आकाशबाट ठूलो आवाजकासाथ बडेमानको ढुंगा खसेपछि हेर्नेको भिड !

काठमाडौं । नेपालको सीमावर्ती क्षेत्र भारत विहारको मधुवनीमा एक अचम्मको घटना भएको छ । जसलाई सुन्दा एकादेशको कथा जस्तै लाग्छ तर यो वास्तविक हो । विहारको मधुवनीमा एउटा बडेमानको ढुंगा आकाशबाट खसेको स्थानीयबासीले बताएका छन् । त्यस क्षेत्रमा आकाशबाट करिब १० किलोको ढुंगा खसेपछि हेर्नेहरूको भीड लागेको छ ।

मधुवनी जिल्लाअन्तर्गत लौकहीको कौरियाही ककहिया बधारमा खसेको सो ढुंगा हेर्न सरकारी अधिकारीहरु पनि पुगेका छन् । सो ढुंगामा चुम्बकीय शक्ति रहेको अधिकारीहरूले बताएका छन् । ढुंगामा चुम्बक लगाउँदा त्यसमा टाासिने प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

हिन्दूस्तान दैनिकका स्थानीय संवाददाता रोशन कुमारले सोमबार नेपाली समयअनुसार मध्यान्ह १२ बजेर १५ मिनेटमा ढुंगा खसेको बताए । ढुंगा खस्दा ठूलो आवाजसँगै धुँवा पनि देखिएको थियो । खेतमा काम गर्ने मजदूरहरु डरले भागेका थिए । धुवाँ बन्द भएपछि श्रवण यादव नाउँका एक मजदूरले आकाशबाट खसेको वस्तु ढुंगा भएको थाहा पाए ।

ढुंगा ५ फिट माटोमा भासिएको थियो । घटनाको जानकारी पाउनसाथ सो क्षेत्रका सीओ त्रिपुरारी श्रीवास्तव र प्रखण्ड प्रमुख वरुण कुमार बिहारी पनि घटनास्थल पुगेका थिए । अहिले सो ढुंगालाई प्रहरीले राखेको छ । मधुवन्नीका डिएम कपिल अशोकले ढुंगा अहिले प्रहरीसँग रहेको र छिट्टै सम्बन्धित विशेषज्ञकहाँ पुर्याइने जानकारी दिए ।

जीवनमा यस्तो ढुंगा आफूले कहिले नदेखेको महराज महेश ठाकुर कलेज दरभंगाका प्राध्यापक चन्द्रमोहन झा पडवाले बताए । ढुंगा खसेको जानकारी पाउनसाथ आफू ढुंगा रहेको क्षेत्रमा गएको उनले बताए ।

मधुवन्नीमा रहेका सरकारी क्याम्पसका भूगोल विभागका अध्यक्ष डा. शशी भूषण प्रसादका अनुसार यो समान्य ढुंगा होइन । यति ठूलो, त्यसमा पनि चुम्बकीय गुण हुनुले ढुंगालाई असामान्य देखाएको उनको भनाइ छ । यो ढुंगालाई अनुसन्धानका लागि दिल्ली प्रयोगशालामा पठाउन उनले अधिकारीहरुसँग माग गरे । यसैगरी बीआरए विश्वविद्यालय भौतिक विभागका विभागाध्यक्ष डा. विजय कुमारले म्याग्नेटिक प्रपर्टी हुनसक्ने बताए ।

विश्वमा यस्ता अनौठा यौनकाण्ड पनि हुने गर्दछ

अदालतमा न्यायाधीशको चर्तिकला १० वर्षअघि एउटा अमेरिकी अदातलमा न्यायाधीशको टेबल पछाडि कृत्रिम महिला अंगसहित न्यायाधीशलाई आपत्तिजनक अवस्थामा फेला पारिएको समाचारले सनसनी मच्चाएको थियो । सन् २००६ मा ओक्लोहामा सहरको अदालतमा न्यायाधीश डोनाल्ड थम्पसन एउटा मुद्दाको सुनुवाइ चलिरहेका बेला उक्त कृत्रिम खेलौना प्रयोग गरिरहेको अवस्थामा मानिसहरूको नजरमा परेका थिए । उक्त कुरा सार्वजानिक हुनासाथ उनलाई जागिरबाट निकाली चार वर्षको जेल सजाय सुनाइएको थियो । सिसी क्यामेराअघि पबबाट घरजान निस्किएका इंग्ल्यान्डका २५ वर्षीया केभिन तथा उनकी १९ वर्षीया गर्लफ्रेन्ड राति प्रहरीले राखेको सिसी क्यामेराको अगाडि नै अभिसाररात पाइएपछि पक्राउ परेका थिए । उनीहरू सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप गरेको आरोपमा पक्राउ पर्नुभन्दा पनि उनीहरूको गतिविधिको सिसिटिभी फुटेज आफ्नो मोबाइलमा डाउनलोड गरेको आरोपमा प्रहरी कन्ट्रोल रुमका एक अधिकारी पक्राउ परेपछि उक्त घटनाको अझ बढी चर्चा भएको थियो । प्रहरीको भ्यानमै अडेसा लागेर नेदरल्यान्डको सडकमा पेट्रोलिङ भ्यान छोडेर दुई प्रहरी पसलमा दुनोट खाइरहेका थिए । त्यही बेला अर्को एउटा गाडी आएर भ्यानको नजिकै रोकियो । त्यसबाट एक जोडी बाहिर निस्किए र उनीहरूले प्रहरी भ्यानको बनौटलाई नै ओछ्यान बनाए । प्रहरीले आफ्नै अघि आएर त्यस्तो क्रियाकलाप गर्दा पनि केही गर्न सकेनन्, कारण त्यहाँको कानुनले प्रहरी अधिकारी ड्युटीमा रहेका बेला उनीहरूको गाडीमा कसैले त्यस्तो कार्य गरे पक्राउ गर्न अनुमति दिँदैन । दरबारको बगैंचामा सन् २००९ को एक दिन बेलायतको विनडसोर क्यासल बाहिर एक जोडी पक्राउ परे । उनीहरू पक्राउ पर्नुको कारण अनैतिक रूपमा सार्वजनिक स्थलमा यौनक्रियामा संलग्न हुनु भएको बताइयो । दरबारको बाहिरपट्टि रहेको घाँसे मैदानमा नग्न अवस्थामा फेला परेका ती जोडीले त्यहाँ जान नपाइने सूचनाको बेवास्ता गरेका थिए भने त्यतिबेला महारानी दरबारमै भएको बताइन्छ । बैंकमा मानिस कतिसम्म आवेगमा आउँछ भन्ने कुरा फ्रान्सको एउटा बैंकभित्र भएको काण्डले पनि देखाउँछ । बैंक भवनभित्रको एकान्तमा भेटिएका जोडीले आफूलाई सम्हाल्न सकेनन् । उक्त जोडीलाई सडकमा हिँडिरहेका मानिसले देखेर फोटो खिचे । त्यसरी फोटो खिचेको देखेपछि उक्त क्रियामा संलग्न महिला बेहोस भएकी थिइन् । ककपिटमा सन् १९१६ मा अमेरिकाको एउटा विमान दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाको दोषी पाइलटलाई ठहर्‍याइयो । जहाजको ककपिटमै यौनकार्य गर्ने हुँदा विमान दुर्घटना भएको अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले ठहर गरेको थियो । बोर्डले उक्त प्लेनको चालक महिला भएकी र उनको ध्यान उडानभन्दा पनि यौनसम्बन्धी कार्यमा मोडिएको हुँदा दुर्घटना भएको रिपोर्ट दिएको थियो । चर्चमै चर्च, मन्दिर, मस्जिदजस्ता स्थानलाई निकै पवित्र मानिन्छ । त्यहाँ जाने मानिसको मन पवित्र नभईदिँदा गर्नेलाई भन्दा देख्नेलाई लाज हुने नै भयो । यस्तै घटना इटालीको सेनसेनास्थित एउटा चर्चमा घटेको थियो । बिहान प्रार्थना भैरहेका बेला ‘आत्मआलोचना गर्ने स्थान’बाट फरक किसिमको आवाज आएपछि सबैको ध्यान त्यतै मोडियो । त्यो एक जोडी महिला र पुरुषको आवाज थियो । त्यस्तो आवाज सुनेका भक्तजनले उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए । एटीएम बुथमा स्पेनको ओभेइडिओको उत्तरी सहरमा एक जोडीलाई बैंकको एटीएम बुथभित्र पूर्ण नग्न अवस्थामा समातिएको थियो । उनीहरू आपसमा यति मग्न थिए कि उनीहरूको शरीरमा मोजाबाहेक अन्य कुनै कपडा थिएन र बाहिर बाटोमा हिँडिरहेका मानिसहरू उनीहरूको तस्बिर खिचिरहेका थिए । एजेन्सी

फेरियो नेपाली दूतावासको बोली, दलाललाई कारवाही गर्न सरकारलाई लेख्यो पत्र

सुसान आचार्य/ युएई युएई स्थित नेपाली दूतावासले भिजिट भिसाको बहानामा युएई ल्याइ अलपत्र पार्न ट्राभल्स र एजेन्ट लाई तत्काल कारबाही गर्न माग गर्दै नेपाल सरकारका विभिन्न निकायमा पत्र पठाएको छ । काठमाडौमा रहेको अर्थलाइन ट्राभल्सले विभिन्न प्रलोभनमा पारी युएई ल्याइ अलपत्र पारेका २१ जना पीडितले दूतावासमा उद्दारको माग गर्दै केहि हप्ता अघि निवेदन दिएका थिए । लामो समय सम्मको पहल पछि पीडित मध्य १५ जनालाइ दुई हप्ता अघि र तीन जना भिसा सकिएका लाई दुई दिन अघि नेपाल पठाइएको भय पनि दलालले दूतावासमा पीडितसँग गरेको सम्झौता पूरा नगरे पछी दूतावास आफैले कारबाहीको लागि पहल गरेको छ । जनही २ लाख ५० हजार देखि ३ लाख ८० हजार रुपैयाँ सम्म असुल गरि राम्रो कामको प्रलोभन देखाएर  युएई पठाएका मध्ये तीन जनालाइ ट्राभल्सको युएई एजेन्ट साजन भनिने चितवनको प्रेम पान्डेले जीवन भर युएई आउन नपाउने गरि ब्यान्ड गरायर दुई दिन अघि मात्रै नेपाल फर्कायको हो । अबैधानिक भय बाफत युएई सरकार लाइ बुझाउनु पर्न जरिवाना दलालले नबुझाय पछी उनिहरु लाइ युएई ब्यान्ड भयको हो। यसरी ब्यान्ड हुने मा अवैधानिक रुपमा बस्दै आएका सिम्ले १ रुकुमका २४ वर्षिय प्रेम प्रकाश केसी, पुरन्धारा ३ दाङका २४ वर्षिय कुलबहादुर केसी र कन्चनपुर २ बाँकेका ३२ वर्षिय लोकबहादुर डाँगी रहेका छन । लामो समय सम्म युएईमा अलपत्र परेका पीडितहरु नेपाल फर्किय पनि हाल सम्म न्याय पायका छैनन भने उनिहरुको पासपोर्ट नेपाल स्थित अध्यागमनले अझै आफ्नो नियन्त्रणमा राखेको छ । यता नेपाली दूतावास युएईले ट्राभल्स खोलेर खाडिमा मानब तस्कर गर्दै आयको अर्थ लाइन ट्राभल्सका सन्चालक र पीडित लाई बन्धक बनाइ यातना दिने दलाल प्रेम पान्डे लाई आबस्यक छानबिन गरि कारबाही गर्न र पीडित लाई छेतिपुर्ती दिलाउन नेपाल सरकारका विभिन्न निकाय लाई पत्र मार्फत अनुरोध गरेको छ । यस्तो छ पत्र

व्यापारी हमालद्वारा उम्मेदवारी घोषणा

धनगढी, वैशाख ८ । निर्वाचनको सरगर्मी बढ्दै जाँदा धनगढी उपमहानगरपालिकाको प्रमुखमा यस क्षेत्रका उद्योगी एवम् व्यापारी गोपाल हमालले बिहीबार आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । कैलाली उद्योग वाणिज्य सङ्घ पूर्व अध्यक्ष समेत रहनुभएका हमालले आज यहाँ आयोजित सभामा धनगढीबाट विकास र समृद्धिको अभियान सुरु गर्न आफूले सो उपमहानगरको प्रमुखमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो । धनगढी उपमहानगरको प्रमुखमा औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने हमाल पहिलो व्यक्ति हुनुहुन्छ । उपमहानगरको प्रमुख र उप प्रमुखमा नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट उठाउने उम्मेदावारको टुङ्गो लगाइसकेको छ । सो पार्टीले प्रमुखमा रामसमझ राना र उप प्रमुखमा शान्ति अधिकारी क्षेत्रीलाई उठाउने तय गरिसकेको छ । नेपाली काँग्रेस, नेकपा एमाले राप्रपा नेकपा माले लगायतका दलले उपमहानगरको प्रमुख उप प्रमुखमा कसलाई उठाउने भन्ने टुङ्गो अझै लगाउन सकेका छैनन् । सात नं प्रदेशको एकमात्र उपमहानगर धनगढी भएकाले महानगरको प्रमुख तथा उप प्रमुखको पदको टिकट हत्याउन विभिन्न दलमा आन्तरिक प्रतिस्पर्धा निकै बढेको छ । साविक सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र रहेको र गएको संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको विजयी क्षेत्र भएकोले पनि यो उपमहानगरको निर्वाचनलाई दलहरुले आ–आफ्नो प्रतिष्ठाको विषय बनाउने अनुमान सबैको छ ।

वज्रयोगिनी मन्दिरको पुनःनिर्माण सुरु

काठमाडौँ,  चैत  २९ । काठमाडौँको उत्तरी भेगमा अवस्थित वज्रयोगिनी मन्दिरको पुनःनिर्माण सुरु भएको छ । गत वर्ष आएको भूकम्पका कारण सो मन्दिरमा क्षति पुगेपछि त्यसको पुनःनिर्माण गर्न लागिएको हो । पुरातत्व विभागले मन्दिर जीर्ण भएपछि त्यसलाई प्राचीन शैलीमा अत्याधुनिक प्रविधि तथा निर्माण सामग्रीको प्रयोग गरी बनाउन लागेको छ । करिब रु सात करोड ५० लाखको लागतमा पुनःनिर्माण गरिने लक्ष्य राखिएको छ । कुनै पनि समय मन्दिर भत्कन सक्ने जोखिम बढेपछि सो मन्दिर आसपास क्षेत्रका सर्वसाधारण त्रसित भएकाछन् । करिब चार सय वर्ष पुरानो सो मन्दिर पेगोडा शैलीमा निर्माण गरिएको थियो । स्थानीय प्रहरी हवल्दार नवराज खड्काले मन्दिरमा रहेका प्राचीन महत्वका सामान हराउने डर भएपछि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिनुभयो । तान्त्रिक विद्याबाट पूजा हुने उक्त मन्दिरमा हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैले आस्था प्रकट गर्ने गर्छन् । मन्दिर वरपरका क्षेत्रमा आकर्षक मनोरम दृष्य र पर्यटकीय गन्तव्य रहेकाले पनि स्वदेश तथा विदेशबाट समेत त्यस क्षेत्रमा पर्यटक घुम्न आउने गरेको पाइएको छ । मन्दिरको स्रोतका रुपमा करिब एक हजार तीन सय रोपनी क्षेत्रफल जमिन रहेको छ । त्यसमा गुठियारले अतिक्रमण गरेकाले मन्दिरका विभिन्न जात्रापर्व सञ्चालन गर्न कठिनाइ रहेको पुजारी कनकमुनि वज्राचार्यले जानकारी दिनुभयो । त्यस क्षेत्रमा बौद्ध चैत्य, वज्रयोगिनीको रातो वर्णको मूर्ति, दक्षिणकालीको मूर्ति, महाकाल, भैरवलगायतका मूर्ति छन् । काठमाडौँबाट करिब २५ किमीको दूरीमा पर्ने त्यस क्षेत्रको संरक्षणका लागि सरकारले लगानी गर्नुपर्ने स्थानीयवासी प्रल्हाद खत्रीले माग गर्नुभयो । स्थानीय पूर्वाधार तथा विकास निर्माणका साथै व्यवस्थित शौचालयको व्यवस्था हुनुपर्ने सुझाव उहाँ दिनुहुन्छ । मन्दिर परिसरमा रहेका नौ कुण्ड र नौ गुफासमेत संरक्षण गर्न आवश्यक देखिएको छ । प्रत्येक वर्ष श्रीस्वस्थानी माताका बर्तालुलाई मन्दिर दर्शन गराउने गरिन्छ । चैत शुक्ल पूर्णिमाका दिन सो मन्दिरमा मेला लाग्ने गर्छ ।

त्रिभुवन पुस्तकालय सङ्कटमा

दमक, चैत १० । देशकै पुरानो सामुदायिक पुस्तकालयका रुपमा परिचित गौरीगञ्ज–६ खजुरा गाछीमा रहेको त्रिभुवन आदर्श पुस्तकालय सङ्कटमा परेको छ । वि.सं २००९ मा स्थापना भएको उक्त पुस्तकालयको उचित व्यवस्थापन हुन नसक्दा सङ्कटमा परेको हो । यहाँ रहेका पुराना पुस्तक जीर्ण छन् भने नयाँ पुस्तक नल्याएको वर्षौँ भइसकेको छ । अचेल बिहान–बेलुका राष्ट्रिय र स्थानीय पत्रपत्रिका पढ्न आउने बाहेक पुस्तकालयमा अरु किताब पढ्न कोही नआउने गरेको स्थानीय हेमसागर अधिकारी बताउनुहुन्छ । पुस्तकालयको वार्षिक आम्दानी रु ४६ हजार रहेको छ । यहाँ पुराना उपन्यास र ऐतिहासिक किताब राखिएका छन् । पुस्तकालयका कर्मचारी सरिता घिमिरेले बिहान ७ बजेदेखि ९ बजे तथा बेलुका ४ देखि ६ बजेसम्म पुस्तकालय खोल्ने गरेको बताउनुभयो । उहाँले सो पुस्तकालयको रेखदेख गरेवापत रु एक हजार परिश्रमिक पाउनुहुन्छ । “पुस्तकालयको व्यवस्थापन हुन नसक्दा यहाँ आउनेको सङ्ख्या दिनानुदिन घट्दै गएको छ,” घिमिरेले भन्नुभयो । पुस्तकालयमा हिन्दी, नेपाली र अङ्ग्रेजी भाषाका गरी एक हजारभन्दा बढी पुस्तक रहेका छन् । तत्कालीन समयमा कर्णेल भक्तबहादुर बस्नेत, दौलतविक्रम विष्टलगायतको पहलमा उक्त पुस्तकालय स्थापना गरिएको थियो । दुई कोठे भवनमा रहेको सो पुस्तकालयको नाममा बैगुनधुरामा चार बिगाहा जग्गा समेत रहेको छ । सो जग्गा साहित्यकार विष्टले पुस्तकाललाई उपलब्ध गराउनुभएको हो । पुस्तकालयका उपाध्यक्ष नवीन जोशी पुस्तकाललाई व्यवस्थित गर्न नसकिएको स्वीकार्नुहुन्छ । “भवन जीर्ण छ, पुस्तकालयतर्फ पाठकको ध्यान आकर्षित गराउन सकेका छैनौ,” उहाँले भन्नुभयो । पुस्तकालयलाई पठनीयस्थलका रुपमा जीवन्त दिन यस क्षेत्रका व्यवसायी तथा सरोकारवालाले मासिक रु २० तिरेर पाठक बन्ने गरेका उहाँले बताउनुभयो । “गाविसले उपलब्ध गराएको बजेटबाट तारबार हाल्ने योजना छ,” उपाध्यक्ष जोशीले भन्नुभयो । पुस्तकालयलाई बैगुनधुराको जमिनबाट वार्षिक रु ३५ हजार तथा घुम्तीबाट वार्षिक करिब रु ११ हजार आम्दानी हुन्छ । पुस्तकालयलाई व्यवस्थित गर्न आठ वर्ष अगाडी राजेन्द्र शर्माको अध्यक्षतामा समिति समेत गठन गरिएको थियो । व्यवस्थापन समिति सक्रिय नहँुदा पुस्तकालय सङ्कटमा परेको स्थानीय शेरबहादुर शर्मा बताउनुहुन्छ ।

माओबादि केन्द्र निकट युरोपमा रहेका जनप्रगतिशिल मञ्चहरुको एकता अधिबेसन तोकिएकै मितिमा हुने

प्रवासमा माओबादी केन्द्र निकट प्रवासमा रहेको संगठन नेपाली जनप्रगतिशिल मंचहरुको अधिवेसन तोकिएकै मिति र समयमा हुने कुरा आयोजकहरुले बताउनु भएको छ । नेकपा ( माओबादी केन्द्र) का नेता तथा बिदेस बिभाग प्रमुखको प्रमुख उपस्थितिमा संपन्न हुन गईरहेको सो अधिवेसन तथा भेलाहरु नेपालको राजनैतिकमा देखिएको असजिलो परिस्थितिलाई मध्यनजर गर्दै क. नारायणकाजी श्रेष्ठ (प्रकास) उपस्थिती हुन नसक्नु हुने कारणले अधिवेसननै रोकिएको हो की भन्ने भ्रमहरु पर्न गएको मा यूरोप स्थीत मंचका अध्यक्षहरु तथा संयोजकहरुले बिज्ञाप्ति जारी गर्दै कार्यक्रम मा कुनै फेरबदल नभएको जानकारी दिनु भएको छ । बिज्ञाप्तिमा नेपालको संबेदना प्रति ध्यान दिदै क. प्रकास जस्तो शिर्ष नेताले नेपालको राजनैतिक घटना प्रति गहिरो चिन्ता हुनु स्वाभाबिक मात्र नभएर मुलुक प्रतिको जिम्मेवारी पनि हो भनिएको छ । साथै बिज्ञप्ति उहांले मुलुक प्रतिको जिम्मेवारीलाई पहिलो प्राथमिकतामा राख्नुले हामी नेपाली जनप्रगतिशिल मंचका सदस्यहरुले पनि सो पार्टीको बिचार सिन्द्धान्त सहि छ भन्नेमा गर्व महसुस गरेका छौं । नेपाली जनप्रगतिशिल मंचहरुको तोकिएको अधिवेसनको कुनै पनि तालिकाहरु परिवर्तन नभएको जानकारी संपुर्ण प्रवास स्थीत संघ संस्था र जनसमुदायलाई जानकारी गराउदछौं । तय भएका अधिवेसनका कार्यक्रम अनुसार, पचुर्गलमा मार्च ११ बेलायतमा मार्च १२ डेनमार्कमा मार्च १८ बेल्जियममा मार्च १९ र स्वीजरल्याण्डमा मार्च २६ मा कार्यक्रम सुचारु रहेको छ । नेपाली जनप्रगतिशिल मंच फ्रान्स, स्पेन, ईटाली, नेदरल्याण्ड, आईरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, स्वीडेन, अष्ट्रिया, चेक रिपब्लिक लगाएत देसहरुमा छिट्टै कार्यक्रमको तालिका प्रकासित गरिने कुरा नेपाली जनप्रगतिशिल मंचको छाता संगठन संयूक्त नेपाली मोर्चा , यूरोपका सचिव दधिराज घिमिरेले बताउनु भयो

भिक्षु पक्राउ गर्न थाइल्यान्डको प्रहरी गुम्बामा

बैंकक ,फागुन ६ । थाइल्यान्डको प्रहरी रकम हिनामिनामा संलग्न एक भिक्षु पक्राउ गर्न राजधानी बैंककको बाहिरी क्षेत्रस्थित धम्मकाया गुम्बामा छापा मारेको छ । यसअघि चार करोड अमेरिकी डलर हिनामिनाको आरोप लागेका भिक्षु फ्रा धम्मजायो पक्राउ गर्न लामो समयदेखि निकैपल्ट प्रयास गर्दा पनि प्रहरीलाई उनका अनुयनयी हजारौं भिक्षुले अवरोध गरेका थिए । यसपछि प्रहरीले गुम्बामा छापा मारेको हो । धम्मकाया गुम्बा यसपूर्व सैन्य नियन्त्रणमा लिइएको थियो । प्रहरीले आरोपित भिक्षु बिशाल गुम्बामा लुकेको आशंका गरेको छ । उनीमाथि गुम्बाको कोष हिनामिना गरेको आरोप लागेको छ । ७२ बर्षीय धम्मजायो सिस्ति भएकाले छानबिनमा प्रहरीसामु उपसीथत हुन नसक्ने भन्दै महिनौंदेखि गुम्बाबाट निस्केका छैनन् । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

जानिराखौं कति तौलका मानिसले कति पानी पिउने ?

काठमाडौं, माघ १५ । दैनिकरुपमा मानिसले आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नका लागि कम्तीमा पनि २ गिलास वा २ लिटर पानी पिउनुपर्ने डाक्टर तथा पोषणविज्ञहरुले सल्लाह दिएका छन् । मानिसहरु जाडोयाममा त झन् पानी पिउनै गाह्रो मान्ने हुँदा यसले शरीरमा पानी मात्रा कम हुने सम्भावना बढी रहने देखिन्छ । त्यसले पानी उमालेर पिउनाले सबैभन्दा बढी फाइदाजनक रहेको छ । तर, दैनिकजसो कत्रो मानिसले कति पानी पिउने भन्ने कुरा उसको शरीरको वजन वा तौल तथा जिउडालमा भर पर्छ । आफ्नो तौल अनुसार कति पानी पिउने ? यसका सुत्र जानिराखौं:  पानी पिउनुअगाडि आफ्नो वजनलाई विशेष ध्यान दिनु अझल राम्रो हुनेछ । आफ्नो तौल कति छ त्यो थाहा हुनु जरुरी छ । किनकी ४७ किलो तौल भएको तथा ८० किलो तौल भएको मानिसलाई आवश्यक पर्ने पानीको मात्रा फरक फरक हुन्छ । पानी सरीरमा विषाक्त पदार्थको निष्कासनदेखि लिएर मेटाबोलिज्म तथा पाचन क्रियाजस्ता विभिन्न कार्यका लागि पनि सहयोगी हुन्छ । यसरी पिउनुहोस् पानी आफ्नो जिउको वजन थाहा पाइसकेपछि त्यसलाई ३० ले भाग गर्नुहोस् । त्यसो गर्दा भागफल जत्ति आउँछ त्यति नै बराबरको लिटर पानी पिउन सुरु गर्नुहोस् । जस्तै यदि तपाइँको वजन ६० किलो छ भने तपाइँले दिनमा २ लिटर पानी पिउनु आवश्यक हुन्छ । ८० किलो वजन भएका मानिसले २।६ लिटर पानी पिउनु पर्छ। व्यायामका बेला धेरै पानी व्यायामका बेला सरीरबाट धेरै पसिना निस्किन्छ र जिउमा पानी कमी हुन थाल्दछ । पानीको कमी हुँदा सुख्खापन तथा पाचन सम्बन्धी समस्या सुरु हुन्छ । त्यसैले यस्तो समस्याबाट बच्नका लागि व्यायाम गरिसकेको हरेक आधा घण्टामा कम्तीमा पनि एक गिलास पानी अवश्य पिउनुपर्छ । साथै फलफुल तथा जुस पनि पर्याप्त खाने गर्नुपर्छ । शरीरको लागि आवश्यक पानीको मात्रा पूरा गर्नका लागि केवल पानी मात्र पिउनु आवश्यक छैन । यसका लागि धेरै पानीको मात्रा हुने फलफूल तथा अन्य खानेकुरा पनि भोजनमा सामेल गर्नुपर्छ । शरीरमा २०।२५ प्रतिशत पानीको पूर्ति हामीले खाने खानाहरुबाट प्राप्त हुन्छ । जस्तै एउटा स्याउन ११६ मिलि लिटर पानी हुन्छ । त्यस्तै खरभुजा, सुन्तला जस्ता फलफूलमा पनि प्रसस्त पानी पाइन्छ ।

एमालेसहितका प्रतिपक्षी दलको शक्ति प्रदर्शन आज, चालीस ठाउँबाट जुलुस निस्कँदै

काठमाडौं, पुस २२ । एमाले नेतृत्वमा नौ दलीय गठबन्धनले आज शक्ति प्रदर्शन सहित गर्ने विरोधसभाको लागि राजधानीको चालीस ठाउँबाट जुलुस निकाल्ने भएकाे छ । विशाल जुलुसमा नौ दलको नेताहरुले नेतृत्व समाल्ने भएका छन् । रत्नपार्कदेखि निस्कने जुलुसको नेतृत्व एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । राजधानीको प्रदर्शनीमार्गमा हुने विरोधसभाका लागि वीच सडकमै मञ्च बनाएका छन् । जसकारण ११ बजेपछि राजधानीको यातायात अवरुद्ध भएको छ । एमालेसहित ९ दलको विरोधसभा दिउँसो ३ बजे राष्ट्रियसभा गृह अगाडिको वीच सडकमै हुने भएको छ । सो सभाहुनअघि मध्यान्ह १ बजे रत्नपार्क आइपुग्ने गरी राजधानीका विभिन्न ४० ठाउँबाट जुलुसहरु निस्कने भएका छन् । रत्नपार्कबाट मूल जुलुस दिउँसो डेढ बजे सुरु हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । उपत्यकाका विभिन्न ठाउँबाट निस्कने ४० वटा जुलुसमध्ये एमालेका ३० वटा जनवर्गीय संगठनका बेग्लाबेग्लै जुलुस हुनेछन् । त्यसैगरी उपत्यकाका १५ निर्वाचन क्षेत्रका निर्वाचन कमिटीले बेग्लाबेग्लै जुलुस निकाल्ने एमालेले जनाएको छ । त्यस्तै काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीका बेग्लाबेग्लै जुलुस हुनेछन् । विभिन्न जिल्लाका सम्पर्कमञ्चहरुको अर्को जुलुस हुनेछ । परिवार दल, नेमकिपा, राष्ट्रिय जनमोर्चा र मालेले पनि बेग्लै जुलुस निकाल्ने र रत्नपार्कमा मिसिने समझदारी भएको एमालेले जनाएको छ । यसै क्रममा राजधानीका विभिन्न ठाउँको ट्राफिक व्यवस्थापनमा गर्न गाह्रो हुने निश्चित छ । रत्नपार्कबाट केपी ओलीसहित ९ दलका शीषै नेताको अगुवाइमा सुरु हुने मूल जुलुस पुरानो बसपार्क र भद्रकाली हुँदै सहीद गेट, न्युरोड गेट, भोटाहिटी, बागबजार र पुतलीसडक हुँदै प्रदर्शनीमार्ग आइपुगेपछि सभामा परिणत हुनेछ ।

बाख्रोलाई भैंसी देख्ने अोलीको ‘नौलो राष्ट्रवाद’

पवनराज फुयाल नेपाली कम्यूनिष्ट आन्दोलनका प्रखर बक्ता भनेर चिनिने ब्यक्ति मदन भण्डारीले पञ्चायतपछिको प्रजातान्त्रिक अभ्यास सुरू हुदा संबैधानिक राजतन्त्रको परिधिभित्र परम्परागत प्रजातान्त्रिक प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसको बीचमा पार्टीको अस्तित्व कसरी जोगाईराख्ने भनेर केही नौलो बिचारको आविष्कार गरे । जसलाई अहिलेको नेकपा एमालेले “मदन भण्डारीको बहुदलीय जनवादको नाममा पार्टीको मार्गनिर्देशक सिद्धान्त मानिआएको छ । २०६३/६४ यता जब माओवादी शान्ति प्रक्रियामा आएपछि एमाले र माओवादी पार्टीबीचको बैचारिक राजनीतिक टकरावले हाल देश नै गम्भीर चुनौतिमा फसेको छ । संबिधान निर्माण प्रकृयादेखि अहिले संबिधान कार्यान्वयनको चरणमा आउदासम्म दुई पार्टीको अन्तरबिरोधी र मतभिन्नता चरम उत्कर्षमा पुगेको छ । लगभग अबको चुनावसम्म दुईमध्य एक पार्टीको अस्थित्व नै संकटमा पर्ने अवस्थासम्म आईपुग्दा बर्तमान राजनीतिक बृतका एकदमै चतुर खेलाडी सावित नेकपा एमालेका अध्यक्ष केपी ओलिले दोस्रो संबिधानसभा अगाडिनै छिन्नभिन्न र कमजोर बनेका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड बिरुद्ध प्रचण्डकै जनयुद्धकालिन राष्ट्रवादी अश्त्र प्रहार गरेका छन् । भारतिय बिस्तारवाद जस बिरुद्ध हिजो प्रचण्डले हतियार उठाएको भनेका थिए आज परिस्थिति यस्तो बनिदियो कि त्यहि राष्ट्रवादको उल्टो प्रहारले प्रचण्डलाई सिध्याउन केपी ओली लागिपरेका देखिन्छन् । हिजो शान्ति प्रक्रिया, संबिधान निर्माण र केही महिना अघिसम्मका सत्ता साझेदार प्रचण्ड बिरुद्ध केपी ओलीले आविष्कार गरेको यो “नौलो राष्ट्रवाद”! साच्चिकै “नौलो राष्ट्रवाद”!! ‘हिजो भारतीय दुतावासबाट करोडौं पैसा लिएर पार्टी चलाउने उनकै भारूमा चिल्ला गाडीमा सयर गर्ने आज एक्कासि गरेको बिरोध कसको बिरुद्ध? साच्चिकै भारतीय बिस्तारवाद बिरुद्ध या प्रचण्ड र शेरबहादुरको सत्ता बिरुद्ध सिमित ?’ प्रचण्डबाट जबर्जस्ती खोसेर प्रचण्डकै बिरुद्ध प्रयोग गरिएको अश्त्र नक्कली बनावटी र भ्रामक छ जुन हिजो उनीलाई चाहिएको थिएन तर आज शख्त जरुरत पर्नाको कारण संकास्पद र विस्वासयोग्य देखिएन । यो एमालेको पुरानै चरित्र हो आफ्नो खास एजेन्डामाभन्दा नि जतिबेला जे भनिदिँदा जनतालाई भ्रममा पार्न सकिन्छ त्यहि अश्त्र प्रयोग गर्ने ! हिजो देशमा गणतन्त्रको बहस हुँदा बयलगाढा चढेर अमेरिका पुग्ने सपनाको संज्ञा दिने तर देश गणतन्त्रमय भए पछि गणतन्त्रै आफुले ल्याएको भन्दिने ! हिजो ०४७ सालको संबिधान नै विश्वको उत्कृष्ट भन्ने एमाले आज नयाँ संबिधान आफ्ना कारणले आएको भनिदिन पछि नपर्ने ! हिजो पटकपटक प्रतिगमन सच्चिएको भनेर दाम चाढाउने एमाले राजसंस्थै आफुले फालेको भनिदिने ! हिजो महाकाली लगायत नदिनाला भारतलाई बेचेर देशलाई धनी बनाउने सपना देखाउने एमाले आज जनतालाई देखाउन उग्रराष्ट्रवादको चरित्र प्रदर्शन गर्ने ? हिजो भारतीय दुतावासबाट करोडौं पैसा लिएर पार्टी चलाउने उनकै भारूमा चिल्ला गाडीमा सयर गर्ने आज एक्कासि गरेको बिरोध कसको बिरुद्ध? साच्चिकै भारतीय बिस्तारवाद बिरुद्ध या प्रचण्ड र शेरबहादुरको सत्ता बिरुद्ध सिमित ? सत्ताबाट बाहिरिनासाथ एमालेका कथित राष्ट्रियतावादी हर्कतहरू छरपस्ट भएका छन् । हिजो जसले उनलाई काँध हालेर प्रधानमन्त्रीको कुर्सीमा बसाए उनलाई बधाई दिनु त परै जावस उनिसँग हात मिलाउन र भेट्नु पनि राष्ट्रघाती भनेर आउदा दिनका आवस्यक सहकार्य र सहमति गर्ने नैतिक ढोका नै बन्द गरिदिए । भलै भारतले उनलाई नरुचाएकोले हटाउन र हटेको हेर्न चाहेको बेला प्रचण्डलाई मौन समर्थन भारतले पक्कै गरेको बुझिएकै हो तर उनै प्रचण्ड संसदको प्रमुख ठुलो दलको समर्थनमा प्रधानमन्त्री बन्दा कसरी रातारात राष्ट्रघाती भए? यसैबाट प्रष्ट हुन्छ केपी ओलीको राष्ट्रियताको नारा खोक्रो आडम्बर र सत्ताबाट ओर्लिनु पर्दाको चरम प्रतिशोध मात्रै हो भन्ने कुरा । संबिधान जारी गर्दा र केपी ओली आफैँ प्रधानमन्त्री हुदादेखि नै असन्तुष्ट मधेसीको माग संबोधन गरेर संबिधानको स्विकार्यतालाई बढाउदै संबिधान कार्यान्वयन र विभिन्न तहका चुनावहरु गर्ने बटमलाईन अहिलेका प्रमुख दलहरूको हैन र? त्यसैको लागि ओलीले पटकपटक वार्ता र संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेकै हुन लगत्तै प्रधानमन्त्रीको कुर्सीबाट हट्नु परेपछि त्यहि प्रस्ताव राष्ट्रघाती र भारतको माग कसरी भयो ? एमालेले केहि समय अघि प्रचण्डले संसदमा प्रस्ताव गरेको संशोधनका हरेक बिषयलाई कथित राष्ट्रियतासँग जोडेर झनै गैरजिम्मेवार प्रबृत्तिलाई निरन्तरता दिईरहेको छ: नागरिकता सम्बन्धि ब्यवस्था पुरानै अन्तरिम संविधानमा भएको ब्यवस्था गर्न लागिएकोलाई बङ्ग्याएर भारतीयलाई देशका प्रमुख पदहरू दिन लागेको राष्ट्रघाती कुप्रचार गरिरहेको छ । ५ नम्बर प्रदेशको सिमांकनका सम्बन्धमा त आज प्रचण्डले प्रस्तावित गरेको सिमाना हिजो एमाले आफैँले प्रस्ताव गरेको थियो । आज त्यहि कुरा गरेर मधेसको असन्तुष्टि साम्य पार्न प्रयास गरिँदा कुन नैतिकताले दियो एमालेलाई तराईका जिल्ला भारतलाई बुझाउन लागेको भनेर होहल्ला गर्न ? यद्यपि प्रदेशको सिमांकन र बिभाजन न हिजोको एमाले सहितका सबै दलले ल्याएको सात प्रदेश या अहिले प्रचण्डले प्रस्ताव गरेको परिमार्जन नै जनताको भावना अनुसार छ! वास्तवमा संघीयताको मोडल नै जनताको सम्बृध्दिको चाहना अनुसार छैन । मात्रै अहिलेको केन्द्र सत्तामा हालिमुहालि गर्न नपाएकाहरूलाई भोलि शक्तिशाली छोटेडन भएर राज गर्ने अनि सत्ताको केन्द्रमा रहनेलाई डनहरूको राजा बन्ने महत्वकांक्षा अनुसार संघीयता जबर्जस्ती लादिएको हो । ‘त्यसैका लागि त्यहीँका धेरै जनता र स्वयम् सत्तारूढ काङ्ग्रेस र माओवादीकै नेताहरू पनि सडकमा छन् । तर एमालेको जोड यो वास्तविकतामा भन्दा पनि राष्ट्रियतामा भएको छ । तर एमालेको भनाई पहाडबाट अलग गरिएका जिल्लाहरू भारतलाई बुझाउन लागिएको भनेर जनताको सेन्टिमेन्ट र स्वयं राष्ट्रियतामाथि नै गम्भीर चुनौति दिने खालको छ ।’ ५ नं पदेशको सन्दर्भमा प्रचण्डले हिजोकै एउटा सहमति बमोजिमको हेरफेर गर्दा जनचाहनाको नेतृत्व एमालेले गर्नु ठिक तर देश नै बेच्न लागेको भन्दा देश बेचेको भागिदारी आफुपनि हुन तयार हुनुनपर्ने गरि कोकोहोलो मच्चाउनु नक्कली उद्देश्यका लागि हो भन्ने बुझिन्छ । खास कुरा के हो भने बुटवल दाङ लगायतका तराई बेल्टमा पर्ने ठाँउहरूबाट त्यहाँका रुकुम रोल्पा र अर्घाखाँची जस्ता पहाडी जिल्लाहरुलाई अलग गर्दा जनतालाई मर्का पर्ने र असुबिधा हुनसक्ने कुराको चासो हो जुन एकदमै स्वभाविक छ । त्यसैका लागि त्यहीँका धेरै जनता र स्वयम् सत्तारूढ काङ्ग्रेस र माओवादीकै नेताहरू पनि सडकमा छन् । तर एमालेको जोड यो वास्तविकतामा भन्दा पनि राष्ट्रियतामा भएको छ । तर एमालेको भनाई पहाडबाट अलग गरिएका जिल्लाहरू भारतलाई बुझाउन लागिएको भनेर जनताको सेन्टिमेन्ट र स्वयं राष्ट्रियतामाथि नै गम्भीर चुनौति दिने खालको छ । यसले के निहुँ पाऊँ भनेर बसेका राष्ट्रघातीहरूलाई नै मलजल पुगेको छ । यस्तै हो भने सप्तरीदेखि सिराहसम्मको पहाडरहित भुभागलाई पनि केपी ओलीले भारतकै इसारामा हस्ताक्षर धस्काउनु भएको रहेछ भन्नुपर्यो । भाषाका सम्बन्धमा भाषा आयोगको सिफारिसमा मातृभाषाहरुलाई संविधानको अनुसूचीमा सामेल गर्ने भनिएको छ । र, सरकारी कामकाजको भाषा कुन प्रान्तमा के हुने मिलाउन सक्ने भनिएको छ । तर एमालेले यसै बिषयलाई हिन्दीलाई राष्ट्रिय भाषा बनाएर राष्ट्रघात गर्न खोजिएको बताउने गरेको छ । अब उहाँहरूले नै बताइदिनुपर्यो कहाँबाट आउछ नेपालमा हिन्दी भाषाको कुरा? यस्ता भ्रामक हावादारी कुराको खेती गरेर बनेको राष्ट्रवादी चरित्र कतिन्जेल टिक्ला बिचार गरौँ? सरकार वा कुनै पक्षबाट कमिकमजोरि हुनसक्छन भनेर सचेत गराउने दायित्व प्रतिपक्षी धर्म हो तर के यस्ता दुस्प्रचार गरेर भोलिका दिनमा यी सबै राष्ट्रघाती आरोप गलत साबित हुँदै गएपछि के तर्क गरेर आफ्नो राजनीतिक मुखुण्डो जनतासामु देखाउने ? जहाँजहाँ एमालेले चुनौतिपुर्ण र गम्भीर आरोप लगाएको छ त्यहिँ आरोपहरू खण्डित हुँदै गइरहेका छन् । यस्तो राष्ट्रवाद पक्का पनि सक्कली हुनै सक्दैन । र यो राष्ट्रियता वनावटी हो सत्ताबाट बहिर्गमन हुनुपर्दाको छट्पटी मात्रै हो भन्ने कुरा स्वयम् एमालेका अतिरञ्जित कपोलकल्पित र बिबादास्पद आरोपहरुबाटै प्रष्ट भईरहेका छन् । यस्तो लाग्छ राष्ट्रियता केपी ओलीको ठेक्का हो अरु कसैलाई नेपाल र नेपाली हुँ भन्ने छैन जुन हिजो उनलाई कहिले पनि चाहिएको थिएन । ‘यस्तो जटिल बिषयमा जथाभावी बोल्ने ओली र एमालेले आफ्नो हिजोको कालो पोतिएको अनुहार पनि हेर्ने कि ।’ तर आज राष्ट्रियताको नारा यसरी उठाइरहेका छन् कि सरकार र प्रचण्डले लोडसेडिङको अन्त्य गर्छु भनेपनि राष्ट्रघात देख्न लागे, फास्ट ट्रयाक आफैँले बनाउछु भने नि राष्ट्रघात या भारत लगायत छिमेकीसँगको बिग्रेको सम्बन्ध सुधार गर्छु भनेनि राष्ट्रघात, हुदाहुदा मधेस र मधेसीका मागहरू सम्बोधन गर्ने बिषयलाई नि राष्ट्रियतासँग जोड्ने केपी ओलीको नौलो राष्ट्रवाद! राष्ट्रियताको कुरा उठाउदा हामी आफैँ झुक्नुपर्ने अवस्था नआओस् । यस्तो जटिल बिषयमा जथाभावी बोल्ने ओली र एमालेले आफ्नो हिजोको कालो पोतिएको अनुहार पनि हेर्ने कि । आफ्नो घर मजबुत बनाउने प्रचण्डले गलत गरे सच्याउने उपायहरू धेरै छन् तर एकजना प्रचण्डको बिरोध गर्दा तीन करोड नेपाली जनताको स्वाभिमान माथि चोट पुर्याउनु गलत भयो । एकातिर एमालेको अन्ध राष्ट्रवादको बौलठ्टी हुटहुट र अर्कातिर पुरै तराईलाई छुट्टै प्रदेश दिनुपर्ने अमुक र वास्तवमै राष्ट्र बिरोधि नारा मधेसवादी भनेर चिनिएका केही कथित मधेसी जनताका प्रतिनिधी हुँ भन्ने मुठ्ठीभर नेताहरूका कारण राष्ट्रियता गम्भीर खतरामा परेको अवस्था छ । व्यक्तित्व र परिस्थिति जेजस्तो भएपनि जोखिमपूर्ण र पछिल्ला उपलब्धिहरूलाई हेर्ने हो भने केपी ओलीभन्दा प्रचण्डको योगदान र त्याग महत्त्वपूर्ण रहेको छ । राजतन्त्रको अन्त्य, गणतन्त्र र संबिधानमा केपी ओलीभन्दा प्रचण्डको योगदान अहम छ । यसैपनि देश गणतन्त्रमय हुँदाहुँदै नै केपी ओलीले बयलगाढाका तुक्का जोडेर गणतन्त्रको उपहास गरेका थिए र केही महिनाअघि मात्रै पनि संघीयता बाख्रोलाई भैँसीको टाउकोको संज्ञा दिएका थिए । वास्तवमा भन्ने होभने गणतन्त्र प्रचण्डले सबैलाई लटरपटर बनाएर आएको हो । केपी ओलिहरूले आजका धेरैजसो उपलब्धिहरू तत्कालीन अबस्थामा बाध्यताले स्विकार गरेका थिए । ‘चीनसँग पारबहन लगाएतका सम्झौता गरिनेछ भन्ने कुरा मात्रै भएका हुन तर काम शुन्य रहेको हो । संबिधान जारी गरेदेखि नै असन्तुष्ट मधेसी दलहरुलाई सहमतिमा ल्याउनको सट्टामा बिहार भारत र मोदीसँग माग राख भन्ने आशयको ओलीको बारम्बारको प्रतिक्रियाले समग्र मधेसी जनताले नै मन खिन्न भई तराई र पहाडबीच मै दुरी बढेको छ ।’ उखान र तुक्का जोडेर जस्तोसुकै गम्भीर बिषयलाई पनि हावामा उडाउने चतुरकलामा माहिर केपी ओलीले यहि कलाका कारण पछिल्लोपटक प्रधानमन्त्रीको कुर्सी छाडेपछि पनि यस्तै हावादारी भ्रामक होहल्ला गरेर आफ्ना कार्यकर्ताहरूमाझ लोकप्रियता कमाउनेमा निरन्तरता पाएका छन् । संबिधान जारी गरेपछि भद्र सहमति बमोजिम प्रधानमन्त्री पाउने आशामा शासकिय स्वरूप लगाएतका जटिल र महत्वपूर्ण बिषयमा धेरै आफ्नै पार्टीको मान्यता र घोषणा बिपरित प्रचण्डलाई बाईपास गरेर नेपाली काङ्ग्रेसको एजेन्डामा हस्ताक्षर धस्काउनमा हतारहतार गरेर आफूले संबिधान जारी गरेकोसम्म भन्न भ्याउने खेलाडीलाई शुसिल कोईरालाले नछाडेपछि उनै प्रचण्डले एमालेलाई तेस्रोपटक नयाँ प्रधानमन्त्रीको रूपमा केपी ओलीलाई काँध हाले । जतिबेला नेपाली जनतालाई भारतले लगाएको नाकाबन्दीले जरजर बनाएको थियो । त्यसबेला पनि प्रचण्डले हामी कसैका एसम्यान हैनौ भनि केपी ओलीको दायिना भएर काम गरेका कारण रातारात केपी ओली राष्ट्रबादी बन्न पुगे । यसबिचमा उनले घरघरमा ग्याँस पाइपलाई जोडिदिने, पहाडी रेल बनाउने, पानी जहाज किन्ने आदि जस्ता दिर्घकालीन योजना र सुझबुझपुर्ण बिषयलाई क्षणिक हावादारी तरीकाबाट उखान तुक्का मिलाउने नियतले हल्ला फैलाए । चीनसँग पारबहन लगाएतका सम्झौता गरिनेछ भन्ने कुरा मात्रै भएका हुन तर काम शुन्य रहेको हो । संबिधान जारी गरेदेखि नै असन्तुष्ट मधेसी दलहरुलाई सहमतिमा ल्याउनको सट्टामा बिहार भारत र मोदीसँग माग राख भन्ने आशयको ओलीको बारम्बारको प्रतिक्रियाले समग्र मधेसी जनताले नै मन खिन्न भई तराई र पहाडबीच मै दुरी बढेको छ । अन्तत: सत्ता साझेदार प्रचण्डसँग गरेको भद्र सहमति नै गरेको हैन भनेर चिड्याए पछि प्रचण्डले समर्थन फिर्ता लिइका थिए जसका कारण पदबाट हट्ने अबस्था आएको थियो । अनि केपी ओलीले प्रचण्ड र माओवादी नामको बर्ग दुश्मनसँग लड्ने नयाँ औजार र सिद्धान्तको प्रतिपादन गरे त्यहि हो केपी ओलीको “नौलो राष्ट्रवाद” ! ‘प्रचण्डले हिन्दीलाई राष्ट्रभाषा बनाउदैछन्, अंगीकृतलाई देशका प्रमुख अंगमा अधिकार दिदैछन्, फास्ट ट्रयाक लगाएतका राष्ट्रिय महत्त्व र गौरवका आयोजना भारतलाई सुम्पिदैछन् भन्ने कपोलकल्पित भ्रमहरू फैलाएर आफुलाई नक्कली राष्ट्रवादी भएको प्रमाण आफै दिदैछन् ।’ हिजो सत्ता साझेदार रहँदा प्रचण्ड खुब राष्ट्रबादी थिए उनकै दायाँबायाँ बसेर चर्काचर्का भाषण गरेर भारतलाई गाली गर्ने केपी ओली प्रचण्डले साथ छाड्नासाथ भारतलाई गर्ने गाली र आरोपहरू प्रचण्डमाथि बर्साउन पुगे । हिजोसम्म कट्टर राष्ट्रवादी प्रचण्ड केपी ओलीलाई समर्थन फिर्ता दिनासाथ दलाल र राष्ट्रघाती बने । र प्रचण्डले प्रधानमन्त्रीको पद पाउनासाथ देश भारतलाई जिम्मा लगाइदैछ भन्ने आरोप प्रचण्ड माथि तेर्स्याएका छन । यसैबीच केही बिषयहरू अहिले राजनीतिक बृतमा बिवादास्पद बनेका छन् जुन बिषयहरूलाई लिएर प्रचण्डको व्यापक आलोचना हुने अवस्था समेत पैदा भएको छ । प्रचण्डले हिन्दीलाई राष्ट्रभाषा बनाउदैछन्, अंगीकृतलाई देशका प्रमुख अंगमा अधिकार दिदैछन्, फास्ट ट्रयाक लगाएतका राष्ट्रिय महत्त्व र गौरवका आयोजना भारतलाई सुम्पिदैछन् भन्ने कपोलकल्पित भ्रमहरू फैलाएर आफुलाई नक्कली राष्ट्रवादी भएको प्रमाण आफै दिदैछन् । जबकि यी बिषयहरू प्रचण्डले आफ्नो र सरकारको एजेन्डा हैन भनि प्रष्ट पारिसकेको अवस्था छ र यससम्बन्धी केही सकारात्मक र जनपक्षीय कार्यहरूको थालनीको सुरुवात प्रचण्डले गरिसकेका छन्  । हुनत सरकारमा हुनेलाई कठपुतली दलाल भन्ने चलन नयाँ हैन तर यसपटक एमालेले प्रदर्शन गरेको राष्ट्रवाद नौलो र अन्तिम अश्त्रको रूपमा लिएको छ । यसको मुख्य कारण माओवादी र प्रचण्डको कमजोर बन्दै राजनीतिक साख: समाप्त गरेर प्रचण्डका कारण गुमेको आफ्नो पुरानो बर्चस्व फिर्ता गर्नु हो । शान्ति प्रकृयालाई टुंगो लगाउने क्रममा प्रचण्डले धेरै सम्झौताहरू गर्नुपरेको थियो जसको मूल्य ठुलै चुकाउनुपर्यो । यसको फाईदा प्रत्यक्ष रूपमा एमालेले उठाईरहेकै छ । जतिसुकै राष्ट्रवादी चरित्र देखाएर आरोप प्रत्यारोप गरेपनि संबिधानको कार्यान्वयन र संशोधन र आगामि चुनाव लगायतका कार्यहरू सम्पन्न गर्न कम्तिमा सबै प्रमुख राजनितिक दलहरुले सहमति गर्नुको बिकल्प नभएको अवस्था र हाम्रो भुराजनितिक जटिलका कारण प्रतिपक्षमा रहँदा सत्तापक्षलाई दलाल, कठपुतली र राष्ट्रघातिको आरोप लगाउने सन्दर्भलाई ख्याल गरि एमाले र केपी ओलीले राष्ट्रियताको नाममा आफ्नै स्वाभिमानमै ठेस पुग्नेखालका अभिव्यक्ति बन्द गर्दै भोलिका दिनमा पुनः यिनै राष्ट्रघाति भनिएका प्रचण्ड र शेरबहादुरहरुसँग सहमति र सहकार्य गर्ने नैतिक धरातल नगुमाई संसद र सडकमा रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्न आवस्यक छ । यसबाट एकातिर अस्थिरता र आन्तिरिक द्वन्द्वका कारण आफ्नो स्वार्थमा खेल्न चाहने वाह्य शक्तिहरु निरुत्साहित हुनेछन् भने अर्कातिर आन्तरिक एकता मजबुत भई सबैले चाहेको संबिधानको कार्यान्वयन हुनेछ । जसले लामो झन्झटिलो खर्चिलो सङ्क्रमणकालको अन्त्य भई आर्थिक सम्बृध्दितर्फ जान सकिन्छ । लेखक कतारमा आईटी इन्जिनियरको रूपमा कार्यरत छन्   

आमाको हत्या गर्ने दम्पतीलाई सर्वस्वसहित जन्मकैदको सजाय

जाजरकोट, मङ्सिर २०। आफ्नै आमाको हत्या गर्ने क्लिा–१ लैखमका वुद्धिबहादुरका श्रीमान्, श्रीमतीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको छ । सक्ला–१ लैखमका वुद्धिबहादुर खत्री र उनकी पत्नी शर्मिला वली खत्रीलाई आफ्नै आमा देउमी खत्रीको हत्या गरेको अभियोगमा जिल्ला अदालत जाजरकोटका जिल्ला न्यायाधीश लिलाराज अधिकारीको एकल इजलासले आइतबार सर्वस्वसहित जन्मकैदको सजायको फैसला सुनाएको हो । नलसिंहगाड जलविद्युत् आयोजना निर्माणका लागि अधिग्रहणमा परेको देउमीका नाममा रहेको जग्गा आफ्नो नाममा नामसारी गराउनका लागि वुद्धिबहादुर र उनकी श्रीमतीले दबाब दिँदै आएका थिए । जग्गाको नामसारी गराउन देउमीले जेठा छोराका छोराछोरीको सहमति बिना गर्न नमानेपछि उनीहरुले आमाको हत्या गर्ने योजना बनाएका थिए । जग्गा नामसारीका लागि श्रीमती शर्मिलाले कि आमालाई मार कि म भिरबाट हामफालेर मर्छु भनेपछि आफूले आमाको हत्या गरेको वुद्धिबहादुरले अदालतको बयानमा स्वीकार गरेका थिए । आमाको हत्यापछि उनीहरुले घर नजिकैको बारीमा शवलाई गाडेका थिए । प्रहरीका अनुसार सुतिरहेकी आमालाई वुुद्धिबहादुरले बन्चरोले टाउकोमा हिर्काएका थिए । अरुले थाहा पाउलान भनेर वुद्धिबहादुरका श्रीमान्, श्रीमतीले लास गाडेको ठाउँमाथि तिरमिलो बेर्नाे पनि रोपेका थिए । गत साउन २२ गते आमालाई मारेर मकैबारीमा गाडेका वुद्धिबहादुरले २३ गते बिहान गाउँभरि आमा घरबाट हराएको हल्ला चलाएका थिए । आमालाई खोजिदिन भन्दै उनले प्रहरी चौकीमा निवेदन दिएका थिए । देउमीका भतिजा हरिबहादुर खत्रीले भदौ ६ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए । घटना भएको तीन हप्तापछि प्रहरीले दुवै लोग्ने स्वास्नीलाई पक्राउ गरेको थियो । वुद्धिबहादुर जाजरकोट कारागारमा छन् भने शर्मिला साढे दुई वर्षको छोराका साथमा बर्दियाको कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो । देउमीका श्रीमान् लगवीर खत्री र जेठा छोरा बुहारीको पनि मृत्यु भइसकेको छ । देउमी जेठा छोराका दुईजना छोराछोरी पालेर बस्दै आएकोमा उनीहरु अध्ययनका लागि जिल्ला बाहिर गएपछि एक्लै बस्दै आएकी थिइन् । रासस

संसदमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

काठमाडौं । सरकारले आजै बजेट पारित गर्ने तयारी गरेपछि नेपाली कांग्रेस संसद‍्मा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ। पार्टीले यसअघि शुक्रबार बसेको संसदीय दलको बैठकमा पनि  बजेट पारित नहुञ्जेलसम्म अनिवार्य बैठकमा उपस्थिति हुन सांसदहरुलाई निर्देशन दिएको थियो।  विपक्षी दल नेपाली कांग्रेसले बजेट असन्तुलित, पक्षपाती र पूर्वाग्रहपूर्ण रहेको आरोप लगाउँदै आएको छ । बजेटमा संशोधन गर्नुपर्ने थुप्रै विषय रहे पनि हुबहु पारित गर्न लागिएको भन्दै कांग्रेस नेताहरुले आपत्ति जनाउँदै आएका छन्।

राष्ट्रपति पौडेललाई कतारमा स्वागत

दोहा । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा आइपुगेका छन् ।राष्ट्रपति पौडेललाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेश विक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रालयका कर्मचारीले स्वागत गरे। राष्ट्रपति पौडेल कतारबाट जेनेभा प्रस्थान गर्नेछन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्को) उद्घघाटन सत्रलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले आज स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।राष्ट्रपति पौडेलले बिहीबार सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने छन् । यस्तै, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने छन् । स्वीट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट रोयल डच एयरलान्सबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने छन् । राष्ट्रपति पौडेलले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनी समकक्षीसँग औपचारिक वार्ता गर्नेछन् । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

वाग्मती प्रदेशसभाको अधिवेशन आजदेखि

काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन आजका लागि आह्वान गरिएको छ।  प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते -आज_का लागि आह्वान गर्ने निर्णय गरेको थियो।  बैठक दिउँसो १ बजे बस्नेछ। 

उपत्यकासहित विभिन्न भागमा वर्षा, दिनभर बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशभरका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा भइरहेको छ। कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिनभरी नै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने बागमती, गण्डकी, कोसी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर १६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४४ मिनेटमा हुनेछ।