पूर्वमन्त्री साहलाई २८ करोड ५० लाख जरिवाना

काठमाडौंः गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गरी विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने बिहीबार फैसला गरेको छ ।

उनलाई सम्पत्ति शुद्धिकरण गरेकोमा ५ वर्ष कैद हुनेसमेत ठहर गरेको छ ।

विशेष अदालतलका न्यायाधीशहरु कृष्ण गिरी, शान्ति सिंह थापा र चन्द्रबहादुर सारुको इजलासले २८ करोड ५० लाख रुपैयाँ जरिवाना गरी ५ वर्ष कैद हुने फैसला गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रहरी नायब निरीक्षककै प्रमाणपत्र नक्कली

काठमाडौंः नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र फेला परेको छ । उनले मगध विश्वविद्यालय बोधगया भारतबाट बी.कम. उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको र उक्त शैक्षिक प्रमाणपत्र प्रमाणीकरण विवरणबाट झुठ्ठा भन्ने पुष्टि भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रसेवक ओहोदामा बहाल रहने र सो हैसियतले लाभ वा सुविधा पाउने उद्देश्यले उक्त झुठ्ठा योग्यताको प्रमाणपत्र पेश गरेको देखिएपछि सई कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ । शान्ति विद्यागृह मावि लैनचौर काठमाडौंमा कार्यरत माध्यमिक शिक्षक तृतीय (शिक्षक) दिपकबाबु अर्यालविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी स्थायी शिक्षक सेवामा रहेको भन्दै मुद्दा दायर गरेको हो । यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

मध्यपुरथिमीको राधेराधे छेउमा मानव कङ्काल भेटियो

भक्तपुरः मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पसँगै पूर्वपट्टी एवं अरनिको राजमार्गको दक्षिणतर्फको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कङ्काल भेटिएको छ । स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी फाड्ने क्रममा आज मानव कङ्काल भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनले मानव कङ्कालमा रहेको पुरुषको लुगा, टाउको र अन्य शरीरको अङ्गहरुको टुक्रा भेटिएको र कसको कङ्काल हो भन्ने पहिचान हुन नसकेको जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा सो कङ्काल पुरुषको भएको तथा कङ्काल धेरै अगाडिको हुनसक्ने अनुमान प्रहरीको छ । घटनास्थलमा शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक मेडिसिन ल्याबका चिकित्सकको टोली आएर अनुसन्धान शुरु गरेको छ । थप अनुसन्धानका लागि कङ्काल साँझ ६ः३० बजे शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

कारोनाः कांग्रेसका सम्पूर्ण कार्यक्रम स्थगित

काठमाडौंः विश्वव्यापी रुपमा संक्रमण फैलिइरहेको कोरोना भाइरस (कोबिड १९)लाई दृष्टिगत गरेर नेपाली कांग्रेसले सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । कांग्रेस प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले बुधबार पत्रकार सम्मेलन गर्दै सबै तहका ठूला भेला, सम्मेलन र सभालगायतका कार्यक्रम बुधबारदेखि स्थगित गरिएको जानकारी दिए । कोरोना संक्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान सञ्चालन गरिने कांग्रेसले जनाएको छ । कांग्रेसले कोरोना जोखिम सामना गर्न निर्माण गर्ने रणनीतिहरुको पालना र कार्यान्वयनमा सबैलाई साझा दायित्वबोध साथ आत्मसात गर्न अपिल गरेको छ । साथै, त्रिभुवन विमानस्थलमार्फत संक्रमण प्रवेशको खतरालाई अझ कडाइ गर्न र स्थल मार्गबाट निर्वाध जारी आवागमनमा आवश्यक कडाइ गर्दै नाकाहरुमा स्वास्थ्य जाँचको केन्द्र तत्काल भरपर्दो स्थापना गर्न सरकारलाई कांग्रेसले आग्रह गरेको छ ।

प्रधानमन्त्रीको अवस्था के छ ? अस्पतालले जारी गर्‍यो विज्ञप्ति

काठमाडौंः मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेम कृष्ण खड्काले विज्ञप्ति जारी गर्दै प्रत्यारोपण गरिएको मिगौलाले समेत काम गन लागेको जानकारी दिएका छन् । सम्बन्धित समाचारः प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थाल्यो प्रधानमन्त्रीको होस खुल्यो, आईसियूमा राखियो  

जर्मन कपः साल्केलाई पराजित गर्दै बायर्न सेमिफाइनलमा प्रबेश

एजेन्सीः बायर्न म्युनिखले जर्मन कपको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार राति जर्मन बुन्डेस लिगा प्रतिद्धन्द्धी साल्केलाई १–० ले पराजित गर्दै बायर्नले अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । बायर्नको जितमा एकमात्र निर्णायक गोल जोसुवा किम्मिचले गोल गरे । उनले खेलको ४०औं मिनेटमा गोल गरेका थिए । खेलको छैटौं मिनेटमा एलेसान्द्रो स्कुफको प्रहार बाहिरिदा घरेलु टोली साल्केले अग्रता लिने अवसर खेर फालेको थियो । १२औं मिनेटमा जोनजोइ केन्नीको प्रहार क्रसबारमा लागेर बाहिरिदा साल्केले पुनः खेलमा अग्रता लिनबाट चुक्यो । १६औं मिनेटमा लियोन गोरेट्काले अवसर खेर फाल्दा बायर्न अग्रता लिनबाट चुक्यो । २०औं मिनेटमा साल्केका कप्तान बर्गटलरले गोल गरेपनि भिएआरको सहायतामा उनी अफसाइड ठहरिए । ४०औं मिनेटमा बायर्नले खेलमा अग्रता लिन सफल भयो । कर्नरबाट आएको बललाई किम्मिचको भली सट गोलमा परिणत भएको थियो । ४४औं मिनेटमा लियोन गोरेट्काले अवसर खेर फाल्दा बायर्न अग्रता दोब्बर बनाउनबाट चुक्यो । खेलभर नै बल पोजेसन राखेको बायर्नले थप गोल भने गर्न सकेन । पहिलो हाफको गोल नै बायर्नलाई सेमिफाइनल पुग्न पर्याप्त बन्यो । साल्केले पछिल्ला चार खेलमा गोल गर्न सकेको छैन ।

महराको मुद्दामा सकियो अन्तिम सुनुवाइ

काठमाडौंः महिला बलात्कार प्रयास अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा रहेका महराको अन्तिम सुनुवाइ आज अपरान्ह सकिएको हो । दुवै पक्षका वकिलले बहस गरिसकेपछि सुनुवाइ सकिएको हो । अब महराको मुद्दामा फैसलाको प्रतीक्षा भइरहेको छ । बलात्कार प्रयास अभियोगमा गत असोज १९ गते पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको थियो।

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

विराटनगरः टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगङ्गा गाउँपालिका–१ ढाँटमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी चन्नी मल्हनियाँ–२ का २८ वर्षीय हरेराम साह र पछाडि बसेका सिरहा सुखीपुर २ का २४ वर्षीय मोहमद अजिर राईन (मुस्लिम) को मृत्यु भएको प्रहरीले जनाएको छ । को १ ख ७३०९ नम्बरको टिप्परले प्रदेश २–०१–००१प १६०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका ३ जनामध्ये २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाइकल पछाडि बसेका सप्तरीको रुपनी बसेका १९ वर्षीय धनराज यादव गम्भीर घाइते भएका छन् । उनको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।(फाइनल फोटो)

त्रिकोणात्मक सिरिजः अमेरिकाविरुद्ध ओमानको शानदार जित

काठमाडौंः आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानविरुद्ध अमेरिका ९२ रनले पराजित भएको छ । ओमानले दिएकाे २ सय ७७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ३९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८४ रन मात्र बनाउन सक्यो । उसका लागि निसर्ग पटेलले ५२, आरोन जोन्सले ४८, इयान हल्यान्डले २८, जेभियर मार्शलले २३ र रस्टी थेरनले १२ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा ओमान टिमका बिलाल खान, अकिब इलियासले ३–३, कप्तान जीशान मकसूदले २ र मोहम्मद नदीमले एक विकेट लिए । यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७६ न बनायो । ओमानका लागि कप्तान जीशान मकसूद र अकिब इलियासले शतक बनाए । जीशानले १०९ बलमा ४ छक्का र १० चौकासहित १०९ रनको योगदान दिए ।एकविदसीय क्रिकेटमा उनको यो पहिलो शतक हो । यस्तै अकिबले आज १२३ बलमा १ छक्का र ११ चौका हिर्काउँदै १०५ रनको योगदान दिए । जारी सिरिजमा उनको यो लगातार दोस्रो शतक हो । यसअघि उनले नेपालविरुद्ध पहिलो शतक बनाएका थिए । बलिङमा अ‍ेमेरिकन टीमका सौरभ नेत्रवलकर र रस्टी थेरनले ३–३ विकेट लिए । सिरिजको अन्तिम खेलमा बुधबार अमेरिका र नेपाल खेल्दै छन् । जारी सिरिजमा ओमानले ४ खेलमै जित हासिल गरेको छ । नेपालले तीन म्याच खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ । यता अमेरिकाले भने तीन म्याच खेल्दा सबैमा हार बेहाेरेकाे ५ ।

कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी

काठमाडौंः नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ । अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन् । उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन् । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले कुखुराजन्य उत्पादनमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेको बताए । उनका अनुसार गएको एक वर्षमा ५५ लागत पर्ने चल्ला सरदर प्रतिगोटा २५ मा बिक्री भएको छ । देशभरमा सातामा उत्पादन हुने ३५ लाख ब्रोइलर चल्लाबाट प्रतिगोटा ३० घाटा सहनुपरेको छ । गएको एक वर्षमध्ये छ हप्ता लागत मूल्यमा बिक्री भए पनि बाँकी समय घाटामा बिक्री गर्नुपरेको थियो । यसरी हेर्दा एक वर्षमा चार अर्ब ७२ करोड ५० लाख हाराहारी घाटा कृषकले व्यहोरेको उनले जानकारी दिए । यसैगरी सातामा एक लाख ५० हजार बिक्री हुने लेयर्स चल्लाबाट गत एक वर्षमा ३० करोड हाराहारी नोक्सान भएको पोखरेलले जानकारी दिए । यस्तै मासुमा दैनिक नौ लाख ५० हजार किलो बिक्री गर्दा सरदर प्रतिकिलो ३० घाटा व्यहोर्नुपरेको उनको भनाइ छ । यसबाट एक वर्षमा नौ अर्ब ७२ करोड नोक्सान भएको उनले बताए । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरणभुषाल ओली नेपालमा दैनिक ५० लाख अण्डामा प्रतिगोटा रु तीन हाराहारी नोक्सान भएको बताए । अण्डाबाट एक वर्षमा तीन अर्ब चार करोड ५० लाख नोक्सान भएको उनले जानकारी दिए । देशभरमा ठूलो सङ्ख्यामा कृषक विस्थापित भएको ओलीको भनाइ छ । यसरी कुखुराजन्य उत्पादनमा एक वर्षमा १७ अर्ब ७९ करोड हाराहारी नोक्सान भएको देखिन्छ । पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराई नोक्सान धान्न नसकेर ३० प्रतिशत व्यवसायी विस्थापित भएको बताए । अन्यले बैंकको ऋण सार्ने वा सोही बैंकमा ऋण थपेर टिकेको उनको भनाइ छ । उनले भने, ‘सबै धरापमा छन्।’ बर्डफ्लु आउँदासमेत तीनचार महिना नोक्सान व्यहोरे पनि गएको एक वर्ष व्यवसाय पूरै नोक्सानमा गएको उनको भनाइ छ । उत्पादित कुखुराजन्य पदार्थको एकातर्फ मूल्य नहुने अर्कोतर्फ दानाको कच्चा पदार्थको मूल्य बढ्दा थप समस्या उत्पन्न भएको उनको भनाइ छ । एक वर्षअघि प्रतिकिलो २९ को मकै अहिले ३८ पुगेको छ भने ५६ को भटमास ७२ सम्म पुगेको डा भट्टराई बताए । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका डा भट्टराई ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा ५५, लेयर्स चल्लाको प्रतिगोटा ९०, अण्डा प्रतिगोटाको १० र मासु प्रतिकिलो ३३० पर्ने बताए । अहिले बजारमा दानाको मूल्य ५३ देखि ६४ सम्म पर्ने गर्दछ । नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्षसमेत रहनुभएका टीकाराम पोखरेल नेपालमा ३०८ ह्याचरी, एक हजारभन्दा बढी ठूला फार्म र ब्रोइलर कुखुरा पाल्ने साना फार्म १० हजारभन्दा बढी रहेको बताउँछन् । यस क्षेत्रमा रु एक खर्ब १५ अर्ब लगानी भएको उनको भनाइ छ । यसमध्ये आधाभन्दा बढी बैंकिङ लगानी रहेको छ । लगातारको मूल्य गिरावटपछि पछिल्लो समय लागत मूल्य धान्ने गरी व्यवसायीले मूल्य तोकेर बिक्री वितरण शुरु गरेका छन् । हाल अण्डाको फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु ३०५, मासु प्रतिकिलो रु ३८० र ब्रोइलर चल्ला रु ६५ एवं लेयर्स चल्ला रु ६० देखि ७० सम्म बिक्री गर्न शुरु गरिएको छ । यद्यपि ब्रोइलर पालक किसानले जिउँदो कुखुराको मूल्य रु २०० देखि २२० सम्म मात्रै पाउँदै आएका छन् । मासुको मूल्य उच्च भएपछि किसानले जिउँदो कुखुराको उचित मूल्य पाउन सकेका छैनन् । बजारमा अन्य मासुको मूल्य उच्च भए पनि अण्डा र कुखुराको मासुको मूल्य कम भएको व्यवसायीको गुनासो छ ।

विपन्नलाईं जस्तापाता वितरण

स्याङ्जाः वालिङ नगरपालिकाले खरका छाना हटाउने अभियान शुरु गरेको छ । नगर कार्यपालिकाको पाँचौँ नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाइदिने नीति तथा कार्यक्रम पारित गरेसँगै लागत सङ्कलनपश्चात जस्तापाता वितरण थालिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । “नगरभित्रका १४ वडाका खरका छाना विस्थापनका लागि लागत सङ्कलन गरी शुक्रबारबाट जस्तापाता वितरण थालेका हौँ”, नगर प्रमुख खाँणले भने, “पहिलो चरणमा अति विपन्न घर परिवारलाई प्राथमिकतामा राखेका छौँ ।” शुक्रबार वालिङ–५ का बेगबहादुर सार्कीलाई तीन बण्डल जस्तापाता निःशुल्क प्रदान गरिएको नगर प्रमुख खाँणले बताए । खरको छानो स्वास्थ्यका दृष्टिले उपयुक्त भए पनि आगलागीको सम्भावना बढी हुने र अर्कोतर्फ खर छाउने दक्ष कामदारको अभाव भएकाले नगरपालिकाको आर्थिक सहयोगमा जस्तापाता राख्ने योजना बनाएको नगर प्रमुख खाँणको भनाइ थियो । “कतिपय घरपरिवार खरको छानो फेर्न नसक्ने अवस्थामा हुनुहुन्छ”, नगर प्रमुख खाँणले भने, “खरका छानो भएका गरिब हुन् भनी फरक ढङ्गले हेर्ने र हेप्ने प्रवृत्तिको अन्त्यका लागि पनि यो अभियान थालेका हौँ ।” खरका छाना भएका घरधनीले वडाको सिफारिस र खरको छानोको फोटोसहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकबाट लागत अनुमानअनुसार जस्तापाता प्रदान गर्ने प्रक्रिया रहेको नगर उपप्रमुख कल्पना तिवारीले बताइन् । नगरपालिकाले खरका छाना विस्थापनका लागि आवेदन माग गरेसँगै हालसम्म ४२८ को निवेदन परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले बताए । रासस

बेलले तत्काल रियल मड्रिड नछाड्ने

काठमाडौंः रियल मड्रिडका खेलाडी ग्यारेथ बेलले तत्काल क्लब नछाड्ने भएका छन् । मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लबको पछिल्लो टोलीमा समेत नरहेका बेलले तत्काल क्लब नछाड्ने स्पष्ट पारेका हुन् । ३० वर्षिया फरवार्ड बेल एट्लेटिको मड्रिडविरुद्ध आज राती हुने खेलमा खेल्ने रियलको १९ सदस्यीय टोलीमा छैनन् । टोटेनहमका अध्यक्ष ड्यानियल लेभीले मड्रिड पुगेर क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरिजसँग बेलको सरुवाको बिषयमा छलफल गरेका थिए । वेल्सका फरवार्ड सन् २०१३ मा प्रिमियर लिग क्लब टोटेनहमबाट रियलमा आएका थिए । उनी कीर्तिमानी मूल्य ८३ मिलियन पाउण्डमा स्पेन आएका थिए । उनको क्लबसंग २०२२ सम्म सम्झौता छ । उनले यस सिजन १२ लिग खेलमा दुई गोल समेत गरेका छन् ।

टिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

तनहुँः जिल्लाको व्यास नगरपालिका–४ बागभञ्ज्याङमा टिपरको ठक्करबाट आज साँझ एक महिलाको मृत्यु भएको छ । दमौलीबाट लमजुङको भोर्लेटारतर्फ जाँदै गरेको ना३९प ५०० नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ग१ख ८६७८ नंको टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ गीतानगर बस्ने ४६ वर्षीया अनिता पाठक रहेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । घाइते पाठकको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरको ठक्करबाट मोटरसाइकल चालक एवं मृतकका श्रीमान् ४९ वर्षीय कृष्ण पाठक घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । टिपर र चालक प्रहरी नियन्त्रणमा छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि समिति गठन

काठमाडौंः कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको नेतृत्वमा उच्चस्तरीय अनुगमन समिति गठन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उच्चस्तरीय समितिमा गृह, रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अर्थ र परराष्ट मन्त्रालयका सचिवहरु रहेकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालको अध्यक्षतामा विभिन्न मन्त्रालयका सहसचिव रहेका निर्देशक समिति र विभिन्न अस्पतालका प्रमुख र विशेषज्ञ चिकित्स रहेका स्वास्थ्य प्राविधिक समिति गठन गरिएको छ ।

यौन दुर्व्यवहार आरोप लागेका एसएसपी राणा निलम्बित

काठमाडौंः गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ । संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिलाले गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् । साथै पीडित महिलाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव प्रेमकुमार राईलगायतलाई भेटेर राणालाई कारवाही गर्न माग गरेकी थिइन् । गृह मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले एसएसपी राणालाई निलम्बन गरिएको पृष्टि गरे । साथै, गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको छ । राणाले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

केन्द्रीय कमिटी बैठकको तयारी अन्तिम चरणमाः प्रचण्ड

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको जानकारी गराएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र आदिवासी जनजाति महासङ्घ, नेपालको एकता घोषणा तथा शपथ ग्रहण समारोहमा उनले बुधबारदेखि हुने पार्टीको केन्द्रीय कमिटी बैठकको तयारीमा आफू रहेको बताए । उनले पार्टीको कामको चापले त्यति धेरै तयारी गर्न नपाएको समेत बताए । पार्टीको केन्द्रीय कमिटी बैठक यही माघ १५ देखि २० गतेसम्म डाकिएको छ । उनले अझै पनि सबै उत्पीडित वर्ग, जाति, समुदाय, भाषा पूर्णरूपमा मुक्त हुने कुरा बनिनसकेको बताए । ‘उत्पीडित समुदाय पूर्णरूपमा मुक्त हुने वातावरण अझै बनेको छैन’, उनले भने, ‘एकताबद्ध भई शान्तिपूर्ण रूपले संविधान संशोधनको माध्यमबाट हामीले सोचे खोजे जस्तो मुक्ति हासिल गर्न सक्छौँ ।’ संविधानले पनि बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक रहेको स्वीकार गरेको उल्लेख गर्दै उनले आदिवासी जनजातिको हक अधिकार, परम्परा, संस्कृति र पहिचानलाई स्थापित गर्ने कुरामा संविधानले नै पहल लिएको धारणा राखे । उनले सबै खालको विभेदको अन्त्य गरी समतामूलक समाजिक न्यायसहित सबैको हकअधिकार स्थापना भएको समाज निर्माण गर्ने बताए । अध्यक्ष दाहालले साम्राज्यवाद र सामन्तवादलाई परास्त गरेर युद्ध जित्न अझै एकताबद्ध भएर सामाजिक न्यायका पक्षमा लड्न आवश्यक रहेको धारणा राखे । बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक भएकाले विविधतायुक्त मुलुकमा एकता कायम गर्न सबैलाई समान अधिकार दिनुपर्ने उनको भनाइ थियो । शोषण उत्पीडनमा परेका समुदायलाई अगाडि ल्याउने वातावरण नबनाएसम्म समानताको कुरा गर्नु भ्रम मात्र रहेको उनको धारणा थियो । जातीय कुरा गर्दा पूँजीवादीले जहिले पनि साम्प्रदायिक विध्वंश फैलाउने र जातिजातिबीच लडाइँ शुरु गर्ने षडयन्त्रका रूपमा लिँदै आएको र अन्य मुलुकमा त्यस्ता जातीय द्वन्द्व भएका उल्लेख गर्दै उनले कम्युनिष्टले भन्ने गरेको जातीय हकअधिकारको कुरा त्यस्तो नभएको बताए । ‘कम्युनिष्टले अगाडि सार्ने गरेको समाजवादी क्रान्ति र जातीय क्रान्तिको कुरालाई साम्राज्यवादीले जातीय सङ्कीर्णता, साम्प्रदायिकता र विद्वेष फैलाउने षडयन्त्रसँग मिलाउने गरेका छन्’, उनले भने, ‘आदिवासी जनजाति महासङ्घले जातीय हकअधिकारको कुरा साम्प्रादिक होइन समानता र मुक्तिको कुरा हो भनेर बुझाउन आवश्यक छ ।’ सो अवसरमा अध्यक्ष दाहालले नवगठित कार्यसमितिलाई शपथ खुवाएका थिए । तत्कालीन नेकपा (एमाले) को नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र नेकपा (माओवादी केन्द्र) आदिवासी जनजाति राष्ट्रिय महासङ्घबीच एकता भई २६१ सदस्यीय आदिवासी जनजाति महासङ्घ नेपाल बनेको हो ।