आइपीएलमा दिल्ली राजस्थानसँग भिड्दै, सन्दीप खेल्न पाउलान ?

काठमाडौं, चैत्र २८ । आइपीएलको ११ औं संस्करणमा दिल्ली डेयरडेभिल्स आफ्नो दोस्रो खेलमा आज राजस्थान रोयल्ससँग भिड्दै छ । दिल्लीको पहिलो खेलमा खेल्न नपाएका नेपालका युवा खेलाडी सन्दीप लामिछाने आज भने प्लेइङ ११ मा पर्ने सम्भावना बलियो छ ।

जितपुरस्थित सवाई मनसिंह रंगशालामा नेपाली समयअनुसार राति ८.१५ बजे खेल शुरु हुने छ । दुबै टिमले पहिलो खेलमा पराजय भोगेका छन् । किंग्स इलाभेन पञ्जाबसँग ६ विकेटले दिल्ली पराजित भएको थियो । साथै राजस्थान सनराइजर्स हैदराबादसँग ९ विकेटले पराजित भएको थियो ।

भेट्रान लेग स्पिनर अमित मिश्र पहिलो खेलमा महंगो सावित भए तर उनले एक विकेट पनि लिन सकेनन् । अमितले ४ ओभर बलिङ गर्दै ४६ रन खर्चेका थिए । पहिलो खेलमा फितलो बलिङ गरेका अमितको इकोनोमी ११.५० रहेको थियो ।

दिल्लीका स्पिनरले किफायती बलिङ गर्न नसकेको अवस्थामा सन्दीपले खेल्ने सम्भावना रहेको छ ।

ग्लेन म्याक्श्वेल, क्रिस मोरिस, ड्यानियल क्रिस्टेयन, सन्दीप लामिछाने, जासन रोय, ट्रेन्ट बोल्ट, कोलिन मुनरो र लिआम प्लुंकेट गरी दिल्लीमा ८ जना विदेशी खेलाडी छन् । यी मध्ये ४ खेलाडीले आजको खेल खेल्न पाउनेछन् ।

यु–१९ विश्वकप ह्याट्रिक विकेट तथा आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को प्लेयर अफ द सिरिज समेत भएका सन्दीप नेपालका प्रतिभाशाली खेलाडी हुन् ।

भारी वर्षाले घर भत्किँदा भक्तपुरमा पाँच जना घाइते

भक्तपुर, चैत २२ । दुई दिन परेको अविरल वर्षाका कारण बुधबार साँझ सूर्यविनायक नगरपालिका–१० चित्तापोल खुलाल गाउँमा घर भत्किँदा पाँचजना घाइते भएका छन् । स्थानीयवासी विदुर थापाको इँटा माटोले बनेको कच्ची घर भत्किँदा सोही घरमा बस्ने पाँचजना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनामा ५० वर्षीया पशुपति थापा, २१ वर्षीया सरदा थापा, १८ वर्षीय उमेश थापा, २१ वर्षीय रोशन थापा र २० वर्षीया सरिना थापा घाइते भएको परिसरका सूचना अधिकृत प्रहरी निरीक्षक मदन केसीले जानकारी दिए । घाइतेको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । अहिले घाइतेको अवस्था सामान्य रहेको छ । घर भत्किँदा रु १३ लाख बराबरको धनमाल क्षति भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।

प्रमद्वारा नेता भेटवालप्रति श्रद्धाञ्जलि

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिवंगत एमाले नेता जागृतप्रसाद भेटवालप्रति श्रद्धाञ्जलि दिनुभएको छ । प्रधानमन्त्री ओलीले पार्टी कार्यालयमा पुगेर उहाँप्रति श्रद्धाञ्जलि दिनुभएको हो । प्रधानमन्त्री ओलीले पार्टीका नेता भेटवालको निधनमा उहाँको परिवारमा समवेदना पनि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज शोक सन्देश दिँदै सिद्धान्तनिष्ठ, प्रखर र जुझारु नेताको छवि बनाउनुभएका एमाले केन्द्रीय लेखा आयोगका सदस्य भेटवालको निधनले वाम आन्दोलनले एक योद्धा गुमाएको उल्लेख गर्नुभएको छ । एमाले नेता माधवकुमार नेपालले पनि प्रेस वक्तव्य जारी गर्दै उहाँ प्रजातान्त्रिक आन्दोलनका लागि संघर्षशील नेता हुनुभएको र उहाँको निधनले मुलुकले निष्ठावान् राजनीतिज्ञ गुमाएको बताउनुभएको छ । आजै बसेको एमाले स्थायी समिति बैठकले पनि भेटवालको निधनमा शोक व्यक्त गरेको छ । अर्बुद रोगबाट पीडित ६५ वर्षीय नेता भेटवालको उपचारका क्रममा वीर अस्पतालमा आज अपराह्न निधन भएपछि श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा शव राखिएको थियो । उहाँका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । पाँच दशक लामो वामपन्थी राजनीतिमा संलग्न भेटवाल प्रजातान्त्रिक संघर्षकै क्रममा पञ्चायतकालमा जनपक्षीय उम्मेदवारका रुपमा निर्वाचित हुनुभएको थियो । विसं २०४८ र २०५१ को निर्वाचनमा चितवनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भेटवाल पार्टीका विभिन्न जिम्मेवारीमा रहनुभएको थियो । पछिल्लो समय उहाँ अनुशासन आयोगका सदस्यसमेत हुनुहुन्थ्यो । सोही आयोगका सदस्य दिलु पन्तले उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जानकारी दिनुभयो । रासस

प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता हुँदैन : जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका नेता तथा नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकिकरणका लागि गठित कार्यदलका सदस्य जनार्दन शर्माले सबै बिषय टुङ्गि सकेको बताएका छन् । तर पार्टी एकताको औपचारिक घोषणा प्रधानमन्त्रीको भारत भ्रमण अगाडी नहुने भएको छ । नेता शर्माले भने “आउँदो बैशाख ९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने तय भएको छ । हामी त्यहि अनुसार छलफल र आवश्यक गृहकार्य गरिरहेका छौँ । नभए हाम्रो पार्टी एकता त चुनाव अगाडि नै भैसकेको हो । के के कुरा मिल्न बाँकी छ भन्ने प्रश्नमा उनले भने “सबै बिषयमा कुरा मिलिसकेको छ, तर  थेरै ब्यबहारिक कुराहरु छन् । विवाद कहि कतै छैन । पार्टी एकतामा जाँदा दुबै पार्टीकाे हैसियत बराबर हुनुपर्ने माओवादीले अडान लियो भन्ने छ नी भन्ने अर्को प्रश्नमा उनले  भने ” हामीले कुनै प्रकारको अडान लिएका छैनौ । अडान लिएर पनि पार्टी एकता हुन्छ त ? हामीले अडान लिएकाे भए अहिलेकाे परिस्थिति नै अाउँदैनथ्याे नी ,  कहाँ कसरी जाने, कसलाई कस्तो जिम्मेवारी दिने, पार्टी संरचना कस्तो हुने भन्नेमा बहस चलिरहेको छ न की अडान । यस्ता बिषय आएका छैनन् र आउँदैनन पनि । केहि दिन अगाडि पार्टी अध्यक्षले सार्वजनिक अभिव्यक्ति दिएको बिषय हुँदै होईन त भन्न मिलेन नी होईन ? भनेर जिज्ञासा राखदा नेता शर्माले थपे ” कति बिषयमा मैले बोल्नु हुँदैन । तपाँईलाई यत्ति भनौँ हाम्रो पार्टी एकता सम्वन्धी छलफलमा कुनै विवाद र अडान छैनन् । छलफल र बहस भएक हुन् । सबै कुरालाई यसरि नै लिनुस । ” प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि नै एकता गर्ने तयारी भए पनि छलफलका लागि पर्याप्त समय नभएपछि अब कम्युनिस्ट पार्टी स्थापना दिवसकै दिन एकता गर्नु उपयुक्त हुने नेताहरूले बताउन थालेका छन् । नेकपा एमालेका नेता तथा नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकतासम्बन्धी विधान बनाउन गठित कार्यदलका सदस्य वेदुराम भुसालले पनि  पार्टी एकताका लागि उपयुक्त दिन स्थापना दिवस नै भएकाे बताए । ‘ पार्टी एकताकाे अाेपचारिक घाेषणा गर्ने ९ गते कै तयारी छ,’  नेता भुसालले भने ।  

३६ वर्षपछि जिम्बाम्बे विश्वकपबाट आउट, हटाइए कप्तान, कोच र अन्य स्टाफ

कठमाडौं, आगामी वर्ष इंग्ल्याण्डमा हुन गइरहेको विश्वकप क्रिकेटमा जिम्बाम्बेले भाग लिन नपाउने भएको छ । क्वालिफाइ हुन नसकेपछि सिँगो टिममाथि नै प्रश्न उठाउँदै महत्वपूर्ण परिवर्तन समेत गरिएको छ । ३६ वर्षपछि विश्वकपबाट बाहिरिनुपर्ने अवस्था सिर्जना भएपछि टीमका कप्तान ग्रेम क्रीमरलाई पदमुक्त गरिएको छ । त्यसैगरी टीमका कोच हीथ स्ट्रिक र कोचिङ स्टाफलाई आफ्नो पद छोडन केही समय दिइएको छ । टीमका कोच हिथ स्ट्रीकको कार्यकाल अक्टुबरमा समाप्त भइरहेको छ । टीमका बलर कोच लन्स क्लूजनरदेखि बलर कोट डगलस होन्डोले समेत टीमबाट हटनु पर्ने छ । टीमले खराब प्रदर्शन गरेका कारण यो परिवर्तन गरिएको हो ।

चलचित्र ‘शत्रु गते’ को हेर्न दर्शकहरुको भीड

काठमाडौं । फागुन ९ गते शुक्रबारदेखि नेपाली चलचित्र ‘शत्रु गते’ रिलिजमा आएको थियो । अहिले सबै हलहरुमा चलचित्र शत्रु गते हेर्ने दर्शकहरुको भीड बढिरहेको छ । जहाँ चलचित्रका कलाकारहरु उपस्थित रहेका छन् । चलचित्र ‘शत्रु गते’ को व्यापारलाई लिएर यसको निर्माणपक्ष र टिम निकै नै उत्साहित देखिन्छन् । यस चलचित्रको प्रतिक्रिया बुझ्न शनिबार बिहानदेखि नै कलाकारको जम्बो टोली हल–हलमा पुगेको हो । निर्माता तथा मुख्य कलाकार हरिवंश आचार्य, नायिका प्रियंका कार्की, कलाकार दीपाश्री निरौला, नायक पल शाह र नायिका आँचल शर्मा, निर्देशक प्रदिप भट्टराई, निर्माता किरण केसी काठमाण्डौको गोपिकृष्ण हल पुगेका थिए । गोपीकृष्ण हलमा दर्शकको उपस्थिती अपेक्षितभन्दा कम छ । कलाकारले दर्शकसँग सेल्फी खिचे भने ‘रुपै मोहनी’ गीत पनि गाएका थिए । नेपाली चलचित्रको व्यापार मल्टिप्लेक्समा आक्रामक छ । काठमाडौंका अधिकांश मल्टिप्लेक्समा शनिबारका लागि टिकट पाउन मुश्किल देखिएको छ । सिंगल हलमा बढी चल्छ भन्ने अपेक्षा गरिएको चलचित्रलाई मल्टिप्लेक्सका दर्शकले बढी साथ दिएका छन् । निर्देशक प्रदिप भट्टराई दर्शकले दिएको प्रतिक्रियाबाट उत्साहित भएको बताउँछन् । आफूले, जे कुरा दिन खोजेको हो सो कुरामा दर्शक सन्तुष्ट भएको भन्दै उनले खुशी व्यक्त गरे । शुक्रबार ७० लाख हारहारीको ग्रस कलेक्शन गरेको चलचित्रले शनिबार १ करोड भन्दा बढीको कारोबार गर्ने अनुमान गरिएको छ । काठमाण्डौ बाहिर चलचित्रको व्यापार कमजोर छ । विशेषगरि, चलिरहेको ‘एसइइको परिक्षा’को प्रभाव चलचित्रको व्यापारमा परेको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिपकराज गिरी, शिवहरि पौडेल, राजाराम पौडेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ । केही तस्वीरहरु-

कांग्रेसको चुनाव समीक्षा बैठकमा नरहरिदेखि गुरु घिमिरेसम्मले के भने

काठमाडौं, चैत १० । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा नेतृत्वको भूमिकाबारे तीव्र आलोचना भएको छ । निर्वाचनको समीक्षा गर्न शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय सदस्यहरुले निर्वाचनमा पार्टीको पराजय नेतृत्वको कमजोरी, संगठनको निष्क्रियता र भ्रातृ संगठनको भूमिकाहीनता नै मुख्य जिम्मेवार रहेको आरोप लगाउनुभयो । उहाँहरुले पार्टी नेतृत्वबाट प्रभावकारी भूमिका खेल्न नसकेकै कारण काँग्रेसले निर्वाचनको परिणाम सोचेअनुरुप हात पार्न नसकेको टिप्पणी गर्नुभयो । बैठकमा सभापति देउवा पक्षधर नेताहरुले पार्टीभित्रका गुटउपगुट, असहयोगको प्रभाव र वाम गठबन्धनको असरले पार्टीलाई निर्वाचनको गणितीय परिणाममा धक्का लागे पनि आत्तिइहाल्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै समानुपातिक निर्वाचनको परिणामलाई विश्लेषण गर्दा अहिले नै आत्तिइहाल्नुपर्ने र नेतृत्वबारे नकारात्मक टिप्पणी गर्नुपर्ने स्थिति नरहेको धारणा व्यक्त गर्नुभयो । करीब दुई वर्षपछि पार्टीका बैठकमा उपस्थित भएका कांग्रेसका चर्चित नेता नरहरि आचार्यले आफ्नो स्वास्थ्य भन्दा पार्टीका विषयमा बढी चिन्ता लागेको बताए । विभिन्न कमजोरीका कारण पार्टीले नराम्रो पराजय व्यहोरेको भन्दै कमीकमजोरी सुधारेर अगाडि बढ्नु पर्ने बताए । बैठकमा केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी अहिले जुन अवस्थामा छ, यो बेला एकले अर्काप्रति आरोप प्रत्यारोप गर्नेभन्दा पनि कमीकमजोरीलाई सुधारेर अघि बढ्न आवश्यक रहेको दृष्टिकोणबाट सुझाव आएको जानकारी दिनुभयो । अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टीको आन्तरिक अवस्था, टिकट वितरणमा विभेद र प्रचार रणनीतिमा कमजोरी तथा विपक्षको आरोपको खण्डन र प्रतिवाद उचित ढंगबाट हुन नसक्दा अहिले नेपाली काँग्रेस कमजोर जस्तो देखिन पुगेको धारणा बैठकमा अधिकांश सदस्यहरुले राख्नुभएको बताउनुभयो । उहाँहरुले पार्टीलाई सबल र सुदृढ बनाउने सन्दर्भमा उठेका प्रश्नका बारेमा सभापति र महामन्त्रीले गम्भीर ढंगले आत्मसात् गरेर एकताबद्ध भई अघि बढ्नुपर्ने सुझाव दिनुभएको उहाँले बताउनुभयो । अर्का केन्द्रीय सदस्य वीरबहादुर बलायरले विगतमा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई जुन परिस्थितिबाट गुज्रनुपर्ने अवस्था सिर्जना गरियो, त्यसैको नतिजाका कारण नेपाली काँग्रेसले अहिलेको अवस्था भोग्नुपरेको दृष्टिकोण प्रस्तुत गर्नुभयो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा केन्द्रीय सदस्यहरु हरिप्रसाद नेपाल, नरहरि आचार्य, नवीन्द्रराज जोशी, कल्याण गुरुङ, दिलेन्द्रप्रसाद बडूले आ–आफ्ना धारणा राख्नुभएको थियो । समितिको अर्को बैठक सोमबार बिहान ९ बजे बस्नेछ ।

मलाई गाडी किन चाहियो, त्याे पैसाले थोरै भए पनि विकासको काम गर्छू : गाउँपालिका अध्यक्ष सुनुवार

काठमाडौं । एकैपटक निर्वाचित अन्य गाउँपालिका अध्यक्ष गाडीमा हुँईकिँदा शेरबहादुर सुनुवार त्यसैको पछिपछि धुलो खाएर थोत्रो मोटरसाइलमा कुदिरहेका हुन्छन् । मलाई गाडी किन चाहियो, सुनुवार भन्छन्, गाडी किन्ने पैसाले थोरै भए पनि विकासको काम गर्छू, अरुको देखासेखी मलाई गर्नु छैन । रामेछापको दुर्गममा पर्ने उमाकुण्ड त्यसैमा पनि विकासमा पछाडि छ । कसरी हुन्छ मलाई परिणाम देखिने गरी र नागरिकले अनुभूति काम गरेर देखाउन छ, सुनुवार भन्छन् । जिल्ला सदरमुकाम आईपुगेपछि उनी मोटरसाईकल प्रयोग गर्छन् । उमाकुण्डबाट मन्थली होस् या काठमााडौं जाँदा आउँदा उनले प्रयोग गर्ने सार्वजनिक यातायात नै हो ।,आाजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रचण्ड चक्रपथ सरसफार्इकाे विशेष समारोहमा सहभागी

काठमाडौं, चैत १० । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड चक्रपथ सरसफार्इकाे विशेष समारोहमा सहभागी हुँदैछन् । उनी धापासी ग्रीन सिटी नजिक ८.४० मा हुने कार्यक्रममा सहभागी हुनेछन् । धापासी ग्रीन सिटी नजिकदेखी चक्रपथ सरसफ़ाई अभियानको ५० औ हप्ताको बिशेष समारोहमा प्रचण्डले संवाेधन गर्नेछन् ।  

म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा

म्यानमारका राष्ट्रपति टिन च्वले पदबाट राजीनामा दिएको उनको कार्यालयले घोषणा गरेको छ। उनले राजीनामा दिनुको कारणबारे केही खुलाइएको छैन। तर एउटा औपचारिक कार्यक्रममा एकदमै कमजोर देखिएका ७१ वर्षीय च्वको स्वास्थ्य अवस्थाबारे पछिल्ला महिनाहरूमा चासो व्यक्त गरिँदै आएको थियो। दशकौंदेखिको सैनिक शासन अन्त्य गराएको महत्त्वपूर्ण चुनावपछि सन् २०१६ मा उनी राष्ट्रपति बनेका थिए। आलङ्कारिक तर वास्तविक शक्तिको अभ्यास नेत्री आङ सान सूचीले गर्ने भएकोले च्व आलङ्कारिक भूमिकामा मात्रै थिए। सैनिक शासनका बेला जेलजीवन बिताएकी सूचीलाई देशको उच्च पदमा बस्न प्रतिबन्ध छ। एउटा संवैधानिक व्यवस्था अनुसार अरू देशको नागरिकको बच्चा भएको व्यक्ति राष्ट्रपति हुन पाउँदैन। नेत्री सूचीलाई सत्तामा आउन नदिने उद्देश्यले उक्त व्यवस्था राखिएको बताइन्छ। विश्वसनीय ब्रिटिश नागरिकसँग बिहे गरेकी सूचीका दुई छोरा छन्। उनको श्रीमान्‌को चाहिँ निधन भइसकेको छ। टिन च्व नेत्री सूचीको बाल्यकालका साथी, लामो समयदेखिको सल्लाहकार र कुनैबेलाका सवारी चालक पनि हुन्। उनलाई शान्त स्वभावका र सूचीले पूर्णरूपमा विश्वास गर्न सक्ने व्यक्तिका रूपमा हेरिन्छ। सन् २०१५ को नोभेम्बरमा भएको निर्वाचनमा सूचीको न्यास्नल लिग फर डेमोक्र्यासीले ठूलो जित हासिल गरेको थियो।   बीबीसीबाट साभार

‘हिरोज’ को ‘यो प्रित’ गीतमा करिश्मा र मुकेशको रोमान्स (हेर्नुहोस् भिडियो)

काठमाडा‌ै । अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्ममा समावेश ‘यो प्रित’ बोलको गीत सार्वजनिक भएको छ । आगामी चैत २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सो गीतमा करिश्मा मानन्धर र मुकेश ढकाललाई ‘फिचर’ गरिएको छ । प्रल्हाद तिमिल्सिना र प्रविशा अधिकारीको स्वर रहेको गीतको लेखक शंकर अधिकारी घायल रहेका हुन् । विकास चौधरीले संगीत गरेको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । गीतमा करिश्मा र मुकेशबीचको प्रेमभाव झल्काइएको छ । एनबि महर्जनको निर्देशनमा बनेको चलचित्रका सार्वजनिक ट्रेलर र गीत अहिले चर्चामा छन् । एक्शन लभस्टोरी फिल्ममा बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृति, अन्याय विरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको बताइन्छ । फिल्ममा करिश्मा मानन्धर, जयकिशन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् । जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । शिव ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्म कमल राई, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । चलचित्रको द्वन्द शंकर महर्जनले निर्देशन गरेका हुन् । नयाँवर्षको उपहार स्वरुप दर्शकमाझ ल्याउन लागीएको फिल्मप्रति आफू निकै आशावादी रहेको पूर्णिमा बताउने गर्दछिन् । हेर्नुहोस् भिडियो-  

मन्त्री बिना मगरकाे सक्रियता, छड्केमा परे खानेपानी सचिवसहित एक दर्जन कर्मचारी

काठमाडौं, चैत ५ । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरसहित एक दर्जनभन्दा बढी कर्मचारी छड्केमा परेका छन्। खानेपानी तथा सरसफाइमन्त्री विना मगरले आइतबार १० बजे मन्त्रालयमा छड्के जाँच गर्दा ती कर्मचारी अनुपस्थित थिए। मन्त्री मन्त्रालय पुग्दा सचिव ठाकुर, सहसचिव अनिल खनाल, ज्योतिकुमार श्रेष्ठसहित एक दर्जनभन्दा बढी कर्मचारी अनुपस्थित भएको मन्त्रालय स्रोतले बतायो। ‘पहिलो दिनमै सचिव, सहसचिवसहित दर्जनभन्दा बढी कर्मचारी अनुपस्थित हुनु राम्रो होइन,’ मन्त्रीको भनाइ उद्दृत गर्दै एक कर्मचारीले भने, ‘भोलिदेखि कार्यालय समयमा उपस्थित नहुने र तोकिएको काम नगर्ने कर्मचारीमाथि कारबाही अघि बढ्छ।’ उनले अनुपस्थित हुने कर्मचारीको नाम टिपेर लगेकी छन्।

ज्वाईँले कुटाई खानैपर्ने परम्परा ! (भिडियोसहित)

सोसल मिडियामा अहिले एउटा भिडियो खुबै चर्चित छ । भिडियोमा एकजना हट्टाकट्टा युवती हातमा लौरो लिएर उभिएकाे देखिन्छिन् । । एकजना पुरुष उनको अगाडि उभिएको छ । अचानक ती महिलाले हातमा रहेको लौरोले युवकलाई जोडसँग पिट्न थाल्छिन् । अचम्मको कुरा त कुटाइ खाने त्यो युवक कुनै प्रतिकार गर्दैन । बरु लौरोको मार खप्न आफ्नो पिठ्युँ थापिदिन्छ । त्यति पिट्दा पनि नखदेझैँ गर्दछ र यदि पीडा असैह्य भयो भने बीच बीचमा उभिएर दुखेको भाग सुम्सुम्याउँछ र पुनः कुटाइ खानका लागि जिउ थापिदिन्छ । यस्तो हेरिरहँदा तपाइँलाई लागेको होला यो मान्छेले कुनै गम्भीर गल्तीको सजायँ भोगिरहेको छ । तर होइन । यो एउटा परम्परा हो । विवाहसँग जोडिएको परम्परा । दक्षिण अमेरिकी देश पेरुमा विवाह समारोहअघि बेहुलाले यसैगरी पिटाइ खानुपर्दछ । भिडियोमा पिटाई खाने युवक पनि हुनेवाला बेहुलो हो । बेहुला कुट्ने यो परम्परा निकै धुमधामसँग मनाइन्छ । यसरी बिहे अगाडि कुटाइ खानाले बेहुलाले बिहेपछि आइलाग्ने सबै खालका समस्यासँग जुध्नसक्ने क्षमता विकास गर्ने विश्वास गरिन्छ । सुरुमा एकजना फेसबुक प्रयोगकर्ताले फेसबुकमा हालेको यो भिडियो भाइरल नै बन्यो । भिडियो     

सरकार गुहार्दै पुष्पाको पीडा : बसौँ भने घरबार छैन साथमा लोग्ने नाई

शूरबहादुर सिंह/रासस सुर्खेत, ४ चैत (रासस) ः बिहानको समय थियो । भेरी नदीबाट आउने चिसोको झोक्काबाट बचाउन पुष्पा बच्चाबच्चालाई गुच्मुच्च पारेर खुला त्रिपालमुनिको आगोको सेको लगाउँदै हुनुहन्थ्यो । चुल्हो र थोरै भाँडावर्तन राखिएको साँघुरो त्रिपालमुनि बसिरहेका उहाँलाई नानीहरुले बिहानको खाना मागिरहेका थिए तर भन्ने बित्तिकै दिनसक्ने खाना रहेनछ, उहाँकामा । एकसरो अनि विभिन्न ठाउँमा च्यातिएको कपडा लगाएका नानीहरुलाई हिजो बेलुका बचेखुचेको सेतो भातसँग सेतो नून मिसाएर चित्त बुझाउन हम्मे हम्मे थियो उहाँलाई । चार वर्षअघि कुनै गैरसरकारी संस्थाले दिएको उहाँको त्रिपालको अवस्था जीर्ण अवस्थामा पुगेको छ । उहाँलगायत पीडित एकल महिला तथा बाढीपीडितको जीवन त्रिपालको बासमा कष्टकर रुपमा व्यतित भइरहेको छ । सुर्खेत पश्चिममा पर्ने पञ्चपुरी नगरपालिका–१० (साबिकको तातोपानी–६ गल्फगाउँ)मा ३० वर्षीया पुष्पा नेपाली जस्तै आधा दर्जन एकल महिला र पाँच दर्जनभन्दा बढी बाढीपीडित परिवार बस्दै आएका छन् । विसं २०७१ साउन २९ गते राति २ बजे भेरी नदीमा आएको बाढीले उनीहरुलाई घरबारविहीन बनाएको थियो । बाढीबाट २९ जनाको मानवीय क्षति समेत भयो । त्यस्तै, अर्बको धनमाल र करोडौँको पशुवस्तुमा पनि क्षति पुग्यो । बाढीबाट पीडित र अर्धपीडित गरेर ६०० घरपरिवार विस्थापित भए । उक्त विपत्तिबाट ११ जना विद्यार्थीको पनि ज्यान गएको थियो । बाढीको पीडा भुल्न नपाउँदै २०७२ सालमा पुष्पाका श्रीमान् मन नेपाली कुलोमा काम गर्दै गर्दा माटोको ढिस्कोले च्यापिएर बित्नुभयो । घरबारविहीन बनेको पुष्पाको परिवारबाट दैवले श्रीमान्लाई खोसेर लगेपछि त्यस दिनदेखि उहाँको जीवनमा दुःखको बाढी शुरु भयो । त्यही सन्दर्भलाई जोडेर उहाँले दुःख पोख्दै एउटा विरहको गीत भन्नुभयो, बसौँ भने घरबार छैन साथमा लोग्ने नाई, टुहुरा बालबच्चा रुन्छन् खान लाउन नपाई । पुष्पाको साथमा अहिले सात जना बालबच्चा छन् । बालबच्चलाई शिक्षादीक्षा दिलाउनु उहाँका लागि धेरै परको कुरा हो, तिनीहरुलाई गाँस र कपास जुटाउन दिनहुँ सकस पर्दछ, उहाँलाई । आफ्नो र बालबच्चाको पेट पाल्न आफ्नै बस्तीमाथि भेरीले बनाएको बगरमा पुगेर गिट्टी कुट्नु उहाँको दिनचर्या बनेको छ, आजभोलि । “बाढीले त हामीलाई घरबारविहीन बनाएकै थियो, त्यसमा झनै दैवले मेरो संसार खोसेर लियो । जीवनमा आँसु र पीडाबाहेक केही छैन,” भावविह्वल भएर उहाँले रासससँग भन्नुभयो । उहाँ भन्नुहुन्छ, “सबैका लोग्ने हुँदा भारतबाट कमाएर ल्याउँछन् । मलाई भने आज खाना कसरी जुटाउने होला भन्ने कुराले निकै पिरोल्छ ।” “लोग्ने भइदिएको भए दुःख साटेर संघर्ष गरिन्थ्यो होला तर के गर्ने पीडामाथि थपिएको पीडाको भारले थिचिएकी छु,” उहाँले भन्नुभयो । त्रिपालको ओत लिएर जमीनको बास हुँदा कतै सुतेको बेला बच्चाबच्चालाई सर्पले टोक्ने वा रूख ढलेर मरिने पो हो कि भन्ने डरले सताउने गरेको उहाँले बताउनुभयो । पुष्पा जस्तै ३२ वर्षीय गंगा विकको समस्या पनि फरक छैन । पाँच बच्चाकी आमा गंगाको पति कृष्ण विकको काम सिलसिलामा मृत्यु भयो । आफू बालबच्चाका लागि बाँच्नु परेको प्रतिक्रिया उहाँले दिनुभयो । “हामी गरीवमाथि नै कालको आँखा लाग्दोरहेछ । यस्ता विपत्मा परेकामाथि भने सरकार समेतको नजर पुग्दो रहेनछ,” उहाँले भन्नुभयो । उहाँले पनि गीतबाटै दुःख पोख्नुभयो, घरबार बाढीले लैगो श्रीमान् दैवले, यस्तालाई नदेख्दो रैछ, राज्य सरकारले । बाढीपीडित ३० वर्षीय तुल्सी विकको जीवनकथा झनै कहालिलाग्दो छ । घरबारविहीन भइसकेपछि उहाँका पति प्रताप विकको उच्च रक्तचापको बिरामीले मृत्यु भयो । पति वियोग छँदै थियो, कामका क्रममा खुट्टा भाँचिदा उहाँ सधैँका लागि अपांग हुनुप¥यो । घरबारविहीन बनेका उहाँले सहाराविहीन हुँदा जीवनका सारा खुशी सकिएको पीडा व्यक्त गर्नुभयो । दैवप्रति गुनासो गर्दै उहाँले भन्नुभयो, बाढीले बगर पा¥यो घरबार सबै बगाई, रातदिनै रोएर बाँच्नु दैव ऋण के लगाई ? “च्यातिएको त्रिपालमा बास छ, तीन बालबच्चा छन्, काम गर्ने कोही छैन, दैवले खुशी लुटेको जिन्दगीमा प्राणबाहेक अरू केही छैन,” उहाँले भन्नुभयो । त्यति मात्र होइन, पीडा हुँदा आँखाबाट खस्ने आँसु पनि सकिएको रहेछ, उहाँको । उहाँ बेलाबेलामा भक्कानिनु हुन्छ र भन्नुहुन्छ, “को होला हाम्रो पीडा बुझ्ने ? पीडा सुनाउने ठाउँ कहाँ होला ? कहिलेसम्म पीडैपीडाको जीवन बिताउने होला ?” उहाँले बालबच्चाले गर्दा मर्न नसकिएको आशय व्यक्त गर्नुभयो । “म रहिन भने यी नानीहरु कहाँ जालान् के खालान् भन्ने लाग्छ, यिनैका लागि भए पनि बाँच्ने प्रयत्न गरिरहेकी छु,” उहाँले भन्नुभयो । बाढीपीडित पुष्पा, गंगा र तुल्सी मात्र प्रतिनिधि पात्र हुन् । बाढीका कारण पञ्चपुरी नगरपालिका सुर्खेतका विभिन्न वनजंगल र खोँचमा विस्थापित जीवन जिउन बाध्य नागरिकलाई राज्य सरकार छ जस्तो लागेको छैन । चार वर्षसम्म विस्थापित बाढीपीडितको समस्या कुनै सरकारले नबुझेको उनीहरुको गुनासो छ । प्राकृतिक विपत्तिले घरबारविहीन बनाएको घटना घाम जस्तै छर्लङ्ग हुँदा पनि सरकार बेखबर रहेको पञ्चपुरी नगरपालिकास्थित जनसृजना माविका प्रधानाध्यापक हरि ढकालको आरोप छ । ढकालका अनुसार सरकारले बाढीपीडितलाई यो देशको नागरिक हुँ भन्ने प्रत्याभूति दिलाउन केन्द्र, प्रदेशभन्दा पनि स्थानीय सरकारले पहिलो कदम चाल्नु पर्दछ । यता, प्रदेश सरकारको आन्तरिक मामिला तथा योजनामन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले यही फागुन २६ गते बाढीपीडित बस्तीको वास्तविकता बुझेर फर्केको छ । उनीहरुको समस्या समाधानका लागि प्रदेश सरकारले प्याकेजको कार्यक्रम बनाउनाका साथै केन्द्र र स्थानीय सरकारको पुलको काम गर्ने मन्त्री भण्डारीले बताउनुभयो । बाढीपीडितको पुनर्वासको व्यवस्था कतैबाट नहुँदा तीन वर्षदेखि उनीहरुको असुरक्षित त्रिपालको बास कायमै रहेको छ जहाँका नागरिकले नेपालको संविधानको भाग ३ मा व्यवस्था गरिएको मौलिक हकको कुनै प्रत्याभूति गर्न पाएका छैनन् । शूरबहादुर सिंह/रासस Photo: Symbolic Only (Credit: APF)

क्रान्तिकारी विद्यार्थीमाथि हातपात गर्ने प्रशासन प्रमुखको राजीनामा माग

चितवन । विभिन्न समस्या राख्न कलेज प्रशासनमा पुगेको विद्यार्थीमाथि हातपात गर्ने चितवनको बालकुमारी कलेजका प्रशासन प्रमुख चन्द्रकान्त पौडेलको राजीनामा माग गरिएको छ । अखिल क्रान्तिकारी कलेज मूल इकाई समितिले विज्ञप्ति जारी गर्दै विद्यार्थीमाथि हातपात गर्ने प्रशासन प्रमुख मान्य नभएको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ । विद्यालयमा देखिएका समस्या प्रशासनले तत्काल समाधान गर्नुपर्ने धारणा राखिरहेका बेला प्रशासन प्रमुख पौडेलले अखिल क्रान्तिकारी बालकुमारी कलेजका इन्चार्ज विकास कोइराला र विद्यार्थी नेता आकर्षक खतिवडामाथि हातपात गरेका थिए । ‘हाम्रो मागलाई वेवास्ता गरे कलेज प्रशासनले ठूलो क्षति व्यहोर्ने चेतावनी दिन चाहन्छौं,’ अध्यक्ष रिदम पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । कलेजका बीएचएम, बीएड, आइसीटी, बीबीएस लगायतका संकाय तथा चमेना गृह, पार्किङ्ग, भौतिक पूर्वाधारमा देखिएका समस्या तत्काल समाधान गर्नुपर्ने माग अखिल क्रान्तिकारीले राखेको थियो ।

कांग्रेसमा बल्झिँदै पदाधिकारी विवाद

काठमाडौं, चैत ४ । नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढाउने विषयलाई लिएर सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबचि विवाद सुरु भएको छ । पार्टीको महाधिवेशन भएको दुई बर्ष वित्दासमेत पदाधिकारीसहित केन्द्रीय समितिले पुर्णता पाउन नसकेको कांग्रेसमा पदाधिकारीको संख्या थप थगर्ने विषयमा नेताहरु पक्ष र विपक्षमामा विभाजित भएका हुन् । सभापति देउवा पार्टीलाई नयाँ संविधानअनुसार संघीय संरचनामा लैजान महासमिति बैठकमार्फत विधान संशोधन गरेर पदाधिकारी बढाउने पक्ष्मा छन् । तर, नेता पौडेल संविधानअनुसार पार्टीलाई संघीय संरचनामा लैजान तयार देखिए पछि पदाधिकारी थप्न राजी छैनन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।