मध्यपुर्ब एनआरएनमा डिबी क्षेत्रीको चर्चा

सुशान आचार्य,युएई। गैर आबासीय नेपाली संघ (एनआरएनए) अन्तरास्ट्रीय समन्वय परिषद (आईसीसी) को अधिबेशन नजिकिदै गर्दा मध्यपूर्बको उपस्थितीलाई महत्वपूर्ण तरिकाले हेर्न थालिएको छ । एनआरएनए आसीसीको अधिबेशन आगामी अक्टोबर १३-१६ मा काठमाण्डौमा हुने भएको छ ।

एनआरएन अभियानमा मध्यपूर्बबाट बर्तमान सचिब डिबी क्षेत्री र मध्यपूर्ब सँयोजक राजेन्द्र कुमार शर्मा (आरके) अहिले देखिएका सम्भावना बोकेका उम्मेद्वारहरु हुन् । क्षेत्रीले महासचिब र शर्माले सचिबमा उम्मेद्बारी दिने सम्भावना रहेको छ । यस् पटक मध्यपूर्बबाट कम्तीमा ५ सय पार्षदहरु नेपाल जाने सम्भावना रहेकोले पनि मध्यपूर्ब खाडीका एनआरएन एनसीसीलाई सबैले चासोका साथ हेरिरहेका छन् ।

मध्यपूर्बबाट एनआरएन अभियानमा अगाडि देखिएका अन्य अनुहारहरुमा गोपाल कंडेल, बिनोद भट्टराई, मनोज गोर्खाली, प्रबीण गुरुङ, राजु शैयद, सुदीप कार्की लगायत रहेका छन् । गोर्खाली र गुरुङले मध्यपूर्ब सँयोजक र कार्कीले युवा सँयोजकमा आफ्नो उम्मेद्बारी घोषणा गरेका छन् । राजनिती भन्दा माथि उठेर मजदूरहरुको हीतको लागि पनि मध्यपूर्बका यी हस्तीहरु एक हुन जरुरी छ । एनआरएन अभियानमा मध्यपूर्बका अभियान्ताहरु एक भए मजदूरका धेरै समस्याहरुलाई सम्बोधन गर्न सकिन्छ भए खाडीका मजदूरहरुको समस्या समाधानमा केही सहयोग पुग्ने विश्वाश गरिन्छ ।

डिबी क्षेत्री महासचिबको उम्मेद्बार

हालका सचिब क्षेत्रीले छिट्टै नै उम्मेद्बारी घोषणा गर्ने बताएका छन् । उनले आफु महासचिबको पदको उम्मेद्बारीको घोषणाको तयारीमा रहेको बताए । आगामी २३ तारिक कतारको राष्ट्रिय सम्मेलनको अवसर पारेर क्षेत्रीले उम्मेद्बारी घोषणा गर्ने सम्भावना रहेको छ ।

मध्यपूर्बका नेपालीहरु नेत्रित्वदायी पदमा पुगेर एनआरएन अभियानलाई नेत्रित्व दिन सक्छन् भन्ने विश्वलाई बताउन आवश्यक रहेको भन्दै क्षेत्रीले खाडीमा लेबर मात्र हुन्छन, नेत्रित्व गर्ने क्षमता राख्दैनन भन्ने खालको अपमानजन्य भ्रमहरु तोड्न आवश्यक रहेको बताए ।

एनआरएन धनीमानीहरुको चन्दाले चलेको संस्था नरहेको भन्दै खाडीका पचासौ लाख मजदूरको साथ र उनिहरुको आर्थिक योगदानलाई नजरअन्दाज गर्नु नहुने क्षेत्रीले बताए । ‘कसैले भ्रम नराखे हुन्छ, एनआरएन अभियानमा खाडीका मजदूरहरुको पसिना पनि पोखिएको छ, कसैको डलरले चलेको हैन । संस्थामा लागेर दु:ख गर्ने मध्यपूर्ब, अफ्रिका र मलेसियाका कामदारहरुको अपमान हुने गरी कसैको माया दयाले दिएको पद स्विकार नगर्ने उनले बताए।

संस्थाको महत्वपूर्ण र मुख्य पदहरुमा यिनिहरुको धनसम्पती र क्षमताले पुग्दैन भन्ने भ्रम चिर्न पनि यी क्षेत्रका एनआरएन अभियन्ताहरु एक हुन जरुरी रहेको छ, उनले भने । बैदेशिक रोजगारीमा सामाजिक सुरक्षाको बिषय उठाउने क्षेत्री पहिलो एनआरएन अभियान्ता हुन । उनले हजारे अभियानको नाममा बैदेशिक रोजगारी संचय कोष अभियानको सुरुवात गरेका थिए । नेपाल सरकारले उक्त अभियानलाई सम्बोधन गर्दै हाल कानून निर्माणको क्रममा रहेको छ ।

३० लाख भन्दा बढी नेपालीहरु रहेको मलेसिया र खाडीले हालसम्म महत्वपूर्ण पद अध्यक्ष र महासचिब पद पाउन सकेको छैन । खाडीमा पनि सक्षम एनआरएन अभियान्ताहरु छन तर नेत्रित्वले सधैं हेप्ने काम गरेको छ, क्षेत्रीले भने, संस्थालाई सबै नेपालीको अपनत्व महशुस गराउने, बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको हकहीतको लागि एनआरएनलाई समर्पित गर्ने, एनआरएन धनीको चन्दाले हैन गरीबको पसिनाले चलेको छ भन्ने कुराको पुष्टी गर्न आवश्यक छ । त्यसको लागि मध्यपूर्बले सफलतापूर्बक नेत्रित्वदायी भूमिका पुरा गर्न सक्षम छ भन्ने कुरा प्रमाणित गर्न पनि मध्यपूर्बका एनआरएनहरु एक हुनु पर्ने भएको छ । मध्यपूर्ब कसैको भोट् बैंक मात्र हैन भन्ने प्रमाणित गर्न आवश्यक रहेको क्षेत्रीको भनाइ छ ।

अर्थतन्त्रको एक तिहाई भाग रेमिटेन्स मार्फत योगदान गर्ने मध्यपूर्वबाट संघर्श गर्नेलाई साथ दिने कि पैसावाल र सकेसम्म युरोप अमेरिकावालालाई साथ दिने हो त्यसले नै अग्रजहरुको मध्यपूर्बलाई हेर्ने दृष्टिकोण कस्तो छ भन्ने बुझ्न सकिन्छ । म हरेक सरकारसँग मध्यपूर्बका नेपालीहरुको हकहीतको लागि लगातर लडिरहेको छु ।

अझै पनि यसलाई टुङगोमा पुर्याउन जरुरी छ । के मैले एनआरएनमा लागेर मजदूरहरुको सामाजिक सुरक्षाको मुद्दा उठाउनु गलत भयो ? तसर्थ यो एउटा बर्गीय लडाईं र परिक्षा पनि हो भन्ने बुझेको छु । यदि खाली चिल्ला कुरा मात्र हैन र मध्यपूर्ब प्रती भ्रम छैन भने मलाई सर्बसम्मत महासचिब दिनुपर्छ । र म नै हो अबको एनआरएन आईसीसीको महासचिब ।

नेपालीको मूलमन्त्र, समाजवादी गणतन्त्र

२१ औं शताब्दीमा सूचना प्रविधिको क्षेत्रमा तीव्र गतिमा अभुतपूर्व क्रान्ति भयो । कम्प्युटरको विकाससँगै विश्वले चामत्कारिक गतिमा एक पछि अर्को छलाङ्ग मारिरहेको छ । तीव्रता २१ औं शताब्तीको सबैभन्दा महत्वपूर्ण विशेषता हो । आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा पनि विकास या विनास तीव्र गतिमा हुने गरेका छन् । नेपालको राजनीतिक स्थितिमा केही बर्षयता मात्रै असाधारण रुपले फेरबदल भएको छ । नेपाल साधन स्रोतले ज्यादै सम्पन्न छ तर संसारका गरिब देशहरुमध्येको एक हो । नेपालीहरु मिहिनेत, पौरख र बहादुरीताले विश्व किर्तिमानी छन् । तर गरिबीले छट्पटाईरहेका छन् । नेपाल इतिहासमा कहिल्यै उपनिवेश र पराधीन बनेन तर कहिल्यै स्वतन्त्र पनि हुन सकेन। नेपाली जनताले इतिहासदेखि ठूला–ठूला संघर्ष, कठोर साधना गरेर मुक्ति, परिवर्तन र विकासका सम्भावनाहरू अगाडि ल्याए तर वास्तविकताहरू अपहरित भए । पटक पटक ठूला–ठूला परिवर्तनहरू भए तर जनताको पक्षमा संस्थागत हुन सकेनन् । महान जनयुद्ध, संसदीय अभ्यास र शान्तिपूर्ण जनआन्दोलनले नेपालको इतिहासमा मात्रै नभएर विश्वकै ईतिहासमा एक नयाँ कायपलट गऱ्यो । यस नयाँ पृष्ठभूमिमा सारा नेपालीहरुको एउटै मुलमन्त्र बन्न गयो, त्यो हो नेपाली मोडेलको समाजवादी गणतन्त्र । यहाँ नपालीहरुको मूलमन्त्र नेपाली मोडेलको समाजवादी गणतन्त्र र यसको पृष्ठभूमिबारे सामान्य चर्चा गरौं । इतिहासमा खास खास मोडहरुमा कतिपय राष्ट्रहरुमा महान सम्भावनाहरु अगाडी आएको देखा पर्ने गर्छ । नेपाली समाजको अगाडि इतिहासमा देखा परेका त्यस्ता महान सम्भावनाहरू मध्ये तीनवटा सम्भावनाहरुको चर्चा गरौं । पहिलो सम्भावना: आजभन्दा २५० बर्ष अगाडि जतिखेर नेपाल बाईसे, चौबिसे राज्य हुँदै अनगिन्ती राज्यमा विभाजित थियो । साना–साना टुक्राटुक्री राज्यको भार जनतालाई असहाय रुपमा परेको थियो । किनकि राज्यको एकजना नागरिकले धेरै राज्यमा राजश्वकर तिर्नु पथ्र्यो । आवश्यकता राज्यको एकीकरणको थियो । त्यो आवश्यकताको नेतृत्व गर्न संयोगले राजा पृथ्वीनारायण शाह आइपुगे । पृथ्वीनारायण राजाका छोरा हुनुले अवसर पनि थियो । तर उनीसँग विशिष्ट क्षमता र प्रतिभा पनि थियो । उनैले नै राष्ट्रिय एकीकरण गरेर एकीकृत नेपालको जन्म दिए, तर पूंजीवादमा जाने बाटोलाई बन्ध्याकरण गरेर बलियो सामन्ती राज्य खडा गरे । पूंजीवादमा जाने बाटो बन्ध्याकरण नगरेको भए आज नेपाल विकसित राष्ट्रहरुकै दर्जामा पुग्ने थियो । यो राष्ट्रले एउटो ठूलो मौका र सम्भावना त्यही मोडमा गुमायो । परिणामत: २५० बर्ष भन्दा लामो समय सामन्तवादको नाईके राजतन्त्रले देशलाई कंगाल बनायो । जनताको जीवनस्तरलाई रसातलमा पुऱ्याइदियो । दोस्रो सम्भावना: इतिहासको अर्को कालखण्डमा अंग्रेजहरुले विश्वलाई नै आफ्नो उपनिवेश बनाउने अभियान चलाए । यही अभियानकै क्रममा भारतलाई निले र नेपाललाई आफ्नो बफादार कुत्ता जंगबहादुर मार्फत उपनिवेश बनाए । यसरी राणाहरुले १०४ बर्षसम्म देश र जनताबाट ब्रहमलुट मच्चाए । जहाँ जुन स्तरको दमन हुन्छ, त्यहाँ त्यही स्तरको प्रतिरोध र बिष्फोट हुने सार्वभौम नियम अनुसार जहानिँया राणा शाषणका विरुद्ध २००७ साल वरिपरि प्रतिरोध मात्र भएन्, राणा शाषण गर्ल्याम गुर्लुम ढल्यो । त्यो आन्दोलनको नेतृत्व काँग्रेस र कम्युनिष्टले गरे । राणा शाषणको अन्त्यसँगै २०१५ सालको आम चुनावमा काँग्रेसको २ तिहाई बहुमत र सरकारको नेतृत्व हुनुको नाताले देशलाई पूँजीवादी बाटोमा लैजाने स्वर्णिम कार्यभार काँग्रेसको काँधमा आयो । बिडम्वना काँग्रेस भित्रको गुटबन्दी र असक्षमता साथै राजा महेन्द्रको एम्बुसको कारण राष्ट्रले दोस्रो मौका तथा अवसर फेरि पनि नराम्रोसँग चुकायो । २०१७ सालदेखि पञ्चायतको बाटो हैन पूँजीवादी बाटोमा देश अगाडि बढेको भए आजसम्म देशको अवस्था अर्को ठाउँमा पुग्ने थियो । ३० बर्षीय पञ्चायती ब्यवस्थाले देशलाई खोक्रो मात्रै बनाएन, निरंकुश राजतन्त्रले बहुदल समेत ज्युँदै निल्यो । राणा शासनको अन्त्यसँगै आधा शताब्दी लामो समय पूँजीवादी बाटो अवरोध गरेर निरंकुश राजतन्त्रले जनतामा निरंकुशता मात्र थोपऱ्यो  । यसरी राष्ट्रले दोस्रो सम्भावना र मौका पनि गुमायो । तेस्रो सम्भावना: नेपालको इतिहासमै धर्ती आकाश हल्लाउने माओवादीको नेतृत्वमा २०५२ सालमा महान जनयुद्ध भयो । जसले सीमान्तकृत वर्गदेखी आम जनसमुदायमा अभूतपूर्व चेतनाको जागरण मात्र ल्याएन अजर अमर ठानिएको सामन्तवादको नाइके निरंकुश राजतन्त्रको जरा काटिदियो । अर्को तिर एमालेले संसदीय अभ्यास र प्रयोगमा आफुलाई अब्बल सावित गर्दै संसदीय आन्दोलनलाई नयाँ उचाईमा उठाईदियो । यी दुवै बामशक्ति र काँग्रेसको संयुक्त मोर्चाद्वारा आयोजित २०६२-०६३ को ऐतिहासिक जनआन्दोलनले राजतन्त्र फालिदियो । माओवादी र सात राजनीतिक शक्तिबीच विस्तृत शान्तिसम्झौता संविधान सभाको चुनाव, राजतन्त्रको अन्त्य, संघीय गणतन्त्रको घोषण गर्दै संविधान सभाबाट संविधान निर्माण प्रक्रिया अगाडि बढ्यो । संविधानसभाबाट संबविधान निर्माण र त्यसको कार्यान्वयनसँगै देशमा नयाँ युगको शुरुवात भयो । महान जनयुद्धको जगमा २०६२-०६३ को जनआन्दालनले सामन्ती निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, संविधान सभाको चुनावसँगै संविधान निर्माण र त्यसको कार्यान्वयन आदिले नेपालमा पूँजीवादी, जनवादी क्रान्तिले मूलभुत रुपमा पूर्णता प्राप्त गऱ्यो र देशमा समाजवादी क्रान्तिको ढोका खुल्यो । पूँजीवादी जनवादी क्रान्तिका कतिपय कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको महान कार्यभार पूरा गर्ने दायित्व अबका क्रान्तिकारीको काँधमा आइपुगेको छ । यो महान सम्भावना नेपाली राष्ट्रले प्राप्त गरेको तेस्रो सम्भावना र मौका हो । विगतमा यस्ता सम्भावनाहरु गुमेका छन र चुकेका छन् । विगतबाट गम्भीरतापूर्वक शिक्षा लिँदै यो सम्भावना तथा मौकालाई वास्तविकतामा बदल्ने संकल्प नै आजको जीवन मरणको संकल्प हो । २१ औं शताब्दीको पहिलो समाजवादी मुलुक नेपाललाई बनाउने नयाँ संकल्पका साथ दुई मुलधारका कम्युनिष्ट पार्टीहरुले एकता गरेर शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण भएको छ । अब राष्ट्रका अगाडि देखा परेको यो मौका र सम्भावना वास्तविकतामा बद्लिने सुनिश्चित पनि भएको छ । रुस चीनलगायत संसारका कतिपय देशहरुमा समाजवाद स्थापना गर्दा अन्तराष्ट्रिय परिस्थिती अलि भिन्नै थियो । विश्वयुद्धले थलिएको साम्रज्यवाद, मजदुर आन्दोलन एवं राष्ट्रिय मुक्ति आन्दोलनको लहर स्थापित कम्युनिष्ट पार्टी र दूरदर्शी नेतृत्वका साथै कतिपय देशमा समाजवाद स्थापन हुँदा साथ दिने समाजवादी शिविर पनि थियो । आज नेपालमा त्यो स्थिति छैन्, बरु भिन्दै ढंगका आधार र तथ्यहरू विद्यमान रहेका छन् । कुनै विश्वयुद्धकै सम्भावना अहिले देखा पर्दैन बरु साम्रज्यवाद विरोधी मोर्चा बन्न सक्छ । जे होस यति बेला नेपालमा यस्ता केही वस्तुगत तथ्य र आधारहरु विकास भएका छन् । कम्युनिष्ट पार्टीको नेतृत्व भएकाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने मूलमन्त्रको अभिभारा पूरा गर्दै जाँदा नेपालमा समाजवाद स्थापनाको आधार पनि तयार हुँदै जाने छ । अब वास्तविक समाजवाद स्थापना गर्ने आधार र तथ्य एवं चुनौती बारे चर्चा गरौं । १) बहुसंख्यक जनता वामपन्थी हुनु: नेपालमा अधिकांश जनता वामपन्थी छन् । जो जनयुद्ध शान्तिपूर्ण आन्दोलन र संसदीय संघर्षबाट खारिएर बनेको वाम जनमत हो । चिली, ईन्डोनेसिया, निकारागुवालगायतका देशमा सोवियतसंघबाट प्रभावित भएर वाम जनमत बनेको थियो भने रुस, चीनमा समाजवाद स्थापनपछि विशाल वाम जनमत विकास भयो । तर नेपालमा लामो समयदेखि विभिन्न चरित्रका संघर्षबाट खारिएर विकास भएको विशाल वाम जनमत हो । यो वाम जनमतको आकांक्षा नेपालमा समाजवाद स्थापना गर्नु हो । २) शक्तिशाली पार्टी र स्थापित नेतृत्वको टिम हुनु: विश्वभरी कम्युनिष्ट पार्टीको पहिचान निरंकुश, एकदलिय र अधिनायकवादका रुपमा चित्रित गरिएको छ । कम्युनिष्ट पार्टीको नेतृत्वलाई तानाशाहका रुपमा बदनाम गरिएको छ । तर नेपालको कम्युनिष्ट पार्टीको पहिचान लोकतान्त्रिक पार्टीका रुपमा भएको छ । आधा दर्जनबेसी राज्यको उच्च ओहदामा बसेका नेताहरुको टिम छ । हजारौं हण्डर ठक्कर खाएर आफूलाई अब्बल साबित गरिसकेका सयौं नेता र हजारौं कार्यकर्ताको विशालपंक्ति छ । विश्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा भएको बेला नेपालमा त्यसको ठिक विपरित अवस्थामा छ । पार्टीको जनतासँगको सम्बन्ध पानी र माछाजस्तो छ । पार्टी, सत्ता र सरकारमा छ । ३) स्थानीय तहदेखि केन्द्रसम्म वाम वर्चश्वको सरकार हुनु: देश पहिलो पटक संघीय प्रणालीमा गएको छ । सिंहदरबारको अधिकार गाउँसम्म पुगेको छ । संघीयता कार्यान्वयन र अधिकार सम्पन्न स्थानीय तह भएको बेला स्थानीय तहदेखी केन्द्रसम्म झण्डै झण्डै दुई तिहाई बहुमतको वाम सरकार छ । यो सरकारले न्यूनतम रुपमा आफ्नो ड्यूटी पूरा गर्न बित्तिकै समाजवाद निर्माणको पूर्वाधार खडा हुन्छ । समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार हुन्छ । देशमा लामो समयदेखि कहिले राणा शासन, कहिले निरंकुश, राजतन्त्र र कहिले अस्थिरताको शिकार हुने विरासत अब सदाको निम्ति अन्त्य भएको छ । अब स्थिरता, सुशासन र समृद्धिको नयाँ युगको सुरुवात भएको छ । ४) समाजवादको बाधक दलाल नोकरशाही पुँजीवाद कमजोर हुनुः समान्तवादको अन्त्यसंगै अब नेपाली समाजको बाधक दलाल नोकरशाही पूँजीवाद हो । राणा, पञ्चायत र निरंकुश राजतन्त्रभन्दा दलाल, नोकरशाही, पूँजीवाद अहिले नै कमजोर छ । यसले गहिरोसंग आफ्ना जरा गाड्न पाएको छैन् र सुदृढ पनि छैन । नेपालमा राष्ट्रवादी भावना धेरै बलियो छ जसले दलाल पूँजीवादको हैन, आत्मनिर्भर तथा औद्योगिक पूँजीवादको विकास गर्न टेवा पुऱ्याउने छ । दलाल पूँजीवादहरुलाई राष्ट्रिय पूँजीवाद सम्पतिमा रुपान्तरण हुने अवसर पनि रहने भएकाले दलाल पूँजीपति वर्ग कम्जोर बन्दै जान्छ । ५) समाजवाद उन्मुख संविधान हुनु: संविधान सभाबाट निर्मित संविधानमा श्रमजीवी वर्गको हित अनुकुल ‘मौलिक हक’ सुनिश्चित गरिएको छ । आवश्यकता अनुसार संविधानको परिमार्जन र संशोधन गर्ने ढोका खुला गरिएको छ । संविधानको मूल प्रस्तावनामा समाजवाद-उन्मुख भनेर उल्लेख छ । संवैधानिक ढंगबाटै वास्तविक समाजवाद स्थापन गर्न सकिने बाटो पनि खुला गरिएको छ । बहुसंख्यक जनताको साथ र विश्वास लिएर संविधान संसोधन गर्न सकिने संवैधानिक प्रावधान सुनिश्चित गरिएको छ । ६) सम्राज्यवाद विरोधि संयुक्त मोर्चा: क्रान्ति र परिवर्तनको अन्तराष्ट्रिय प्रमुख बाधक साम्राज्यवाद हो । पूँजीवादको अन्तिम रुप साम्राज्यवाद रणनीतिक हिसावले कागजी बाघ हुँदाहुँदै तत्कालको निम्ति वास्तविक बाघ नै हो । तसर्थ सच्चा क्रान्तिकारीहरूको आपसी संयुक्त मोर्चाको साथसाथै साम्रज्यवाद विरोधी संयुक्त मोर्चा बन्ने आधार तयार भएका छन् । यतिबेला चीन, उत्तर कोरियालगायत दक्षिण अमेरीकि मुलुक समेतको शक्तिशाली मोर्चा बन्ने आधार प्रशस्त भएको छ । ७ ) नारा र गन्तब्यमा देश एकताबद्ध: अबको उद्देश्य र गन्तब्य समाजवादी गणतन्त्र कार्यक्रम र योजनाहरु नारामा व्यक्त हुन्छ । नारा जनवोली र जनजिब्रोबाट ब्यक्त हुन्छ । सबैका मन र मष्तिष्कमा बास गरेको नारा बलवान र शक्तिशाली हुन्छ । यतिबेला सबै नेपालीको साझा नारा बनेको छ ‘समृद्ध नेपाल र सुखी नेपाली’ । समृद्धि र सुख निश्चय पनि वर्ग पक्षधर हुन्छ । वर्गपक्षधर समृद्धि र सुखको उत्कर्ष भनेको समाजवादी गणतन्त्र नै हो । सबैको साझा र संयुक्त नारा अर्थात मुलमन्त्र भनेको समाजवादी गणतन्त्र नै हो । सामान्यतः कल्पनाबाट भावना, भावनाबाट विचार, विचारबाट भौतिक शक्तिको विकास हुन्छ । विचारको शक्तिले भौतिक शक्तिको रुप लिईसकेपछि त्यो शक्तिशाली बन्छ । उपरोक्त आधार र तथ्यहरुको विश्लेषणबाट नेपालमा समाजवाद स्थापना गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । तर समाजवाद स्थापना गर्न समाजवादको मोडेल अर्थात् समाजवादी क्रान्तिको कार्यदिशा र समाजवादी क्रान्तिको नेतृत्व गर्न लायकको कम्युनिष्ट पार्टीको आवश्यकता पर्दछ । यी दुबै कुरा कतै पनि बनिबनाउ वा रेडिमेड रुपमा फेला पर्दैनन् । न त कुनै विज्ञ वा प्राज्ञहरुको दिमागबाट फुत्त झर्छन्, न त कतै ठूला–ठूला किताबका ठेलीहरुमा नै फेला पर्छन् । यो त दृढ ईच्छाशक्ति र संकल्प भएका लाखौं करोडौ मान्छेहरुले सामूहिक रुपमा खोज, अध्ययन र अनुसन्धानको महाअभियानबाट नयाँ संष्लेषणमा पुग्ने महान कार्य हो । महान मार्क्सले सर्वाधिक बढी बेलायत, जर्मन र फ्रान्स पढ्नु भयो । मुख्यत: पूँजीवाद पढ्नु भयो । त्यही पूँजीवाद पढेर दूध  निकाल्नु भयो , दही जमाउनु भयो, त्यही दही मथेर घ्यू निकाल्नु भयो । त्यही घ्यू वैज्ञानिक सिद्धान्त बन्यो । जो आज पर्यन्त आकाट्य छ, जड हैन गतिशील छ । २१ औं शताब्दीको युग सुहाउँदो , नेपाली विशेषता र मौलिकता अनुसारको समाजवादको मोडेल कस्तो हुनुपर्छ ? यो आजको सर्वाधिक महत्वपूर्ण वैचारिक कार्यभार हो । लक्ष्यप्रतिको दृढता र जनभावना प्रतिको लचकताले मात्र ठीक ठाउँमा पुग्न सकिन्छ । लक्ष्य प्राप्टीको दृढता भनेको जडता हैन न त जनभावनाप्रतिको लचकता भनेको वर्ग समन्वयता नै हो । विगतमा समाजवाद प्रयोगमा सिमा र कमीहरू रहे । सम्पूर्ण थोक राज्यको स्वामित्वको नाममा पार्टीको स्वामित्व र अझ एकाध ब्यक्तिको मात्रै स्वामित्वमा केन्द्रित भएर नेकरशाही प्रवृति हावी भयो । नजानिदो ढंगले राज्य नै निरंकुश र नोकरशााही हुन पुग्यो । कम्युनिष्टहरुलाई एकदलिय र अधिनायकवादीका रुपमा संसारभरि चित्रित गरियो । क्रान्ति, प्रतिक्रान्ति र असफल क्रान्तिबाट शिक्षा र पाठ सिकेर नयाँ मोडेलको समाजवादको विकास गर्न जरुरी छ । तीन खम्वे स्वामित्व रहेको नेपाली मोडेलको समाजवादको विकास नै आजको आवश्यकता हो । उत्पादनका प्रमुख साधन स्रोतहरुमा राज्यको स्वामित्व रहने, कतिपय साधन र स्रोतहरुमा समुदायको स्वामित्व रहने र कतियप साधन र स्रोतहरुमा ब्यक्तिको स्वामित्व रहने प्रणालीनै तीन खम्बे स्वामित्व प्रणाली हो । सामूहिक उत्पादन र सापेक्षित समान वितरण नै यसको मूल मर्म हो । सबैचिजमा व्यक्तिको स्वामित्व तर सामूहिक उत्पादन र असमान वितरणका कारण पूँजीवाद चिहानमा पुग्छ । त्यही चिहानबाट सचेत पहलको परिणाम समाजवादको स्थापना हुन्छ । नेपाली माडेलको समाजवाद विकास गरेर मात्र यहाँको समस्याको समाधान हुन्छ र संसारभरी नयाँ संदेश जान्छ । असल साध्य खराब साधनले पूरा गर्न सक्तैन । सुन्दर र महान साध्य प्राप्त गर्न सुन्दर र महान साधन नै चाहिन्छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएदेखि जनवाद,समाजवाद, साम्यवादमा मतभेद भएन तर जनवाद समाजवादमा पुग्ने बाटोको बारे लामो समय मतभेत भइरह्यो । यही कारण झण्डै आधा शताब्दी लामो समय त्यही क्रान्तिको बाटो कुन हो, भनेर दर्जनौ टुक्रामा कम्युनिष्टहरु फुटिरहे । आफुलाई सहि साबित गर्न र अस्तित्व रक्षा एवं विकास गर्न एकअर्कालाई संगीन आरोपहरु लगाईरहे । शसस्त्र संघर्षको बाटोबाट मात्र जनवादी क्रान्ति गर्न सकिन्छ भनेर तत्कालिन कोर्डिनेशन केन्द्रले झापामा हतियार उठायो । परिस्थिती तयार नहुँदै हतियार उठाउनु गलत भयो भनेर तत्कालीन केन्द्रीय न्जुक्लियसले झापा विद्रोहलाई उग्रवामपन्थी भटकाव भन्यो । कालान्तरमा त्यही कोके, शुरुमा मालेपछि एमालेका रुपमा विकास भयो भने त्यही केन्द्रीय न्युकलस, चौम, मशाल, एकताकेन्द्र हुँदै माओवादीमा विकास भयो । माओवादीले जनवादी क्रान्तिको निम्ति ०५२ सालदेखि महान जनयुद्धको थालनी गऱ्यो । एमालेले यो जनयुद्धलाई उग्रवामपन्थी भटकाव हुँदै आतंककारी देख्न पुग्यो भने माओवादीले संसदीय संघर्ष गरिरहेको एमालेलाई प्रतिक्रियावादमा पतनसम्म देख्न पुग्यो । यस्ता संगीन आरोप प्रत्यारोपका बावजुद एकआपसमा सहकार्य पनि भइरहेको थियो । परिणाम स्वरुपमा १२ बुँदे सम्झैता, विस्तृत शान्ति सम्झौता, संविधान सभाको चुनाव, संघीय गणतन्त्रको घोषणासम्म आइपुग्दा फरक स्थिती बनिरहेको थियो । पहिलो र मुख्य कुरा नेपालमा जनवादी क्रान्ति दस्ताबेजमा लेखे जसरी माओको नेतृत्वमा ची हैन नेपाली मौलिकतामा पूँजीवादी जनवादी क्रान्ति भयो भन्ने बुझाईमा एकरुपता देखियो । दोस्रो अब नेपाली क्रान्तिको बाटो भनेको शान्तिपूर्ण राजनीति र दलिय प्रतिस्पर्धा हो भन्ने निष्कर्ष समान ढंगको नै रहन गयो । तेस्रो अब नेपालमा गर्ने क्रान्ति भनेको जनवादी क्रान्ति नभएर समाजवादी क्रान्ति हो भन्ने निष्कर्षमा पनि समान बुझाई नै रह्यो । चौथो कुरा, तत्काल संविधानको कार्यान्वयन, अस्थिरताको अन्त्य, राष्ट्रको समृद्धि र जनताको जीवनस्तरमा परिवर्तन भन्ने निष्कर्षपनि एउटै रहन गयो । यसरी सारतत्व र अन्तरवस्तुका हिसाबले धेरै सैद्धान्तिक राजनैतिक बिषयहरु मिलिसकेपछि एकताको विकल्प पनि रहेन । माओवाद २१ औं शताबदीको जनवाद जनताको बहुदलीय जनवाद, इतिहासको मुल्यांकनलगायतका कतिपय विषयहरुमा आगामी एकताको महाधिवेशनमा छलफल गर्ने सहमति सहित दुई मुलधारका ठूला पार्टीहरुको गत जेठ ३ गते एकताको घोषणा भयो । जुन एकताले विश्वको ध्यान खिच्न सफल भएको छ । यी दुई ठूला कम्युनिष्ट पार्टीहरुको एकताले एकातिर प्रचुर सम्भावनाहरुको ढोका खोलेको छ, अर्को तिर डरलाग्दा चुनौतीहरुलाई जन्मपनि दिएको छ । मुख्य कुरा एकताको रक्षा र विकास गर्ने चुनौती हो । मुल नेतृत्व टिममा प्रगाढ सम्बन्धको विकासमा र पार्टीभित्रका विभिन्न प्रवृतिहरु एक अर्काका बाधक हैन परिपुरकका रुपमा लिएर मात्र एकताको रक्षा र विकास गर्न सकिन्छ । लामो समय फरक धारा र स्कुलबाट अभ्यस्त भएर आएका पार्टीहरुको एकता पछि सामुहिक टिमस्प्रीट पैदा गर्न विधि र पद्धतिलाई संस्थागत गरेर मात्र सम्भव छ । नेपालको पूँजीवादी जनवादी क्रान्ति जनयुद्धकै जगमा भएको हो भन्ने एउटा पक्षले र संसदीय अभ्यास र आन्दोलनले उक्त परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको हो भन्ने अर्को पक्षले हृदयदेखि आत्मसात नगरी एकता सुदृढ हुन सक्दैन् । त्याग तपस्या बलिदानको जगमा खडा भएको नैतिक बल एवम् क्रान्ति र परिवर्तनका नारा ऐजेण्डाहरुलाई एउटा पक्षले आत्मसात गर्ने साथै लामो समय दलीय प्रतिस्पर्धा गर्दै आउँदा विकास भएको जनसम्बन्ध एवं विकास गरिएको विधि पद्धतिलाई अर्को पक्षले आत्मसात गरेर मात्र एकतालाई नयाँ उचाईमा उठाउन सकिन्छ । पुराना आग्रह पूर्वाग्रहबाट मुक्त भएर पुराना सोच मानसिकता र पार्टीहरु मिलेर नयाँ, सकारात्मक सोच र पार्टीको पुनर्गठनको मुल मर्मलाई आत्मसात गरेर मात्रै यो विशाल पार्टीको नेतृत्व गर्न सकिन्छ । निष्कर्षमा ज्वारभाटाका विरुद्ध जाने हिम्मत नगरी अबको भूमिका पूरा गर्न असम्भव छ । एकातिर पराजित भएको शक्ति आफुमाथि लागेको धुलो टकटकाउदै पराजयको कारण पत्ता लगाएर दशौं गुणा शक्तिशाली भएर आउछ भने अर्कोतिर जितेको शक्ति दम्भ, घमण्ड र अहंकारले फुलेको हुन्छ । अघि बढ्ने विनम्रता र सिक्नमा सिपालु नभएर यो चुनौतीको सामना गर्न सकिदैन् । एकातिर ज्ञान, अनुभव, पूँजी र प्रविधिको सिमा र कर्म छ भने अर्को तिर विद्युतिय गतिमा संघीयताको कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । एकातिर संविधान संसोधन गरेर कार्यकारी राष्ट्रपतीय प्रणालीमा लिनुछ, भने अर्को तिर राष्ट्र लाई एकतावद्ध गर्नु छ । एकातिर सीमित साधन स्रोत र पूँजीद्वारा रणनीतिक ढंगले भौतिक पूर्वाधार खडा गर्नु छ भने अर्को तिर आम जनताका असीमित अपेक्षाहरु पूरा गर्नुछ । यी कठिन तर अनिवार्य कार्यभारहरु हुन् । समाजवादप्रतिको अविचलित आस्था र संकल्प, जनता र पार्टीप्रतिको अदाम्य विश्वास, सकारात्मक र सृजनशील सोँच र भावनाले मात्र देश र जनतालाई एकताबद्ध गर्न सकिन्छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा एकताले मात्र समाजवादी गणतन्त्र स्थापन गर्न सकिन्छ । मान्छे समस्याको जड मात्र हैन् । समाधानको चाबी पनि हो । अब निराशा असंभव सम्भवमा, अभावहरु सम्पन्नतामा बदलिनेछन् । त्यागको भब्य जगमा सबैभन्दा क्रान्तिकारी नारा एजेण्डा र विशाल जनमतको समायोजन हुनेछ । समाजवादी गणतन्त्र स्थापन हुने छ । स्वर्णिम अक्षरले नयाँ इतिहास लेखिनेछ ।

नयाँ नेपालकाे नयाँ बाटो !

म्याग्दीको बेनी–जोमसोम सडकको रघुगंगा गाउँपालिका १ बेगखोलामा मोटरसाइकल तार्दै यात्रु । बेगखोलाको बाढीका कारण माेटारसाइकलले यात्रु नभइ यात्रुले माेटरसाइकल तान्नुपर्छ यहाँ । तस्बिर :  सन्तोष गौतम, म्याग्दी

नेपाली चलचित्रमा अहिलेसम्मका प्रतिस्पर्धी नायक को-को हुन्?

काठमाडौ‌ं, फागुन २१ । २००७ सालमा प्रवासमा पहिलो नेपाली चलचित्र सत्य हरिशचन्द्र बन्यो। नेपालमा निर्माण भएको पहिलो चलचित्रको श्रेय आमाले लियो। २०२२ सालमा प्रदर्शन भएको चलचित्र आमापछि मात्रै नेपाली चलचित्रमा नायकनायिका भनेर पात्र चयन हुन थालेको हो। आमापछि धेरै चलचित्र बने तर व्यावसायिक रूपमा कुनै पनि कलाकार स्थापित हुन सकेनन्। बदलिँदो समय र प्रविधिसँगै निजी क्षेत्रबाट चलचित्र बन्न थालेपछि यस क्षेत्रले उचाइ लिन थाल्यो। त्यो उचाइसँगै झुल्किएका केही नायकले नेपाली चलचित्रमा लोभलाग्दो छाप छाड्न सफल भए। नेपाली चलचित्रमा प्रथक नायक मानिएका शिवशंकर मानन्धर चलचित्र आमापछि अरूमा देखिएनन्। शिवशंकरपछि मनको बाँध, कुमारीजस्ता चलचित्रबाट सल्यान केसी, सिन्दूरबाट विश्व वस्नेत, माइतीघरबाट सीपी लोहनीलगायत केही नायक चर्चामा रहे। जब शिव श्रेष्ठ र भुवन केसी नायकका रूपमा उदाए, त्यसपछि नेपाली चलचित्रले नयाँ मोड लियो। कतिपय नायकबीच आआफ्नो समयमा कडा प्रतिस्पर्धा पनि भयो। चर्चामा रहेका केही प्रतिस्पर्धी हिरोका बारेमा यहाँ चर्चा गरिएको छ  शिव श्रेष्ठ र भुवन केसी नेपाली चलचित्र क्षेत्रमा व्यावसायिक रूपमा सफलता हासिल गरेका पहिलो छिमलका हिरो मान्न सकिन्छ, भुवन र शिवलाई। उनीहरूको आगमनअघि नेपाली चलचित्रमा नायकका रूपमा धेरैजनाको नाम आए पनि व्यावसायिक हुन सकेनन्। २०३७ सालमा बनेको चलचित्र जीवनरेखाबाट उदाएका शिव आफ्नो समयमा सर्वाधिक रुचाइएका नायक हुन्। करिअरको प्रारम्भतिरै जीवनरेखा, बदलिँदो आकाशजस्ता चलचित्रमा अभिनय गरेका शिवलाई चलचित्र जुनीबाट डेब्यु गरेका भुवन केसीले टक्टर दिन थाले। नेपाली चलचित्रमा प्रतिस्पर्धी हिरोको कुरा गर्दा शिव र भुवन अग्रपंक्तिमा आउँछन्। नेपाली चलचित्रमा दर्जनौं सुपरहिट चलचित्र दिएका उनीहरूको प्रतिस्पर्धा लामो समयसम्म चल्यो। कतिसम्म भने पछिल्लो पुस्ताका धेरै हिरोसँग पनि उनीहरूले प्रतिस्पर्धा गरे। धीरेन शाक्य र राजेश हमाल चलचित्र ‘युगदेखि युगसम्म’बाट नेपाली रजतपट प्रवेश गरेका राजेश हमालले नेपाली चलचित्र क्षेत्रमा जुन उचाइ पाएका छन्, सायदै यसअघि अरू कसैले पाए। त्यत्तिको सफलता र प्रतिष्ठा पाउनसक्ने पात्र अहिलेसम्म खासै देखिएका छैनन्। महानायकका रूपमा परिचित हमाल चर्चा र सफलताको शिखरमा रहेका बेला धीरेन शाक्यलाई उनको प्रतिस्पर्धी मानिन्थ्यो। चलचित्र कर्जाबाट चर्चाको शिखर चुमेका धीरेन चलचित्र प्रेमबाट यस क्षेत्रमा प्रवेश गरेका हुन्। उस्तै जीउडाल अनि ह्यान्डसम राजेश र धीरेनको प्रतिस्पर्धा चलेका बेला त्यो क्रेजलाई क्यास गर्न चलचित्र सिमाना, भीष्मप्रतिज्ञाजस्ता चलचित्रमा निर्माता निर्देशकले उनीहरूलाई एकसाथ अभिनय गराए। ती चलचित्र सफल पनि रहे। समयको क्रमसँगै राजेशले धीरेनलाई छाड्दै गए।   श्रीकृष्ण श्रेष्ठ र रमेश उप्रेती रूपरंग र जीउडालमात्रै होइन, नृत्य कलाबाट पनि दर्शकको प्रिय हुन सकिन्छ भन्ने उदाहरण बनेका थिए श्रीकृष्ण श्रेष्ठ। चलचित्र भुमरी नाताबाट रजतपटमा डेब्यु गरेका उनी नेपाली चलचित्रमा डान्सिङ हिरोका रूपमा चिनिन्थे। उनको यही कला र निपूणताले लामो समय दर्शकमाझ छाए। अर्का नायक रमेश उप्रेतीको आगमन हुनुअगाडि श्रीकृष्णलाई टक्टर दिने सायदै थिए। रमेशले पनि डान्सिङ हिरोको छवि बनाएपछि चलचित्रमा उनीहरू एकअर्काका विकल्प हुन थाले। त्यसपछि उनीहरूबीच पनि प्रतिस्पर्धा चल्यो। श्रीकृष्णको क्रेज मरणोपरान्त कायम रह्यो भने रमेश अमेरिका पलायन भएपछि दर्शकले उनलाई पनि बिर्से। पछिल्लो समय रमेश नेपाली चलचित्रमा फर्केका छन्। उनी अभिनीत चलचित्र ब्रासलेट अहिले प्रदर्शनको तयारीमा छ। निखिल उप्रेती र विराज भट्ट चलचित्र पिँजडा छायांकनका क्रममा नौ तला माथिबाट हामफालेर चलचित्र प्रदर्शन हुनुअगावै चर्चाको पात्र बनेका निखिल उप्रेती नेपाली चलचित्रका सफल नायक हुन्। एक्सन हिरोका रूपमा चिनिएका उनले एकपछि अर्को गर्दै धेरै सफल चलचित्र पनि दिए। एक्सनमा उनका प्रतिपस्र्धी थिएनन् तर खेलाडी पृष्ठभूमिका विराज भट्टको उदयले उनलाई चुनौती दियो। कतिसम्म भने केही वर्ष त विराज निर्विकल्प नम्बर वान एक्सन हिरोका रूपमा छाए। यी दुई हिरोको प्रतिस्पर्धा पनि निकै रोचक छ। दुवैजना सफलताको शिखरमा रहेका बेला लगभग एकैसाथ पलायन भए। केही वर्षको वि श्रामपछि निखिल आफ्नै निर्देशनमा चलचित्र भैरव लिएर आए भने विराज रोज राणा निर्देशित बलरामबाट कमब्याक गर्दैछन। फेरि पनि यी दुईबीच प्रतिस्पर्धा हुने प्रस्ट छ। आर्यन सिग्देल र जीवन लुइँटेल पर्दामा सर्वाधिक रुचाइएका लभर ब्वाइमा नायक आर्यन सिग्देलको पनि नाम आउँछ। सायद भुवन केसीपछि उनी नै हुन्, जसलाई पर्दामा प्रेमीका रूपमा दर्शकले रुचाए। मेरो एउटा साथी छ, किस्मत, कसले चोर्‍यो मेरो मन आदि चलचित्रपछि उनको यो छवि स्थापित भएको हो। पर्दामा लभर ब्वाइका रूपमा स्थापित नभए पनि आर्यनलाई टक्कर दिने सामर्थ्यका साथ उदाए जीवन लुइँटेल। पहिलो मिस्टर नेपालको उपाधि चुमेका जीवनको क्रेजले आर्यनलाई टक्कर दिनु स्वाभाविकै थियो। कान्छो पुस्ताका नायक अनमोल केसी, संयम पुरी, सुशील श्रेष्ठ, सलोन बस्नेत, पल शाह, आर्यन अधिकारी आदिको आगमन हुनुभन्दा अगाडि उनीहरू जति चर्चित रहे, त्यत्तिकै प्रतिस्पर्धा पनि भयो। अहिले पर्दामा आर्यन र जीवनबीच प्रतिस्पर्धा त छँदैछ, उनीहरूले कान्छो पुस्ताका नायकको क्रेजलाई पनि थेग्नुपर्ने अवस्था सिर्जना भएको छ। अन्नपुर्णपोस्ट बाट साभार

ज्यामरुककोट समाजको अध्यक्षमा कार्की निर्वाचित

काठमाडौं, पुस २४ । ज्यामरुककोट समाज नेपालको अध्यक्षमा राम कार्की निर्वाचित भएका छन् । शनिबार भएको प्रथम अधिवेशनबाट कार्कीको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन भएको हो । अधिवेशनको उदघाटन बयोबृध्दा ज्यामरुके छोरी मनु मल्ल शाहले गरेका थिए । समाजको वार्षिक प्रतिवेदन अध्यक्ष कार्कीले प्रस्तुत गरे । आर्थिक प्रतिवेदन सचिव दिर्घ रिजालले प्रस्तुत गरे । समाजका सदस्य ईन्जिनियर बिनायक शर्माले स्वागत मन्तव्य राखे । अधिवेशनमा म्याग्दी बहुमुखी क्याम्पसका पूर्व प्रमुख कृष्ण थापा, सामाजसेवी चन्द्र बहादुर घिमिरे, सिनियर कृषि बैज्ञानिक टिका कार्की, ज्यामरुककोट समाज नेपाल उप–समिति बाग्लुङ का कोषाध्यक्ष अनुप रिजाल, अर्जुन उच्च माविका हेडमास्टर शिवकुमार खत्रीले शुभकामना दिए । ज्यामरुककोट समाज का सल्लाहकार विश्व बम मल्लले अधिवेशनमा उपस्थित भएका अतिथिहरुलाई धन्यबाद दिएका थिए । कार्यक्रम सञ्चालन प्राध्यापक बालकृष्ण शर्माले गरेका थिए । नव निर्वाचित कार्यसमिति अध्यक्षः राम कार्की उपाध्यक्षः भीम सापकोटा उपाध्यक्षः सुरत बम मल्ल सचिवः बालकृश्ण षर्मा कोशाध्यक्षः दिर्घा शर्मा सह–सचिवः हर्क सापकोटा सदस्यहरूः बद्री सापकोटा भविन्द्र कुँवर अर्जुन ब. मल्ल भावना मल्ल राणा सन्तोष सापकोटा दुर्गा थापा अनिल कार्की राजन घिमिरे कुशुम मल्ल कृष्णकाली कार्की थापा अशोक मल्ल जगत घिमिरे रेणु घिमिरे केसी प्रकाश विक योगेन्द्र थापा

क–कसले पाए पत्रकार महासंघको शिक्षा पत्रकारिता पुरस्कार?

काठमाडौं, पुस २० ।  नेपाल पत्रकार महासंघले २०७२ सालको शिक्षा पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकार तथा सञ्चारमाध्यमलाई पुरस्कार वितरण गरेको छ । मंगलबार महासंघ केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच शिक्षा राज्यमन्त्री धनमाया विक, महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले पुरस्कृत पत्रकार तथा सञ्चारमाध्यमलाई पुरस्कार प्रदान गरेका हुन् । जसअनुसार रु. ७५ हजार राशीको ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ अन्नपूर्ण पोष्ट दैनिकका सूर्यप्रसाद पाण्डे (काठमाडौं) र कान्तिपुर दैनिकका मकर श्रेष्ठ (काठमाडौं) लाई संयुक्तरुपमा प्रदान गरिएको छ भने उपत्यकासहित ६ क्षेत्रलाई प्रदान गरिने रु २५ हजार राशीको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ पूर्वाञ्चलबाट कोकिला ढकाल (राजधानी दैनिक–इलाम) र अम्मर खड्का (नागरिक दैनिक–सुनसरी), मध्यमाञ्चलबाट दिवाकर भण्डारी (अन्नपूर्ण पोष्ट–बारा) र ध्रुव दंगाल (नागरिक दैनिक–सिन्धुपाल्चोक), पश्चिमाञ्चलबाट बसन्त गिरी (गोरखापत्र–कपिलवस्तु) र कृष्ण खनाल (बुटवल टुडे दैनिक–रुपन्देही), मध्यपश्चिमाञ्चलबाट लक्ष्मण केसी (आजको शिक्षा साप्ताहिक–रुकुम) र गिरु भण्डारी (कान्तिपुर दैनिक–प्युठान) र सुदूरपश्चिमाञ्चलबाट भवानी भट्ट (कान्तिपुर दैनिक–कञ्चनपुर) र कृष्ण ओली (नागरिक दैनिक–बाजुरा) गरी ५ क्षेत्रमा सुयक्तरूपमा र उपत्यकाबाट लिलप्रसाद चन्द (सामुदायिक सूचना नेटवर्क–काठमाडौं) लाई प्रदान गरिएको छ । उपत्यकासहित ६ क्षेत्रका २/२ जना पत्रकारलाई प्रदान गरिने रु. १५ हजार राशीको ‘शिक्षा लेखनवृत्ति–२०७२’ पूर्वाञ्चलबाट शेखर ढकाल (रेडियो नेपाल–सुनसरी) र सरिता राई (रासस–भोजपुर), मध्यमाञ्चलबाट मायामितु न्यौपाने (रेडियो वीरगञ्ज–पर्सा) र मनिका झा (अन्नपूर्ण पोष्ट दैनिक–धनुषा), उपत्यकाबाट गोपाल संग्रौला (कारोबार दैनिक–काठमाडौं) र आस्था केसी (रातोपाटी डटकम–काठमाडौं), पश्चिमाञ्चलबाट वीरेन्द्र केसी (कान्तिपुर–अर्घाखाँची),  लक्ष्मण पोखरेल (दैनिकपत्र दैनिक– रुपन्देही), सन्तोष गौतम (नवविकल्प साप्ताहिक–म्याग्दी), मध्यपश्चिमाञ्चलबाट गोविन्द केसी (नागरिक दैनिक–दैलेख), दीपबहादुर घर्ती (कमाण्डरपोष्ट दैनिक–जाजरकोट) र ईश्वर अधिकारी (काक्रेविहार दैनिक–सुर्खेत) र सुदूरपश्चिमाञ्चलबाट बसन्तप्रताप सिंह (कान्तिपुर दैनिक–बझाङ), शेरबहादुर ऐर (अनुमोदन दैनिक–कैलाली) र टंकबहादुर कुँवर (विन्तीपत्र साप्ताहिक–कैलाली) लाई संयुक्तरुपमा प्रदान गरिएको छ । यसैगरी ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ तर्फ पुर्वाञ्चलबाट पूर्वेली एफएम (मोरङ) र रेडियो मकालु (धनकुटा), मध्यमाञ्चलबाट रेडियो मकवानपुर (मकवानपुर) र रेडियो रसुवा (रसुवा) लाई संयुक्तरुपमा र उपत्यकाबाट रेडियो सगरमाथा १०२.४ (ललितपुर), पश्चिमाञ्चलबाट रेडियो सारथी १०७.४ (बाग्लुङ), मध्यपश्चिमाञ्चलबाट रुबरु एफएम (बाँके) र सुदूरपश्चिमाञ्चलबाट संयुक्तरुपमा रेडियो धनगढी ९०.५ (कैलाली) र रेडियो अमरगढी ९७.४ (डडेलधुरा) लाई प्रदान गरिएको छ । उपत्यकासहित ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिएको यो पुरस्कारको राशी रु. २० हजार रहेको छ भने राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु. ४० हजार राशीको यो पुरस्कार पत्रपत्रिकातर्फ युगबोध दैनिक (दाङ) र आजको शिक्षा साप्ताहिक (काठमाडौं) लाई संयुक्त रुपमा र टेलिभिजनतर्फ हिमशिखर टेलिभिजन (झापा) लाई प्रदान गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा बोल्दै शिक्षा राज्यमन्त्री धनमाया विकले पुरस्कृत पत्रकारहरू बधाई तथा शुभकामना दिँदै सकारात्मक कामको सकारात्मक ढंगबाट समाचार संप्रेषण गरी जनतालाई सत्यतथ्य सूचना प्रदान गर्न जोड दिए । कार्यक्रममा महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पुरस्कृत पत्रकारहरू बधाई दिँदै शिक्षा पत्रकारितामा अझ डटेर लाग्न शुभकामना दिए । उनले अव दिनमा पत्रकारहरूले सबै कुरामा जानकारमात्र नभई सम्बन्धित विषय ज्ञाता हुनुपर्ने कुरामा जोड दिए । साथै, कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेललगायतले पुरस्कृत पत्रकारहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा शिक्षा पत्रकारिता क्षेत्रमा अझ सक्रियताका साथ लाग्न जोड दिए। पुरस्कृत पत्रकारहरूका तर्फबाट बोल्दै राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार विजेता मकर श्रेष्ठले यो पुरस्कारले पत्रकारलाई शिक्षा क्षेत्रमा कलम चलाउने थप प्रेरित गरेको बताए । महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको घोषणा महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठक निर्णयद्वारा भएको हो ।

बीआरआई फ्रेमवर्क सम्झौता सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । सरकारले गत साता चीनसँग गरेको ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअप्रेसन’ सम्झौता सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले उक्त सम्झौता आफ्नो आधिकारिक वेबसाइटमा राखेको छ ।सम्झौतामा ६ बुँदा छन् ।  हेर्नुहोस् पूर्णपाठ

आजको मौसम

काठमाडौं । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ साथै बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी भू–भागका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गिरीबन्धु प्रकरण छानबिन गर्न समिति गठनको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले छानबिन समिति बनाउन माग गरेका छन् । साथै उनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टी–इस्टेटको जग्गामा कांग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।  बिहीबार काठमाडौंमा आयोजित लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गिरीबन्धु प्रकरणमा कांग्रेसले कुनै जग्गा कमिसन खाएर बेचेको एक टुक्रा माटो भए फाइल खोल्न र छानबिन समिति बनाउन माग गरे । उनले ओलीले आवेगले प्रश्न उठाएको भन्दै त्यसलाई विवेकले जवाफ दिन कांग्रेसपछि नपर्ने बताए। 'हामीमा आवेग कतिसम्म छ भने, तपाईंहरूले सुन्नुभयो नि । भर्खरै केपी कमरेडले फेरि पनि भन्नुभयो की, गिरीबन्धु प्रकरणमा कांग्रेसले ९१ बिगाह जग्गा बेचेर कमिसन खायो । त्यो केपी कमरेडमा रहेको अधिकतम आवेगको कुरा हो । यद्यपि, म केपी कमरेडलाई श्रद्धा गर्दछु, मेरो जिल्लावासी नेता हो । मेरो जिल्लाको दुई नेतालाई तुलनात्मक रूपले बढी श्रद्धा गर्दछु,' शर्माले भने ।महामन्त्री शर्माले आफूले श्रद्धा गर्ने दुई नेतामा ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौला रहेको पनि बताए ।

बजेट निराशालाई सम्बोधन गर्नेगरी आएको छ : सचिव पौडेल

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले बजेटले बढ्दै गएको निराशालाई लयमा ल्याउन कोशिस गरेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पौडेलले अर्थमन्त्रीले अर्थ प्रणालीलाई एउटा ट्र्याकमा ल्याउन खोजेको बताएका हुन्। उनले भने, ‘यो बजेट निकै असहज स्थितिमा माननीय अर्थमन्त्रीजीले अर्थ प्रणालीलाई एउटा ट्र्याकमा ल्याउनका निमित्त र बढ्दै गएको निराशालाई खास गरी पछिल्लो १५ वर्षमा बढ्दै गएको निराशालाई लयमा ल्याउनका लागि कोशिस गरेर, मेहनत गरेर कतिपय अपुग्दाहरू होलान्, प्रक्षेपण गरेर ल्याएको बजेटको रुपमा मैले यसलाई बुझेको छु।’ केही सीमा, समस्याका बाबजुत पनि मुलुकलाई सही बाटोमा अघि बढाउने गरी बजेट आएको नेता पौडेलको भनाई छ। उनले बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिए। उनले भने, ‘कार्यान्वयनका लागि तदारुकताका साथ सम्बन्धित निकाय, सबै पक्षलाई परिचालित गरेर बजेट कार्यान्वयनका जुन आशंका बाहिर प्रकट भएको छ। बजेट कार्यान्वयनका निम्ति माननीय अर्थमन्त्रीज्यूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्दै हाम्रो दलको तर्फबाट बजेटका स्पिडलाई दृढतापूर्वक समर्थन गर्न चाहन्छु।’ उनले बजेट प्रस्तुतपछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबाट समेत स्रोतको सङ्कुचनका बिच पनि बजेट सन्तुलित र वस्तुवादी भएको प्रतिक्रियाबाट सरकारले जिम्मेवारीपूर्वक बजेट प्रस्तुत गरेको महसुस गरेको बताए।

डुबेर दुई किशोरीको मृत्यु

काठमाडौं । डडेल्धुरामा नुहाउने क्रममा  डुबेर दुई किशोरीको मृत्यु भएको छ। आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका–२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको खोलामा डुबेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी दीपक पाठकले जानकारी दिए।  मृतक दुवै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल डडेलधुरामा राखिएको पाठकको भनाइ छ। 

डेढ वर्षपछि भारतमा चीनका नयाँ राजदूत

काठमाडौं । करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी गरेको छ । टाइम्स अफ इन्डियाका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले १८ महिनाको असाधारण ढिलाइपछि शुई फेइहोङलाई भारतका लागि नयाँ राजदूत नियुक्त गरेका छन् । यसबारे औपचारिक घोषणा नभए पनि चीनको विदेश मन्त्रालयले अफगानिस्तान र रोमानियाका लागि राजदूत भइसकेका शुई अब भारतका लागि चीनको राजदूत हुने समाचार एजेन्सी पीटीआईलाई पुष्टि गरेको छ । ६० वर्षीय शुईले छिट्टै नयाँ दिल्लीमा आफ्नो पद सम्हाल्ने छन्। उनले सन् २०२२ को अक्टोबरमा भारतमा आफ्नो कार्यकाल पूरा गरेका सन विडोङको स्थान लिनेछन् । सुन वेइडोङ भारतमा आफ्नो कार्यकाल अघि पाकिस्तानका लागि चीनका राजदूत पनि थिए र हाल उपविदेश मन्त्री छन् र चीनको दक्षिण एसिया नीतिलाई सम्हाल्ने जिम्मेवार छन् । शुईको नियुक्ति भारत र चीनबीच लामो समयदेखि चलिरहेको सैन्य गतिरोध समाधान गर्नका लागि विभिन्न चरणको वार्ताको बीचमा आएको हो।मे २०२० मा लद्दाखमा भएको हिंसात्मक सैन्य झडपपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेको छ। 

अवैध लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं । बर्दियाको गुलरीया नगरपालिका ११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ करिब ३ ग्राम ३ सय  मिलिग्रामसहित मधुबन नगरपालिका ९ गाँउ नम्बर १२ बस्ने २१ वर्षीय अर्जुन बिकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको  छ । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस्तै, पर्साको वीरगंज महानगरपालिका १६  शंकरअचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ८ सय २० मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका १० बस्ने २७ वर्षीय सुजन गोलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी ईनरूवाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंज बजारतर्फ पैदल आउदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको  हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।   

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने

काठमाडौं । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु एक अर्ब विनियोजन भएको थियो । कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भएको बैठकले उक्त कार्यक्रम स्थगन गरी त्यसबारे अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गरेको हो । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसकेको तथा मुसहर, चेपाङलगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमुना सामुदायिक विद्यालय सञ्चालन गर्न रकम नभएको अवस्थामा अन्यत्रका विद्यालयलाई पूर्वाधार विकासका निम्ति बजेटको व्यवस्था गर्न सान्दर्भिक नहुने अभिमत प्रकट हुँदै आएको थियो।मन्त्रालयले आगामी आर्थिक वर्षमा ती क्षेत्रको शैक्षिक विकासमा ध्यान दिने शिक्षामन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । 

सङ्क्रमणकालीन न्यायबारे शीर्ष नेताकाे छलफल : टीआरसी विधेयक आउँदो अधिवेशनबाट पारित गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे शीर्ष दलका नेतासँग बालुवाटारमा छलफल गरेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ(आइतबार) बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा छलफल गरेका हुन् । भेटमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथि भएका छलफल र नमिलेका विषयबारे बैठकमा जानकारी गराइएको बताए । उनले आगामी संसद् अधिवेशनबाट विधेयक पारित गर्ने कुरा भएको पनि जानकारी दिए । “सदनमा विचाराधीन रहेको टिआरसी विधेयकमा भएको कुरा र थप मिल्नुपर्ने कुरामा जानकारी गराइयो,” उनले भने, “यो विधेयक आउने अधिवेशनबाट पारित गरेर जाने कुरा भयो ।”

३० राजनीतिक दलद्धारा लेखा परीक्षण प्रतिवेदन सार्वजनिक, ५२ दलले अझै गरेनन्

काठमाडौं । निर्वाचन आयोगले तोकेको अवधिभित्र ३० राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेका छन्। कुल ८२ दलले विवरण सार्वजनिक गर्नुपर्ने थियो। आयोगले लेखा परीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गर्न र त्यसको सात दिनभित्र सो सम्बन्धमा जानकारी गराउन वैशाख २८ गते राजनीतिक दललाई निर्देशन दिएको थियो। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार निर्देशनबमोजिम ३० दलले मात्रै लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको जानकारी आयोगलाई पठाएको छ। राजनीतिक दलसम्बन्धी ऐनमा आयोगले तोकेको समयभित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने राजनीतिक दललाई सात हजार रुपियाँसम्म जरिवाना गर्ने उल्लेख छ। ऐनबमोजिम राजनीतिक दलले २०७८र७९ को लेखा परीक्षण प्रतिवेदन माघभित्र आयोगमा बुझाएर फागुनसम्म सार्वजनिक गर्नुपर्ने हो । तर, सो अवधिमा ८२ दलले प्रतिवेदन बुझाए पनि लेखा विवरण सार्वजनिक गरेनन्। दलको लेखा परीक्षण प्रतिवेदनमा शङ्का लागेपछि आयोगले विज्ञ परिचालन गरेर जाँच गर्ने कामसमेत सुरु गर्न लागेको छ । आयोग पदाधिकारीको बैठकले वैशाख २८ गतेदेखि सात दिनभित्र प्रतिवेदन सार्वजनिक गर्न दललाई निर्देशन दिएको थियो। आयोगको निर्देशन अनुसार जेठ ३ गतेभित्र राजनीतिक दलले प्रतिवेदन सार्वजनिक गर्नुपर्ने थियो। प्रतिवेदन सार्वजनिक गरेको मिति र माध्यम जेठ १० गतेभित्र पठाउनुपर्ने थियो। केही राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरे पनि आयोगलाई जानकारी भने गराएको छैन। यो गोरखापत्र दैनिकमा आज प्रकासित समाचार हो ।