सामाजिक सञ्जालको दूरुप्रयोग गरी ठगी गर्ने तीन जना पक्राउ

बारा, पुस १९ । सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने तीन जनालाई बारामा प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१८, सुखचैनाका २१ वर्षका संजय राम, वीरगञ्ज महानगरपालिका–२१, ताजपुरका २१ वर्षका अफताब आलम र भारत मोतिहारी पलनवा थाना लक्ष्मीपुरका २२ वर्षका कमलेश यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका तीनै जना विरुद्ध ठगी मुद्दा अन्र्तगत कारवाही अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले बताउनुभयो । अभियुक्तलाई बुधबार नै जिल्ला अदालतबाट ६ दिनका लागि म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो ।

बलिउडका चकेलटी हिरो रणवीरको अनुमानित सम्पत्ति कति छन् ?

पुस १० । बलिउड चलचित्रका चर्चित चकलेटी हिरो रणवीर कपुरको जन्म एक फिल्मी परिवारमा भएको थियो । उनका पिता ऋषि कपुर र आमा नितु कपुर बलिउडका चर्चित कलाकारहरु हुन् । उनको परिवारका प्रायःसबै सदस्यहरु फिल्मी क्षेत्रमा रहेका छन् । पढाइप्रति चासो कम हुँदै गएपछि उनले फिल्मी क्षेत्रमा प्रवेश गर्ने निर्णय गरे । फिल्म अध्ययनका लागि उनी अमेरिका हानिए । उनले लि स्ट्रासबर्ग इन्सिटुटमा फिल्म मेकिङबारे अध्ययन गरे । उनले सर्ट मुभी प्यासन टु लवमा काम गरे । यस फिल्मको निर्देशन समेत आफैले गरे । त्यसपछि उनको बलिउड यात्राले रफतार लिने काम गर्यो । फोर्ब्सका अनुसार उनको आम्दानी १५ मिलियन डलर रहेको छ । उनको कुल नेटवर्थ ४० मिलियन डलर रहेको छ । घरहरु कृष्ण राज बंगला, बान्द्रा १६,०६८ डलर सन् १९८० मा किनिएको यो पारिवारिक घर हो । कपुर परिवारले आफ्नो बंगला परिवर्तन गरेर १५ तल्ले बिल्डिङ बनाउने योजना बनाइरहेको छ। बास्तु बिल्डिङ, पाली हिल, बान्द्रा ५.१ मिलियन डलर ट्रम्प टावरमा अपार्टमेन्ट १.९ मिलियन डलर कारहरु अउडी ए८ १.१८ करोड भारतीय रुपैयाँ २००९ रेन्ज रोभर १.२ करोड भारतीय रुपैयाँ अउडी आर८ २.५५ करोड भारतीय रुपैयाँ मर्सिटीज बेन्ज जि६३ एमजी १.४५ करोड भारतीय रुपैयाँ बाइक हार्ले डेबिडसन फ्याट बोए १५.५ लाख भारतीय रुपैयाँ एजेन्सीबाट साभार

माओवादीमै फर्किएर गणतन्त्रमा पनि मन्त्री बन्न चाहन्छु : छक्कबहादुर लामा

काठमाडौं, पुस ५ । छक्कबहादुर लामा नेपाली राजनीतिमा पूरानो नाम हो । लामा हालको माओवादी र त्यतिबेलाको जनमोर्चा नेपालका तर्फबाट २०४८ सालमा सांसद थिए । माओवादीका ९ सांसदमध्ये लामा एक हुन् । माओवादीले २०५२ फागुनमा जनयुद्ध सुरु गरेपछि लामा जनयुद्धमा लागेनन् । आफ्नै एनजिओमा काम गरेर बसे । राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएका बेला लामा राजाको मन्त्री भए । पछि माओवादीमै फर्किए । पार्टी पोलिट्ब्युरो सदस्यसमेत रहेका उनले माओवादीका आधिकारिक उम्मेदवारलाई हराउँदै स्वतन्त्र बाट हुम्लामा सांसद तिजे । बागी उम्मेदवारी दिएको आरोपमा माओवादीले उनलाई कारबाही गरेको छ । कांग्रेसका मंगलबहादुर शाहीलाई जम्मा ४७ मतको अन्तरमा हराएर लामा सांसद निर्वाचित भए । उनको जित र भावी योजनाबारे  गरेको कुराकानीको सम्पादित अंशः– पार्टीले कारबाही गर्दा पनि चुनाव कसरी चुनाव जित्नुभयो ? पार्टीले मलाई चिन्न नसक्दा गलत व्यक्तिलाई उम्मेदवार बनायो । जनता, कार्यकर्ता सबैले अर्को उम्मेदवारलाई मन पराएनन् । सबैले मलाई बागी दिनुपर्छ भनेपछि बागी दिएको हुँ । जनता, कार्यकर्ताको साथ र सहयोग पाएरै चुनाव जितें । पार्टीले मलाई टिकट नदिनु गल्ती थियो । अहिले म सुन्दैछु नेताहरुलाई गल्ती महसुस भएको छ रे । पार्टीले त कारबाही गरेको छ, कसरी गल्ती महसुस गरेको भन्न मिल्छ ? जनताले मन पराएको मान्छेलाई कारबाही गर्नु पार्टीको गल्ती हो । पार्टी पनि के भन्नु ? एउटा गुटका नेताले मात्रै हो मलाई पेलेको । दिनुपर्ने मान्छेलाई टिकट नदिएर नदिनुपर्नेलाई दिइयो । त्यसैले बाध्य भएर मैले उम्मेदवारी दिएँ । प्रचण्ड, कृष्णबहादुर महरा सबै मेरा पुराना मित्र ह्न् । उहाँहरुले त मलाई राम्रैसँग चिन्नुभएकै छ । पार्टी कार्यएकर्ता, बाम गठबन्धका कार्यकर्ता र आमजनताको मतले विजयी भएँ । जसरी पनि टिकट पाउनैपर्ने तपाईंको खास योग्यता के हो र ? ०३२ सालदेखि निरन्तर राजनीतिमा छु । मैले नेपालको हिमाली क्षेत्रको इतिहासको गहिरो सामाजिक अध्ययन गरेको छु । सो क्षेत्रको विकासका लागि के गर्नुपर्छ भन्ने राम्रो जानकारी मलाई छ । अध्ययन मात्र होइन, काम गरेर पनि देखाएको छु । हुम्लामा हिल्सा–सिमिकोट सडक निर्माणमा मेरो नेतृत्वदायी भूमिका छ । १२० किलोमिटर सडक आफैंले श्रोत जुटाएर निर्माण गरें । सिमिकोटको व्यक्तिगत जग्गा १ करोडको बेचेर सडक निर्माणमा खर्च गरेको कुरा सिंगो हुम्लेली जनतालाई थाहा छ । हुल्लामा मात्रै होइन, कर्णाली अञ्चलमै खाद्य समस्या समाधानका लागि काम गरेको छु । जडिबुटीको मूल्य निर्धारण गर्ने, व्यवस्थित संकलन गर्ने र त्यसमार्फत जनताको विकास र रोजगारीको काम गर्दै आएको छु । पर्यटन विकासमा पनि धेरै काम थरेको छु । सिमिकोटमा विदेशी ल्याउने काम मैले नै गरेको हो । साँझ ६ बजेसम्म जहाज ल्याण्ड हुन सक्ने गरी विमानस्थल बनाएको छु । एनजिओमा धेरैलाई जागिर दिएको छु । आमजनतामा मेरो लोकप्रियता छ । हुम्ली जनताले मलाई केही गर्न सक्ने हैसियतको मानिस हो भनर चिनेका छन् । गरिब परिवारमा जन्मिएको हुँ । अहिलेसम्म १ पैसा राज्यको पैसा खाएको छैन । यो बाहेक सांसद बन्न के हैसियत चाहिन्छ ? पार्टीले कारबाही गरेको मानिसलाई कसरी नेता कार्यकर्ताले नै सहयोग गरे ? ममाथि अन्याय गर्ने पार्टी त होइन नि । त्यो एउटा सानो गुट थियो । टिकट नपाएपछि गाह्रै पारेको थियो । कारबाही गरेको हुनाले आउन मुस्किल होला कि भन्ने लागेको थियो । तर, जनता र कार्यकर्ताले चाहेपछि कसैले केही लागेन । चुनाव जितेपछि कारबाही फिर्ताका लागि पहल गर्नुभएको छ ? मेरो विचारमा कारबाही फिर्ता हुन्छ होला । अध्यक्ष प्रचण्ड भेट्न भनेर काठमाण्डु आएको छु । भेट्न समय पाएको छैन । भेटेर कुरा गर्छु । तपार्ईंले पार्टीका आधिकारित उम्मेदवार जसकोविरुद्ध उम्मेदवारी दिनुभयो उहाँ (छिमी लामा) त तपाईंको आफ्नै ज्वाईं रे होइन ? ज्वाईं हो भन्ने सुनेको हुँ । मैले छोरी दिएर ज्वाईं बनाएको हो र ? मेरो घरमा एक दिन पनि छोरीेले ज्वाईं भनेर ल्याएको थिएन । मेरो छोरी माओवादी जनयुद्धमा सहिद भएको हो । जनयुद्धकालमै मन पराएर बिहे गरेका रहेछन् । मुगुमा आर्मीले मारिदियो । छोरीको हत्या भएपछि छिमी मेरो ज्वाईं भएको थाहा पाएँ । तर, उहाँले मलाई कहिल्यै ससुराको जस्तो व्यवहार गर्नुभन । जहिल्यै मेरो विरुद्ध षड्यन्त्र गर्ने उहाँको काम भयो । त्यसैले मलाई ज्वाईं जस्तै लाग्दैन । ०७० को चुनावमा मलाई विपक्षीको पैसा खाएर चुनाव हराउने काममा उहाँ लाग्नुभयो । यसपटक काठमाण्डु गएर जबर्जस्ती टिकट ल्याएर मलाई देखाउन खोज्नुभयो । मलाई हराउन काँग्रेससँग गठबन्धन गर्नुभयो । चुनाव जितेपछि ज्वाईंसँग कुरा भएको छैन ? भोजमा बोलाएँ । योभन्दा पहिला जे–जस्तो भयो अब बिर्सौं भनेको छु । जिल्लाको विकासको काममा मिलेर काम गरौं भन्ने मेरो प्रस्ताव छ । चुनावअघि चाहिं ज्वाई–ससुराको सल्लाह भएन ? म पार्टीको काममा उत्तरी भेगमा थिएँ । जिल्ला कमिटीले कसलाई उठाउने भनेर छलफल गरिरकेका बेला उहाँ काठमाण्डु गएर टिकट ल्याउनुभएछ । बाम गठबन्धन भयो अब त सजिलै जितिन्छ भन्ने भ्रममा उहाँ पर्नुभएछ । ०४८ सालमा तत्कालिन जनमोर्चा (हालको माओवादी) बाट सांसद निर्वाचित भएको मान्छे, कसरी राजाको मन्त्री बन्नुभयो ? म गरिब परिवारमा जन्मिएँ । जीवनमा धेरै संघर्ष गरेको छु । जनयुद्धमा मेरो छोरी गुमाएँ । हो म राजाको मन्त्री भएँ । तर अरुले जस्तो बिन्ती जाहेर गरेर मन्त्री बनको होइन म । राजा मलाई चाहिएको होइन, म राजाका लागि चाहिएको हो । राजा ज्ञानेन्द्र सिमिकोट आएका बेलामा भेट भयो । मैले हिमाली क्षेत्रबारे एउटा पुस्तक लेखेको थिएँ । आर्मीका कर्णेल र सिडिओले मेरो पुस्तक राजालाई उपहारका रुपमा दिनुपर्छ भने । उनीहरुको कुरा मानेर मैले पुस्तक उपहार दिएँ । किताब पढेपछि राजामा मप्रति सकारात्मक विचार पलाएछ । जनजातिको छोरा हो । अध्ययनशलि मानिस रहेछन् भनेर राजाले मन्त्री बनाएका हुन् । राजासँग जम्मा तीनपटक भेट भयो । त्यतिबेला माओवादीलाई मिलाउनुपर्छ भनेको थिएँ । अरु राजासँग माओवादीको कुरा गर्न डराउँथे । मैले सिधै भनें– माओवादी पनि नेपाली दाजुभाई/दिदीबहिनी हुन् । उनीहरुलाई मारेर समस्याको समाधान हुँदैन । वार्तामा बसेर समस्या समाधान गर्नुपर्छ । राजाले कहिल्यै मेरो कुरालाई मलाई जहिले पनि विद्वानका रुपमा लिए । अब माओवादीमा बस्ने कि नबस्ने ? किन नबस्ने ? कारबाही फिर्ता भयो भने म आजै पार्टीमा आउन तयार छु । मेरो पनि यो पार्टीमा धेरै लगानी छ । राजाको मन्त्री बन्नुभन्दा पहिला माओवादीको आरोपमा हुम्लामा नजरबन्दमा बसेको मानिस हुँ । जहिले पनि मलाई जिल्लामा मात्र होइन, बाजुरा र मुगुसम्म पनि माओवादी नै भनेर चिन्थे मानिसहरु । जनयुद्धको बेलामा सिमिकोटमा बसेर वैचारिक रुपमा माओवादीको सपोर्ट गर्ने अरु कोही थियो ? मैले दुःख गरेको कुरा पार्टीका धेरै नेतालाई थाहा भएन होला । प्रचण्ड र महरासँग ०४८ सालको संसदकालमा सहकार्य भएको हो । त्यसपछि मैले जनतामा के काम गरें र के कति अध्ययन गरें थाहा पाउन सक्नुभएन । खाली राजाको मन्त्री खायो भनेर हेर्नुभयो जस्तो लाग्छ । मैले जनतासँग न्याय मागें । जनताले न्याय दिए । एजेण्डा मन परेर माओवादीमा आएको हुँ । जनयुद्धमा छोरी गुमाएको मानिसलाई माओवादीका नेताहरुले पनि अपमान त नगर्लान् । नेताहरुले बुझ्नुपर्छ यो कुरा । क्रान्तिमा यति धेरै मानिस मरेका छन् । माओवादीले सामन्तवादलाई अन्त्य गरेको छ । तर, परिवर्तनलाई विकासमा बदल्ने काम बाँकी छ । त्यसका लागि हामीजस्ता मान्छेले काम गर्नुपर्छ । यदि मलाई पार्टीले चिनेन भने स्वतन्त्र भएर बस्छु । तपाईं जस्तो मान्छे चाहिन्छ भन्ने हो भने कार्यकर्ता भएर काम गर्छु । पार्टीभन्दा बाहिर जान्न । म प्रतिक्रियावादी होइन । क्रान्तिकारी नै हुँ । रुपान्तरणका लागि बाहिर बसेर काम गर्न सक्छु पहिला राजाको मन्त्री बन्नुभयो, अब गणतन्त्रमा पनि मन्त्री बन्ने रहर छ कि ? राजनीति गर्ने कसलाई मन्त्री, प्रधानमन्त्री बन्ने रहर हुँदैन र ? माओवादीले मेरो क्षमता चिनेर मन्त्री बनाए रामै हुन्छ । हिमाली क्षेत्र, जनजाति इतिहास र तिब्बतसँगको सम्बन्धबारे राम्रो दख्खल छ । पहाड र हिमाली क्षेत्रको इतिहास र संस्कृतिबारे अध्ययन गर्ने धेरै छन् । तर, हिमाली क्षेत्रको गहिरो अध्ययन गर्ने मजत्तिको कोही छैन नेपालमा । म मन्त्री भएँ भने नेपाल–चीन सम्बन्धका लागि काम गर्न सक्छु । -काठमाडाैटुडेबाट

डिसेम्बर २० मा करिनाले छोरा तैमुरको पहिलो जन्मदिन भव्यरुपमा मनाउने तयारी गर्दै

मुम्बई, पुस ४ । बलिउड क्षेत्रकी चर्चित अभिनेत्री करिना कपुरको छोरा तैमुर अली खानको यही डिसेम्बर २० तारिखका दिन पहिलो जन्मदिन मनाउने भएको छ । यसको लागि सैफ अली खान–करिना कपुर र उनको परिवार पटौदी पुगेका छन् । बताएअनुसार तैमुर सैफको तेस्रो सन्तान रहेको छ । उनको जेठी श्रीमती अमृताको छोरी सारा र छोरा इब्राहिम अली खान रहेको छन् । त्यस्तै, सैफ र करिनाको छोरा तैमुर कपुरको ठूलो खानदानबाट टाढा रहेको छ । तैमुरको पहिलो जन्मदिनमा बताउने भएको छ कि कपुर र पटौदी खानदानसँग जोडिएका सदस्यको बारेमा र उनीहरुसँग तैमुरको सम्बन्ध हुने छ ? बताएअनुसार तैमुरको पहिलो जन्मदिनमा शाहरुख खान छोरा अबरामको साथ र करन जौहर ट्विन्स यश र रुहीको साथ पार्टीमा देखिने भएको छ भने तुषार कपुर र उनको छोरा लक्ष्य पनि सामेल हुने भएको छ । ग्राण्ड परिवार रणधीर कपुर, बबिता, शर्मिला टैगोर र सोहा–कुणालको छोरी इनाया नाउमी खेमू पनि पुग्ने भएको छ । तैमुरको २०१६ डिसेम्बर २० मा मुम्बईको ब्रीच कैंडी हस्पिटलमा जन्म भएको थियो । तैमुरको जन्म क्रिमसम डे कै आसपास भएको थियो ।

म्यान्चेस्टर युनाईटेड र लिभरपुल विजयी, म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौं, पुस ३ । इङ्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड र लिभरपुल विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले वेष्ट ब्रोमलाई २-१ ले हरायो । म्यान्चेस्टर युनाईटेडका लागि रोमेलु लुकाकु र जेस्सी लिङ्गार्डले एक–एक गोल गरे । पराजित टोली वेष्ट ब्रोमका ग्यारेथ ब्यारीले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा लिभरपुलले बर्नमाउथलाई ४÷० ले हरायो । लिभरपुलका लागि फिलिप कौटिन्हो, डेजान लोभ्रेन, मोहोमद सालाह र रोबर्टो फर्मीनोले एक-एक गोल गरे । गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १८ खेलबाट ५२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा यथावत छ । समान खेलबाट ४१ अंक जोडेकाने म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने ३८ अंकसहित चेल्सी तेस्रो स्थानमा रहेको छ । ३४ अंक जोडेको लिभरपूल चौथो स्थानमा उक्लिएको छ ।

सप्तरीमा रासायनिक मलको चरम अभाव

सप्तरी, पुस १ । कृषि सामग्री केन्द्र लिमिटेडले समयमै मल आयात नगर्दा सप्तरीमा रासायनिक मलको चरम अभाव भएको छ । गहुँको विउ छर्न किसानलाई चटारो रहेको बेला रासायनिक मलको अभाव हुँदा किसान समस्या परेका छन् । जिल्ला सहकारी संघका प्रबन्धक रमेशकुमार गुप्ताले आफूहरुलाई नै कम रासायनिक मल दिने गरिएका कारण माग अनुसारको आपूर्ति गर्न नकिएको बताए ।

एसिसी यु–१६नेपाल र मलेसिया भिड्ने

काठमाडौं, मंसिर २९ । एसिसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपाल र मलेसिया शनिबार भिड्दै छन् । समूहचरणको खेलमा ऐतिहासिक जित निकाल्दै एक खेल अगावै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो। खेल थाइल्यान्डको ट्रेडथाइ मैदानमा नेपाली समयअनुसार शनिबार विहान पौने ९ बजेदेखि सुरु हुनेछ । नेपालले समूह चरणमा थाइल्यान्ड, हङकङ र म्यानमारलाई पराजित गरेको थियो। मलेसिया भने समूह चरणमा सिंगापुरसँग पराजित भएको थियो। समूहको म्यानमार विरुद्धको खेलमा नेपालले ३५० रनको ठूलो स्कोर प्रस्तुत गरेको थियो । यो स्कोर नेपालले अन्तराष्ट्रिय खेलमा प्रस्तुत गरेको अहिलसम्म कै उच्च स्कोर हो । म्यानमारलाई नेपालले कसिलो बलिङ गर्दै १३ रनमा अलआउट गरेर ३३७ रनले विजयी भएको थियो । जसका लागि कप्तान रित गौतमले नटआउट १ सय ६ रन बनाएका थिए । उनले समूह चरणमा १ सय २२ रन प्रहार गरेका थिए। नेपालका नारायण जोशी समूह चरणमा बढी विकेट लिने खेलाडी हुन्। उनले समूह चरणका तीन खेलमा १० विकेट लिए। म्यानमार विरुद्ध ४ विकेट लिएका नारायणले थाइल्यान्ड विरुद्ध ५ विकेट लिएका थिए।

एक दिवसीय क्रिकेटमा तेस्रो दोहोरो शतक बनाउने शर्मा पहिलो क्रिकेटर

नयाँदिल्ली, मंसिर २७ । भारतीय क्रिकेटर रोहित शर्माले एक दिवसीय क्रिकेटमा तेस्रो पटक दोहोरो शतक पूरा गरेका छन्। नियमित कप्तान विराट कोहलीको अनुपस्थितिमा टोलीको कप्तानसमेत रहेका शर्माले श्रीलंका विरुद्ध एक दिवसीय शृंखलामा मोहालीको दोस्रो एक दिवसीयमा १ सय ५३ बलमा १३ चौका र १२ छक्काको सहयोगले अविजित २ सय ८ रन बनाएका हुन। एक दिवसीय क्रिकेटमा तेस्रो पल्ट दोहोरो शतक बनाउने उनी एक मात्र व्याट्सम्यान हुन्। उनले सन् २०१३ मा पहिलो पल्ट अस्ट्रेलिया विरुद्ध २ सय ९ रन बनाएका थिए। सन् २०१४ मा उनले श्रीलंका विरुद्ध नै कोलकाताको इडेन गार्डेनमा २ सय ६४ रन बनाएका थिए। रोहितले बुधबार भएको खेलमा पछिल्लो सय रन ३५ बलमै पूरा गरेका थिए। नियमित कप्तानी विराट कोहली विवाहका लागि अहिले इटालीमा रहेको बताइएको छ । उनले भारतीय अभिनेत्री अनुष्का शर्मासँग १० डिसेम्बरमा विवाह गरेका हुन ।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

उर्लाबारी, मोरङ, मंसिर २७ । मोरङको उर्लाबारी–६ स्थित उर्लाबारी—मधुमल्ला सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे ४ प ३९१७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ३६ वर्षीय पैदल यात्री निलम पाण्डेको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मोरङको मिक्लाजुङ–९ बस्ने २० वर्षीय मोहनकुमार श्रेष्ठ घाइते भएकाले उनको अरनिको हस्टिपलमै र पछाडि सवार २२ वर्षीया निशा गुरुङको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

झापा १ मा कार्कीको अग्रता कायमै

झापा क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीको अग्रता कायमै रहेको छ । पछिल्लो ताजा मतपरिणाम अनुसार कार्की नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा भन्दा ८२५ मतले अगाडि रहेका छन् । कार्कीे १६०५८ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् । भने उनलाई शर्माले १५२३३ ल्याएर पछ्याई रहेका छन् ।

यसकारण नेपाल युएईसँग फेरि पनि पराजित

काठमाडौं, मंसिर २३ । बलिङ राम्राे गरेपनि ब्यािटिङ खराव हुँदा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा पनि नेपाल युएईसँग पराजित भएको छ । अबुधाबीको शेख जायद रंगशालामा शुक्रबार भएको खेलमा नेपाल ६३ रनले पराजित भयो । १९६ रनको चुनौती पछ्याएको नेपालले ४२ ओभर २ बल क्रिजमा टिकेर १३२ रनमात्र बनाउन सक्यो । ज्ञानेन्द्र मल्लले ४२ रन बनाएको इनिङ्समा चार नेपाली खेलाडीले अंकको खातासमेत खोल्न सकेनन् । यसअघि, पहिले ब्याटिङ गरेको युएईले अद्दान मुफ्तीको १०४ रनको मद्दतले ४९ ओभर २ बलमा अलआउट हुनुपूर्व १९५ रन बनाएको थियो । नेपालका सोमपाल कामीले २७ रन खर्चेर ५ विकेट लिए । बुधबार भएको पहिलो खेलमा युएईसँग ७ विकेटले पराजित भएको थियो । यसअघि नै च्याम्पियनसिपबाट दोस्रो डिभिजनमा झरिसकेका नेपाल र युएई दुवै टोलीका लागि अन्तिम चरणका खेलहरु केवल प्रतिष्ठाको लडाइँमात्रै बनेको थियो । डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरीमा नामिबियामा हुनेछ ।

यी हुन् देशकै सबैभन्दा कम मतदाता रहेको मनाङका निर्वाचित जनप्रतिनिधि

लमजुङ, मंसिर २२ । हिमाली जिल्ला मनाङमा प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार पोल्देन छेपाङ गुरुङ निर्वाचित भएका छन् । कांग्रेस मनाङका सभापति एवं पूर्व राज्यमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई २ सय ८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका हुन् । विजयी पोल्देन छोपाङले २ हजार ३ सय मत पाए । प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत पाएका छन् । खसेको मतमध्ये ४ हजार ३ सय २१ मत सदर भयो भने १६ मत बदर भएको छ । नेपालमै सबैभन्दा कम मतदाता रहेको मनाङमा ४ हजार ३ सय ३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ ५ हजार ८ सय ८१ मतदाता छन् । मनाङमा एमालेले पहिलोपटक प्रतिनिधि सभाको निर्वाचन जितेको हो । यसअघि पहिलो संविधानसभामा माओवादीका देवप्रसाद गुरुङबाहेक अन्य सबै निर्वाचनमा कांग्रेसले जित्दै आएको थियो । प्रदेश सभा ‘क’ मा कांग्रेस, ‘ख’ मा स्वतन्त्रका मनाङ्गे निर्वाचित नेपाली कांग्रेसले हिमाली जिल्ला मनाङबाट खाता खोलेको छ । कांग्रेस उम्मेदवार चिन्तबहादुर घलेले प्रदेश सभा ‘क’ बाट एमालेका धोर्जे डण्डुल गुरुङलाई १ सय २ मतअन्तरले हराएका छन् । विजयी घलेले ९ सय ९८ मत प्राप्त गरेका छन् । एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाएका छन् । मनाङ (क) मा २ हजार १ सय ७९ मतदाता रहेकोमा १ हजार ९ सय १ खसेको थियो । प्रदेश सभा (ख) मा दीपक मनाङे भनेर चिनिने स्वतन्त्र उम्मेदवार राजीव गुरुङ निर्वाचित भएका छन् । उनले १ हजार ४ सय १० मत पाएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङ ३ सय ९० मतले पराजित भएका छन् । उनले १ हजार २० मत पाएका छन् । एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिँदै राजीव गुरुङलाई समर्थन जनाएकी थिइन् । जिल्लाबाट एमालेले मनाङ्गेलाई सर्वसम्मत सिफारिस गरेपनि सर्वत्र विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम हटाएर खाण्डालाई आधिकारिक उम्मेदवार बनाएको थियो । मनाङेले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

ट्राफिक सचेतना कक्षा २३ गतेसम्म स्थगित

काठमाडौं, मंसिर १९ । उपत्यका ट्राफिक प्रहरी महाशाखाले मापसे गरी सवारी साधन चलाउने र लेन नियम उल्लंघन गर्ने चालकका लागि कारवाहीस्वरुप संचालन गर्दै आएको सचेतना कक्षा मंसिर २३ गतेसम्मका लागि स्थगित गरेको छ । मंसिर २१ गते दोस्रो चरणमा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गरी महाशाखामा दैनिक रुपमा संचालन हुने मादक पदार्थ सेवन गरि सवारी चलाउने र लेन अनुशासन पालना नगरी सवारी चलाउने सवारी चालकहरुलाई प्रदान गरिने सचेतना कक्षा मंसिर २३ गते सम्मका लागि स्थगित गरिएको महाशाखाले जनाएको छ । मंसिर २४ गतेदेखि नियमित रुपमा सचेतना कक्षा संचालन हुने पनि महाशाखाले जनाएको छ ।

भरतपुरमा बिशाल चुनावी तथा शोक सभा शुरू (हेर्नुहोस् फोटोफिचर)

भरतपुर, मंसिर ५ । चितवनको भरतपुरमा वाम गठबन्धनको चुनावी सभा सुरु भएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजित सभामा दशौ हजारको उपस्थिति छ । सभालाई नेकपा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल, माओवादी नेता रामबहादुर थापा, मातृका यादव लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । अहिले सभालाई नेता माधव नेपालले सम्बोधन गरिरहेका छन । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको आकस्मिक निधन भएका कारण अध्यक्ष प्रचण्डले भने सभालाई सम्बोधन गर्ने छैनन । बिभिन्न मीडियाले सभाको प्रत्यक्ष प्रशारण गरेका छन । हेर्नुहोस् केही तस्विरहरु-

बम प्रहारपछि सुरक्षा व्यवस्थामा कडाइ

भोजपुर,  कात्तिक ३० । प्रदेशसभाका लागि नेकपा (एमाले)का उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । बुधबार सदरमुकाममा आकस्मिकरुपमा बसेको सर्वदलीय बैठकले सुरक्षालाई थप कडाइ गरेको हो । सुरक्षाको विषयलाई लिएर पूर्वमन्त्रीहरु, उम्मेदवार, जिल्लास्थित राजनीतिक दल र सुरक्षा समितिबीच छलफल भएको थियो । बैठकले उम्मेदवारलक्षित अंगरक्षक थप गर्ने निर्णय गरेसँगै वाम गठबन्धनका उम्मेदवार प्रदेशसभा (क) का राजेन्द्रकुमार राई र प्रतिनिधिसभाका उम्मेदवार सुदन किराँतीलाई अंगरक्षक पठाइएको छ । त्यसैगरी, लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार उमेशजंग रायमाझी, प्रदेशसभा (क) का उम्मेदवार अजम्बर राई काङमाङ तथा प्रदेशसभा (ख) का उम्मेदवार गोविन्दबहादुर कार्कीलाई अंगरक्षकको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

सचिवहरूकाे निष्कर्ष ‘संविधान कार्यान्वयनमा कर्मचारी नै बाधक’ !

काठमाडौं, कात्तिक २३ । सरकारका सचिवहरूले नै कर्मचारीहरूको कार्यशैली र व्यवहारका कारण संविधान कार्यान्वयन गर्न नसक्ने स्थिति आएको टिप्पणी गरेका छन् । मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बुधबार बसेको ‘सचिव बैठक’मा सहभागी केही सचिवहरूले कर्मचारीको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् । संविधानअनुसार आवश्यक नरहेका जिल्ला र केन्द्रका कार्यालयहरू खारेज नगर्ने र प्रदेश संरचनाहरू निर्माण हुन नसकेको उदाहरण सचिवहरूले दिएका थिए । स्थानीय तह गठन भइसकेपछि स्वतः विघटित हुनुपर्ने जिल्ला कार्यालयलाई अहिले पनि सरकारले विभिन्न सेवा–सुविधाका लागि बजेट निकासा गरिरहेको भन्दै मुख्यसचिवको ध्यानाकर्षण गराएका थिए । संविधान जारी भएको दुई वर्ष बितिसक्दासमेत संविधानले व्यवस्था गरेअनुसार सरकारी संरचना निर्माण गर्न नसकेको र जिम्मेवारी पन्छाएर जाने प्रवृत्तिले जटिलता आएको सचिवहरूको टिप्पणी छ । स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहमा अहिलेसम्म पर्याप्त कर्मचारी पठाउन नसक्दा स्थानीय तहले काम गर्न नसकेको बताएका थिए । सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाले कर्मचारी समायोजनका लागि सबै मन्त्रालयका सबै कर्मचारीको विवरण उपलब्ध गराइदिनुपर्ने माग राखेका थिए । कर्मचारी समायोजनलाई सहज बनाउन मन्त्रालयले सफ्टवेयर बनाएको र त्यसका लागि विवरण उपलब्ध गराइदिन सचिव कोइरालाले आग्रह गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले बताए । पन्थीका अनुसार प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईले निर्वाचनबाट जनप्रतिनिधि चुनिनुअघि नै प्रदेशको मुख्यसचिव, सचिव र अन्य न्यूनतम संख्यामा कर्मचारी तोक्न ढिलाइ भएको भन्दै मुख्य सचिवको ध्यानाकर्षण गराएका थिए । पुँजीगत खर्च बढाउ मुख्यसचिव रेग्मीले सबै मन्त्रालयलाई पुँजीगत खर्चमा वृद्धि गर्न निर्देशन दिएका छन् । ‘निर्वाचनका कारण नयाँ कार्यक्रमहरू सञ्चालन गर्न अप्ठेरो छ । तर, गौरवका आयोजनाको कामलाई तीव्र पार्नुहोला,’ उनले भने, ‘कार्ययोजना बनाएर पुँजीगत खर्चमा वृद्धि हुने गरी काम गर्नुपर्‍यो ।’ उनले बेरुजु फस्र्योटमा पनि उत्तिकै ध्यान दिन निर्देशन दिए । रेग्मीले प्रदेशमा तत्काल न्यूनतम संख्यामा कर्मचारी खटाउनेबारे गृहकार्य भइरहेकोसमेत बताएका छन् । पन्थीका अनुसार प्रधानमन्त्री कार्यालयले प्रदेश सरकारमा मुख्यसचिवसहितको कर्मचारी खटाउने गृहकार्य अघि बढाएको छ । -नयाँ पत्रिकाबाट