कोरोनाबाट ज्यान गुमाएकी महिलाको शिशुलाई पूर्वमन्त्री बस्नेतले ५० हजार सहयोग गर्ने

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताएका छन् ।

धुलिखेल अस्पतालमा उपचारका क्रममा जेठ २ गते ती महिलाको मृत्यु भएको थियो । मन्त्री बस्नेतले भर्खर जन्मिएको नवजात शिशुको पौष्टिक आहारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने बताएका हुन् । यो सहयोग शिशुको बुबा अस्पातलबाट फर्केपछि हस्तान्तरण गरिने उनले बताए ।

त्यस्तै शिशुलाई १२ कक्षासम्म निःशुल्करूपमा शिक्षालगायतका विभिन्न सहयोग र उच्च शिक्षापश्चात् रोजगारीसमेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि उनले प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको आज भएको भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड अनुसार संसद्का बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराएका थिए । आज अपराह्न ४ बजेदेखि सुरू हुन लागेको सङ्घीय संसद्को छैटौँ अधिवेशन तथा सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा उनीहरूबीच छलफल भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

आज पनि देशभर वर्षाको सम्भावना

काठमाडौंः देशका मध्य र पूर्वका पहाडी भूभागमा शुक्रबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरूमा साथै तराईका केही स्थानमा मेघगर्जन, तथा चट्याङ्सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । शुक्रबार राति पनि देशका पूर्वी भूभाग लगायत मध्य र पश्विमका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने तथा मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ् तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । आगामी तीन दिनको मौसम पूर्वानुमान: बैशाख २६ गते (शुक्रबार) दिउँसोः देशको पूर्वी भू-भागमा सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ ।देशका पूर्वी भू-भागका थोरै स्थानहरूमा साथै मध्य र पश्चिमका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशको पूर्वी भु-भागमा सामान्य बदली अनि मध्य र पश्चिमका पहाडी भू-भागमा आंशिक बदली भई बाँकि भू-भागमा सामान्यतया सफा रहनेछ। पुर्वी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। बैशाख २७ गते (शनिबार) दिउँसोः देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराइका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशका मध्य र पुर्वका भू-भागमा सामान्य बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। बैशाख २८ गते (आइतबार) दिउँसोः देशभर सामान्य बदली रहनेछ।पश्चिमि भू-भागका केहि स्थानहरुमा अनि मध्य र पुर्वका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशभर सामान्य बदली रहनेछ। मध्यका केहि स्थानकरुमा अनि पुर्व र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  देशको पुर्वी भू-भागका थोरै र पश्चिमका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

नेपालमा कोरोना संक्रमितको संख्या सय नाघ्यो (सूचीसहित)

काठमाडौंः नेपालमा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या एक सय एक पुगेको छ । संक्रमित एक सय एक मध्ये २२ जना निको भइसकेका छन् । कोरोना संक्रमित (सूचीसहित): (१००–१०१) १६ र २२ वर्षका दुई पुरुष, बैशाख २५ गते, कपिलवस्तु (८३-९९) २ महिना को शिशु देखि ६६ बर्षका, १० पुरुष, ७ महिला, १७ जना, बैशाख २४, पर्सा (७६-८२) २२, ३०, ४० बर्षका ३ पुरुष, ९, ३२, ३४, ५५ बर्षका ४ महिला, ७ जना, बैशाख २३, बाँके (७०-७५) १६, २१, ३४ बर्षका ३ पुरुष, ४०, ५५, ६० बर्षका ३ महिला, ६ जना, बैशाख २१, बाँके (६१-६९) ७ देखि ५८ बर्षका ५ जना पुरुष र ४ जना महिला, ९ जना, बैशाख २१, बाँके (६०) ३६ बर्षका पुरुष, बैशाख २१, पर्सा (५९) ६० बर्षका पुरुष, बैशाख २०, बाँके (५८) २५ बर्षका पुरुष, बैशाख २०, रुपन्देही (५७) ४६ बर्षका पुरुष, बैशाख १७, पर्सा (५५-५६) ४३ र ४१ बर्षका २ जना पुरुष, बैशाख १७, बारा (५३-५४) २४ र ३५ बर्षका २ जना पुरुष, बैशाख १६, रौतहट (५२) ५० बर्षका पुरुष, बैशाख १४, झापा (५०-५१) ५० बर्षका २ जना पुरुष, बैशाख १४, पर्सा (४९) ६२ बर्षका पुरुष, बैशाख १२, झापा (४८) २६ बर्षका पुरुष, साउदी अरब बाट, बैशाख ११, भोजपुर ४७) १४ बर्षका बलाक (पुरुष) बैशाख ११, धनुषा (४६) ५५ बर्षकी महिला, बैशाख ११,उदयपुर (४४- ४५) ६० र ७२ बर्षका २ जना पुरुष, बैशाख १०, उदयपुर (४३) २४ बर्षका भारतीय पुरुष, बैशाख १०, उदयपुर (३२- ४२) १८,१८, २०, ३३, ४९, ४१, ४१, ५२ र ५८ बर्षका पुरुष, ३६ बर्षकी महिला, र १ जना उमेर नखुलेको महिला, ११ जना, बैशाख ९, उदयपुर (३१) ६५ बर्षका पुरुष, बैशाख ६, उदयपुर (२९, ३०) २७* र ६३ बर्षका पुरुष, २ जना बेलायत बाट, बैशाख ५, चितवन (१७- २८) ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका १२ जना भारतीय पुरुष भारत बाट, बैशाख ५, उदयपुर (१५, १६) ५८ बर्षका पुरुष* र ८१ बर्षकी महिला*, २ जना बेलायत बाट, बैशाख २, काठमाडौ (१४) १९ बर्षका पुरुष* भारत बाट, बैशाख १, रौतहट (१३) ६५ बर्षकी महिला, बैशाख १, कैलाली (१०,११,१२) ३७, ४४ र ५५ बर्षका ३* जना भारतीय पुरुष, भारत बाट, चैत ३०, पर्सा (९) ३४ बर्षकी महिला*, चैत २२, कैलाली (८) ४१ बर्षका पुरुष* भारत बाट, चैत २२, कञ्चनपुर (७) २१ बर्षका पुरुष* भारत बाट, चैत २२, कैलाली (६) ६५ बर्षकी महिला* दुबई बाट, चैत २०, बागलुङ (५) १९ बर्षकी महिला* बेल्जियम बाट, चैत १५, बागलुङ (४) ३४ बर्षका पुरूष* दुबई बाट, चैत १४, कैलाली (३) ३२ वर्षका पुरुष* दुबई बाट, चैत १२, काठमाडौ (२) १९ वर्षकी महिला* फ्रान्स बाट, चैत १०, काठमाडौ (१) ३२ वर्षका पुरुष* चीनबाट, काठमाडौ

सप्तरीमा हात्तीको आक्रमणबाट १ महिलाको मृत्यु

सप्तरीः सप्तरीमा हात्ती आक्रमणबाट १ जना महिलाको ज्यान गएको छ । आक्रमणबाट शम्भुनाथ नगरपालिका–२ की ३८ वर्षीया जानकी मगरको ज्यान गएको हो । घरमा हात्ती प्रवेश गरेपछि जानकी श्रीमान् पेशलसँगै भोगेकी थिइन् । भाग्दै गर्दा उनलाई हात्तीले आक्रमण गरेको श्रीमान् पेशलले बताए । हात्ती आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि यसै अस्पतालमा राखिएको छ । हात्तीले २ जनाको घरसमेत भत्काइदिएको छ । लक्ष्मण मण्डल र बलराम ईसरको घर भत्काइदिएको स्थानीयले बताएका छन् । डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झाले मृतकको परिवारलाई तत्कालै किरिया खर्चवापत ५० हजार उपलब्ध गराउने र क्षतिपूर्तिवापत सरकारी पक्षबाट दिइने १० लाखका लागि कोशी टप्पु वन्यजन्तु आरक्षमा अबिलम्ब प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

क्वारेन्टाइनमा जाँदाजाँदै मृत्यु, थ्रोट स्वाब परीक्षणका लागि अस्पताल पठाइयो

बैतडीः क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएका बैतडीका १ जनाको थ्रोट स्वाब सङ्कलन गरी आज परीक्षणका लागि पठाइएको छ । पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो । रिपोर्टपछि मात्रै जुनेमा कोरोना भएरनभएको थाहा हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । रिपोर्ट १÷२ दिनभित्रै आउने उनले बताए । भारतीय सीमानाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको शनिबार मृत्यु भएको थियो । लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै स्वदेश भित्रिनुभएको थियो । एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए । उनको शनिबार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा लैजाँदै गर्दा खडायत गाउँ नजिकै बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको थियो । जुने लामो समयदेखि दमका बिरामी रहेको बुझिएको छ । मृतक लुहारको शवलाई प्लाष्टिक बेरेर सुरक्षात्मक तरिकाले दाहसंस्कार गरिसकिएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए । लुहारसँग आएकाहरुलाई छुट्टै क्वारेन्टाइनमा राखिएको छ । यही वैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट २ हजार ६९५ नेपाली स्वदेश फर्किएका थिए ।

हिमपहिरोमा पुरिएका ७ जनाको शव सेनाले फेला पार्‍यो

काठमाडौंः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्ने हिङ्कु केभ क्षेत्रमा तीन महिना अगाडि गएको हिमपहिरोमा पुरिएका सबै सातै जनाको शव फेला परेको छ । पछिल्लो पटक एक जना नेपाली र एक जना कोरियन नागरिकको शव शुक्रबार फेला परेसँगै सबै सातै जनालाई मृत फेला पारिएको नेपाली सेनाले जनाएको छ । २०७६ साल माघ ३ गते गएको हिमपहिरोमा ३ जना नेपाली गाइड र ४ जना कोरियन पर्यटकहरु पुरिएका थिए । तीमध्ये २ जना नेपाली गाइड र ३ जना कोरियन पर्यटकहरुको शव पहिल्यै फेला परिसकेका थिए । अन्य दुई जनालाई खोज्न पश्चिम पृतना हेडक्वाटरको समन्वयमा पोखरास्थित सेकेण्ड रेञ्जर बटालियनबाट टोली परिचालित भएको थियो । सो टोलीले वैशाख १९ गते शुक्रबार फेला पारि शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइपुर्याएको नेपाली सेनाले जनाएको छ ।

जंगीअड्डामा ४ वटै सुरक्षा निकायका प्रमुखको भेला

काठमाडौंः नेपाली सेनाको मुख्यालय जंगीअड्डामा देशका ४ वटै सुरक्षा निकायका प्रमुखले समसामयिक विषयमा छलफल गरेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले सोमबार दिउँसो जंगीअड्डामा भेला भएर समसामयिक विषयमा छलफल गरेका हुन् । जंगीअड्डा स्रोतले यो भेटघाटलाई नियमित भनेको छ । एक उच्च सुरक्षा अधिकृतका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक नेतृत्व सम्हालेपछि हरेक महिना सुरक्षा निकायको समन्वयात्मक छलफल गर्ने गरेका छन् । सोमबारको छलफल त्यसैको निरन्तरता भएको ती अधिकृतले दाबी गरे । उनले सोमबारको छलफलमा कोभिड–१९ नियन्त्रण र समन्वयबारे कुराकानी भएको पनि सुनाए । छलफलमा प्रधानसेनापति थापासहित नेपाल प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र गुप्तचर प्रमुख गणेश अधिकारी सहभागी थिए ।

कस्तो अवस्थामा ल्याइन्छ अध्यादेश, के छ संवैधानिक व्यवस्था ?

काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेपछि यसले देशव्यापी चर्चा पाएको छ । देशमा कोरोना महामारीको सन्त्रास चुलिएको बेला यो अध्यादेश किन आवश्यक पर्यो भनेर कतिपयले प्रश्न समेत उठाएका छन् । कतिपयले यसलाई पार्टी विभाजनसँग जोडेपनि नेकपा नेताहरुले भने यो निर्णयबाट पार्टी एकतामा कुनै असर नपर्ने बताएका छन् । कस्तो अवस्थामा आउँछ त अध्यादेश नेपालको संविधान २०७३ को धारा ११४ मा अध्यादेश सम्बन्धी व्यवस्था रहेको छ । यो व्यवस्थाले सदनको उपस्थिति नभएको अवस्थमा “तत्काल केही गर्न आवश्यक परेमा” अध्यादेश जारी गर्न सक्ने व्यवस्था गरेको छ । तर अहिले तत्काल केही गर्नुपर्ने स्थिति के छ भन्ने कुरा भने सरकारले नै व्याख्या गर्न सक्छ । संविधानले ‘केही गर्नु परेमा’ भनेर मन्त्रीपरिषदलाई नै यो ‘केही’ भन्ने कुराको व्याख्या गर्ने छूट दिएको छ । तर यो अध्यादेश जारी भएपनि जारी भएपछि संघीय संसदको दुबै सदनबाट भने पारित हुनैपर्छ । अहिले सदन स्थगित छ । गत चैत्र २४ गते राष्ट्रपतिले पत्र लेख्दै सदन अन्त्यको घोषणा गर्नुभएको थियो । सदन नभएको अवस्थामा कानुनी दृष्टिमा सरकारले अध्यादेश ल्याउन भने सक्छ । तर संविधानमा नै भनेजस्तो दलगत व्यवस्थामा अहिले केही गर्नु पर्ने अवस्था हो या होइन भन्ने विषयमा भने सरकारले समयक्रमसँगै स्पष्ट गर्ने आशा राख्न सकिन्छ । पढ्नुस पूर्ण पाठ ११४. अध्यादेशः (१) संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ । (२) उपधारा (१) बमोजिम जारी भएको अध्यादेश ऐन सरह मान्य हुनेछ । तर त्यस्तो प्रत्येक अध्यादेश,– (क) जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुनेछ, (ख) राष्ट्रपतिबाट जुनसुकै बखत खारेज हुन सक्नेछ, र (ग) खण्ड (क) वा (ख) बमोजिम निष्क्रिय वा खारेज नभएमा दुवै सदनको बैठक बसेको साठी दिन पछि स्वतः निष्क्रिय हुनेछ । स्पष्टीकरणः यस उपधाराको प्रयोजनका लागि “दुवै सदनको बैठक बसेको दिन” भन्नाले संघीय संसदका दुवै सदनको अधिवेशन प्रारम्भ भएको वा बैठक बसेको दिन सम्झनु पर्छ र सो शब्दले संघीय संसदका सदनहरूको बैठक अघिपछि गरी बसेको अवस्थामा जुन सदनको बैठक पछि बसेको छ सोही दिनलाई जनाउँछ ।  

‘लकडाउन’मा चैतली मेला सञ्‍चालन गरेको आरोपमा ४ वडाध्यक्षसहित ९ जना प्रक्राउ

चैनपुरः ‘लकडाउन’को उल्लंघन गर्दै बान्नीकी चैतली मेला सञ्‍चालन गरेको आरोपमा बझाङको छबिसपाथीभेरा गाउँपालिकाका ४ वडाध्यक्षसहित ९ जनालाई पक्राउ गरिएको छ । बुधबार साँझ पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा छबिसपाथीभेरा २ का वडाध्यक्ष विकास अयडी, ३ का वडाध्यक्ष केशवराज जोशी, वडा नं ४ का अध्यक्ष अमर थापा र ५ का वडाध्यक्ष लोकेन्द्र ठगुन्ना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नेत्र बोहराका अनुसार पक्राउ परेका अन्यमा बान्नीकी चैतली मेला व्यवस्थापन गरिरहेका बान्नी मष्टा मन्दिर संरक्षण समिति कोषाध्यक्ष राजेन्द्रबहादुर सिंह, बान्नी मष्टाका पुजारी नृपराज जोशी र जयकृष्ण जोशी रहेका छन् । यस्तै बान्नी मष्टा मन्दिरका फूलपाती सेवक डम्मर धामी, मन्दिरका रजवार इन्द्रबहादुर सिंहलाई पनि लकडाउन उल्लंघनको अभियोगमा पक्राउ गरिएको बोहराले बताए । पक्राउ परेका वडाध्यक्षहरुले बान्नी मेलामा मानिसहरुको उपस्थिति रोक्न गाउँपालिकाले प्रयास गर्दागर्दै पनि स्थानीयहरु स्वतः स्फूर्त भेला भएको बताएका छन् । मेलामा स्थानीयहरुको भीड रोक्नका लागि प्रशासनले समेत सहयोग नगरेको उनीहरुको आरोप छ । यता लकडाउन उल्लंघनको अभियोगमा छबिसपाथीभेरा गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामी र उपाध्यक्ष राधिका रताला लगायत केही व्यक्तिको पनि खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

धनगढीका नीजि अस्पतालले बिरामी भर्ना गर्न मानेनन्, १ वृद्धको मृत्यु

कैलालीः धनगढीका नीजि अस्पतालले बिरामीलाई भर्ना नगरेपछि एक विरामीको ज्यान गएको छ । ज्यान गुमाउनेमा कैलालीको गोदावरी नगरपालिका–२ तेघरीका ७६ वर्षीय जनकलाल भट्ट रहेका छन् । मृतकका आफन्तका अनुसार बिरामीलाई बुधबार साढे ११ बजे धनगढीको माया मेट्रो अस्पताल पुर्‍याइएको थियो तर ४ घण्टासम्म कुनै वास्ता नगरिएपछि घरै लगिएको थियो । मृतकका आफन्त हेमराज भट्टले भने, ‘माया मेट्रो अस्पतालमा ४ घण्टा राख्दा कसैले केही वास्ता गरेनन् । अरु ठाउँ लैजाने विकल्प पनि भएन अनि बाध्य भएर घर ल्याउँदा घर पुग्ने बित्तिकै ज्यान गयो ।’ श्वासप्रश्वासमा समस्या देखिएकाले भेन्टिलेटरमा राख्नुपर्ने भएको तर कुनै पनि अस्पतालले भर्ना गर्न नमान्दा काकाको मृत्यु भएको उनले दुःखेसो पोखे । उनका अनुसार धनगढीमा भेन्टिलेटरको सुविधा रहेको अर्को निजी अस्पताल निसर्गका सञ्चालकसँग आग्रह गरेपनि कसैले भर्ना गर्न नमान्दा बिरामीलाई घर लगिएको थियो । केही निजी अस्पतालले भेन्टिलेटर खाली नभएको बताए भने केही अस्पतालले चिकित्सक नै नभएको भन्दै भर्ना गर्न नमानेको मृतकका आफन्तले गुनासो गरेका छन् ।

धार्चुलामा ५ सय नेपाली अलपत्र, नेपाल आउन नपाएपछि नाराबाजी

दार्चुलाः लकडाउन र सीमा बन्दका कारण दार्चुलापारी धार्चुलामा करिब पाँच सय नेपाली अलपत्र परेका छन् । लकडाउन र सीमा बन्दका नेपाल–भारत जोड्ने महाकाली पुलको गेट नखोलिएपछि भारतका विभिन्न ठाउँमा मजदुरी गरेर फर्किएका उनीहरू अलपत्र परेका हुन् । नेपाल आउन नपाएपछि उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सबैलाई राख्न सदरमुकाममा क्वारेन्टाइन नभएका कारण समस्या भएको बताए । उनका अनुसार सरकारले पनि अलपत्र नेपालीलाई ल्याउनका लागि पुल खुला गर्न अनुमति दिएको छैन ।

चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता पछि ट्रम्पद्वारा सी जिन्पिङको प्रशंसा

चिनियाँ राष्ट्रपति सी जिन्पिङले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई शुक्रवार भएको टेलिफोनवार्तामा कोरोनाभाइरस महामारीसँग जुझ्न एकजुट हुनैपर्ने बताएका छन्। ट्रम्पले ‘चिनियाँ भाइरस’ भनेपछि पछिल्ला साताहरूमा यी दुई देशबीच बारम्बार चर्काचर्की परेको थियो। तर फोनवार्तामा राष्ट्रपति सीले चीन अमेरिकासँग मिलेर काम गर्न चाहेको बताए। उनले बेइजिङका कदमहरू खुला र पारदर्शी भएको समेत बताए। ट्रम्पले के भने ? फोनवार्ता पछिको एउटा ट्वीटमा राष्ट्रपति ट्रम्पले ुनिकै सम्मानु लेख्दै यस रोगबारे चीनसँग बलियो बुझाइ रहेको उल्लेख गरे। बेइजिङले कोरोनाभाइरसको महामारीसँग जुझिरहेका देशहरूलाई सघाउने विषयमा नेतृत्वदायी भूमिका खेलिरहेको छ। चीनद्वारा विदेशीलाई प्रवेशमा प्रतिबन्ध अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चीनकोभन्दा पनि धेरै उसले अहिलेसम्म झण्डै एक सय देशमा चिकित्सक र स्वास्थ्य सामग्री पठाइसकेको छ। उता विश्व नेताहरूले भाइरसको प्रभावसँग जुझ्ने कदमहरू घोषणा गरिरहँदा एशियाका शेअर बजारमा आशाका सङ्केतहरू देखिएका छन्। अर्थतन्त्र जोगाउने प्रयास बिहीवार मुख्य अमेरिकी सेअर बजारमा मन्दी छाउन थालेयताकै लगातार तीन दिनको उकालो लाग्ने राम्रो क्रम देखिएको थियो। शनिवार अन्त्यसम्ममा अमेरिकी संसद्‌ कङ्ग्रेसले झण्डै २० खर्ब डलरको एउटा विशाल आर्थिक प्याकेज पारित हुने आशाबीच सेअर बजारमा केही आशालाग्दा छनक देखिन थालेका हुन्। यसैबीच विश्वका मुख्य अर्थतन्त्र भएका देशहरूको समूह जी ट्वान्टीले समेत बिहीवार नै विश्व अर्थतन्त्रमा ५० खर्ब डलर प्रवाह गर्ने वाचा गरेको थियो। युरोपेली सङ्घ ९ईयू० र १९ देशका नेताहरूले एउटा भर्चुअल सम्मेलन गर्दै त्यस्तो वाचा गरेका थिए। साउदी अरबले अध्यक्षता गरेको उक्त सम्मेलनअघि संयुक्त राष्ट्रसङ्घले दशौँ लाख शरणार्थी र घरबारविहीन बनेका मानिसहरूमाथि विश्वले ध्यान दिनुपर्ने बताएको थियो। बिबिसी नेपालीबाट साभार

चीनले दिएकोे चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने

मेलम्चीः चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने जनाइएको छ । स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा छ । ती सामग्रीको आयातसँगै तातोपानी नाका विधिवत् रुपमै पुनःसञ्चालन हुने खत्रीले बताए । ‘बिहीबार जाँचपास गर्न पत्र आएको छ, शुक्रबारदेखि मालवस्तु जाँचपास सञ्चालन हुन्छ’, खत्रीले भने । अहिले नाकाबाट फलफूल र चिकित्सा सामाग्री मात्रै आउने गरेको छ । तातोपानी नाका सञ्चालनका लागि सबै तयारी पूरा भएको पनि उनले बताए ।

‘लकडाउन’मा खाद्यले मोबाइल भ्यानबाट चामल बेच्दै, साल्ट ट्रेडिङसँग ६ महिनाका लागि ग्यास मौज्दात

काठमाडौंः देशभरी ‘लकडाउन’ भएपछि उपभोक्तालाई खाद्यान्नको अभाव हुन नदिन नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मोबाइल भ्यानबाट सेवा दिने भएको छ । यस्तै कम्पनीले आफ्नो बिक्री कक्ष बन्द नगरी सेवा दिने र कम्पनीका गाडीहरु समेत बन्द नगर्ने बताएको छ । कोरोना भाइरस (कोभिड–१९) फैलन नदिन सरकारले ‘लकडाउन’ गरेपछि खाद्य कम्पनीले मोबाइल भ्यानबाट २४ सै घण्टा सेवा दिने भएको छ । कार्यालय समयमा मात्रै सञ्चालन हुँदै आएका कम्पनीका आउटलेटहरु थप समयसम्म सञ्चालनको ब्यबस्था समेत मिलाएको छ। कम्पनीले मोबाईल भ्यान मार्फत उपभोक्ताहरुलाई पायक पर्ने स्थानमै पुगेर सेवा दिने तयारी रहेको कम्पनीका नायब महाप्रवन्धक श्रीमणी खनालले बताए। ‘कार्यालय समयमा मात्रै आउटलेट सञ्चालनमा थिए, अहिलेको अवस्थामा उपभोक्ताहरु बिक्री कक्षमा आउन असम्भव छ, मोबाईल भ्यान मार्फत सेवा दिन्छौ’ उनले भने। कोरोना भाइरस संक्रमणको त्रासले सरकारको यसलाइ समयमै सर्जकता अपनाउन भिडभाड कम गर्न, अत्यावश्यक सेवा बाहेक सबै कामहरु बन्द गर्न आग्रह गरेको छ । उनका अनुसार शहर लक डाउन भएपछि उपभोक्तालाई खाद्यान्नको अभाव हुन नदिन मोबाइल भ्यानबाट बिक्रीको तयारी सुरु भएको छ । कम्पनीले खाद्यन्न अभाव नहोस् भन्नका लागि काठमाडौंका लागि मात्र थप १ लाख टन चामल नियमित बिक्रीको लागि खरिद गर्न लागेको समेत जनाएको छ । कोरोनाका कारण बजारमा अभाव हुने डरले हाल उपभोक्ताहरुले खाद्यान्नको बिक्री गरी केही समयको लागि पुग्ने मौज्दात राखिसकेका छन् । कम्पनीसँग हाल २६ हजार टन चामल मौज्दात रहेको पनि खनालले जानकारी दिए। हाल कम्पनीको ३ वटा खुद्रा बिक्री कक्षबाट खाद्यान्न तथा इन्डक्शन चुलो बिक्री भइरहेको छ । हालको समयलाई मध्यनजर गर्दै उपभोक्ताको सर्हजका लागि कम्पनीले केही समयमा जाउलाखेल र सुर्यविनायकमा थप बिक्री कक्ष खोल्ने भएको छ। सय भन्दा बढी स्थानमा बिक्री कक्ष बनाएको कम्पनीले आपूर्तिमा केहि समस्या नआउने भन्दै सर्वसाधारणलाई आश्वस्त पारे। डिलर र विभिन्न सहकारीबाट बिक्रीको काम भइरहने र कार्यालय समयमा मात्र संचालन हुने बिक्री कक्ष अवस्था आए कम्पनीले समय थपेर पनि सञ्चालन गर्ने उनले जानकारी दिए। ‘लकडाउन’ भएपछि नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनले पनि सरकारको नियम अनुसार तोकिएको ठाउँबाट बिक्री गर्ने भएको छ। कोरोनाको कारण एसटीसी ग्यास, चिनी तथा नुन अभाव हुन नदिने भन्दै आगामी ६ महिनासम्मको मौज्दात रहेको कम्पनीका सूचना अधिकृत कुमार राजभण्डारीले बताए । बिजमाण्डू साभार

पुण्य गौतमलाई लछारपछार गर्ने ३ युट्युवर पक्राउ

काठमाडौंः कुटपिटमा संलग्न ३ जना युट्युवरलाई नियन्त्रणमा लिइएको छ । पुण्य गौतमलाई हातपात गरेको र लछारपछार गरेको अभियोगमा महानगरीय प्रहरी बृत्त गौशालाले उनीहरुलाई अनुसन्धानका नियन्त्रणमा लिइएको हो । गौशाला प्रहरी वृत्त प्रमुख डिएसपी प्रदीपकुमार सिंहका अनुसार कुटपिट र लछारपछारमा संलग्न युट्युवरहरु सन्तोष सापकोटा, दिपेश श्रेष्ठ र कमल बस्नेतलाई नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि प्रमुख जिल्ला अधिकारीले हेर्ने अभद्र ब्यवहार अन्तर्गतको मुद्धा दर्ता गरिएको छ । केहीदिन अघि युट्युवरहरुको समूहले पुण्य गौतमलाई आक्रमण गरेको भिडियो युट्युवमा सार्वजनिक भएको थियो । आक्रमणकारीहरु पत्रकार हुन् वा युट्युवर हुन् यसबारे अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । पछिल्लो समय कतिपय युट्युवरले आफूलाई पत्रकार दावी गर्दै घरायसी घर झगडाको भिडियो बनाएर युट्युवमा अपलोड गर्दै आएका छन् । सामूहिक रुपमा युट्युवर किन यसरी कुटपिटमा उत्रिए यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।