सङ्काय छुट्याएर अब भर्ना हुुँदैन र पठनपाठन पनि हुँदैन । साथै विद्यार्थीलाई प्रमाणपत्र दिँदा पनि सङ्कायका आधारमा नदिइने भएको छ । कक्षागत उत्तीर्ण भनेर मात्र प्रमाणपत्र दिइन्छ । विद्यालय तहमा गएपछि अब कक्षा १२ को भर्ना पनि यसैगरी हुनेछ । यसअघि उच्च माध्यमिक शिक्षा परिषद्को मातहतमा कक्षा ११ र १२ मा विद्यार्थी भर्ना तथा प्रमाणपत्र जारी गर्दा सङ्कायका आधारमा गर्ने गरिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।  

सकियो सीसीएमसीको बैठक, के विषयमा भयो छलफल?

काठमाडौं : कोरोना भाइरस नियन्त्रण तथा रोकथामका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक सकिएको छ । आजको बैठकमा माघ ९ गते पहिलो कोरोना संक्रमण देखिएदेखि हालसम्म भएको संक्रमणको अवस्था, रोकथामका लागि चालिएका कदमहरूको बारेमा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरिएको सिसिएमसीका प्रवक्ता महेन्द्र गुरागाँईले जानकारी दिए । आजको बैठकमा प्रधानमन्त्रीसँग दोहोरो छलफल नभएको र ब्रिफिङ सुनिसकेपछि प्रधानमन्त्रीले धन्यवाद दिएको उनले बताए । सिसिएमसीले भोलिदेखि उपत्यकामा गरिने निषेधाज्ञाको बारेमा पनि प्रधानमन्त्रीलाई जानकारी गराएको छ । बैठकमा प्रधानमन्त्री ओलीका साथै अन्य मन्त्रीहरू पनि सहभागी भएका थिए ।

नेकपा विवादः कार्यदलको सुझावका आधारमा समाधान खोजिँदै

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक किचलो छ सदस्यीय कार्यदलमार्फत समाधान हुने भएको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यदल बनाउने सहमति भएसँगै नेकपाको विवाद अन्ततः समाधान हुने भएको हो । डेढ महिनादेखि जारी विवाद समाधानका लागि दुवै अध्यक्षले कार्यदलले दिने सुझावलाई मानेर अगाडि बढ्ने जनाएका छन् । ओली र प्रचण्डबीच दर्जनौंपटक भएको भेटवार्तामार्फत निकास निस्कन नसकेपछि कार्यदलमार्फत समस्याको समाधान खोजिएको छ । नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले सहमतिको खाका तयार पार्ने काम अगाडि बढाएको छ । शनिबार बसेको कार्यदलको बैठकले पार्टी एकतालाई थप बलियो बनाएर लैजाने गरी खाका तयार गर्ने काम अगाडि बढाएको कार्यदलका एक सदस्यले बताए । उनका अनुसार वैचारिक विवाद धेरै ठूलो नभएकाले पार्टीभित्र देखिएका असन्तुष्टिलाई सम्बोधन गर्ने संस्थागत रुपमा पार्टी सञ्चालन गर्ने गरी खाका तयार पार्ने काम भइरहेको छ । ओली र प्रचण्डलाई वार्तामा बस्न दबाब दिने नेताहरु नै कार्यदलको सदस्य रहेका कारण केही दिनभित्र नै समस्या समाधान हुने बताइएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले पार्टीभित्रको विवाद पाँच दिनभित्र समाधान हुने एक टेलिभिन कार्यक्रममार्फत सार्वजनिक भएको तीन दिनभित्र नै डेड महिनादेखि हुन नसकिरहेको समस्या समाधानको काम अगाडि बढेको छ । ओली र प्रचण्डबीच महाधविशेनसम्म अध्यक्ष र प्रधानमन्त्री ओलीले रहने र पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी प्रचण्डले लिने सहमति भएको छ । पार्टी विभाजनको डिलमा पुगेपछि उपाध्यक्ष वामदेव गौतमले सहमतिको छबुँदे खाका अगाडि सारेका थिए । नेकपाका एक नेताका अनुसार गौतमले अगाडि सारेको खाकालाई नै आधार बनाएर दुई अध्यक्षबीच सहमति भएको बताइएको छ । तर औपचारिका सहमति भने कार्यदलले प्रतिवेदन दिएपछि मात्र हुनेछ । संवैधानिक नियुक्ति गर्नेदेखि सरकार सञ्चालन गर्दा प्रधानमन्त्री ओलीले पार्टीसँग समन्वय गरेर मात्र गर्ने सहमति पनि अध्यक्षद्वयको बीचमा भएको स्रोतको दाबी छ । बिहीबार भएको भेट वार्तामा चैतमा महाधिवेशन गर्ने, सहमतिकै आधारमा सरकार तथा पार्टी सञ्चालन गर्ने, मन्त्रिपरिषद् पुनर्गठन, मुख्यमन्त्रीहरु हेरफेरसमेत गर्न सकिने ओलीले प्रस्ताव गरेका थिए । ओली र प्रचण्डबीच छ सदस्य कार्यदल गठन गरेर पार्टीको विवाद हल गर्ने सहमति भए पनि वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने प्रचण्डसँग असन्तुष्टि जनाएका छन् । खनाल, नेपाल र श्रेष्ठले अध्यक्ष एवं प्रधानमन्त्री दुईमध्ये एक पदबाट ओलीले राजीनामा दिनुपर्ने अडानबाट प्रचण्ड पछाडि हटेको भन्दै असन्तुष्टि जनाएको बताइएको छ । कार्यदलको प्रतिवेदन दिएपछि सहमति कायम गरेर अगाडि बढ्ने समझदारी ओली र प्रचण्डको बीचमा भएको छ । छ सदस्यीय कार्यदलमा महासचिव पौडेल, भीम रावल, शकंर पोखरेल जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल रहेका छन् । याे समाचार अाजकाे नेपाल समाचारपत्रमा छ ।

कोरोना संक्रमण रोक्न काठमाडौं-१४ सिल

काठमाडौं : काठमाडौं महानगरपालिका-१४ ले कोभिड-१९ को सङ्कमण फैलिन नदिन वडालाई सिल गरेको छ । वडा कार्यालयले आफू र त्यस वरपर क्षेत्रमा सङ्कमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले आफ्नो क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसललगायत बन्द गर्न निर्देशन दिएको छ । वडा कार्यालयले हाल सञ्चालन गर्दै आएका दैनिक प्रशासनिक कार्य आगामी भदौ १० गतेपछि अवस्था हेरी पुनःसञ्चालन गर्न सकिने जनाएको छ । भीडभाड कम गर्न बैंक तथा वित्तीय क्षेत्रका केही कार्यालयलाई बन्द तथा केही शाखालाई आंशिक सञ्चालन गर्न निर्देशन दिइएको छ । अत्यावश्यकीय सेवाभित्र पर्ने वस्तु आपूर्ति गर्न बिहान ५ देखि ९ बजेसम्म सेवाप्रदायक संस्थालाई समय तोकिएको छ । स्थानीयवासीको सुरक्षालाई दृष्टिगत गर्दै टोलमा सरसफाइ, औषधि छर्काइ तथा सचेतना अभिवृद्धिका लागि माइकिङ गर्नेलगायत कार्यसमेत भइरहेको छ । वडा कार्यालयले स्थानीय उपभोक्ता समिति, विभिन्न क्लब, सामाजिक सङ्घसंस्था, समूहका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई समावेश गरी सम्बन्धित क्षेत्रमा अनुगमन गर्ने तथा अनावश्यक भीड गर्ने र पसल खोल्ने व्यवसायीलाई कारवाही गरिने व्यवस्था गरेको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिए । वडामा अहिलेसम्म ४२ कोरोना सङ्क्रमित फेला परेका छन् । कामपा कार्यालयसँग समन्वय गरी वडा कार्यालयले बल्खु, टेकुसीलगायत स्थानमा निःशुल्क पिसिआर परीक्षण गराएको तथा अन्य स्थानमा समेत परीक्षण बढाउन प्रयास गरेको वडाअध्यक्ष सापकोटाले बताए । वडा कार्यालयले आफ्ना वडावासीलाई सामन्यावस्थामा घरदेखि बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र अति नै आवश्यक कार्यमा निस्कँदा दूरी कायम गरी सुरक्षाका उपाय अपनाउन आग्रहसमेत गरेको छ ।

भारतमा कोरोनाको नयाँ रेकर्ड

काठमाडौंः पछिल्लो २४ घण्टामा भारतमा विश्वकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । त्यहाँ शुक्रबार ६५ हजार ६१० जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । साथै उक्त अवधिमा भारतमा ९९० जनाको मृत्यु हुँदा ५६ हजार ९२० जना निको भएका छन् । योसँगै यो समाचार तयार पार्दासम्म भारतमा संक्रमितको संख्या २५ लाख २५ हजार २२२ पुगेको छ भने ४९ हजार १३४ जनाको मृत्यु भएको छ । १८ लाख सात हजार ५५६ जना निको हुँदा संक्रमित संक्रमित संख्या छ लाख ६८ हजार ४४ रहेको छ । शुक्रबार अमेरिकामा ६० हजार ६ सय जनाको संक्रमित थपिँदा एक हजार एक सय २० जनाको मृत्यु भयो र योसँगै त्यहाँ संक्रमितको संख्या ५४ लाख ७६ हजार २६६ पुग्दा एक लाख ७१ हजार ५३५ जनाको मृत्यु भएको छ । त्यस्तै, शुक्रबार ब्राजिलमा ४९ हजार २४७ जना संक्रमित थपिँदा एक हजार सात जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या ३२ लाख ७८ हजार ८९५ पुग्दा एक लाख छ हजार ५७१ जनाको मृत्यु भएको छ ।

यी हुन् आजदेखि काठमाडौं उपत्यकामा गर्न नपाइने ११ गतिविधि (सूचीसहित)

काठमाडौंः काठमाडौं उपत्यकामा भेला हुन, प्रदर्शन गर्न र पारिवारिक जमघटमा पनि रोक लगाउने निर्णय गरिएको छ । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले खुला स्थानमा भेला हुने, भिडभाड गर्ने र सभाजुलुस गर्न निषेध गर्ने निर्णय गरेको हो । शुक्रबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मको लागि सो प्रतिबन्ध लगाइएको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शुक्रबार साँझ जारी गरेको छुट्टाछुट्टै आदेशमा उल्लेख गरिएको छ । ‘कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि तत्काल थप सतर्कता अपनाउनका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नेरगराउने सन्दर्भमा मिति २०७७/०४/३० गते राति १२ बजेदेखि मिति २०७७/०५/१५ राति १२ बजेसम्मका लागि काठमाडौं जिल्लाभरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम देहायबमोजिमका गतिविधिहरू गर्ने निषेध गर्ने गरी आदेश गरिएको छ,’ तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा भनिएको छ ।

सर्वोच्च अदालतको सेवामा कटौती गर्ने निर्णय

काठमाडौं : सर्वोच्च अदालतले कोभिड-१९ को सङ्क्रमण बढ्दै गएर न्यायाधीशका निजी सुरक्षाकर्मीमा समेत सङ्क्रमण देखिएपछि आगामी भदौ १५ गतेसम्मका लागि सेवा कटौती गर्ने भएकोे छ । अदालतले आज सूचना जारी गरी बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, संवेदनशील विषय, तत्काल सुनुवाइ हुनुपर्ने रिटको दर्ता तथा सुनुवाइ एवं मुद्दा फिर्ता र मिलापत्रका काम मात्र गर्ने जनाएको हो । सूचनामा भनिएको छ, ‘काठमाडौं उपत्यकामा समेत सङ्क्रमण बढ्दै गएको र परीक्षणबाट यस अदालतका कर्मचारी, न्यायाधीशका निजी सुरक्षाकर्मी समेतमा सङ्क्रमण देखिई माननीय न्यायाधीशहरू नै होम क्वारेन्टाइनमा रहनु परेको अवस्था छ,’ सूचनामा भनिएको छ, ‘यस परिस्थितिमा सेवाप्रवाहमा संकुचन ल्याउन आवश्यक रहेको विषयमा नेपाल बार एशोसिएसन तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट समेत अनुरोध भई आएको छ ।’ काठमाडौं उपत्यकाका हकमा भने यही ८ साउनदेखि सुरु भएको हदम्याद, म्याद र तारिखमा उपस्थित हुने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।

अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । स्रोतका घिमिरेलाई मंगलबार कोरोना पोजिटिभ देखिएको हो । केही सातायता अख्तियार केन्द्रीय कार्यालय, टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न नपाइने

काठमाडौं : अब भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न नपाइने भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिए । कोरोना जोखिमकै बेलामा सीमा क्षेत्रमा मानवीय आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको प्रवक्ता खतिवडाले बताए । भारतसँग सीमा जोडिएको जिल्लामा बढ्दो आवाजावतले जोखिम बढेको सरकारको दाबी छ ।

कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति मुखर्जीको भेन्टिलेटरमा उपचार हुँदै

नयाँदिल्ली : कोरोना भाइरस सङ्क्रमण भएपछि भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। उनी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए। उनी ८४ वर्षका भए। कोभिड-१९ पुष्टि भएको भोलिपल्ट मङ्गलवार सघन उपचार कक्षमा सारिएको बताइएको छ। अस्पतालमा मस्तिष्कमा रगत जमेर बनेको सानो टुक्रा हटाउन शल्यक्रियाका लागि पुगेका मुखर्जीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो। स्थानीय सञ्चारमाध्यमहरूले अस्पतालले उनको अवस्था गम्भीर रहेको र आगामी केही घण्टा महत्त्वपूर्ण हुने बताएको उल्लेख गरेका छन्। राष्ट्रपति हुनुअघि मुखर्जी भारतका अर्थमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीजस्ता महत्त्वपूर्ण पदमा रहेर काम गरेका थिए। उनले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व ब्याङ्कको बोर्डमा पनि काम गरेका थिए।

गोंगबुमा कृष्णबहादुरको किन र कसरी भयो विभत्स हत्या ?

काठमाडौंः गोंगबुमा भएको विभत्स हत्यामा संलग्न महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । चितवनबाट सोमबार बेलुका पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई प्रहरीले मंगलबार बिहान काठमाडौं ल्याएर पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । ३७ वर्षीया कल्पना चितवनको कालिका नगरपालिका–७ घर भई हाल काठमाडौंको टोखा नगरपालिका वडा–१० नवज्योति मार्ग बस्दै आएकी थिइन् । उनले केही केही टेलिशृंखलामा अभिनय समेत गरेकी थिइन् । प्रहरीलाई दिएको बयानमा कल्पनाले रोल्पाका कृष्णबहादुर बोहोराको हत्या गरेको स्वीकार गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । कृष्णबहादुरले फेसबुकमा नांगो फोटो राखेपछि रक्सीमा हालेर स्लिपिङ ट्याबेलट खुवाएको र बोहोराको अण्डकोषमा हानेर हत्या गरेको खुलेको ज्ञवालीले बताए । महानगरीय अपराध महाशाखा महाशाखाका एसएसपी दीपक थापाका अनुसार हत्यापछि शव व्यवस्थापन गर्न भण्डारीले टाउको र खुट्टा काटेकी थिइन् । हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्बिर फेसबुकमा हालेको भन्ने नै देखिएको उनले बताए । कल्पना र कृष्णबहादुरबीच चार वर्षअघि फेसबुकबाट चिनजान भएपछि नजिक भएका थिए । सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो ।

३० वर्षीया महिलाले जन्माइन् ५ किलोको बच्चा

चितवन : मकवानपुरकी १ महिलाले ५ किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई-९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज ५ किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका अनुसार उच्च रक्तचाप र बच्चा ठूलो भएका कारण हेटौँडा अस्पतालबाट उपचारका लागि आइतबार साँझ चितवन मेडिकल कलेज पठाइएको थियो । लोप्चनले आज बिहान ९ बजे छोरी जन्माएकी हुन् । आमा ११२ किलो भएका कारणसमेत शल्यक्रियामा समस्या आउनसक्ने भएकाले लोप्चनलाई चितवन पठाइएको उनले बताए । भरतपुर अस्पतालका स्त्री रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले सामान्यतया बच्चाको तौल दुई किलो ५०० ग्रामदेखि तीन किलो ५०० ग्रामसम्म हुने बताए । ४ किलोभन्दा माथि तौल भएमा आमामा केही समस्या हुनसक्ने उनको भनाइ छ । लोप्चनको डा बन्दना खनाल, डा. प्रेक्षा सिंह, डा. वसन्त शर्मा, डा. इन्द्रनारायण श्रेष्ठ, डा. मेनुका ताम्राकारसहितको टोलीले शल्यक्रियामार्फत बच्चा निकालेको हो । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको कलेजले जनाएको छ ।

कोरोनाबाट थप १ जनाको मृत्यु, मृतक संख्या ७४ पुग्यो

काठमाडौंः नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । मृतक पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुष हुन् । डायबिटिजबाट पीडित उनको गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । साउन १७ गते अस्पताल भर्ना उनको आईसीयूमा राखेर उनको उपचार हुँदै आएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु भएको यो तेस्रो घटना हो । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो

सिरहामा कोरोना भाइरसको संक्रमणबाट एक युवकको मृत्यु

सिराहाः बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको धरानमा मृत्यु भएको छ । गत तीन वर्षदेखि किड्नीको समस्या रहेका युवकको मृत्यु भएको हो । ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ । उनको दाह संस्कार नेपाली सेनाले गर्ने जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्ण देव यादवले जानकारी दिए ।