नेपाल र पपुवा न्युगिनीबीचको खेल शुरू, टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं, चैत्र १ । एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पपुवा न्युगिनी ब्याटिङ गरिरहेको छ।

जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबको मैदानमा खेल भइरहेको छ । खेलमा जित हात पार्ने टिम एकदिवसीय मान्यता नजिक पुग्नेछ।

सुपर ६ पुग्न असफल भएको नेपालका लागि एकदिवसीय मान्यताको सुनौलो अवसर छ। त्यसका लागि नेपालले पपुवा न्युगिनीलाई पराजित गर्नुपर्ने हुन्छ।

४ वर्षका लागि प्राप्त हुने एकदिवसीय मान्यताले टिमको एक्सपोजर बढ्ने र आइसिसीबाट प्राप्त हुने अनुदान पनि बृद्धि हुने भएकाले प्लेअफको खेललाई महत्वपूर्ण मानिएको छ। खेलमा हार्ने टिम डिभिजन–२ मा झर्नेछ।

विश्वकप छनोट खेलमा नेपालले तीनमा हार र एकमा जित हात पारेको थियो । जिम्बावे, अफगानिस्तान र स्कटल्याण्डसँग पराजय व्यहोेरेको नेपालले हङकङमाथि भने पाँच विकेटको जित निकालेको थियो ।

आर्सनल र टोटनह्याम हट्सपर विजयी, म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै

काठमाडौं, फागुन २८ । इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । गएराति भएको खेलमा लिग तालिकाको तेस्रो स्थानमा रहेको टोटनह्यामले बर्नमाउथलाई ४-१ ले हरायो । टोटनह्यामका लागि हिउङ मिन सनले दुई गोल गर्दा डेले अली र सर्जी औरीएरले एक एक गोल थपे । बर्नमाउथका जुनियर स्टानिस्लासले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले वाट्फोर्डलाई ३-० ले हरायो । आर्सनलका लागि खोद्रान मुस्ताफी, पिएरे एमरिक औबामायङ्ग र हेन्रीक कख्तरीयानले एक–एक गोल गरे । प्रिमियर लिग फुटबलमा आज राति म्यान्चेस्टर सिटीले स्टोक सिटीसँग खेल्नेछ । लिगको अंक तालिकामा २९ खेलबाट ७८ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै छ । एक खेल बढी खेलेको म्यानचेस्टर युनाईटेड ६५ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्याम हट्सपरको ६१ अंक छ । ६० अंकको साथ लिभरपुल चौथो तथा ५६ अंकसहित चेल्सी पाँचौ स्थानमा सेमटिएको छ ।

‘सिरियामा ५ सयभन्दा बढी नेपाली युवती’

काठमाडौं, फागुन २६ । द्वन्द्वग्रस्त मुलुक सिरियामा केही समयअघि सर्लाहीकी ४७ वर्षीया तेजी देवीको मृत्यु भयो । उनको मृत्यु राजधानी नजिकैको सहरमा भएको जानकारी सिरियासमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासमा आए पनि मृत्युको कारण अझै खुल्न सकेको छैन । सिरिया पुगेर सोधखोज गर्ने अवस्था नेपाली नियोग प्रतिनिधिको छैन । उनको शव स्थानीय अस्पतालमा बेवारिस छ । ८ महिनाअघि पनि सिन्धुपाल्चोककी माया तामाङको सिरियामै मृत्यु भयो । दूतावासमा यसको सूचना आए पनि युद्धग्रस्त क्षेत्रबाट तामाङको शव नेपाल पठाउने व्यवस्था दूतावासले अझै मिलाउन सकेको छैन । पछिल्लो समय पञ्चमाया राई र दुर्गा विकले आफूहरू सिरियामा बन्धक बनाइएको भन्दै एजेन्टमार्फत दूतावासमा जानकारी पठाएपछि उनीहरूकोउद्धारको पहल सुरु भएको दूतावासले जनाएको छ । उल्लिखित ३ घटनाले पुष्टि गर्छ– द्वन्द्वग्रस्त सिरियामा थुप्रै संख्यामा नेपाली युवती कामको खोजीमा पुगेका छन् । उनीहरूको संख्या कति छ, कस्तो हालतमा छन् र के गरिरहेका छन् भन्ने विवरण भने कसैसँग छैन । द्वन्द्वका क्रममा हजारौं सिरियालीको मृत्यु भएको स्थितिमा त्यहाँ रहेका नेपालीको अवस्थाबारे सरकार बेखबर छ । तेजी र मायाको मृत्युको खबरपछि भने दूतावासले सम्पर्कसूत्रमार्फत सिरियामा रहेका नेपालीबारे खोजी सुरु गरिएको जनाएको छ । द्वन्द्वग्रस्त क्षेत्रमा नेपाली रहेको जानकारी आएपछि थप बुझ्ने प्रयास भइरहेको इजिप्टस्थित राजदूत झविन्द्र अर्यालले कान्तिपुरलाई टेलिफोनमा जानकारी दिए । ‘त्यहाँ सम्पर्क व्यक्ति चयन गरी नेपालीहरूको संख्या यकिन गर्ने काम भइरहेको छ । कति छन् भन्ने सरकारलाई जानकारी छैन,’ उनले भने । सरकारले सिरिया वैध रूपमा जान प्रतिबन्ध लगाएको छ । ‘मानव तस्करहरूले अवैध रूपमा विभिन्न बहाना मिलाएर घरेलु कामदार सिरिया पुर्‍याउने गरेका छन्,’ राजदूत अर्यालले भने, ‘यसलाई रोक्न सरकारले थप प्रयास गर्नु आवश्यक छ ।’ सिरिया मात्र होइन, लेबनान र अन्य अफ्रिकी मुलुकमा समेत नेपाली युवतीहरू घरेलु कामदारका रूपमा पुर्‍याइएको उनले बताए । ‘घरेलु कामबाहेक अन्य क्षेत्रमा नेपाली छैनन्,’ उनले भने ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

राष्ट्र बैंकले दुई अर्ब रुपैयाँको नागरिक बचतपत्र जारी गर्ने

काठमाडौं, फागुन २५ । नेपाल राष्ट्र बैंकले पञ्चवर्षीय नागरिक बचतपत्र जारी गर्ने भएको छ । पाँच वर्ष अवधिको यस बचतपत्रमा ९ प्रतिशत वार्षिक ब्याज पाइनेछ । राष्ट्र बैंकले कुल दुई अर्ब रुपैयाँको बचतपत्र निष्कासन गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार यो बचतपत्रको ब्याजदर ६–६ महिनामा भुक्तानी गरिनेछ । बचतपत्र खरिद गर्न घटिमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिनुपर्नेछ । बचतपत्रमा नेपाली नागरिकले मात्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यस्तो बचतपत्र धितो राखी नेपाल राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि सक्नेछन् । बचतपत्र खरिद गर्ने समय चैत १ गतेदेखि २१ गतेसम्म तोकिएको छ । यही चैत २६ गते निष्कासन हुने बचतपत्रको २०७९ चैत २६ गते साँवा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

नेपाललाई पहिलो सफलता, सन्दीपले झारे स्कटल्याण्डको पहिलो विकेट

काठमाडौं, फागुन २४ । जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा नेपाल र स्कटल्याण्डबीच खेल जारी छ । टस जितेर पहिला व्याटिङ रोजेको नेपालले जितका लागि स्कटल्याण्डलाई दिएको १५० रनको लक्ष्य पछ्याएको स्कटल्याण्डको पहिलो विकेट झरेको छ । नेपालका लागि पहिलो ओभर बलिङ गर्न आएका सन्दीप लामिछानेले म्याथ्यु क्रसलाई पारस खड्काको हातबाट क्याचआउट गराएका हुन् । नेपालका लागि ओपनर सोमपाल कामी र वसन्त रेग्मीले कसिलो बलिङ गर्दै स्कटल्याण्डका व्याट्सम्यानलाई दवावमा पारेका छन् । स्कटल्याण्डका म्याथ्यु क्रस काइल कोएट्जर ओपनिङ ब्याट्सम्यानका रुपमा क्रिजमा रहेका छन् । पहिलो ओभर बलिङ गर्न आएका वसन्तले मात्रै एक रन खर्चिए । दोस्रो ओभरमा सोमपालले २ रन मात्रै दिए । त्यस्तै तेस्रो ओभरमा वसन्तले २ तथा चौथो ओभरमा सोमपालले ३ रन दिए । पाँचौ ओभरमा वसन्तले चार रन दिए । छैटौं ओभरमा भने सोमपालले ७ रन खर्चिएका थिए । सातौ‌ँ ओभरमा वसन्तले दुई रन दिए । आठौँ ओभरमा सोमपालले ८ रन खर्चिए । नवौँ ओभरमा ललित राजवंशीले ४ रन दिँदा १० औँ ओभरमा सन्दीप लामिछानेले एक विकेट लिएर ३ रन मात्रै दिए । ११ औँ ओभरमा राजवंशीले ६ रन दिए । १२ औँ ओभर सन्दीपले मेडन राखे । १२ ओभरको समाप्तिमा स्कटल्याण्डले एक विकेट गुमाउँदै ४१ रन बनाएको छ ।

क्याम्पसको स्तरोन्नतिका लागि श्रीमद् भागवत सप्ताह

सिन्धुपाल्चोक, फागुन २४ । सिन्धुपाल्चोकको चौतारास्थित चौतारा बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि सहयोग संकलन गर्न श्रीमद् भागवत सप्ताह आयोजना गरिएको छ । भागवत धर्म संरक्षण समितिको सहयोगमा मंगलबारबाट सुरु भएको सप्ताहबाट संकलित रकमबाट क्याम्पसमा स्नातकोत्तर तह थप, प्राविधिक शिक्षा, छात्रावासको व्यवस्थालगायतको काम गर्ने बताइएको छ । फागुन ३० गतेसम्म चल्ने सप्ताहबाट संकलित रकमले क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालनको पूर्वाधार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णराज श्रेष्ठले जानकारी दिए । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद शेरबहादुर तामाङले चौतारालाई शैक्षिक हबको रुपमा विकास गरिने बताए । क्याम्पसले २०६६ सालमा पनि यस्तै सप्ताह लगाई संकलित रकमबाट जग्गा खरीद गरी आफ्नै भवन बनाइसकेको छ ।

राजधानीमै लागूऔषधको डिलर, भारतीय नागरिक पक्राउ

काठमाडौं । राजधानीमै अवैध लागूऔषधको डिलर सञ्चालन गर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाले अवैध लागूऔषध डिलरका रूपमा सप्लाई गर्ने भारतीय नागरिक मोहमद रूजादीनसहित ३ जना नेपालीलाई पक्राउ गरेको हो। पक्राउ परेका रूजादीनले काठमाडौंमा आउने अवैध लागूऔषधको डिलरनै सञ्चालन गरेको प्रहरीले जनाएको छ। प्रहरीले उनीसँगै नुवाकोटका सुनिल घिमिरे र विगु राईलाई पनि पक्राउ गरेको छ। प्रहरीले अभियुक्तको साथबाट ४ हजारभन्दा बढी सेट फेनारगन, डाईजेपाम लगायतका लागूऔषध बरामद गरेको छ।

राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन, एमालेले भण्डारीलाई नै दोहोर्‍याउने

काठमाडौं, फागुन २३ । राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगले यही फागुन २९ गते हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय निर्धारण गरेको हो । राष्ट्रपति चयनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० मतदाता रहेकोमा चार जनाको नाम मतदाता सूचीमा समावेश गरिएको छ । यसैबीच संसद्को सबैभन्दा ठूलो दल एमालेले पुनः विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । गएराति अबेरसम्म बसेको एमाले स्थायी कमिटी बैठकले दोस्रो कार्यकालका लागि भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको हो । हिजो साँझ साढे ५ बजेदेखि झन्डै ७ घण्टासम्म बसेको बैठकले सर्वसम्मतरुपमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभा राष्ट्रियसभा र प्रदेशसभामा वाम गठबन्धनको स्पष्ट बहुमत भएकाले भण्डारी नै अर्को कार्यकाल राष्ट्रपति बन्ने निश्चित जस्तै छ । भण्डारी यसअघि २०७२ साल कात्तिक ११ गते माओवादी केन्द्रको समर्थनमा राष्ट्रपतिमा निर्वाचित भएकी थिइन । एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रबाट उम्मेदवार हुनेछन् । माओवादी केन्द्रले पनि उपराष्ट्रपतिमा नन्दबहादुर पुनले नै निरन्तरता दिने बताइएको छ ।

यसकारण खुल्दैछ खुल्दैछ २० अर्बको बै‌ंक

काठमाडौं, फागुन २२ । मुलुकमा अबको तीन महिनाभित्र हालसम्मकै ठूलो बैंक स्थापना हुने भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । देशमा ठूला आयोजनामा लगानी गर्न नेपाल पूर्वाधार विकास बैंक’ चालु आर्थिक वर्षभित्रै स्थापना गर्न लागिएको हो । मन्त्रिपरिषद्ले २० अर्ब रुपैयाँ चुक्ता पुँजी रहने बैंक स्थापना गर्न गत आवको फागुनमा निर्णय गरेको थियो । बैंक स्थापना गर्न २० प्रतिशत पुँजी राष्ट्र बैंकलाई बुझाइसकेको अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीले जानकारी दिए । करिब डेढ महिनाअघि बैंक स्थापनाका लागि २० प्रतिशत रकम राष्ट्र बैंकलाई बुझाएको उनले बताए । ‘ठूला आयोजनामा लगानी गर्न चालू आर्थिक वर्षभित्रै पूर्वाधार विकास बैंक स्थापना हुन्छ’, उनले भने। पूर्वाधार विकास बैंकलाई सैद्धान्तिक सहमति दिन अझै ६ महिना लाग्ने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए । ठूला आयोजनामा लगानी गर्न ठूलो बैंकको आवश्यकता महसुस गरी मुलुककै ठूलो बैंक अवधारणा अघि बढेको हो । गत आर्थिक वर्षमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत पूर्वाधार विकास विकास बैंक स्थापना गर्ने उल्लेख गरिएको थियो । चालू आवको बजेटमा पनि सरकारले आर्थिक वर्षभित्र पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।

पुल्चोकमा सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा बिस्तार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ललितपुरको पुल्चोकमा नयाँ शाखा विस्तार गरेको छ। आइतबार कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले उद्घाटन गरेका हुन्। कार्यकम्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराए । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ। उक्त शाखाको समुद्घाटनसँगै हाल कम्पनीले अधिराज्यभर ३५ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु मार्फत अत्याधुनिक प्रविधिद्वारा ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले सबैथरिका जीवनबीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवनबीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना ग्राहकवर्गलाइ जीवनबीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। अधिकृत पुंजी रु. ३.० अर्ब र जारी पुंजी रु.२.५० अर्बमध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु. १.७५ अर्ब चुक्ता पुँजी रहेको यस कम्पनीले निकट भविष्यमा रु.७५ करोडको सर्वसाधारणको लागी शेयर जारी गरी चुक्ता पुँजी रु. २.५० अर्ब पुर्‍याउने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।  

रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचलाई पाँच वर्ष जेल

काठमाडौं, फागुन १९ । स्पानिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचमाथि अदालतलाई गलत बयान दिएकोमा दोषी पाइएको छ । क्रोएसियाली फुटबल क्लब डायनामो जाग्रेबका पूर्व निर्देशक ड्राभ्को मामिचविरुद्ध चलेको कर छलीको मुद्दामा मोड्रिचले गलत बयान दिएको ठहर । सन् २०१७ को जुनमा सन् २००८ मा डायनामोबाट टोटनहममा भएको उनको स्थानान्तरणको विषयमा सोधपुछ गर्दा मोड्रिचले झुठो बयान दिएको बताइएको छ । मामिचसँगै अन्य तीन जनामाथि भ्रष्टाचारको मुद्दा दायर भएको थियो । उनीहरुले खेलाडीहरुको बिक्रीबाट पैसा खाएर डायनामो र राष्ट्रलाई हानी नोक्सानी पुर्याएको आरोप लगाइएको थियो । यदी उनी दोषी प्रमाणित भए उनले पाँच वर्ष जेल सजाय भोग्नुपर्नेछ ।

झापा गोल्डकप : उद्घाटन खेलमा झापा–११ र सुदूरपश्चिम–११ भिड्दै

झापा, फागुन १९ । झापा गोल्डकपको तेस्रो संस्करण शनिबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम झापा–११ फुटबल क्लब र सुदूरपश्चिम–११ फुटबल क्लब कैलालीबीच भिड्दैछन्। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट हुने आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए। जिल्लाको व्यवसायिक फुटबलको विकास तथा फुटबल गतिविधिलाई विस्तार गर्न प्रतियोगतालाई निरन्तरता दिँदै आएको आयोजकले बताएको छ। फागुन २८ सम्म सञ्चालन हुने प्रतियोगितामा १० टिम सहभागी छन्। सहभागी टिममा आयोजक झापा–११, थ्री स्टार क्बल, मनाङ मस्र्यादी क्बल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्बल, सशस्त्र प्रहरीका एपीएफ क्लब, सहारा क्लब, रुपन्देही– ११, सुदूरपश्चिम–११ र भारतका सिक्किमको युनाइटेड फुटबल क्लब रहेको आजोयकले जनाएको छ। प्रतियोगिताको विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई घोषितले २५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताका उत्कृष्ट हुने खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन्। यस्तै, लाइफटाइम एचिभेमण्ट अवार्ड स्वरुप झापा–११ का एक जना खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ।

उपेन्द्र यादवकाे वरीयता विवादले राेकियाे मन्त्रिपरिषद विस्तार

काठमाडौं, फागुन १९ । एमाले अध्यक्ष केपी ओली र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच मंसिरको अन्तिम साता सुरु भएको सत्ता बाँडफाँडको छलफलले आइतबारसम्ममा निकास पाउने भएको छ । दुई पार्टीबीच बाँडफाँडको टुंगो लागेपछि प्रधानमन्त्री ओली आइतबार नै सरकारलाई पूर्णता दिने तयारीमा छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । फोरमले मन्त्रिपरिषदमा दोस्रो वरीयतासहित तीन मन्त्री र एक राज्यमन्त्री अथवा दुई मन्त्री, एक राज्यमन्त्री र उपसभामुख मागेपछि वार्ता लम्बिएको हो । यादवले मन्त्रिपरिषदमा आफ्नो मर्यादाक्रमबारे विगतकै बैठकमा दाबी राखे पनि ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले स्पष्ट जवाफ दिएका छैनन् । ‘म दुई–दुईपटक उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री भइसकेकाले प्रधानमन्त्रीपछिको मर्यादाक्रम हुनुपर्छ’, यादवले भनेका छन् । एमाले सचिव प्रदीप ज्ञवालीले १५, १६ र १७ गते तीन दिन फोरमसँग तीव्र रूपमा परामर्श भएको र शनिबारसमेत हुने छलफलले आइतबारसम्म सरकारले पूर्णता पाउने बताए । ‘संविधान संशोधनमा एमाले ओपन छ’, ज्ञवालीले भने। फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विकासनिर्माण र जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयबारे कार्यदलस्तरमा छलफल भएको जानकारी दिए।

वैदेशिक रोजगारीमा पठाउने भन्दै २६ लाख ठगी गर्ने पक्राउ

काठमाडौं, फागुन १८ । महानगरीय अपराध महाशाखाले वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै रु २६ लाख ठगी गरेको आरोपमा ४१ वर्षीय छविलाल चौधरी र ४६ वर्षीय सुभद्रा कर्माचार्यलाई आज पक्राउ गरेको छ । अभियुक्त दुवैको स्थायी घर दाङ भई हाल काठमाडौँमा अस्थायी बसोबास गर्दै आएका छन् । अमेरिका जानका लागि पीडितलाई विभिन्न मितिमा फ्लाइट गराइदिन्छु भनी सम्पर्कविहीन उनीहरुलाई सात जनाको उजुरीका आधारमा पक्राउ गरी आजै महाशाखामा पठाइएको प्रहरीले जनाएको छ । रासस

‘सुश्रीको सम्पति’ को शुभ मुर्हत, अाजबाट छायाँकन सुरु (हेर्नुहोस् भिडियो)

पोखरा । रङ पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार हुने ‘सुश्री सम्पति’को मंगलबार शुभ मुर्हत गरिएको छ । पोखरास्थित विन्ध्यावासिनी मन्दिरमा विविध पुजा गरी चलचित्रको छायांकन सुरु गरेको हो। सलोन बस्नेत, सारा सेर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल लगाएतले अभिनय गर्ने उक्त चलचित्रमा प्रियंका कार्की अतिथिको विशेष भूमिकामा देखिने छ। नेपाली चलचित्र ‘अर्धकट्टी’ बाट निर्देशनमा डेब्यु गरेका पत्रकार सुव्रत आचार्यको यो दोश्रो चलचित्र हो । पुजा लगत्तै पत्रकारहरुसँग कुरा गर्दै फ़िल्म कमेडी फ्लेवरको रहेको र एक सम्पन्न युवतीको कथालाई मुख्य विषयवस्तु बनाएको निर्देशक आचार्यले बताए । अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद र अभिमन्यूकै पटकथामा बन्न लागेको चलचित्रको कथा निर्देशक आफैंले लेखेका हुन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको सुश्री सम्पत्ति’लाई विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारले संयुक्त रुपमा निर्माण गदैैछन् । चलचित्रमा सुरेश अधिकारीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र भरत रेग्मीको सम्पादन रहनेछ । भिडियो हेर्नुस्

राष्ट्रपति निर्वाचनका बेला सबै प्रदेश मन्त्री र सांसदविहीन हुने

काठमाडौं । भर्खरै प्रदेश सरकार गठन भएर काम सञ्चालन हुन थालेको बेला आगामी एक महिनाभित्र सबै प्रदेशहरू कम्तीमा दुई दिन मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यविहीन हुने भएका छन्। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन राजधानी काठमाण्डूमा नै गर्ने निर्णय गरेकाले यस्तो अवस्था आउन लागेको हो। संघीय संसद् र सबै प्रदेशसभाका सदस्यहरू भिन्न मितिमा गरिने राष्ट्रपति र उपराष्ट्रपतिका निर्वाचनमा मतदाता हुन्छन्। राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ। संवैधानिक प्रावधानअनुसार राष्ट्रपतिको निर्वाचनको परिणाम घोषणा भएको सात दिनभित्र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकिनुपर्छ। उपराष्ट्रपतिको निर्वाचनमा पनि मतदान गर्न सात वटै प्रदेशसभाका सदस्यहरू पुनस् राजधानी आउनेछन्। असन्तुष्टि ती दुई पदका लागि काठमाण्ड‍ूमै मतदान गराउने आयोगको निर्णयप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। छोटो समयमै दुई पटक मतदान गर्न काठमाण्डू जाँदा सांसदहरूलाई आर्थिक भार पनि पर्ने बताउँदै प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्र शाहीले भने, ‘प्रदेशको व्यवस्थापनका लागि रातदिन काम गर्नुपर्ने बेला सबैले प्रदेश नै छोडेर जानु राम्रो होइन।’ उनका अनुसार प्रदेशमै मतदान गरेर केन्द्रमा पठाउने व्यवस्था गरिनु उपयुक्त हुन्छ। शाहीको जस्तै धारणा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको पनि छ। उनले भने, ‘कुनै निर्वाचनका कारण प्रदेश खाली हुने अवस्था आउनु राम्रो होइन। अझै समय छ, निर्वाचन आयोगले प्रदेशमै निर्वाचन गर्ने व्यवस्था गर्नु राम्रो हुन्छ।’ राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रदेशमै गरेको निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको हालको योजनामा परिवर्तनको सम्भावना नरहेको जनाएको छ। आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘प्रदेशमै निर्वाचन गर्ने बारेमा छलफल भएको हो। तर मतदाताको संख्या न्यून भएका कारण सुरक्षा र प्रविधिका हिसाबले प्रदेशमा निर्वाचन गर्नु अव्यावहारिक हुने भएकाले केन्द्रमै गर्न लागिएको हो।’ फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ भने त्यसको एक सातामै उपराष्ट्रपतिको पनि निर्वाचन हुने बताइएको छ।बीबीसी